
काठमाडौं। आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ। बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो।
आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ।
सामाग्री श्रोत :
काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो। किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
सामाग्री श्रोत :
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य बढाइएको छ।
यस्तै निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ भने डिजेल/मट्टितेल पहिलो वर्गमा १४०.५०, दोस्रोमा १४३ र तेस्रोमा १४३ रुपैयाँ भएको छ।
सामाग्री श्रोत :
धरान (सुनसरी)। अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ।
साँगुरीगढी गाउँपालिका-६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको हो। अस्थायी डाइभर्सन गरेर शनिबार साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए।
सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए। ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो।
सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
सामाग्री श्रोत :
काठमाडौं। बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ। उनीहरुका लागि सामग्री किन्न फरक फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो।
शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ। भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो। एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका संचालक विष्णु पोखरेलले जानकारी दिए।
नयाँ बानेश्वर स्थित मिराकल प्लाजाको भुई तल्लामा खुलेको जिरो टु टेन स्टोरमा बालबालिकाका लागि चाहिने सबै प्रकारका सामग्री एकै ठाउँमा पाइन्छ। यो स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि हो।
पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपांगता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत मिलाएको छ। उद्घाटनको दिन सम्पूर्ण सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो।
सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरुमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिए। निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उनको भनाई छ।
सामाग्री श्रोत :
लेखनाथ (कास्की)। पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन गर्न सुरु भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन गर्न सुरु गरिएको हो।
यसअघि, सीमांकन गर्ने क्रबममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटी रूपमा काम अगाडि बढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सृजना गरेका थिए।
तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो। उक्त समितिले फेवाताल छुट्याउने गरी ‘डिजिटल’ रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोही अनुसार आज सातवटा पोल गाडिएका छन्।
तालको उच्चतम पानीको विन्दुमा सातवटा पोल गाडिएको हो। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आज फेवातालको किनारस्थित बाराहीघाटमा पोल गाडेर सीमांकनको शुभारम्भ गरे।
सर्वोच्च अदालतको परमादेश आएको २३ महिनापछि फेवातालको नयाँ क्षेत्रफल कायम गरेको थियो। सहजीकरण समितिले विसं २०८० माघ ११ गते फेवातालको सीमांकन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको थियो।
सर्वोच्च अदालतले विसं २०८० असार ४ गते फेवाताल किनारबाट ६५ मिटरसम्मका सबै संरचना हटाउन संघीय र प्रदेश सरकार तथा पोखरा महानगरपालिकाका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो। उक्त परमादेशको पूर्णपाठ विसं २०८० असोज ९ गते सार्वजनिक भएको थियो।
पूर्णपाठमा वर्षायामको उच्चतम पानीको विन्दुबाट ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन परमादेश जारी गरेको थियो। उक्त आदेशमा २०३१ सालपछि दर्ता भएका फेवाताल परिसरका स्थानीयको जग्गामा मुआब्जासमेत दिन नपर्ने उल्लेख छ।
सामाग्री श्रोत :
भद्रपुर (झापा)। गए रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ।
एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि दुवै स्थानमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन भएको हो।
यसैगरी, चारआली जंगल क्षेत्रमा वन्यजन्तुका लागि निर्माणाधीन ‘एनिमल अन्डरपास’ अन्तर्गतको डाइभर्सन पनि पुनर्निमाण भएको छ। आगामी १५ दिनभित्रमा निर्माणधीन आयोजनाका सबै डाइभर्सन हटाई कल्भर्टमाथि दुई लेनबाट यातायात सञ्चालन हुनेगरी काम भइरहेको इञ्जिनियर महतले बजानकारी दिए। बाढीले डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
सामाग्री श्रोत :
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले आजदेखि लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरे। उनले हेल्पलाइन सेवा सञ्चालन भएसँगै सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्यामा कमी आउनाका साथै यसको नियन्त्रणमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे।
स्वास्थ्यमन्त्री पौडेलले भने, ‘हेल्पलाइनबाट पाइने परामर्श सेवाबाट सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि प्राप्त गरेका छौँ। उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता कसरी घटाउन सकिन्छ भन्नेतर्फ मन्त्रालय केन्द्रित भएका योजनाबद्ध काममा जोड दिएका छौँ।’ उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न सबै तहमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।
स्वास्थ्य सचिव डा विकास देवकोटाले पछिल्लो समय युवाहरूमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताको विषय भएको बताए। उनले भने, ‘पछिल्लो समय भेपको प्रयोग बढेको देखिन्छ। युवाहरूलाई यसको लत नियन्त्रण गर्न के गर्ने भनेर मन्त्रालयले योजनाबद्ध रूपमा पहल गरिरहेको छ। प्रभावकारी नतिजाका लागि स्वास्थ्य मन्त्रालयसँगै सबै सरोकार भएकाको समन्वय र सहकार्य आवश्यक पर्दछ। जनचेतना फैलाउनाका साथै व्यक्ति, घर, विद्यालय, कार्यस्थललगायत ठाउँमा सुर्तीजन्य पदार्थको सेवन निरुसाहित गर्ने वातावरणलाई बनाउनुपर्छ।’
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पुर्याउने संघसंस्था र पत्रकार गरी सात जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम वर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत गरिएको छ।
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिएको छ। यस वर्षको नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ रहेको छ।
सामाग्री श्रोत :
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा
काठमाडौँ । माइक्रोसफ्ट, कतार इन्भेस्टमेन्ट अथोरिटीजस्ता ठुला लगानीकर्ताको साथ पाएको लन्डनस्थित एआई स्टार्टअप बिल्डर एआई (Builder.ai) अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । कुनै समय एक अर्ब ३० करोड डलर (करिब एक खर्ब ७८ अर्ब रुपैयाँ) भन्दा बढीको मूल्यांकन र ४५ करोड डलरभन्दा बढी लगानी जुटाएको यो कम्पनी अहिले कङ्गाल हुने बाटोमा पुगेको हो ।
सन् २०१६ मा सुरु भएको यो कम्पनीले एआईको सहायतामा प्रोग्रामिङबिना जटिल एप/वेबसाइट बनाउने सेवा दिने दाबी गरेको थियो । वास्तवमा एआईको यस सुनौलो युगमा बिल्डर एआईले ठुलो सपना देखेको/देखाएको थियो । कम्पनीको वेबसाइटमा देखाइएको ‘नताशा’ नामक डिजिटल असिस्टेन्ट, एआई प्लेटफर्म भन्ने दाबी, अनि कम समयमै सफ्टवेयर बनाउन सकिने भनाइले धेरैलाई आकर्षित गर्यो ।
तर सन् २०१९ मै द वाल स्ट्रिट जर्नलले कम्पनीको वास्तविकता सार्वजनिक गर्दै लेखेको थियो- ‘Builder.ai is all humans, no intelligence.’ अर्थात् त्यो एआई कम्पनी नभई सस्तो श्रममा भर पर्ने व्यापार थियो ।
बिल्डर एआईले सन् २०१८ मा सफ्टबैंकको सहायक कम्पनी डिपकोर इन्कबाट प्रारम्भिक लगानी पायो । त्यसपछि जङ्गल भेन्चर्स, लेकस्टार, माइक्रोसफ्ट, कतार इन्भेस्टमेन्ट अथोरिटी (क्यूआईए) जस्ता ठुला लगानीकर्ता पनि जोडिँदै गए ।
सन् २०२२ सम्म आइपुग्दा कम्पनीले एक अर्ब ३० करोड डलरभन्दा बढी मूल्यांकन प्राप्त गर्यो । सन् २०२३ मा कतारको क्यूआईएले २५ करोड डलरको लगानी गर्यो भने माइक्रोसफ्ट रणनीतिक साझेदारको रूपमा प्रवेश गर्यो ।
वास्तवमा, कम्पनीमा प्रयोग भएको ‘एआई’ प्रविधि भनिएको कुरा केवल सामान्य ‘डिजिसन ट्री’ प्रविधिमा आधारित थियो । कुनै पनि स्वचालित कोडिङ प्रक्रिया थिएन । सबै काम भारतीय कर्मचारीले म्यानुअली गर्दै आएको खुल्यो ।
कम्पनीकै पूर्वकर्मचारीहरुले रेडिट लगायत प्लेटफर्ममा कम्पनीको ‘भित्रको रहस्य’ पोखेका छन् । यसमा उनीहरूले कामको गुणस्तर कमजोर, सफ्टवेयर प्रयोग गर्न गाह्रो, कोड परिवर्तन गर्न नसकिने अवस्था, डेभलपरहरुलाई निकै कम पारिश्रमिक लगायतका गुनासा शेयर गरेका छन् ।
यो बिचमा कम्पनीले ‘राजस्व घोटाला’ को आरोपदेखि विभिन्न असहज अवस्था भोग्यो । अन्ततः २०२५ मे महिनासम्म आइपुग्दा कम्पनीले आफूलाई आर्थिक रूपमा संकटग्रस्त (दिवालिया) घोषणा गरेको छ । हालै भायोला क्रेडिट नामक लगानीकर्ताले कम्पनीको खाताबाट तीन करोड ७० लाख डलर फिर्ता लियो । अब कम्पनीसँग बाँकी ५० लाख डलर मात्र थियो, जुन सरकारले रोक लगाएका कारण तलब भुक्तानी गर्नसमेत नसकिएको बताइएको छ ।
कम्पनीले विगतका निर्णय र ऐतिहासिक चुनौतीका कारण समस्याबाट उकासिन नसकेको स्वीकार्दै आफूलाई संकटग्रस्त घोषणा गरेको छ । हाल कम्पनीले एक प्रशासक नियुक्त गरेको छ, जसले यसको व्यवसायको व्यवस्थापन तथा कर्मचारी, ग्राहक र साझेदारहरूसँग समन्वय गर्नेछ । योसँगै बाँकी कर्मचारीहरुलाई निकाला गरी कम्पनीको वेबसाइट पनि बन्द गरिएको छ ।
ब्लुमबर्गका अनुसार कम्पनीले २०२४ मा २२ करोड डलर बिक्रीको लक्ष्य राखेको थियो । तर वास्तविक बिक्री पाँच करोड डलर मात्र रह्यो । अनुमान र वास्तविकताबिचको यो ३०० प्रतिशतभन्दा बढीको फरकले कम्पनीको वित्तीय रणनीतिमा गम्भीर प्रश्न खडा गर्यो ।
अर्कोतर्फ बिल्डर एआईले आफ्नो ‘Builder Studio’ प्लेटफर्म र ‘Natasha’ डिजिटल एसिस्टेन्टलाई एआई-सञ्चालित भनेर निरन्त प्रचार गरिराखेको थियो । तर अधिकांश काम भारतस्थित मानव इन्जिनियरमार्फत गरिएको पाइयो । कम्पनीको एआई दाबीलाई कतिपयले ‘मानवहरू र खराब निर्णयहरूमा आधारित’ भन्दै आलोचना गरेका छन् ।
कम्पनीको सञ्चालनमा नकारात्मक असर पर्नुमा अर्को कुराको पनि विश्लेषण गरिएको छ । सन् २०२५ को फेब्रुअरीमा संस्थापक सचिन देव दुग्गलको स्थानमा मनप्रीत राटियालाई सीईओ बनाइयो । त्यसपछि कम्पनीले कर्मचारी संख्या ७७० बाट घटाएर करिब ५०० बनाएको थियो । नेतृत्व परिवर्तन र कर्मचारी कटौतीले कम्पनीलाई फाइदाभन्दा बेफाइदातिर धकेल्यो ।
कम्पनीले बजार अपेक्षा पूरा गर्न असफलता भोग्दै गयो । सफ्टवेयर विकासलाई ‘पिज्जा अर्डर गर्न जत्तिकै सजिलो’ बनाउने दाबी गरिए पनि कम्पनीको ‘नो-कोड’ दृष्टिकोणले उपभोक्ताको आवश्यकता पूरा गर्न सकेन । यसको प्लेटफर्मले प्रभावकारी प्राविधिक समाधान दिन नसक्दा ग्राहकको विश्वास गुम्यो ।
एकपछि अर्को असफलताले यो कम्पनीको भविष्य अनिश्चित बनेको छ । दिवालियापन अर्थात् कम्पनी वा व्यक्तिले कानुनी रूपमा आफू ऋण तिर्न असमर्थ भएको घोषणा गर्ने प्रक्रियामा बिल्डर एआई पुगेको छ । यो प्रक्रियाले ५०० भन्दा बढी कर्मचारी, ग्राहक र साझेदारहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । कम्पनीले आफ्नो केही व्यावसायिक पक्ष जोगाउने प्रयास गरिरहेको भए पनि यसको दीर्घकालीन भविष्य अहिले अन्योलमा रहेको छ ।
कतिपयले बिल्डर एआईको कथालाई एक उद्यमीको असफलताको रूपमा मात्रै नहेरी ‘एआई वासिङ’ को उदाहरण मानेका छन् । जहाँ कम्पनीले परम्परागत प्रविधिलाई एआईको खोल ओढाएर बजारमा झुटो कथा बेचेको विश्लेषण गरिएको छ ।
-विभिन्न मिडियाको सहयोगमा
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ ०:४
सामाग्री श्रोत :
टेक पाना
ताप्लेजुङ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्। संविधानलाई संकटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताए।
‘समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,’ उनले भने, ‘जनजाति, दलित, महिलाले पाएको संवैधानिक अधिकार सहन नसकेर ती शक्ति संविधान संशोधनको नाममा वर्तमान व्यवस्थालाई नै संकटमा पार्न लागिपरेका छन्।’
राजावादीहरूको गतिविधितर्फ संकेत गर्दै नेता महरले संविधानको रक्षाका लागि अब सोच्ने र स्पष्ट आवाज उठाउने बेला आएको उल्लेख गरे। ‘नेपाली कांग्रेस संविधानको रक्षा गर्न चाहन्छ, दलित, महिला र जनजातिलगायतका समुदायको अधिकार खोसिएको हेर्न चाहँदैन’, उनले भने।
नेतृत्वमा रहेका कोहीकसैबाट साननतिना गल्ती हुन सक्ने स्वीकार गर्दै नेता महरले त्यो आधारमा सम्पूर्ण पार्टीलाई दोष दिनु उचित नहुने बताए। स्थानिक उत्पादनलाई प्रवर्द्धन गर्दै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले समावेशी विकास र आर्थिक समानता कांग्रेसको मुख्य प्राथमिकता भएको बताए। लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा अझ सुदृढ गर्न कार्यकर्ताबीच ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
सामाग्री श्रोत :
संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ: नेता महर