
हाम्रो दैनिक जीवनमा हामीले विभिन्न शारीरिक क्रियाकलाप गर्छौं। हाम्रो शरीरमा रहेका ६०० भन्दा बढी मांसपेशीहरूले सन्तुलित ढङ्गमा काम गर्दा हामी यी क्रियाकलापहरु गर्न सक्षम हुन्छौँ। शारीरिक क्रियाकलापले हाम्रो समग्र स्वास्थ्यलाई नै प्रभाव पारिरहेको हुन्छ। आजभोलि आधुनिककरण तथा प्राविधिक विकास सँगसँगै हामीले गर्ने दैनिक क्रियाकलापमा पनि परिवर्तन आएको छ। यसले हाम्रो दैनिकीलाई सरल त बनाएको छ तर शारीरिक क्रियाकलाप कम हुँदै गइरहेको छ।
शरीरलाई स्वस्थ राख्न र शारीरिक सन्तुलन बनाइराख्न हामीमध्ये कतिपयले आफ्नो दैनिकीमा व्यायाम र योगको अभ्यास गरिरहेका छौं। कतिपयलाई स्वास्थ्यकर्मीले नै योजनाबद्ध रुपमा व्यायाम स्वीकृत गरिदिनुभएको छ। व्यायाम भनेको योजनाबद्ध, संरक्षित र दोहोर्याएर गरिने शारीरिक गतिविधि हो। तसर्थ सामान्य शारीरिक क्रियाकलापले हाम्रो शरीरलाई सक्रिय राख्छ तर लक्षित व्यायाम विशेष स्वास्थ्य समस्याहरूमा सुधार ल्याउन प्रयोग गरिन्छ जुन विशेषज्ञद्वारा सिफारिस गरिन्छ। शारीरिक क्रियाकलापको तीव्रतालाई तीन भागमा वर्गीकरण गरिएको छ। कम तीव्रता मध्यम तीव्रता र बढी तीव्रता।
शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई। मध्यम तीव्रताको गतिविधिमा साँस र मुटुको गति केही बढ्छ। गफ गर्न सकिन्छ तर निरन्तर रूपमा बोल्न गाह्रो हुँदै जान्छ। उदाहरण: छिटो हिँड्नु, सामान्य साइकल चलाउनु, घरको गाह्रो काम जस्तै पोछा लगाउने, बगैँचामा खन्ने आदि। उच्च तीव्रताको गतिविधिमा सास धेरै चाँडो बढ्छ पसिना आउँछ; बोल्न गाह्रो हुन्छ र केही शब्द मात्र बोल्न सकिन्छ। उदाहरण: दौडनु, डाँडामा उकालो हिँड्नु, खेलकुद आदि।
विश्व स्वास्थ्य संगठनले विभिन्न उमेर समूह र अवस्थाको अनुसार के र कति शारीरिक क्रियाकलाप गर्ने भनेर सिफारिस गरेको छ। ५ देखि १७ वर्षसम्मको उमेर समूहको लागि दिनको कम्तीमा एक घण्टा मध्यमदेखि बढी तीव्रता हुने शारीरिक क्रियाकलाप गर्न सिफारिस गरेको छ। यसका साथै हप्तामा कम्तिमा तीन दिन मांसपेशी तथा हड्डीलाई दरो बनाउन बढी तीव्रताको क्रियाकलाप गर्न सुझाव दिन्छ। १८ देखि ६४ उमेरका वयस्कहरूको हकमा भने सबैलाई कम्तीमा हप्ताको १५० देखि ३०० मिनेट मध्यम तीव्रता हुने क्रियाकलाप वा कम्तीमा ७५ देखि १५० मिनेट बढी तीव्रता हुने क्रियाकलाप वा दुवैको समतुल्य संयोजन गर्न सिफारिस गरिएको छ।
थप शारीरिक फाइदाको लागि हप्ताको दुई दिन मांसपेशी दरो बनाउने मध्यम या तीव्र गतिको क्रियाकलाप गर्न सिफारिस गर्दछ। ६५ वर्षको उमेरपछि पनि वयस्कहरूको जतिकै शारीरिक क्रियाकलाप गर्न सिफारिस गरेको छ। त्यो बाहेक हप्ताको तीन दिन शारीरिक सन्तुलन र शक्ति बढाउने मध्यमदेखि बढी तीव्रताको क्रियाकलाप गर्न सिफारिस गर्दछ। बुढ्यौलीमा पर्याप्त शारीरिक क्रियाकलापले गर्दा लड्ने र लडेपछि हुने चोटपटक जस्तै हड्डी टुट्ने, मांसपेशीको चोटपटकबाट बचाउने र दैनिकी क्रियाकलाप गर्न पनि सहज हुन्छ। स्वास्थ्यकर्मीले निषेधित नगरेको हकमा हप्ताको ३०० मिनेटभन्दा बढी मध्यम तीव्रता हुने शारीरिक क्रियाकलाप वा हप्ताको १५० मिनेट भन्दा बढी बढी तीव्रता हुने शारीरिक क्रियाकलापको लागि सिफारिस गर्दछ।
सामान्य गर्भवती तथा सुत्केरी अवस्थामा हप्ताको कम्तिमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक क्रियाकलापको लागि सिफारिस गरेको छ। साथै मांसपेशी दरो बनाउने क्रियाकलाप र मांसपेशी तन्काउने सामान्य कसरतहरू पनि फाइदाजनक हुन्छन्। गर्भवती हुनुभन्दा पहिले नै बढी शारीरिक संलग्न महिलाहरू वा शारीरिक क्रियाकलापमा पर्याप्त सक्रिय महिलाहरुलाई ती क्रियाकलापहरु सुचारु राख्न सिफारिस गरेको छ। यो अवस्थामा पर्याप्त शारीरिक गतिविधिले गर्भवती अवस्थामा हुने उच्च रक्तचाप मधुमेह अति मोटोपना प्रसव व्यथा तथा सुत्केरी अवस्थामा हुने जटिलता तथा डिप्रेसन हुनबाट बचाउन सक्दछ। यी अवस्थामा भने शारीरिक क्रियाकलाप गर्दा होसियार रहनु पर्छ र स्वास्थ्यकर्मीको सुझाव पनि लिनुपर्दछ।
वयस्क तथा बुढ्यौली उमेर समूहमा दीर्घ रोगहरू जस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह, एचआइभीमा पनि पर्याप्त शारीरिक क्रियाकलापले समस्या अनुसारको फाइदा पुर्याउँछ जस्तै रोग बढ्नबाट जोगाउने, नियन्त्रणमा राख्ने, दैनिकीको गुणस्तर सुधार गर्ने, मृत्युदर घटाउने र मानसिक स्वास्थ्य सबल राख्ने। यो अवस्थामा शारीरिक गतिविधिको तीव्रता र समय भने बुढ्यौली उमेरको जतिकै गर्न सिफारिस गरेको छ। अपाङ्गता भएका वयस्क तथा वृद्ध व्यक्तिहरूलाई पनि समान समय र तीव्रताको सिफारिस गर्दछ।
अपाङ्गता भएका बालबालिकाहरूमा पर्याप्त शारीरिक क्रियाकलापले शारीरिक स्फूर्ति प्रदान गर्ने, हड्डी र मांसपेशी दरो बनाउनुको साथसाथै संज्ञात्मक विकासमा सहयोग गर्दछ र दैनिकी कार्यमा पनि सुधार ल्याउँछ। शारीरिक गतिविधिको समय र तीव्रता भने सामान्य बालबालिकाहरूको जस्तै गर्न सिफारिस गरेको छ।
ध्यान दिनुपर्ने कुराहरू
• धेरै समयसम्म आसिन भएर बस्दा दीर्घ रोगहरू जस्तै मुटुरोग क्यान्सर र मधुमेहको जोखिम बढ्दछ। त्यसैले आसिन समय खटाई शारीरिक सक्रियता बढाउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।
• हरेक क्रियाकलापले माइना राख्छ: कामको क्रियाकलाप, खेलकुद, घरायसी काम वा फुर्सदको गतिविधिहरु।
• हामीले बसेर बिताउने समय विशेषगरी मनोरञ्जनात्मक स्क्रिन समयलाई सकेसम्म सीमामा राख्नुपर्छ।
• शारीरिक क्रियाकलाप आफ्नो क्षमता अनुसार सुरुवात गर्नुपर्छ र बढाउँदै जानुपर्छ ।
• सामान्य बाहेक विशेष अवस्थाहरू जस्तै गर्भावस्थाको मधुमेह अत्यन्त उच्च रक्तचाप अत्याधिक मधुमेह आदिमा विशेषज्ञ डाक्टर तथा फिजियोथेरापिस्टको सल्लाह लिनुपर्दछ।
• कुनै पनि शारीरिक गतिविधि नगर्नु भन्दा केही गर्नु राम्रो हो।
शारीरिक क्रियाकलाप हाम्रो जीवन शैलीको अत्यावश्यक र महत्वपूर्ण हिस्सा हो, स्वास्थ्यमा सन्तुलन कायम राख्न हामीले पौष्टिक आधारमा आहारमा ध्यान दिनु समयसमयमा स्वास्थ्य परीक्षण गराउनु र शरीरको सङ्केतहरूलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। हामीले जे भएपनि चलिरहन्छ भन्ने सोच नअपनाई सचेत भएर आफ्नै स्वास्थ्यको जिम्मेवारी लिनु आजको आवश्यकता हो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले आफ्नो तेस्रो संस्करणको प्रविधि उत्सव ‘टेक एक्स: एलिभेट २०२५’ आजदेखि सुरु गर्दैछ । चार दिनसम्म सञ्चालन हुने कार्यक्रम कलेजकै परिसर ब्लक ‘ए’ र ‘ई’ मा हुनेछ । यसअघि मंगलबार टेक एक्स स्टुडेन्ट एडिसन अन्तर्गत प्यानल छलफल, कार्यशाला र विभिन्न प्रतिस्पर्धात्मक गतिविधि सुरु भएका छन् ।
यस प्रविधि उत्सवमा विद्यार्थीहरूले तयार पारेका २० भन्दा बढी रोबोटिक्स तथा एआईमा आधारित परियोजनाहरू प्रदर्शन गरिनेछ । प्रमुख आकर्षणमा सहयोगी रोबोट ‘करुणा’, शैक्षिक प्रयोगका लागि निर्माण गरिएको स्मार्ट इन्स्ट्रक्सनल रोबोट ‘मिरा’, सुरक्षा निगरानीमा आधारित ‘वारडग’ र कृषिमा प्रयोग हुने एआई प्रणाली ‘तोमात्रों’ रहेका छन् ।
यसबाहेक कार्यक्रममा २५ भन्दा बढी आईटी कम्पनीहरूको सहभागितामा दुई दिने रोजगार मेला सञ्चालन गरिनेछ । जागिर खोज्दै गरेका स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि उक्त मेला सुनौलो अवसर हुने कलेजले जनाएको छ ।
कार्यक्रममा २० भन्दा बढी स्टार्टअपहरूको प्रस्तुति, उद्यमशीलता मास्टरक्लास, सफल प्रविधिकर्मी तथा उद्यमीहरूको ‘इन्सपाएर टक्स’, साथै विद्यार्थी समूहबिच ‘आइरन क्ल्यास’ प्रतिस्पर्धा समेत आयोजना गरिनेछ ।
नवप्रवर्तन, उद्यमशीलता र रोजगारीका अवसरलाई प्रवर्द्धन गर्न हरेक वर्ष यस कार्यक्रम आयोजना गर्दै आएको कलेजले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ ९:१७
सामाग्री श्रोत :
टेक पाना
चितवन- भरतपुर अस्पताल परिसरमा रहेको सेफ्टिक ट्यांकीमा खसेकी एक पाँच वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।
असार ३० गते दिउँसो करिब ४ बजे अस्पतालको सी ब्लक नजिकैको सेफ्टिक ट्यांकीमा खेल्ने क्रममा अन्जना मगर खसेकी थिइन्। उनी भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन्।
खसेको केहीबेरमै उद्धार गरी तत्काल उपचार थालिए पनि आईसीयूमा राखेर उपचार गर्दा पनि मंगलबार साँझ ६:४० बजे अन्जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
घटना भएको सेफ्टिक ट्यांकी ठूलो आकारको रहेको र त्यसको ढकनी खुला वा असुरक्षित अवस्थामा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बालिका ढकनीको भागबाट खेल्दै जाँदा खसेकी हुन्।
अस्पताल प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक अनुसन्धान र सुरक्षात्मक उपायहरू अवलम्बन गरिने जनाएको छ
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि संस्थागत विद्यालयको कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिका लागि देशभरबाट १७ हजार २२९ जना विद्यार्थीले आवेदन दिएका छन् ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार प्राप्त आवेदनमध्ये सबैभन्दा बढी ७१ प्रतिशत अर्थात् १२ हजार ३३७ जनाले विज्ञान विषय रोजेका छन् । व्यवस्थापनमा ४ हजार ४८१, मानविकीमा ३४, शिक्षामा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् ।
आवेदन दिने विद्यार्थीमध्ये १० हजार ८७ जना सामुदायिक विद्यालयका र सात हजार १४२ जना संस्थागत विद्यालयका रहेका विभागकी शिक्षा अधिकृत लक्ष्मी पौडेलले जानकारी दिइन् ।
हाल प्राप्त आवेदनहरूको रुजु कार्य भइरहेको र त्यसपछि विद्यार्थीहरूले १ साउनदेखि महानगरको वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np बाट आफ्नो प्रवेश पत्र डाउनलोड गर्न सक्ने बताइएको छ । प्रवेश पत्रमै परीक्षा केन्द्रसमेत उल्लेख गरिनेछ ।
छात्रवृत्तिका लागि छनोट परीक्षा ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । सो परीक्षामा गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० तथा सामान्य ज्ञानबाट १० अङ्कका बहुविकल्पीय प्रश्न गरी कुल १०० अङ्कको प्रश्न सोधिनेछ ।
परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्नेछ भने गलत उत्तरका लागि नेगेटिभ मार्किङ गरिने छैन ।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । उनले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गरी उनीहरूको शैक्षिक भविष्य उज्यालो बनाउने मुख्य उद्देश्य रहेको जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ ८:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बाल श्रमको अन्त्यका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुलाई सकृय बनाउने प्रयास गरिरहेको बताएका छन् । उनले यसका लागि सुरुमा पनि सशर्त अनुदान पठाउने गरिएको र बाल श्रम मुक्त घोषणा भइसके पश्चात पनि अनुदान दिइरहेको बताए ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै मन्त्री भण्डारीले नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनले बालश्रमसम्बन्धी नीतिहरू भूगोल अनुसारको अनुसन्धानमा आधारित भएर बनाइनुपर्नेमा जोड दिंदै बालश्रम र सामान्य बालकार्य छुट्याउन शैक्षिक, सामाजिक र कानुनी दृष्टिकोणबाट स्पष्ट व्याख्या आवश्यक रहेको बताए। त्यसका लागि सञ्चारमाध्यम, विद्यालय, स्थानीय समुदाय र अभिभावकहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उनले उल्लेख गरे।
मन्त्रालयले २०७८ वैशाख ३० गतेको सचिवस्तरीय निर्णयअनुसार देशभरका ७५३ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरूलाई बालश्रम निवारणसम्बन्धी सम्पर्क व्यक्तिको रूपमा तोकेको छ। यसबाट स्थानीय स्तरमा बालश्रम नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८०र८१ मा मन्त्रालयले बालश्रम न्यूनीकरणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरेको छ। सो अवधिमा ३,७४४ वटा प्रतिष्ठानहरूको अनुगमन गरिएको थियो भने बालश्रममा संलग्न ७२ जना बालबालिकालाई उद्धार गरिएको छ। उद्धारपछि पीडित पक्षलाई रु १०,४७,२५६ क्षतिपूर्ति प्रदान गरिएको छ। बालश्रम प्रयोग गर्ने प्रतिष्ठानहरूमाथि रु १,३७,१०० जरिवाना गरिएको छ।
बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६ को अनुसूचीमा समावेश जोखिमयुक्त कामहरूको सूची २०८१ साल बैशाख ३१ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको परिमार्जनसहित अद्यावधिक गरिएको छ। यसले जोखिमपूर्ण क्षेत्रमा संलग्न बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।
नयाँ प्रतिवेदनमा बालबालिकाका अधिकारहरू संविधान तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिएको छ। नामकरण, जन्मदर्ता, शिक्षा, स्वास्थ्य, पालनपोषण, खेलकुद, मनोरञ्जन, प्रारम्भिक बालविकास, बालअनुकूल न्याय, तथा विशेष अवस्थाका बालबालिकाका लागि विशेष संरक्षण सुनिश्चित गरिने व्यवस्था गरिएको छ। खानी, कलकारखाना, सेना, प्रहरीजस्ता जोखिमयुक्त क्षेत्रमा बालबालिकालाई संलग्न गराउन निषेध गरिएको छ भने बालविवाह, अपहरण, ओसारपसार, यौन शोषण र शारीरिक वा मानसिक यातना समेत पूर्णरूपमा गैरकानुनी मानिएको छ।
सरकारले बालश्रम अन्त्यका लागि नीति, कार्यक्रम, कानुनी संरचना र संस्थागत संयन्त्रहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयका अनुसार सबै पक्षको समन्वयबाट मात्रै दीगो रूपमा बालश्रम न्यूनीकरण सम्भव छ।
प्रतिवेदन अनुसार, हालसम्म देशका ७५३ मध्ये केवल १० वटा स्थानीय तह मात्रै बालश्रममुक्त घोषणा भएका छन्। साथै, नेपालमा करिब ११ लाख बालश्रमिक रहेको उल्लेख गरिएको छ, जसमा ८७ प्रतिशत कृषिक्षेत्रमा कार्यरत छन्। प्रतिवेदनमा ग्रामिण क्षेत्रमा बालश्रमको संख्या घटेको देखिएको छ भने शहरी क्षेत्रमा बालश्रम बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी कोशी प्रदेशमा बालश्रमिकको संख्या रहेको प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले यो प्रतिवेदन अबदेखि प्रत्येक तीन वर्षको अन्तरालमा सार्वजनिक गरिने जानकारी पनि दिएको छ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । नेपालको डिजिटल भुक्तानी बजारमा एउटा महत्त्वपूर्ण परिवर्तन हुँदैछ । दुई ठुला डिजिटल वालेट खल्ती र आइएमई पे एकआपसमा गाभिएर शक्तिशाली भुक्तानी सेवा प्रदायक बन्ने तयारीमा छन् ।
यो मर्जर आगामी साउन १ गतेदेखि एकीकृत कारोबारका रूपमा सुरु हुनेछ । त्यसपछि ‘आइएमई पे’ नाम औपचारिक रूपमा हट्नेछ र संयुक्त कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को नाममा सञ्चालन हुनेछ ।
किन हुँदैछ मर्जर, अनि यसको प्रभाव के ?
नियामक नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल नेपालमा २४ ओटा डिजिटल वालेटहरू सञ्चालनमा छन् । तीमध्ये इसेवा, खल्ती र आइएमई पे सबैभन्दा बढी प्रयोग हुने वालेट हुन् । यो मर्जरपछि इसेवा र खल्तीबिच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
ग्राहक संख्या: मर्जरपछि खल्तीको कुल ग्राहक संख्या एक करोड २७ लाख पुग्नेछ, जसमा भेरिफाइड प्रयोगकर्ता मात्रै ५० लाख हुनेछन् ।
चुक्ता पुँजी: एकीकृत कम्पनीको चुक्ता पुँजी रु. ५४.५ करोड पुग्नेछ ।
स्वामित्व: नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’मा आइएमई ग्रुपको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहने चर्चा छ ।
खल्तीका सीईओ विनय खड्का नै एकीकृत कम्पनीको पनि सीईओ रहने बताइएको छ । यो मर्जरले बजारमा प्रतिस्पर्धा बढाउने र अन्य वालेटहरूलाई आफ्ना सेवा सुधार गर्न दबाब दिने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउनेछन् ।
प्रयोगकर्ताले के गर्ने ?
खल्ती प्रयोगकर्ता: हाल खल्ती मात्रै चलाइरहेका प्रयोगकर्ताले केही पनि गर्नुपर्दैन । उनीहरूले नयाँ र परिष्कृत सुविधा स्वतः पाउनेछन् ।
आइएमई पे प्रयोगकर्ता: आइएमई पे मात्रै प्रयोग गर्नेहरूले आफ्नो एपभित्रै खल्तीमा मर्ज हुने विकल्प देख्नेछन् । त्यहाँ ट्याप गरेपछि खल्ती एप डाउनलोड हुनेछ र आइएमई पेको युजरनेम र पासवर्डले नै खल्तीमा लगइन गर्न सकिनेछ ।
दुवै वालेट प्रयोगकर्ता: दुवै वालेट चलाउने ग्राहकले पनि एकअर्कामा मर्ज गर्ने विकल्प पाउनेछन् । आइएमई पेमा भएको रकम, ब्याज र रिवार्ड पोइन्टहरू स्वतः खल्तीमा सर्नेछन् ।
आगामी १ असोजसम्म आइएमई पेको सेवा सञ्चालनमा रहनेछ, तर त्यसपछि भने पूर्ण रूपमा बन्द हुनेछ । त्यसैले, १ असोजअघि नै आइएमई पेका प्रयोगकर्ताले आफ्नो खाता खल्तीमा सार्नुपर्नेछ ।
मर्जरपछि केके सुविधा आउलान् ?
यो मर्जरले दुवै कम्पनीका विशिष्ट सेवाहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछ, जसले प्रयोगकर्तालाई थप फाइदा पुग्नेछ ।
-
आइएमई पेको प्रमुख विशेषता रहेको रेमिटेन्स पठाउने र पाउने सुविधा तथा वालेटमा ब्याज पाइने व्यवस्था अब खल्तीमा पनि उपलब्ध हुनेछ ।
-
खल्तीको बलियो पक्ष मानिएको टिकेटिङ पार्टनरसिप, हवाई टिकट बुकिङ र विभिन्न रियालिटी शोको अनलाइन भोटिङजस्ता सेवाहरू थप प्रभावकारी बन्नेछन् ।
-
मर्जरपछि खल्तीले बचत गर्ने सुविधाका साथै ऋण दिने, बैंक खाता खोल्ने र भिजा कार्ड जारी गर्ने जस्ता वित्तीय सेवाहरू पनि थप गर्ने योजना बनाएको छ ।
*समाचारको शीर्षक परिमार्जन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १०:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । विश्वकै चर्चित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो प्लेटफर्ममा नक्कल गर्ने तथा अनओरिजिनल सामग्री पोस्ट गर्ने अकाउन्टहरू माथि थप कडाइ गर्ने भएको छ । युट्युबले ‘नक्कली’ र ठुलो मात्रामा उत्पादित तथा दोहोरिएका भिडिओबारे नयाँ नीति लिएसँगै मेटाले यस्तो घोषणा गरेको हो ।
मेटाका अनुसार यस वर्ष मात्रै ठुला कन्टेन्ट क्रियटरहरूको नाममा बनाइएका १ करोड नक्कली अकाउन्ट बन्द गरिसकिएको छ । साथै, ‘स्पामी व्यवहार’ वा ‘नक्कली इङ्गेजमेन्टमा संलग्न ५ लाख अकाउन्टहरूमाथि कारबाही गरिएको छ ।
जसमा यस्ता अकाउन्टहरूका कमेन्टलाई निरुत्साहित गर्ने र उनीहरूको सामग्रीको वितरण घटाएर आम्दानी गर्नबाट रोक्ने जस्ता उपायहरू सामेल छन् । मेटाको मुख्य ध्यान अरूको सामग्रीलाई रिःपोस्ट गर्ने, विशेष गरी स्पाम अकाउन्ट वा मौलिक क्रियटरको नक्कल गर्ने अकाउन्टहरूमा केन्द्रित छ ।
कम्पनीले बारम्बार अरूको कन्टेन्ट दुरुपयोग गर्ने अकाउन्टहरूले निश्चित अवधिका लागि फेसबुकको मनिटाइजेसन कार्यक्रममा पहुँच गुमाउने र उनीहरूका पोस्टहरूको वितरण घट्ने बताएको छ ।
मेटाले यी परिवर्तनहरू आउँदो महिनाहरूमा बिस्तारै लागु हुने बताएको छ, ताकि फेसबुक क्रियटरहरूले समायोजन गर्न समय पाऊन् । यदि क्रियटरहरूलाई उनीहरूको कन्टेन्ट वितरण भइरहेको छैन जस्तो लागेमा फेसबुकको प्रोफेसनल ड्याशबोर्डमा नयाँ पोस्ट-लेभल इनसाइट्समा गएर कारण हेर्न सक्नेछन् । क्रियटरहरूले आफ्नो पेज वा प्रोफेसनल प्रोफाइलको मेन मेनुबाट सपोर्ट होम स्क्रिनमा कन्टेन्ट सिफारिस वा मनिटाइजेसन पेनाल्टीको जोखिममा छन् कि छैनन् भनेर पनि हेर्न सक्नेछन् ।
मेटाले सामान्यतया आफ्नो त्रैमासिक ट्रान्सपरेन्सी रिपोर्टहरूमा कन्टेन्ट हटाउनेबारे जानकारी शेयर गर्छ । पछिल्लो त्रैमासिकमा, मेटाले विश्वभर फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताहरू मध्ये ३ प्रतिशत फेक अकाउन्ट रहेको बताएको थियो । जनवरीदेखि मार्च २०२५ सम्ममा १ अर्ब नक्कली अकाउन्टहरूमाथि कारबाही गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १३:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौँ गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने घोषणा गरेको छ । कम्पनीले एक समारोहकाबिच गोर्खाज क्रिकेट टोलीसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा वर्ल्डलिङ्कका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौँ गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका थिए ।
आगामी सिजनका लागि काठमाडौँ गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
काठमाडौँ गोर्खाज र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २१:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । जेडटीई कर्पोरेसनले आफ्ना तीन मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । यो योजनाअनुसार प्रयोगकर्ताहरूले जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक ग्राहकले आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनीको दाबी छ । ग्राहकलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।
“नेपालमा १५,००० देखि २०,००० रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँच योग्य बनाउने कम्पनिको उद्धेश्यलाइ सार्थकता प्रदान गरेको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजना अनुसार १५ हजार ९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक एक हजार ६०० रुपैयाँ किस्तामा तिर्न सक्नेछन् । यस्तै, १६ हजार ९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६ हजार ८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक एक हजार ७०० किस्तामा तिर्न सक्नेछन् ।
बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८ हजार ९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ सात हजार ६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक एक हजार ९०० रुपैयाँ किस्तामा ६ महिनासम्म तिर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २१:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । प्रहरीले अनलाइन जुवा खेलाउने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालडुम भिलेज रिसोर्ट र ग्रिन पिस रेस्टुरेन्टमा अनलाइन जुवा खेलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा ती व्यक्तिहरूलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर जिल्लाअन्तर्गतको भक्तपुर नगरपालिका वडा नं. ८ ईमाटोल बस्ने बर्ष ३२ को दिगज नकर्मी, सोही नगरपालिकाको वडा नं. ४ कमलविनायक बस्ने बर्ष २८ को संजिब कुशी र बर्ष २४ को रोशन प्रजापति, सूर्यविनायक नगरपालिका वडा नं. ७ कटुन्जे बस्ने बर्ष २९ को एलिस कुश्म र काठमाडौँ महानगरपालिका वडा नं. १६ शान्तीनगर बस्ने बर्ष ३१ को रोजन महर्जन रहेका छन् ।
प्रहरीले उनीहरूबाट पाँच थान ल्यापटप र १८ थान मोबाइल बरामद गरेको छ । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २२:४७
सामाग्री श्रोत :
टेक पाना




