
किमाथांका (सङ्खुवासभा)। सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।
घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो। हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए।
त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए। गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ।
सामाग्री श्रोत :
काठमाडौं। पाकिस्तान र भारतले मंगलबार एक अर्काका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन्। दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।
पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।
‘पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो’, विदेश मन्त्रालयले भनेको छ, ‘मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ।’
यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो।
भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश छोड्न आदेश दिइएका पाकिस्तानी कूटनीतिज्ञले ‘भारतमा आफ्नो आधिकारिक हैसियतअनुरूप गतिविधिमा संलग्न नभएकोले उहाँलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिइएको छ।’
सामाग्री श्रोत :
भारत र पाकिस्तानद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश छोड्न आदेश
भक्तपुर। यहाँको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्यांकीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेका हुन्। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताए।
बागमती प्रदेश सरकारको रु एक करोड र सूर्यविनायक नगरपालिकाको रु आठ करोड बजेटमा सूर्यविनायक बृहत खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको उनले बताए। नगरपालिकाले ‘केयुकेएल’मार्फत खानेपानी वितरण गरेको नगरपालिकाका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए।
नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना सुरु गरेको थियो। अब दैनिक ३५ लाख लिटर पानी वितरण हुने जनाइएको छ। नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए।
हालसम्म १० हजार ९७० मिटर पाइपलाईन विस्तार सम्पन्न भएको र वडा नंं १ सिरुटारमा दुई देखि तीन किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको उनले जानकारी दिए।
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्यांकीमा मेलम्चीको पानी पठाइएको छ। छिट्टै मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरीसम्म पुर्याउने लक्ष्य राखिएको छ।
सामाग्री श्रोत :
काठमाडौं । टिकटकले ‘एआई अलाइभ’ नामक फिचर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार फोटोकै भरमा भिडिओ तयार पार्ने टुल सार्वजनिक गरेको हो ।
यो फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनै पनि स्थिर फोटोलाई टिकटक स्टोरीमार्फत भिडिओ क्लिपमा बदल्न सक्ने कम्पनीले जनाएको छ ।
उदाहरणका रूपमा कम्पनीले एउटा भिडिओ पनि सार्वजनिक गरेको छ । सो भिडिओमा टिकटकको नयाँ ‘एआई अलाइभ’ अप्सनले स्थिर फोटोलाई डिजिटल रूपमा एनिमेट गरी तस्बिरको स्रोतको आधारमा भिडिओमा परिणत गरेको देख्न सकिन्छ ।
“हामी सबैलाई थाहा छ, एक तस्बिरले हजार शब्द बोल्छ र टिकटकले भिजुअल स्टोरीटेलिङको यो नयाँ रूपलाई अझ अगाडि बढाउने लक्ष्य राखेको छ,” कम्पनीले भनेको छ, “एआई अलाइभमार्फत क्रियटरले अब सजिलैसँग आफ्ना फोटोलाई एनिमेट गर्न र आफ्ना कम्युनिटीका लागि थप आकर्षक स्टोरी भन्न सक्नेछन् ।”
कम्पनीका अनुसार यो फिचर प्रयोग गर्न एपको स्टोरी अप्सनमा ट्याप गरी क्यामेरामा गएर आफूलाई उपयुक्त लाग्ने तस्बिर छान्नुपर्छ । त्यसपछि दायाँपट्टि देखिएको ‘एआई अलाइभ’को अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि तपाईंलाई उक्त फोटोबाट कस्तो भिडिओ बनाउन मन लाग्छ, त्यही प्रम्प्ट राख्नुपर्ने हुन्छ । यसरी प्रम्प्टको आधारमा ‘एआई अलाइभ’ले स्थिर तस्बिरलाई आकर्षक भिडिओमा परिणत गर्ने कम्पनीले जनाएको छ ।
टिकटक, इन्स्टाग्राम र स्नापच्याटमा पहिलेदेखि नै यस्तै सुविधा भएको फिल्टर उपलब्ध थिए । अहिले भने टिकटकले त्यसैका लागि छुट्टै एआई टुल ल्याएको जनाएको छ ।
कहिलेकाहीँ यी एआई एनिमेसन उत्कृष्ट देखिन्छन् र वास्तविक भिडिओ क्लिप जस्तै महसुस हुन्छन् । तर, कहिलेकाहीँ अनुहारको हाउभाउ बिग्रिने, शरीरका अङ्ग अस्वाभाविक देखिन सक्ने भन्दै कम्पनीले सचेत बनाएको छ ।
यस अप्सनको प्रयोग गरी तयार पारिएका भिडिओ प्रयोग गर्न पर्याप्त हुनेमा कम्पनी विश्वस्त छ । अझ रोचक कुरा त के छ भने इन्स्टाग्रामले पनि क्यापकटको नक्कल गर्दै ल्याएको ‘एडिट्स’ एपमा यस्तै फिचर थप्न खोजिरहेको छ । यो फिचर कम्पनीले बुधबारदेखि विश्वव्यापी रूपमा उपलब्ध गराउन थालेको छ । सबै प्रयोगकर्ताले कहिले पाइसक्छन् भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १५:१६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का विधिसम्मत गतिविधिलाई सरकारको साथ रहने बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ’एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संस्थामा राजनीति गर्नेभन्दा सम्पूर्ण डायस्पोराको हक हितका लागि केन्द्रित हुन अपिल गरे । संघले २२ वर्षदेखि नेपाली डायस्पोराको हकहित गरेको र साँस्कृतिक सम्पदालाई बचाइरहेको उनको भनाई थियो ।
आसपी चिनजान, भेटघाट र मेलमिलाप, संस्कृति परम्पराको निरन्तरता, आफ्नो हक अधिकार सुरक्षा प्रत्याभूति र नेपालको समृद्धिमा योगदानको लागि संघ स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिले संस्थाभित्र संर्किण भावना देखिएको टिप्पणी गरे । ’मिल्नुपर्नेहरु मिलेर, एकताबद्ध भएर जानुपर्ने ठाउँमा अहिले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्ति देखिए । यहाँ चुनावै गर्नुपर्ने होइन । कामको यथोचित मूल्यांकन गरेर, को के हुने भनेर स्वीकार्य व्यक्ति समझदारीमा हुनुपर्ने हो,’ उनले भने, ’तर यस्ता संस्थामा व्यक्तिका लागि, श्रीमानको लागि, श्रीमतीको लागि विधान फेरियो । त्यो खालको हिसावले संस्था चल्छ ? एकताबद्ध हुन्छ ? गलत मनसायका साथ ति कुराहरु भएका थिए । त्यस्तो कुरा गर्नुहुँदैन । साथ दिनुहुँदैन । सुसंस्कृत हुनुपर्छ । यो संस्था मर्यादित होस् । विवेकले काम गरोस् । संस्थाका लागि काम गरोस् । देशका लागि काम गरोस्’ प्रधानमन्त्री ओलीले भने ।
संघमा देखा परेको विवादप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले लोकतान्त्रिक पद्धत्तिबाट निर्वाचन हुँदा हारेको समुहले अर्को समानान्तर समुह बनाएर स्वेच्छाचारिता देखाउनु गलत भएको बताए । उनले भर्खरै भेला गरी अर्को सम्मेलन गरेर आफूहरू नै आधिकारिक भएको दाबी गर्ने समूहप्रति आलोचना गर्दै भने। “उहाँहरूले अस्ति भेला गर्नुभयो, त्यसलाई आधिकारिक भन्नुभयो । फेरि निर्वाचित समितिले अर्को सम्मेलन गरेर यो आधिकारिक हो भन्नु अशोभनीय कुरा हो ।”
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशले पनि बद्री केसीको नेतृत्व आगामी कात्तिक ४ गतेसम्म कायम रहेको उल्लेख गरे । ’अहिले अदालतमा यो कुरा विचाराधीन छ । फुल बेन्चमा गएको छ । त्यसले अहिले भइरहेको निर्वाचित संस्थालाई मान्यता दिएर अब के फैसला गर्नुपर्ने हो, यस्तो आधार देखिन्छ भनेर फुल बेन्चमा पठाइएको छ । आगामी कात्तिक ४ गतेसम्म यसको समय कायम छ । यतिबेला अधिवेशन हुनुपर्छ । त्यो बेलासम्म यो संस्था निरन्तर नै रहेको देखिन्छ । यो स्वभाविक छ,’ उनले भने ।
अदालतले निर्वाचित नेतृत्वलाई नै आधिकारिकता दिएका बेला हारेका १७ जनाले भेला भएर हामीले एकता महाधिवेशन गर्यौ, अध्यक्ष बनायौँ भन्न मिल्छ ? ओलीको प्रश्न थियो । उनले भने ’गर्नै नहुने कुरा हो । यस प्रकारको विभाजन स्वीकार्य छैन । स्वार्थको लागि विभाजन गर्ने ? यो कुनै पार्टीको संस्था होइन । यस संस्थालाई भोटिङ राइट कहाँ प्रयोग गर्छ भन्नेसँग सरोकार छैन । यस समुदायका हकहित र देशका लागि के योगदान गर्न सक्छ भन्ने हो । कहाँ भोट हाल्ने आधारमा हेर्ने होइन ।’
प्रधानमन्त्री ओलीले कन्क्लेभबाट प्राप्त सुझावहरु सरकारले सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । ’के गर्न चाहनुभएको छ, माग के हो भन्ने आओस् । स्पष्टता के मा चाहियो त्यो पनि आओस् । सरकारले सम्बोधन गर्छ’ उनले भने । प्रधानमन्त्री ओलीले रिटर्नीहरु जस्तै गैरआवासीय नेपालीले आफ्नो परिवार वा गाउँमार्फत रोजगारी सिर्जना, उद्यमशीलतामा जोडिन अपिल गर्दै यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । ’रिटर्नीहरुले जागिर सिर्जना गर्नुभएको छ । उद्यमशीलता गर्नुभएको छ । ठूला काम र इण्डस्ट्रीका साथै स साना कामहरु पनि सिर्जना गरौं । काम सुरु गरौं । यसले अर्थतन्त्रमा छिटै चलायमान बनाउँछ । रोजगारी अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलता गर्नुपर्छ । राम्रो कामहरु रिटर्नीहरुबाट भएको छ । गैरआवासीय नेपाली साथीहरुले पनि रिटर्नीजस्तै आफ्ना परिवारमार्फत अरु मार्फत काम गर्न सकिन्छ,’ उनले भने । देशबाट फाइदा लिने भन्दा देशलाई फाइदा हुने नीति अपनाउन उनले अपिल गरे ।
उद्घाटन सत्रमा एनआरएनए आईसीसी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीले एनआरएनए नागरिकता पाइसकेको तर आर्थिक, सामाजिक, सांस्कृतिक के हो भनेर स्पष्ट भइनसकेको भन्दै एनआरएन ऐन छिटो ल्याउन माग गरे । सम्पूर्ण गैरआवासीय नेपालीबाट लगानी भित्र्याउनु एनआरएनए र सरकारको मूल अभिभारा भन्दै अध्यक्ष केसीले कानुनी र संरचनागत वातावरण बनाउन अनुरोध गरे । ’साना लगानी नेपालमा ल्याएर समृद्धिमा सघाउँछ । यसमा एनआरएनएले काम गरिरहेको छ,’ उनले भने ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं– कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीमाथि यस प्रकरणमा पूरक अनुसन्धान भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन्। प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको आमसञ्चारमाध्यममा दलितको सरोकार विषयक अन्तरक्रियाका वक्ताहरूले दलित समुदायलाई नियतबस नै अन्याय गरिएको विचार व्यक्त गरेका हुन्।
राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले आमसञ्चारमाध्यम मात्रै नभई सञ्चारसम्बन्धी सरकारी निकायसमेत दलितमैत्री हुन नसकेको बताए। सञ्चारमाध्यमले दलितका मुद्दा उठान गर्दै आए पनि यति नै पर्याप्त नरहेको उनले उल्लेख गरे।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चारमाध्यममा दलित समुदायलाई समावेशीमूलक बनाउन र समावेशी सञ्चारगृह बनाउन काउन्सिलले प्रयत्न गर्ने बताए। काउन्सिलको यति लामो इतिहासमा एक जना पनि दलित समुदाय सदस्य र अध्यक्ष नभएकामा अब असमावेशी संरचना हटाएर समावेशी काउन्सिल बनाउनुपर्ने धारणा राखे।
पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संविधानले व्यवस्था गरेको समावेशी नीति आमसञ्चार क्षेत्रमा पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए। महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले समावेशीबाटै नवीन समाजको परिकल्पना सम्भव हुने धारणा राखे।
कार्यक्रममा मेघेन्द्र विश्वकर्माले आमसञ्चार दलित (अ) समावेशीताको सवालः समस्या नीति कि नियत ? विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सञ्चारकर्मी पवित्रा सुनारले दलित समुदायका मुद्दा समाचार बनेका भए पनि राज्यको संरचनामा नै नेतृत्वदायी तहमा समावेशी नरहेको टिप्पणी गरे।
छलफलमा नीतिगत रूपमै समावेशी विषयवस्तु उठानुका साथै नियतमा समावेशी सोच आत्मसात गर्नुपर्ने, दलित समुदायका सवालमा बढीभन्दा बढी विषयवस्त उठानका लागि मिडिया नीति समाचार कक्षमा समानुपातिक उपस्थिति र प्रोत्साहन आवश्यक रहेको, मिडियाको विष्लेषणका विषयवस्तु विश्लेषण गरी दलितका सवाल उठान गर्न पैरवी गर्ने, दलितले सञ्चालन गर्ने मिडियालाई प्रोत्साहन गर्ने, पत्रपत्रिका वर्गीकणरमा नै समावेशी विषयवस्तुलाई मूल्यांकन गर्ने, राज्यले आफ्ना सञ्चार प्रतिष्ठा निर्णायक तहमा दलितलाई स्थान दिनुपर्नेलगायत विषय उठान गरिएको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल टेलिकमले देशकै प्रसिद्ध र सुन्दर पदयात्रा गन्तव्यका रूपमा परिचित लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय बासिन्दा तथा पदयात्री पर्यटकहरूलाई लक्षित गरी कम्पनीले हालैमात्र मोबाइल सेवा विस्तार गरेको हो ।
काठमाडौँबाट सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने यस क्षेत्रमा फोरजी सेवाले यात्राका क्रममा पर्यटकहरूलाई सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक विविधता आफ्ना प्रियजनहरूसँग साझा गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने, स्याफ्रुबेसीबाट करिब दुई दिनको पदयात्रापछि पुगिने यो ठाउँ पुगिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १५:५७
सामाग्री श्रोत :
टेक पाना
कास्की– पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिइन् । माइक्रोमा ११ जना सवार थिए ।
मृतकबाहेक ८ जनाको अवस्था सामान्य रहेको उनले बताइन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको माइक्रो एक्कासी चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त गरेको छ
बुधबार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो। सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यी हुन् सदस्यहरूः
सत्य निरुपण तथा मेलमिलाप आयोग
१. महेश थापा, अध्यक्ष
२. अच्युत प्रसाद भण्डारी, सदस्य
३. टिका प्रसाद ढकाल, सदस्य
४. पदम बहादुर शाही, सदस्य
५. कुमारी कौशल्य ओझा, सदस्य
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
१. लिलादेवी गड्तौला, अध्यक्ष
२. गोपालनाथ योगी, सदस्य
३. अग्निप्रसाद थपलिया, सदस्य
४. सिर्जना पोखरेल, सदस्य
५. विनिता नेपाली, सदस्य
सामाग्री श्रोत :
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)