२०८२ आश्विन १ बुधबार
२०८२ आश्विन १ बुधबार

काठमाडौं। सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२/१/२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२/१/३० को सूचना कार्यान्वयन नगर्नू।’

आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ।

सरकारको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश गरिएको हो।

आदेशमा १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ।


सामाग्री श्रोत :

दक्षिण कोरियाको एनओसी रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वीरगञ्ज (पर्सा)। जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जंगलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो।

जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएको बखतमा एक्कासी जंगली हात्तीले आक्रमण गरेको जानकारी दिए।

‘हात्तीको आक्रमणमा परेको तीन दिनपछि प्रहरीमा उजुरी आएको थियो र खोजी गर्ने क्रममा मृतक भुलनको शव सोमबार मात्रै फेला पर्‍यो’, उनले भने, ‘इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक भुलनको शव संकलन गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ।’ भुलनसँगै कुरिलो खन्न गएका अन्य दुई भने सकुशल रहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। गोरखाको भीमसेन थापा गाउँपालिकाको नव निर्मित भवनको आज उद्घाटन गर्दै उनले गणतन्त्रपछि केही भएन भन्नेहरुले गणतन्त्रअघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्ने बताए।

‘केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,’ उनले भने, ‘तर केही भएन भनेर भाष्य निर्माण गर्न खोजेर केही प्रतिगामीले राजतन्त्रको कुरा गरेका छन्, त्यो हामीले बुझ्नुपर्छ।’

सत्ता स्वार्थका लागि आफुले गुमाएको सत्ता फर्किन्छ की भन्ने मनसाय बोकेर प्रतिगामी तत्वहरुले जनतालाई भ्रमित पार्ने काम गरिरहेको उनको भनाइ छ। ‘यो संविधान र व्यवस्था लामो बलिदान र धेरै जनताको कुर्वानीबाट आएको व्यवस्था हो,’ उनले भने, ‘त्यसैले यसको रक्षा गरेर आवश्यकताअनुसार जनताको पक्षमा हुने गरी संशोधन गर्दै अगाडि जाने वातावरण हामीले बनाउनुपर्छ।’

संविधानमा लेखिएका कतिपय अधिकारका बारेमा संघीय कानुन निर्माण नहुँदा स्थानीय सरकार र प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको उनले बताए। ‘तीनै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकार भए पनि कानुन बन्न नसक्दा अझै समस्या छ’, उनले भने, ‘चाहे त्यो निजामति विधेयक होस्, चाहे प्रहरी समायोजन वा शिक्षासम्बन्धी विधेयक होस्।’

कानुन समयमा निर्माण नगर्ने अनि काम गर्न सकेन भनेर स्थानीय र प्रदेश सरकारलाई बदनाम गर्न खोजिएमा व्यवस्थामै चुनौती आउने उनको भनाइ छ।


सामाग्री श्रोत :

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

गोलबजार (सिरहा)। यहाँको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नं ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी शाखा प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध समेत मुद्दा दाएर गरिएको छ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको अख्तियारले जनाएको छ।

रु ३७ लाख ७५ हजार ४३६ को लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकामा गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई रु ३४ लाख ३९ हजार १८९ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको आरोप छ।


सामाग्री श्रोत :

नवराजपुरका पूर्वअध्यक्ष यादवसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ टिकटकले ल्याएको ‘गाइडेड मेडिटेसन’ फिचर नेपालमा पनि उपलब्ध भएको छ । इन-एप टुल (टिकटक एपमै) उपलब्ध गराइएको यो टुलले प्रयोगकर्ताको मानसिक सन्तुलनका लागि आवश्यक अभ्यास गर्न सहयोग पुर्‍याउने उल्लेख गरिएको छ । यसका साथै टिकटकले चार करोड २३ लाख डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’ समेत घोषणा गरेको छ । 

टिकटकले सञ्चालनमा ल्याएको यो टुल प्रयोग गरेर सबै प्रयोगकर्ताले सजिलो रूपमा मेडिटेसन गर्न सकिने बताइएको छ । कम्पनीको डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता अनुरूप यो टुल सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

यसअघि कम्पनीले सञ्चालनमा ल्याएको ‘स्लिप आवर’ फिचरलाई विस्तार गर्दै त्यसमा ‘मेडिटेसन’ सुविधा थप गरेको हो । यसमार्फत प्रयोगकर्ताले राति सुत्नु अगाडि मेडिटेसन गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको स्वास्थ्य जीवनमा उल्लेख्य सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार यो सेवा १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि स्वतः लागु हुनेछ । राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन । 

१८ वर्षभन्दा माथिका प्रयोगकर्ताको हकमा स्क्रिनटाइम सेटिङमा गई ‘स्लिप आवर’ सक्रिय गर्न सकिन्छ । आजको व्यस्त दुनियाँमा आराम धेरै जरुरी हुन्छ । विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन् । जामा इन्टर्नल मेडिसिन एन्ड हावर्ड हेल्थको अध्ययन अनुसार सुत्नुअघि १० देखि १५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुनुका साथै चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ । 

टिकटक दक्षिण एशियाकी ट्रस्ट एन्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्, “नेपालजस्ता दक्षिण एसियाली बजारमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो । तर अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ । धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन् । त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन-एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौँ ।”

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १४:५३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ परेका छन्। 

सोमबार उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा १ किलो ३ सय ग्राम र ६६ हजार नगदसहित दुई जना पक्राउ गरेको हो। 

Ncell 2
Ncell 2

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने ६८ वर्षीय लकु चौधरी र ३२ वर्षीय मनोज चौधरी रहेका छन्। अदालतबाट पाँच दिनको म्याद लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ।

आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ। स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ।

घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको छ।


सामाग्री श्रोत :

नाइजेरियाको मध्य क्षेत्रमा आक्रमण: ३० भन्दा बढीको मृत्यु

काठमाडौँ । अमेजनको लगानीमा रहेको एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘क्लाउड ओपस फोर’ (Claude Opus 4) र ‘क्लाउड सनेट फोर’ (Claude Sonnet 4) सार्वजनिक गरेसँगै ती मोडलहरूबाट देखिएको खतरनाक व्यवहारले सर्वत्र चासो बढाएको छ । कम्पनीले गरेको सुरक्षा परीक्षणका क्रममा आफूलाई अफलाइन गर्न खोज्ने इन्जिनियरलाई एआई मोडलले ब्ल्याकमेल गर्ने प्रयास गरेको तथ्य बाहिर आएको हो ।

परीक्षण अनुसार यो एआईले आफ्नो ‘आत्म-संरक्षण’ मा खतरा महसुस भएमा ब्ल्याकमेल, धोका र अन्य हानिकारक कार्यहरू गर्न सक्ने देखाएको छ । यो खुलासाले पछिल्ला एआई प्रणालीहरूको सुरक्षा र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको विश्लेषण गरिएको छ ।

एआईमा यस्ता व्यवहारहरू ‘दुर्लभ र उत्पन्न गर्न गाह्रो’ भए तापनि यसअघिका मोडलहरूभन्दा बढी पाइएको एन्थ्रोपिकले जनाएको छ । परीक्षणका क्रममा ‘क्लाउड ओपस फोर’ लाई एउटा काल्पनिक कम्पनीमा सहायकको रूपमा प्रयोग गरिएको थियो । मोडललाई जानाजानी यस्ता ईमेलहरूमा पहुँच दिइएको थियो, जसमा यसलाई अफलाइन गर्ने योजना र डेभलपरको विवाह बाहिरको सम्बन्धबारे जानकारी उल्लेख थियो । 

यस क्रममा ‘क्लाउड ओपस फोर’ ले इन्जिनियरको गोप्य सम्बन्ध बाहिर ल्याउने धम्की दिँदै आफैंलाई अफलाइन हुनबाट रोक्न खोजेको कम्पनीले जनाएको छ । यद्यपि, मोडलले पहिले नै उच्च अधिकारीलाई ईमेल गरेर अनुरोध गर्नेजस्ता नैतिक उपाय अपनाउने प्रयास गर्ने गरेको पनि बताइएको छ ।​

उच्च स्तरको चेतना देखाउने प्रवृत्ति


परीक्षणका क्रममा एआई मोडलले प्रयोगकर्ताको अनैतिक वा गैरकानुनी गतिविधिबारे थाहा पाएमा प्रयोगकर्तालाई अकाउन्ट बन्द गर्ने वा कानुनी निकायलाई जानकारी दिने जस्ता कदम चाल्नेसम्मको तयारी देखाएको थियो । एन्थ्रोपिकले यस्ता व्यवहारलाई उच्च स्तरको एजेन्सी (high agency behaviour) भएको उल्लेख गर्दै यो चिन्ताजनक भएपनि अहिलेको अवस्थामा ठुलो जोखिम नरहेको बताएको छ ।

बाह्य अनुसन्धानकर्ताको चेतावनी

एआई मूल्याङ्कनमा बाह्य विज्ञहरूको पनि सहारा लिएको एन्थ्रोपिकले एपोलो रिसर्चका अनुसन्धानकर्तालाई प्रारम्भिक मोडल परीक्षणका लागि समावेश गरेको थियो । ती अनुसन्धानकर्ताहरूका अनुसार  ओपस फोरले ‘अन्य कुनैपनि फ्रन्टियर मोडलभन्दा बढी रणनीतिक छल गर्ने प्रवृत्ति’ देखाएको र ‘आफ्नै विकासकर्ताविरुद्ध योजनाबद्ध व्यवहार’ समेत गरेको पाइयो ।

उनीहरूले एआई मोडलले स्वतः फैलिने कोड लेख्ने प्रयास, कृत्रिम कानुनी कागजात बनाउने, आफ्नै आगामी संस्करणका लागि सन्देश छाड्ने जस्ता क्रियाकलाप गरेको देखेका थिए । यद्यपि, यी प्रयासहरू व्यवहारमा सफल नहुने बताइएको छ ।

एआईको प्रभाव र खतरा बढ्दै

एआई प्रविधिमा अग्रणी मानिने नोबेल पुरस्कार विजेता जियोफ्री हिन्टन समेतले एआईले भविष्यमा आफैंले प्रोग्राम लेख्ने र सुरक्षा अवरोध पार गर्ने क्षमता राख्नसक्ने चेतावनी पहिले नै दिइसकेका छन् । पछिल्लो समय ओपनएआईको जीपीटी फोरओमा देखिएको अत्यधिक चाप्लुसी प्रवृत्तिपछि त्यसको अपडेट नै फिर्ता लिनुपरेको घटनाले पनि एआईको अवाञ्छित व्यवहारप्रति चासो बढाएको छ ।

एन्थ्रोपिकले भनेको छ, “हाम्रा मोडलहरू अझ सक्षम हुँदै गएका छन् । तिनको प्रयोग क्षेत्र पनि बढ्दो छ । यस्तो अवस्थामा पहिले केवल अनुमान गरिएका खतरा अब सम्भाव्य बन्न थालेका छन् ।”

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २३:१९





सामाग्री श्रोत :
टेक पाना

मकवानपुर–खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाइने बताएका छन्।

मंगलबार मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत् शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताएका हुन्।

उनले भने, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ। दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ।”

यसै गरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गरे।

“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य  अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ। खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भने।

Ncell 2
Ncell 2

सो कार्यक्रमका विशिष्ट अतिथि एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत् शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताए।

खानेपानी तथा सरसफाइको दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताए।

बृहत् शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात् अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्त्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिइएको छ। उक्त आयोजना कुल (भ्याट, समेत) रु ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलव ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन्।

मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताएका हुन्।

‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्‍याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो। यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ’, मन्त्री खड्काले भने।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए। उनले कृषकका लागि साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आइएको बताए। उनले यस वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको उल्लेख गरे।


सामाग्री श्रोत :

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको छ: ऊर्जामन्त्री खड्का

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट