
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन-मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन’, उनले अघि भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।’
आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ।
सामाग्री श्रोत :
आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन : प्रधानमन्त्री ओली
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार (आज) हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ ।
आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ ।
उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तरराष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे ।
जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्यमान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ ।
छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा–व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्तिसुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशीलस्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले जानकारी गराएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रेदशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुराेध गरेकाे छ।
सामाग्री श्रोत :
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ दुई पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ठ पूरा गर्न गरिने गलत कार्यप्रति आम नागरिक समेत सजक हुन आवश्यक बताएका छन्।
भिजिट भिसा प्रकरणमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सो विषयमा अनुसन्धान प्रारम्भ भइसकेकोले अनुसन्धान कार्यमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ त्यसको लागि तयार रहेको बताए।
‘सम्मानित आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानून बमोजिम कारबाही हुने नै भएकोले आयोगको निर्णय भन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौ र हतार नगरौं भन्ने मेरो आग्रह छ।’ मन्त्री लेखकले भने, ‘स्वतन्त्र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकोले यसमा थप प्रष्टीकरण दिइ रहनु नपर्ला भन्ने विश्वास छ।”
उनले कुनै मातहतको राष्ट्रसेवकलाई कुनै कसूरमा छानबिन गर्न पर्यो वा अनुसन्धान गर्न पर्यो वा मुद्वा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेको वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्धाको जिम्मेवारी तत् मन्त्रीले लिने कि नलिने भन्दै प्रश्न गरे।
‘अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुख मार्फत समय मागेको थिए। म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टीकरण जनताको थलोबाटै दिन चाहन्थे तर त्यो संभव भएन।’
उनले आफूमाथि आक्रमण गरिरहँदा कतै यस्ता अपराधिक कार्यहरू गर्ने समूहहरू हर्षबढाँई गरी खुसी मनाईरहेका त छैनन् भन्ने चिन्ता लागेको उनको भनाई थियो।
‘गृह मन्त्रीमाथिको आक्रमणले सुधार नचाहने तत्त्व सलबलाईरहेको त छैन? तपाईहरूलाई लाग्छ यस्ता गैरकानूनी कार्यमा संलग्न होला? म बाट न विगतमा, न वर्तमान र न भविष्यमा राष्ट्रहित विपरितका कार्यहरू भएनन् र हुन सक्दैनन्,’ उनले भने, ‘यद्यपि, कुनै पनि समस्याको मर्यादित प्रश्न उठाउने, समस्या समाधानमा सुझाव दिने माननीय सदस्यहरू, नागरिक समाज, विपक्षी दलहरू, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक आभार प्रकट गर्दछु। तर, व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत सबैमा हार्दिक अनुरोध छ।’
उनले मुलुकको अर्थतन्त्र र समग्र शासकीय प्रणालीलाई सबल बनाउन कटिबद्ध जनप्रतिनिधि माथि अप्रासांगिक, व्यक्ति केन्द्रीत र राजनीतिक कुण्ठा प्रेरित विषय उठाएर सार्वभौम संसद अवरुद्ध गर्नु आफैंमा बुद्धिमानपूर्ण कार्य नभएको बताए।
‘तसर्थ सबै विपक्षी दलहरूलाई मेरो आग्रह छ, कि नागरिकका समस्याहरू समाधानार्थ संसद सुचारु गरौं, देखिएका समाधानहरू कहाँ कहाँ छन् सम्बोधन गर्न आजैबाट लागौं,’ उनले भने।
त्रिभूवन विमानस्थल अध्यागमन कार्यालयका कार्यालय प्रमुख, सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय आफूले सञ्चार माध्यमबाट थाहा पाएको उनको भनाई थियो।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग जसले मुलुकमा भ्रष्ट्राचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको छ, उसको काम कारबाहीलाई म खुल्ला मनले स्वागत गर्दछु। अझ म, जो लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको छु, विधिको शासनको लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गरेको छु र गर्ने नै छु,’ उनले भने, ‘कुनै पनि राष्ट्र सेवकले गरेको भ्रष्ट्रचारजन्य कामको अनुसन्धान, अभियोजन लगायतका कार्य गर्न सक्षम संवैधानिक निकाय छ।उसले गर्ने काम कारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पर्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म सचेत छु। र, सो आग्रह सबैमा गर्न चाहन्छु कि स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा निष्कर्षमा पुग्न दिऔँ।’
‘अहिलेको प्रसंग एक जना सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको हो। मेरो विषय वा प्रसंग पनि होइन। मेरो कुनै स्वार्थको द्वन्द्व पनि छैन।’ उनले भने, ‘सक्षम संवैधानिक निकायले गर्ने अनुसन्धानलाई निष्कर्षमा पुग्न दिँदा जो दोषी हुन्छ ऊ कानून बमोजिमको कारबाहीमा परि नै हाल्छ।’
उनले सहसचिव तीर्थराज भट्टराईलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटाएकोले त्यसको जिम्मेवारी मैले लिनुपर्नेजस्तो कुरा आएकोप्रति दुखः व्यक्त गरे।
‘त्यहाँ सहसचिव खटिने ठाँउमा कानून बमोजिम कर्मचारी खटाउदा मैले त्यो अपराध गरेको मान्ने? मैले कुनै मेरो आफन्तलाई कानून बेगर नै त्यहाँ खटाएको हो? त्यहाँ हिजो जसरी निजामती कर्मचारी खटिए आज पनि त्यसै गरी खटिएका छन्।’ लेखकले भने, ‘मैले तीर्थराज भट्टराईलाई अन्तबाट ल्याएर त्यहाँ पठाएको पनि हैन। गृह मन्त्रालयको एउटा विभागबाट अर्को विभागमा सरुवा गरेको मात्र हो। कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्न निजामती तर्फको उपसचिवलाई निजी सचिवको रुपमा नियुक्त गर्ने बाहेक मन्त्रालय मातहतको कर्मचारीहरूको सरुवा, पदस्थापन लगायतका प्रशासनिक कार्यहरू मन्त्रालयको प्रशासनिक नेतृत्वबाट हुने गर्दछ।’
उनले मन्त्री पदको लोभ भन्दा पनि कस्तो विधि बसाल्ने भन्ने प्रश्न उब्जिएको बताए। ‘राष्ट्र सेवकलाई मुद्दा दायर गरेकै भरमा मन्त्रीले राजीनामा दिने हो भने अवस्था कस्तो होला?’ उनले प्रश्न गर्दै भने, ‘गृह प्रशासन आफैमा ठूलो र वृहत्तर कार्यक्षेत्र भएको निकाय हो। आम नागरिकको घरदैलोमा सेवा पुर्याउनदेखि विपद् व्यवस्थापनसम्म, ट्राफिक व्यवस्थापनदेखि अध्यागमनसम्म, नागरिकतादेखि मुद्धा व्यवस्थापनसम्म यसको कार्य रहेको छ। यस मातहत ४५ सय निजामती कर्मचारी, ८० हजार बढी नेपाल प्रहरी, ३८ हजार बढी सशस्त्र प्रहरी बलका कर्मचारी कार्यरत छन।’
उनले भने, ‘अध्यागमन कार्यको नियमन, रेखदेख र प्रशासनिक कार्यका लागि अध्यागमन विभाग र अन्तराष्ट्रिय विमानस्थलहरूमा अध्यागमन कार्यालयहरु छन। त्यहाँका दैनिक काम कारबाहीहरु तत् जिम्मेवार अधिकारीबाट कानूनतः निरुपण हुन्छन नै। जसले जिम्मेवारी बहन गर्छ त्यसले आफ्नो कामको जिम्मा लिनु पर्छ भन्नेमा म स्पष्ट छु।’
‘गृह मन्त्रालयको नेतृत्वको हैसियतले वा विभागीय प्रमुखको हैसियतले नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रीत हुनु पर्छ। अझ, राजनीतक विषय वा कुनै आदेश निर्देशनको अवस्थामा मात्र मेरो भूमिका बढि रहन्छ। यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मेरो भूमिका वा संलग्नता कसरी हुन्छ ?’ लेखकले भने।
सामाग्री श्रोत :
‘कर्मचारीलाई मुद्दा लागेकै भरमा मन्त्रीले राजीनामा दिने हो भने अवस्था कस्तो होला?’
जनकपुर। मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
सामाग्री श्रोत :
साना। इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन्।
हुथी विद्रोहीको अल-मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ।
साना विमानस्थलका निर्देशक खालिद अल-शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम उडान विमान भएको बताएका छन्।
हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो।
प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजमा आक्रमण गर्दै आएका छन्। हुथीको आक्रमणको बदलामा इजरायलका साथै संयुक्त राज्य अमेरिका र बेलायतबाट प्रतिशोधात्मक हमला भइरहेको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।
उनले भने, ‘एयर फोर्सका जेटविमानले सानाको विमानस्थलमा हुथी आतंकवादी संगठनको आतंककारी लक्ष्यमा आक्रमण गरेका छन् र बाँकी रहेका अन्तिम विमानलाई ध्वस्त पारेका छन्।
इजरायली सेनाले जारी गरेको वक्तव्यमा हुथी आतंकवादी संगठनले इजरायली राज्यविरुद्ध आतंकवादी हमला गर्ने आतंककारीहरूको स्थानान्तरणका लागि त्यहाँको विमान प्रयोग गरेको उल्लेख गरिएको छ।
यमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विमानमा साउदी अरबको मक्कामा वार्षिक हज यात्राका लागि जाने मुस्लिम हजयात्रीहरू लान उडानको तयारीका लागि विमानस्थलमा रहेको थियो।’
सामाग्री श्रोत :
इजरायली आक्रमणमा यमनका हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त
काठमाडौं। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ। देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए।
‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई प्रदर्शन स्थगित गरेका छौँ। हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौँ’, निर्देशक राउतले भने।
सहकारी संस्थाको रकम अपचलन भएको विषयमा तयार गरिएको चलचित्र ‘महाभोज’मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन्।
सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्तरूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेको हो।
सामाग्री श्रोत :
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । । पक्राउ पर्नेमा कञ्चनपुर पुनरबास नगरपालिका–२ घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीया एलिया तामाङ र दोलखा वैतेश्वर गाउँपालिका–६ का काठमाडौंमै बस्दै आएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।
यूके पठाइदिन्छु भन्दै तामाङले पीडितहरुबाट ६ लाख रुपैयाँ र घिमिरेले क्रोयसिया पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा मंगलबार उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
विदेश पठाइदिनेभन्दै रकम असुलेका उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ ।
सामाग्री श्रोत :
deshparadesh
दमौली (तनहुँ)। जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भेसुरु गरिएको छ। आँबुखैरेनी–२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो।
हाल भौगोलक अवस्थाका बारेमा आवश्यक अध्ययन भइरहेको बताउँदै स्काइवाक निर्माणपश्चात् यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विश्वास व्यक्त गरे।
उनले भने, ‘यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षक केन्द्र बनिरहेको छ। सोही कारण यहाँ पूर्वाधार थप्न लागिएको हो। स्काइवाकले यहाँको पर्यटन प्रवर्द्धन गर्दै साहसिक गतिविधिमा टेवा पुर्याउनुका साथै स्थानीयलाई रोजगारीका अवसर सृजना गर्नेछ।’
स्काइवाक निर्माणपश्चात् यस क्षेत्रको प्रचारप्रसार हुने बताउँदै चुमानले भने, ‘यसले यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्याउनेछ भने स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउनेछ।’ पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ।
बिदा र शनिबारका दिन यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए। ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेसँगै स्थानीयको आयआर्जन सुधार हुँदै गएको उनले बताए।
वडाध्यक्ष गुरुङले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित आवश्यक प्रक्रिया अगाडी बढाएको छ। राजमार्गसँगै जोडिएकाले पनि यो पर्यटकको रोजाइमा पर्ने गरेको छ।’ उनका अनुसार ऐनापहराबाट गाउँपालिकाले हालसम्म रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ।
राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ। यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। तनहुँको अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढीखोलाको पानी बगेर झरनामा मिसिएको छ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डिपीआर)तयार गरिएको अध्यक्ष चुमानले जानकारी दिए। उनले डिपीआर अनुसार रु १० करोड बजेट आवश्यक पर्ने भन्दै यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गरिने उल्लेख गरे।
सामाग्री श्रोत :