
काठमाडौं, घरेलु श्रम गर्न विदेश जानेहरुलाई सुरक्षित बनाउन सरकारी प्रकृया मार्फत पठाउनु उपयुक्त हुने सरोकारवालाहरुले बताएका छन् । ईजरायलमा जस्तै गरी सम्झौता गरेर सरकारी प्रकृया मार्फत नै पठाउँदा श्रमिकहरुको हकहितको रक्षा हुने उनीहरुको भनाई थियो ।
अन्तराष्टिय घरेलु श्रमिक दिवसको सन्दर्भमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको छलफलमा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले रोके पनि घरेलु श्रमका लागि जाने महिला तस्करको माध्यमबाट विदेश पुगिरहेको बताइन् । उनले रोक्नु समस्या समाधानको बाटो नभएको भन्दै गन्तव्य मुलुकको सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी प्रकृया मार्फत नै श्रमिक पठाउने व्यवस्था गर्न जरुरी रहेको बताइन् । घरेलु श्रम गर्न जानेहरुलाई तालिम दिएर तथा सरकारी संयन्त्र मार्फत पठाउनु पर्नेमा जोड दिंदै उपसभामुख रानाले सरकारी निकायहरुबीच प्रभावकारी समन्वयको खाँचो औंल्याइन् ।
सो अवसरमा बोल्दै सांसद रमा कोइरालाले हाल कुवेतमा ४८ हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको भन्दै ति कसरी त्यहाँ पुगे भनेर प्रश्न गरिन् । उनले भन्नि, हामीलाई रोजगारी चाहिएको छ, गन्तव्य मुलुकलाई पनि त श्रमिक चाहिएको छ । यसले दुवै सरकारको अवस्था उस्तै रहेको भन्दै बलियो कुटनीतिक पहलको खाँचो रहेको उनको भनाई थियो । अहिले प्रविधिको जमाना रहेको भन्दै साँसद कोइरालाले कुन श्रमिक कहाँ छ भनेर पत्ता लगाउन धेरै समस्या नहुने बताइन् ।
सो छलफलमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले गन्तव्य मुलुक पुगेका अधिकांश महिलाहरू जोखिममा रहेकाले सुरक्षा सुनिश्चितता गरेर पठाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, रोजगारीका लागि विदेश पुगेका महिला मात्रै होइन, पुरूषहरू पनि जोखिमपूर्ण काम गर्न बाध्य छन् । दुई देशका सरकारीबीच समझौता गरेर सरकारी प्रकृया मार्फत नै पठाउन सकिएमा नेपाली श्रमिक सुरक्षित हुनेमा उनको पनि जोड थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्त बहादुर बोहराले सरकारले कामदारको सुरक्षा ग्यारेन्टीका लागि काम गरिरहेको बताए। उनले सरकारले आइएलओ महासन्धि १८९ र महासन्धि १९० अनुमोदनका लागि अध्ययन गरिरहेको बताए ।
सो अवसरमा आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले घरेलु श्रमिकलाई बन्देज लगाउँदा आइपरेको समस्या, आइएलओ महासन्धि १८९ र महासन्धि १९० अनुमोदनको आवश्यकता लगायतका विषयमा जानकारी गराइन् । सो अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जिवी बराल, आमकास नेपालकी अध्यक्ष गंगा लिम्बू, पौरखी नेपालकी सचिव सिन्धु अर्याल, घरेलु श्रम गरेर फर्केकी दिलु गजमेर लगायतले मन्तव्य राखेका थिए ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । इरानको सरकारी स्वामित्वमा रहेको बैंक सेपाहको प्रणालीमा साइबर आक्रमण भएको छ । ‘गोनजेश्के दारान्दे’ (Predatory Sparrow) नामक ह्याकर समूहले सामाजिक सञ्जालमार्फत बैंकको डेटा नष्ट गरेको जानकारी दिएको हो । यस समूहले आफूले साइबर आक्रमण गर्नुको कारण बैंकले इरानी सेनालाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।
यो हमला इजरायल र इरानबिच पछिल्लो समय बढ्दै गइरहेको तनावका दौरान भएको हो । रोयटर्सका अनुसार बैंक सेपाहको वेबसाइट मंगलबारदेखि अफलाइन छ । बैंकको बेलायतस्थित सहायक संस्था ‘बैंक सेपाह इन्टरनेसनल पीएलसी’ले भने यसबारे टिप्पणी गरेको छैन । इजरायली मिडियाहरूका अनुसार बैंकका ग्राहकले आफ्नो खातामा पहुँच पाउन सकेका छैनन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का पूर्वसाइबर सुरक्षा प्रमुख रोब जोयसले बैंकको कोषमा पहुँच अवरुद्ध गरिनु वा इरानी बैंकप्रति विश्वासको संकट सिर्जना हुनु देशको अर्थतन्त्रका लागि खतराको विषय रहेको बताएका छन् ।
यसअघि सन् २०२२ मा ‘गोनजेश्के दारान्दे’ समूहले नै इरानको स्टिल उत्पादन कारखानामा साइबर हमला गरेको थियो । उक्त हमलाबाट कारखानामा ठुलो आगलागीसमेत भएको थियो । सुरक्षा विज्ञहरूका अनुसार यस्ता हमला सामान्य ह्याकरहरूको पहुँचभन्दा बाहिर हुने हुँदा राष्ट्र-समर्थित साइबर आक्रमण हुनसक्ने अनुमान गरिएको छ ।
साइबर सुरक्षाविद्हरूका अनुसार सन् २०२१ मा इरानभरका पेट्रोल पम्पहरूमा सेवा अवरुद्ध हुने गरी भएको आक्रमणमा पनि यही समूहको संलग्नता रहेको थियो । यद्यपि, इजरायलले आफू यस समूहसँग जोडिएको औपचारिक पुष्टि गरेको छैन । तर, इजरायली सञ्चारमाध्यमहरूले ‘गोनजेश्के दारान्दे’लाई इजरायल सरकार समर्थित भनेर उल्लेख गर्दै आएका छन् ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ ७:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा छ ।
यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा छ । बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा रहेको छ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को मुख्यालयमा आक्रमण गरेको छ । समाचार प्रत्यक्ष प्रसारण भइरहँदा सोमबार टेलिभिजन च्यानललाई नै लक्षित गरी आक्रमण भएपछि मध्यपूर्वमा इरान र इजरायलबिचको द्वन्द्व थप चर्किएको छ ।
इरानको राजधानी तेहरानमा रहेको आईआरआईबी मुख्यालयमा इजरायलले हवाई आक्रमण गरेको हो । समाचार वाचिका सहार इमामीले ‘देशमाथिको आक्रमण’ भन्दै प्रतिकार जनाइरहेकै बेला एक्कासि विस्फोटको ठुलो आवाज आएको थियो । धुँवा र भग्नावशेष भरिएको दृश्य देखिएपछि उनी स्टुडियोबाट भाग्दै गरेको फुटेज प्रसारण भयो । त्यसपछि ‘अल्लाहू अकबर’ (ईश्वर महान् छन्) भन्दै गरेको आवाज सुनिन्छ । उक्त भिडिओ अहिले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइल भइरहेको छ ।
इरानी सञ्चारमाध्यमले यस घटनाबाट कम्तीमा एक कर्मचारीको मृत्यु भएको जनाएका छन् ।
इजरायली सेनाले यो आक्रमणलाई आफ्नो ‘अपरेसन राइजिङ लायन’ को हिस्सा भएको बताएको छ । इजरायली सेनाले उक्त टिभी भवनलाई इरानी सशस्त्र बलले नागरिक गतिविधिहरूको आवरणमा प्रयोग गरेको, केन्द्रको पूर्वाधार र सम्पत्तिको सैन्य प्रयोगलाई लुकाएको आरोप लगाएको छ । यद्यपि, उसले यसको लागि कुनै प्रमाण पेस गरेको छैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कारबाहीको मुख्य उद्देश्य इरानको सैन्य र आणविक संरचनालाई कमजोर बनाउनु रहेको दाबी गरेका छन् ।
यता इरानको विदेश मन्त्रालयले यो आक्रमणलाई दुष्ट कार्यको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघलाई कारबाहीको माग गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सञ्चारमाध्यममाथिको सीधै आक्रमण युद्ध अपराध भएको भन्दै यो घटनाको भत्सर्ना गरेका छन् । उनले यसलाई सत्यमाथिको आक्रमण भन्दै अन्तर्राष्ट्रिय समुदायले इजरायलको जवाफदेही माग्नुपर्ने बताएका छन् ।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) ले अक्टोबर २०२३ यता गाजामा इजरायलद्वारा १७८ पत्रकारको हत्या भएको उल्लेख गरेको छ । इरानका लागि संयुक्त राष्ट्रसंघका राजदूत अमिर सइद इरावानीले इरानी टिभी स्टुडियोमा भएको हमलालाई प्रेस स्वतन्त्रतामाथि सीधा आक्रमण भनेका छन् भने इजरायललाई सत्यको मुख्य शत्रु भएको आरोप लगाएका छन् ।
🚨 BREAKING: The moment the Iranian TV station was hit live on air pic.twitter.com/4TUxcQpeP8
— Mahyar Tousi (@MahyarTousi) June 16, 2025
पछिल्लो अध्यावधिक: असार ३, २०८२ ८:३२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । विद्युतीय सवारी निर्माता सेरेसको बिक्री दोहोरो अंकले बढेको छ । हालै सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२५ को अप्रिल महिनामा कम्पनीले ३१ हजार ४८८ युनिट न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्री घटे पनि लक्जरी ईभी मोडेल ‘एम९’ र ‘एम८’ का कारण अप्रिल महिनामा आएर बिक्री उल्लेख्य बढेको कम्पनीले जनाएको छ ।
सेरेसले चीनको चोंगकिङस्थित लियाङजियाङ न्यू एरियाबाट सञ्चालन गर्दै आएको छ । कम्पनीले ह्वावेसँगको सहकार्यमा इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि सहितको एम९ मोडेल बजारमा ल्याएको थियो । यो मोडेलले बीएमडब्लू र मर्सिडीज-बेन्ज चढ्ने वर्गलाई समेत आकर्षित गरेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार एम९ को मूल्य करिब पाँच लाख युआन (झन्डै ६९ हजार अमेरिकी डलर) पर्छ । यसले लगातार ११ महिना चीनको लक्जरी ईभी श्रेणीको बिक्रीमा अग्रस्थान कायम राखेको कम्पनीको भनाइ छ । मार्चमा अपडेट गरिएको एम९ को नयाँ संस्करणको डेलिभरी र अप्रिल १६ मा सार्वजनिक गरिएको एम८ मोडेलका कारण पुनः बजारमा चासो बढेको हो ।
अप्रिलमा मात्र १३ हजार १४९ युनिट एम९ बिक्री भएको कम्पनीले जनाएको छ भने नयाँ एम८ मोडेलले सार्वजनिक भएको केही सातामै ७० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गरिसकेको छ ।
एम८ मा लिडार प्रविधि, हर्मोनी ओएस ककपिटजस्ता विशेषता समावेश छन् भने यसको मूल्य एम९ भन्दा करिब एक लाख युआन कम छ ।
सेरेसले सन् २०२४ मा ४ लाख २६ हजार ८८५ युनिट एनईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो ।
चीनको अटोमोबाइल संघको तथ्यांक अनुसार सन् २०२५ को अप्रिलमा मात्रै चीनभर १२ लाख २६ हजार एनईभी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४४.२ प्रतिशत बढी हो । सो अवधिमा चीनमा बिक्री भएका कुल सवारी साधनमध्ये ४७.३ प्रतिशत एनईभी रहेका थिए ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १०:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– दक्षिणी गाजामा राहत वितरण स्थल नजिकै इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ५१ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली सेनाले खान युनिसमा सहायता स्थल नजिकैको भीडमा गोली चलाउँदा अन्य दुई जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यो गाजामा सहायता वितरण स्थलहरू नजिकै भइरहेका दैनिकजसो गोलीबारीहरूमध्ये पछिल्लो र सम्भावित रूपमा सबैभन्दा घातक हो ।
खान युनिसको पूर्वमा रहेको राहत वितरण स्थल नजिकै विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत पीठो पाउने आशामा भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले गोलीबारी गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
हिजो संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले इजरायलले खानालाई हतियार बनाएको बताउँदै राहत वितरण केन्द्रहरू नजिकै भएको गोलीबारीको अनुसन्धान गर्न आह्वान गर्नुभएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । कुनै पनि स्थानको सही ठेगाना हुनुको अर्थ त्यहाँसम्म पुग्न सहज हुनु मात्र होइन । सही ठेगानाले सहरी विकासका कार्यहरूलाई सरल बनाउन सहयोग गर्छ, पिछडिएका क्षेत्रहरू पहिचान गर्न र तिनका स्रोत तथा साधनहरूलाई व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । यसका अतिरिक्त ठेगानाको महत्त्व कर सङ्कलन, मतदाता दर्ता, ट्रयाकिङ, अनलाइन डेलिभरीजस्ता सेवामा झन् बढ्दै गएको छ ।
यस्ता कार्यलाई सहज बनाउन विकसित गरिएको प्रणाली हो: डिजिटल मेट्रिक ठेगाना प्रणाली । यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउन्डेसन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजनामार्फत यो सेवा उपलब्ध गराइएको हो । यसका लागि नक्साले प्रणाली व्यवस्थापनको काम गरिरहेको छ ।
यो प्रणालीमार्फत डिजिटल घर नम्बर तयार गर्न सकिन्छ । जसले प्रत्येक घरमा बस्ने मानिसहरूको संख्या, सो घरका व्यक्तिहरूले पाउनुपर्ने सार्वजनिक सुविधा लगायत बाटोघाटोको अवस्था लगायतको सटीक जानकारी दिन्छ ।
नक्साका प्रोजेक्ट कोअर्डिनेटर कुन्दनजंग थापाका अनुसार यस प्रणालीमार्फत प्रत्येक घरमा डिजिटल ठेगाना तयार गरिन्छ । जसअन्तर्गत एउटा घरको एउटा युनिक कोड हुन्छ । “उक्त कोड प्रयोग गरेर आफ्नो क्षेत्रमा बसोबास गर्ने नागरिकको जानकारी पालिकाले सहजै पाउन सक्छ । यस्ता तथ्याङ्क प्रयोग गरेर पालिकाले आफ्नो आगामी योजनाहरू पनि तयार गर्नसक्छन्,” उनले भने ।
हाल यो प्रणाली काठमाडौँको टोखा नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा लागु भइरहेको छ । प्रणालीबाट प्राप्त तथ्याङ्कले पछिल्लो समयमा बढ्दै गइरहेको सहरीकरण व्यवस्थापन र विकासको गतिलाई समात्न सघाउने जनकपुरधाम उपमहानगरपालिकाका भूमि व्यवस्था शाखाका सर्वेक्षक रत्नकुमार साह बताउँछन् ।
यो प्रणालीले सबैभन्दा धेरै सहज त पालिकाका प्राविधिकहरूलाई बनाएको छ । पालिकाका प्राविधिकहरूलाई विभिन्न नक्साङ्कन लगायतका कामहरूका लागि फिल्डमा गइरहनुपर्ने हुन्छ । उनीहरूले फिल्डमा गएर नक्सा अनुरूप काम भइरहेको छ वा छैन लगायतका कुराहरूको पनि निगरानी राख्नुपर्ने हुन्छ । यस्तोमा पटक-पटक फिल्डमा जानुपर्ने तथा सेवाग्राहीलाई भेटिरहनुपर्ने झन्झट यो प्रणालीले हटाएको छ ।
उपमहानगरकी इन्जिनियर सोनाली कुमारी साह भन्छिन्, “फिल्डमा गइरहनुपर्ने झन्झट हटेको छ । यस प्रणालीमार्फत कहाँ नक्सा के कस्तो भनेर थाहा हुन्छ । अर्कोतिर कतै जानुपर्ने भयो भने सोधी सोधी जानुपर्दैन । घर नम्बरको आधारमा कुन घर कहाँ छ भनेर ठ्याक्कै पत्ता लगाई ठाउँमै पुग्न सकिन्छ ।”
यति मात्र नभइ उक्त क्षेत्रमा रहेका बैंकहरूले घर नक्सा भर्नुपर्ने फारममा घर नम्बर मात्र लेखे पुग्ने व्यवस्था गरेको उनले बताइन् । साथै यो प्रणालीले घरजग्गालाई लिएर नागरिकबिच हुने विवादलाइ समेत समाधान गरेको उनी सुनाउँछिन् । कतिपय अवस्थामा पालिकाहरूलाई आफ्नो क्षेत्र कहाँसम्म हो, वडाहरूको सीमाना कहाँसम्म पर्छ भन्ने यकिन पनि हुँदैन । यस्तो अवस्थामा पनि फिल्डमा नगई प्रणालीमै हेरेर काम अगाडि बढाउन सकिएको साहले बताइन् ।
अर्कोतिर, आफ्नो क्षेत्रमा कुनै समस्या पर्यो अथवा कुनै पूर्वाधार विकास तथा मर्मतका काम गर्नुपर्यो भने यसै प्रणालीमार्फत जानकारी लिई तुरुन्त समाधानका एक्सन लिन सकिने वडा नं ७ का वडा सदस्य फुलकुमारी साह बताउँछिन् । यो प्रणालीले स्थानीय तहहरूको निर्णय गर्ने क्षमतालाई थप प्रभावकारी बनाएको उनको भनाइ छ।
“अब वडाबासीले फोन गर्छन्, ‘फूलकुमारी दिदी, यहाँ आगलागी भयो रे’ । म तुरुन्त सोध्छु, ‘घर नम्बर कति हो ?’ ‘सडक नम्बर ७, घर नम्बर २२५ ।’ अनि तुरुन्त नगरपालिकालाई जानकारी दिन्छु र सेवा त्यहीँ पुग्छ,” उनले भनिन्, “वडा सदस्यको नाताले नागरिकलाई छरितो सेवा दिन सहज भएको छ ।”
उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह यो प्रणालीका कारण आफ्नो क्षेत्रमा कति घरधुरी छन्, कतिले नक्सा पास गरेका छन् लगायत कर संकलनमा सहजीकरण हुनेमा विश्वस्त छन् । “कति घरधुरी छ, कति नक्सा पास गरेको छ, कतिले अनुमति लिएको छ कि छैन, यस्ता कुराहरू थाहा पाउन सकिएको छैन,” उनी भन्छन्, “हामीसँग अहिलेसम्म धेरै घरहरूले नक्सा पास गराएका छैनन्, कर प्रणालीमा छैनन् । अब यो प्रणालीले सबैको विवरण दर्ता गरेर कर संकलन र कारबाही सहज बनाउनेछ ।”
कुनै पनि सहरको विकास हुँदै गर्दा त्यहाँको भौतिक, आर्थिक सामाजिक लगायतका विकासका लागि तथ्याङ्क महत्त्वपूर्ण हुने र यसका लागि यो प्रणालीले भूमिका खेल्ने डेटा फर डेभलपमेन्टका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित बताउँछन् ।
उनी भन्छन्, “सहर समयसँगै कसरी परिवर्तन हुँदैछ ? जनसंख्या कसरी बढ्दैछ ? सामाजिक अन्तरक्रिया कहाँ भइरहेको छ ? यी सबै बुझ्न डेटा अपरिहार्य हुन्छ । यस प्रणालीले सहरको समग्र विकास योजना बनाउन सहयोग पुर्याउँछ।”
यो प्रणालीले स्थानीय तहहरूलाई योजनाबद्ध रूपमा पूर्वाधार विकास गर्न मद्दत गर्ने र नागरिक सेवाहरूलाई पनि प्रभावकारी बनाउन टेवा पुग्ने डेटा फर डेभलपमेन्ट परियोजनाको अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १६:५०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ ।
स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले ४ चौका प्रहार गरे।
लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।
बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो ।
नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।
बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए ।
अब नेपालले सिरिजान्तर्गत आफ्नो तेस्रो खेल नेदरल्यान्डससँग बिहीवार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । साइबर ब्युरोले सञ्चारकर्मी दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै ब्युरोले यथाशीघ्र प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।
“…प्रस्तुत विषयमा परिवर्तित नाम साइबर ब्युरो ५९ (२०८१/८२) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईँ भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाई विरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुऱ्याई दिनु हुन अनुरोध गरिएको छ,” सूचनामा भनिएको छ ।
यो प्रकरण पाठकद्वारा सञ्चालित ‘टफ टक’ कार्यक्रमअन्तर्गत ‘टफ एक्स्प्लेनर’ शृङ्खलाको एक रिपोर्टसँग जोडिएको छ । उक्त रिपोर्टमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो । यसलाई ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै उनी विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
यसअघि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञाका लागि निवेदन दर्ता गराएका थिए । अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएको छ भने सो समयसम्म उनलाई पक्राउ नगर्न आदेशसमेत दिएको छ ।
यस विषयमा पत्रकार महासंघ, विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सरोकारवालाले सरकार र प्रहरी प्रशासनले प्रेस स्वतन्त्रता दबाउने प्रयास गरेको भन्दै विरोध जनाएका छन् ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ २१:५७
सामाग्री श्रोत :
टेक पाना
पोखरा– आँधीखोलाको दोहन रोक्न खोज्दा स्याङ्जा वालिङ नगरपालिका- १० का वडाध्यक्ष सुनिल खनालले आफूमाथि रड प्रहार गरेको दुई जनाले आरोप लगाएका छन् ।
विरोध कार्यक्रममा गएर फर्किंदै गर्दा वालिङ नगरपालिका- ९ सुर्कौदी दरबार चोकमा मोटरसाइकल रोकेर वडाध्यक्ष खनाल र अर्का एक जनाले फलामको रड प्रहार गरेको दिनकर नेपालले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले आफू र मेघ आलेलाई रड प्रहार गरेको उल्लेख गरेका छन् । यस विषयमा जानकारी आएको र खोजी कार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।
पीडितबाट निवेदन आएपछि थप प्रक्रिया अघि बढ्ने चौधरीले बताए । आरोपका विषयमा बुझ्न खोज्दा वडाध्यक्ष खनालको मोबाइल स्विच अफ गरिएको पाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ