२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ।

ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।

प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे।
मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका थिए। उनले विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागि समेत प्रयोगशालामार्फत सुपथ मुल्यमा गर्ने गरी व्यवस्था मिलाएका थिए।

नेपालमा पहिलो पटक निर्मित ल्याब करिब चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले बताए।
ल्याब उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकताप्राप्त ५२ रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य संगठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ। अब यी किटहरु प्रदेश तथा जिल्ला तहका अस्पतालसम्म पुर्याइने र यसले परीक्षण सहज हुने विश्वास गरिएको भट्टले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सुचीसहितको पुस्तिकाको अनावरण पनि गरे। अब हरेक आधारभूतदेखि विशिष्ट अस्पतालहरुमा मन्त्रालयले तोकेको परीक्षण गर्ने पर्ने व्यवस्था मिलाउने तयारी मन्त्रालयले गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।


सामाग्री श्रोत :

महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला स्थापना

काठमाडौँ । काठमाडौँमा ‘डेभकन २०२५’ सम्मेलन आयोजना गरिएको छ । इडिट इन्टरप्राइज प्रालिको आयोजनामा बिहीबार भएको कार्यक्रममा अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक डा. जेम्स जोशीले एआई र डेटा गोपनीयताका अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए ।

उनले एआईको तीव्र विकाससँगै डेटा यसको आधारशिला भएको बताउँदै मानव बेचबिखन, वित्तीय ठगी, आविष्कारजस्ता क्षेत्रमा डेटा उपयोगबाट अवसर खुल्ने तर साथसाथै गोपनीयता र साइबर सुरक्षामा गम्भीर चुनौती थपिने बताए। पछिल्लो समयमा स्मार्ट उपकरण र आईओटीको प्रयोग बढेसँगै एआईको बजार पनि तीव्र रूपमा बढिरहेको उनले उल्लेख गरे ।

डा. जोशीका अनुसार अहिले साइबर अपराध बढ्दै गएकाले त्यसको नियन्त्रणमा विश्वभर खर्बौँ डलर खर्च भइरहेको छ । साथै, विगतमा मौसमी परिवर्तन र पृथ्वीमा हुने प्राकृतिक परिवर्तन प्रमुख विश्वव्यापी जोखिम मानिँदा अहिले गलत तथा भ्रामक सूचना र साइबर सुरक्षा सबैभन्दा ठुलो चुनौतीको रूपमा देखिएको उनको भनाइ थियो ।

उनले प्रविधिको तीव्र विकासलाई सम्हाल्न नीतिगत तयारी ढिलो भएको भन्दै विश्वका विभिन्न मुलुकमा डेटा सुरक्षासम्बन्धी कानुन निर्माणको क्रम सुरु भए पनि त्यसको कार्यान्वयनमा समस्या रहेको बताए । नेपालले पनि राष्ट्रिय एआई नीति अगाडि सारेको, तर कार्यान्वयनमा ढिलाइ भइरहेको उनले उल्लेख गरे।

कार्यक्रममा डा. जोशीसहित त्रिभुवन विश्वविद्यालय सीएसआईटी विभागका प्रमुख सर्बिन सायमी र फ्लिटपाण्डाकी सङ्गीता शर्मा प्यानल छलफलमा सहभागी भएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १७:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारकाे कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको भएपनि अध्ययन लगत्तै छाडिएको बताए।

उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु।’

Ncell 2
Ncell 2

उनले अनधिकृत पत्र तयार पार्ने व्यक्तिलाई पक्राउ गरिसकेको बताए। प्रहरीले सर्वोच्चको आदेश पालना गर्ने उद्देश्यले मात्रै चौधरीलाई पक्राउ गरेको भएपनि सत्य पत्ता लागेपछि छाडेको बताए।

यस्तो छ रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ–

shivam cement
shivam cement

रेशम चौधरी पक्राउ पर्नुभएको घटनामा दुःख व्यक्त गर्न चाहन्छु। प्रहरी महानिरीक्षकले मलाई जानकारी गराए अनुसार, सो दिन सर्वोच्च अदालतको चलानी संख्या १९२७७ मिति २०८२ ०१ १७ उल्लेख भएको पत्र लिएर सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगे। निजले आफ्नो परिचयपत्र नेपाल प्रहरीका महानिरीक्षकलाई देखाए। परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको भने। त्यसपश्चात प्रहरी महानिरीक्षकले सम्मानित अदालतको आदेश कार्यान्वयन गर्नपर्ने दायित्व समेत भएको हुनाले, यो विषय प्रहरी परिसर काठमाडौंमा पठाए। सो को आधारमा प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई नियन्त्रणमा लिइ डिल्लिबजार कारागारमा बुझाए।

घटनाका सन्दर्भमा प्रहरी महानिरीक्षकबाट जानकारी प्राप्त गर्नासाथ सर्वोच्च अदालतका रजिस्ट्रारलाई फोन गरेर पत्राचारबारेमा जानकारी लिएको छु। सुरुमा रजिस्ट्रारले अनविज्ञता प्रकट गर्दै थप विषय बुझेर खबर गर्ने बताउनुभयो। पछि उहाँले उक्त पत्र अदालतको आधिकारिक नभएको र अदालतबाट थप छानबिन भइरहेको जानकारी गराउनुभएको थियो। केही समयपश्चात सम्मानित सर्वोच्च अदालतबाट विज्ञप्तिमार्फत उक्त पत्र आधिकारिक नभएको जानकारी गराइएको, र कारागार कार्यालय डिल्लीबजारलाई समेत लेखि पठाए अनुसार रेशम चौधरीजी तत्काल रिहा हुनुभएको हो। अनधिकृत रुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले तत्काल पक्राउ गरी झुटा जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने समेत मुद्दा शीर्षकहरूमा सम्मानित अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको छ।

यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु। भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सचेत बनाएको ब्यहोरासमेत जानकारी गराउँछु। यस घटनाले रेशम चौधरी, उहाँको परिवारजन र साथीहरूलाई जुन असहजता भयो, दुःख भयो, पीडा भयो त्यसका लागि म दुःख व्यक्त गर्न चाहन्छु।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

हामी निरोगी नेपालको महासंकल्पमा छौं । यो स्वास्थ्य क्षेत्रको महासंकल्प हो निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौं । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरुको इम्युन सिस्टम नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरु गरौं । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौं, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन खाऔं । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ ।

स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुु पर्छ । हाम्रा कतिपय आदतहरुले पनि हामीलाई बिरामी बनाउँछ । हाम्रा आदतहरु पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसशनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ । ती पक्षहरु आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायाम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आर्शिवाद दिंदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिले उहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे । स्वास्थ्य रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छभन्दा प्रशस्त काम गर्‍यो , थकाइ लाग्यो, मस्त निदायो र आराम गर्‍यो , त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्रा भुडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि लागेर चल्छ, कहाँबाट भोक लाग्ने ?

त्यसकारण पहिलो कुरा, स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी मेन्टेन गर्ने । फेरि पनि कुनै न कुनै रोग ट्रमाजस्ता आइपर्न सक्छन् । धेरै कुराहरु त आइनपर्ने विधि गर्न सकिन्छ । शरीरका सबै बाह्य र आन्तरिक अंग प्रत्यंग अवयवहरुलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपायहरु छन्, तिनीहरुलाई अपनाउन सकिन्छ, काबुबाहिरको परिस्थिति परेन भने ।

जस्तो मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन ।डेढ महिना राखेर चुटेको चुट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर टिटानस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर।

दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुुथपेस्टको ट्युुव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदा – निर्चोदा…! नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर ती दिन नसम्झिऔं, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल भएको पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर । यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौं ।

हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ । तर कुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा त यो पैदा हुन्छ । के कारणले पैदा हुुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौं कि, अथवा तयार भएपछि पत्ता लाग्यो भने तुरुन्त उपचार सुरु गर्नु पर्दछ । एउटा ह्याभोब के भने, हामीले उपचार सुरु गर्‍यो भने सुरु गरेपछि त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्ने बित्तिकै त्यसको सरुवापन जुन हुन्छ, संक्रमणकारी प्रवृत्ति त्यो कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधि खाएपछि सर्न छोड्छ र त्यो संक्रमक रोग हुँदैन । औषधि नखादा त्यो संक्रमक हुन्छ, खासगरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुनसक्छ । त्यसैकारण मान्छे तर्सिन्छ । अब यहाँ कानुनी प्रबन्धदेखि सामाजिक बहिष्कारदेखि हेलाँहोचाका कुराहरुलाई रोक्नुुपर्छ ।

पहिला ठूला संख्यामा कुष्ठरोग थियो, पछि औषधि खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरुरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यसकारण हेलाहोचो गर्नु पर्ने त्यस्तो छैन । कानुनमा केही कुराहरु स्पष्ट पार्नु पर्ने अझै हुनसक्छन् । ती कुराहरुलाई हामी हेर्छौ । कसरी कानुनलाई व्यवहारिक, उचित र उपयुक्त कानुन निर्माण गर्ने, जसबाट बहिष्करण, हेलाहोचोजस्ता कुराहरु नहोउन् । अर्को, यस्तो पनि गर्नु हुँदैन, जसबाट संक्रमण फैलियोस् । संक्रमण नफैलिने र हेलाहोचो नहुने यो दुुईवटै स्थितिको सन्तुलन हामीले कायम गर्नुपर्छ र अगाडि बढ्नुु पर्दछ ।

हामी सबै रोगको निधान मात्रै होइन कि निवारण चाहन्छौं । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउन्थ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठूलो संख्यामा जनसंख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौं । मेरो आमा बित्नुु हुँदा २२ वर्षको हुनुहुन्थ्यो, म तीन वर्षको थिए । आमा विफोरको कारणले बित्नुभएको थियो, आज विफोर थिएन । मैले आमा बिफरले बित्नुभएको भन्ने थाहा पाएपछि विफोरसँग मेरो यस्तो दुुष्मनी भयो कि स्कुलमा भ्याक्सिन आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थें र लिएर पनि जान्थे । ग्रामीण चेतनाको स्तर के थियो भने, मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा परितिर एउटा वस्ती थियो । झापा जिल्लामा स्थानीय आदिवासीको । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरुको विफोरका कारणले निधन हुन्थ्यो । उनीहरु खोप लगाउन नमान्ने, खोप नलगाएपछि कच्चा अवस्थामा विफोर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरुलाई त लाग्यो लाग्यो । विफोर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्यो लाग्यो र केही मान्छे जान्थे ।

मैले भ्याक्सिन लिएर गाउँमा आउँदै छुु भन्ने थाहा पाएपछि गाउँका मान्छेहरु गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कवुल र प्रतिबद्धता भयो कि तपाईंहरुलाई भ्याक्सिन लगाइंदैन, तपाईंहरु गाउँमा गएर बस्नुस् । त्यो ग्यारेन्टी गरेपछि उनीहरु बल्ल गाउँमा फर्किए । त्यत्रो आतंक थियो कि खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौं भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीं गाउँमा बिते । मैले धेरै कोसिस गर्नु प¥यो कि हामीले भ्याक्सिन लगायौं, तपाईंहरुले लगाउनुुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरुकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनुु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरु हामी धेरैले गर्‍यो होला । तराईमा मलेरियाले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने स्टेजमा पुग्यो भने मात्रै बेग्लै कुरा हो नत्रभने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौं ।

यस सन्दर्भमा सरकारले गरेका प्रयासहरु बहुत राम्रा छन् । स्याङ्जाको मालुङ्गा हो क्यार ठाउँको नाम, मालुङ्गामा लेप्रोसी क्याम्प थियो । लेप्रोसीका बिरामीहरुलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौंबाट पोखरा जेलमा लगियो । मालुङ्गा गाउँतिरका मानिसहरु त्यहाँ थिए र त्यसमध्ये एक दुई जना लेप्रोसी संक्रमित पनि थिए । उनीहरुलाई लेप्रोसी थियो र त्यही उनीहरुलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरुबाट लेप्रोसीका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । लेप्रोसी हटिसकेको थिएन तर उनीहरु संक्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । संक्रमक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो र सक्रामक अवस्था थिएन । त्यो रोगका किटाणुहरु कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरुपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ ।

जुन अंगभंग भएको छ, त्यो फेरि क्यअर हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुट्टाका औलाहरु झर्ने अनेक चिज हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिर्गान सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार गर्‍यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र त्यसको सेन्सेसन छैन भन्ने थाहा पाउन सजिलो छ कि सेन्सेसन छैन भनेपछि यो कुष्ठरोग हो भनेर थाहा पाउन सकिन्छ । टुप्पामा कुष्ठरोग रोग लागेको छ अरु बढी सेन्सेसन हुँदैन । छुदा थाहा पाइएन भने यो कुष्ठरोग भएछ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसकारण छिटै परीक्षण गरेर छिटै उपचार गर्ने । त्यो सर्वसाधारणले पनि थाहा पाउन सक्छ । छुदा थाहा पाइएन, सेन्सेशन भएन भने त्यो कुष्ठरोग हो, त्यसकारण उपचार गराउ भन्ने यति जानकारी कमसेकम सर्वसाधारणमा हामीले पुर्‍याउनु पर्दछ, ताकि हामी आफैँले रोग चिनेर उसले उपचार गराउन सकोस् । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौं ।

आजको यस भेलामा यसका आयोजक संस्थाहरुको यो सक्रियता रहोस् । तपाईंहरुले यथार्थ यसमा घटाउन र बढाउनु पर्ने आवश्यकता छैन । नबढाइकन र नघटाइकन यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरुले जनचेतना जगाउनुभयो र स्वास्थ्य मन्त्रालयले यससम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा मिडिया हाउससँग परामर्श गरेर यस सम्बन्धमा सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढंगले चलाउन सकिन्छ । देश भरिका मान्छेहरुलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ ।

आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढंगले जनचेतना जागरण गर्ने कुरा र ताँकी यो सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने, कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निधान गाह्रो छैन र कुष्ठरोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ ।

रोग लुकाउनुु हुन्न भन्ने कुरा हामीले बुझाउन जरुरी छ । किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानु पर्छ । हात खुट्टाका औलाहरु झर्न सक्छन् । विभिन्न जोर्नीहरु विकृत हुनसक्छन् । त्यसकारण यसलाई ठीक ढंगले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरु फैलाउने र अगाडि बढाउने हामीले गर्‍यो भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ । त्यसकारण यस सन्दर्भमा हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनु हो । बिरामीलाई नियमित औषधि सेवन गरुन् भनेर सिकाउनु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्रा जे बताइएको छ, त्यसअनुसार सेवन गरुन । किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण अस्पताल भन्दा घरमै बसेर गर्ने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ र बिरामीलाई के थाहा हुनुपर्दछ भने सजगता भएन भने यो विकराल रुप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ । खासगरी बिरामी पत्ता लागेपछि सजग हुनुपर्छ ।

औषधि प्राप्त भएपछि औषधि खानुपर्छ र औषधिमा पैसा लाग्दैन, निःशुल्क उपचार हुन्छ । यसको निशुल्क उपचार हुन्छ, निशुल्क औषधि पाइन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निशुल्क उपचार सरकारले उपलब्ध गराउँछ । औषधि सेवन गर्ने हो, छुदा थाहा पाइएन भने लेप्रोसी भन्ने थाहा हुन्छ र आफैँले थाहा पाइन्छ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने, अर्को व्यक्ति अस्पतालमा गएको छ भने प्रेस्किप्शन पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । त्यसकारण यो धेरै गाह्रो कुरा होइन, यसलाई निको पार्न सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनु गर्‍यो । यसै क्षेत्रमा विभिन्न संघसंस्था लागिरहनु भएकै छ ।

संघसंस्थाहरुको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो डेडिकेशनलाई उपलब्धिमूलक कसरी बनाउने भनेर लागिरहेका संघसंस्थाहरुले ध्यान दिन जरुरी छ । समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरु अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरु कतिपय निको भइसकेका साथीहरु पनि हुनसक्नु हुन्छ । निको भइसकेका साथीहरुले निको नभइसकेका साथीहरुलाई प्रेरणा र हौसला दिनु पर्दछ कि कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनु पर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गरेका विचारहरुको सम्पादिन अंश)
 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरेको दाबी गरेको छ। अर्कोतर्फ, पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ र २५ वटा भारतीय ड्रोन खसालेको बताएको छ।

दुवै देशले गरेको कुनै पनि दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ – पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको छ।

भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ।

भारतको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ – पाकिस्तानी ड्रोनका भग्नावशेषहरू अब धेरै स्थानहरूबाट बरामद भइरहेका छन् जसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्दछ। रक्षा मन्त्रालयले भारतले पनि पाकिस्तानलाई उस्तै तीव्रताका साथ जवाफ दिएको दाबी गरेको छ।

भारतको विज्ञप्तिमा भनिएको छ – भारतको सशस्त्र सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको छ। मन्त्रालयले दाबी गरेको छ – “विश्वसनीय जानकारी अनुसार लाहोरमा एक वायु रक्षा प्रणाली नष्ट गरिएको छ।”

भारतले मे ७ मा ‘अपरेशन सिन्दूर’ बारे पत्रकार सम्मेलनमा भनेको थियो – पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरिएको थिएन। भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिइने कुरा पनि दोहोर्‍याइएको थियो।

भारतको रक्षा मन्त्रालयले भनेको छ – पाकिस्तानले जम्मू कश्मीरको कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र भारी तोपखाना प्रयोग गरेर ‘बिना उक्साहट’ गोलीबारी गरेको छ।

मन्त्रालयले पाकिस्तानी गोलाबारीमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष व्यक्तिको मृत्यु भएको बताएको छ।

अर्कोतर्फ, पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानले भनेको छ – यी ड्रोनहरू पाकिस्तानका विभिन्न शहरहरूमा खसालिएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भने – भारतले मे ७ को रातदेखि “ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास” गरिरहेको छ।

जनरल चौधरीले सेनाको कारबाही जारी रहेको बताए। उनले लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिंडी, मियाँवाली र कराँचीमा ड्रोन ध्वस्त पारिएको बताए। पाकिस्तानी प्रवक्ताको भनाइमा भारतले कुनै टिप्पणी गरेको छैन। पाकिस्तानले गरेको दाबीलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन।


सामाग्री श्रोत :

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

काठमाडौँ । भारतका चर्चित पत्रकार रविश कुमारको नाममा नक्कली युट्युब च्यानल सञ्चालनमा आएको खुलासा भएको छ । स्वयं रविश कुमारले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनले ‘Ravish Ki News’ नामक नक्कली च्यानलले आफ्नो फोटो र आवाज प्रयोग गरिरहेको बताएका छन् ।

अप्रिल १ देखि सञ्चालनमा आएको यो च्यानलमा छोटो समयमै ६७ लाख एक हजार सब्सक्राइबर पुगेका छन् । हालसम्म नौ वटा मात्र भिडिओ पोस्ट गरिए पनि ती भिडिओमा करिब साढे नौ लाख भ्युज पुगेको छ ।

उक्त च्यानलमा एआई प्रविधि प्रयोग गरी रविश कुमारकै जस्तो आवाज निकालेर भिडिओहरू राखिएको पाइएको छ । उनको बोल्ने शैली, भिडिओको थम्बनेल र जानकारी दिने तरिका दुरुस्तै भएका कारण धेरै दर्शक‍ झुक्किएका छन् ।

च्यानलका सबै भिडिओको सुरुमा रविश कुमारको परिचय देखाइन्छ, तर त्यसपछि अन्य फुटेज र तस्बिरहरू प्रयोग गरिएका छन् । पहिलो भिडिओ सात दिनअघि पोस्ट गरिएको थियो, जसमा रविशको आधिकारिक च्यानल बन्द हुने खतरा बढेकोले नयाँ च्यानल सब्सक्राइब गर्न दर्शकहरूलाई अनुरोध गरिएको छ ।

यसैगरी ‘Ravish K News’ को नाममा करिब ६ महिनादेखि यस्तै युट्युब च्यानल खोलेको पाइएको छ । जसमा १११ ओटा भिडिओ अपलोड भएको देखिन्छ ।

यसैगरी, ‘Ravish K Vichar’ नामक अर्को नक्कली युट्युब च्यानल पनि फेला परेको छ । रविश कुमारले यस च्यानलको बारेमा पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मे ७ मा सुरु भएको यो च्यानलमा हाल दुई सब्सक्राइबर र तीन ओटा भिडिओ पोस्ट भएका छन् । रविशले यी भिडिओ पनि एआई- सिर्जित भएको दाबी गरेका छन् ।

रविश कुमारले आफ्नो नाममा नक्कली च्यानल सञ्चालन भइरहेको जानकारी दिएलगत्तै यो नयाँ च्यानल खोलिएको अनुमान गरिएको छ । ​रविशको आधिकारिक युट्युब च्यानल Ravish Kumar Official हो, जसमा एक करोड ३० लाख बढी सब्सक्राइबर रहेका छन्।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १६:३७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु दुःखद भएको बताएकी छन्।

बिहीवार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उनले यस्तो बताएकी हुन्। 

Ncell 2
Ncell 2

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा आएपछि निकै मेहनतका साथ काम गरेर अन्तिम टुङ्गोमा पुर्‍याएको बताइन्। उनले द्वन्द्व पीडितको न्यायको विषय संवेदनशील भएको बताइन्। शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु दुःखद भएको बताइन्।

shivam cement
shivam cement

सुवेदीले भनिन्‚‘संक्रमणकालीन न्यायको विषय टुङ्गिन नसक्दा र पीडितले राज्यको तर्फबाट दिनसक्ने र दिनुपर्ने जुन राहत परिपूरक न्यायसहितको राहत दिनुपर्ने अधिकार पनि नपाउँदा ठूलो पीडाको स्थितिबाट गुज्रिनुभएको छ। अहिले १८ वर्षपछि संक्रमणकालीन न्यायको कानून निर्माणको कुरा सकिएको छ। यसमा हामीले धेरै मेहनत गरेका छौँ। द्वन्द्वसँग जोडिएको विषय आफैँमा धेरै जटिल धेरै संवेदनशील विषय र यो राष्ट्रिय हिसाबले धेरै महत्त्वपूर्ण विषय पनि हो।’

सभापति सुवेदीले बेपत्ता, घाइते तथा शहीद परिवारको पीडा न्यायसँग जोडिएकाले कानूनले उचित न्याय प्रदान गर्नुपर्नेमा जोड दिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुन्दरबजार (लमजुङ) । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन्।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म त्यो सङ्ख्या दोब्बरले बढेको जानकारी दिए। उनका अनुसार नगरभित्र पनि अन्यत्रबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ।

गत आवमा १३ परिवारका २७ जना सुन्दरबजार आएका थिए भने चालु आवको चैत मसान्तसम्म ३९ परिवारका एक सय २० जना नगरमा बसाइँसराइ गरी आएका पोख्रेलले उल्लेख गरे।

एघार वडा रहेको सुन्दरबजार नगरपालिकाका केही वडामा बजार विस्तार तीव्र गतिमा भइरहेका छन् भने केही वडा अझै ग्रामीण र दुर्गम अवस्थामा छन्। ग्रामीण वडाबाट बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो रहेको पोख्रेलले बताए। बजार क्षेत्रबाट ठूला सहरतर्फ बसाइँसराइको गति तुलनात्मक रूपमा केही कम रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुन्दरबजार–३ बाट १४ परिवारका ४१ जना र सबैभन्दा कम वडा नं ५ र १० बाट दुई-दुई परिवारका छ-छ जना बसाइँ सरेका पोख्रेलले जानकारी दिए।

बसाइँसराइ बढ्नुका मुख्य कारण शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीको खोजी रहेका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितले बताए। ‘बसाइँसराइ रोक्ने स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्नु, प्राविधिक शिक्षालय सञ्चालन तथा लगानीको वातावरण बनाउनेतर्फ पालिकाको प्राथमिकता हुनुपर्छ’, उनले भने।

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजारबाट बाहिरिनेको सङ्ख्या भित्रिनेको भन्दा बढी हुनु नगरका लागि चिन्ताको विषय बनेको बताए। उनले भने, ‘पालिकाले रोजगारी तथा सेवा प्रवाह सहज हुने कार्यक्रम लागू गरिरहेको छ । बसाइँसराइको कारण पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दै अगाडि बढ्नेछौँ।’

उनका अनुसार आर्थिक सम्पन्नता, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसाय, पारिवारिक सम्पर्कलगायत विविध कारणले नगरवासी ठूला सहरतिर बसाइँ सरिरहेका छन्। रासस


सामाग्री श्रोत :

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ग्राहक सेवा विस्तार गर्ने क्रममा नयाँ अवधारणा ‘एनसेल शप-इन-शप’ सुरु गरेको छ । कम्पनीले पहिलोपटक भैरहवामा ‘शप-इन-शप’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

भैरहवाको मैलावरस्थित एनसेलको आधिकारिक खुद्रा विक्रेता ‘न्यु लुम्बिनी ए टू जेड मोबाइल’ सँगको साझेदारीमा बिहीबार यो सेवा सुरु गरिएको हो ।

शप-इन-शपमार्फत ग्राहकले एनसेल सेन्टरहरूमा पाइने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । सिम किन्ने, रिचार्ज गर्ने, केवाईसी अपडेट, सिम स्वामित्व प्रमाणीकरण, ‘सधैं अन’ तथा अन्य प्याकहरूको नवीकरण, ई-सिममा अपग्रेड, इन्टरनेट सेटिङ मिलाउनेजस्ता सेवा सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

“अब हाम्रा ग्राहकले नजिकको शप-इन-शपबाटै सबै सेवा लिन सक्नेछन् । आजबाट सुरु भएको यो पहिलो शप-इन-शप हाम्रो विस्तार योजनाको थालनी मात्र हो । देशभर विभिन्न स्थानमा यस्ता शप-इन-शप सञ्चालन गर्ने योजनाअनुसार हामी अघि बढिरहेका छौं,” रोड्रिगेजले भने, “हाम्रो मूल मन्त्र ‘हामी तपाईंका लागि’ अनुरूप ग्राहकलाई अझ सहज, पहुँचयुक्त र सन्तोषजनक सेवा दिन प्रतिबद्ध छौं ।”

कार्यक्रममा सहभागी ग्राहकले शप-इन-शपमा ‘स्पिन एन्ड ह्विल’ गेममार्फत विभिन्न उपहार प्राप्त गरेका थिए ।

शप-इन-शप सेवा आइतबारदेखि शुक्रबारसम्म हप्तामा ६ दिन सञ्चालन हुनेछ । कम्पनीले हाल देशभर ३३ ओटा एनसेल सेन्टरमार्फत पनि ग्राहक सेवा दिइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १५:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन आज नेप्से १२.६० अंकले गिरावट हुँदै २६६१ विन्दुमा कायम भएको हो।

बजारको परिसूचक घटे पनि कारोबार रकममा उछाल आएको छ। बुधबार ६२.२५ अंक बढ्दै १० अर्ब ५१ करोड कारोबार भएको थियो। तर, आज सेयर बजार गिरावट आए पनि कारोबार रकम साढे ११ अर्बभन्दा बढी रहेको छ।

Ncell 2
Ncell 2

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारमध्ये पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। 

shivam cement
shivam cement

जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आज सबैभन्दा बढी गुमाउने कम्पनीमा नारायण डेभलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी गिरावट भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट