२०८२ कार्तिक ७ बिहीबार
LATEST NEWS
२०८२ कार्तिक ७ बिहीबार

काठमाडौँ । अब एनआईसी एसिया बैँकका ग्राहकले रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसनमा विशेष छुट पाउने भएका छन् । बैँकले ई.स्टप नेपाल प्रालिसँगको सहकार्यमा यस किसिमको छुट अफर ल्याएको हो ।

सम्झौता पश्चात् बैँकका ग्राहकहरूले ई.स्टप नेपालका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् ।

एनआईसी एसिया बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी तथा मोबैँक (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बताइएको छ । दिगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास बैँकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १५:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन्।

सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाउनुभएको हो।

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए।

‘मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने  र स्याहार-सुसार गर्ने काम नर्सहरुको हो।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए। अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । आइतबारदेखि डाउन भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइट अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । आइतबार राति १० बजेदेखि बन्द भएको tu.edu.np को वेबसाइट सञ्चालनमा ल्याउने प्रयास भइरहेको विश्वविद्यालयले जनाएको छ । 

त्रिवि आईटी सेन्टरका ६ जना प्राविधिकहरूले यसलाई पुन सञ्चालनमा ल्याउने प्रयास गरिरहेका त्रिवि सेवा आयोगका प्रमुख विष्णु अर्यालले बताए । उनले भने, “दिउँसो २ बजेसम्ममा पुन सञ्चालन हुने गरि काम गरिएको थियो तर त्यो सम्भव भएन ।” उनका अनुसार आज सोमबार साँझसम्ममा रिकभर गरिने गरि प्रयास गरिएको थियो ।

यो समस्या मुख्यतया त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सर्भरमा होस्ट गरिएको एकीकृत वेबसाइटमा देखिएको हो । जसका कारण  tu.edu.np बाट सुरु हुने वेबसाइट सबै डाउन छन् । बाहिरबाट होस्ट गरिएका व्यवस्थापन विभाग, पाठ्यक्रम विकास केन्द्रका वेबसाइटहरू भने चलिरहेका छन् । 

यसले विशेष गरि त्रिवि सेवा आयोगको विभिन्न परीक्षाका आवेदन फारम भर्नुपर्ने सेवाग्राही मर्कामा परेका छन् । उनले भने, “सेवा आयोगका केही अनलाइन फारम भर्ने अन्तिम मिति हिजो, आज र भोलि तोकिएका पनि थिए ।” वेबसाइट नचल्दा आवेदकहरू समस्यामा परेपछि उनीहरू मर्कामा नपर्ने गरि म्याद थप गर्ने उनले बताए । 

“आज दिउँसोसम्म समस्या समाधान हुन सकेको भए म्याद थप्नु पर्दैन थियो होला । अब प्राविधिक समस्यालाई मध्यनजर गर्दै आवेदकका लागि नयाँ सूचना निकाल्छौँ,” उनले भने । 

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १८:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । प्रमुख क्रिप्टोकरेन्सी बिटकोइन (BTC) को मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रति बिटकोइनले एक लाख २३ हजार ९१ अमेरिकी डलर (करिब एक करोड ६८ लाख ६२ हजार रुपैयाँ) को कीर्तिमान कायम गर्दै अघिल्ला सबै रेकर्ड तोडेको हो ।

अमेरिकी ‘क्रिप्टो सप्ताह’ को सुरुवातसँगै आएको यो उछाल देखिएको छ । बजार विश्लेषकहरूले स्पट बिटकोइन ईटीएफमा भएको बलियो संस्थागत लगानी प्रवाह, बढ्दो अन-चेन गतिविधि र दीर्घकालीन लगानीकर्ताहरूले गरेको निरन्तरको खरिदलाई मुख्य कारण मानेका छन् । यसको २४ घण्टाको व्यापार मात्र एक खर्ब ७ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ ।

कोइनमार्केटक्यापको तथ्याङ्क अनुसार, विगत २४ घण्टामा बिटकोइन ११७,७३३.०२ देखि १२३,०९१ को दायराभित्र उतारचढाव भइरहेको देखिन्छ । यसको बजार पुँजीकरण २.४३ ट्रिलियन डलर पुगेको छ, जसले यसलाई बजार पुँजीकरणको आधारमा सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी र अमेजन, सिल्भर, र अल्फाबेट (गुगल) जस्ता दिग्गज कम्पनीहरूलाई समेत पछाडि पार्दै विश्वव्यापी रूपमा पाँचौँ ठुलो सम्पत्तिको रूपमा स्थापित गरेको छ ।

जुलाई महिनामा मात्रै यसको मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कूल क्रिप्टो बजार पुँजीकरण ३.७८ ट्रिलियन डलर नजिक पुग्दा इथेरियमको मूल्य ३ हजार ५७ डलर पुगेको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १६:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । इन्टरनेट सेवा अवरुद्ध हुँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सेवा प्रभावित भएको छ । सोमबार विभागको प्रणाली देशभरि चालु रहे पनि काठमाडौँ नारायणहिटीमा रहेको प्रमुख सेवा केन्द्रमा सेवा प्रभावित भएको हो । 

विभागका सूचना अधिकारी शिवराज सेढाईका अनुसार समस्या विभागको प्रणालीमा नभई इन्टरनेट सेवा प्रदायक एनटिसीको पूर्वाधारमा आएको छ । “हामीले अनुसन्धान गर्दा त्यहाँ एनटिसीको फाइबरमा समस्या आएको पत्ता लाग्यो,” सूचना अधिकारी सेढाईले भने । 

उनका अनुसार देशैभरिका ७७ ओटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमा परिचयपत्र सम्बन्धी प्रणालीहरू पूर्ण रूपमा सञ्चालनमा छन् । तर, एनटिसीको फाइबरमा समस्या आएको स्थानमा भने सेवा पूर्ण रूपमा ठप्प भएको छ । यस विषयमा नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

दैनिक एक हजारदेखि १५०० जनासम्म सेवाग्राही आउने उक्त केन्द्रमा सेवा अवरुद्ध हुँदा राहदानी बनाउने, बैंक खाता खोल्ने जस्ता अत्यावश्यक काम लिएर आएका नागरिक अलपत्र परेका छन् । “हाम्रो कारणले सेवा रोकिएको होइन, एनटीसीको सेवा अवरुद्ध भएकाले हाम्रो सेवा पनि अवरुद्ध भएको हो,” सेढाईले स्पष्ट पारे, “जब एनटिसीले आफ्नो समस्या समाधान गर्छ, हाम्रो सेवा स्वतः सुचारु हुनेछ । यसमा हाम्रो कुनै प्राविधिक कमजोरी छैन ।”

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १५:५७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन्। 

सोमबार काठमाडौंमा भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गर्दै सवै नागरिकलाई गुणस्तरीय र सुलभरुपमा स्वास्थ्य सेवा दिनुपर्ने बताएका हुन्। 

उनले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेको उल्लेख गरे। सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले तीन हजार वर्षभन्दा ऋषि सुश्रुतले सर्जरी गरेको दृष्टान्त रहेको जिकिर गरे। 

कार्यक्रममा भाटभटेनीका संचालक मीनबहादुर गुरुङले सामाजिक काममा अग्रपङ्तीमा रहेर काम गर्ने बताए। उनले आफुले गरेको सहयोगमा कुनै स्वार्थ नरहेको बताए। 

सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे। भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । बिल गेट्सको माइक्रोसफ्ट कम्पनीले पाकिस्तानमा २५ वर्ष काम गरेपछि आफ्नो कार्यालय भियतनाममा सारेको छ । दिग्गज प्रविधि कम्पनीको यस किसिमको कदमले दक्षिण एसियाली मुलुकमै हलचल मच्चाएको छ । 

यही सन्दर्भमा माइक्रोसफ्टको यो निर्णयप्रति दुःख व्यक्त गर्दै पूर्व राष्ट्रपति आरिफ अल्वीले आफ्नो एक पोस्टमा भनेका छन्, “फेब्रुअरी २०२२ मा जब बिल गेट्स पाकिस्तान आएका थिए त्यतिबेला उनले मसँग पाकिस्तानमा थप लगानी ल्याउन चाहेको बताएका थिए । तर, त्यसपछि यहाँको राजनीतिक उथलपुथल र कानून व्यवस्थाको अवस्था देखेर उनी निराश भए र अहिले उनले पूर्ण रूपमा हात उठाएका छन् ।”

आर्थिक मामिलाबारे लेख्ने पाकिस्तानको एक ठूलो पत्रिका ‘बिजनेस रेकर्डर’ले लेखेको छ, “माइक्रोसफ्टको पाकिस्तान सञ्चालन निकै सानो थियो र उसले यहाँबाट वार्षिक ५० मिलियन डलर मात्र राजस्व कमाउँथ्यो । तर कुरा राजस्वको मात्र होइन । जब कुनै ठूलो कम्पनीले देश छोड्छ तब साना लगानीकर्ताको मनोबल पनि टुट्छ ।”

यसअघि अन्तर्राष्ट्रिय स्टार्टअप ‘करिम’ले पनि १८ जुलाईदेखि पाकिस्तानमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको थियो । सन् २०२१ देखि २०२४ सम्मको तीन वर्षमा एयरलिफ्ट र स्वेलजस्ता ५५ स्टार्टअपले आफ्नो कम्लोकुटिरो बोकी पाकिस्तान छोडिसकेका छन् ।

पछिल्लो तीन वर्षमा पाकिस्तानमा स्टार्टअप फन्डिङ ३५५ मिलियन डलरबाट ८८ प्रतिशतले घटेर ४३ मिलियन डलरमा झरेको छ । जबकि सन् २०२४ मा भारतमा ७.५ अर्ब डलर र बङ्गलादेशमा १४० मिलियन डलरको स्टार्टअप फन्डिङ भित्रिएको छ ।

एक स्थानीय टेक कम्पनीका मालिकले बीबीसी हिन्दीलाई भने, “आखिर विदेशी टेक कम्पनी यहाँ किन बस्छन् ? एकातिर पछिल्लो तीन वर्षदेखि डलरको तुलनामा पाकिस्तानी रुपैयाँ टिक्न सकेको छैन । अर्कोतिर इन्टरनेट सेवा कहिले खुल्छ, कहिले बन्द हुन्छ भन्ने कुनै ठेगान छैन ।” इन्टरनेटको गतिको हिसाबले पाकिस्तान विश्वमा १२६ औं स्थानमा छ । कराँची र लाहोर दुई ठूला प्रविधि केन्द्र हुन् तर त्यहाँ दैनिक छ देखि आठ घण्टा लोडसेडिङ हुन्छ ।

विश्वभरका लगानीकर्तालाई ‘एकद्वार प्रणाली’ (One Window Operation) निकै मन पर्छ । तर पाकिस्तानमा कुनै लगानीकर्ताले आफ्नो पैसा बाहिर पठाउन कम्तीमा छ ओटा विभागका कर्मचारीको स्वीकृति लिनुपर्छ । कहिले र कति कर लाग्छ वा घट्छ भन्ने कुनै ग्यारेन्टी छैन । उदाहरणका लागि नयाँ बजेटमा कुरियर सेवा र अनलाइन कारोबार गर्नेहरूमाथि ४ प्रतिशत बिक्री तथा विथहोल्डिङ कर लगाइएको छ । कुरियर कम्पनीले आफ्नो नाफा जोगाउन यो कर सिधै ग्राहकको थाप्लोमा हालेका छन् ।

अनलाइन व्यापार गर्नेमा अधिकांश युवा, शिक्षित गृहिणी वा सरकारी जागिरको खोजीमा भौंतारिनुको सट्टा आफ्नै खुट्टामा उभिन चाहने ब्याच्लर्स छन् । हाल पाकिस्तानको डिजिटल अर्थतन्त्र २.५ अर्ब डलर बराबर छ र लगभग छ लाख मानिस ई-कमर्स, सफ्टवेयर विकास र फ्रिल्यान्सिङमा सङ्लग्न छन् । 

नयाँ वर्षको सुरुमा ‘उडान पाकिस्तान’ नामक पञ्चवर्षीय योजना घोषणा गरिएको थियो । यसको लक्ष्य आगामी १० वर्षमा पाकिस्तानलाई एक ट्रिलियन डलरको अर्थतन्त्र बनाउनु हो । केवल डिजिटल अर्थतन्त्रबाटै आगामी पाँच वर्षमा १० देखि १५ अर्ब डलर कमाउने लक्ष्य तोकिएको छ । तर, यहाँको वातावरण यस्तो छ कि विदेशी त परै जाओस् स्वदेशी कम्पनीलाई पनि टिक्न मुस्किल भइरहेको छ । 

सरकारी अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा लगभग पाँच हजार सफ्टवेयर डेभलपर क्यानडा, युएई र जर्मनीमा बसाइँ सरेका छन् जबकि २०२३ मा लगभग १० हजार प्राविधिक कामदारले देश छोडेका थिए । 

बीबीसी हिन्दीको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १४:४३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । भारतीय नागरिकले फोनपेमार्फत् २ अर्ब बढीको डिजिटल भुक्तानी गरेका छन् । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, फोनपे नेटवर्कमार्फत क्रस-बोर्डर यूपिआई (UPI) काे कारोबार संख्या १० लाख नाघेको छ, जसअन्तर्गत् कुल २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

भारतीय पर्यटकहरूले नेपाल भ्रमणको क्रममा यूपिआई सपाेर्ट गर्ने एप्स प्रयोग गरेर फोनपे क्यूआर स्क्यानमार्फत सहज रूपमा भुक्तानी गर्न थालेसँगै डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ । यस प्रवृत्तिले नेपालमा क्रस-बोर्डर डिजिटल भुक्तानीको नयाँ युग प्रारम्भ भएको संकेत दिएको कम्पनीको विश्वास छ।

फोनपेका अनुसार हाल देशका सबै ७७ जिल्लामा सेवा विस्तार भइसकेको छ भने १ लाखभन्दा बढी व्यवसायी फोनपे नेटवर्कमा आबद्ध भइसकेका छन् । सबैभन्दा बढी कारोबार हुने स्थानहरूमा काठमाडौँ, कास्की र कैलाली जिल्लाहरू छन् । यस्तै यूपिआईमार्फत् कारोबार हुने प्रमुख क्षेत्रहरूमा रेस्टुरेन्ट, किराना पसल र होटल/रिसोर्ट रहेका छन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भारतीय ग्राहकहरूबाट प्राप्त विश्वासले नेपालमा डिजिटल अर्थतन्त्र विस्तारको सम्भावना अझ बलियो भएको बताएका छन् । “१० लाख युपिआई कारोबार पार गर्नु भनेको भारतीय ग्राहकहरूले देखाएको आत्मविश्वासको प्रमाण हो,” उनले बताए ।

फोनपेका अनुसार यूपिआई कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ डिजिटल भुक्तानी प्रति बढ्दो स्वीकार्यता, नेपाल आउने पर्यटकहरूको वृद्धि, र क्यूआर कोडमार्फत भुक्तानीको सहजता रहेका छन् ।

फोनपेले आगामी दिनमा थप डिजिटल नवप्रवर्तनसहित क्रस-बोर्डर भुक्तानी प्रणालीलाई अझ सहज र प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला

स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न सुरु गरिएको हो ।

गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार नगरपालिकाले विशेषज्ञ डाक्टरको परामर्श, प्राथमिक उपचारसम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधीसम्बन्धी सल्लाहलगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको हो । 

यो सेवामार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियोमार्फत विशेषज्ञ डाक्टरलाई बताउन सक्नेछन् । अनि डाक्टरले सबै कुरो बुझेर औषधी वा थप उपचारको सिफारिस गर्ने गर्छन् । हप्तामा एक दिन मात्र उपलब्ध गराइने सो सेवा प्रत्येक बुधबार सञ्चालन हुने बताइएको छ । 

दीर्घरोगी, नियमित औषधी प्रयोगकर्ता लगायतका बिरामी नियमित अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने सहरी स्वास्थ्य क्लिनिक पात्लेको विश्वास छ । 

 

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १२:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो।

साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ। दुवै सेवाको मन्त्री पौडेलले आइतबार शुभारम्भ गरे।

नसर्ने रोगहरुविरुद्ध निरोधात्मक अभियान घोषणा गरेका मन्त्री पौडेलले मधेशका महिलाहरुको स्वास्थ्य रक्षाका लागि समयमै सुपथ मूल्यमा परीक्षण हुने गरी व्यवस्था मिलाएको बताए। मन्त्रालयको सहयोगमा अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ। मन्त्री पौडेलकै सक्रियतामा अस्पतालमा लामो समयदेखि सञ्चालन हुन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारी छ।

‘मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो,’ उनले भने,‘थपिएका सेवाले यहाँका दिदीबहिनीहरुलाई धेरै पैसा खर्च गरेर देशबाहिर जानुपर्ने समस्या हट्ने आशा लिएको छु।’

मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरु विस्तारमा प्राथमिकताका साथ का मगर्ने बताए।

हाल मधेशका महिलाहरुले दुवै सेवाका लागि काठमाडौं तथा भारतसम्म जानु पर्ने समस्या रहेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए। 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट