
काठमाडौं- बागमती सेवा समाजको आयोजनामा कोशी र मधेश प्रदेशमा कार्यरत क्षयरोग सम्बन्धी जिल्ला कार्यक्रम संयोजकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिम कार्यक्रम हालै सम्पन्न भएको छ। यस कार्यक्रमले दिगो स्वास्थ्य सेवा प्रवाह, समुदायस्तरमा क्षयरोग नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको थियो।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यक्रम संयोजकहरूले सहभागिता जनाएका थिए। तालिममा क्षयरोगको वर्तमान अवस्था, सरकारी नीति तथा कार्ययोजना, रोग पहिचान र रिपोर्टिङ प्रणाली, समुदायमा जनचेतना अभिवृद्धि गर्ने विधि, निगरानी तथा मूल्याङ्कन प्रणालीजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा डा. मुक्ति खनाल, नथुनी मण्डल र गोबिन्द माझी लगायतको विज्ञहरूद्वारा महत्वपूर्ण विषयमा प्रस्तुति दिइएको थियो। डा. खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने, नथुनी मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राख्नुभयो। यस्तै, गोविन्द माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन प्रणालीमा आधारित प्रस्तुति दिए।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका विज्ञ, रक्षात्मक स्वास्थ्यसम्बन्धी संस्था तथा विभिन्न सरोकारवाला निकायका विशेषज्ञहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी रहेको अनुभव सुनाउँदै भविष्यमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बागमती सेवा समाजका अध्यक्ष प्रबिना भण्डारी ज्युले कार्यक्रम समापन गर्दै यस्तो खालको तालिमले प्रदेशस्तरका कार्यक्रम संयोजकहरूलाई थप दक्ष बनाउने र उनीहरूको काममा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे।
यस कार्यक्रमले केवल सहभागिहरूको क्षमता अभिवृद्धि गर्यो, तर प्रदेशगत समन्वय तथा अनुभव साटासाटको अवसर पनि प्रदान गरेको थियो, जसले समग्र क्षयरोग नियन्त्रण कार्यक्रमलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
ओखलढुंगा। साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ। सिद्धिचरण नगरपालिका-११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुंगाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए।
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए।
यसैबीच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्। यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै यूए ह्याकथन नेपाल २०२५ (UA Hackathon Nepal 2025) सम्पन्न भएको छ । युनिभर्सल एक्सेप्टेन्स (यूए) प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली भाषामा डोमेन प्रणालीको प्रयोगमार्फत डिजिटल समावेशिताको सुरुवात गरिएको आयोजक क्यान महासंघले जनाएको छ ।
आईक्यान (ICANN) सँगको सहकार्यमा शनिबार भएको उक्त कार्यक्रममा डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक प्रयोग सुरू गरिएको थियो । यसअन्तर्गत ‘क्यान.संगठन’ वेबसाइट सार्वजनिक गरिएको क्यानले जनाएको छ ।
कार्यक्रममार्फत युनिभर्सल एक्सेप्टेन्सका मापदण्ड अनुरूप स्थानीय भाषामा डोमेन र ईमेल ठेगाना स्वीकार गर्ने प्रणाली (UA-ready) विकासको दिशा तय भएको क्यानको भनाइ छ ।
कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले भाषा, पहिचान र पहुँचको संरक्षणमा यो कदम महत्त्वपूर्ण भएको बताउँदै यसले डिजिटल नेपाल निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले डिजिटल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७० प्रतिशत नेपाली इन्टरनेट पहुँचबाहिर रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन र ईमेल ठेगाना उपलब्ध गराउनाले डिजिटल पहुँचको दायरा फराकिलो हुने बताए ।
कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिक सिफारिससँग मेल खाने बताएका थिए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली कम्प्युटिङको अर्को महत्त्वपूर्ण चरणको रूपमा व्याख्या गर्दै नेपाली भाषा स्ट्यान्डर्ड र स्पेल चेकर विकाससम्बन्धी विगतका प्रयासहरू स्मरण गरिन् ।
कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक, माभोरियन सिस्टम, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्ड लगायतको सहकार्य रहेको थियो ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गर्दै डट एनपी (.np) डोमेनलाई पनि नेपालीमै ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रम अन्तर्गत यूए ह्याकथनमा ४० जना युवा सहभागी थिए । उनीहरूले नेपाली भाषामा ईमेल ठेगाना बनाउने अभ्यास गर्दै ‘UA-ready’ प्रणालीको निर्माण प्रक्रिया सिकेका थिए ।
कार्यक्रम संयोजक एवम् क्यान महासंघका प्रबन्धक उदिप बरालले अन्तर्राष्ट्रिय साझेदारीले कार्यक्रमलाई प्रभावकारी बनाएको उल्लेख गर्दै आईक्यान, युनेस्को र एपनिकसँगको सहकार्यले भविष्यका पहलहरूलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको उद्देश्यबारे यूए ह्याकथन नेपालका टिम लिड विवेक सिलवालले वेबसाइटको सामग्री मात्र नभई त्यसमा पुग्न प्रयोग हुने डोमेन र किवर्ड पनि नेपालीमै सम्भव छन् भन्ने सन्देश दिनु आफूहरू लागिपरेको जानकारी दिए । उनले यसलाई नेपाली डोमेन नेम उद्योगको ऐतिहासिक माइलस्टोनको रूपमा व्याख्या गरे ।
पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १०:१८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ । ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा खटिएको टोलीले नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा मानसिक स्वास्थ्य कार्याशाला गरिएको छ। नेपाल युनाइट्स, यूथ इनिसिएटिभ, गैरसरकारी संस्था महासंघ, सोसल इम्प्याक्ट र नेपाल डेभलपमेन्ट इनिसियटिभ (एनईडीआई) को सहकार्यमा कार्यशाला आयोजना गरिएको हो।
बुद्धनगरस्थित गैरसरकारी संस्था महासंघको सभाहलमा ‘मानसिक स्वास्थ्य र भलाइ’सम्बन्धी एक दिवसीय कार्यशालामा देशका सातै प्रदेशबाट आएका करिब ३० जना युवा सहभागी थिए।
क्यानडाबाट आएका निहाल कुमार सिंहद्वारा सञ्चालित पहिलो सत्रमा ‘भ्रम र यथार्थ” शीर्षक अन्तर्गत डिजिटल उपकरण प्रयोग गरेर अन्तरक्रियात्मक प्रस्तुति दिइयो। सत्रमा मानसिक स्वास्थ्यको परिभाषा, सामना गर्ने उपाय, कसरी सहयोग गर्ने, परिवार,समाज र संस्कृतिको भूमिका लगायत विषय समेटिएको थियो। सत्रको अन्त्यमा सहभागीहरूले जीवनका तीनवटा कृतज्ञता व्यक्त गर्ने अभ्यास गरे, जसले उनीहरूलाई सहज र सकारात्मक महसुस गरायो। सत्र “इट्स ओके टू नट फिल ओके” भन्ने सन्देशसहित समापन भयो।
दोस्रो सत्रमा यूथ इनिसियटिभका महासचिव योगेश काफ्लेले शटेक योर इमोसनल टेम्प्रेचर” अभ्यास गराउँदै जोन्स अफ रेगुलेसन अवधारणामार्फत विचार, भावना र व्यवहारबीचको सम्बन्ध प्रस्ट पारे।
डा गोपाल ढकालको अन्तिम सत्र ध्यान अभ्यासबाट सुरु भयो। उनले नेपालको मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौतीहरू र सुधारका उपायहरूबारे विश्लेषण गरे।
मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात सन् १९४९ मा संयुक्त राज्य अमेरिकामा मेन्टल हेल्थ अमेरिका (एमएचए)द्वारा सुरु गरिएको हो । यसको उद्देश्य मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउनु, कलंक हटाउनु र भलाइ प्रवर्द्धन गर्नु हो। सन् २०२५ को मेन्टल हेल्थ अमेरिका (एमएचए) द्वारा घोषित वैश्विक नाराः ‘सचेतनालाई क्रियामा रूपान्तरण गरौँ’ ले मानसिक स्वास्थ्यमा व्यवहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ।
यसै सन्देशलाई आत्मसात् गर्दै आज कार्यक्रमको सुरुवात यूथ इनिसिएटिभकी सचिव सुश्मिता यादवद्वारा स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछिका उद्घाटन मन्तव्यमा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नेपाली युवाबीच बढ्दो मानसिक स्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक रहेको बताए।
युवाहरूलाई परिवर्तनका संवाहक र नीतिगत वकालतकर्ता बन्न आह्वान गर्दै यूथ इनिसिएटिभका अध्यक्ष गङ्गा बहादुर गौतम (पवन) र नेपाल युनाइट्सका निर्देशक मोहम्मद रहमानबाट कार्यक्रमको समापन गरिएकद् थियो। सहभागीहरूलाई प्रेरित र उत्साहित बनाउदै सहभागी रबीको साङ्गीतिक प्रस्तुति (गितार र गायन) समेत गरिएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
सिन्धुली। एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आइतबार सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ।
यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो।
सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थिति सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे। बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे।
सामाग्री श्रोत :
काठमाडौँ । डिजिटल प्रविधिले निम्त्याएका भ्रामक सूचना र अनलाइन असुरक्षा जस्ता चुनौतीसँग जुध्न युवालाई सक्षम बनाउने उद्देश्यले राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
गत शुक्रबार युथ इनोभेसन ल्याब र युनेस्कोको संयुक्त आयोजनामा ‘नेपालका युवा संगठनमा मिडिया तथा सूचना साक्षरता (एमआईएल) अभिवृद्धि’ विषयक कार्यशाला गरिएको हो ।
कार्यक्रममा देशभरका विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै आएका २५ जना युवायुवती सहभागी थिए । उनीहरूले मिडिया तथा सूचना साक्षरता सीपलाई आ–आफ्ना संस्थागत अभ्यास र सामुदायिक कार्यक्रममा एकीकृत गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहभागीहरूले विशेषतः तथ्य जाँच, पारदर्शिता र डिजिटल जिम्मेवारी प्रवर्द्धनमा आफ्नो सक्रिय भूमिका रहने बताएका थिए । कार्यशालामा एआई निर्मित सामग्री, भ्रामक तथा मिथ्या सूचनाको जोखिम, डिजिटल सुरक्षा र अनलाइन उत्तरदायित्वका कानुनी पक्षबारे छलफल गरिएको थियो ।
युनेस्को नेपालका प्रतिनिधि ज्याको डु टोइटले डिजिटल युगमा युवाका लागि मिडिया तथा सूचना साक्षरता अत्यावश्यक भएको बताए । “नेपालका युवा मिडियाका निष्क्रिय उपभोक्ता मात्र नभई लोकतन्त्र र डिजिटल इमान्दारिताका सक्रिय अगुवा हुन्,” उनले भने ।
युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले एआई सामग्रीको बढ्दो प्रयोग र ३० प्रतिशतभन्दा बढी युवा सामाजिक सञ्जालमा आधारित रहेर समाचार प्राप्त गरिरहेको सन्दर्भमा मिडिया साक्षरताको खाँचो झनै बढेको बताए । “१७ प्रतिशतभन्दा कम युवालाई मात्र तथ्य-जाँच प्लेटफर्मबारे जानकारी छ । त्यसैले युवालाई आलोचनात्मक सोच र डिजिटल सीपले सुसज्जित गर्नु अत्यावश्यक छ,” उनले भने ।
कार्यशालामा विजयकुमार तिमल्सिनाले एआई, डेटा गोपनीयता र जिम्मेवार सामग्री निर्माण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । यस्तै, पत्रकार उज्ज्वल आचार्य र दीपक अधिकारीले भ्रामक तथा मिथ्या सूचना पहिचान र आलोचनात्मक सोचको अभ्यासबारे छलफल गरे ।
अधिवक्ता रुक्मिणी महर्जन र सुस्मिता घिमिरेले डिजिटल सुरक्षाका कानुनी पक्षबारे जानकारी गराए भने सन्तोष क्षेत्रीले संगठनात्मक नीतिमा एमआईएल समावेश गर्ने तरिकाबारे बोले ।
कार्यशालामा सहभागी संस्थाहरूले मिडिया तथा सूचना साक्षरतालाई आफ्ना कार्यक्रममा लागू गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरूले कर्मचारीलाई तालिम दिने, सामुदायिक पहुँच विस्तार गर्ने र संगठनात्मक नीतिमा एमआईएल एकीकृत गर्ने लक्ष्य लिएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ ९:२७
सामाग्री श्रोत :
टेक पाना
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन”, उनले भने ।
आर्थिक अभावमा पक्की घरमा बस्ने सपना मात्रै देखेका उनलाई अब भने नगरपालिकाले सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको छ ।
सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ । छ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं, कृषि क्षेत्र र घरेलु श्रमको क्षेत्रमा काम गर्ने श्रमिक महिला विभिन्न प्रकृतिको विभेदमा परिरहेको यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुको अधिकार सुरक्षाको विषय कानुनमा नै नसमेटिएको वा कम समेटिएको भन्दै बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई थियो ।
तरंगिनी फाण्डेसनले आयोजना गरेको घरेलु श्रमिक र कृषि श्रमिक महिलाहश्रकाृ पहिचान र अधिकार सम्बन्धी गोलमेच अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले तीनै तहको सरकारहरु मिलेर काम गर्न आवश्यक रहेकोमा जोड दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई जोड्न जरुरी रहेको भन्दै आयोगका तर्फबाट सरकारका विभिन्न मन्त्रालयहरुलाई आवश्यक कार्ययोजना बनाउन आग्रह गरिएको बताए ।
सो अवसरमा बोल्दै अधिकारकर्मी डा. रेणु अधिकारीले घरेलु श्रमिक, घरेलु सहायक भनेर श्रम ऐन, देवानी संहिता लगायतमा समेटिएको भएपनि कृषि श्रमिकको विषय नसमेटिएको बताइन् । कतिपय स्थानीय सरकारले कृषि श्रमिकको परिचयपत्र उपलव्ध गराएको भएपनि त्यसबाट महिला वञ्चित रहेको उनको भनाई थियो ।
छलफलमा बोल्दै घरेलु श्रमिक कोपिला प्रसाईले घरेलु श्रम गर्नेहरु माथि अन्याय भइरहेको धारणा राखिन् । सम्झौता पत्रको अभाव, साप्ताहिक विदाको अभावका बीच काम गरिरहेका घरेलु श्रमिकले अतिरिक्त समय काम गरेको अतिरिक्त ज्याला समेत प्राप्त गर्न नसकिरहेको गुनासो गरिन् । अन्य क्षेत्रका श्रमिकले सामाजिक सुरक्षा प्राप्त गरेपनि घरेलु श्रमिकको हकमा त्यो लागु नभएको उनको भनाई थियो ।
यसैगरी कृषि श्रमिक मैना दनुवारले कृषि क्षेत्रका लागि उपलव्ध गराइने अनुदान टाठाबाठाहरुले लगिरहेको, वास्तविक किसानले मल, बीउ समेत पाउन नसकेको भन्दै किसान परिचयपत्र उपलव्ध गराउनु पर्ने माग राखिन् ।
छलफलमा होमनेट नेपालका ओम थपलिया, जिआईजेडकी पस्मा दहाल झा, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रकी सीता लामा, हुनकी महासचिव ज्ञानुमाया केसी लगायतले धारणा राखेका थिए । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि मन्त्रालय लगायतका प्रतिनिधिहरुले राज्यले उपलव्ध गराएको सेवा सुविधाका बारेमा जानकारी गराउँदै त्यो पर्याप्त हुन भनें नसकेको बताए ।
तरंगिनी फाउण्डेसन महिला अधिकारको क्षेत्रमा काम गर्ने उद्धेश्य सहित सन् २०१७ मा स्थापित भएको संस्था हो ।
सामाग्री श्रोत :
deshparadesh
बागमती। बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० माथि छलफल गर्ने कार्यसूची छ ।
मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२-८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।
सामाग्री श्रोत :