२०८२ कार्तिक ८ शुक्रबार
LATEST NEWS
२०८२ कार्तिक ८ शुक्रबार

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि रु १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरिएको हो।

किओचको कार्यालयमा आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। किओचको तर्फबाट संस्थापक अध्यक्ष मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण भइरहँदा बिरामी बालबालिकालाई सेवा दिन तथा बाल स्वास्थ्य र नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउन क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालन भइसकेको छ।

समारोहमा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा अघि बढेको यस परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले यस किसिमका परियोजनाले राज्य नीतिलाई समेत सघाउ पुर्‍याउने र भविष्यमा निजी क्षेत्रको सहकार्यबाट देशभर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले नेपाल लाइफले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक क्षेत्रमा रुपान्तरण ल्याउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गर्दै आएको जानकारी दिए। उनले बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने किओच परियोजनामा जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा राजधानी लगायत सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल स्थापनामा सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति आभार व्यक्त गर्दै यसले परियोजनालाई थप गति दिने बताए। उनले नेपाल लाइफजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा संस्थालाई थप हौसला मिलेको र आगामी दिनमा समेत यस्तो सहकार्य जारी रहनेमा विश्वास व्यक्त गरे।

किओचले देशभरका प्रादेशिक बाल अस्पतालका लागि श्रोत केन्द्रको रूपमा केन्द्रीय बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ। हाल परियोजना अन्तर्गत पहिलो किओच–दमक बाल अस्पताल स्थापना भई सेवा सञ्चालनमा रहेको छ। यस अस्पतालबाट आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान भइरहेका छन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा विकृति फैलिएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीन ओटा गीत विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ । आइतबार संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगम लगायतको टोलीले ब्युरोको कार्यालय पुगेर उजुरी दिएको हो ।

संस्थाले आफ्नो उजुरीमा पछिल्लो समय युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका केही गीतहरू अत्यन्तै अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेको उल्लेख गरेको छ । यस्ता गीतले युवा पुस्तामा नकारात्मक प्रभाव पार्नुका साथै समाजमा अपसंस्कृति फैलाइरहेको संस्थाको ठहर छ ।

उजुरीमा तीन ओटा गीतलाई किटान गरिएको छ । पहिलो ‘गाई कालो’ बोलको गीत रहेको छ । यसमा धुर्व पुन र चन्द्र कुमारी शाहीको स्वर रहेको छ । 

त्यस्तै दोस्रोमा छ ‘सल्ला दमारमा’ । यसमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको छ । त्यस्तै अर्को गीत हो ‘लुकी लुकी’ । यसमा रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको छ भने सुनील क्षेत्री, विनय अधिकारी प्रियङ्का कार्की लगायतले अभिनय गरेका छन् ।

यी गीतहरूमा प्रयोग भएका शब्द, हाउभाउ र दृश्यले सामाजिक मर्यादा उल्लङ्घन गरेको, युवामा नकारात्मक सोच जन्माउने तथा सामाजिक सद्भाव भड्काउने किसिमको रहेको पत्रमा उल्लेख छ ।

“व्यापारिक लाभको उद्देश्यले बनाइएका यस्ता सामग्रीले हाम्रो मौलिकता, भाषा र संस्कृतिको मूल्य मान्यतालाई क्षति पुर्‍याइरहेको छ,” उजुरी पत्रमा भनिएको छ ।

संस्थाले ब्युरो समक्ष उक्त गीतहरूको निर्माण तथा प्रसारणमा संलग्न व्यक्तिलाई पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउन र भविष्यमा यस्ता सामग्री निर्माण नगर्ने कबुलनामा गराउन र सामाजिक सञ्जालबाट तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेको छ ।

“नेपाली लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन हाम्रो साझा दायित्व हो,” अध्यक्ष चन्द्रमणी गौतमले भने, “सस्तो लोकप्रियताका लागि हाम्रो संस्कृतिमाथि प्रहार गर्ने कसैलाई छुट हुनुहुँदैन ।”

साइबर ब्युरोले उक्त उजुरी दर्ता नं. ३७९६ मा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १८:४५





सामाग्री श्रोत :
टेक पाना

पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन्। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएका छन्।
तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ। २० रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ।
‘आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ। अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन’, तिम्सिनाले भने, ‘गाउँघरमा कामले भने कहिल्यै छाड्दैन।’तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ। यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्धकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ।
‘पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ’, २७ वर्षका कमलले भने, ‘सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ।’तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ।
अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले ७० रुपैंयाँसम्म । ती सबै अनुभव यो परिवारसँग छ। गोलभेँडाको मूल्य बजारमा कहिलेमाथि हुन्छ भने कहिले निकै कम । तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ।
यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी हाल्ने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ।
उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ । यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन्, जसका कारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ।
हुन त कमलले विदेश जाने कुरा नसोचेको भने होइन। तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो । ‘विदेश जानचाहिँ खोजेको हुँ। तर पछि मन लागेन। लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ’, कमलले भने, ‘गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो।’
कमलकी आमा टीकादेवी तिम्सिना छोरो विदेश नगई गाउँमै खेती गरिरहेकामा खुसी छन्। “विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ । विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला”, टीकादेवीले भनिन्, “यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ । तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ।”
हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन् । प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ । किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ।
गत वर्ष एक सय ३० प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो ३० मा बिक्री भइरहेको किसानहरू बताउँछन्। खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन्। कामदारलाई दैनिक पाँच सय ज्याला दिनुपर्छ।
‘अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ’, कमलले भने, ‘गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन। बजारमा पठाउनु त पर्यो नै। अहिले किसानलाई गाह्रो छ।’ रासस

सामाग्री श्रोत :
deshparadesh

काठमाडौँ । छात्राको जन्मदिनमा अनुपयुक्त मेसेज पठाएपछि रौतहटमा एक शिक्षक पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिका-९ श्रीपुर स्थित श्री माविका शिक्षक रविन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।

४९ वर्षीय शिक्षक साहले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मेस‍ेन्जरमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै मेसेज पठाएका थिए । शिक्षकको उक्त मेसेज छात्राले आफ्नो परिवारलाई सुनाएकी थिइन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार शिक्षक साहले गत महिना नै उक्त मेसेज पठाएका हुन् ।

“३० जेठमा नानीको बर्थ डे रहेछ । त्यही दिन मेसेज पठाएका रहेछन् । उनको अरू बेलामा पनि छात्राहरूसँग व्यवहार ठीक नभएको र केही विवाद भएका पनि रहेछन्,” प्रहरी निरीक्षक यादवले टेकपानासँग भने ।

विद्यार्थीलाई मेसेज पठाएको घटनापछि छात्राका परिवार र स्थानीय आइतबार विद्यालय पुगेका थिए । उनीहरूले विद्यालयमा तोडफोड र शिक्षकमाथि कुटपिट पनि गरेका थिए । विद्यालयको अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । साथै शिक्षक साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

शिक्षक पक्राउपछि छात्राका परिवार, आफन्त र वडाका जनप्रतिनिधि पनि इलाका प्रहरी कार्यालयमा पुगेका छन् । अन्य छात्राहरूलाई समेत शिक्षक साहले अभद्र व्यवहार गरिएको सुनिएपनि हालसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।‍

 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १६:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रको बढ्दो चाप र चुनौतीबीच, स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने हिंसाको भार र त्यससित सम्बन्धित कारक तत्वहरु पत्ता लगाउन एक अनलाइन राष्ट्रिय सर्वेक्षण सुरु गरिएको छ। सर्वेक्षणको उद्देश्य कार्यस्थलमा हुने हिंसाको भार, प्रकार र त्यसका बहुआयामिक कारणहरू बुझ्नु हो, जसले दीर्घकालीन नीतिगत समाधानमा योगदान पुर्‍याउनेछ।

सर्वेक्षणका प्रमुख अध्ययनकर्ता मुकेश अधिकारीले भने, ‘हामीले यो सर्वेक्षण सुरु गर्नुअघि कार्यस्थलमा शारीरिक हिंसा भोगेका १२ जना स्वास्थ्यकर्मीहरू माथि गुणात्मक अध्ययन गरेका थियौं। त्यस अध्ययनले देखायो कि कार्यस्थलमा हुने हिंसाका कारणहरू बहुआयामिक छन्। हामीले बाहिर देखे जस्तो सतही कारणहरु मात्र नभई भित्री कारणहरु पनि हुने रहेछन् । धेरै नतिजाहरु मध्ये एउटा चाखलाग्दो नतिजा चाँहि हामीले के पायौ भन्दाखेरी शक्ति वा पहुँच भएका बिरामी तथा तिनीहरूका आफन्तहरूले हिंसा गर्ने सम्भावना धेरै देखियो।’

अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’

यस अघि गरिएको गुणात्मक अध्ययनले कारणहरू पत्ता लगाएको भए पनि, नेपालको सन्दर्भमा स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाको भार सम्बन्धी राष्ट्रिय स्तरको तथ्यांकको अभाव रहेको भन्दै, सोही अभाव पूर्ति गर्न यो अध्ययन थालिएको हो।

नीतिगत सन्दर्भमा अध्ययनको महत्व
अधिकारीका अनुसार यो अध्ययनबाट प्राप्त हुने निष्कर्षहरूले नेपालमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नका लागि नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ। कार्यस्थलमा हिंसाको प्रभावबारे वैज्ञानिक प्रमाण उपलब्ध गराएर स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन र सुरक्षा निकायलाई ठोस रणनीति तयार गर्न सहज बनाउनेछ।

अधिकारीले जोड दिदै भने, ‘यो सर्वे मात्र तथ्य संकलन होइन, स्वास्थ्यकर्मीका आवाजलाई नीति निर्माणमा पुर्‍याउने पुल हो।’

सर्वेक्षणमा सहभागी हुनेबारे जानकारी
सर्वेक्षणमा नेपालका सबै स्वास्थ्यकर्मी (चाहे सरकारी, निजी वा स्वयंसेवी संस्थामा कार्यरत) सहभागी हुन सक्नेछन्। यो अध्ययन नेपाल स्वास्थ्य व्यवसायी परिषदको इथिकल रिभ्यू कमिटीबाट स्वीकृत भएको छ। सहभागिता पूर्ण रूपमा गोप्य रहने छ, र चाहे तपाईंले हिंसा भोग्नुभएको होस् वा नभएको, तपाईंको अनुभवले यस अध्ययनलाई अझ समृद्ध बनाउनेछ।

अध्ययनमा तल दिइएको लिंकमा क्लिक गरेर सहभागी हुन सकिनेछ ।  

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेपछि अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब अनलाइन माध्यमबाटै लिन सकिने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ‘नागरिक एप’ मार्फत सञ्चालन हुने यस सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

यो नयाँ व्यवस्थासँगै नियम उल्लङ्घन गर्ने चालकले अब जरिवाना तिरेपछि ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

प्रहरीका अनुसार, देशभर जरिवाना तिरेर पनि सचेतना कक्षा लिन बाँकी रहेका चालकको सङ्ख्या ८३ हजारभन्दा बढी छ । यही समस्यालाई समाधान गर्दै सेवालाई सहज र प्रविधिमैत्री बनाउन अनलाइन कक्षा प्रभावकारी हुने विश्वास लिइएको छ ।

के-के कसुरमा लिन सकिन्छ अनलाइन कक्षा ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा सवारी साधन चलाउने जस्ता कसुरमा कारबाहीमा परेका चालकहरूले यो अनलाइन कक्षा लिन सक्नेछन् ।

कसरी लिने अनलाइन कक्षा ?

यो सेवा नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । अनलाइन कक्षा लिनका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ:

परीक्षणका क्रममा ३९ हजारभन्दा बढीले यो प्रणाली भिजिट गरेको र पाँच हजारभन्दा बढीले सफलतापूर्वक अनलाइन कक्षा लिएको प्रहरीले जनाएको छ । 

यद्यपि ग्रामीण भेगमा प्रविधिको पहुँच, दक्ष जनशक्तिको अभाव र आम नागरिकमा प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको कमी यसको कार्यान्वयनमा मुख्य चुनौती बनेर आएका छन् ।

 

 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सर्वसुलभ र व्यवस्थित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा (फर्स्ट प्वाइन्ट अफ कन्ट्याक्ट) सहज रूपमा प्राप्त हुने व्यवस्था सुनिश्चित गर्ने  जनाएको छ।

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लाद्वारा हालै सार्वजनिक सूचनाअनुसार स्थानीय तह अन्तर्गतका आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा  प्रथम सेवा विन्दु सञ्चालन गरिने छ।

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।

बोर्डले स्थानीय तहहरूलाई प्रथम सेवा विन्दुको आवश्यकता र प्रस्तावित संस्थाको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाएमा स्वीकृति दिन सकिने जनाएको छ।  

यस्तो छ सूचना 


 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाको १७ औं नगर सभामा मेयर बालेन्द्र शाह (बालेन)ले संस्कृति र जीवनशैलीलाई प्रविधिसँग जोड्दै काठमाडौँलाई डिजिटल युगको स्मार्ट सिटी तथा अन्तर्राष्ट्रिय स्तरको गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले महानगरलाई आईटी हबका रूपमा स्थापित गर्न ‘को-वर्किङ स्पेस’, ‘डिजिटल नोम्याड’ मैत्री पूर्वाधार र बहुभाषिक सूचना प्रणाली निर्माण गरिने घोषणा गरे । यसले काठमाडौँलाई प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । 

किफायती जीवनशैली प्रवर्द्धन गर्दै महानगरलाई फिल्म सिटीका रूपमा विकास गर्ने, धार्मिक तथा आध्यात्मिक पर्यटनलाई बढावा दिने योजना पनि अघि सारिएको छ । मेयर शाहले ‘लिभ, वर्क एन्ड एक्सप्लोर काठमाडौँ’’ (Live, Work and Explore Kathmandu) जस्ता अभियानमार्फत महानगरलाई बस्न, काम गर्न र घुम्नका लागि आकर्षक केन्द्र बनाइने उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १५:४१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । फोन र कम्प्युटर दुई भिन्न उपकरण भए पनि कहिलेकाहीँ एउटाबाट अर्को चलाउनुपर्ने आवश्यकता पर्न सक्छ । विशेषगरी हामी कुनै उपकरणबाट भौतिक रूपमा टाढा हुँदा यस्तो अवस्था आइपर्छ । यसबाहेक काममा सहजताका लागि पनि कम्प्युटरबाट फोन वा फोनबाट कम्प्युटर चलाउनु उपयोगी हुन्छ । आज हामी कम्प्युटरबाट फोन (एन्ड्रोइड) र फोनबाट कम्प्युटर (पीसी) कसरी चलाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं:

फोनबाट कम्प्युटर कसरी प्रयोग गर्ने ?

फोनबाट कम्प्युटर चलाउनका लागि क्रोमको रिमोट डेस्कटप एप प्रयोग गर्न सकिन्छ । रिमोट डेस्कटप एप प्रयोग गर्ने तरिका:

कम्प्युटरबाटै फोन कसरी एक्सेस गर्ने ?

सुरुमा यसबारे केही जानकारी लिऔं:

-फोन र कम्प्युटर सिङ्क गर्न विन्डोज १० (मे २०१९ पछिको अपडेट) र विन्डोज ११ मा मात्र सकिन्छ । 

-कनेक्ट गर्ने फोन र कम्प्युटर एउटै इन्टरनेटबाट चल्नुपर्ने हुन्छ ।

-एन्ड्रोइडको भर्सन ८ वा सोभन्दा माथि हुनुपर्छ भने आईओएस १५ अथवा सोभन्दा माथि हुनुपर्छ ।

-तपाईंको कम्प्युटर डिरेक्ट एक्स ११ सपोर्ट गर्ने ग्राफिक्स कार्ड (जीपीयू) हुनुपर्छ । 

अब यो सेटअप कसरी गर्नेभन्नेबारे चर्चा गरौं:

-सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा विन्डोज बटनमा क्लिक गरेर ‘फोन लिङ्क’ सर्च गर्नुहोस् ।

 

-माथि फोटोमा चिन्ह लगाइएको एप खोल्नुहोस् । यस एप खुलेपछि तपाईंलाई डिभाइस छान्ने विकल्प आउँछ । तपाईंले आईओएस तथा एन्ड्रोइडमध्ये कुनै एक छान्नु पर्ने हुन्छ । 

-यसपछि लगइन विकल्प आउँछ । जहाँ तपाईंले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ । 

-लगइन पछि तपाईंले एउटा क्यूआर पाउनुहुन्छ । जसलाई तपाईंले आफ्नो मोबाइल फोनबाट स्क्यान गर्नुपर्ने हुन्छ । यसपछि कम्प्युटरको सोही एपमा देखिने कोड मोबाइल फोन देखिएको ठाउँमा राख्नुपर्ने हुन्छ ।

-यति गरिसकेपछि अब तपाईंले आफ्नो स्मार्टफोनमा केही काम गर्नुपर्छ । विशेषतः त्यो काम आवश्यक पर्मिसन दिने हो । फोनमा यति काम सकिएपछि पुन: विन्डोज कम्प्युटरमा फर्कनु पर्ने हुन्छ ।

-अब स्मार्टफोनमा जसरी नै तपाईंले आफ्नो कम्प्युटरमा पनि फोन लिङ्कमा पर्मिसन दिँदै जानुपर्ने हुन्छ । त्यति गरेपछि फोन र विन्डोज कनेक्ट गर्ने काम सकिन्छ । 

-तपाईंले फोन र विन्डोज कनेक्ट भएको जानकारी स्मार्टफोनको नोटिफिकेसन र फोन लिङ्क एपमा पाउनुहुन्छ । 

-विन्डोजमा भएको फोन लिङ्क एपमा आफ्नो फोनको विवरण देख्न सक्नुहुन्छ ।

-फोन लिङ्क एपको मध्य भागको माथितिर मेसेज, फोटो, कल जस्ता विकल्प हुन्छन् । त्यहीँ नै तपाईंले स्मार्टफोनमा भएका एपहरू देख्न सक्नुहुन्छ । अनि बायाँ भागतिर नोटिफिकेसन र माथिल्लो बायाँ भागमा तपाईंले फोनको ब्याट्री, नेटवर्क जस्ता विवरण देख्नुहुन्छ ।

अब यसबाट फोन गर्ने, मेसेज गर्ने, एप चलाउने, नोटिफिकेसन हेर्ने, फोटो हेर्ने जस्ता काम गर्न सक्नुहुन्छ । तर यसक्रममा तपाईंले आफ्नो कम्प्युटर फोनको ब्लुटुथ भने कनेक्ट गर्नुपर्ने हुन्छ ।

नोट: यस तरिका एन्ड्रोइड तथा आईओएस दुवैमा गर्न सकिन्छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

अर्को विकल्प 

कम्प्युटरबाटै फोन कसरी एक्सेस गर्ने ?

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १४:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएच) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय (सेरो) की विवादास्पद क्षेत्रीय निर्देशक साइमा वाजेदलाई निलम्बन गरिएको छ। उनलाई  शुक्रबारदेखि बिदामा राखिएको डब्लुएचओको सर्कुलरमा उल्लेख छ। बंगलादेशको भ्रष्टाचारविरुद्धको आयोग (एसीसी) ले उनीविरुद्ध ठगी, कागजात किर्ते र शक्ति दुरुपयोगको आरोपमा दुईवटा मुद्दा दायर गरेको चार महिनापछि लिइएको हो।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले कर्मचारीहरूलाई पठाएको एउटा छोटो आन्तरिक इमेलमा वाजेदलाई शुक्रबारदेखि बिदा दिइएको जानकारी गराउँदै डब्लुएचओकी सहायक महानिर्देशक डा. क्याथरिना बम्हेले वाजेदको स्थानमा कार्यवाहकको रूपमा जिम्मेवारी सम्हाल्ने बताएका छन्। डा. बम्हे १५ जुलाई, मंगलवारमा नयाँ दिल्लीस्थित सेरो कार्यालय पुग्नेछन्। वाजेद कहिले फर्किन्छिन् भन्नेबारे केही जानकारी दिइएको छैन।

वाजेद, जो बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाकी छोरी हुन्, उनीविरुद्धको केही आरोप डब्लुएचओको क्षेत्रीय निर्देशक बन्ने अभियानसँग सम्बन्धित छन्। नोभेम्बर २०२३ मा सेरो सदस्य राष्ट्रहरूबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदको उम्मेदवारी प्रक्रिया नै विवादित थियो, किनभने उनको आमा शख हसिनाले आफ्नी छोरीको नियुक्तिमा शक्तिको प्रयोग गरेकी थिइन्। 

तर केही महिनामै बंगलादेशभर प्रदर्शनहरू भएसँगै शेख हसीना ५ अगस्टमा देश छाडेर भाग्न बाध्य भइन्। जनवरी २०२५ मा  एसीसीले अनुसन्धान सुरु गर्दै वाजेदले आफ्नो शैक्षिक योग्यता बारे झूटा कागजात प्रयोग गरेको रोप लगायो, साथै उनी अगाडि बसेको “शुचोना फाउन्डेसन”का लागि उठाइएको रकमको दुरुपयोग पनि भएको बताएको छ।

मार्चमा दायर गरिएको औपचारिक मुद्दाअनुसार वाजेदले आफ्नो शैक्षिक योग्यता बारे झूटा विवरण दिएकी थिइन्, जुन बंगलादेशको फौजदारी संहिता अनुसार धारा ४६८ (ठगीका लागि किर्ते) र धारा ४७१ (कागजात किर्ते) उल्लंघन हो। साथै उनले बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा मानार्थ पदमा रहेको दाबी गरिन्, जुन विश्वविद्यालयले अस्वीकार गरेको छ।

उनीमाथि आफ्नो प्रभाव प्रयोग गरेर बैंकहरूबाट झन्डै २.८ मिलियन अमेरिकी डलर “शुचोना फाउन्डेसन”को नाममा संकलन गरेको र त्यस रकमको प्रयोगबारे स्पष्ट विवरण नदिएको आरोप पनि छ। यस्ता कार्यहरू बंगलादेशको भ्रष्टाचार निवारण ऐन, १९४७ को धारा ५(२) र फौजदारी संहिता अनुसार धारा ४२० (ठगी र सम्पत्ति हडप्ने मनसायले छल) अन्तर्गत अपराध मानिन्छ।

मुद्दा दायर भएपछि वाजेदको गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको छ। त्यसपछि डब्लुएचओको बंगलादेश कार्यालयले उनलाई क्षेत्रीय निर्देशकको रूपमा मान्यता नदिएको र उनी अन्य देशहरूमा भ्रमण गर्न नसकेको बताइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट