२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको सपथ भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाएका हुन्।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा.दिपक काफ्लेलगायत उपस्थित थिए।


सामाग्री श्रोत :

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

काठमाडौँ । प्रविधि उद्योगमा एन्ड्रोइड र आईओएसको प्रभुत्व कायमै रहँदा चिनियाँ प्रविधि कम्पनीहरूले अब यसको सशक्त विकल्प खोज्न सुरु गरेका छन् । नयाँ जानकारी अनुसार साओमी र बीबिके (BBK) ग्रुप अन्तर्गतका ओप्पो, भिभो र वनप्लस जस्ता प्रमुख स्मार्टफोन निर्माताहरूले संयुक्त रूपमा एउटा नयाँ अपरेटिङ सिस्टम (ओएस) विकास गर्न थालेका हुन् ।

यो कदमलाई एन्ड्रोइड र आईओएसको विकल्पको रूपमा हेरिएको छ, जसलाई अहिले वैकल्पिक अपरेटिङ सिस्टम अब अनिवार्य भइसकेको भन्ने दृष्टिकोणबाट हेरिएको छ ।

यो कदमका पछाडि विभिन्न महत्त्वपूर्ण कारणहरू छन् । पहिलो हो, भू-राजनीतिक दबाब र आत्मनिर्भरता । संयुक्त राज्य अमेरिका र चीनबिचको सम्बन्ध अझै सुमधुर हुन सकेको छैन । यस्तो अवस्थामा चिनियाँ कम्पनीहरूले अमेरिकी सरकारको गलत नजरमा परिने जोखिमलाई मध्यनजर गर्दै थप आत्मनिर्भरताको आवश्यकता महसुस गरेका छन् ।

ह्वावेले विगतमा अमेरिकी प्रतिबन्धका कारणले गुगल सेवाहरू गुमाउनु परेको उदाहरण ताजै छ । यही अवस्थाबाट पाठ सिक्दै अन्य कम्पनीहरूले पनि एन्ड्रोइडमा रहेको पहुँच गुमाउनु पर्ने सम्भावित अवस्थाका लागि पूर्वतयारी गरिरहेका छन् । यो नयाँ ओएस विकास गर्नुलाई सावधानीपूर्ण कदमका रूपमा लिइएको छ ।

अर्को हो, बजारमा नवीनताको अभाव । स्मार्टफोन बजार अहिले एकनासको अथवा भनौँ स्थिर जस्तो देखिएको छ । विगतमा हरेक कम्पनीको आ-आफ्नै विशिष्टता हुने गरे पनि अहिले फोनहरू धेरै हदसम्म उस्ता उस्तै देखिने गरेका छन् । अपरेटिङ सिस्टमहरूले पनि एकअर्काबाट सुविधाहरू सापटी लिएका छन् । जस कारण तिनीहरूबिच लगभग भिन्नता छुट्याउनै मुस्किल हुने अवस्था छ । साओमी र वनप्लसको यो सम्भावित नयाँ अपरेटिङ सिस्टमले स्मार्टफोनलाई फेरि रोमाञ्चक बनाउन सक्ने आशा गरिएको छ ।

त्यस्तै सामसुङ-एप्पल एकाधिकारको जोखिमको भय पनि सँगसँगै छ । यदि साओमी र बीबिके-स्वामित्वका कम्पनीहरूले एन्ड्रोइड प्रयोग गर्न पाएनन् भने यसको सबैभन्दा ठुलो फाइदा एप्पल र सामसङलाई हुनेछ । जसले बजारमा एकाधिकार सिर्जना गर्न सक्छन् । बजारमा पर्याप्त विकल्पहरू कायम राख्न तेस्रो मोबाइल इकोसिस्टमको आवश्यकता रहेको छ ।

यो सन्दर्भमा ह्वावेको सहयोग र त्यसको अनुभव पनि महत्त्वपूर्ण छ । अमेरिकी सरकारले ह्वावेमाथि पहिलो पटक प्रतिबन्ध लगाएको ६ वर्षपछि मात्रै ऊ अब पूर्ण रूपमा एन्ड्रोइडबाट अलग हुन तयार देखिन्छ ।

ह्वावेलेले आफ्नो हार्मोनी ओएसलाई परिपक्व बनाउँदै चिनियाँ बजारमा कमब्याक गरेको छ । ह्वावेले अब साओमी, ओप्पो, भिभो र वनप्लसलाई यो गुगल-रहित एन्ड्रोइडको विकल्प सिर्जना गर्न सहयोग गर्नेछ । यद्यपि, ह्वावेको ओएस अझै पनि एन्ड्रोइड र आईओएसलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने अवस्थामा विकसित भइनसकेको बताइन्छ । विशेषगरी यसको एप स्टोरमा कयौँ लोकप्रिय एपहरूको अभाव छ।

यो प्रयास पक्कै पनि सजिलो छैन । यदि साओमी र यसका साझेदारहरूले एन्ड्रोइड आधारित फोन बेच्न छाडे भने उनीहरूले विश्वव्यापी बजारमा आफ्ना ग्राहक गुमाउन सक्ने जोखिम पनि छ । एक राम्रो सुरुवात भनेको इनोभेटिभ फिचर र अद्वितीय भिजुअल सुधारसहितको एन्ड्रोइड स्किनलाई परिमार्जन गर्नु हुन सक्छ ।

यसबाहेक, साओमीले सम्भावित प्रतिबन्धहरूको सामना गर्न इन-हाउस चिपसेटमा पनि काम गरिरहेको खबर छ । यद्यपि अमेरिकी सरकारले एन्ड्रोइडमा साओमीको पहुँच रोक्ने कुनै सङ्केत दिएको छैन । तैपनि त्यसको सम्भावनालाई नकार्न भने सकिँदैन ।

यो नयाँ अपरेटिङ सिस्टमको विकासले स्मार्टफोन बजारमा आवश्यक एउटा धक्का दिनसक्ने सम्भावना छ । यो प्रयासले कहिले प्रतिफल दिन्छ, त्यो भने भविष्यले नै बताउनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १०:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। 

वाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताएका हुन्। 

Ncell 2
Ncell 2

आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन पाइँदैन भने। 

shivam cement
shivam cement

उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् । ‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ सभापति देउवाले भने । श्रमिकलाई अधिकार दिलाउनका लागि आफ्नो पार्टी सधैं अग्रस्थानमा रहेको उनले जिकिर गरे ।
‘हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली कांग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैं अग्रस्थानमा छ,’ सभापति देउवाले भने, ‘नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको छ । श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली कांग्रेसकै सरकार भएको बेलामा आएका हुन् ।’ सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास आफूले लिएको देउवाको भनाइ छ ।
‘स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्ति स्वदेशमै रहेन र स्वदेशमै ज्ञान सिप वृद्धिको विकास लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा गर्नु छ,’ देउवाले सम्बोधनको क्रममा भने ।

सामाग्री श्रोत :
deshparadesh

संसारमा सबैभन्दा सुन्दर शब्द आमा,  कुनैपनि बच्चा जन्मेदेखि बृद्दावस्थासम्म मानिसले भुल्न नसक्ने एउटै शब्द आमा। आमा अर्थात् जन्म दिने मात्र नभएर एउटा जीवनलाई आकार दिने कुशल मुर्तिकार पनि हुन्, जीवन पढ्न सिकाउने कुशल शिक्षक हुन्। सन्तानको सानो चोटमा पनि छटपटाउने आमा नै हुन्। आमा आफू हजारौं दुखको भारी बोकेर सन्तानलाई अधिकतम खुशी र सुख दिने नै आमा हुन्, सन्तानको खुशीका लागि हरसम्भव प्रयास गर्ने नै आमा हुन्। अर्थात् आमा भन्नेबित्तिकै हाम्रो मनमा एउटा ममतामयी, निस्वार्थी र त्यागी भनेर आउँछ। तर, हामीले सोचेजस्तै अनि भनेजस्तै सबै आमाहरु उस्तै हुँदैन रहेछन्। कहिलेकाहिँ केही आमाकै भूमिकामा पनि अस्वभाविकता देखिन्छ, यहाँ एउटा त्यस्तै आमा, छोरी अनि बा’को कथा जुन अस्वभाविक लाग्छ,  जहाँ आमाले ममता हराएकि छन्, जहाँ आमाले सिंगो नाता हराएकी छिन्। 

फूल जस्तै भर्खर फुल्दै गरेकी सानि छोरी, डोल्पा घरमा बिरामी भइछिन्, नजिकै स्वास्थ्य संस्था छ तर औषधि रहेनछ, धन्न एकजना स्वास्थ्यकर्मी रहेछन्। उनैले औषधि छैन, एकपटक दुनै लग्नु भनेछन् तर आमाले उपचारको लागि सधैं भरपर्ने अनि विश्वास रहेको नजिकै भएको धामीकहाँ लगिछन्, धामीलाई छोरी बिरामी भएर ल्याएको भनेपछि देवता बसालेछन्, धामीले अक्षता हानेछन्, धोलो सिकाएछन्, ३ दिनको भाका राखेछन्, देवता बसालेको २ दिनमा अलिकति विशेक भएछ। अनि ३ दिनपछि श्वास फेर्न समस्या हुन थालेपछि आमाले श्रीमानलाई भनिछन,  ‘घर हेर्नु, म छोरी अस्पताल लगेर जान्छु।’
उनी अस्पतालमा आइन्, ओपीडीमा हेरेपछि आकाश भन्दा सेतो थियो उनको दायाँ भागको फोक्सो,  स्टेथस्कोपले सुन्दा पनि आवाज राम्रो थिएन। श्वास फेर्न समस्या थियो, अनि बोल्न पनि झिँजो मानिरहेकी थिइन् भनेर ड्युटी डाक्टरले भन्नुभएको थियो। वार्डमा भर्ना भइन्, अनि औषधि चल्यो, २ दिन पछि कतिको सुधार भयो भनेर हेरेको जस्तो पहिले थियो,  उस्तै थियो, अझ राम्रो थिएन। त्यसपछि हामीले नानीलाई उपचारको लागि सुर्खेत नेपालगंज लानुपर्छ भन्यौं। अनि आमा एक्कासी रुन थालिन्, ‘पैसा छैन कसरी उपचार गर्नु ?’ 

हामीले भन्यौं,  ‘हामी गाडी मिलाइदिन्छौं,  सुर्खेतमा लैजानुहोस्, प्रदेश अस्पतालमा राम्रो छ। सस्तो पनि छ।’ उनी जान राजी भइन् तर अर्को दिन मात्र। गाडीलाई कुरा गर्यौंम, गाडीले एकजना आमाको १५०० मा लाने कुरा भयो (नत्र २५००),  अर्को दिन बिहानै ती नानीको आमालाई फोन गरे उनले पैसा जोहो भएको छैन। ‘आज घर जान्छु अनि भोलि तल उसको बासँग पठाउँछु’ भनिन्। मैले सम्झाएँ तर उनी घरै जाने भनिन्, अझ घर जानुको कारण चाहि देवता हेराउन नै रहे । त्यसपछि करिब ३ दिन उनी हराइन् र दुनै अस्पतालबाट गएको ४ दिनमा बिहान फोन गरिन्,  त्योबेला म सुर्खेत आएको थियो। उनले भनिन्,  ‘डाक्टर देवताले आजको दिन दिए हामी घरबाट त्रिपुराकोट आउँछौं, त्यहीँबाट गाडी चढ्छौं भनिदिनु।’ 

मैले आजसम्म उपचार सुरु हुन्थ्यो, अवस्था झन् बिग्रियो होला भनेर एकछिन कराएँ तर उनले देवताले दिन नदिए कसरी जानु  भन्ने भयो  भनिन्। मैले फेरि गाडीमा कुरा गरें। भाडा मिलायौँ अनि उनले नानीसँग नानीको बालाई पठाएको खबर गरिन्।  मैले आफैँ किन नआएको त भनेको उनले घर अरु बच्चा हेर्नुपर्योक, गाईगोरु खेतिपाति सबै हेर्नुपर्छ भनेर आफु डोल्पै बसेको बताइन्। 

मैले सुर्खेत पुगेपछि खबर गर्नु भनेर फोन राखें। डोल्पाबाट हिँडेको साँझ उनीहरु प्रदेश अस्पताल पुगे। प्रदेश अस्पतालमा बा र छोरी मात्र पुगे।  इमर्जेन्सीबाट बच्चाको वार्डमा भर्ना भइन्,  नानी।  प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. सुवास शर्मासँग कुरा गरें। आर्थिक अवस्था अति नै कमजोर रहेको भनेपछि नि:शुल्क उपचारको व्यवस्था प्रदेश अस्पतालबाट भयो। नानीको आवश्यक चेकजाँच भइरहेको थियो,  अर्कोदिन २०८१ वैशाख १९ गते म आफ्नो तालिमको लागि प्रदेश अस्पताल गएको मौकामा बच्चा वार्डको बेड नं ८४ मा लेखेको नाम बोर्डमा देखें। अनि गएर भेटें । नानी छाति दुख्यो भनेर कराइरहेकी थिइन् भने बा औषधि ल्याउन गएका रहेछन्, केही बेरमा बा आइपुगे। त्यो समयमा म ती नानीसँग कुरा गर्दै थिएँ अनि उनका बा आए। उनी ‘औषधि किन्ने पैसा पनि छैन कसरी उपचार गर्ने ?’ भनेर रुन थाले, त्यो दिन सम्झाएर आएँ। 

गत २० गते वैशाख  बिहान अस्पताल गएँ, पैसा सकिएर डोल्पा श्रीमतीलाई ऋण उठाउन लगाएको छु, आजभोलि आउँछ कि भन्दै थिए । मैले ५ हजार रुपैयाँ औषधि किन्नका लागि दिएँ, अस्पतालमा बिरामी भेट्न जाँदा जुस भन्दा पनि पैसा दिन राम्रो लाग्छ मलाई।  कमसेकम एउटा औषधि भएपनि किन्न पाउँछन् भन्ने लाग्छ। त्यसपछि उन्को मुहारमा अलिकति उज्यालो आयो र सम्झाएँ,  अस्पतालमा नि:शुल्क छ। अलि-अलि खर्च त गर्नै पर्छ भनें। तत्पश्चात उनको उपचार निरन्तर भइरहेको छ तर २२ गते बिहान करिब ६ बजेतिर तिनै नानीको बुबाले फोन गरे। उनले भने,  ‘मेरो श्रीमती ३/४ दिनदेखि घरमा छैनन्। मेरो फोन पनि उठाइनन्। फोन गरेर बुझि दिनुपर्यो डाक्टरसाब भने, बिहान-बिहान त्यसरी पारिवारिक कुरा पनि मलाई भन्न फोन गरेपछि रिस उठिरहेको थियो। तर उनलाई मैले केही भनिनँ र ‘हुन्छ म कुरा गरेर बुझौंला’ भनें। अनि करिब ८ बजेतिर मैले फोन गरें। फोन उठाइन्,  कहाँ छौ भनेर सोधें। म गोतामकोटमा भनिन्। 

अघि श्रीमानले आफ्नी श्रीमती घरबाट भागेर भारत जान लागेको बताएका थिए। उनले गोतामकोट भन्दा उनका श्रीमानको कुरा सत्य हो कि झैं लाग्यो,  उनले त्यतिमै फोन काटिन्। अनि फेरि आफैँ फोन गरेर ‘सर म त्रिपुराकोट जाँदैछु। २५००० रुपैयाँ पठाउँदैछु।’  मैले किन फोन नउठाएको  त श्रीमानको ? भनें।

उनले छोरिसँग कुरा गराईदेउ भनेर भनिरहेकी रहिछन्। तर उनले कुरा नगराएर उल्टै  पैसा किन नपठाएको भन्दै थर्काउने रहेछन्। त्यही रिसले फोन नउठाएको बताइन्।

‘छोरीको उपचारका लागि तपाईंको भर गरेकी हुँ । राम्रो गरिदिनु, म पैसा पठाउँला श्रीमानकन’ भनेर फोन काटिन्। 

त्यसपछि मैले पनि फोन गरिनँ, उनको श्रीमानले फेरि दिउसोतिर फोन गरे,  ‘सर पैसा पनि हालिन् (पठाइन्),  फोन उठाइनन्, तपाईंले फोन गरिदिनुन।’ सानी नानीको उपचारका लागि मैले सहयोग गरिरहेको थिएँ। उनको घरको निजी मामलामा पार्न थालेपछि मैले भनें,  ‘प्रहरीको १०० मा फोन गरेर मेरो श्रीमती भारत भाग्न थाली, पक्राउ गर्न भन्नु।’

श्रीमतीले फोन उठाएर भनिछन्- म भारत गएँ। बच्चाबच्ची आफैं पाल्नु। मैले प्रतिक्रिया जनाइनँ। अर्को दिन ती नानीको छातिमा जमेको पिप तान्न पाइप हाल्ने शल्यक्रिया थियो, शल्यक्रीया भएपछि गएर भेटें। त्यो दिन उनलाई धेरै सहज भएको थियो,  सर्जरी वार्डको १४६ नम्बर बेडमा पल्टिएकी नानि भेट्न गएको थिएँ। यसबेला पनि बा थिएनन्। मैले उनलाई तिम्रो बा खै भनेर सोधें। औषधि ल्याउन गएको बताइन्। उनको हालखबर सोधें। उनले आफू ठीक भएको तर आमासँग कुरा नभएकाले कुरा गराउन आग्रह गरिन्। मैले फोन गरे जस्तो गरें तर गरिनँ र अहिले फोन अफ भएको तीन नानीलाई बताएँ। त्यसपछि उनको अनुहारमा थोरै उज्यालो देखियो।

उनलाई तिम्री आमा तिमीलाई यस्तै अवस्थामा छाडेर भारत गइन् भन्ने जस्तो तीतो बोल्ने आँट आएन। मेरी उपचार नपाएर मर्छ कि भनेर पीरले छटपटिने आमा आज एक्कासी छाडेर गएको खबर  सुनाउने सक्दै सक्दनथें।

केहि बेरमा उनको बुवा आए। उनले कहिलेसम्म यहाँ बस्नुपर्छ भनेर सोधे। औषधि किन्ने पैसा सकिएको बताए। उता नर्सले सिर्जनाको बुबा आउनु भनेर बोलाएर हातमा चिट थमाइन्। औषधि ल्याएर आउनु भनिन्। मेरो अनुहार हेर्दै अस्तिको पैसा बाँकि छ त्यसैबाट ल्याउँछ सर भनेर गए।

उनी बाहिर निस्किदै गर्दा भने,  ‘सर त्यो (श्रीमती) भारत पुगि जस्तो छ,  अब तपाईं पनि त्यसलाई नखोज्नु।  आखिर खुट्टा भए जुत्ता कति-कति। बच्चाबच्ची म हेरिहाल्छु,  यो छोरी सन्चो भए हुन्थ्यो।’
उनी औषधि ल्याउन गए। म एकछिन सोचमग्न भएँ। एउटा बिरामी छोरीको उपचारका लागि परिवारमा भएको विखण्डनको साँक्षी हुनुको नमिठो महशुस भयो।  गरिबिको एउटा अर्को कहर आफैंले महशुस गर्नुको पीडाबोध भयो। 

न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ,  त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? 

उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्। त्यसैले निम्त्याएको घटना हो यो। आधारभुत स्वास्थ्य सेवा  आर्थिक अवस्था कमजोर भएकालाई सहजै प्राप्त हुन्थ्यो भने पक्कै यस्ता घटना घट्दैनथे। 

उपचारमा रहेकी ती अवोध बालिकाको अनुहार हेरें। तंग्रिदै थिइन्। मलाई दोधार भइरहेको थियो- उनले उपचार पाएकोमा सन्तोष लिएर फर्किउँ वा एउटा परिवारको विखण्डनको पीडा लिएर !
प्रश्न आजपर्यन्त दिमागमै छ- के नीति निर्माणमा रहेकाहरुलाई यो दूरावस्थाले छोएको होला ?  

(डा उपाध्याय  डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत  हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

टिआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागवण्डाका आधारमा टिआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्।

प्रदर्शनकारीले सिफारिस समिति खवरदार, जवरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस, भागबण्डाको समिति मान्दैनौ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन्।

साथै द्वन्द्व पीडित समुदायले आफुहरुको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन्।


सामाग्री श्रोत :

माग सम्बोधन नभए समानान्तर नागरिक आयोग गठन गर्ने द्वन्द्व पीडितको चेतावनी

काठमाडौँ । चितवनका सुबिनकुमार प्रजापति पब्जीको दुनियाँमा ‘रुल्ज’ (RULZ) नामले परिचित छन् । यो एउटा यस्तो नाम हो जसले नेपाली ई-स्पोर्ट्समा आफ्नो छुट्टै पहिचान बनाएको छ । उनको यात्रा रमाइलोका लागि सुरु भएको एउटा खेलबाट व्यावसायिक खेलाडी बन्ने र सपनाहरू साकार पार्नेसम्मको छ ।

डीआरएस गेमिङका लागि इन-गेम लिडर (आईजीएल) को भूमिका निर्वाह गर्दा उनको नेतृत्वमा टिमले २०२२ को पब्जी विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दै नेपालमा साढे दुई करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएको थियो । पब्जीको यो यात्रामा उनले अनेकौं आरोह-अवरोह, संघर्ष र सफलताका कथा कोरेका छन् ।

पब्जीसँग गाभिएको त्यो पल

सुबिनको पब्जीसँगको पहिलो साक्षात्कार लकडाउनको त्यो फुर्सदिलो समयमा भयो । त्यसअघि उनको जीवन डीजे र क्याटरिङको व्यावसायिक धुनमा रमाइरहेको थियो । “सुरुमा त रमाइलोका लागि दिदीको मोबाइलबाट खेल्थेँ,” उनी आफ्नो गेमिङ यात्राको सुरुआती दिन सम्झँदै भन्छन्, “पछि साथीभाइको संगतले व्यावसायिक रूपमा खेल्न थालेँ ।” उनको परिवारको आर्थिक अवस्था सामान्य थियो; मायालु आमा-बाबा चितवनमा बस्ने र उनी भने सपनाको सहर काठमाडौंमा भाडाको कोठामा संघर्षरत थिए ।

गेमिङप्रतिको उनको गहिरो रुचिलाई परिवारले सुरुमा सहजै नलिए पनि अगाडि बढ्न भने रोकेन ।

“गेम खेलेर बिग्रिन्छ, पढाइ बिग्रिन्छ भन्ने डर सबै आमाबुबालाई हुन्छ, मेरो परिवारलाई पनि त्यस्तै थियो,” उनी त्यो समयको पारिवारिक मनोविज्ञानलाई चित्रण गर्छन् । तर, उनको अठोट र सपनाप्रतिको समर्पणले उनलाई पछि हट्न दिएन । सीमित स्रोतसाधनका बाबजुद, उनले सेकन्ड ह्यान्ड आईफोन किनेर आफ्नो पब्जी यात्रालाई गति दिए ।

“पहिले मैले सुरु गरेको त आईफोन सिक्स एसबाट सुरु गरेको थिएँ । अनि एन्ड्रोइडमा चाहिँ मैले पोको एफ वनबाट खेल्न थालेँ,” उनी आफ्नो गेमिङ डिभाइसको आरोह-अवरोहबारे सुनाउँछन्, “एन्ड्रोइडभन्दा नि आईफोनलाई हल्का प्रायोरिटी दिनुको कारण यो स्मुथ हुन्छ । यसमा राम्रो गेमप्ले एक्सपिरियन्स गर्न पाइन्छ ।”

सफलताको शिखर र टिम परिवर्तनको चुनौती

सुबिनको व्यावसायिक गेमिङ करियरमा डीआरएस गेमिङसँगको सहयात्रा एक कोशेढुंगा साबित भयो । यही टिमको नेतृत्व गर्दै उनले पीएमजीसी २०२२ मा नेपाललाई विश्वसामु दोस्रो स्थानमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिए । यो ऐतिहासिक सफलताले नेपाली ई-स्पोर्ट्स जगतमा नयाँ उत्साहको सञ्चार गर्‍यो र करिब साढे दुई करोड रुपैयाँ बराबरको पुरस्कार राशि नेपाल भित्र्याउन सफल भयो ।

“त्यो क्षण मेरो लागि अविस्मरणीय थियो, हामीले देशको नाम राख्न सक्यौं,” उनी त्यो गौरवपूर्ण क्षणलाई सम्झँदै भन्छन्, “फाइनलका लागि डाइरेक्ट क्वालिफाई नभइकन हामीले लिग, सर्भाइभल स्टेज, लास्ट चान्स खेलेर फाइनल पुगेका थियौं । यहाँसम्म पुगिसकेपछि हामीले जित्न सक्छौं है भन्ने अनुभूति भएकाले हामी लास्टसम्म लडेको थियौं ।” तर, सफलताको यो बाटो सधैं सोझो र चिल्लो भने थिएन ।

टिमभित्रका आन्तरिक असमझदारी, प्रदर्शनमा आउने स्वाभाविक उतारचढाव र कहिलेकाहीँ आर्थिक चुनौतीले पनि उनलाई पिरोल्थ्यो ।

डीआरएस छोडेर टीटुकेमा आबद्ध हुनु उनको करियरको अर्को महत्वपूर्ण तर चुनौतीपूर्ण निर्णय थियो । “टिमको डिसिजन पनि हुन्छ । त्यसबाहेक अब कहिलेकाहीँ तलमाथि नै हुन्छ । त्यो उतै अब टिमकै डिसिजन थियो,” डीआरएस छोड्नुको कारणबारे उनी इमान्दार स्वीकारोक्ति गर्छन् । टीटुकेमा उनको आबद्धता पछाडि मिल्ने साथी बिपुलको आग्रह र नयाँ सुरुआतको चाहना थियो, “टीटुकेमा म जोडिने कारण चाहिँ मेरो साथीले गर्दा नि हो । बिपुलले बोलाएपछि म त्यहाँ आबद्ध भएँ ।”

सपनाको साकार अनि प्रेरणाका स्रोत बनेका रुल्ज

हरेक व्यक्तिसँग केही सपना लुकेका हुन्छन् । सुबिनको पनि एउटा प्यारो सपना थियो– आफ्ना मायालु आमा-बुबालाई एउटा सुन्दर र न्यानो घर उपहार दिने । पब्जीबाट आर्जन गरेको लगानी र अथक मेहनतले उनले चितवनमा जग्गा किनेर त्यो सपनालाई वास्तविकतामा बदले ।

“यो मेरो लागि सबैभन्दा ठूलो खुसीको कुरा हो, मैले आफ्नो सपना पूरा गर्न सकेँ,” उनी आँखामा खुसीको आँसु टिलपिलाउँदै भन्छन्, “मम्मी बाबा चाहिँ उतै चितवनमा बस्नुहुन्थ्यो । अनि त्यहीँ चितवनमा जग्गा लिएँ र घर पनि त्यहीँ बनाएँ ।” यो सफलता उनको व्यक्तिगत मात्र नभएर, उनको परिवारका लागि पनि गर्वको विषय बन्यो ।

पब्जीको भर्चुअल युद्धभूमिमा निरन्तर डटिरहन उनलाई आफ्ना साथीभाइ, अनगिन्ती समर्थकहरूको माया र नेपाली टिम एलिमेन्ट्रिक्स जस्ता अग्रज टिमहरूले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको सफलताले सदैव प्रेरित गरिरह्यो ।

“जब मान्छेले तिम्रो खेल मन पराउँछन्, तिमीलाई समर्थन गर्छन्, तब अझै राम्रो गर्ने हौसला मिल्छ,” उनी कृतज्ञता व्यक्त गर्छन्, “मैले पहिला हाम्रै नेपाली टिम एलिमेन्ट्रिक्स, इन्डियामा गएर खेल्दा उनीहरूको त्यो फोटोहरू देख्थेँ । अनि मेरो माइन्डसेटमा पनि मलाई बाहिर गएर यसरी खेल्ने रहर थियो ।” यो देखेर उनमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउने अठोट जागेको थियो ।

कुनै पनि सफलताको पछाडि परिवारको अदृश्य तर महत्त्वपूर्ण हात हुन्छ नै । सुबिनको हकमा पनि यो सत्य साबित भयो । सुरुवाती दिनमा गेमिङप्रतिको उनको गहिरो लगावलाई लिएर परिवारमा केही शंका र चिन्ता अवश्य थिए । तर जब छोराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्दै गयो, ती शंकाहरू गर्वमा परिणत भए ।

“अहिले त उहाँहरू मलाई गर्व गर्नुहुन्छ, नेपालमा नाम राख्न पाएकोमा खुसी हुनुहुन्छ,” उनी भन्छन्, “पहिलेदेखि मलाई सपोर्ट गर्नुहुन्थ्यो उहाँहरूले । जे काम गरे पनि जस्तो गरे पनि हामी तिम्रो साथमा छौं भन्नुहुन्थ्यो ।” यो पारिवारिक स्नेह र समर्थनले उनको आत्मविश्वासलाई सधैं उचो राख्न मद्दत गरेको छ ।

अहिले सुबिन टीटुके गेमिङसँग आबद्ध छन् र आफ्नो टिमलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ अगाडि बढिरहेका छन् । “अहिले हाम्रो फोकस राम्रो प्रदर्शन गर्ने र नेपालको नाम अझै माथि पुर्‍याउने हो,” उनी आफ्नो लक्ष्य स्पष्ट पार्छन् । उनी निरन्तर आफ्नो खेल कौशललाई तिखार्न र नवीनतम रणनीति सिक्नमा तल्लीन छन् । बुटक्याम्पमा बसेर टिमसँग घनिभूत अभ्यास गर्ने, विपक्षीको खेल विश्लेषण गर्ने र आफ्ना कमजोरीलाई शक्तिमा बदल्ने उनको दैनिकी हो । “सफलताको लागि निरन्तर प्रयास र समर्पण चाहिन्छ, आराम गर्ने फुर्सद कहाँ छ र ?” उनको यो भनाइले उनको लगनशीलता झल्काउँछ ।

भविष्यमा नेपालमै ई-स्पोर्ट्सको विकासमा योगदान दिने वा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूला अवसरहरू खोज्नेबारे पनि उनले योजना बनाएका छन् । “नेपालमै केही गर्छु भनेर बसिरहेको छु, प्लानिङहरू गरिरहेको छु । यदि त्यो सफल भएन भने म विदेश जान्छु होला,” उनी भन्छन् ।

सुबिन नेपाली ई-स्पोर्ट्सको भविष्यप्रति निकै आशावादी छन्, तर यस क्षेत्रको समग्र विकासका लागि थुप्रै संरचनागत र नीतिगत सुधारको आवश्यकता रहेको उनी औंल्याउँछन् ।

“नेपालमा टुर्नामेन्टहरू कम हुन्छन्, जसले गर्दा खेलाडीले पर्याप्त एक्सपोजर पाउँदैनन् । सरकार र निजी क्षेत्रले यसमा लगानी बढाउनुपर्छ,” उनको सुझाव छ ।

खेलाडी र टिमलाई दक्ष कोचको अभाव सधैं खड्किने गरेको उनी बताउँछन् । “नेपालमा कमजोरी भनेको कोच हो । खासै कोच हुँदैनन् । बाहिरको टिमले कोचदेखि साइकोलोजिस्ट सबै राखिरहेको हुन्छ । हामीलाई खेलाडीको मर्म, उनीहरूको लगाव, क्षमता, मनस्थिति बुझ्ने कोचको आवश्यकता छन् ।”

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १३:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–सरकारी सेवाबाट निवृत्त भएपश्चात् आफूलाई पूर्णरूपमा लेखनको दुनियाँमा सक्रिय बनाउनुभएका डा. भोजराज घिमिरेद्वारा यस अघि नै सृजना गरिएका साहित्यका विभिन्न विधाहरू मध्ये कविता , गीत ,गजल , कथा र उपन्यास गरेर ८ ओटा कृति प्रकाशित भइसकेका छन्।प्रस्तुत गजल सञ्चयन ‘नाद’ घिमिरेको नवौँ कृति हो भने प्रकाशोन्मुख गजल सञ्चयन ‘लहड’ नेपाली गजल साहित्यमा एक इतिहास रच्ने सङ्घारमा छ।जसको पछि चर्चा गरौँला।

समीर मिडिया एण्ड प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको प्रस्तुत कृति ३ खण्डमा खण्डीकृत छ। 

(१)उकुसमुकुस

(२)साधना

(३)साधनोत्तर

१)उकुसमुकुसः-

हररात दीयो जल्छ तिम्रो यादमा 

भिज्दै परेली गल्छ तिम्रो यादमा (पृ.१०)

तिमीले जान्छु मात्रै के भनेथ्यौ

हिडेझैँ लाग्यो यो कोठा उठेर(पृ.१२)

उक्त खण्डमा १२ ओटा गजल समावेश गरिएका छन् जहाँ शायरका उकुसमुकुस शब्द र शेर मार्फत प्रस्ट देख्न सकिन्छ।

२)साधनाः-

यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ।

टल्किन्छ जून हरदम बग्दो ‘नदी-बगर’मा 

दिलको तलाउ तिम्रो के हेर्नु सङ्कुचित छ(पृ.१४)

नराख्नू खुला वस्त्र कहिल्यै धराले

बदनमाथि अम्बरको आँखा अझै छ (पृ.२२)

Ncell 2
Ncell 2

साधना भनेको निरन्तर बग्ने झरना हो।जसले परिआए ढुङ्गा खियाउन पनि सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ।किनकि यस खण्डमा शायरद्वारा शेरलाई प्रस्तुत गर्ने शैलीले बोल्छ।

चढेर हिड्नू तिमी नै कुवेरको घोडा

हुँ’ला सइस म,मलाई जगर भए पुग्छ(पृ.२६)

कहाँ मैलिने हो ,कहाँ मेटिने हो ?

रहर बैँसको एक टीका रहेछ(पृ.३१)

रातभर चुम्बन दियो यस सिरानीले 

अब बिहानी देखि टाढा हुने मन छ(पृ.३७)

shivam cement

shivam cement

शायर कसरी प्रस्तुत भयो भन्दापनि शायर कहाँ पुग्यो भन्ने कुरा प्रस्तुत शेरमा प्रतीत हुन्छ।

पियो कर्दले रक्तका बूँद एक्लै

अचानो बनेँ घाँटी व्यर्थै चढाई(पृ.८४)

•••

शायरले अचानोको बिम्वलाई बडो !कलात्मक रूपले उतारेका छन्।

७६ ओटा गजल समेटिएको यस खण्डमा शायरले आफूलाई शिष्ट साधकको दायरामा राखेर आफ्नो वैशिष्ट्यलाई गजलका शेर मार्फत प्रस्तुत गरेका छन्।

 प्रस्तुत शेर मार्फत शायर उद्घोष गर्छन् र तेस्रो खण्डमा प्रवेश गर्छन् ।

म अभ्यस्त बन्दै गएको छु दिनदिन

सधैँ फूलमा हिड्छु काँडा बिछ्याई(पृ.८४)

३)साधनोत्तरः-

२२ ओटा गजल समेटिएको यस खण्डसम्म आइपुग्दा शायर परिपक्व भएको देखिन्छ।प्रस्तुत शेरहरू मार्फत अब शायरको परिपक्वतालाई महसूस गर्दै पढौँ।

गुलाफी ओठले सज्जित सगर के देखियो सामु

रहरको एउटा चङ्गा विना धागो उडेको छ(पृ.९६)

बगर परेँ कि बालुवा नदीविना म खोँचमा?

खुशी कतै खडेरीमा परेको बाछिटा भयो(पृ.९८)

कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी 

यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी(पृ.१०३)

न दियौ खुशीको मौका ,न गयौ दुखी बनाई

नमरी मरेँ म पलपल नहुँदा तिमी नजिकमा(पृ.११२)

पूर्णरूपमा शास्त्रीयतालाई अबलम्बन गरेर ‘नाद’भित्र समेटिएका गजलहरूमा जीवन , संस्कृति ,रीतिथिति, जगत् र प्रणय जस्ता थुप्रै विषय प्राप्त हुनेछन्।जसलाई शायरले चामत्कारिक हिसाबले प्रस्तुत गरेका छन्।अझ प्रेम र प्रणयपरक विषयमा कलात्मक कलम चलेको पाउन सकिन्छ।

पापको ऊ सागरमाथा हो, यही बुझ् तँ ए ईश्वर

धर्मको नाममा पैसा फाली उद्धार खोज्दै छ(पृ.७४)

***

उक्त शेरमा शायर जगत् लेख्छन् भने प्रस्तुत शेर मार्फत प्रणयलाई यसरी सम्मान गर्छन्।

अझै जिन्दगी आफ्नो तिमीभित्र खोज्दै छु 

तिमी बिम्वकी ‘ऐना’ लजाएर के हुन्छ (पृ.८२)

‘नाद’ पढ्दै गर्दा  कुनै शेर हलुका लाग्न सक्छ।जहाँ हलुकाभित्र भार छ।अनि कुनै अति क्लिष्ट पनि लाग्न सक्छ।त्यो क्लिष्टता भित्र शालीनता छ।यी दुवै कलाका धनी हुन् शायर।किनकि कुनै कुनै शायरलाई बुझ्न एउटा होइन दुइओटा दिमाग खर्चिनुपर्ने हुन्छ।हो तिनै शायर मध्ये एक हुन् भोजराज घिमिरे।

उसो त “सर्जक एक मुहान हो भने पाठक एक समुद्र हो” भनिन्छ।अर्थात् सर्जक भन्दा पाठक जहिले पनि दश कदम अगाडि हुन्छ।यो भनाइ एकातिर राखेर शायरले कृतिभित्र हरेक गजलका अन्त्यमा बहरका अर्कान सहित गजल प्रस्तुत गर्नुको आशय भनेको नवसर्जकहरूलाई सजिलो होस् भन्ने हेतुले हो भन्ने लाग्छ।

शायरले बहरको तानमा शाब्दिक पराललाई भाषा र कलाको हतासोले ठोकेर सुन्दर तथा आकर्षक गजलका गुन्द्रीहरू प्रस्तुत गर्नुभएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक शब्दकोशलाई अनुसरण गर्दै शायर सजग हुँदै ‘नाद’ मा प्रस्तुत भएका छन्।

कृतिलाई ३ खण्डमा खण्डीकरण गर्दै प्रस्तुत गर्नुमा शायर स्वयम् थप सजग छन् भन्नेमा कुनै शंका नै छैन।अभ्यासका क्रममा पोखिएका मनका उकुसमुकुसहरूलाई उकुसमुकुस खण्डमा,अभ्यासलाई परिष्कार गर्दै जाँदा लेखिएका शेरहरूलाई साधनामा र थप परिष्कार हुँदै जाँदा लेखिएका गजलहरूलाई साधनोत्तर खण्डमा समेटेर शायरले आफूलाई सजग त बनाएकै छन्।यसकारण विषय र प्रस्तुतिका हिसाबले शायर परिष्कारवादी लेखक हुन् भन्दा अत्युक्ति नहोला। बहर ,भाषा र अन्य थप विमर्शका लागि समालोचकीय अर्जुनदृष्टि त छँदै छ।जो कहिलेपनि अन्त्य हुने कुरा होइन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। यहाँको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर।

तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ।

“अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला”, उनले भने, “अब बाँकी विषय त सजिलै छन्। आफ्नै शैलीमा लेख्न सक्छु।”

उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवा निवृत्त भएका हुन्। कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिएका थिए। “त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो। टेस्टमा पास गर्‍यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे। मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो”, उनले भने। तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन। एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन्।

“दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे। तर जसोतसो एसएलसी दिएँ। तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ”, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो। हामी चार भाइ, एक बहिनी थियौँ। आर्थिक अभावका कारण पढाइ छोड्नु पर्‍यो। तर, मनबाट शिक्षाको भोक हराएन।”

उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन्। “छोराछोरी जन्मिसकेका थिए। आफ्नो रहरमात्र हेरेर भएन। घर व्यवहार पनि चलाउनु पर्‍यो”, विगत सम्झँदै विकले भने, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन। अहिले छोराछोरीहरू सबै हुर्किए। बिहेबारी भइसक्यो। अब पढ्नलाई सहज छ। त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ।” कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको भनाइ छ।

यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन्। रासस


सामाग्री श्रोत :

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन्। विगत छ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन्।
राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिएको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन्। उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १३५ घार पु¥याएका छन्। विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेका हुन्।
उनले भने, ‘अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ।’
परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिक रुपमा मौरीपालन गरेका छन्। आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन्। उनले भने, ‘नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ।’
मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए। चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ।

आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गरेका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आएका छन्। घारलाई बढाएर १५० पु¥याउने योजना उनको रहेको छ।
सुरुआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाएका छन्।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फकिएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताए। रासस

सामाग्री श्रोत :
deshparadesh

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट