
काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन्।
छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धमा जाजरकोटले पुर्याएको योगदानको प्रशंसा गरे।
जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो। १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए।
अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उनको भनाइ छ। ‘हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ’, उहाँनले भने, ‘अब फेरी हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ।’ मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए।
जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने उनले प्रतिबद्धता गरे। मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिए। जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए।
सामाग्री श्रोत :
काठमाडौं। गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरुलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो। मन्त्री लेखकले विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका हुन्।
बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरुको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए। हुम्लाको विकट क्षेत्र तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन्। अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन्।
त्यसैगरि बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसंग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी ध्यान दिन अनुरोध गरेका हुन्।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।
सामाग्री श्रोत :
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन
लेखनाथ (कास्की)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका हुन्।
व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा कांग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उनको छ। संगठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उनको छ।
‘कांग्रेसको नीति र विचार ठीक भएकै कारण अन्य पार्टीहरु पनि लोकतान्त्रिक बाटोमा आएका छन्,’ उनले भने, ‘बिपीको नीतिलाई आत्मसात गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर कांग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्छ।’ सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उनले बताए। मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने धारणा उनको छ। राष्ट्र बैंकको गर्भनरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिइन्। उनले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताइन्। सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राखेका थिए।
सामाग्री श्रोत :
काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्। सिमेन्ट उत्पादक संघले आज ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उनले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन्।
‘हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ। अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ। आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने छ। त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ’, उपप्रधानमन्त्री सिंहले भने।
उनले देशको भूबनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरूरी रहेको बताएका छन्। उनले निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको बताए।
विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांशसमेत लिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्री दाहालले यस्ता सम्भाव्य क्षेत्रको पहिचान नेपालमा पनि आवश्यक रहेको बताए। नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनाका कारण कङ्क्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो।
हाल देश निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने वातावरण बनाउन आश्यक रहेको बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन वृद्ध र प्रयोगमा प्रोत्साहनका लागि सरकारले आवश्यक काम गरिरहेको बताए। उनले सिमेन्ट क्षेत्रमा आत्मनिर्भर बन्न निजी क्षेत्रको उपस्थिति प्रसंशायोग्य रहेको भन्दै अरु क्षेत्रमा पनि आन्तरिक उत्पादनमा निजी क्षेत्रको शसक्त भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रूपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दीर्घकालीन रूपमा प्रभावकारी हुने बताएका थिए।
सामाग्री श्रोत :
स्वदेशी उत्पादन वृद्धि र त्यसको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ: उपप्रधानमन्त्री सिंह
काठमाडौं। सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ।
विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो ।
स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरेका हुन्। सो सम्मान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ग्रहण गरेका थिए।
हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई डब्लुएचओले पुरस्कृत गर्ने गरेको छ। यसअघि नेपालले सूर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिसकेको छ। सो कदमलाई ऐतिहासिक मान्दै नेपाललाई सम्मान गरिएको हो।
सामाग्री श्रोत :
सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकामा नेपाल पुरस्कृत
कैलाली। यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन्। यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्।
विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ। ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए। अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए।
‘यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ। स्थानीय तीन जनाले रोजगार पाएका छन्। परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ’, ऐरले भने।
उनले वर्षभरि अचारको कारोबार गर्दै आएका छन्। यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन्। स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ। उनले भने, ‘स्वास्थ्यलाई हानी हुने हिसाबले हामी अचार बनाउँदैनौँ, अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेका छौँ। त्यसैले पनि ग्राहकले गुनासो गर्ने अवस्था आएको छैन।’
धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहेका छन्। ‘गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु। ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ। तीन जनालाई रोजगारी दिएको छु’, उनले भने, ‘सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ। यो नै खुसीको कुरा हो।’
सामाग्री श्रोत :
सुदूरपश्चिम। प्रतिनिधिसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा खुसियाली छाएको छ। विधेयक पारित भएको खुसियालीमा कैलालीको गेटास्थित विश्वविद्यालय भवन परिसरमै जम्मा भएर स्थानीयले दीप प्रज्वलन गर्दै खुसी मनाए। देउडा खेले, खुसी साँटासाट गरे।
विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित गराउन भूमिका खेलेकामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलगायत सबैलाई धन्यवादसहित बधाइ दिए। उनले भने, ‘विगतमा सुदूरपश्चिम हेपिएको थियो, अब यो उठेको छ, जागेको छ। विधेयक पारित हुँदा हामी निकै खुसी छौँ। अब चाँडै चिकित्सा शिक्षा पढाई सुरु हुनुपर्छ। त्यसका लागि संघर्षको अभियान जारी रहन्छ।’
प्रतिनिधिसभा बैठकले आइतबार उक्त विधेयक सर्वसम्मतिले पारित गरेसँगै सामाजिक सञ्जाललगायत माध्यमबाट धेरैजसोले खुसी व्यक्त गरिरहेका छन्। तत्कालीन गेटा मेडिकल कलेज (दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) का पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘विधेयक पारित गर्ने संसद्, नेपाल सरकारलगायत सबैलाई हार्दिक धन्यवाद। अब शीघ्र विश्वविद्यालय सञ्चालन भई गेटालाई मेडिकल शिक्षाको हब बनाउने सपना साकार हुनेछ।’
अर्का पूर्वकार्यकारी निर्देशक भीमबहादुर साउदले विधेयक सर्वसम्मत रूपमा पारित भएकामा प्रतिनिधिसभा सदस्यप्रति आभार व्यक्त गर्दै बनेका संरचना जीवन्त हुने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्।
स्थानीयवासी तीर्थराज ओझाले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पारित भएको सुन्दा खुसी लागेको बताए। उनले भने, ‘विश्वविद्यालय सञ्चालनमा आए यसले मेडिकल शिक्षामार्फत सुदूरपश्चिममा समृद्धि ल्याउन कोशेढुङ्गाको काम गर्नेछ।’
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा भवन संरचना निर्माण सम्पन्न भए पनि यहाँ सञ्चालनका लागि ठोस पहल नभएको भन्दै स्थानीयवासी तथा यहाँका सरोकार भएकाहरू असन्तुष्ट थिए। लामो समयसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्नेबारे अन्योल देखिएपछि नागरिक तहमा आक्रोश बढिरहेको थियो।
यही अन्योलका बीच स्थानीयवासीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको मागसहित समाजसेवी लोकराज पाण्डेको नेतृत्वमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै अब भने विश्वविद्यालय स्थापना हुने सुदूरपश्चिमवासीको सपना साकार भएको छ’, पाण्डेले भने, ‘विधेयक पारित भएसँगै नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेकाले थप हर्षित छौँ।’
यहाँ गतवर्षदेखि न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन भइरहेको छ। अस्पतालमा जनरल ओपिडि, हाडजोर्नी, जनरल सर्जरी ओपिडि, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध भइरहेका छन्।
मेडिकल कलेजको नाममा निर्माण भएका भवन संरचनामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्कालीन मन्त्रिपरिषद्को बैठकले गरेको थियो। अत्याधुनिक भवनलगायत संरचनामा सरकारले रु छ अर्बभन्दा बढी खर्च गरिसकेको छ। यहाँ ठूला साना गरी ४२ भन्दाबढी भवन संरचना निर्माण भएका छन्।
सरकारले विस २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो। यसअघि काँचीकामा कोठी पीठका जगतगुरु शंकराचार्यको पहलमा विसं २०५६ मा गेटामा आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको पहल भएको थियो तर तत्कालीन सशस्त्र द्वन्द्वलगायत कारणले त्यसको कार्यान्वयन हुन सकेन। कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ। उनीहरूलाई समयमै अन्यत्र पुनःस्थापनमा ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको पनि अन्योलमा छ। मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्गत ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ।
सुरुका दिनमा कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीमा ढिलाइलगायत कारणले पूर्वाधार निर्माणको काम अघि बढ्न सकेन। ढिलै भए पनि यहाँ विश्वविद्यालय सञ्चालन हुने कानुनी आधार बनेपछि स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने भन्दै समग्र सुदूरपश्चिममा खुसी छाएको छ।
सामाग्री श्रोत :
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली’
काठमाडौँ । भारतका चर्चित कन्टेन्ट क्रियटर ध्रुव राठीले ‘सिख योद्धाको उदय’ सम्बन्धी आफ्नो पछिल्लो भिडिओ हटाएका छन् । भिडिओमा प्रयोग गरिएको एआई निर्मित एनिमेटेड क्लिपले सिख समुदायको भावनामा ठेस पुर्याएको भन्दै विवाद उत्पन्न भएपछि राठीले सोमबार सो भिडिओ युट्युबबाट हटाएका हुन् ।
राठीले भिडिओ अपलोड गरिसकेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकसँग यस विषयमा राय मागेका थिए । उनले भारतीय इतिहासलाई एनिमेसनको माध्यमबाट चलचित्रको रूपमा प्रस्तुत गर्ने आफ्नो लामो समयदेखिको इच्छा एआई प्रविधिले सम्भव तुल्याएको बताएका थिए । यद्यपि भिडिओमा सिख गुरु गोविन्द सिंहको एनिमेटेड चित्रण गरिएको र त्यसमा चाल थपिएको विषयमा सिख समुदायका केही व्यक्तिले आफ्नो धार्मिक विश्वाससँग मेल नखाएको भन्दै आपत्ति जनाएका थिए ।
राठीले इन्स्टाग्राममा दर्शकलाई सम्बोधन गर्दै भनेका थिए, “जसरी यो भिडिओमा एनिमेसन गरिएका छन्, त्यसले तपाईंको विश्वासमा ठेस पुर्याएको तपाईंमध्ये सिख समुदायका केही व्यक्तिको मान्यता छ,” उनले भने, “के यो वास्तवमा तपाईंको धार्मिक भावनाको विरुद्धमा छ ? र यदि तपाईं अपमानित महसुस गर्नुहुन्छ भने के मैले यो भिडिओ हटाउनु पर्छ ?”
उनले यदि गुरुको अनुहार नै देखाउन नपाइने हो भने गुरु गोविन्द सिंह मुख्य पात्र रहेको उक्त ऐतिहासिक भिडिओ बनाउन असम्भव हुने पनि उल्लेख गरेका थिए ।
अधिकांश दर्शकले भिडिओ नहटाउन सुझाव दिएपनि राठीले सिख समुदायको भावनाको सम्मान गर्दै र कुनै पनि धार्मिक वा राजनीतिक विवादमा फस्न नचाहेको भन्दै भिडिओ हटाउने निर्णय गरेको जानकारी दिए । उनले यस्ता सामग्रीलाई भविष्यमा नयाँ ढङ्गले प्रस्तुत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनको उक्त भिडिओ अहिले युट्युबबाट गायब छ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ २३:९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–सिरहा प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नरहा गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षिय संजय दास,सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन्।
आइतबार संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए।
उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
तनहुँ। नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन। ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ।
हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।
‘हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्वि हुन सकेको छैन्,’ गौतमले भने, ‘यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ।’
केन्द्रमा २३÷२३ मेगावाटका तीनवटा टर्बाइन छन्। यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो। यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ।
सामाग्री श्रोत :
नदीमा पानीको प्रवाह कम हुँदा मर्स्याङ्दीकाे विद्युत् उत्पादनमा कमी