
काठमाडौँ । दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबको ‘ग्लोबल डेली टप म्युजिक भिडिओ’को दशौँ स्थानमा पर्न सफल भएको छ । बुधबार सार्वजनिक भएको यो गीत छोटो समयमै विश्वका शीर्ष म्युजिक भिडिओको सूचीमा अटाएको हो ।
यो गीत नेपालको युट्युब ट्रेन्डिङमा पहिलो नम्बरमा छ । यसका साथै नेपाली भाषीहरूको उपस्थिति रहेका अन्य देशमा पनि गीत ट्रेन्डिङमा छ । दुर्गेशले कन्टेन्ट क्रिएटर तथा भ्लगर सिसन बानियाँ र टिकटकमा चर्चित गुराँस नानीसँगको सहकार्यमा ल्याएको यो गीतले सार्वजनिक हुनुअघि नै व्यापक चर्चा पाएको थियो ।

विशेषगरी गीत सार्वजनिक हुनुपूर्व दुर्गेश र सिसनले गुराँस नानीलाई प्रस्तुत गर्दै विभिन्न मनोरञ्जनात्मक भिडिओ बनाइरहेका थिए । शुटिङका क्रममा खिचिएका तस्बिरहरू बाहिरिएपछि गीतको चर्चा झनै चुलिएको थियो ।
गीतले सार्वजनिक भएको २४ घण्टाभित्रै करिब २० लाख भ्युज पाएको थियो । यो समाचार तयार पार्दासम्म भिडिओले ४१ लाख ६० हजारभन्दा बढी भ्युज र तीन लाख सात हजारभन्दा बढी लाइक प्राप्त गरिसकेको छ । र, यो क्रम तीव्र गतिमा बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा पनि गीतले राम्रो चर्चा पाइरहेको छ ।
गीतमा लिप सिङ्क र डान्स गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओ बनाएपछि यसको चर्चा थप फैलिएको हो । यो म्युजिक भिडिओ ‘ग्लोबल विक्ली (साप्ताहिक) ट्रेन्डिङ’मा समेत पर्न सक्ने सम्भावना उच्च देखिएको छ । साप्ताहिक रूपमा सबैभन्दा बढी हेरिएका भिडिओ यो सूचीमा पर्ने गर्छन् । यो हरेक आइतबार अद्यावधिक हुन्छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ २१:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) असन्तुष्ट देखिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाइमाले अटोमोबाइल क्षेत्रको सुधारका लागि दिइएका सुझावहरुलाई मौद्रिक नीतिले समावेश नगरेको भन्दै निराशा व्यक्त गरेको हो ।
नाइमाले विशेषगरी सवारी कर्जामा ८० प्रतिशतदेखि २० प्रतिशतसम्मको कर्जा अनुपात कायम गर्न, चीनमा उत्पादित सवारी आयातमा युआनमा प्रतितपत्र (एलसी) खोल्न र सवारी कर्जाको जोखिम भारित सम्पत्ति (Risk-Weighted Asset) को दर १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झार्न सुझाव दिएको थियो ।
यी व्यवस्थाहरूले कर्जा प्रवाह सहज भई बजार विस्तारमा टेवा पुग्ने नाइमाको विश्वास थियो । तर, मौद्रिक नीतिमा यी सुझावहरूलाई बेवास्ता गरिएको एसोसिएसनको भनाइ छ ।
“अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि हामीले दिएका सुझावहरू समावेश नगरिनु अत्यन्त निराशाजनक विषय हो,” नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले हस्ताक्षर गरेकको विज्ञप्तिमा उल्लेख छ ।
मौद्रिक नीतिले समग्रमा कर्जा आपूर्ति बढाउने लक्ष्य राखे पनि अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय नल्याएको नाइमाको आरोप छ । रियल स्टेट र शेयर बजार जस्ता अन्य क्षेत्रका लागि स्पष्ट नीति ल्याइए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि, समग्र मौद्रिक नीतिले कर्जा आपूर्ति वृद्धि गर्ने उद्देश्य लिएकाले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पर्न सक्ने सम्भावनालाई भने नाइमाले सकारात्मक रूपमा लिएको छ । देशको आर्थिक विकासमा अटोमोबाइल क्षेत्रको भूमिकालाई मनन गर्दै उल्लिखित विषयहरूमा पुनर्विचार गर्न र आवश्यक नीति समायोजन गर्न नाइमाले नियामक निकाय राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १३:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु गरेको छ । त्रिविअन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC)ले विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने उद्देश्यले आवेदन खुलाएको हो ।
हालै एक सूचना जारी गर्दै त्रिविले विभिन्न संकाय, विभाग तथा अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीलाई आफ्ना स्टार्टअप आइडिया र व्यावसायिक योजनासहित आवेदन दिन आह्वान गरेको छ ।
‘ट्युबिक उद्यमशीलता विकास कार्यक्रम’ नाम दिइएको यस पहलको मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर्निहित नवप्रवर्तनशील सोचलाई प्रस्फुट गरी उनीहरूलाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न आवश्यक आत्मविश्वास, अवसर र स्रोत प्रदान गर्नु रहेको विश्वविद्यालयले जनाएको छ ।
प्राप्त आवेदनहरूमध्येबाट सम्भावना बोकेका स्टार्टअप आइडिया छनोट गरिने सूचनामा उल्लेख छ ।
छनोटमा परेका आइडियालाई बजारसम्म पुर्याउन आवश्यक पर्ने तालिम, प्राविधिक सहयोग र आर्थिक लगानीसमेत उपलब्ध गराइने केन्द्रले जनाएको छ । स्टार्टअपको प्रकृति र आवश्यकताअनुसार कस्तो प्रकारको सहयोग उपलब्ध गराउने भन्ने निर्णय गरिने बताइएको छ ।
आफ्नो स्टार्टअप आइडियालाई व्यवसायमा रूपान्तरण गर्न इच्छुक विद्यार्थीहरूले आगामी २५ साउनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा विस्तृत व्यावसायिक योजना, अध्ययनरत क्याम्पसको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
आवेदन पत्र र विस्तृत जानकारी ट्युबिकको आधिकारिक वेबसाइटमा उपलब्ध छ भने आवश्यक कागजातसहित [email protected] मा ईमेलमार्फत आवेदन पठाउनु पर्नेछ ।
हेर्नुहोस् सूचना
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १८:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ। सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो।
यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ। यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ।
यसअघि यस्तो परीक्षण सरकारी स्तरमा वीर अस्पताल तथा बिपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकोमा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक सुरु गरेको हो ।
‘अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको छ,’ डा. आचार्यले भने, ‘र, यसैका लागि भारत धाउनुपर्ने अवस्था रहनेछैन ।’ ‘इबस’ ब्रोङकोस्कोपीभन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको डा. आचार्यले बताए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । प्रविधिको विकाससँगै ज्योतिष परामर्शजस्ता परम्परागत सेवाहरू पनि डिजिटल माध्यममा लोकप्रिय बन्दै गएका छन् । यसैको एक सफल उदाहरण बनेका छन्, ज्योतिषी मुकुन्द शर्मा । शर्माले चर्चित एप ‘हाम्रो पात्रो’ मार्फत दुई लाख मिनेटभन्दा बढी अनलाइन ज्योतिषीय परामर्श सेवा प्रदान गरिसकेका छन् ।
हाम्रो पात्रोको ज्योतिष सेवामा आबद्ध रहेर शर्माले हालसम्म दुई लाख सात हजार मिनेटभन्दा बढी समय भिडिओ तथा अडियो कलमार्फत प्रयोगकर्तासँग प्रत्यक्ष कुराकानी गरिसकेको कम्पनीले जनाएको छ । एक वर्षअघि मात्रै एक लाख मिनेटको कोशेढुंगा पार गरेका उनले छोटो समयमै यो सफलता हासिल गरेका हुन् ।
हाम्रो पात्रोले शर्मालाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनको मार्गदर्शन धेरैले मन पराएको जनाएको छ ।
विगत केही वर्षदेखि हाम्रो पात्रोमा आबद्ध रही ज्यो. शर्माले पारिवारिक, आर्थिक, वैदेशिक यात्रा, शिक्षा, रोजगारी, वैवाहिक जीवन लगायतका विषयमा सेवाग्राहीलाई अनलाइन परामर्श दिँदै आएका छन् ।
उनले हाम्रो पात्रोको वेबसाइटमा लेखेका छन्, “मैले पारिवारिक, आर्थिक, वैदेशिक, शिक्षा, रोजगारी, वैवाहिक सम्बन्ध आदि विषयमा दिएका साना, सरल र उचित परामर्शका कारण प्रयोगकर्ताहरुलाई राम्रो भएको खबर सुन्न पाउँदा अझै हौसला मिलेको छ । यति कम समयमा नै धेरै जनाको साथ, सहयोग र माया पाएकोमा हर्षित छु र आफ्नो जिज्ञासाहरू लिएर हामीसँग जोडिने सबैलाई हार्दिक धन्यवाद र सफलताको शुभकामना व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोग प्रदान गरिदिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।”
हाम्रो पात्रोको ज्योतिष सेवाले कसरी गर्छ काम ?
हाम्रो पात्रोले आफ्नो एपमार्फत प्रयोगकर्तालाई करिब २० ज्योतिषीहरूसँग प्रत्यक्ष अडियो वा भिडिओ कलमा जोड्ने सुविधा दिएको छ । यो सेवा प्रयोग गर्न:
१. हाम्रो पात्रो एपको होमपेजमा रहेको ‘ज्योतिष’ बटनमा ट्याप गर्नुपर्छ ।
२. परामर्शका लागि टिकट किन्नुपर्छ, जसको भुक्तानी हाम्रो पे, इसेवा, खल्ती वा कार्डमार्फत गर्न सकिन्छ ।
३. टिकट खरिद गरेपछि आफ्नो वा परिवारको जन्मकुण्डली छनोट गरी उपलब्ध ज्योतिषीमध्ये एकलाई कल गर्न सकिन्छ ।
४. परामर्शको समयसीमा तोकिएको हुँदैन । यसले गर्दा प्रयोगकर्ताले आफ्नो जिज्ञासा खुलेर राख्न सक्छन् ।
यो सेवामार्फत प्रयोगकर्ताले कुण्डली विश्लेषण, विवाह मिलान, वास्तु परामर्श र अन्य व्यक्तिगत समस्याबारे घरमै बसेर विज्ञहरूसँग सल्लाह लिन सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १७:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औं सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ। फउण्डेसनका डाइरेक्टर डा. आदित्य जोशीका अनुसार आगामी सेप्टेम्बर १३ देखि १५ सम्म तीन दिन हुने सो सम्मेलनमा नेपाल र अमेरिकाबाट चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले भाग लिने छन्।
वार्षिक साधरणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा. जोशीले जानकारी दिए। सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका मानिसहरू न्युयोर्कमा जम्मा हुने छन्।
सम्मेलनको पहिलो दिन मानसिक रोग तथा नसर्ने रोग सम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुने र ती कार्यपत्रमाथि छलफल हुने डा. जोशीले बताए। त्यसैगरी, पेपर प्रिजेन्टेसन र पोष्टर प्रिजेन्टेसन पनि हुने छन्। साथै, सम्मेलनमा नेपाली खानाका साथै साँस्कृतिक कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन्।
फाउण्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले यो सम्मेलन अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासलाई नेपालको स्वास्थ्य प्रवर्द्धनमा उत्प्रेरित गर्ने साझा थलोको हुने बताए।
फाउण्डेसनले सन् २०१३ बाट नेपालमा मानसिक स्वास्थ्य, डिजिटल र स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण तथा उपचार, कुपोषण न्यूनीकरण र नेपाली चिकित्सकहरूलाई मेरिटसीप प्रदान गर्दै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न स्थानमा फेला परेका सयौं महत्त्वपूर्ण कागजात सम्बन्धित धनीलाई बुझ्नका लागि अनुरोध गरेको छ । सडक, सार्वजनिक यातायात तथा अन्य स्थानहरूमा सर्वसाधारणले छाडेका वा हराएका कागजातहरू सङ्कलन गरी परिसरको खोजतलास शाखामा सुरक्षित राखिएको प्रहरीले जनाएको हो ।
यी कागजातको विवरण गुगल शिटमा राखिएको छ । प्रहरीले उपलब्ध गराएको लिङ्कमार्फत यी कागजात फेला पार्न सकिन्छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ८२६ थान नागरिकताको प्रमाणपत्र, १३९ थान राहदानी, ४५ थान एटीएम कार्ड र २६ थान सवारी चालक अनुमति पत्र फेला परेका छन् । यसैगरी २९ थान मतदाता परिचय पत्र, १३ थान बचत पास बुक, १० थान स्थायी लेखा परिचयपत्र, ९ थान जेष्ठ नागरिक प्रमाणपत्र, ९ थान शैक्षिक प्रमाणपत्र र ४७ थान अन्य विभिन्न कागजात पनि भेटिएका छन् ।
आफ्नो वा आफन्त, साथीभाइको कुनै कागजात हराएको भए जिल्ला प्रहरी परिसर, काठमाडौंको आधिकारिक माध्यममार्फत विवरण हेरेर यकिन गर्न सकिनेछ । भेटिएका कागजातमा तपाईंको छ कि छन छैन भन्ने थाहा पाउन सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । कम्प्युटरमा लिङ्क खोल्दै हुनुहुन्छ भने ‘Ctrl+f’ थिचेर सर्चमा गई आफ्नो नाम खोज्नुहोस् ।
यदि यसरी सर्च बार फेला पार्नु भएन भने जिल्ला लेखिएको बक्सबाट आफ्नो जिल्ला, ‘कागजातको किसिम’को बक्सबाट कागजातको विवरण, त्यसपछि नाम र थर खोज्नुहोस् । यी सबै पुष्टि भइसकेपछि स्थानीय तह र आफ्नो वडा पुष्टि गर्नुहोस् । यसबाट भेटिएको कागजात तपाईंको हो भन्ने भएपछि जिल्ला प्रहरी परिसर, भद्रकालीमा रहेको खोजतलास शाखामा सम्पर्क गरी लिन सकिनेछ । थप जानकारीका लागि खोजतलास शाखाको फोन नम्बर ०१-४२५०८३७ मा वा प्रहरी कन्ट्रोलको हटलाइन १०० मा सम्पर्क गर्न सकिने परिसरले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:९
सामाग्री श्रोत :
टेक पाना
झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गर्नुभएको छ ।
नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे। उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिइन्। उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो। अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित ६ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । टिकटकसँग प्रतिस्पर्धा गर्न युट्युबले ल्याएको छोटो भिडिओ फिचर ‘शर्ट्स’ अहिले विश्वभर निकै लोकप्रिय बनेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नील मोहनका अनुसार, हाल शर्ट्समा दैनिक २०० अर्बभन्दा बढी भ्युज आउने गरेको छ । नेपालको युट्युब ट्रेन्डिङमा समेत करिब ९० प्रतिशत भिडिओ शर्ट्स नै देखिनुले यसको बढ्दो प्रभावलाई प्रस्ट पार्छ ।
तर, लामो भिडिओ हेर्न रुचाउने कतिपय प्रयोगकर्ताका लागि छोटा भिडिओ ध्यान भङ्ग गर्ने र अनावश्यक लाग्न सक्छन् । त्यसैले जसरी यसलाई मन पराउनेहरू छन्, त्यसरी नै यसबाट दिक्क हुनेको सङ्ख्या पनि ठुलो छ ।
खासगरी त्यसमा देखिने असान्दर्भिक र बेतुकका शर्ट्स धेरैका लागि टाउको दुखाइका विषय हुन सक्छन् । त्यस्तै छोटा भिडिओका लागि फेसबुक र इन्स्टाग्रामका रिल्स अनि टिकटक हेर्ने प्रयोगकर्तालाई युट्युबको यो फिचर मन नपरेको हुन सक्छ ।
यही समस्यालाई लिएर डेभिड स्कार्पियो नामका एक ‘एक्स’ प्रयोगकर्ताले युट्युबलाई शर्ट्स बन्द गर्ने सुविधा थप्न आग्रह गरेका थिए । जवाफमा कम्पनीले हाल यस्तो योजना नभए पनि उक्त सुझावलाई सम्बन्धित टिमसमक्ष पुर्याइएको जानकारी दिएको थियो ।
यदि तपाईं पनि युट्युब शर्ट्सबाट छुटकारा चाहनुहुन्छ भने यसको समाधान एउटा क्रोम एक्सटेन्सनको रूपमा उपलब्ध छ । धेरै प्रयोगकर्ताहरूले यस्ता एक्सटेन्सनबारे जानकारी दिएका छन् । जसलाई इन्स्टल गरेपछि तपाईंको युट्युब फिड र सर्च रिजल्टमा शर्ट्स देखिने छैनन् । यद्यपि ट्रेन्डिङ सेक्सनमा भने शर्ट्सहरू यथावत् देखिन सक्छन् । यहाँ र यहाँ क्लिक गरेर ब्राउजरमा शर्ट्स डिसेबल गर्न सक्नुहुन्छ । यो टिप्स मोबाइल एपका लागि भने काम लाग्दैन ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । राइड हेलिङ कम्पनी पठाओ नेपालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बालबालिकाले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ कम्पनीले आर्थिक सहयोग गरेको हो ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको हो । यसका लागि कम्पनीले ‘Ride for a Cause’ अभियान सञ्चालन गरेको थियो । यात्राबाट संकलित रकम काठमाडौँमा हालै आयोजित एक कार्यक्रमबिच किओचलाई हस्तान्तरण गरिएको हो ।
डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको किओच अस्पताललाई सहयोग गर्न पठाओ नेपालले २७ जेठदेखि २ असारसम्म उक्त अभियान सञ्चालन गरेको थियो । यस सहयोगले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिकाको उपचारमा सहयोग पुग्ने पठाओको विश्वास छ ।
पठाओले प्रविधि र आफ्ना सञ्जाल प्रयोग गरी किओचको सामाजिक उद्देश्यमा साथ दिएको जनाएको छ । यस पहलबाट बाल स्वास्थ्य, जनचेतना वृद्धि र भविष्यमा दीर्घकालीन सहकार्यको सम्भावना पनि देखिएको पठाओको भनाइ छ ।
डा. कोइरालाको अगुवाइमा सातै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि बढाइएको छ । हालसम्म कोशी प्रदेशको झापामा एउटा बाल अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौँसहित अन्य बाँकी प्रदेशहरूमा पनि बाल अस्पताल निर्माणको योजना राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:२७
सामाग्री श्रोत :
टेक पाना




