२०८२ भाद्र २९ आईतवार
२०८२ भाद्र २९ आईतवार

काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा हड्ताल नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले राइड शेयरिङ विरुद्ध आन्दोलित यातायात व्यवसायीहरूको नाममा कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता विमल पोखरेलले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय समेत गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सेवालाई वैधानिकता दिने गरी ल्याएको नियमावली विरुद्ध देशव्यापी रूपमा सार्वजनिक यातायात अवरुद्ध पारेका थिए । सङ्घीय सरकारसँग भएको वार्ता अनुरूप मङ्गलबार गण्डकी सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । 

 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १९:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो ।

सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री बनाएको भन्दै उनलाई बर्खास्त गरी जिल्ला अदालत काभ्रेमा मुद्दा चलाउनुपर्ने माग गरेका थिए ।

Ncell 2
Ncell 2

मुद्दा चल्दाचल्दै सभामुखसमेत भएका सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । अर्जुनकी पत्नी पूर्णिमाया लामाले पनि सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा दिएको किटानी जाहेरीमाथि अनुसन्धान सुरु गराइ पाउँ भनी सर्वोच्चमा १३ वर्षअघि अर्को रिट दायर गरेकी थिइन् । त्यस्तै सापकोटाविरुद्ध मुद्दा चलाउन माग गर्दै २०७२ मा सुशील प्याकुरेललगायत मानवअधिकारवादीहरुले सर्वोच्चमा अर्को निवेदन दायर गरेका थिए । सर्वोच्चले यी तीन रिटमाथि सुनुवाइ गर्दै सापकोटाविरुद्ध अनुसन्धान गर्ने आदेश गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान तथा न्यायाधीशहरु कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले सापकोटाविरुद्ध परेको किटानी जाहेरीमा फौजदारी अनुसन्धान गर्न आदेश जारी गरेको हो ।

सर्वोच्चले पूर्णमाया लामाद्वारा दायर रिट जारी गरेको छ । पत्रकार दीक्षितलगायतको रिटमा मागदाबी नपुग्ने र प्याकुरेलको रिट खारेज हुने सर्वोच्चको निर्णय छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड,मेन्सुरल कप तथा मेन्सुरल टेम्पोन जस्ता स्यानिटरी प्रोडक्टमा १३ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ।

‘महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नेपाल सरकार उदासीन हुँदा कैयौं महिलाहरू स्यानिटरी प्रोडक्ट उपयोग गर्नबाट वञ्चित हुनुपरेको छ र यसबाट महिलाहरुको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने गरेको छ,’ महासचिव डा सञ्जीव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।

हरेक महिना महिनावारी व्यवस्थापनमा प्रयोग हुने वस्तु सहज रूपमा उपलब्ध गराउनु नेपाल सरकारको दायित्व हो। यस विपरित महिलाका लागि अत्यावश्यक रहेको स्यानिटरी प्रोडक्टहरुमा कर लगाउनु आपत्तिजनक रहेको संघको ठहर छ।

महिनावारी व्यवस्थापनमा प्रयोग हुने स्यानिटरी प्रोडक्टहरुमा कर छुट गर्न तथा यस्ता वस्तुहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्नका लागि आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गरेको छ।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरुको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु छ।

बुधबार चिन्नास्वामी स्टेडियम बाहिर हजारौँ समर्थक उपस्थित भएको स्थानमा भागदौड भएको थियो। उक्त घटनामा केहि महिलासहित कम्तिमा सात जनाको मृत्यु तथा कैयौँ घाइते घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

आरसीबीले अहमदाबादमा भएको आईपीएलको फाइनल खेलमा पंजाबलाई हराएर १८ वर्षपछि पहिलो पटक उपाधि जितेको थियो। उक्त जितको खुशीयाली घरेलु मैदान चिन्नास्वामी स्टेडियममा मनाउन कार्यक्रम तय भएको थियो। उक्त कार्यक्रममा ५० हजार भन्दा धेरै समर्थकहरु उपस्थित भएको बेला भागदौड मचिएको हो।

विजयी जुलूसको आयोजना गरेको आरसीबीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ।


सामाग्री श्रोत :

आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडौँ । तपाईँसँग एन्ड्रोइड फोन छ भने अवश्य पनि गुगल अर्थात् जीमेल अकाउन्ट प्रयोग गर्नुहुन्छ । गुगल अकाउन्ट प्ले स्टोरका एपहरूका साथै ड्राइभ, म्याप र फोटो जस्ता गुगलका अन्य सेवाहरूमा पहुँच पाउने प्रवेशद्वार नै हो ।

यी सेवाहरूमा संवेदनशील डेटा रहने भएकाले आफ्नो अकाउन्टलाई ह्याकरहरूबाट सुरक्षित राख्न एकदमै जरुरी छ । इन्टरनेट रमाइलो, उपयोगी र सहज मात्र होइन, खतरनाक ठाउँ पनि हो । तपाईँका अनलाइन अकाउन्टहरू ह्याक भएमा अकल्पनीय खतराको सामना गर्नुपर्ने हुन सक्छ । यस्तोमा तपाईँले आफ्नो अकाउन्ट सुरक्षित राख्न केही सरल र प्रभावकारी उपायहरू अपनाउन सक्नुहुन्छ ।

आज हामी तपाईँलाई केही यस्ता महत्वपूर्ण सुरक्षा सुझावहरू दिँदै छौँ, जसको सहयोगमा तपाईँ आफ्नो गुगल अकाउन्ट सुरक्षित राख्न सक्नु हुनेछ ।

१. बलियो पासवर्ड प्रयोग गर्नुहोस् अनि पासवर्ड म्यानेजरको मद्दत लिनुहोस्

बलियो पासवर्ड प्रयोग गर्नु भनेको अरू कसैलाई तपाईँको अकाउन्ट ह्याक गर्न गाह्रो बनाउने पहिलो कदम हो । यदि ह्याकरले तपाईँको अकाउन्टमा पहुँच प्राप्त गर्न ब्रुट फोर्स अट्याक (brute force attack) प्रयोग गरेमा लामो र जटिल पासवर्ड तोड्न अनेकौँ प्रयास गर्नुपर्ने हुन सक्छ ।

अङ्ग्रेजी साना तथा ठुला अक्षर, अङ्क र चिन्हहरूको मिसाएर पासवर्ड प्रयोग गर्नुहोस् । आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर वा घरपालुवा जनावरको नाम जस्ता सजिलै अनुमान लगाउन सकिने विवरणहरू यसमा प्रयोग नगर्नुहोस् ।

हरेक अकाउन्टका लागि छुट्‍टाछुट्‍टै युनिक पासवर्ड प्रयोग गर्नुहोस् । यसरी, एउटा अकाउन्ट ह्याक भएमा तपाईँका सबै अकाउन्टहरू जोखिममा पर्नबाट बच्ने छन् ।

यदि तपाईँलाई प्रत्येक अकाउन्टका लागि लामो तथा युनिक पासवर्ड सेट गर्न र सम्झन गाह्रो लाग्छ भने पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् । त्यसका लागि बिटवार्डेन, वनपासवर्ड, नोर्डपास, लास्टपास जस्ता विभिन्न पासवर्ड म्यानेजर एप उपलब्ध छन् । 

२. टु-फ्याक्टर अथेन्टिकेसन (2FA) इनेबल गर्नुहोस्

लामो पासवर्ड राख्नु मात्रैले सम्भावित ह्याकरलाई रोक्न पर्याप्त हुँदैन । कसैलाई तपाईँको अकाउन्टमा जबरजस्ती प्रवेश गर्नबाट रोक्न सुरक्षाको अतिरिक्त तह थप्नुपर्ने हुन्छ । गुगल अकाउन्टको सुरक्षाको  सन्दर्भमा टुफ्याक्टर अथेन्टिकेसनका विभिन्न विकल्पहरू छन् । जसमा लगइन गर्नु अघि तपाईँको फोन नम्बरमा पठाइने वन-टाइम पासवर्ड (ओटीपी), तपाईँले रोजेको अथेन्टिकेटर (प्रमाणीकरण) एपबाट लिन मिल्ने टाइम-सेन्सेटिभ कोड वा डिभाइसमा राखिने हार्डवेयर की रहेका छन् । यदि तपाईँसँग एन्ड्रोइड फोन छ भने गुगलले तपाईँलाई फोनमा साइन-इनको प्रयासलाई स्वीकार गर्ने  वा अस्वीकार गर्ने भन्ने सुविधा पनि दिन्छ । त्यसलाई तपाईँ गुगलको सेक्युरिटी पेजमा गएर वा यहाँ क्लिक गरेर एक्टिभेट गर्न सक्नु हुन्छ । 

३. अपरिचित कनेक्टेड डिभाइस भए हटाउनुहोस्

तपाईँले आफ्नो गुगल अकाउन्टमा साइन इन गरेका उपकरणहरूको लग राखिएको हुन्छ । तपाईँले यो लग प्रयोग गरेर अब प्रयोग नगर्ने उपकरणहरू पहिचान गर्न र तिनीहरूबाट साइन आउट गर्न सक्नुहुन्छ । यो सुविधा विशेष गरी तपाईँ डिभाइसहरू (मोबाइल, ट्याब्लेट, ल्यापटप वा कम्प्युटर) परिवर्तन गर्दा वा पुस्तकालय तथा होटेल जस्ता सार्वजनिक स्थानहरूमा रहेका कम्प्युटर प्रयोग गर्दा उपयोग गर्न सक्नु हुन्छ ।

यसका लागि आफ्नो गुगल अकाउन्टको Security section मा रहेको Your Devices  सेक्सनमा जानुहोस् (त्यसका लागि यहाँ क्लिक गर्न पनि सक्नु हुन्छ)। त्यहाँ रहेका डिभाइसहरूको सूची समीक्षा गर्नुहोस् र प्रयोग नगरेका वा तपाईँले नचिनेका डिभाइसहरूलाई छानेर साइन आउट गर्नुहोस् । यो प्रक्रिया केही हप्ता वा महिनामा दोहोर्‍याउने बानी बसाल्नु होस् । 

४. प्रयोग नगरिएका थर्ड-पार्टी एपहरूको पर्मिसन रद्द गर्नुहोस्

तपाईँले कुनै समय आफ्नो गुगल अकाउन्टमा लिङ्क गरेकामध्ये केही एपहरू अहिले आएर बन्द भएका हुन सक्छन् वा मालवेयरमा परिणत भएका हुन सक्छन् । एपको सुरक्षा कम्प्रोमाइज भएको पनि हुन सक्छ । जसले गर्दा तपाईँको अकाउन्टका क्रेडेन्सियल ह्याक हुन सक्छ ।

आफूले सक्रिय रूपमा प्रयोग नगर्ने एपहरूमा रहेको यस्तो पहुँच रद्द गर्नुहोस् । यसका लागि आफ्नो गुगल अकाउन्टको सेक्युरिटी खण्डमा गएर Your connections to third-party apps and services चयन गर्नुहोस् । अब त्यहाँ उपलब्ध सूचीको समीक्षा गर्नुहोस् । प्रयोग नगरिएका एपमा गएर Delete all connections मा क्लिक गर्नुहोस् ।

५. पब्लिक तथा फ्रि वाई-फाई चलाउँदा भीपीएन प्रयोग गर्नुहोस्

सार्वजनिक वाई-फाई नेटवर्कहरू प्रयोग गर्नु खतरनाक साबित हुन सक्छ । किनकि नेटवर्कमा रहेका अन्य प्रयोगकर्ताहरूले तपाईँको कम्प्युटर वा मोबाइल ह्याक गर्न र तपाईँको गुगल अकाउन्टमा पहुँच प्राप्त गर्न सक्छन् ।

यस्ता सम्भावित खतराबाट बच्न फ्रि वाई-फाई वा पब्लिक नेटवर्क प्रयोग गर्दा भीपीएन प्रयोग गर्नुहोस् । भीपीएनले तपाईँको डेटालाई इन्क्रिप्ट गर्छ र इन्टरनेट ट्राफिकका लागि सुरक्षित टनेल तयार पार्छ । यसले ह्याकरहरूलाई तपाईँको डेटा पढ्न असम्भव बनाउँछ । यसले जासुसी रोक्न र तपाईँको आईपी एड्रेस  लुकाएर ह्याकरहरूलाई तपाईँको स्थान ट्र्याक गर्नबाट पनि रोक्छ ।

६. अपरिचित व्यक्तिबाट आएका लिंकमा क्लिक नगर्नुहोस्

आफ्नो अकाउन्ट सुरक्षित राख्नुका साथै इन्टरनेटमा तपाईँले गर्ने कामहरूप्रति पनि सचेत रहनुहोस् । अज्ञात वेबसाइट भिजिट गर्दा वा अपरिचित व्यक्तिबाट आएका लिंकमा क्लिक गर्दा तपाईँको गुगल अकाउन्ट जोखिममा पर्न सक्छ ।

यदि तपाईँले आफ्नो गुगल अकाउन्टमा लगइन गर्नको लागि लिंक प्राप्त गर्नुभयो र त्यो गुगल वा अन्य कुनै व्यवसायबाट आएको दाबी गरिएको छ भने ईमेल पठाउने डोमेन राम्रोसँग हेरेर भेरिफाई गर्नुहोस् । यदि त्यो अपरिचित डोमेन हो भन्ने लागेमा लिङ्कमा क्लिक नगर्नुहोस् । साथै, यस्तो ईमेल पठाउने व्यक्तिको बारेमा रिपोर्ट गर्नुहोस् ताकि गुगलले उक्त ईमेल आईडीलाई फिशिङका लागि फ्ल्याग गर्न सकोस् ।

ब्राउजरको एड्रेस बारमा आधिकारिक वेबसाइटको एड्रेस टाइप गरेर मात्र गुगल अकाउन्टमा साइन इन गर्नुहोस् । स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने उपलब्ध भएसम्म ब्राउजरबाट सम्बन्धित वेबसाइटमा जानुको साटो सम्बन्धित एप प्रयोग गर्नुहोस् ।

धेरैजसो प्रयोगकर्ताहरू आफ्नो डेटा भण्डारण गर्नका लागि गुगलका सेवाहरूमा निर्भर भइरहेका हुन्छन्। तस्विर, भिडिओ, ईमेल वा कामसँग सम्बन्धित फाइल जे भए पनि तिनीहरूलाई ह्याकर तथा आक्रमणकारीहरूबाट सुरक्षित राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । माथिका उपायहरू अपनाउँदा तपाईँलाई आफ्नो गुगल अकाउन्ट सम्भावित आक्रमणहरूबाट सुरक्षित राख्न मद्दत गर्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १८:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  

बुधबार न्यायाधीश नित्यानन्द पाण्डेकाे एकल इजलासले अल्पकालीन आदेश जारी गरेकाे हाे। साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बाेलाएकाे छ। 

जेठ १९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारले ल्याएकाे राइड सेयरिङ नियमवली विरूद्ध देशव्यापी आन्दाेलन सुरू गरेकाे  थियाे।

Ncell 2
Ncell 2

उक्त आन्दाेलन विरुद्ध अधिवक्ता  विवेक पाेखरेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।  

सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ। 

जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ।

संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारमा बाधा पुगेको उल्लेख गर्दै यातायातमा भएको हडतालले आम जनताको मौलिक हकमै हस्तक्षेप भएको रिट निवेदनमा भनिएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – नेपाल आयुर्वेद चिकित्सा परिषदमा आयुर्वेद चिकित्सकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। सरकारले परिषदमा नयाँ कार्यसमिति गठन नगरेको भन्दै आयुर्वेद चिकित्सकहरुले तालाबन्दी गरेका हुन्।

नयाँ कार्यसमिति गठन नहुँदा देशभरका आयुर्वेद चिकित्सकहरू आक्रोशित बनेका छन्। परिषद्को कार्यसमितिको कार्यकाल गत २०८१ चैत १२ मा सकिएयता दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ समिति गठन नहुँदा परिषद्को कामकाज ठप्प भएको छ। यसको प्रत्यक्ष असर नयाँ चिकित्सकहरूको दर्ता प्रक्रियामा परेको छ।

आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ अनुसार नेपाल सरकारले परिषद्को कार्यसमिति गठन गर्नुपर्ने प्रावधान छ। तर, हालसम्म समिति गठनमा ढिलाइ हुँदा ६८ जना बीएएमएस लाइसेन्सिंग परीक्षा उत्तीर्ण चिकित्सक र ११ जना स्नातकोत्तर (एमडी) पूरा गरेका चिकित्सकले परिषद्मा दर्ता गराउन पाएका छैनन्। यसले उनीहरूको रोजगारी र कानूनी प्रक्रियामा गम्भीर अवरोध उत्पन्न गरेको छ।

परिषद्को कामकाज ठप्प भएपछि आयुर्वेद चिकित्सकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, स्वतन्त्र विद्यार्थी युनियन, आयुर्वेद क्याम्पसले पनि आन्दोलनकारी चिकित्सकहरूसँग ऐक्यबद्धता जनाउँदै सरकारसँग तत्काल नयाँ कार्यसमिति गठन गर्न माग गरेको छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ। आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ।

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए। उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन्।

संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रती उत्तरदायी नरहेको आरोप लगाएका छन्। उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोली दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए। आजको बैठकमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो।

त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो। साथै दलका नेता/प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो।


सामाग्री श्रोत :

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

काठमाडौँ । ३ जुन २०२५ मा शशांक घिमिरे नामक एक्स (पहिलेको ट्वीटर) प्रयोगकर्ताले सामाजिक सञ्जालमा एक भिडिओ शेयर गरे । सो भिडिओमा उनले प्रहरीले ‘राष्ट्रवादी जनता’लाई प्रहार गर्न ढुङ्गामुढा सङ्कलन गरिरहेको दाबी गरेका थिए । त्यसैलाई पछ्याउँदै फेसबुकमा पनि केही प्रयोगकर्ताले सोही दाबीसहित पोस्ट राखे । तर टेकपानाले गरेको तथ्य-जाँचमा उक्त दाबी भ्रामक पाइएको छ । प्रहरीले ढुङ्गा र इँटा सङ्कलन गर्दै गाडीमा राखिरहेको भिडिओ मङ्गलबारको वास्तविक भिडिओ हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो प्रदर्शनकारीलाई आक्रमण गर्न नभई प्रहरीले प्रदर्शनस्थल सुरक्षित बनाउन ढुङ्गा सङ्कलन गरेको हो ।

दाबी

एक्समा शशांक घिमिरे (@omnamosivaye) नामका प्रयोगकर्ताले ३ जुन अपरान्ह ५ः३३ बजे एउटा भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सनमा उनले लेखेका थिए, “प्रहरी मेरो साथि त राष्ट्रियता बोक्ने हैन झोलेको कुरा सुन्ने अनि देश को राष्ट्रबादी जनता लाइ ढुंगा हान्ने दाउ मा ढुंगा टिप्न बेस्त छन् हेर्नुस देश बिकाश येसरी हुदै छ ll”

भिडिओको स्रोतका रूपमा उनले सामाजिक सञ्जाल राखेका छन् । भिडिओमा माथि ‘मिथिला टिभी’को वाटरमार्क देखिन्छ । त्यहाँ ड्युटीमा खटिएका प्रहरी ढुङ्गा, इँटा सङ्कलन गरेर प्रहरीको भ्यानमा राखिरहेका देखिन्छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ९६ लाइक, २९ रिपोस्ट र ११ कमेन्ट आएको देखिन्छ भने १५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

अनुसन्धान

सामाजिक सञ्जालमा यस्तो दाबी सहितको पोस्ट देखिएपछि टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच सुरु गर्‍यो । त्यसमा यही पोस्ट अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले राखे नराखेको फेला पार्न फेसबुकमा ‘सिफल प्रहरी’ कीवर्ड राखेर हेर्‍यौं । त्यस क्रममा ‘पर्शु सुवेदी’ नामका फेसबुक प्रयोगकर्ताले ‘राजावादी आन्दोलनमा ने .क .पा. प्रहरी लाइ हतियारले भएन अरे … ढुङे हतियार बटुल्दै छन सिफल चौरमा …’ क्याप्सन सहित सोही भिडिओ राखेको फेला पर्‍यो । उक्त पोस्टमा १२० रियाक्सन, १८ कमेन्ट र ८१०० बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

यही आशयसहित ‘तिलक बास्तोला’ नामका फेसबुक प्रयोगकर्ताले ‘राजावादी  आन्दोलनमा ने .क .पा. प्रहरी लाइ हतियारले भएन अरे … ढुङे हतियार बटुल्दै छन सिफल चौरमा धन्यवाद K P Sharma Oli का झोले सेनालाइ’ क्याप्सन राख्दै भिडिओ शेयर गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट । 

यी भिडिओ अन्य फेसबुक प्रयोगकर्ताले पनि प्रहरीले आन्दोलनकारीलाई प्रहार गर्न ढुङ्गा सङ्कलन गरेको दाबी गरेका छन् । भिडिओमा दखिएको ‘मिथिला टिभी’को युट्युब च्यानलमा हेर्दा राजावादीले ढुङ्गा नहानोस भनेर ढुङ्गा टिप्दै प्रहरी ,ढुङ्गा मुक्त भयो सिफल चौरशीर्षक सहित भिडिओ राखेको फेला पर्‍यो । 

त्यही भिडिओबाट क्रिफ्रेम निकालरे गुगलमा रिभर्स इमेज सर्च गर्दा ‘ग्लोबल नागरिक’ नामक मिडियालेराजावादी प्रदर्शनअघि सिफल चौरमा सुरक्षा तयारी, प्रहरीद्वारा इँटा र ढुंगा हटाइयो’ शीर्षकको समचार फेला पर्‍यो । उक्त समाचारमा उच्च सङ्ख्यामा राजावादी समर्थक आउने आँकलनपछि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले इँटा र ढुङ्गा हटाइएको उल्लेख छ । यही सञ्चारमाध्यमले प्रहरीले इँटा र ढुङ्गा सङ्कलन गरिरहेको ठाउँको फरक एङ्गलको भिडिओ सार्वजनिक गरेको छ । प्रहरीले ढुङ्गा र इँटा सङ्कलन गरिरहेको भिडिओको पृष्ठभूमिमा प्रदर्शनकारी नेपालको राष्ट्रिय झण्डा बोकेर बसिरहेको देखिन्छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आन्दोलनका लागि सिफलसहित अन्य ठाउँ तोकिएपछि त्यसलाई सुरक्षित बनाउन ढुङ्गा इँटा हटाइएको हो । 

“सिफल चौरमा मङ्गलबार आन्दोलन सुरु हुनुअघि प्रहरीले त्यहाँबाट ढुङ्गा इँटा हटाएको भिडिओबारे सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको रहेछ,” प्रहरी उपरीक्षक बोहराले भने, “त्यो ठाउँमा पहिलेदेखि नै निर्माण सामग्री, ढुङ्गा, इटा थिए । पानी परेकाले त्यो ठाउँ थप असरल्ल भएको थियो ।”

आन्दोलनका लागि तोकिएको स्थान प्रदर्शनकारी (जसमा बुढापाका व्यक्तिहरू पनि सहभागी हुने भएकाले) का लागि सुरक्षित र उपयुक्त बनाउनु प्रहरीको दायित्व भएकाले हटाइएको उनको भनाइ छ । “त्यहाँ भएका ढुंगालाई कसैले प्रदर्शनकारीहरू विरुद्ध नै प्रयोग गर्न सक्ने वा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनालाई रोक्न र समग्रमा उक्त ठाउँलाई प्रदर्शनका लागि उचित छ कि छैन भनेर आकलन गरी सुरक्षित बनाउन ती सामग्री हटाइएको हो,” उनले थपे । 

कुनै पनि मुलधारका सञ्चार माध्यमले प्रहरीले ढुङ्गा र इँटा सङ्कलन गरिरहेको विषयमा समाचार लेखेका छैनन् । फिल्ड रिपोर्ट गरेर भिडिओ राखेका सञ्चार माध्यमले भने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले ढुङ्गा र इँटा सङ्कलन गरेको उल्लेख गरेका छन् । यी विभिन्न तथ्यबाट प्रहरीले ‘राजावादी’ (आन्दोलनमा सहभागी व्यक्ति)लाई प्रहार गर्ने उद्देश्यले ढुङ्गा र इँटा सङ्कलन गरेको भन्ने दाबी भ्रामक पुष्टि हुन्छ ।

दाबी

राजावादी (आन्दोलनमा सहभागी)बाट डराएर उनीहरूलाई आक्रमण गर्न प्रहरीले हतियारका रूपमा ढुङ्गा र इँटा सङ्कलन गर्‍यो । 

दाबीकर्ता

शशांक घिमिरे नामका एक्स प्रयोगकर्ता, पर्शु सुवेदी, तिलक बास्तोला लगायतका फेसबुक प्रयोगकर्ता ।

तथ्य

सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो प्रहरीले आन्दोलनमा सहभागी सर्वसाधारण वा कुनै व्यवस्थाप्रतिका पक्षधरलाई आक्रमण गर्न ढुङ्गा सङ्कलन गरेको होइन । प्रदर्शनका क्रममा मुठभेट वा अप्रिय घटना नहोस् भन्ने मनसायले प्रहरीले चौरमा छरिएर रहेका ढुङ्गा र इँटा सङ्कलन गरी व्यवस्थापन गरेको हो । 

निष्कर्ष 

शशांक घिमिरे नामका एक्स प्रयोगकर्ता, पर्शु सुवेदी, तिलक बास्तोला लगायतका फेसबुक प्रयोगकर्ता मङ्गलबार काठमाडौंको सिफल चौरमा राजावादी प्रदर्शन हुनु अगावै प्रहरीले प्रदर्शनमा सहभागी हुनेलाई आक्रमण गर्न ढुङ्गा मुढा प्रहार गरेको दाबी गर्दै पोस्ट राखेका छन् । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँच, प्रदर्शनको प्रत्यक्ष प्रसारण र फिल्ड रिपोर्ट गरिरहेका सञ्चार माध्यमको समाचार, आधिकारिक प्रहरीको भनाइ र भाइरल भइरहेको भिडिओको आधिकारिक स्रोतबाट प्रहरीले प्रदर्शनस्थललाई थप सुरक्षित बनाउन ढुङ्गा र इँटा हटाएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १७:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ । 

बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो । 

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । 

Ncell 2
Ncell 2

तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नाराबाजी गरेका थिए । 

बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नाराबाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए । 

त्यसपछि संयोजक सुवेदीले पहिलो चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिट्टै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिबद्धता जनाए । 

सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए । 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट