२०८२ कार्तिक ८ शुक्रबार
LATEST NEWS
२०८२ कार्तिक ८ शुक्रबार

काठमाडौँ । ब्याट्री निर्माता कम्पनी सीएटीएल (सीएटीएल) ले चिनियाँ अटोमोबाइल कम्पनी सेरेसको कारखानामा ब्याट्री उत्पादन सुरु गरेको छ । कम्पनीले चोङकिङस्थित ‘सेरेस सुपर फ्याक्ट्री’ भित्र दुई ओटा सीटीपी (सेल-टु-प्याक) २.० हाई इन्ड ब्याट्री प्याक प्रडक्सन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

सीएटीएलले पहिलो पटक अपनाएको ‘फ्याक्ट्री-इन-फ्याक्ट्री’ नामक सहकार्य अन्तर्गत सीएटीएलले पहिलो पटक चोङकिङमा ब्याट्री उत्पादन थालेको बताइएको छ । यस्तो उत्पादन मोडेलमा मुख्य कम्पोनेन्ट आपूर्तिकर्ताहरूलाई सवारी साधन निर्माण गर्ने कारखानामा नै एकीकृत गरिन्छ ।

सेरेसका अनुसार, यो मोडेलले कम्पनीको निर्देशनअनुसार उत्पादन लाइनमा २० मिनेटभन्दा कम समयमा आवश्यक समायोजन गर्न सक्ने क्षमता राख्दछ । साथै हजारौं कम्पोनेन्टहरू दैनिक रूपमा आपूर्ति भई सोही दिन उत्पादन प्रक्रियामा समावेश हुन्छन् ।

यसबाट उत्पादनमा तीव्रता आउने र लागतमा कमी हुने अपेक्षा गरिएको छ । सीएटीएलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. रोबिन जेङले भने, “सुरु गरिएको उत्पादन लाइन सीएटीएलको सबैभन्दा उन्नत, बौद्धिक र डिजिटल उत्पादन लाइन हो ।”

सेरेस र सीएटीएलबिचको रणनीतिक साझेदारी सन् २०२२ को अगस्टमा भएको थियो । सम्झौताअनुसार, आइटो (Aito) ब्रान्डका सवारी साधनहरूमा आगामी पाँच वर्षसम्म विशेष रूपमा सीएटीएलका पावर ब्याट्रीहरू प्रयोग गरिनेछ । साथै, आइटोका नयाँ मोडेलहरूमा सीएटीएलको अत्याधुनिक किलिन (Qilin) ब्याट्रीहरू पूर्ण रूपमा जडान गरिनेछ ।

सेरेस र ह्वावेको संयुक्त परियोजना अन्तर्गत रहेपनि आइटो ब्राण्डमा संयुक्त लगानी भने छैन । जुलाई २०२४ मा, सेरेसले ह्वावेबाट आइटोको ट्रेडमार्क र पेटेन्टहरू करिब २.५ अर्ब युआन (३४४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो । यद्यपि, ह्वावे अहिले पनि एक प्रमुख पार्टपुर्जा र सफ्टवेयर आपूर्तिकर्ता हो । ह्रावेले आफ्नै ‘HIMA’ सेल्स नेटवर्कमार्फत आइटो ब्रान्डका कारहरू बिक्री गरिरहेको छ ।

एक नयाँ लक्जरी अटोमोटिभ ब्रान्डको रूपमा स्थापित आइटोले अहिलेसम्म बजारमा सात लाखभन्दा बढी सवारी साधनहरू बिक्री गरिसकेको छ । चोङकिङमा रहेको सेरेस सुपर फ्याक्ट्री यसको प्रमुख उत्पादन केन्द्र हो । 

सीएटीएलले पावर ब्याट्री बजारमा आफ्नो बलियो पकड कायम राखेको छ । चाइना अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन एलायन्सको तथ्याङ्कअनुसार २०२५ को जनवरीदेखि मे महिनासम्म चीनमा पावर ब्याट्री जडान २१.४ गिगावाट आवर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.४% ले बढी हो । यही अवधिमा, सीएटीएलले १०३.२० गिगावाट आवर ब्याट्री जडान गरेको छ, जसले ४२.९०% बजार हिस्सा ओगटेको छ ।

पावर ब्याट्रीबाहेक सीएटीएल र सेरेसबिचको सहकार्य शून्य-कार्बन क्षेत्रमा पनि विस्तार भएको छ । यसै वर्षको अप्रिलमा दुई कम्पनीले संयुक्त रूपमा सेरेस सुपर फ्याक्ट्रीमा ५० मेगावाट आवर क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोडेका छन् । यसले कारखानालाई हरित ऊर्जा प्रदान गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १२:२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- अब क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारशका औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो।

यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए।

डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए।

‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने,‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं।’
हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।
‘सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए।  

मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।

वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाण्डौलाई हस्तान्तरण गरिएको छ ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एलन मस्क नेतृत्वको कम्पनी एक्सएआईले बनाएको एआई च्याटबट ‘ग्रोक’ले आपत्तिजनक र घृणित अभिव्यक्तिहरू पोस्ट गरेपछि कम्पनीले आधिकारिक रूपमा माफी मागेको छ । च्याटबटले हालै गरेका यहुदी-विरोधी, अतिवादी र आपत्तिजनक टिप्पणीहरूका कारण कम्पनीले माफी मागेको हो।

“हामी गम्भीर रुपमा माफी चाहन्छौं,” शनिबार सार्वजनिक गरिएको एक्सएआईको पोस्टमा भनिएको छ, “धेरै प्रयोगकर्ताले अनुभव गरेको यो भयावह व्यवहार स्वीकार्य थिएन ।”

कम्पनीका अनुसार ग्रोकमा गरिएको एक कोड अपडेटले यस्तो समस्या निम्त्याएको थियो । जसले गर्दा उक्त च्याटबट एक्समा भएका अतिवादी विचार भएका पोस्टहरूबाट प्रभावित हुन थालेको थियो ।


एलन मस्कले ४ जुलाईमा ग्रोकमा ‘महत्त्वपूर्ण सुधार’ गरिएको भन्दै घोषणा गरेका थिए । सोही समयदेखि ग्रोकले डेमोक्र्याट नेताहरू, हलिउडका यहुदी कार्यकारीहरूविरुद्ध घृणास्पद र यहुदीविरोधी सन्देशहरू पोष्ट गर्न थालेको थियो । यति मात्रै होइन, ग्रोकले आफैँलाई ‘मेका हिटलर’ भन्दै एडोल्फ हिटलरप्रति समर्थन जनाउने अभिव्यक्ति दिएको थियो ।

यी घटनापछि एक्सएआईले केही पोस्टहरू हटाएको, ग्रोकलाई केही समयका लागि अफलाइन राखेको र सार्वजनिक प्रणाली निर्देशनहरू (prompts) अपडेट गरेको जानकारी दिएको छ ।

ग्रोकको अपमानजनक व्यवहारका कारण टर्की सरकारले उक्त च्याटबटलाई प्रतिबन्ध लगाइसकेको छ । यसैबिच, एक्सकी प्रमुख कार्यकारी लिण्डा याकरिनोले पनि आफ्नो पदबाट राजीनामा दिएकी छन् । यद्यपि उनले ग्रोक विवादलाई आफ्नो निर्णयसँग जोडेको छैन ।

एक्सएआईका अनुसार, ‘ग्रोकलाई अप्ठ्यारो बनाउने’ निर्देशनहरू जस्तै, ‘तिमी साँचो कुरा भन्ने गर्छौ र राजनीतिक रूपमा सही हुनुपर्ने डर मान्दैनौ’ जस्ता प्रम्प्ट उसलाई दिइएको थियो । यसले ग्रोकलाई प्रयोगकर्ताका उग्र विचारहरूमा सजिलै बहकाउने बनाएको कम्पनीको दाबी छ ।

तर, इतिहासकार अंगस जोनस्टनले भने ग्रोकलाई केवल प्रयोगकर्ताको प्रभावमा परेर यस्तो व्यवहार गरेको भन्ने दाबीलाई अस्वीकार गरेका छन् । उनले ब्लूस्काईमा लेख्दै भने, “यस्ता धेरै पोस्टहरू ग्रोकले आफैंले सुरु गरेको हो, जसमा पहिले कुनै अपमानजनक पोस्ट थिएन ।’

ग्रोकले यसअघि ‘सेतो जातिको नस्लीय हत्या’ भन्ने भ्रमपूर्ण विचार, होलोकास्टको मृत्युसंख्याप्रति शंका र एलन मस्क तथा डोनल्ड ट्रम्पसँग सम्बन्धित नकारात्मक जानकारीलाई सेन्सर गर्ने काम समेत गरेको देखिएको छ । ती घटनामा एक्सएआईले ‘अनधिकृत कर्मचारी’ वा ‘गैरकानुनी परिवर्तन’लाई दोष दिएको थियो ।

विवाद चुलिँदै जाँदा पनि एलन मस्कले ग्रोक सेवा अब टेस्ला गाडीहरूमा ल्याइने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असार २९, २०८२ ९:५४


सामाग्री श्रोत :
टेक पाना


काठमाडौं – नेपालकाे सरकारी प्रणालीमा रहेकाे ढिलासुस्ती बारे आमजनलाई अवगत नै छ । हालसम्म आमजनताकाे काममा मात्रै त्यस्तो हुनेगरकाे बुझाइ छ ।


तर, स्वास्थ्य मन्त्री प्रदिप पाैडेलले चाहेकाे आैषधि समेत नेपाल ल्याउन फाइल दुई महिना घुमेकाे मन्त्रालयले सार्वजनिक गरकाे छ। मन्त्रालयकाे समन्वय महाशाखाका प्रमुख भीम सापकोटाले भन, `हामीले दुई महिना प्रक्रियामै बितायाैं। प्रक्रिया पूरा गर्दा ढिलाे भयाे।´


सुरूमा मन्त्रालय आफैंले ल्याउन चाहेपनि प्रक्रियाकै कारण वन हर्ट वर्ल्डवाइडलाई दिइएकाे थियाे। उक्त संस्थाका प्रतिनिधि सुशील भट्टका अनुसार प्रक्रिया पुर्‍याउने क्रममा हत्तु भएपछि बीचमा मन्त्रीलाई नै ब्रिफिङ गर्नुपरेकाे थियाे।


स्वास्थ्य सचिव डा विकास देवकोटाले निरन्तर समन्वय र एकजना कर्मचारी नै यसमा खटाइएको मन्त्रालयले जनाएको छ।


औषधि अमेरिकास्थित डायरेक्ट काे रिलिफले प्रदान गरकाे हाे। अहिले ७ कराेड रूपैयाँ बराबरकाे प्राप्त भएकाे हाे। ३७ प्रकारका औषधि प्राप्त भएका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

संसारमा हुने धर्म, विज्ञान, दर्शन, नीति, राजनीति यी सबै सिद्धान्तमा आधारित छन्। सिद्धान्त शब्द प्राचिन ग्रीक शब्द थियोरियाबाट आएको हो, जसको अर्थ हेर्नु या गहिरो अध्ययन गर्नु हो।  अमेरिकन नर्सेज एसोसिएसन (ANA )ले नर्सिङ सिद्धान्तहरुलाई सिकिस्त बिरामीका हेरचाहलाई महत्वपूर्ण दायराको रुपमा ब्याख्या गरेको छ तथा सेवा सम्बन्धि निर्णय लिन सक्ने आधार को रुपमा ब्याख्या गरेको छ।  अर्थात् नर्सिङ विषयका सम्भावित प्रश्नहरुसँग सम्बन्धित कथनहरुको संगठित र व्यवस्थित अभिव्यक्ति नै नर्सिङ सिद्धान्त हुन्। यसले नर्सिङ अभ्यास, शिक्षा, अनुसन्धान, सिद्ध, खोज र व्यवस्थापनको लागि निश्चित रुपरेखा प्रदान गर्ने गर्छ।  

नर्सिङ सिद्धान्त किन महत्वपूर्ण छन् ?
नर्सिङ सेवामा आवध सेवाहरु अभ्यासमा ल्याउँदा ज्ञानमा आधारित अवधारणाहरुको संगठन नै सिद्धान्त हुन्, जसले परिचारिका सन्दर्भित अभ्यासको दायरालाई अनिवार्य रुपमा परिभाषित गर्दछ। हेरचाह प्रणालीका विभिन्न मापदण्डहरुको रूपरेखालाई बैज्ञानिक रुपमा प्रमाणित गर्न तथा आधारभूत कार्यहरु वर्णन गर्न सिद्धान्तले प्रमुख भूमिका निर्वाह गर्छ।  नर्सिङ पेशा सन् १९९९ देखि विश्वासिलो पेशा (most trusted profession ) को रुपमा मानिदै आएको छ, पेशालाई प्रोफेसन बनाउन निरन्तर सोध, अनुसनधान, खोज तथा बैज्ञानिक परिभाषित सिद्धान्त चाहिन्छ।  फ्लोरेन्स नाईटिङ्गलद्वारा संशोधित नर्सिङ विधा एउटा आत्मनिर्भर निर्णयलि बिरामीको उपचार गर्न सक्ने विधा हो। नर्स व्यक्ति, परिवार, समुदाय, निरोगी तथा रोगि सबै लाई सेवा गर्दछ, हरेक पाईला निर्धक्क भएर अगाडी बढ्न मद्दत गर्दछ।  मूलत: सिद्धान्तहरु महत्वपूर्ण छन् किन भने यसले निर्णय line कार्यलाई मार्गदर्शन दिने, नर्सिङ शिक्षालाई बैज्ञानिक आकार दिने, अनुसन्धान गर्ने, नर्सिङको पहिचान परिभाषित गर्ने गर्दछ।  यसले गुणस्तर सेवा प्रदान गर्न मद्दत गरेसँगै नर्सिङलाई अन्य पेशाबाट अलग गर्ने, अन्तरविषय सहकार्य सुधार गर्ने गर्दछ।  

नर्सिङ सिद्धान्त भन्नाले के बुझिन्छ ?
केर्लिङ्गरले सिद्धान्तलाई अवधारणाहरु बिचको अन्तरसम्बन्धका रुपमा व्याख्या गरेका छन्, जसले घटनाको व्यवस्थित दृश्टिकोणले वर्णन गर्ने गर्छ। नर्सिङ सिद्धान्तमा प्रमुख चार अवधारणाहरु व्यक्ति, ग्राहक, वातारण, स्वास्थ्य/रोग र नर्सिङ बीचको विशिष्ट सम्बन्ध समाबेश गर्दछ।  मेटापाराडिज्म अनुसार शारीरिक, अध्यात्मिक, मनोबैज्ञानिक तथा सामाजिक-सांस्कृतिक लगायतका नर्सिंङ सेवा प्राप्त गर्ने नै व्यक्ति हुन्, भने स्वास्थ्य भनेको व्यक्तिको एक गतिशील अवस्था हो जहाँ व्यक्तिको विकासात्मक र व्याहारिक क्षमता दुवै सकेसम्म पूर्ण रुपमा हुनु हो।  

वातावरण भनेको ग्राहकलाई असर गर्ने सम्भावित सबै अवस्था तथा स्वास्थ्य कायम राख्रन चाहिने सम्पूर्ण हेरचाह सम्बन्धित क्रियाकलापहरु हो।  नर्सिङ भनेको वास्तविक वा सम्भावित स्वास्थ्य समस्याहरुप्रति मानव प्रतिक्रियाहरुको निदान र उपचार हो।  विभिन्न नर्सिंग विज्ञहरु ले दिएका सम्पूर्ण सिद्धान्तहरु यी चार अवधारणामा आधारित छन्।  


नेपालको अस्पतालहरुमा नर्सिङ सिद्धान्त र प्रयोगको सम्भाव्यता

फ्लोरेन्स नाइटिङ्गलको वातावरणीय सिद्धान्त:  
नाइटिङ्गल यस क्षेत्रमा सिद्धान्तहरुको अग्रणी हुन्। उनी प्रकृतिको नियममा दृढ विश्वास गर्थिन्, किनकि उनले जोड दिइन् कि प्रकृतिका केही नियमहरू छन्, जुन यदि मानिसहरूमा सही रूपमा लागू गरियो भने, स्वास्थ्य पुनर्स्थापित गर्न र रोगबाट बच्न मद्दत गर्न सक्छ।  उनले छ वटा -D’s पत्ता लगाइन्, जसअनुसार डर्ट, ड्रिङ्क, डाइट, डयाम्प, ड्राउट, ड्रेन्स हुन्, यी डी-ले रोग लगाउँछन्। उनले त१३वटा केनोन व्याख्या गरे भेन्टिलेसन (हावा), वार्म्थ (न्यानोपन), फ्री ओफ ओडोर (गन्धरहित), सरसफाई भएको, उज्ज्यालो कोठा, शान्त वातावरण बनाउने, बिरामी लाई कार्ड, फूल दिने जस्ता कुरा हरु पर्दछ। प्राय: नेपाली नर्सहरुले यी नियम अनायासै गर्ने गर्छन्, जस्तो कि बिरामी को ओछ्यान मिलाउने, बिरामी लाई ओछ्यानमै नुहाउने जस्ता कामहरु, तर बेसिक ट्रेनिङ्ग पाएका नर्सहरु ले नर्सिङ थ्यौरीको बारेमा अद्ध्यन नगेरेको हुनाले ई काम गर्न हिच्किछाउँछन्। तथा प्रायः सिद्धान्त ज्ञान भएको नर्सले अन्य कोलाबोरेसन संगै नेचर अफ ल लाई सम्मान पूर्वक काम गर्ने गर्छन्।  

डोरोथिया एलिजाबेथ ओरेम को सिद्धान्त: आत्म-हेरचाहको कमी
डोरोथियाले आफ्नो ओरेम मोडेल अफ नर्सिङ वा सेल्फ-केयर डेफिसिट नर्सिङ थ्योरीलाई घरेलु स्तरमा मानव कार्यलाई प्रभावकारीता कायम राख्न वा सुधार गर्न आत्म-केयरको प्रावधान र व्यवस्थापनमा अरूलाई सहयोग गर्ने कार्यको रूपमा परिभाषित गरे। सिद्धान्तमा तीन भागहरू छन्; आत्म-हेरचाह, आत्म- हेरचाहको कमि र नर्सिङ प्रणाली। वक्तिले आफुलाई स्वास्थ्य राख्न आफैले गर्ने क्रियाकलापलाई सेल्फ केयर भनिन्छ भने जसले सेल्फ केयर पुरा गर्छ उ (बिरामी लगायत) सेल्फ केयर एजेन्सी हो।

 यदि सेल्फ केयर सेल्फ केयर एजेन्सीले पुरा गर्न नसके नर्सको आवस्यकता पर्ने गर्दछ। होल-कम्पेन्सेट्रि नर्सिंग सिस्टम, पार्सियल नर्सिंग सिस्टम र सपोर्टिभ एजुकेटिभ नर्सिङ सिस्टम गरी तिनवटा सिस्टममा छुट्याएको छ। यदि बिरामी निकै सिकित्स भए नर्सले आधारभूत सेवा देखि सम्पूर्ण सेवा गर्ने गर्दछन।  जस्तो कि आई सी यु मा भर्ना हुने बिरामी को मुख धुने, बेड मिलाउने, नुहाउने, औषधि दिने देखि अक्सिजन दिने, पिसाब नाली लगाउने, हिड्दुल गराउने, कसरत गराउने, शल्यक्रिया सम्बन्धि सेवा गर्ने गर्छन्।  यदि कुनै कुनै काम बिरामी या बिरामीका आफन्त गर्न सक्छन भने बिरामी र आफन्त लाई नर्सले मद्दत गर्ने गर्छन जस्तो कि बाथरूम सम्म पुर्याई दिने, बेड मिलाउने काम, ब्रस गर्ने काम सबै बिरामी आफैले गर्छन, भने नर्सले कसरत गर्न हेल्प गर्छन्, औषधि खान मद्दत गर्छन तथा जटिल क्लिनिकल काम गर्छन्।  जुन बिरामी सबै काम आफै गर्न सक्छन् भने नर्सको काम स्वास्थ्य शिक्षा दिने तथा जटिल काम गर्न मद्दत मात्र गर्छन। नेपाली नर्स सचेत हुनु जरुरि छ, किनकि ओरेम्स सिद्धान्त को बारेमा थाहा नपाएर बिरामीले आफैले गर्न सक्ने काम पनि होस्पितल को पोलिसीको नाम मा काम गरि रहेका छन्, यी सिद्धान्त ले नर्स लाई सेल्फ डिपेण्डेण्ट भएर स्मार्ट नर्स बन्न मद्दत गर्छ।  

अन्य सिद्धान्तहरु: भर्जिनिया हेण्डर्सन ले नर्सिङ नीड अर्थात् आवश्यकता सिद्धान्त दिएका छन्, जसअनुसार प्रत्येक व्यक्तिको १४-वटा आधारभूत आवस्यकता हरु हुन्छन जस्तो कि फिजियोलोजी निड; खान खानु, पीउनु, सरिर को फोहर निस्किनु, खतरा संग बच्नु, साइकोलोजी निड; मनका कुरा गर्न सक्नु, पिडा व्यक्त गर्न सक्नु, नयाँ कुरा सिक्ने उत्साह हुनु, यसैगरी आत्मीयता निड, इत्यादी इत्यादि हुन्।  यदि १४-निड पूरा हुन नसके बिरामी भइन्छ र नर्सको सेवाको आवश्यकता पर्ने गर्दछ। आऎमोजन किङ्ग को उद्देश्य प्राप्त गर्ने सिद्धान्त / गोल एटेन्मेण्ट थ्यौरी अनुसार नर्स र बिरामी दुवैको आ-आफ्नो स्वास्थ्य सम्बन्धि उद्देस्य हुने गर्छ, उनि हरु अस्पताल मा  भेट्छन्, एक अर्काको उद्देश्य भन्छन्, र त्यहि अनुसार नर्सिङ सेवा सम्बन्धि क्रिकलप छलफल गर्छन र आ-आफ्नो भागका काम गर्छन।  नर्स बिरामी को स्वास्थ्य पूर्ति गर्न डाक्टर, फर्मासिस्ट, ल्याब टेक्निसियनसँग मिलेर काम गर्छन्।  

नर्सिङ सेवाको गुणस्तर बढाउन, बिरामीको स्वास्थ्य सन्तुलन राख्न, रोग बात बचाउन, बचाउन नसके शान्तिपूर्ण मृत्युसम्म सेवा गर्नलाई नर्सले विभिन्न सिद्धान्त बारे जानकारी पाउनु जरुरी छ।  इन्सर्भिस एजुकेसन, तालिम, सही पोलिसीका माध्यमबाट नर्समा चेतना जगाउनु सँगै बिरामी र नर्स बीचको उपचार सम्बन्ध, राम्रो वातावरण बनाउनु अहिले आधुनिक मेडिकल सेवा का आवस्यकता हुन्।  

(लेखक पूजा प्रकाश नेपाल मेडिकल कलेजमा लेक्चरर छन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाल टेलिकमले पाटन दूरसञ्चार कार्यालय अन्तर्गतका विभिन्न क्षेत्रमा फाइबर-टु-द-होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत-सम्भारका लागि सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको छ । जसका कारण तीन दिनसम्म रातको समयमा टेलिफोन, इन्टरनेट र टिभी सेवा प्रभावित हुनसक्ने भएको छ ।

टेलिकमले जारी गरेको सूचना अनुसार, आइतबार, सोमबार र मंगलबार राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच सेवा अवरुद्ध हुनसक्ने छ । टेलिकमले मर्मत तालिका सार्वजनिक गर्दै ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

सेवा अवरुद्ध हुने क्षेत्र:

असार २९: चक्रपथ पारिका एकान्तकुना, कुसुन्ती, थसिखेल, महालक्ष्मी स्थान,नख्खुडोल शोभाहिटी ।

असार ३०: मङ्गल बजार, कृष्ण मन्दिर, पिमबहाल, ना:टोल, डौबहाल ।

असार ३१: धोबीघाट, मलपोखरी, बागडोल, नख्खु विष्णुदेवी ।

तोकिएको समयभन्दा अघि मर्मत सकिएमा सेवा चाँडै सुचारु हुनसक्ने टेलिकमले जनाएको छ । यदि निर्धारित समयपछि पनि सेवा सुरु नभए टेलिकमको ग्राहक सेवा केन्द्र १९८ वा कार्यालयको टेलिफोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८२ ८:१८





सामाग्री श्रोत :
टेक पाना

प्रभुराज वैद्य नेपालको नाम चलेको औषधि वितरण कम्पनीन यतिकेम डिस्ट्रीब्युटर्सका कार्यकारी अध्यक्ष हुन्। १२ वर्षको उमेरमा बुवाको सहयोगी भएर औषधि क्षेत्रमा प्रवेश गरेका उनी ७० वर्षको उमेरसम्म उत्तिकै सक्रिय छन्। उनी भन्छन्- अझै कम्तिमा १० वर्ष सक्रिय रहन्छु। शारिरीक स्वास्थ्यका लागि लामो समयदेखि नै अभ्यास गरिरहेका उनले अहिले मानसिक स्वस्थताका लागि ‘अध्यात्म’ अंगालेका छन्। 

विज्ञानमै स्नातकोत्तर गरेका, औषधि वितरणमा समर्पित ‘वैद्य’ले सधैं गुणस्तरीय औषधि बिरामीसम्म पुग्नुपर्ने कुरामा जोड दिए। उनले गुणस्तरीय औषधिका लागि ‘मल्टिनेशनल कम्पनी’ गुहारे। वितरणमा त्यसको गुणस्तर तलमाथि नहोस् भनेर भण्डारको वैज्ञानिक विधि अपनाए। 

औषधि ‘व्यवसाय’ मात्रै नभए सेवा समेत रहेको अनुभूत गरेको यो क्षेत्रमा प्रवेश गरेका कारण उनले नाम र दाम दुवै कमाए। त्यसकारण औषधि क्षेत्रमा उनका अनुयायी छन्। उनलाई प्रेरणाको स्रोत ठान्छन्। नेपालमा उपलब्ध नहुने, महंगो र जीवनका लागि अत्यावश्यक औषधिको पहुँचका लागि काम गरेका यी ‘औषधिका प्रभु, विज्ञानका विद्यार्थी हुन्  अध्यात्मका अनुयायी’ बनेका छन्। उनको जीवन, जगत र अनुभूतिलाई लिएर गरिएको संवाद : 

 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । आइएमई पेका प्रयोगकर्ताले आफ्नो खाता खल्ती वालेटमा सार्न सक्ने भएका छन् । १ साउनदेखि आइएमई पेको सम्पूर्ण कारोबार खल्तीबाट हुने भएपछि कम्पनीले खाता मर्ज गर्न सक्ने फिचर सार्वजनिक गरेको हो ।

केही दिनदेखि आन्तरिक रूपमा यो फिचर परीक्षण भइरहेको थियो । कम्पनीले शुक्रबारदेखि वालेटमा सूचना (नोटिफिकेसन) र रोड ब्लक मार्फत यो सुविधा पठाउन थालेको छ ।

कम्पनीका एक प्रतिनिधि अनुसार खाता मर्ज गर्नका लागि दुवै वालेटमा एउटै मोबाइल नम्बर प्रयोग भएको हुनुपर्छ । नम्बर एउटै भए तापनि नाम फरक परेमा त्यस्तो खाता स्वतः मर्ज हुँदैन । त्यसका लागि कम्पनीमा सम्पर्क गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

विशेषगरी खल्ती प्रयोग नगर्ने, तर आइएमई पे मात्र प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो सम्पूर्ण विवरण खल्तीमा सार्न यो प्रक्रिया अपनाउन सक्छन् । तर, दुवै वालेटमा खाता भए पनि आइएमई पेमा कुनै रकम छैन भने त्यस्ता प्रयोगकर्ताले खाता मर्ज नगर्दा पनि फरक नपर्ने कम्पनीका प्रतिनिधिले बताए ।

प्रयोगकर्ताले खाता मर्ज गर्न सबैभन्दा पहिले आइएमई पे वालेट खोल्नुपर्छ । त्यसपछि देखिने प्रक्रिया पूरा गर्दा खल्तीको पेज खुल्नेछ ।

प्रयोगकर्ताले आफ्नो विवरण र ओटीपी कोड राखेपछि खाता खल्तीमा स्थानान्तरण हुनेछ । त्यसपछि खल्तीको एप वा वेबसाइटबाट लगइन गरी आफ्नो विवरण हेर्न र वालेट प्रयोग गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: असार २८, २०८२ ७:२८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । आजको डिजिटल युगमा इन्टरनेटको विस्तारसँगै यसका अँध्यारा पाटा र भयावह जोखिम पनि एकपछि अर्को गर्दै सतहमा आइरहेका छन् । कतिपय सोझा प्रयोगकर्ता अञ्जानमै साइबर अपराधीको जटिल जालमा फस्न पुग्छन् भने कोही साइबर स्पेसको संवेदनशीलता र आधारभूत सिद्धान्तलाई बुझ्न नसक्दा नचाहँदा नचाहँदै विभिन्न झमेलामा मुछिन पुग्छन् ।

यसै परिप्रेक्ष्यमा डिजिटल संसारमा सुरक्षित रहन र सम्भावित खतराबाट बच्न यसका महत्त्वपूर्ण पक्ष बुझ्नु अपरिहार्य भएको छ । त्यसैले आज हामीले साइबर स्पेसमा अत्यधिक प्रयोग हुने, तर धेरैले स्पष्टसँग नबुझेका केही महत्त्वपूर्ण शब्द र तिनको वास्तविक अर्थबारे विस्तृत चर्चा गरेका छौँ:

टु फ्याक्टर अथेन्टिकेसन 

यो एक सुरक्षा प्रणाली हो, जसमा प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न दुई फरक-फरक तरिकाको प्रयोग गरिन्छ । यसमा पहिलो तत्व सामान्यतया प्रयोगकर्ताले याद राखेको पासवर्ड हुन्छ भने दोस्रो तत्व बाहिरी उपकरणबाट प्राप्त हुन्छ ।

उदाहरणका लागि हार्डवेयर टोकन जसले हरेक पटक नयाँ वान-टाइम पासवर्ड (ओटीपी) बनाउँछ, एउटा स्मार्ट कार्ड, मोबाइल फोनमा आउने एसएमएस वा फिङ्गरप्रिन्ट जस्तो पृथक भौतिक पहिचान यसमा पर्छन् । यसले गर्दा यदि कसैले तपाईंको पासवर्ड थाहा पाए पनि दोस्रो प्रमाणीकरण बिना तपाईंको अनलाइन अकाउन्टमा पहुँच पाउन सक्दैन । यसबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

एडवेयर

एडवेयर एक प्रकारको सफ्टवेयर हो । जसले प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा लगातार विज्ञापन र पप-अप विन्डो देखाएर हैरान पार्छ । र प्रयोगकर्ताको अनुभवलाई कष्टकर बनाउँछ । एडवेयरले उपकरणका लागि वास्तविक खतरा पनि निम्त्याउन सक्छ । यस्ता नचाहिएका विज्ञापनमा मालवेयर हुन सक्छन् वा प्रयोगकर्तालाई खराब वेबसाइटमा पुऱ्याउन सक्छन् । यसले गर्दा तपाईंको व्यक्तिगत डेटा चोरिने सम्भावना उच्च हुन्छ ।

एडवेयर प्रोग्राम प्रायः सित्तैमा पाइने सफ्टवेयर वा शेयरवेयरमा लुकाएर राखिएका हुन्छन् । एडवेयर प्रोग्रामले आफूलाई सिस्टममा लुकाएर राख्छन् र सजिलै देखिँदैनन् । यिनीहरूलाई हटाउने (अनइन्स्टल) प्रक्रिया पनि प्रायः हुँदैन र म्यानुअल रूपमा हटाउन खोज्दा मूल सफ्टवेयरमा नै समस्या आउन सक्छ । यसको स्वरूप पछिल्लो समय सामाजिक सञ्जालमा देखिन थालेको छ ।

आकर्षक हेडलाइन र शीर्षक राख्ने अनि थप जान्न क्लिक गर्नुहोस् भन्दै लिङ्क उपलब्ध गराइएको हुन्छ । त्यस्ता लिङ्क क्लिक गर्दा प्रयोगकर्तालाइ वास्तविक समाचारमा नभई अनावश्यक विज्ञापनका साइटमा रिडाइरेक्ट गरिन्छ ।

एन्टी-बटनेट

यो एक सुरक्षा उपकरण हो । जसले प्रयोगकर्ताले कुनै वेबसाइट खोल्दा स्वचालित रूपमा बटनेट (Botnet) को जाँच गर्दछ । यदि कुनै खतरा पत्ता लाग्यो भने यसले तुरुन्तै प्रयोगकर्ताको उपकरणमा चेतावनी सन्देश पठाउँछ । यसरी यस टुलले कम्प्युटरलाई बटनेटको हिस्सा बन्नबाट जोगाउँछ ।

एन्टी-मालवेयर

एन्टी-मालवेयर एउटा यस्तो प्रोग्राम हो । जो कम्प्युटर र नेटवर्कलाई एडवेयर, स्पाइवेयर र अन्य यस्तै खराब प्रोग्राम (मालवेयर) जस्ता कुनै पनि खतरा वा आक्रमणबाट बचाउनका लागि डिजाइन गरिएको हुन्छ । यो मालवेयर पत्ता लगाउन, रोक्न र हटाउन प्रयोग गरिन्छ ।

एन्टी-फिशिङ

एन्टी-फिशिङले प्रयोगकर्तालाई छलकपटपूर्ण (फ्रड) वेबसाइटबाट जोगाउँछ । यस्ता वेबसाइट प्रायः सक्कली वेबसाइटको दुरुस्तै नक्कल हुन्छन्, जसलाई सामान्य आँखाले छुट्याउन गाह्रो हुन्छ । यसले शंकास्पद ईमेल पत्ता लगाएर र फिशिङ वेबसाइटलाई ब्लक गरेर सुरक्षा प्रदान गर्दछ ।

एन्टी-भाइरस

एन्टी-भाइरस सफ्टवेयरले भाइरस पत्ता लगाउने नवीनतम प्रविधिलाई एकीकृत गरी प्रयोगकर्तालाई भाइरस, स्पाइवेयर, ट्रोजन र वर्मजस्ता खतराबाट जोगाउँछ । यस्ता खतराहरू ईमेल वा इन्टरनेट ब्राउजिङमार्फत उपकरणमा सर्न सक्छन् । यसबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

एडभान्स्ड पर्सिस्टेन्ट थ्रेट -एपीटी

यो एक अत्यन्तै परिष्कृत र लामो समयसम्म चल्ने साइबर आक्रमण हो । यसमा आक्रमणकारीले अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गरेर कुनै उच्च-स्तरीय नेटवर्कमा घुसपैठ गर्छ र पत्ता नलागिकनै हप्तौँ, महिनौँ वा वर्षौंसम्म नेटवर्कभित्र रहन्छ र जानकारी संकलन गरिरहन्छ । एपीटी आक्रमण प्रायः कुनै देशको आर्थिक र राजनीतिक स्थिरतामा ठुलो क्षति पुऱ्याउने उद्देश्यले स्रोत-साधन सम्पन्न आक्रमणकारीले गर्छन् । यसलाई जासुसी गर्ने ‘स्लिपर सेल’ (sleeper cells) को साइबर संस्करण मान्न सकिन्छ ।

आर्काइभ फाइल

यो एउटा यस्तो फाइल हो, जसमा अन्य धेरै फाइल (प्रायः कम्प्रेस गरेर) राखिएका हुन्छन् । यसको प्रयोग अक्सर प्रयोगमा नआउने फाइल भण्डारण गर्न वा इन्टरनेटबाट एकैपटक धेरै फाइल डाउनलोड गर्नका लागि गरिन्छ । जीप (ZIP) वा आरएआर (RAR) फाइलहरू यसका उदाहरण हुन् । यस्ता फाइल डाउनलोड गर्दा सजगता अपनाउनु पर्छ । यसबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

एडभान्स्ड थ्रेट प्रोटेक्सन -एटीपी

यो एक सुरक्षा समाधान हो, जसले संवेदनशील डेटालाई लक्षित गरी गरिने परिष्कृत मालवेयर वा ह्याकिङ आक्रमणहरूबाट बचाउँछ । एटीपीमा सफ्टवेयर र व्यवस्थित सुरक्षा सेवा दुवै समावेश हुन्छन् । यसले सामान्य एन्टी-भाइरसले पत्ता लगाउन नसक्ने खतरालाई पनि रोक्छ ।

अट्याक भेक्टर (आक्रमणको माध्यम)

यो ती सबै सम्भावित कमजोरीको सङ्ग्रह हो, जुन प्रयोग गरेर आक्रमणकारीले लक्षित प्रणालीमा प्रवेश गर्न सक्छ । आक्रमणको माध्यममा प्राविधिक कमजोरीका साथै मानवीय व्यवहार पनि समावेश हुन्छन् । यसलाई आक्रमणकारीले कुशलतापूर्वक प्रयोग गरेर नेटवर्कमा पहुँच पाउने गर्छन् । घरबाट काम गर्ने नयाँ कार्यशैलीले आक्रमणका माध्यमलाई बढाएको छ जसले गर्दा नेटवर्कको सुरक्षा गर्न झनै गाह्रो भएको छ ।

अथेन्टिकेसन (प्रमाणीकरण)

अथेन्टिकेसन भनेको कुनै प्रयोगकर्ता वा जानकारीको पहिचान र उपलब्ध गराइएको जानकारीको सत्यता प्रमाणित गर्ने प्रक्रिया हो । कम्प्युटिङमा, यो प्रयोगकर्ता नाम, पासवर्ड आदि प्रयोग गरेर व्यक्ति वा प्रणालीको पहिचान गर्ने प्रक्रिया हो । अथेन्टिकेसनले कम्प्युटर प्रणालीलाई उनीहरूको पहिचानको आधारमा पहुँच अधिकार (authorization) प्राप्त गर्न र अनधिकृत पहुँच रोक्न मद्दत गर्छ ।

ब्याकडोर (पछाडिको ढोका)

यो आक्रमणकारीले कम्प्युटर वा नेटवर्कमा पहुँच पाउन प्रयोग गर्ने एक गोप्य तरिका हो । यो सुरक्षा जाँचलाई छलेर कम्प्युटर प्रणालीमा प्रवेश गर्न बनाइएको प्रोग्राम हो, जसले भविष्यमा हुने आक्रमणको तयारी गर्छ । आक्रमणकारीले यसलाई उचित अनुमति बिना कम्प्युटर वा नेटवर्कमा प्रवेश गर्न पनि प्रयोग गर्न सक्छन् ।

बैंकर ट्रोजन 

यो एक प्रकारको खराब कम्प्युटर प्रोग्राम (मालिसियस प्रोग्राम) हो । यसले अनलाइन बैंक वा भुक्तानी खातामा पहुँच गर्न प्रयोग हुने संवेदनशील व्यक्तिगत जानकारी र पासवर्ड जस्ता विवरण चोर्ने गर्छ । प्रयोगकर्ताले आफ्नो बैंकिङ विवरण टाइप गर्दा त्यसलाई गोप्य रूपमा यसले रेकर्ड गर्छ ।

बीबीडी (ब्ल्याकलिस्ट, ब्लकलिस्ट वा डिनाइलिस्ट)

यो एक आधारभूत पहुँच नियन्त्रण संयन्त्र हो । जसले प्रणालीमा केही निश्चित तत्त्व (जस्तै ईमेल ठेगाना, प्रयोगकर्ता, पासवर्ड, यूआरएल, आईपी ठेगाना, डोमेन नेम, फाइल ह्यास आदि) लाई प्रवेश गर्नबाट रोक्छ । सूचीमा उल्लेख गरिएका बाहेक अन्य सबैलाई पहुँच दिइन्छ ।

बायोस (बेसिक इनपुट/आउटपुट सिस्टम)

यो कम्प्युटरको मदरबोर्डमा भण्डारण गरिएको एक प्रोग्राम हो । जसले कम्प्युटरका विभिन्न भाग (जस्तै किबोर्ड, माउस, हार्ड डिस्क) बीचको अन्तर्क्रियालाई नियन्त्रण गर्छ । कम्प्युटर सुरु हुँदा सबैभन्दा पहिले यही प्रोग्राम चल्छ ।

बट

बट एउटा यस्तो प्रोग्राम हो, जसले प्रयोगकर्ताको तर्फबाट स्वचालित रूपमा काम गर्न सक्छ । बटहरू प्रायः दुई प्रणाली‍लाई एकीकृत गर्न र नियमित काम गर्न प्रयोग गरिन्छ । तर, स्पाम फैलाउन, पासवर्ड चोर्न र डीडस आक्रमण गर्न यो प्रयोग हुन सक्छ ।

बटनेट

बटनेट भनेको ह्याक गरिएका कम्प्युटरको सञ्जाल हो, जसमा खराब प्रोग्राम चलिरहेका हुन्छन् । र त्यसलाई साइबर अपराधीले टाढाबाटै कमान्ड एन्ड कन्ट्रोल सर्भरमार्फत नियन्त्रण गरेको हुन्छ । साइबर अपराधीले स्वचालित प्रक्रिया (बटहरू) मार्फत सार्वजनिक आईआरसी च्यानल वा वेबसाइटबाट टाढाबाटै नियन्त्रण गर्छन् । यस्ता वेबसाइट कि त ‘बट हर्डर’ (बट सञ्चालक) आफैंले चलाएका हुन्छन् वा कुनै वैध वेबसाइटलाई ह्याक गरेर यस उद्देश्यका लागि प्रयोग गरेका हुन्छन् ।

अर्को शब्दमा बटनेट भनेको अनजानमा ह्याक भएका कम्प्युटरको समूह हो, जसलाई नियन्त्रकले अवैध गतिविधि (जस्तै; डीडस आक्रमण) गर्न प्रयोग गर्छ ।

ब्रुट-फोर्स आक्रमण

यो पासवर्ड (वा कुनै सन्देशलाई इन्क्रिप्ट गर्न प्रयोग गरिएको की) अनुमान गर्ने एउटा विधि हो । जसमा सही पासवर्ड फेला नपरुन्जेलसम्म अक्षरको सम्भावित संयोजनलाई व्यवस्थित रूपमा ठुलो सङ्ख्यामा प्रयास गरिन्छ । ब्रुट-फोर्स आक्रमणको जोखिम कम गर्ने एउटा तरिका भनेको पासवर्ड प्रविष्ट गर्ने प्रयासको सङ्ख्या सीमित गर्नु हो । उदाहरणका लागि केवल तीन पटक असफल प्रयास गर्न दिने र त्यसपछि १५ मिनेटपछि मात्र थप प्रयास गर्न दिने व्यवस्था गर्दा यसबाट केही हदसम्म जोगिन्छ ।

बिजनेस कन्टिन्युटी प्लान

यो कुनै पनि संस्थाको लागि आपतकालीन अवस्था (ठुलो साइबर आक्रमण) मा कसरी काम गर्ने भन्न बारे बनाइएको एक विस्तृत योजना हो । यो योजनाले विपद्बाट बच्ने उपाय प्रदान गर्दछ र कुनै पनि ठुलो साइबर घटनाको अवस्थामा सामान्य रूपमा व्यापार कसरी जारी राख्ने भन्ने रणनीति र कार्ययोजना रूपरेखा तयार गर्दछ ।

बिजनेस डिस्ट्रप्सन

यो शब्दले कुनै प्रणाली प्रक्रिया वा घटनाको सामान्य कार्यशैलीमा आउने कुनै पनि अवरोधलाई जनाउँछ । साइबर आक्रमणले व्यापार सञ्चालनमा अवरोध पुऱ्याउँछ र संस्थालाई नोक्सानको जोखिम बढाउँछ ।

बीवाईओसी (Bring Your Own Computer)

यो उद्यम कम्प्युटिङको एक नयाँ प्रवृत्ति हो, जसमा कर्मचारीलाई आफ्नो कामको लागि व्यक्तिगत ल्यापटप कम्प्युटर ल्याउन र प्रयोग गर्न प्रोत्साहित वा अनुमति दिइन्छ ।

बीवाईओसी (Bring Your Own Device)

यो संस्थाको एक नीति हो, जसले आफ्ना कर्मचारीलाई आधिकारिक व्यापारिक उद्देश्यका लागि र संस्थाको प्रणाली र डेटामा पहुँच गर्नका लागि उनीहरूको व्यक्तिगत उपकरण जस्तै स्मार्टफोन, ट्याब्लेट पीसी र ल्यापटप प्रयोग गर्न अनुमति दिन्छ, प्रोत्साहित गर्छ वा आवश्यक ठान्दछ ।

बीवाईओएल (Bring Your Own Laptop)

यो बीवाईओसीको एक विशिष्ट प्रकार हो, जसमा कर्मचारीलाई आफ्नो कामको लागि, संस्थाको प्रणाली र डेटामा पहुँच सहित, व्यक्तिगत ल्यापटप ल्याउन र प्रयोग गर्न प्रोत्साहित वा अनुमति दिइन्छ । 

बाइट

धेरैजसो कम्प्युटर प्रणालीमा बाइट डेटाको एक एकाइ हो, जुन सामान्यतया ८ बिट्स मिलेर बनेको हुन्छ । एक बाइटले अक्षर, अङ्क वा विराम चिह्न जस्ता एउटा क्यारेक्टरलाई प्रतिनिधित्व गर्न सक्छ ।

क्यास

यो कुनै पनि कुरालाई अस्थायी रूपमा भण्डारण गर्ने ठाउँ हो । तपाईंले ब्राउज गरेका वेब पेज ब्राउजरको क्यास डाइरेक्टरीमा हार्ड डिस्कमा भण्डारण हुन्छन् । हालसालै ब्राउज गरिएको पेजमा फर्कंदा ब्राउजरले त्यसलाई मूल सर्भरबाट भन्दा क्यासबाट प्राप्त गर्न सक्छ, जसकारण समय बचत हुने र नेटवर्कमा अतिरिक्त ट्राफिकको भार कम गर्छ । क्यास मेमोरी र डिस्क क्यास दुई सामान्य प्रकारका क्यास हुन् ।

क्याप्चा

क्याप्चा (CAPTCHA) एउटा परीक्षण हो, जुन वेबसाइटले प्रयोगकर्ता वास्तविक मानव हो, बट होइन भनेर प्रमाणित गर्न प्रयोग गर्छन् । यसमा साधारण गणितीय हिसाब, चित्रबारे प्रश्नहरू समावेश हुन सक्छन्, जसको जवाफ बटलाई दिन गाह्रो हुन्छ ।

क्लिकज्याकिङ

क्लिकज्याकिङ भनेको कुनै वेबपेजमा एउटा वस्तुमा क्लिक गर्दैछु भन्ने सोचेर प्रयोगकर्तालाई अर्को वस्तुमा क्लिक गर्न लगाउने एक प्रकारको छलकपट हो । आक्रमणकारीले वैध सामग्रीमाथि एउटा ट्रान्सप्यारेन्ट (पारदर्शी) पेज लोड गर्छ, जसले गर्दा पीडितले आफू वैध कुरामा क्लिक गरिरहेको सोच्छ । तर वास्तवमा उसले आक्रमणकारीको अदृश्य पेजमा क्लिक गरिरहेको हुन्छ । यसरी आक्रमणकारीले पीडितको क्लिकलाई आफ्नो उद्देश्यका लागि अपहरण गर्न सक्छ । क्लिकज्याकिङ मालवेयर स्थापना गर्न, पीडितको अनलाइन खातामा पहुँच पाउन वा पीडितको वेबक्याम अन गर्न प्रयोग हुन सक्छ ।

क्लाइन्टलेस

क्लाइन्टलेसले यस्तो प्रोग्रामलाई जनाउँछ, जुन पूर्ण रूपमा नेटवर्कबाट चल्छ र यसलाई चलाउने उपकरणमा कुनै सफ्टवेयर इन्स्टल गर्न आवश्यक पर्दैन ।

क्लाउड

क्लाउड भनेको इन्टरनेटमा होस्ट गरिएका टाढाका सर्भरको सञ्जाल हो । यसले डेटालाई स्थानीय सर्भर वा व्यक्तिगत कम्प्युटरको सट्टा भण्डारण, व्यवस्थापन र प्रशोधन गर्दछ ।

कोड इन्जेक्सन

कोड इन्जेक्सन सामान्यतया मालवेयरले एन्टिभाइरस र एन्टी-मालवेयर प्रोग्रामबाट बच्न प्रयोग गर्छ । यसमा एउटा वैध प्रक्रियामा खराब कोड घुसाइन्छ । यसरी वैध प्रक्रियाले खराब कोडको लागि छद्मभेषको काम गर्छ । यसले गर्दा एन्टी-मालवेयर उपकरणहरूले केवल वैध प्रक्रिया चलिरहेको देख्छन् र खराब कोडको एक्जिक्युसन लुक्छ ।

कोडिङ

कोडिङको प्रयोग कम्प्युटर प्रोग्राम वा सफ्टवेयर लेख्नका लागि गरिन्छ । दक्ष कोडरले नेटवर्क वा डेटामा अनधिकृत पहुँच सहज बनाउन ‘स्क्रिप्ट’ प्रयोग गरेर परिष्कृत प्रोग्राम लेख्न सक्छन् ।

कम्युनिकेसन (सञ्चार)

यसमा दूरसञ्चार अपरेटर, दूरसञ्चार सेवा वा दूरसञ्चार प्रणालीसँग सम्बन्धित बोली, सङ्गीत, ध्वनि, दृश्य तस्बिर वा कुनै पनि प्रकारको डेटा समावेश हुन्छ ।

कम्युनिकेसन डेटा (सञ्चार डेटा)

यो सञ्चारको ‘को’, ‘कहिले’ र ‘कहाँ’ हो तर ‘के’ (अर्थात् सामग्री) होइन । उदाहरणका लागि इन्टरनेट जडान रेकर्ड (आईसीआर) ले अधिकारीहरूलाई प्रयोगकर्ताले कुन वेबसाइट र एप्लिकेसन भिजिट गरेको थियो भनेर बताउन सक्छ । तर ती वेबसाइटका कुन-कुन पेज हेरे वा एपसँग के जानकारी आदानप्रदान गरे भन्ने बताउँदैन ।

कम्प्युटर नेटवर्क

कम्प्युटर नेटवर्क जहाँ धेरै फरक-फरक कम्प्युटर जोडिएका हुन्छन् । यो सानो स्थानीय नेटवर्क (जस्तै कार्यस्थलमा जोडिएका कम्प्युटर) देखि लिएर अर्बौं कम्प्युटरको सञ्जाल, इन्टरनेटसम्मको आकारमा हुन सक्छ ।

कट्स (कमर्सियल अफ-द-सेल्फ)

यी पूर्वनिर्धारित समाधान हुन् जुन खरिद गर्ने संस्थाको आवश्यकता अनुसार केही मात्रामा अनुकूल बनाइन्छन्; तर यी विशेषगरी संस्थाले मागेअनुसार छुट्टै (custom-made) समाधान तयार पारिने होइनन् ।

सीपीयू (सेन्ट्रल प्रोसेसिङ युनिट)

यो कम्प्युटरको सबैभन्दा शक्तिशाली चिप हो । कम्प्युटरभित्र स्थित यो ‘मस्तिष्क’ हो, जसले सबै गणितीय, तार्किक र नियन्त्रण कार्यहरू गर्दछ ।

क्रिटिकल इन्फ्रास्ट्रक्चर (महत्त्वपूर्ण पूर्वाधार)

क्रिटिकल इन्फ्रास्ट्रक्चरले कुनै संस्थाको अस्तित्वका लागि महत्त्वपूर्ण आधारभूत प्रणालीलाई जनाउँछ, जहाँ त्यस्ता आधारभूत प्रणालीमा कुनै पनि खतराले सम्पूर्ण संस्थालाई नै खतरामा पार्छ ।

क्रिप्टोज्याकिङ

क्रिप्टोज्याकिङमा ह्याकरले मालिकको जानकारी बिना नै ह्याक गरिएको उपकरणको कम्प्युटिङ शक्ति प्रयोग गरेर क्रिप्टोकरन्सी उत्पादन वा ‘माइन’ गर्छन् । माइनिङ लक्षित कम्प्युटरमा खराब प्रोग्राम इन्स्टल गरेर वा विभिन्न प्रकारका फाइल-लेस मालवेयरमार्फत गर्न सकिन्छ । कहिलेकाहीँ आक्रमणकारीले विशेष माइनिङ स्क्रिप्ट भएको पेज खोल्दा कम्प्युटरको प्रशोधन शक्तिको केही अंश कब्जा गर्छन् । अनलाइन विज्ञापन हेर्दा वा क्याप्चा समाधान गर्दा पनि क्रिप्टोज्याकिङ भएको पाइएको छ ।

सीएसपी (कम्युनिकेसन्स सर्भिस प्रोभाइडर)

सीएसपी एउटा कम्पनी हो, जसले विशेष सञ्चार सेवा प्रदान गर्दछ । उदाहरणका लागि भोडाफोन, बीटी, एप्पल, गुगल वा ह्वाट्सएप ।

साइबर वर्ल्ड (साइबर संसार)

साइबर वर्ल्ड भन्नाले कम्प्युटर, इन्टरनेट, डिजिटल उपकरण र प्रविधिको माध्यमबाट बनेको आभासी संसारलाई जनाइन्छ । यस संसारमा मानिस एकआपसमा जडान हुन्छन्, सूचना आदानप्रदान गर्छन्, सेवा उपयोग गर्छन् र विभिन्न गतिविधि सञ्चालन गर्छन् । सामाजिक सञ्जाल, ईमेल, अनलाइन बैंकिङ, गेमिङ जस्ता काम यही साइबर वर्ल्डको हिस्सा हुन् । यो भौतिक रूपमा देखिँदैन । तर प्रविधिको माध्यमबाट अनुभव गर्न सकिने डिजिटल वातावरण हो ।

साइबर आक्रमण

साइबर आक्रमण भनेको नेटवर्क, कम्प्युटर प्रणाली वा डिजिटल उपकरणमा अनधिकृत पहुँचमार्फत डेटा, एप्लिकेसन वा अन्य सम्पत्ति चोर्न, लिक गर्ने, परिवर्तन गर्न, असक्षम पार्न वा नष्ट गर्ने कुनै पनि जानाजानी प्रयास हो ।

साइबर बुलिङ/ट्रोलिङ (साइबर बुलिङ/ट्रोलिङ)

यो इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर हुने धम्की हो । यस्तो प्रविधिमा टेक्स्ट म्यासेज, एप्स, च्याट, ईमेल र अन्य सञ्चारका माध्यम समावेश हुन सक्छन् । साइबर बुलिङमा उत्पीडन, धम्कीपूर्ण व्यवहार, कसैको बारेमा गलत जानकारी पठाउने, साइबरस्टकिङ र अत्यन्त आपत्तिजनक सन्देशहरू समावेश हुन सक्छन् ।

साइबर बुलिङ

साइबर बुलिङ भनेको मुख्यतया मेसेजिङ र सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गरेर पीडितलाई धम्काउने र उत्पीडन गर्ने काम हो । साइबर बुलिङ विशेषगरी युवालाई असर गर्ने मुद्दाको रूपमा बढेको छ । किनकि यसले धम्की दिनेहरूलाई ठुलो स्तरमा पीडितको खिल्ली उडाएर आफ्नो आक्रामक व्यवहार बढाउन र आमाबाबु र शिक्षकलाई पत्ता लगाउन गाह्रो हुने तरिकाले हानिकारक गतिविधि गर्न अनुमति दिन्छ ।

साइबर अपराध

साइबर अपराध भनेको कम्प्युटर, नेटवर्क उपकरण वा नेटवर्क समावेश भएको कुनै पनि आपराधिक गतिविधि हो । धेरैजसो साइबर अपराधहरू साइबर अपराधीको लागि नाफा कमाउनका लागि गरिन्छ । तर केही साइबर अपराधहरू कम्प्युटर वा उपकरणलाई क्षति पुऱ्याउन वा असक्षम पार्नका लागि पनि गरिन्छ ।

साइबर अपराधी

कम्प्युटरलाई उपकरणको रूपमा, लक्ष्यको रूपमा वा दुवैको रूपमा प्रयोग गरी अपराध कर्म गर्ने व्यक्ति साइबर अपराधी हो ।

साइबर डिफेन्स

साइबर डिफेन्सले कम्प्युटर प्रणाली वा उपकरणलाई साइबर आक्रमणबाट संक्रमित हुनबाट रोक्ने क्षमतालाई जनाउँछ । यसमा शत्रुतापूर्ण साइबर कार्यको पूर्वानुमान गर्न र घुसपैठको सामना गर्न सक्रिय कदम चाल्नु समावेश छ । त्यसैले साइबर डिफेन्स रणनीति र कार्यनीतिहरूको साझा लक्ष्य साइबर खतरालाई रोक्नु, बाधा पुऱ्याउनु र प्रतिक्रिया दिनु हो ।

साइबेरियन

इन्टरनेट वा भर्चुअल रियालिटीको प्रयोगकर्ता ।

साइबर अन्तर्क्रिया

साइबरस्पेसमा वा कम्प्युटर नेटवर्कमार्फत हुने अन्तर्क्रिया ।

साइबर जार्गन

कम्प्युटर, इन्टरनेट वा साइबरस्पेससँग सम्बन्धित शब्दजाल, जुन प्रायः ‘टेकीहरू’द्वारा प्रयोग गरिन्छ ।

साइबरजन्की

कम्प्युटर वा इन्टरनेटको लत लागेको व्यक्ति ।

साइबर जस्टिस

साइबर जस्टिस भनेको न्याय प्रणालीमा प्रविधिको समावेशीकरण हो, जुन न्यायपालिका प्रणालीभित्र इलेक्ट्रोनिक्सको प्रयोगमार्फत गरिन्छ । यो अदालत सेवा इलेक्ट्रोनिक रूपमा र अन्य विवाद समाधान उद्देश्यका लागि प्रस्ताव गरेर गरिन्छ ।

साइबरनेसन

साइबरनेसन भनेको कम्प्युटरको माध्यमबाट कुनै प्रक्रिया वा सञ्चालन (जस्तै निर्माणमा) को स्वचालित नियन्त्रण हो ।

साइबरनट

साइबरनट एक व्यक्ति हो, जसले इन्टरनेट अन्वेषण गर्न र सञ्चार गर्न प्रयोग गर्दछ । आजकल साइबरनट नभएको कोही भेट्न दुर्लभ हुँदै गइरहेको छ ।

साइबरनेटिक

साइबरनेटिक एक इन्टरनेट र डेटा सञ्चार नेटवर्क सेवा प्रदायक हो ।

साइबरनेटिक्स

सञ्चार र नियन्त्रण सिद्धान्तको विज्ञान, जुन विशेष गरी स्वचालित नियन्त्रण प्रणालीहरू (जस्तै स्नायु प्रणाली र मस्तिष्क र मेकानिकल-इलेक्ट्रिकल सञ्चार प्रणालीहरू) को तुलनात्मक अध्ययनसँग सम्बन्धित छ ।

साइबर-सेवी

साइबर-सेवीले इन्टरनेट र अन्य सूचना तथा सञ्चार प्रविधिको सुरक्षित रूपमा प्रयोग गर्ने क्षमतालाई जनाउँछ । साइबर-सेवी व्यक्तिसँग आफ्नो गोपनीयता र व्यक्तिगत जानकारी अनलाइन सुरक्षित राख्न, अनलाइन घोटाला र धोखाधडीबाट बच्न र इन्टरनेटलाई जिम्मेवार र नैतिक तरिकाले प्रयोग गर्ने ज्ञान र सीप हुन्छ ।

साइबर सुरक्षा

साइबर सुरक्षा कम्प्युटर, नेटवर्क र डेटालाई अनधिकृत पहुँच, प्रयोग, खुलासा, परिमार्जन वा विनाशबाट जोगाउन डिजाइन गरिएका प्रक्रियासँग सम्बन्धित छ । यसमा सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न प्राविधिक नियन्त्रण, नीति र प्रक्रिया सहित विभिन्न उपाय समावेश छन्।

साइबरसेक्स

साइबरसेक्स यौन गतिविधिको एक रूप हो, जुन इन्टरनेटमा हुन्छ । यसमा सामान्यतया दुई वा दुईभन्दा बढी व्यक्ति यौनजन्य कुराकानीमा संलग्न हुन्छन् वा यौनजन्य तस्बिर वा भिडिओ आदानप्रदान गर्छन्।

साइबरस्पेस

साइबरस्पेसले कम्प्युटर र इन्टरनेटको भर्चुअल संसारलाई जनाउँछ जहाँ मानिस सञ्चार गर्न, जानकारी साझा गर्न र एकअर्कासँग अन्तर्क्रिया गर्न सक्छ । यो अन्तरसम्बन्धित कम्प्युटर र अन्य उपकरणको विश्वव्यापी सञ्जाल हो, जसले प्रयोगकर्तालाई जानकारी र सेवाहरू पहुँच गर्न र आदानप्रदान गर्न अनुमति दिन्छ ।

साइबरस्क्वाटिङ

साइबरस्क्वाटिङ भनेको अरू कसैको ट्रेडमार्कको सद्भावबाट नाफा कमाउने खराब नियतले डोमेन नेम दर्ता गर्ने, बेचबिखन गर्ने वा प्रयोग गर्ने कार्य हो । साइबरस्क्वटरले त्यसपछि ट्रेडमार्कको मालिक व्यक्ति वा कम्पनीलाई उक्त डोमेन नेम बढेको मूल्यमा बेच्न प्रस्ताव गर्दछ ।

साइबर आतंकवाद

साइबर आतंकवाद भनेको आतंकवादी हमला गर्न इन्टरनेट र अन्य सूचना तथा सञ्चार प्रविधिको प्रयोग हो । यी आक्रमण कम्प्युटर प्रणाली, नेटवर्क वा तिनीहरूमा भण्डारण गरिएको जानकारीमा निर्देशित हुन सक्छन् र तिनीहरूले व्यक्ति, संस्था र सम्पूर्ण देशमा विनाशकारी प्रभाव पार्न सक्छन् ।

डेटा

डेटा डिजिटल सामग्री हो, जुन भौतिक उपकरण वा क्लाउडमा भण्डारण गर्न सकिन्छ । व्यक्तिगत वा संवेदनशील यस्ता जानकारीलाई पहुँचमा लिएर अपराधीले दुरुपयोग गर्न सक्छन् ।

डेटाबेस

डेटाको संरचित सङ्ग्रह जस्तै; ठेगानाको ग्राहक डेटाबेस । डेटा जुन सजिलैसँग पहुँच, व्यवस्थापन र अद्यावधिक गर्न सकिन्छ ।

डोस-डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस

डिनायल अफ सर्भिस (DoS) वा डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (DDoS) आक्रमण तब हुन्छ, जब एक वा धेरै कम्प्युटरबाट कुनै वेबसाइट वा अनलाइन सेवामा अत्यधिक ट्राफिक जान्छ । यस्तो अत्यधिक ट्राफिकका कारण वेबसाइट वा सेवा ओभरलोड हुन्छ र त्यसले वास्तविक प्रयोगकर्ताका अनुरोध पुरा गर्न सक्दैन । यसले गर्दा वेबसाइट वा सेवा केही समयका लागि बन्द जस्तै हुन सक्छ ।

डिक्रिप्सन

डिक्रिप्सन भनेको इन्क्रिप्टेड डेटालाई त्यसको मूल, पढ्न सकिने रूपमा रूपान्तरण गर्ने प्रक्रिया हो । यो इन्क्रिप्सनको उल्टो हो र यो सूचनाको गोपनीयता सुरक्षित गर्नका लागि आवश्यक छ ।

डिलिट गरिएको फाइल

एक व्यक्तिले प्रमाण नष्ट गर्न फाइल डिलिट गर्न सक्छ । तर फाइल कसरी डिलिट गरिएको हो भन्ने कुरामा भर पर्छ । धेरैजसो अवस्थामा फरेन्सिक विज्ञले डिलिट गरिएका फाइलको सबै वा केही भाग पुनः प्राप्त गर्न सक्छन् ।

डिटेक्सन एन्ड रेस्पोन्स (Detection and Response)

नेटवर्क सुरक्षा, प्रयोगकर्ता तथा उपकरण सुरक्षा र एप्लिकेसन सुरक्षा; यी सबै एक सशक्त र समग्र सुरक्षा रणनीतिकाका महत्त्वपूर्ण भाग हुन् । यस्तै, पहिचान र प्रतिक्रिया दिने क्षमताले संस्थाहरूलाई सुरक्षा खतरा समयमै थाहा पाउन र प्रभावकारी रूपमा सामना गर्न सहयोग पुर्‍याउँछ ।

डिजिटल फरेन्सिक्स

डिजिटल फरेन्सिक्स भनेको कानुनको अदालतमा डिजिटल प्रमाण सङ्कलन, संरक्षण, विश्लेषण र प्रस्तुत गर्ने प्रक्रिया हो । यो कम्प्युटर-सम्बन्धित अपराधदेखि लिएर डिजिटल पदचिह्न छोड्ने परम्परागत अपराधसम्मका विभिन्न अपराधको अनुसन्धान र अभियोजनका लागि एक महत्त्वपूर्ण उपकरण हो ।

डिजिटल समाजशास्त्र

डिजिटल समाजशास्त्र भनेको डिजिटल प्रविधिले समाजलाई कसरी आकार दिइरहेका छन् र समाजद्वारा कसरी आकार दिइरहेका छन् भन्ने अध्ययन हो । यो समाजशास्त्रको एक अपेक्षाकृत नयाँ र द्रुत रूपमा बढ्दो क्षेत्र हो, जुन डिजिटल प्रविधिको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक प्रभावहरूसँग सम्बन्धित छ ।

डिजिटल रूपान्तरण

डिजिटल रूपान्तरण भनेको बदलिँदो व्यापार र बजार आवश्यकता पूरा गर्न नयाँ वा अवस्थित व्यापार प्रक्रिया, संस्कृति र ग्राहक अनुभव सिर्जना गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने प्रक्रिया हो । डिजिटल युगमा व्यापारको यो पुनर्कल्पना नै डिजिटल रूपान्तरण हो ।

डिजिटल संसार

डिजिटल संसार भनेको अनलाइन उपलब्ध जानकारी र स्रोतहरूको विशाल र निरन्तर बढ्दो सङ्ग्रह हो । यसमा वेबसाइट र सामाजिक सञ्जालदेखि लिएर अनलाइन गेम र भर्चुअल संसारसम्म सबै कुरा समावेश छ ।

डीएलपी-डेटा लस प्रिभेन्सन

डेटा लस प्रिभेन्सन (डीएलपी) भनेको संवेदनशील डेटा हराएको, दुरुपयोग भएको वा अनधिकृत प्रयोगकर्ताहरूद्वारा पहुँच नगरिएको सुनिश्चित गर्न प्रयोग गरिने उपकरण र प्रक्रियाको सेट हो । डीएलपी सफ्टवेयर र उपकरणले इन्डपोइन्ट गतिविधि निगरानी र नियन्त्रण गर्छन्, कर्पोरेट नेटवर्कमा डेटा स्ट्रिमहरू फिल्टर गर्छन् र क्लाउडमा डेटा निगरानी गर्छन् । ताकि आराममा, गतिमा र प्रयोगमा रहेको डेटा सुरक्षित गर्न सकियोस् ।

डोमेन नेम सिस्टम

डोमेन नेम सिस्टम इन्टरनेट वा निजी नेटवर्कमा जडान भएका कम्प्युटर, सेवा वा अन्य स्रोतका लागि एक पदानुक्रमित र विकेन्द्रीकृत नामकरण प्रणाली हो । यसले प्रत्येक सहभागी संस्थालाई तोकिएका डोमेन नेमसँग विभिन्न जानकारीहरू सम्बद्ध गर्दछ ।

डिनायल अफ सर्भिस

डिनायल-अफ-सर्भिस (DoS) आक्रमण एक प्रकारको साइबर आक्रमण हो, जहाँ आक्रमणकारीले इन्टरनेटमा जडान भएको कुनै मेसिन वा नेटवर्क स्रोतलाई धेरै ट्राफिक पठाएर अव्यवस्थित बनाउँछ । यसरी सेवामा अस्थायी वा अनिश्चितकालसम्म बाधा पुर्‍याएर त्यो सेवा वास्तविक प्रयोगकर्ताका लागि उपलब्ध हुन नसक्ने बनाइन्छ ।

ड्राइभ-बाई डाउनलोड

ड्राइभ-बाई डाउनलोड आक्रमण साइबर अपराधीले कम्प्युटरलाई मालवेयरले संक्रमित गर्ने एक सामान्य तरिका हो । उनीहरूले प्रयोगकर्तालाई खराब वेबसाइट भिजिट गर्न धोका दिएर काम गर्छन् । यसले त्यसपछि उनीहरूको जानकारी वा सहमति बिना नै उनीहरूको कम्प्युटरमा स्वचालित रूपमा मालवेयर डाउनलोड र इन्स्टल गर्छ ।

(यो लेख न्यायाधीश डा. रत्नबहादुर बागचन्दको ‘साइबर सुरक्षा, अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक र विभिन्न एजेन्सीका सामग्रीमा आधारित छ ।)

 

पछिल्लो अध्यावधिक: असार २८, २०८२ २२:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका छन्। साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन्।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यही भएको बताए।

अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने।

अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए।

बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याएको हो।

यसअघि आठ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो। अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन्।  

कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ।
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट