२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित अनर ४०० सिरिजका स्मार्टफोनरू सार्वजनिक गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यो सिरिजका तीन फाइभजी मोडेल भित्र्याएको हो ।

यसअन्तर्गत अनर ४००, अनर ४०० प्रो र अनर ४०० लाइट मोडेल रहेका छन् । यो सिरिज प्रिमियम डिजाइन, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनसहित उपलब्ध भएको कम्पनीले जनाएको छ ।

अनर ४०० र अनर ४०० प्रो फाइभजी मा २०० मेगापिक्सेलको एआई पोर्ट्रेट क्यामेरा, स्न्यापड्रागन ८ जेन थ्री प्रोसेसर, ६००० एमएएच ब्याट्री लगायतका फिचर छन् । साथै, १०० वाट चार्जिङ सपोर्टसमेत दिइएको छ । यी मोडेलमा एआई क्रिएटिभ एडिट, एचडी क्यामेरा र शक्तिशाली प्रदर्शन क्षमतासहितको सेटअप दिइएको कम्पनीले जनाएको छ ।

अनर ४०० लाइट फाइभजीमा भने १०८ मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, १६ एमपी सेल्फी क्यामेरा, ३ गुणा लसलेस जुम, आईपी ६५ स्प्ल्यास रेसिस्टेन्स, स्टेरियो स्पिकर लगायतका फिचर उपलब्ध छन् ।

स्मार्टफोनको अग्रिम बुकिङ सुरुवात भइसकेको छ । यसअन्तर्गत १६ जुनसम्म बुकिङ गर्ने ग्राहकले अनरका इयरबड्स, स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा लगायत पाउने बताइएको छ ।

मूल्य विवरण:

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १५:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको दाबी गरेका छन्। 

पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै बदलाको भावनाले पोलिरहेकाहरूले मुद्दा हालेको टिप्पणी गरेका हुन्। 

  

नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’

Ncell 2
Ncell 2

नेता नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरे ।

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गलकोट । झोलामा किताब, कापी, हातमा पानीको बोत्तल। झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्‍याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन्।

विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो। सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ।

बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दै छन्। उनीहरू  आफ्नो नाम लेख्न सक्षम भएका छन्।

खहरेको वसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ। सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना भएका छन्।

कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन्। १० जना आमा थपिएपछि २६ जना पुगेका छन्। विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिए।

विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो। घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उहाँहरु साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउँछन्।

छपन्न वर्षमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्की गाउँमा प्रौढकक्षामा आफूले पढ्न नपाएको भए पनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताउँछन्।

अहिले फोटो हेरेर फोन गर्छु उनले भने, ‘अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ।’ किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उनी धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित छन्।

लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर संकटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताए।

अक्षर नचिनेका आमाहरुलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउँछन्। बालशिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उनले जानकारी दिए।


सामाग्री श्रोत :

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

काठमाडौं । भारतीय अर्बपति विजय माल्याले करिब ९ वर्षको मौनता तोड्दै एक पडकास्टमा विस्तृत अन्तर्वार्ता दिएका छन् । युट्युबर राज शमानीले बिहीबार प्रसारण गरेको चार घण्टा लामो पडकास्टमा पूर्व राजनीतिज्ञ समेत रहेका माल्या देखापरेका हुन् ।

उनलाई बैंकको अर्बौं ऋण नतिरी फरार भएको आरोप लाग्दै आएको छ । किङफिसर एयरलाइन्सको असफलताका कारण बदनाम भएका उनी भारतमा विलासी जीवनशैली र व्यापारिक साम्राज्यका कारण चिनिन्छन् ।

पडकास्टमा उनले भारतीय मूलधारका मिडियाले आफूलाई ‘क्रूर र निरन्तर मिडिया ट्रायल’ गरेर बदनाम गरेको र आफ्नो पक्ष कहिल्यै निष्पक्ष रूपमा प्रस्तुत नगरेको आरोप लगाएका छन् । उनले आफूले लिएको ऋणभन्दा धेरै रकम सरकारले असुल गरिसकेको दाबीसमेत गरे ।

राजले “तपाईं ९ वर्षपछि किन बोल्दै हुनुहुन्छ र हामीसँगै किन ?” भनेर सोधेको प्रश्नमा माल्याले आफू निरन्तर भारतीय मिडियाको निशानामा परेको बताए ।

“विगत नौ वर्षदेखि म भारतमा मिडियाद्वारा गरिएको क्रूर र निरन्तर मिडिया ट्रायलको सिकार भएँ । उनीहरूले मेरोबारेमा यति धेरै नकारात्मक कथा बनाए कि, म जनताको आक्रोशको केन्द्रबिन्दु बनेँ, जहाँ मलाई गाली गरियो र अनेक नामले बोलाइयो,” उनले दु:ख पोखे ।

उनले थपे, “यो विशाल भारतीय मिडिया मसिनसँग जुध्नुभन्दा चुप लाग्नु नै मैले उचित ठानेँ ।”

तर, समय बदलिएको र ‘नयाँ मिडिया’ वा ‘सोसल मिडिया’ को उदयसँगै सत्य कुरा राख्ने अवसर देखेको उनले बताए । सुरुमा पडकास्टबारे थाहा नभए पनि यसको माध्यमबाट आफ्नो कुरा बिना तोडमोड राख्न सकिने बुझेपछि अन्तर्वार्ता दिन उत्साहित भएको उनको भनाइ थियो ।

“यो मेरो लागि एउटा अवसर हो, जहाँ म ती कुराहरू भन्न सक्छु जुन मूलधारका मिडिया त्यसमा पनि भारतमा कहिल्यै सत्यतापूर्वक रिपोर्ट गर्दैनथे,” उनले भने, “त्यसैले म आज यहाँ छु ।”​

माल्याले भारतीय मिडियाले आफूलाई ‘चोर’ र ‘पैसा लुटेर भागेको’ जस्ता आरोप लगाएर सनसनीपूर्ण समाचार बनाएको गुनासो गरे ।

उनले सन् २०१६ को एक घटना सम्झँदै भने, “एक मिडिया च्यानलका एङ्कर टेलिभिजनमा चिच्याउँदै भन्दै थिए, ‘विजय माल्या, म तँलाई जेलको कपडामा हेर्न चाहन्छु, म तँलाई जेलको खाना खाएको हेर्न चाहन्छु ।’ मैले सधैँ सोचेँ, केका लागि ?” उनले प्रश्न गरे, “के पैसा ? के लुट ? कसैले पनि एक कदम पछाडि हटेर सोच्ने कष्ट गरेनन् ।”

अन्तर्वार्तामा माल्याले आफूले लिएको ऋणभन्दा धेरै रकम सरकारले असुल गरिसकेको दाबी गरे, जुन कुरा सार्वजनिक रूपमा बोल्नुको मुख्य कारण भएको उनले बताए ।

उनले भने, “हालै भारत सरकारको अर्थ मन्त्रालयले एक रिपोर्ट प्रकाशित गरेको छ । त्यसमा उनीहरूले मबाट १४ हजार १०० करोड भारू असुल भएको स्वीकार गरेका छन् । अब मूलधारका मिडियाले यसमा कुनै तर्क गर्न वा तोडमोड गर्न सक्दैनन् ।”

माल्याले ऋणको हिसाब प्रस्ट्याउँदै भने, “ऋण पुनरावेदन न्यायाधीकरणको फैसलाअनुसार किङफिसर एयरलाइन्सले लिएको ऋण (मैले व्यक्तिगत रूपमा होइन) चार हजार ९९९ करोड भारू थियो । त्यसमा एक हजार २०३ करोड ब्याज जोड्दा कुल ६ हजार २०३ करोड हुन आउँछ । म त्यसको एक जमानीकर्ता मात्र थिएँ ।”

उनले चुनौती दिँदै भने, “सरकारले मबाट १४ हजार १०० करोड असुल गरिसकेको छ । यदि मैले चोरी वा बैंकलाई धोका दिएको थिएँ भने यो हिसाब कसरी मिल्छ ? अब मेरो पालो हो, उनीहरूलाई सोध्ने कि यसबारे उनीहरूको के भनाइ छ ?”

बेलायतमा बस्दै आएका माल्याले आफ्नो किङफिसर एयरलाइन्स असफल भएकोमा सबैसँग माफी माग्दै यसलाई व्यावसायिक असफलताको रूपमा व्याख्या गरेका छन् । 

राज शमानीसँगको पडकास्टपछि भारतीय दर्शक मूलधारका सञ्चार माध्यमप्रति आक्रोशित बनेका छन् । झण्डै एक दशकसम्म मिडियामा नदेखिएका माल्याले पडकास्ट (न्यु मिडिया)लाई आफ्नो विचार राख्ने थलोका रूपमा राख्नुले भारतका मूलधार सञ्चार माध्यममाथि प्रश्न उठाएको छ ।

युट्युबर राजका केही समर्थकले सो भिडिओमा कमेन्ट गर्दै मूलधारका सञ्चार माध्यमले पडकास्टका क्लिप प्रयोग गरेको खण्डमा कपिराइट लगाउन समेत सुझाव दिएका छन् । सार्वजनिक भएको दुई दिनमै उक्त चार घण्टा लामो पडकास्टमा एक करोड बढी भ्युज छ । 

यो पडकास्टपछि भारतीय प्रयोगकर्ताले रेडिट, एक्स र फेसबुकमा आफ्नो धारणा राखिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १४:१७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– एम्स्टर्डमको रिजक्सम्युजियममा २०० वर्ष पुरानो कन्डम प्रदर्शनमा राखिएको छ। यो राम्रो अवस्थामा देखिन्छ।

यो भेडाको एपेन्डिक्सबाट बनेको विश्वास गरिन्छ। यसमा एक भिक्षुणी र तीन पुजारीहरूको तस्वीर छ।

यो दुर्लभ कलाकृति १८३० को हो र गत वर्ष संग्रहालयले लिलामीमा खरिद गरेको थियो।

यो कन्डम १९ औं शताब्दीमा वेश्यावृत्ति र कामुकता सम्बन्धी प्रदर्शनीको एक हिस्सा हो, जसमा प्रिन्ट, चित्र र तस्बिरहरू पनि समावेश छन्।

रिजक्सम्युजियमकी क्युरेटर जोइस जेलेनले बीबीसीलाई बताइन् कि जब उनले पहिलो पटक लिलामीमा कन्डम देखे तब उनी र उनका एक सहकर्मी “हाँसेका” थिए।

उनीहरूले भने कि यसमा बोली लगाउनेहरू बाहेक कसैले पनि यसलाई याद गरेनन्।

यसलाई प्राप्त गरेपछि, उनीहरूले पराबैंगनी प्रकाश अन्तर्गत यसको जाँच गरे र पत्ता लगाए कि यो प्रयोग गरिएको थिएन।

“यो धेरै राम्रो अवस्थामा थियो,” जेलेनले भने।

Ncell 2
Ncell 2

कन्डम कहाँबाट आयो?

उनले भने कि जबदेखि यो कन्डम प्रदर्शन गरिएको छ, संग्रहालय मानिसहरूले भरिएको छ। हामीले धेरै राम्रो प्रतिक्रिया पाइरहेका छौं, युवा र वृद्ध दुवैले यसमा रुचि लिइरहेका छन्।

जेलेनले भने कि कन्डमहरू फ्रान्सको एक आकर्षक वेश्यावृत्ति केन्द्रबाट प्राप्त विलासी “स्मारिका” हो भन्ने विश्वास गरिन्छ। यी मध्ये अब दुईवटा मात्र बाँकी रहेको बताइएको छ।

संग्रहालयले भन्यो कि यो असामान्य वस्तुले यौन स्वास्थ्यको अँध्यारो र उज्यालो पक्षलाई त्यो युगमा देखाउँछ जब यौन आनन्दको खोजी अनिच्छित गर्भावस्था र सिफिलिसको डरसँगै हुन्थ्यो।

यस कन्डममा छापिएको तस्विरमा एक भिक्षुणी बसेको देखिन्छ। उनको पोशाक खुला छ। यी भिक्षुणीले पुजारीहरूतिर औंल्याइरहेकी छिन्, र तीनै जना पुजारी सधैं जस्तै उनको अगाडि उभिरहेका छन्।

यो कन्डममा लेखिएको छ, “भोयाला मोन चोइस” जसको अर्थ “यो मेरो इच्छा हो।”

संग्रहालयले कन्डमको छवि “ब्रह्मचर्यको बारेमा ग्रीक मिथक, पेरिसको न्यायको प्यारोडी” भएको बताएको छ।

यो पेरिस नामक ट्रोजन राजकुमारको बारेमा मिथक हो जसले एफ्रोडाइट, हेरा र एथेना मध्ये सबैभन्दा सुन्दर देवी को हो भनेर निर्णय गर्नुपरेको थियो।

संग्रहालयले आफ्नो छापिएको सङ्ग्रहमा ७,५०,००० प्रिन्ट, चित्र र तस्बिरहरू रहेको बताएको छ। तर यो कन्डममा छापिएका प्रिन्टहरूको पहिलो सङ्ग्रह हो।

“हामी भन्न सक्छौं कि हाम्रो एक मात्र कला संग्रहालय हो जहाँ कन्डम छापिएको छ,” जेलेनले भने।

उनले भने कि उनको संस्था अन्य संग्रहालयहरूलाई कलाकृति “उधारो दिन खुला” छ, तर कन्डम धेरै कमजोर थियो। उनले भने कि यो नोभेम्बरको अन्त्यसम्म प्रदर्शनमा रहनेछ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार बैद्यखानका निर्देशक डा प्रदिप केसीसँग असन्तुष्टि व्यक्त गरेका छन्।  आफूले यसअघि पनि भिजिट गरेको बताउँदै सुधारिने संकेत नदेखिएको बताए।

सिंहदरबार बैद्यखानाको विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२ सार्वजनिक कार्यक्रममा उनले असन्तुष्टि पोखेका हुन्। उनले निर्देशक डा केसीप्रति लक्षित गर्दै भने,  ‘अघिल्लोपटक भिजिटमा आइयो। उहाँकै कोठामा बसेर यसो गर्ने, उसो गर्ने भनियो। बेलुका फेसबुकमा खिलापमा लेखिदिनुभयो । जिम्मेवारी बोध पनि गर्नुपर्ने होला । तपाईं राज्यको जिम्मेवार व्यक्ति हो,  हामी त कति दिन बस्छौं र ? सही मनशाय राखेर बनाउन खोजेको हुँ।’

उनले वैद्यखाना सुधारिएको म्यासेज छ  त ?  भन्दै प्रश्न गरे।  उनले यही तरिकाले वैद्यखाना डाइनोसर  बन्ने बताए। उनले थपे, ‘डाइनोसर छैन नि, उसले आफ्नो अस्तित्व जोगाउन सकेन संसारबाट लोप भएर गयो। वैद्यखानाले, आयुर्वेदले अस्तित्व राख्न सकेन भने राज्यको प्राथमिकतामा पर्दैन ।  लगानी हुँदैन । विस्तारै अस्तित्व समाप्त भएर जान्छ।’ आफू मन्त्रालयमा कसैले केही ल्याइदिन्छ कि भनेर पर्खेर बसेको छु उनले उल्लेख गरे। 

सिंहदरबार वैद्यखाना विकास समितिले  पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको हो। शुक्रबार  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त रणनीति सार्वजनिक गरेको हो । डा लक्ष्मी प्रसाद घिमिरे संयोजनकत्वको उपसमितिले रणनीति बनाएको हो। उक्त उपसमितिमा डा पुष्पराज पौडेल,डा कोपिला अधिकारी, डा विभाकर ठाकुर, डा विनोद शाह सदस्य थिए।

उक्त रणनीतिक योजना मार्फत् दीर्घकालीन रुपमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै अन्तर्राष्ट्रिय निर्यात प्रवर्धन गर्न सफल हुने स्थितीमा पुग्नुपर्ने आयुर्वेद क्षेत्रका विज्ञहरु बताउँछन् । 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ।

नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रका ३५ वटा पसलहरू जलेर पूर्णरूपमा नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगजनीको घटनापछि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शनिबार बिहान बाम्का बजार पुगेर घटनास्थलको निरीक्षण गरेका छन्।

काठमाडौँबाट विशेष टोलीसहित प्रस्थान गरेका मन्त्री पाण्डेले आगलागीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै जलेर नष्ट भएका पसल, घर र संरचनाहरूको जानकारी लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले आगलागीबाट ३५ वटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएको पुष्टि गर्दै प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्।

त्यसैगरी, तोयानाथ न्यौपानेको १ करोड ५० लाख, छत्र थापाको १ करोड ५० लाख र धनबहादुर साउँदको १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन्।

आगलागीबाट दिपक साउँद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलमा पनि ठूलो क्षति भएको भए तापनि हालसम्म क्षतिको मूल्यांकन कार्य सम्पन्न भइसकेको छैन।

प्रहरीको भनाइ अनुसार बाम्का बजारमा रहेको फेन्सी पसल, मेडिकल स्टोर, इलेक्ट्रोनिक्स पसल, पुस्तक पसल तथा होटलहरू समेत आगलागीबाट जलेर पूर्णरूपमा नष्ट भएका छन्। त्यस्तै, भगतराज गिरीको सु प प्र ०१–००१प ४६८१ नम्बरको मोटरसाइकलसमेत आगलागीमा जलेर नष्ट भएको पुष्टि भएको छ।

स्थानीय व्यापारीहरू, पीडित परिवार तथा सम्पूर्ण बजार क्षेत्र अहिले अत्यन्त पीडित र तनावग्रस्त अवस्थामा छन्। आगलागीको कारण लाखौंको लगानी गुमाएका व्यापारीहरूले राज्यबाट उचित राहत र पुनःस्थापना सहायता पाउने अपेक्षा गरेका छन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले निरीक्षणका क्रममा पीडित व्यापारीहरूसँग भेट गर्दै सरकारले तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय प्रशासनलाई समेत पीडितको तर्फबाट आवश्यक सबै किसिमको सहायता पुर्‍याउन निर्देशन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सक्रिय प्रयासबाट आगलागी नियन्त्रणमा लिइएको भए पनि आगोले पुर्‍याएको क्षति अत्यन्त ठूलो र पीडादायक रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन।


सामाग्री श्रोत :

बाजुराको बाम्का बजारमा भीषण आगलागी :आठ करोड ७७ लाख बढीको क्षति

काठमाडौँ । कम्प्युटरमा सफ्टवेयर इन्स्टल गर्न वा कुनै प्रोग्राम चलाउन .exe लेखिएको फाइलमा तपाईंले पक्कै डबल-क्लिक गर्नु भएकै होला । कम्प्युटरमा चाहिने महत्त्वपूर्ण सफ्टवेयर वा भनौं एप यही फर्म्याटमा हुन्छन् । तर, कहिलेकाहीं यी फाइल खतरनाक पनि हुन सक्छन् । साइबर ब्युरोले समय समयमा सर्वसाधारणलाई सचेत बनाउँदै अन्तिममा .exe भएका फाइल नखोल्न सुझाव दिंदै आएको छ । .exe भएका फाइल के हुन्, अनि यस्ता फाइल खोल्दा के कस्ता जोखिम हुन सक्छन् ? यस लेखमा .exe फाइलबारे विस्तृतमा चर्चा गरिएको छ । 

.exe फाइल भनेको के हो ?

‘exe’ को पूरा रूप ‘एक्जिक्युटेबल’ हो । यसको अर्थ ‘चल्न सक्ने’ वा ‘कार्यान्वयन हुन सक्ने’ भन्ने हुन्छ । यो विन्डोज अपरेटिङ सिस्टममा चल्ने एउटा प्रोग्राम फाइल हो । यदि तपाईंले कुनै .exe फाइलमा क्लिक गर्नुभयो भने तपाईंले त्यस फाइलभित्र रहेका निर्देशन कम्प्युटरलाई पालना गर्न आदेश दिनुहुन्छ । अर्थात् कम्प्युटरलाई त्यो फाइलले जे गर्नुछ भनेको छ त्यो ‘खुरुखुरु मान’ भनेर आदेश दिनुहुन्छ । 

अझ सरल शब्दमा भन्दा यो एउटा चाबी जस्तै हो, जसले सफ्टवेयर, गेम वा कुनै टुलको इन्जिन सुरु गर्छ । यसभित्र कम्प्युटरले सिधै बुझ्ने भाषाहरू (मसिन कोड) हुन्छन् जसले गर्दा कम्प्युटरले तुरुन्तै काम गर्न थाल्छ ।

.exe फाइल किन खतरनाक हुन सक्छ ?

साइबर अपराधीले यो फाइल फर्म्याटलाई तपाईंको कम्प्युटर ह्याक गर्ने हतियारको रूपमा दुरुपयोग गर्न सक्छन् । उनीहरूले हानिकारक भाइरस, मालवेयर, र्‍यान्समवेयर वा जासुसी गर्ने सफ्टवेयर (स्पाइवेयर) लाई .exe फाइलभित्र लुकाएर पठाउँछन् ।

जब तपाईंले झुक्किएर त्यस्तो भाइरस भएको .exe फाइल चलाउनुहुन्छ त्यसले तपाईंको कम्प्युटरमा लुकेर विभिन्न हानिकारक काम गर्न सक्छ । यसले तपाईंका व्यक्तिगत जानकारी र पासवर्डहरू चोर्ने, तपाईंका फाइलहरू लक गरेर पैसा माग्ने (र्यान्समवेयर), कम्प्युटरको गति सुस्त बनाउने वा सिस्टमलाई नै बिगार्ने र तपाईंको जानकारी बिना तपाईंको कम्प्युटरबाट अरूलाई भाइरस फैलाउने काम गर्न सक्छ ।

सस्तोमा ट्रेडिङ सिकाउने, अङ्ग्रेजी भाषा सिकाउने, ईबुक उपलब्ध गराउने भन्दै नेपालमा स्क्यामरले यस्ता .exe फाइल पठाउने गर्छन् । स्क्यामरलाई विश्वास गरेर यी फाइल कम्प्युटरमा डाउनलोड गर्नेहरूको अकाउन्ट ह्याक हुने, बैंक तथा वालेट अकाउन्ट रित्तिने जस्ता समस्या देखिने गर्छन् । त्यसैले साइबर ब्युरोले बारम्बार अपरिचित व्यक्तिले कुनै पनि प्रलोभन देखाएर .exe फाइल पठाएको छ भने त्यसलाई क्लिक नगर्न सुझाव दिंदै आएको छ ।

 

नक्कली वा भाइरसयुक्त .exe फाइल कसरी चिन्ने ?

ह्याकर चलाख हुन्छन् र उनीहरूले भाइरसलाई सामान्य फाइलजस्तै देखाउन अनेक जुक्ति लगाउँछन् । तर, केही कुरामा ध्यान दिएर हामी त्यस्ता फाइल चिन्न सक्छौं । सबैभन्दा पहिले त्यस फाइलको नाम र स्रोत हेर्नुहोस् । कहिलेकाहीँ फाइलको नाम ‘important_document.pdf.exe’ जस्तो हुन सक्छ । विन्डोजले अन्तिम .exe लुकाउँदा यो important_document.pdf जस्तो देखिन्छ र हामी झुक्किन्छौं । र, क्लिक गरेर त्यसपछिका निर्देशन सहजै पालना गर्न सक्छौं । पीडीएफ पठाएको छु भनेको छ, तर अन्तिममा .exe फाइल एक्सटेन्सन छ भने त्यसमा शङ्का गर्न सकिन्छ ।

अपरिचित व्यक्तिबाट आएको ईमेल, सामाजिक सञ्जालको लिङ्क वा शंकास्पद वेबसाइटबाट डाउनलोड गरिएका .exe फाइलहरू प्रायः खतरनाक हुन्छन् । त्यस्ता फाइल डाउनलोड गर्दा ध्यान दिनुहोस् । यदि तपाईंले सानो टुल डाउनलोड गर्न खोज्नुभएको छ तर फाइलको आकार अस्वाभाविक रूपमा ठुलो (जस्तै सयौं एमबी) छ भने शङ्का गर्नुपर्छ । त्यसैगरी कुनै ठुलो सफ्टवेयरको फाइल केही केबीको मात्र छ भने पनि त्यो नक्कली हुन सक्छ ।

.exe फाइलको जोखिमबाट बच्ने उपाय

आफ्नो कम्प्युटरलाई सुरक्षित राख्न केही सरल तर प्रभावकारी उपायहरू अपनाउन सकिन्छ । यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा राम्रो एन्टिभाइरस सफ्टवेयर राख्नुपर्ने हुन्छ । र, त्यसलाई सधैं अपडेटेड राख्नुपर्छ । कुनै पनि .exe फाइल चलाउनुअघि त्यसलाई एन्टिभाइरसले स्क्यान गर्नुहोस् । विन्डोजमा ‘Microsoft Defender’ पहिलेदेखि नै हुन्छ जुन निकै प्रभावकारी छ । यदि स्क्यान गर्दा फाइल शङ्कास्पद देखियो भने त्यसलाई तुरुन्तै डिलिट गर्नुहोस् ।

यदि कुनै फाइलमा शङ्का लागेमा त्यसलाई चलाउनुअघि ‘virustotal.com’ जस्ता वेबसाइटमा अपलोड गरेर स्क्यान गर्न सक्नुहुन्छ । यो वेबसाइटले तपाईंको फाइललाई एकैपटक ७० भन्दा बढी एन्टिभाइरस इन्जिनमा जाँच्छ र रिपोर्ट दिन्छ । 

आधिकारिक र विश्वासिला कम्पनीले आफ्नो सफ्टवेयरमा एक प्रकारको ‘डिजिटल छाप’ (Digital Signature) लगाएका हुन्छन् । यसले सफ्टवेयर कसले बनाएको हो र यसलाई कसैले बिचमा परिवर्तन गरेको छैन भन्ने ग्यारेन्टी दिन्छ । फाइलको ‘Properties’ मा गएर तपाईं यो जाँच गर्न सक्नुहुन्छ । यदि हस्ताक्षर छैन वा शङ्कास्पद कम्पनीको नाम छ भने सावधान रहनुहोस् ।

यस्ता खतरनाक फाइलबाट जोगिन कुनै पनि सफ्टवेयर चाहिएमा त्यसको आधिकारिक वेबसाइटमा गएर मात्र डाउनलोड गर्नुहोस् । यताउताका लिङ्कबाट डाउनलोड गर्ने बानीले जोखिम बढाउँछ । त्यस्तै विन्डोजमा भएको ‘SmartScreen’ भन्ने फिचरले इन्टरनेटबाट डाउनलोड गरिएका अपरिचित फाइल चलाउन खोज्दा तपाईंलाई चेतावनी दिन्छ । यो फिचर सधैं अन राख्नुहोस् ।

.exe फाइल कम्प्युटर चलाउनका लागि अत्यावश्यक छन् । तर यिनीहरूसँगै आउने जोखिमलाई बेवास्ता गर्नु हुँदैन । इन्टरनेटबाट कुनै पनि फाइल डाउनलोड गर्दा र चलाउँदा सधैं सचेत रहनुपर्छ । माथि उल्लिखित सुरक्षाका उपाय अपनाएर हामी भाइरस र ह्याकरको आक्रमणबाट आफ्नो कम्प्युटर र व्यक्तिगत जानकारीलाई सुरक्षित राख्न सक्छौं ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन्। 

एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए। मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए।

‘पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि स्थानीय तहले अझ बढी महत्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्वपूर्ण छ।’

मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे। ‘हाल अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेको छ, अर्थतन्त्रमाथि त्यतिकै दबाब छ, यो कुरा सबैले महसुस गरेका छौँ, तर हामीले गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने हो भने मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ, त्यसले पैसा अभाव हुन दिँदैन, त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ’, उनले भने।

पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे। उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राखे।

Ncell 2
Ncell 2

‘अब अनुदान होइन, न्यून ब्याज तथा बिनाब्याजमा कृषकले ऋण पाउने व्यवस्था हु्नुपर्यो, कृषि विकासको नाममा स्थापित कृषि विकास बैंकलाई किसानको हितमा काम गर्न लगाउनुपर्यो, घरजग्गाा किन्दा सहज तर कृषि उद्यमका लागि जाँदा ऋण नै नपाउने अवस्था छ, यसलाई अन्त्य गरौँ’, उनले भने, ‘मैले त कोदोको रक्सीको ब्रान्डिङ, गाँजाखेतीको वैधानिकताको कुरा गरिरहेको छु, यो काम भएमा हाम्रा युवाले देशमै बसेर वर्षको रु आठ÷दश लाख कमाउने अवस्था बन्छ, यसमा काम गर्न ढिला नगरौँ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राखे। नेपाल सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७/७८ देखि देशभर करिब ३०० पालिकालाई शसर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताए।

एग्री प्रडक्ट नेपालका अध्यक्ष तिलक ढाकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूले विसं २०८० साउन १ गतेदेखि अभियान सुरु भएको बताए। रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औषतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै हालसम्म करिब रु तीन करोडको कारोबार भएको सुनाए।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) का नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, नेपाल डेरी एशोसिएशनका अध्यक्ष पह्लाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गका सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले सम्बोधन गरेका थिए। उनीहरूले स्थानीय जातको बीउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रमण भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गरे। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

पछिल्लो समय बालबालिका दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या बढ्दै गइरहेको छ। यसका अनेक कारण छन्। बालबालिकाको दन्तस्वास्थ्यमा केन्द्रीत भएर कान्ति बाल अस्पतालका बाल दन्त चिकित्सक डा कुम्भ जोशीसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको संवाद :

बालबालिकामा दाँत किराले खाने समस्या किन बढ्दै गइरहेको छ ?

सामान्य बोलीचालीको भाषामा दाँत किराले खानु भनिने गरिएकोमा त्यसलाई वैज्ञानिक भाषामा दाँत सड्नु भनिन्छ। 

दाँत सड्ने समस्या खानपान शैलीसँग सम्बन्धि हुनुका साथै मुख स्वास्थ्यसँग पनि सम्बन्धित छ । खानेकुरा खाएपछि मुखको सरसफाईमा ध्यान नदिएमा लामो समयसम्म दाँतको सतहमा बस्ने भएकोले सामान्य खानेकुराले पनि दाँतलाई सडाउन थाल्छ । 
यद्यपि चक्लेट, जंगफुडहरु लगायतका अस्वस्थकर खानेकुराले दाँत सड्ने मात्रालाई बढाउनु स्वभाविक भएपनि सही रुपमा मुख स्वास्थ्यमा ध्यान नदिएको अवस्थामा भने सामान्य खानेकुराले पनि दाँत सड्ने वा किराले खाने गर्छ। 

चाउचाउ, बिस्कुट, चकलेट लगायतका जंगफुडको सेवन स्वास्थ्यका लागि कति हानिकारक हुन्छन् ? 

प्याकेटका खानेकुरा खासै स्वास्थ्यबद्र्धक हुँदैन भन्ने चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सहरुले बताउँदै आएका यी कुरा मुख स्वास्थ्यमा पनि लागु हुन्छ । 

यस्ता खानेकुरा दन्त स्वास्थ्यका लागि त्यति फाइदाजनक हुँदैन। त्यस्ता खानेकुरामा सुगरको मात्रा अत्याधिक हुने तथा टासिने क्षमता पनि बढी हुने भएकोले अन्य खानेकुरा भन्दा बढी हानिकारक हुन्छन्। 

बालबालिकाको दाँत किराले खान लागेको जानकारी पहिला नै कसरी पाउने?

सामान्यतया दन्त चिकित्साको निर्देशिका अनुसार प्रत्येक ६–६ महिनामा मुख स्वास्थ्यको परीक्षण गराउनुपर्छ । जसबाट दाँतको अवस्थाबारे पहिला नै चिकित्सकले थाहा पाउँछन् । त्यसबाहेक अभिभावक तथा आम मानिसहरुले पनि दाँत खुइलिन,कालो हुन, फ्रुस्रो हुन थाल्यो भने दाँत किराले खान थालेको वा सड्न थालेको संकेत पाउन सकिन्छ। 

त्यस्तै लक्षणका आधारमा भन्ने हो भने दाँत सिरिङ सिरिङ हुन थालेको,तातो चिसो खानेकुराको सेवनमा असहज अवस्थामा आएमा दाँत सड्न थालेको वा किरा खान थालेको थाहा पाउन सकिन्छ। 

दाँत किराले खाइसकेपछि त्यसलाई जोगाएर पनि उपचार गर्न सकिन्छ, वा निकाल्नै पर्ने हुन्छ?

दाँत किराले खाँदैमा अनिवार्य रुपमा निकाल्नुपर्छ भन्ने होइन । कतिपय अवस्थामा चाहेर पनि दाँतलाई जोगाएर उपचार गर्न सकिँदैन । दाँत निकालिसकेपछि पनि त्यसका लागि अतिरिक्त उपचार आवश्यक पर्छ। 

बचाउन सक्ने अवस्था सम्म बालबालिकाको दुधे दाँत होस् या वयस्क मान्छेको दाँत त्यसलाई निकाल्नुहुँदैन। 

बालबालिकाहरुलाई सामान्यतया कति वर्ष भएपछि दाँत ब्रस गर्न सिकाउनुपर्छ ? कस्तो टुथपेष्टको प्रयोग गर्नुपर्छ ?

जब बालबालिकाको दाँत आउन सुरु हुन्छ, त्यतिबेला देखि नै दाँत ब्रस गर्ने बानी पार्नुपर्छ । तर जनचेतनाको अभावका कारण दुधे दाँतमा ब्रस गर्नुपर्दैन भन्ने आमधारणा रहेको पाइन्छ। 

टुथपेष्टमा हुने फलोराइडले दाँतलाई बलियो बनाउने पोषण तत्वका रुपमा काम गर्छ । यद्यपि त्यसको मात्रा बालबालिका तथा वयस्कका भिन्न भिन्नै आवश्यक पर्छ। 

वयस्क मानिसहरुका लागि ८ शय देखि हजार सम्म पिपिएमको मात्रा टुथपेष्टमा रहेकोमा हुन्छ भने बालबालिकाका लागि ३ देखि ४ शय पिपिएम मात्राको टुथपेष्ट प्रयोग गर्नुपर्छ। 

बालबालिकाको दाँत किन बांगोटिंगो आउने गर्छ ?
बालबालिकाको दाँत विभिन्न अवस्थामा बांगोटिंगो आउने गर्छ। दाँतले ओगट्ने क्षेत्रफल हड्डीको क्षेत्र भन्दा बढी भएको अवस्थामा बालबालिकाको दाँत बांगोटिंगो आउने गर्छ । यद्यपी यो समस्या अस्थायी पनि हुनसक्छ, बच्चा बढ्दै जाँदा हड्डीको क्षेत्रफल बढ्न गई पछि मिल्न पनि सक्छ। 

त्यो बाहेक मिक्सडेन्टिसन पिरियड अर्थात् दुधे दाँतहरु झरेर नयाँ स्थायी दाँतहरु पलाउने क्रम नमिल्दा,साटिनु अगाडि नै दुधे दाँत कारणवश झर्नु,पछाडि आउने दाँतका लागि स्थान जोगाउन नसकेको अवस्थामा दाँतहरु भित्रै गाडिने, बांगोटिंगो आउने गर्छ। 

कतिपय बालबालिका औंला चुस्ने तथा खेलौना चुस्ने बानी पनि हुन्छ, यसले दाँतलाई असर गर्छ कि गर्दैन ?

बालबालिकामा हुने यस्ता आदतले उनीहरुको दन्त स्वास्थ्यमा असर गर्छ । यस्ता बानीलाई खराब आदत पनि भन्ने गरिन्छ । दन्त चिकित्सामा यस्ता खराब बानीलाई सुधार गर्नका लागि तालिम तथा औजारहरु समेत दिने गरिन्छ। 

मुखमा औंला कति गहिराईसम्म, कति समयमा राख्ने बानी छ त्यसको समय अनुसार अनुहारको संरचनामा समेत फरक पर्छ । लामो समयसम्म राख्ने बानीले अनुहारको संरचना चुच्चो हुने तथा तल र माथिका दाँतहरु एक आपसमा नमिल्ने हुन्छ । त्यसकारण यस्तो बानीलाई समयमा नै हस्तक्षेप गर्न आवश्यक हुन्छ।

बालबालिकाको दाँत उपचारका क्रममा बे्रसेस कुन अवस्थामा लगाइन्छ, यो कतिको उपयुक्त हुन्छ ?
औसतमा दुधे दाँत साटिएर नयाँ दाँत आइसकेपछि औसतमा ब्रेसेस लगाउन सुरु गर्नुपर्छ भनिन्छ । तर आवश्यकता कुरा गर्नुपर्दाे रोगको संवेदनशिलताको आधारमा दाँत बेमेलको अवस्था धेरै नै बिग्रिएको छ,आधा दुधे दाँत भएको तथा आधा नयाँ दाँत रहेको छ तथा दाँत एकदमै बिग्रिएको संरचनामा रहेमा दन्त चिकित्सकले ब्रेसस गराउन सक्छन् । यो दाँतको बेमेलको स्थितीमा भर पर्छ । सानो उमेरमा नै ब्रेसेस गराउनुहुँदैन भन्नु भ्रम मात्रै हो। 

दाँतको कस्तो समस्या लिएर बढी बालबालिकाहरु अस्पतालमा आइपुग्ने गरेका छन्? 

नेपालमा मात्रै नभई  विश्वमा नै दन्त सड्नको समस्या बढी मात्रामा देखिने गरेको छ । कान्ति बाल अस्पतालमा पनि बढी मात्रामा दाँत किराले खाएका वा दन्त सड्नको समस्या भएका बालबालिकाहरु अन्य समस्याभन्दा तुलनात्मक रुपमा धेरै आउने गरेका छन्। 
त्यसबाहेक दाँत दुख्ने, सिरिङ–सिरिङ हुने, सुन्निने,खानेकुरा चपाउन नहुनु,गिजासम्बन्धि समस्या, श्वास गन्ह्याउने समस्या, तालु तथा ओठहरु फाटेका समस्या भएका बालबालिकाहरु आउने गरेका छन्। 

दाँत दुखेको सुरुवाती उपचार के हुनसक्छ ?

दाँत दुख्नुका धेरै कारण हुनसक्छ कहिलेकाही मुखमा घाउ हुँदा तथा शरीरका अन्य अंगहरु अस्वस्थ हुँदा पनि दाँत दुख्ने गर्छ ।बालबालिकाले अभिभावकसँग दाँत दुखेको गुनासो गर्नेबितिकै के कारणले दाँत दुखेको हो भन्ने निक्र्याैल गर्नका लागि दन्त चिकित्सक कहाँ ल्याउनुपर्छ। 

समाजमा दाँतसम्बन्धि के कस्ता भ्रमहरु रहेका छन् ?

नेपाली समाजमा दुधे दाँतमा समस्या आएमा उपचार आवश्यक छैन भन्ने भ्रम छ । शिक्षित मानिसहरु समेत दुधे दाँतको उपचार आवश्यक छैन भन्ने धारणा राख्ने गर्छन्। 
त्यो सबैभन्दा ठुलो भ्रम हो। दुधे दाँतले खाना चपाउन सहयोग गर्नुका साथै अनुहारको संरचना निर्माणमा महत्वपुर्ण भुमिका खेल्छ । यसले बच्चाको बोलीको विकासमा समेत सहयोग गरिरहेको हुन्छ। 

त्यस्तै बुद्धिबंगारा निकालेमा त्यसले आँखा कमजोर बनाउँछ,दाँत दुखेमा किरा झार्ने,दाँत दुखेमा धाँमीझाक्री लगाउने,ओठ तथा तालु चिरिएको बच्चा जन्मनु अशुभ हो भन्ने लगायतका भ्रम रहेको पाइन्छ। 

भिडियो 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट