२०८२ भाद्र १४ शनिबार
LATEST NEWS
२०८२ भाद्र १४ शनिबार

आज जुन महिनाको झण्डै आधा महिना सकिन लागि सक्यो तर पनि भने जति राम्रो पैसा जम्मा सकिएको छैन। दिनभरी जति कमायो साँझ सबै कमाइ कम्पनीमै बुझाउँदा सकिन्छ। उसो त यी अनलाइन बुकिङ एप्सले म जस्ता ट्याक्सी चालकको पेशा र कमाइ नै धरासायी बनाइदिएको छ।

नयाँ प्रबिधिको बिकासक्रमलाई पनि रोक्न नसकिने अवस्था छ, तैपनि म जस्ता सडकमा यात्रु कुरेर उठाउँदै गन्तव्यसम्म पुर्याउने ट्याक्सी ड्राइभरलाई भने समस्यानै पारेको छ। बर्षौंदेखि खाडीमा यही काम गर्दै आएको छु।

यसैको कमाइले घरदेशमा जहान केटाकेटीको मुखमा माड लाइदिने र आङमा कपडाको जोहो गरिदिने गरिरहेकै छु। उसो त केटाकेटीहरु पनि टन्न कापी किताबले भरिएको गरुँगो बिकासे झोला बोकेर शहरको बोर्डिङ स्कुल धाइरहेकै छन्। यो सबै यही परदेशमा गुडाएको ट्याक्सीले सडक नापेर कमाएको रेमिटान्सको बरदान हो।

बाहिर उखरमाउलो गर्मी छ। जुन जुलाइको महिना, खाडीका देशको तापक्रम बलेको आगोको भुंग्रो जस्तो हुन्छ। सडकमा ट्याक्सी कुदाउन पनि सजिलो हुँदैन। एसीले काम नगरेर झन् तातो मुस्लो हावा फाल्छ। यात्रु कम भेटिन्छन्।

आज बिहानै ट्याक्सी लिएर निस्केदेखि एउटा पनि पेसेन्जर भेटेको थिइन। घडीले झण्डै बिहानको दश बजाउन लागि सकेको थियो। करिब पचास मिटर अगाडि बस स्टेसन नजिकै एउटी अधबैंसे महिला उभिइरहेकी देखेँ। म अगाडि बढ्दै थिएँ। उनी पनि अलिकती अगाडि बढेर हातको इशाराले ट्याक्सी रोक्न भनिन्।

मैले ट्याक्सी रोकेँ। संयोगले नेपाली नै रहेछिन्। हुन त मैले मेरो ट्याक्सीको ड्यासबोर्डमा नेपाली झण्डाको स्टिकर टाँसेको थिएँ, त्यसैले पनि म नेपाली भएको कुरा उनलाई पनि चिन्न सजिलो भयो होला।

उनले नेपाली मै सोधिन् “दाइ नेपाली नै हुनुहँुदो रहेछ। मलाइ नेपाली दूतावाससम्म जानु पर्नेछ, लगिदिनुस् न’। मैले ‘हुन्छ’ भनें। उनी ट्याक्सीको पछाडिको ढोका खोलिन् र भित्र पसिन्। हामी एउटै देशको भएर होला बोल्न असजिलो भएन।

बेलाबेला मैले मेरो अगाडिको लुकिङ ग्लासबाट पछाडि हेर्थें। उनी कहिले ओठको लिपिस्टिक मिलाउँदै, त कहिले निधार अगाडि झरेका कपाल सम्हाल्दै गरेको देखिन्थिन्। कुरै कुरामा मैले दूतावास के काममा लागि जान लाग्नु भएको भनेर सोधेँ। सुरुमा त खासै जवाफ दिन मानिनन्।

केही अन्य कुराकानी हुँदै गरेपछि भने कुरा खोल्न थालिन्। बोल्ने क्रममा उनले मलाइ दाजु भनेरै सम्बोधन गरिन्। उनले बिस्तारै कुरा खोल्न थालिन्। ‘म खाडी देश आएको थुप्रै वर्ष भयो। म बिबाहित हुँ। घरको आर्थिक अवस्था र परिस्थितिले गर्दा हामी श्रीमान श्रीमतीले नै बिदेश जाने निर्णय गर्‍याैं र बिदेश आउने प्रक्रिया शुरु गर्‍याैं।

करिब छ महिनापछि हामी दुबै जनाको भिसा आयो र दुबै जनासँगसँगै बिदेश निस्कियौं। हामी दुबै जनाले काम गर्ने कम्पनी फरक फरक भएकोले फ्लाइट ल्यान्ड भएपछि एअरपोर्ट बाटै छुट्टियौ। हामी बस्ने एरिया र अकोमोडेसन फरक फरक भयो। मेरा श्रीमान अर्कै तिर काम गर्न थाले ,म अर्कै तिर।

शुक्रबार प्राय हामी दुबैको छुट्टि हुन्थ्यो। कहिले कतै पार्क तिर कहिले कतै रेस्टुरेन्ट तिर हामी भेट्ने गथ्र्यौं। हामी दुबै जना कम्पनीको आवासमा बस्ने भएकोले हाम्रो कुनै छुट्टै रुम थिएन। एवम् रितले हामीले झण्डै एक बर्स समय बितायौं। दुईचार पैसा पनि जम्मा गर्‍याैं।

बालबच्चा भइ नसकेकोले कमाएको पैसा हामी एउटै खातामा जम्मा गथ्र्यौं। म एउटा सपिङ मलमा हाउस किपिङको काम गर्थें। त्यो कम्पनीमा सयजनाको हाराहारीमा थियौं। केटा र केटीहरु झण्डै बराबरी जस्तै। म प्राय ग्राउन्ड तिरै हुन्थें।’

एकदिन एकजना नेपाली दाइ हाम्रो सपिङमा आउनु भयो। थुप्रै सामानहरु किनेर लैजानु भयो। हतारै हतारमा आफ्नो पैसा हाल्ने सानो वालेट खसालेर जानु भयो। तर उहाँले थाहा पाउनु भएन। म भुइँमा ब्रश लगाउँदै थिएँ। भुइँमा खसेको वालेट देखेँ। मैले बोलाउँदै थिएँ तर सुन्नु भएन।

अलि अगाडि पुगेपछि पकेट छाम्नु भयो र पछाडि तिर पुलुक्क हेर्नु भयो। मैले हातको इसाराले उहाँको वालेट देखाइदिएँ। उहाँ फर्केर आउनु भयो र आफ्नो मनि वालेट लिनु भयो ।त्यही क्रममा उहाँसँग परिचय भयो।

उहाँको नाम राजन रहेछ, घर झापा तिर भन्नू भयो। अनि मेरो फोन नम्बर माग्नु भयो, मैले एउटा नेपाली भएको नाताले पनि कुनै असजिलो नमानी फोन नम्बर दिएँ।

एक दिन ड्युटी सकेर आफ्नै रुममा फ्रेस भएर बेडमा यसो पल्टेको थिएँ। एउटा सेभ नगरिएको नया नम्बरबाट फोन आयो। नयाँ नम्बरबाट आएको कल सकेसम्म रिसिभ नै गर्दिन। यदि गरि हाले पनि अलि होसियारी भएर उठाउँछु।

दुई तीन घण्टीसम्म फोन बजिरह्यो। मैले फोन उठाइन फेरि मनले सोच्यो, कसैको अर्जेन्ट कल पो हो कि? फोन उठाएँ। फोन त्यही दाइकै रहेछ। अपरिचित हुँदा हुँदैमा पनि केही लामै गफ भयो। आजभोलि पर्सि हुँदा हुँदै हाम्रो फोन गर्ने बोल्ने शिलसिला नियमित जस्तै हुन थाल्यो।

दिनभर त म ड्युटी मै हुने भएकोले प्राय फोनमा बोल्ने समय हुन्थेन तर साँझ रुम फर्किसके पछि भने केही समय गफगाफ पछि मात्र सुत्ने बानी परि सकेको थियो। अर्को तिर श्रीमानसँग पनि फोनमा कुराकानी अलिअलि कम हुन थालेको थियो। उनको नाम रोशन हो।

उनलाई म प्यारले ‘रोशु’ भन्थेँ। बेलाबेला रोशुलाई फोन गर्दा म अलि बिजी छु भन्थेँ। पहिले पहिले जस्तो पछिका बिदाका दिनहरुमा भेटघाट पनि कम हुन थाल्यो। मैले भेट्ने कुरा गर्दा कम्पनीको कामले छुट्टी नमिल्ने बताउन थालेँ।

हरेक साप्ताहिक शुक्रबार जसो हुने भेटघाट पछि पछि पातलिँदै गएर महिना महिना जस्तोमा सर्यो। भेटमा त्यति धेरै पहिले जस्तो मिठा गफ हुन छाडे। केवल औपचारिक कुराकानी जस्ता। हातमा बोकेका मोबाइल सकेसम्म दुबै जनाले भुइँमा छोड्न चाहँदैनथ्यौं।

सायद हामी दुबै जना एक अर्काप्रति शशंकित थियौं। राजन दाइका थुप्रै मेसेज, भिडियो र फोटाहरु मेरा मोबाइलमा थिए। तर रोशुको मोबाइलमा के थियो,थाहा भएन। हुन त मैले खोज्ने प्रयास पनि गरिन। म आफू आफ्नै शंकाको घेरामा कैद थिएँ। यो मोबाइलको जात अहिले यही शत्रु, यही मित्रु बनिदिएको छ। सम्बन्ध जुटाएको पनि छ, सम्बन्ध छुटाएको पनि छ।

गफैगफ सुन्ने क्रममा झण्डै मैले चोकको रातो ट्राफिक लाइट क्रस गरेनछु। झ्याप्प ब्रेक लगाएँ। उनी झसँग भइन्। गाडी अलि राम्रो हाक्नु है, उनले मलाइ अलि सजक बनाउँदै गइन्।

ती बहिनीका कुराहरुले मलाई थप कुरा सुन्न उत्सुक बनाउदै थियो। फेरि सोधे त्यस पछि अनि ? उनले फेरि थपीन , अरु त के हुनु र ? भुसको आगो जस्तै राजन दाजु र मेरो बिचमा बिस्तारै बिस्तारै प्रेम सम्बन्ध बढ्दै गयो।मैले थाहै पाइन म कसरी मायाजालमा फसिरहेछु भनेर।

रोशुले पनि मलाइ समय नदिन थाले पछि बिदाको दिन बिस्तारै बिस्तारै म राजन दाइ सङ पार्क , समुन्द्री किनार , रेस्टुरेन्ट सपिङ मल हुँदै हुँदै होटेल र राजन दाइको बेडरुम सम्मै पुग्न थाले। सङै बस्ने, खाने, पिउने सबै हुन थाल्यो तर अलि सजकता सहित।

खाडी आएको झण्डै दुई साल पुगिसकेको थियो। घर देशमा दशै तिहारले छोप्ने बेला हुन लागेको थियो। त्यही बेला पारेर रोशुले नेपाल जाने योजना बनाएछन्। कम्पनीले पनि ६ महिनाको लागि बिदा स्वीकृत गरिदिएछ। नेपाल जाने दिन म बिहानै रोशुलाई बिदाइ गर्न एअरपोर्टसम्म गएँ।

उनै राजन दाइले उहाँकै गाडीमा लागिदिनु भो। जति सुकै धमिलिँदै गएको सम्बन्ध भए पनि सँगै ‘हुनु’ र ‘नहुनु’ फरक चाहिँ हुँदो रहेछ। हातमा सानो सुट्केश बोकेर रोशु डिपार्चर कक्ष तिर लाग्दा अनयासै आँखाबाट आशुको भेल छुटेछ पत्तै पाइन।

रोशुले एक पटक पुलुल्क फर्केर हात हल्लाउँदै बाइ गरे र बिस्तारै आँखाबाट टाढा भए। रोशुलाई भारी मनले बिदाइ गरे पछि राजन दाइ र म गाडि पार्किङ भए तिर आयौं र बिस्तारै आफ्नो आफ्नो रुममा फर्कियौं। गाडीमा खासै धेरै कुराकानी गरेनौं।

म गाडीबाट उत्रने बेला राजन दाइले भन्नू भो- बिनु ,चिन्ता नगर। परदेशको जीवन यस्तै हो। म अबोध बालकले जस्तै मुन्टो हल्लाएँ। मानौं बच्चाको हातबाट खेल्दै गरेको भकुण्डो अचानक खोलामा खसेर बगाए पछि बाबाटले अर्को भकुण्डो किन्दिउला भनेर सान्त्वना दिए पछिको रुन्चे अनुहारको बालक जस्तो गरी।

मेरो ट्याक्सीले मेन हाइवे रोड छोडेर दूतावास तिरको बाटो समायो। मेरो दाहिने सिटको पकेटमा रहेको सानो पानीको बोतल उठाउँदै पानी पिउन संकेत गरे। बैनीले हातको मोबाइल छेउको सिटमा राखेर सानो बोतलको बिर्को परक्क बटारिन् र एक घुट्को पानी घटक्क पिइन्। तपाईं नपिउने? मलाइ सोधिन्।

मैले मुन्टो हल्लाएर नपिउने सकेत दिए। बैनीले भनिन्-‘गर्मी धेरै छ अलि धेरै पानी पिउनु पर्छ दाइ’। मैले हो हो भन्दै कुरामा कुरा थपेँ तर मलाई धेरै पानी पिउन खै किन हो किन सक्दै सक्दिन।

मेरो उत्सुकता अझै सकिएकै थिएन। बाटो अझै केही किलोमिटर बाँकी नै थियो। अनि त्यसपछि ? मैले अरु थप कुरा अगाडि बढाउन भनेँ। उनले फेरि थपिन्–रोशु नेपाल गइ सकेपछि म अलि निर्धक्कसँग राजन दाइसँग घुम्न थालेँ। रोशुको अभावमा राजनलाई झन् बढी माया गर्न थालेँ।

कति पटक म राजन दाइकै रुममा गएर बसे कति रात उतै बिताएँ। उता रोशु नेपाल गएको झन्डै दुई महिना पुगिसकेको थियो। यता अचानक मेरो महिनाबारी चक्र रोकियो। म बिस्तारै आत्तिन थालेँ। शुरुशुरुमा त अनेक उपाय पनि गरेँ, तर केहीले काम गरेन। खासै यो कुरा कसैलाइ पनि सेयर गरिन।

तर पछि राजन दाइलाई सुनाएँ। राजनदाइ पनि आत्तिनु भो, अब के गर्ने होला दुबै जना तनाबमा भयौं। खाडीको यो देशमा अस्पताल गएर एभोर्सन गराउनु भनेको पुरै गैह्र कानुनी कार्य हो। यो त सम्भवनै भएन। आफैंले जे जति औषधि सेवन गरेँ तिनीहरुले कामै गरेन।

मेरो पेट भित्र भएको भ्रुण बिस्तारै बिस्तारै बढ्दै जान थाल्यो। म मा अनेक लक्षण देखिन थाले। केही मन मिल्ने साथीहरुसँग मेरो अवस्थाको बारे बताएँ तर जे गरे पनि म भित्रको भ्रुणलाई मानवीय साकार रुपमा जन्म दिनु भन्दा अन्य बिकल्प रहेन मेरो। केही महिना बित्दै गयो।

मैले मेरो शारीरिक अवस्था लुकाउनको लागि टाइट फिटिङ कपडाका सट्टा म्याक्सि, पाइजामा, ठूला साइजका टप्स आदि कपडाहरु लगाउन थालेँ। उता नेपाल पुगिसके पछि रोशुले पनि फोन उठाउन छोडे। खासै केही कुरा हुन पाँउथेन।

कुरा भैहाल्यो भने पनि मैले यी कुराहरु कसरी गर्न सक्थेँ र? यता दिनदिनै मेरो पेट बढ्न थाल्यो, ड्युटीमा जान असजिलो हुन थाल्यो। म तत्काल नेपाल फर्कने परिस्थिति पनि मिलेन। श्रीमान् श्रीमतीसँगै एउटै देशमा छन् भन्ने भएकोले पनि समाजले त्यति धेरै कुरा काटिहाल्ने अवस्था त थिएन। तथापि बास्तबिकता अर्कै थियो।

मैले कम्पनी परिवर्तन गर्ने निर्णय गरेँ। कम्पनी परिवर्तन भएपछि बाहिर आफ्नै छुट्टै कोठा लिएर एक्लै बस्न थालेँ। खाने, बस्ने सरसमान जोड्ने आदि कुरामा राजन दाइले केही सहयोग भने गरिरहनु भयो।

छ महिनाको लामो बिदा सकेर रोशु पनि घरबाट फर्किसकेछन् तर मसँग कुनै भेटघाट सम्पर्क केही भएन। कोहि साथीमार्फत थाहा पाएँ। मैले उनलाई सम्पर्क गर्ने प्रयास नगरेको पनि होइन, तर भेट्न सकिन। उसको साथीबाट सुनेँ, उ त केही बर्षदेखि नै आफ्नै कम्पनीमा काम गर्ने फिलिपिनो केटीसँग माया प्रेमको चक्करमा थिए रे। एउटा छुट्टै कोठा लिएरसँगै बस्थे रे।

अनि बल्ल मैले थाहा पाएँ। राजनदाइ बिबाहित मान्छे हुन्, उमेरले म भन्दा केही बढी उमेरका छन्, हरेक कुराका सहयोगी बन्न खोज्छन् तर हामी बीचमा बिवाह हुने सम्भावना कतै थिएन। खै कस्तो खाले मायाप्रेम बस्यो थाहा भएन। माया होइन भनौं समर्पण छ, प्रेम भनौं स्वीकार्यता छैन।

बहिनीका कुराको गहिराइमा डुब्न थालेंछु म पनि। बहिनी कुरा सुनाइरहिन्, म सुनी रहें। कसैले स्वस्थानी कथा वाचन गरिरहेछ जस्तो अनि म चाहिँ हातमा फुलपाती लिएर एकाग्र भएर सुनिरहे जस्तो। बहिनी बोल्दै रहिन्। एक दिन बाथरुममा कपडा धुँदै थिएँ, अचानक पेट दुख्न थाल्यो।

असाध्यै दुख्यो खपिनसक्नु भएर। तुरुन्तै राजनदाइलाई कल गरेँ। उहाँ तुरुन्तै आइपुग्नु भयो। एकै छिनमा हामी हस्पिटल पुग्यौं, मलाइ इमर्जेन्सीमा भर्ना लियो। नर्सहरु बच्चा जन्माउनको लागि आवश्यक तयारी तिर जुटे। कागजपत्र तयार हुँदै थिए, एकै छिनमा हुनेवला बच्चाको बाबू र बिबाह दर्ताको प्रमाणपत्र खोजियो तर ती दुबै चिज म सँग थिएन।

यो खाडी मुलुकको नियम अनुसार बिना बिबाह दर्ता र हुनेवाला बच्चाको बाबुको उपस्थिति बिना बच्चा जन्माउनु गैह्र कानुनी हुँदो रहेछ। मलाइ हुँदै गरेको प्रश्रव पीडा भन्दा पनि आवश्यक कागजी प्रक्रियाको जोहोको चिन्ता र पीडा बढी भयो। मेरो टाउको भारी भयो, दिमागमा नराम्रो झट्का लाग्यो। केही सोच्नै सकिन। यही कागजात खोज्दै गरेको अवस्थामै म र मेरो जन्मन लागेको बच्चा दुबै एकैचोटि मर्न पाए नि हुन्थ्यो भन्ने सोच आयो।

त्यस्तो भैदिए त न केही चिन्ता, न केही झमेला तर सोचे जस्तो सजिलो कहाँ छ र मर्नलाई। त्यति नै बेला मेरो पराजित मनले सोच्यो– “यहाँ न त बाच्न सजिलो छ-न मर्न लाई’। हुन त यो परिस्थिति आउनुमा मेरो पनि ठूलो गल्ती छ, तथापि म मात्रै सजायको भागिदार हैन।

भित्रबाट कसैको आवाज सुने ,यो बिरामीको सम्बन्धित मान्छेलाई तुरुन्त बोलाउनु पर्यो नत्र पुलिसमा खबर गरी उनीहरुको सहारा लिनु पर्छ। मैले हातको मोबाइलमा रोशुको नम्बर दबाए। फोन लागेन। रोशु बाहेक अरु कसैबाट यो समस्या समाधान हुने वाला थिएन।

उसको साथी सुजनलाई फोन गरें र तत्काल रोशुलाई भेटेर मलाइ कल गर्न भने। सुजनले कन्फिरेन्स कलमा रोशु र मलाइ जोड्यो। मैले रोशुलाई सबै कुरा सुनाएँ। ऊसँग बिन्ती गरेँ, अनुनय गरेँ, भोलिको अवस्था जे सुकै आउला सहुँला तर तिमीलाई दुख दिने छैन, यो पापको भारी बोकाउने पनि छैन तर अहिलेको परिस्थितिमा म र यो जन्मने वाला अबोध शिशुको प्राण रक्षा गरि दिन अनुरोध गरेँ। कसम खाएँ, बाचा गरेँ।

एकैछिन हस्पिटलसम्म आएर यो पापको साक्षी बसी यो जीवनमरणको युद्धबाट उम्काइदिन अनुरोध गरेँ। रोशुले लामो सुस्केरा हाले। लामो कुरा केही बोलेनन्। म एकैछिन पछि आइपुग्छु भने र फोन काटे। नभन्दै केही समय भित्र मै रोशु हस्पिटल आइपुगे हाम्रो बिबाह दर्ताको प्रमाणपत्र बोकेर।

अनि त्यहाँ जन्माउनु अघि हस्ताक्षर गर्नु पर्ने थुप्रै तयार पारिएका कागजातहरुमा हस्ताक्षर गरिदिए। मलाइ ठूलो मुक्ति मिल्यो। उसले हस्ताक्षर गर्दा लेखेको मसी मेरो प्राण बचाउन चलेको रगत जस्तो लाग्यो। मलाइ एक पटक उसको मुख हेर्ने ठुलो इच्छा जाग्यो। मिल्ने भए गर्लाम्म अंगालो हालेर चप्प गालामा म्वाइ खाइदिन पाए हुन्थ्यो जस्तो लाग्यो। तर त्यो सम्भव भएन।

उनी हस्पिटल आए, सबै प्रकृया पूरा गरे र मलाइ नभेटी फर्किए। यी सबै घटनाक्रम चली रहँदासम्म राजनदाइ हस्पिटलकै परिसरमा त्यतै कतै थिए। उनीहरु दुइको भेट भयो कि भएन कुन्नि तर राजनदाइले चाहिँ हाम्रो भेट भएन भने। मैले पत्याइन।

एकै छिनमा मलाइ प्रसुती वार्डमा लगियो। बच्चा जन्मियो। छोरा जन्मियो। संसार हेर्न आएको छोरो। पहिलो पल्ट आँखा खोल्यो, च्या गरेर करायो । एकपल्ट मेरा आँखाबाट बरर आँसु बगे तर खै कसरी आयो अकस्मात आँसु? किन आयो? के सोचेर आयो, थाहै पाइन।

डाक्टरहरुको सल्लाह अनुसार म एक महिना अस्पतालमै बसेँ। एक महिना भरी मन भरी दर्जनौं कुरा खेलिरहे। कहाँ जाने? कसो गर्ने? आदि। हस्पिटल कै बसाईमा एक जना च्यारिटीसँग आवद्ध मेडमसँग भेट भयो।

मैले मेरा सबै कुराहरु राखेँ। उहाँले तीन बर्ससम्म यो बच्चालाई च्यारिटीमा राखेर हुर्काउन बढाउन मिल्ने कुरा बारे जानकारी दिनु भयो। निकै भारी मनका साथ मैले मेरो बच्चालाई च्यारिटीमा जिम्मा लगाएँ।

बाहिर गर्मी निकै बढिरहेको थियो। बाटोको छेउको सुपरमार्केट छेउमा ट्याक्सी रोकेँ, मार्केट भित्र पसेर दुई क्यान पेप्सी लिएर आएँ। एउटा आफैंले खोलें र पिउन थालें, अर्को पेप्सी ती बहिनीलाई दिएँ।

उनले पनि क्यान खोलेर पिउन थालिन्। एकोहोरो बोलिरहँदा उनको घाँटी सुके जस्तो महसुस भयो। उनी बोलिरहन्थिन्, म बेला बेला अ अ भन्दै सुनिरहन्थे। मैले फेरि कुरा कोट्याएँ, अनि अहिले सानो बाबू कहाँ छ त?

उनले भनिन्, ‘अहिलेसम्म पनि उ च्यारिटी कै संरक्षणमा छ। मैले उसलाई च्यारिटीमा जिम्मा लगाएँ अनि पछि म एउटा अरबीको घरमा काम गर्न थालेँ। अहिले पनि त्यहीँ बस्छु, त्यहीँ खान्छु। घर भित्रको काम भएकोले म त्यति बाहिर निस्कने भन्ने हुँदैन।

बिस्तारै बिस्तारै राजन दाइसँग पनि सम्पर्क टुट्यो। कुराकानी हुन पनि छोड्यो। पछि थाहा पाएँ। उहाँ पनि जागिर क्यान्सिल गरेर नेपाल गइ सक्नु भएछ। आजकल मलाइ असाध्यै त्यो बच्चाको माया लागेर आउँछ, सारै याद आउँछ। म त्यो बच्चा लिएर नेपाल फर्कन चाहन्छु।

दुःख सुख जे जसरी भए पनि उसलाई हुर्काउँछु पढाउँछु, मेरै नामबाट नागरिकता निकाली दिन्छु। मैले च्यारिटीबाट बच्चा निकालेर लैजान्छु भन्ने कुरा रोशुको साथीलाइ सुनाए। सायद उसले रोशुलाई भन्दिए होलान्। रोशुले मलाइ एकदिन कल गरेर भने, त्यो बच्चा मेरो हो, म लैजान दिन्न।

म अन्यौलमा परेँ। के गर्ने? के नगर्ने? कानूनी प्रकृया के छ? कसरी लान सकिन्छ? कसैले मलाइ सल्लाह दियो- “ तपाईं नेपाली दूतावास जानुस् र सबै विवरण सुनाउनुस्’ अनि उहाँहरुको सल्लाह अनुरुप अगाडि बढ्नुस्। म आज त्यही सल्लाह लिन जान लागेको हो नेपाली दूतावास।

ट्याक्सी बिस्तारै साँघुरो बाटो तिर मोडेँ मैले, अलिपर नजिकै नेपाली झण्डा फहराइरहेको नेपाली दूतावास देखियो। नजिकै गेटमा पुर्‍याएर ओर्लन भने। उनले काधमा बोकी राखेको ब्यागको भित्री गोजीबाट पचास रियालको नोट निकालेर दिइन्।

मलाई पैसा समात्न असजिलो लाग्यो। पेशाले म ट्याक्सी चालक हुँ, मेरो कमाइ नै यही हो तैपनि यी कहानी सबै सुनिसकेपछि मलाइ उनीसँग बाट भाडा भनेर पैसा लिन मन लागेन। मैले भने ,“आजलाइ भयो पैसा पर्दैन, अर्को पटक संयोगले भेटियो भने लिउँला।

उनी पीडा मिसिएको अलिकती हाँसो फुस्काउँदै गेटबाट भित्र छिरिन्। म एकछिन टोलाएर त्यही पार्किङमै बसिरहेँ। अर्को एकजना नेपाली प्यासेन्जरनै गाडीको नजिकै आएर सोधे – दाइ, मलाइ सिटी सेन्टर लगिदिनुस्। मैले हुन्छ भने अनि प्यासेन्जर लिएर म सिटीसेन्टर तर्फ हुइकिएँ। बाटो भरी तिनै बहिनीको घटनाक्रम याद आइरह्यो।

दूतावासबाट के सल्लाह पाइन् होला? त्यो बच्चा लिएर उनि घर फर्केलिन् कि अझै खाडीमा अरु दुई चार बर्स बिताउलिन्? मन भरी यस्तै यस्तै कुराहरु आइरहे। प्रश्नै प्रश्नको बीचमा अर्को माउ गम्भिर प्रश्न आएर थपियाे- “आखिर दोषी को त “ ?


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/666940/

ओखलढुङ्गा। यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छन्।

बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए। निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए। जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ।

३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन्।


सामाग्री श्रोत :

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

इटहरी (सुनसरी)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताएका छन्।

आज नेपाल तामाङ संघ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पारे।

महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राखे। उनले भने, ‘हाम्रो कांग्रेस मध्यमार्गी पार्टी हो। अधिकार दिने, समावेशीकरण गर्ने, चेतना फैलाउने, प्रशिक्षण दिने र आफू सुधारिने बाटोमा पार्टी अघि बढेको छ।’

संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिकस्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताए। ‘कसैलाई लाग्न सक्छ अधिकार खुम्चिन्छ, तर त्यस्तो हुँदैन । लेखिएको अधिकार अझै बढ्छ, घट्दैन’, उनले भने।

थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेस सबैलाई अटाउने क्षमता राख्छ।’


सामाग्री श्रोत :

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

ढोरपाटन (बागलुङ)। आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ। दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए। घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो। जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए।


सामाग्री श्रोत :

बागलुङ जिप दुर्घटना अपडेट: घाइते तथा मृतकको पहिचान खुल्यो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उनहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायुु परिवर्तनका लागि विश्व समुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुुनः निर्माणका काममा लाग्नुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिका लागि लागिएकाले यसमा बैंकजस्ता संस्थाको सहयोग आवश्यक हुने बताए।

प्रमुख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाए। उनले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए। भेटका अवसरमा प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो।


सामाग्री श्रोत :

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको भेट

कास्की। पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन्। पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन्।

पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा सहज जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो। पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा हराएको हो।

यसअघि पोखरामा केही साताअघि सम्पन्न भएको नवौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ।

यसैगरी एपिएफले न्यू डायमण्डलाई सोझो सेटमा हराएको हो। एपिएफले २५–१७, २६–२४ र २५–१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो। नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखि सुरु प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।


सामाग्री श्रोत :

राष्ट्रिय महिला भलिबलः पुलिस र एपिएफ फाइनलमा

 

काठमाडौँ । उद्यमशीलता प्रवर्द्धन गर्ने बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ यही १८ असारदेखि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनले बिहीबार सामाजिक सञ्जालमार्फत यो शोको प्रसारण मिति घोषणा गरेको हो ।

हिमालय टेलिभिजनमा हरेक बुधबार र बिहीबार राति ९ बजे प्रसारण हुने यस कार्यक्रममा लगानीकर्ता अर्थात् ‘शार्क’का रूपमा पाँच जना प्रतिष्ठित उद्योगीहरू रहेका छन् । शार्कहरूमा आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।

सन् २०२२ मै घोषणा गरिएको यो कार्यक्रम कोभिड महामारी र अन्य विविध कारणले रोकिएको थियो । करिब तीन वर्षको प्रतीक्षापछि सोमबार यसको प्रसारण मिति औपचारिक रूपमा घोषणा गरिएको हो ।

‘शार्क ट्याङ्क नेपाल’ले देशमा लगानीको वातावरण सिर्जना गर्ने, रोजगारीका अवसर बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ । विश्वभरका ३०० भन्दा बढी ‘शार्क’हरूको सञ्जालमा जोडिएर नेपाली उद्यमीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन थप बल पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १३:१३





सामाग्री श्रोत :
टेक पाना

काँक्रेविहार (सुर्खेत)। भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

नलगाड नगरपालिका–८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो। रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड–७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।


सामाग्री श्रोत :

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । युट्युब च्यानलमार्फत एक युवतीको चरित्रहत्या गरेको आरोपमा शर्मिला श्रेष्ठ (राई) सहित विशाल खबर (Bishal Khabar) का सञ्चालक पासाङ तामाङ र जुम टिभी नेपाल (Zoom Tv Nepal) की सञ्चालक विनिता कुँवर क्षेत्रीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । १३ जेठ, २०८२ मा दर्ता भएको अभियोगपत्र अनुसार एक युवतीले शर्मिला श्रेष्ठविरुद्ध साइबर ब्युरोमा गएको ४ जेठ, २०८२ मा उजुरी दिएकी थिइन् ।

उजुरीमा भनिए अनुसार, शर्मिला र पीडित युवतीबिच करिब दुई वर्षअघि टिकटकबाट चिनजान भई आपसी लेनदेन र सह-सहयोग पनि हुन्थ्यो । पछि सोही लेनदेनको विषयमा विवाद हुँदा शर्मिलाले पीडित युवतीलाई कुटपिट गरी सख्त घाइते बनाई अस्पताल पुर्‍याएको तथा युट्युबमार्फत चरित्रहत्या हुनेगरी भिडिओ अन्तर्वार्ता दिएको/अपलोड गरेको आरोप छ । 

शर्मिला श्रेष्ठको विवादास्पद भिडिओ अन्तर्वार्ता पासाङ तामाङको ‘विशाल खबर’ र विनिता कुँवर क्षत्रीको ‘जुम टिभी नेपाल’ च्यानलबाट प्रसारण गरिएको थियो । ती भिडिओमा ‘…ले भुँ… बोकेर पाएको छोरी हो, यसको भिडिओ छ’ भन्ने अभिव्यक्ति राखिएको अभियोगपत्रमा उल्लेख छ । यसबाट आफू र आफूले पालेको नाबालक बच्चासमेतको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने र चरित्रहत्या गर्ने काम गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

मुद्दा दर्ताका बेला युट्युबरहरू पासाङ तामाङ र विनिता कुँवर क्षेत्रीलाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएकोमा पछि उनीहरू सम्पर्कमा आएपछि गएको १९ जेठमा थुनछेक बहसमार्फत अदालतले  जनही २५ हजार रुपैयाँ धराैटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त मुद्दामा आउँदो २२ असारमा सुनुवाइको मिति तोकिएको छ । ​​

बयानका क्रममा प्रतिवादी शर्मिला श्रेष्ठले पीडित भनिएकी युवतीले आफूलाई ‘अरू केटाहरूसँग पनि हिँड्ने’ भन्दै आरोप लगाउने गरेको, केटा मानिसहरूसँग बोल्दा मात्र पनि भिडिओ बनाएर विदेशमा रहेका आफ्नो श्रीमानलाई पठाएर झगडा गराई दिने गरेको, र आफ्नै श्रीमानबाट जन्मिएका एक छोरा र एक छोरीलाई पनि ‘एउटा बच्चा एक जनाबाट, अर्को अर्कोबाट जन्मिएको हो’ भन्दै झुटो आरोप लगाउने गरेको बताएकी छिन् । उक्त कार्यले आफूलाई असह्य भई युट्युब च्यानलमार्फत अन्तर्वार्ता दिएको भन्दै उनले गल्ती स्वीकार गरेकी छिन् ।

तीनै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिमको कसुरमा अभियोगपत्र दायर गरिएको हो । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यसका साथै ‘गोल्डेन टिभी’ नामक युट्युब च्यानलले पनि शर्मिला श्रेष्ठको अन्तर्वार्ता प्रसारण गरेको र त्यसको विवरण खुल्न नसकेकोले भविष्यमा थप प्रमाण वा संलग्नता खुलेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ अनुसार थप अभियोग पत्र पेस गरिने उल्लेख छ ।

*समाचार अपडेट गरिएको छ । स.

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १६:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकसहितका कर्मचारीलाई आज नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु एक लाख ८५ हजार नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनीहरूलाई यातायात व्यवस्था कार्यालय परिसरबाट रु एक लाख ८५ हजार नगदसहित नियन्त्रणमा लिइएको हो।

यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीलाई पास गराउन रकम लिने गरिएको तथा सवारीको वर्गअनुसार रु १५ हजारदेखि २५ हजार लिएर असफल प्रशिक्षार्थीलाई पास गराउने गैर कानुनीकार्य भएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण मोबाइल ३१ थानभन्दा बढी, ल्याप्टप दुई थान र अन्य कागजातसमेत आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए।


सामाग्री श्रोत :

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय भरतपुरका सहायकसहितका कर्मचारी नियन्त्रणमा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट