
काठमाडौँ । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सको जोइन्ट भेन्चरमा ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर पी-टु (P-2) बजारमा आउने भएको छ । कम्पनीले लामो समयको विकासपछि आन्तरिक ‘पी-२ डिजाइन प्रेजेन्टेसन’ सम्पन्न भएको र अब स्कुटरलाई प्रमाणीकरण चरणतर्फ लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।
नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्नेगरी सुरु भएको यो परियोजनामार्फत स्वदेशी निर्माण, नवप्रवर्तन र ई-मोबिलिटी को क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ । यात्रीले सामाजिक सञ्जालमार्फत एक टिजर सार्वजनिक गर्दै पी-टुको डिजाइन र उत्पादनप्रति आत्मविश्वास व्यक्त गरेको छ ।
पी-२ स्कुटरमा ‘मेड इन नेपाल’ ब्याचसहितको मिड-माउन्ट मोटर, ट्युबलेस अलोय ह्विल, दुवै पाङ्ग्रामा डिस्क ब्रेक र स्पोर्टी लुक दिने शार्प एज डिजाइन प्रयोग भएको छ । कम्पनीले यसै वर्षको अन्त्यसम्ममा पाइलट उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।
विद्युतीय मोटरसाइकल पी-१ मार्फत पहिल्यै चर्चा कमाएको यात्रीले सिप्रदीसँगको सहकार्यमा स्कुटर उत्पादनमार्फत स्वदेशी विद्युतीय सवारी उद्योगमा अर्को अध्याय थाल्न लागेको हो । यसअन्तर्गत विद्युतीय सवारीको अध्ययन, अनुसन्धान, डिजाइन, प्रोटोटाइप निर्माण र आगामी उत्पादनका लागि जोइन्ट भेन्चरले काम गरिरहेको छ ।
यसैबिच यात्रीले आफ्ना ब्याट्रीको कार्यक्षमता परीक्षणमा ‘नेक्स्ट लेभल’ अभ्यास गरिरहेको जनाएको छ । कम्पनीले वास्तविक सडक तथा दुर्गम पहाडी यात्राका माध्यमबाट ब्याट्री परीक्षण सञ्चालन गरिरहेको जानकारी दिएको छ ।
प्रयोगशालामा सीमित परीक्षण नगरी काठमाडौँ उपत्यकाभित्रको १०० किलोमिटरभन्दा बढी दूरी तथा बुढानीलकण्ठ-टोखा-सूर्यचौर-छहरे-ढिकुरे जस्ता चुनौतीपूर्ण पहाडी मार्गहरूमा ब्याट्रीको परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।
“एउटा लुपमा मात्र २०० किलोमिटरभन्दा बढी दूरी कभर गरेर ब्याट्री परीक्षण गरिन्छ,” कम्पनीले भनेको छ, “थप यात्रु बसेको अवस्था समेतमा फरक खालका सडक सन्दर्भहरू समेटेर परीक्षण भइरहेको छ ।”
यस्ता परीक्षणमार्फत कम्पनीले केही सातामै १० हजार किलोमिटरभन्दा बढी दूरीको डेटा संकलन हुने जनाएको छ । यसबाट ब्याट्रीको दीर्घकालीन कार्यक्षमता बुझ्नका लागि आवश्यक महिनौंको जानकारी केही दिनमै प्राप्त गर्न सम्भव बनाउने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ १४:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तरराष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ।
मंगलबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा दुई देशबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो।
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए। नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ।
‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ। यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ’, मन्त्री भण्डारीले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो। हालको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने गरी टुंगो लगाएको छ।’
उनले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको साउदी पक्षलाई जानकारी गराए। मन्त्री भण्डारीले यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिए। रासस
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं– सिन्धुपाल्चोक प्रशासनले असार ७ गतेसम्म भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
चीनको तिब्बत क्षेत्रममा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको वहाब बढ्न सक्ने सतर्कताको सूचना चिनिया पक्षले पठाएको थियो।
सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन्। ‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – नेपालभर १३ सयमा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु पुष्टि भएको हो।
डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। तथ्यांक अनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए। जिल्ला अन्तर्गत काठमाडौँमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ।
काठमाडौंमा १४०, कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार डेंगु संक्रमण नेपालभर भएपनि गम्भीर अवस्थामा बिरामी हालसम्म अस्पताल आइपुगेका छैनन् । यस वर्ष डेंगु संक्रमण बढ्ने प्रक्षेपण गरिएकोले संक्रमण लाग्न नदिनका लागि सतर्क हुन डा बसौलाको अनुरोध छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले महाशाखाले आवश्यक सतर्कता अपनाएका कारण नै हालसम्मै स्थिती नियन्त्रणमा रहेको बताए । स्थानीय निकायहरुमा लार्भा नष्ट गर्नका लागि ८ करोड बराबरको रकम विनियोजन गरिसकिएको उनले जानकारी दिए।
डेंगु नियन्त्रणका लागि चाँडै नै अन्य कार्यक्रम ल्याउने तयारी महाशाखा गरेको छ । यस वर्ष डेंगु संक्रमण बढ्न सक्ने आंकलनसहित महाशाखाले नियन्त्रणका लागि महाअभियानको सुरु गरिएको डाक्टर झाको दाबी छ।
‘यसमा महाशाखाको मात्रै एकल प्रयासले हुँदैन, सबै क्षेत्रका मानिस लाग्न जरुरी छ,’ उनले भने, ‘जथाभाबी पानीका स्रोत तथा लार्भा नियन्त्रण अभियान पनि चलाउन जरुरी छ ।विश्व स्वास्थ्य संगठनको सहयोगमा जनचेतनाका कार्यक्रम चलाइएको छ।’
प्रदेश सरकारलाई डेंगु नियन्त्रणका लागि महाशाखाले निर्देशन दिने, निगरानी प्रणालीलाई सशक्त बनाउने कार्य गरेको डा झा बताउँछन् । डेंगु लागिसकेपछि निश्चित उपचार नभएकोले रोकथाममा जोड दिइएको उनको दाबी छ।
डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।
डेंगुका लक्षण के-के हुन् ?
– उच्च ज्वरो,
– कडा खालको टाउको दुखाइ हुने,
– आँखाको गेडी पछाडि दुख्ने,
– मांसपेसीको दुखाइ,
– वाकवाक लाग्ने र वान्ता हुने
कसरी गर्ने डेंगुको रोकथाम ?
– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने,
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने,
– लामखुट्टेको टोकाइबाट बच्ने,
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने,
– झुलको प्रयोग गर्ने
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एसुस नेपालको गेमिङ ब्रान्ड रिपब्लिक अफ गेमर्स (रग) ले आफ्नो २०२५ को नयाँ ‘रग स्ट्रिक्स’ ल्यापटप सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘रग स्ट्रिक्स स्कार १६’ (ROG Strix Scar 16) र ‘स्ट्रिक्स जी१६’ (ROG Strix G16)मोडेलहरू समावेश गरिएको यो नयाँ लाइनअपमा अत्याधुनिक पर्फर्मेन्स, नयाँ चेसिस डिजाइन र प्रयोगकर्ताका लागि सहजै अपग्रेड गर्न मिल्ने जस्ता नयाँ विशेषता रहेको कम्पनीले जनाएको छ ।
१६ इन्च डिस्प्ले सहितका ल्यापटपमा इन्टेलको पछिल्लो पुस्ताको कोर अल्ट्रा नाइन प्रोसेसर २७५एचएक्स र एनभिदियाको जिफोर्स आरटीएक्स ५० सिरिज जीपीयू प्रयोग गरिएको छ । यसअन्तर्गत स्ट्रिक्स स्कार १६ मा आरटीएक्स ५०८० टीआई (१६ जीबी) र स्ट्रिक्स जी१६ मा आरटीएक्स ५०७० टीआई जीपीयू (१२ जीबी) उपलब्ध छ ।
स्ट्रिक्स स्कार १६ मा ३२ जीबी डीडीआर फाइभ र्याम, २ टीबी एनभीएमई एसएसडी स्टोरेज उपलब्ध हुँदा स्ट्रिक्स जी१६ मा १६ जीबी र्याम र १ टीबी स्टोरेज पाउन सकिन्छ ।
ल्यापटप तातिने समस्यालाई समाधान गर्न यस सिरिजमा ‘ट्राइ-फ्यान टेक्नोलोजी’ सहितको नयाँ कुलिङ सिस्टम राखिएको छ । जसले २४० वाटसम्मको पावरमा पनि ल्यापटपलाई चिसो र शान्त राख्न मद्दत गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार ल्यापटपको डिजाइनमा पनि परिवर्तन गरिएको छ । प्रिमियम र आकर्षक देखाउन ल्यापटपको वरिपरि ‘फुल-सराउन्ड आरजीबी लाइटबार’ जडान गरिएको छ । स्ट्रिक्स स्कार १६ मा ‘एनिमे भिजन’ डिस्प्ले पनि छ, जसमा ८१० ओटा एलईडीहरू मार्फत प्रयोगकर्ताले आफू अनुकूल प्रकाश प्रभाव (lighting array)हरू देखाउन सक्छन् ।
डिस्प्लेको गुणस्तरलाई अझै सुधार गर्न ‘नेबुला एचडीआर डिस्प्ले’ मा एसीआर (एम्बियन्ट कन्ट्रास्ट रेसियो) प्रविधि थपिएको छ । यसले स्क्रिनमा हुने परावर्तनलाई ५५ प्रतिशतले घटाउने र कन्ट्रास्टलाई ४.५ गुणाले बढाउने बताइएको छ ।
ल्यापटपको सबैभन्दा आकर्षक विशेषतामध्ये एक ‘टुल-लेस अपग्रेड’ सुविधा हो । प्रयोगकर्ताले अब कुनै पनि औजार (स्क्रु-ड्राइभर) बिना नै ल्यापटपको पछाडिको प्यानल खोलेर सजिलैसँग र्याम र एसएसडी अपग्रेड गर्न सक्छन् । गेमिङ ल्यापटपको दुनियाँमा यो पहिलो पटक प्रस्तुत गरिएको सुविधा भएको बताउँदै कम्पनीले सामान्य प्रयोगकर्तालाई पनि आफ्नो ल्यापटप अपग्रेड गर्न सहज हुने विश्वास लिएको छ ।
रग स्ट्रिक्स स्कार १६ र स्ट्रिक्स जी१६ ल्यापटपहरू नेपालभरका एसुस आधिकारिक स्टोरहरूका साथै विभिन्न ईकमर्स प्लेटफर्ममा उपलब्ध भइसकेको छ । यसमा प्रयोगकर्ताको सुरक्षा र सुविधा ध्यानमा राख्दै २ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी र १ वर्षको ‘पर्फेक्ट वारेन्टी’ (दुर्घटनावश भएको क्षति कभर हुने) उपलब्ध छ । साथै, ब्याकलिट किबोर्ड, रग ब्याकप्याक, माउस, हेडसेट जस्ता गेमिङ एक्सेसोरिजसमेत प्याकेजमा समावेश छन् ।
मोडेल | स्पेक्स | मूल्य (NPR) |
---|---|---|
ROG Strix G16 (2025) | (G615LR) Intel Core Ultra 9 275HX, RTX 5070 Ti, 16GB RAM, 1TB SSD, 16″ WQXGA Display | 416,900 |
ROG Strix Scar 16 (2025) | (G635LW) Intel Core Ultra 9 275HX, 32GB RAM, 2TB NVMe SSD, 16.0″ WQXGA 240Hz, RTX 5080 (16GB) | 649,900 |
पछिल्लो अध्यावधिक: असार ४, २०८२ १३:३७
सामाग्री श्रोत :
टेक पाना
भोजपुर– कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका-८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन्।
वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन्।
भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए। कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ। आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उनले जानकारी दिए।
“वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताए”, कृषक थापाले भने, “त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु।” खुर्सानीखेतीबाट वार्षिक रु आठदेखि रु १० लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उनको भनाइ छ।
गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्यअनुसारको आम्दानी लिन समस्या नरहेको उनको भनाइ छ। युवामा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सावित गर्न स्वदेश फर्केर कृषि कर्म रोजेको उनले बताए।
“हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ”, उनले भने, “विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ।” व्यवसायमा लाग्ने कृषकलाई अनुदानमा रकमभन्दा पनि आधुनिक औजार तथा उपकरणमा राज्यले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ। युवा विदेशिएको कारण गाउँघरका धेरै खेतीयोग्य जमिन बाझिँदै गएकाले यसको सदुपयोगमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए।
आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो। राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उनको भनाइ छ।
“स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ”, उनले भने, “पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि छ, यसमा सरोकारवाला पक्षले ध्यान दिन जरुरी देख्छु।”
गत वर्ष परीक्षणको रुपमा लगाएको दुई हजार बोट खुर्सानीबाट रु तीन लाख आम्दानी गर्न सफल भएको उनले बताए। खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि यस वर्ष १० हजार बिरुवा रोपेको कृषक थापाको भनाइ छ। आगामी वर्ष यसलाई थप विस्तार गरेर ४० देखि ५० हजार बिरुवा विस्तार गर्ने सोच रहेको उनले बताए। कोरियामा त्यहाँको मलिकले बस्नु अनुरोध गर्दा पनि आफ्नै ठाउँमा कृषि कर्म गर्ने अठोटका साथ नेपाल फर्किएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ — विदेश गएका नेपालीले पठाएको रकम (रेमिट्यान्स) केहि बर्षयता निरन्तर उकालो लागिरहेको छ । सोही क्रममा चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्समार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.२ प्रतिशतको बढी हो । गत आर्थिक वर्षको वैशाखसम्ममा पनि रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ । मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि धेरै रेमिट्यान्स गत फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो ।
युवा बाहिरिने क्रम बढेकाले रेमिट्यान्स आप्रवाह पनि बढेको अर्थविद् एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्नुले पनि रेमिट्यान्समा वृद्धि देखिएको उनको भनाइ छ ।
गएको १० महिनामा वैदेशिक रोजगारीका लागि ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएका छन् । ४ लाख ५ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० र २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ९ हजार ७ सय ५ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । सो अवधिमा ३ लाख ७३ हजार ३ सय ७ ले अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० र २ लाख ३६ हजार ३ सय ९८ ले पुनः श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति बढेसँगै रेमिट्यान्स पनि वृद्धि भएको जानकारको भनाइ छ ।
तर रेमिट्यान्स बढ्यो भनेर मात्र खुसी हुन नहुने अर्थविद्हरू बताउँछन् । अर्थतन्त्र चलायमान बनाउन कुनै प्रयास नगरी रेमिट्यान्स बढ्यो भनेर सरकार आत्मरतिमा रमाइरहेको अर्थविद् थापाको भनाइ छ । ‘अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुत बनेको छ । यो हाम्रो कारणले होइन । विदेशी अर्थतन्त्र राम्रो भएकाले रेमिट्यान्स बढेको हो,’ उनले भने, ‘रेमिट्यान्सबाहेक अर्थतन्त्रका अरू कुनै सूचक राम्रा छैनन् ।’ धेरैभन्दा धेरै युवा रोजगारीका लागि बाहिरिनु राम्रो नभएको उनले बताए । ‘१० महिनामा मात्र ७ लाख युवाले देश छोडेका छन् । यो राम्रो संकेत होइन,’ उनले भने ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ।
उपकुलपतिका लागि नाम सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएको हो। समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको छ।
समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
समितिले चार वटै प्रतिष्ठानमा उपकुलपतिको नाम सिफारिसका सम्बन्धी कार्यविधि समेत बनाएको छ।
कार्यविधि अनुसार कर्णाली बाहेक अन्य तीनवटा प्रतिष्ठानको उपकुलपतिका लागि आवश्यक योग्यता र अनुभव समान रहेको छ।
कुन प्रतिष्ठानका लागि कति चाहिन्छ योग्यता र अनुभव?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान:
– मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको
– कम्तिमा सहप्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा दशौं तह वा सो सरहको पदमा काम गरेको
पाटन, पोखरा र बीपी प्रतिष्ठान :
– मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको
– कम्तिमा प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा एघारौं तह वा सो सरहको पदमा काम गरेको।
हेरौं विस्तृत विवरण
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । इजरायलमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले अनलाइनमार्फत नामावली संकलन सुरु गरेको छ । इजरायलमा बढ्दो तनावका कारण स्वदेश फर्किन इच्छुक नागरिकहरूको विवरण संकलन गर्न तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारममार्फत दर्ता प्रक्रिया सुरु गरेको हो ।
इच्छुक नेपाली नागरिकले गुगल फर्मको यो लिङ्कमा गएर आफ्नो विवरण भर्न सक्नेछन् । फारममा व्यक्तिगत जानकारी, राहदानी नम्बर, सम्पर्क नम्बर, इजरायलमा रहेको ठेगाना लगायतका विवरणहरू भर्नुपर्ने बताइएको छ ।
दूतावासले यो प्रक्रिया तत्काल स्वदेश फर्किन चाहनेहरूको पहिचान र व्यवस्थापनका लागि सुरु गरेको जनाएको छ । हाल इजरायलमा करिब २० हजार नेपाली नागरिक विभिन्न पेशा र अध्ययनमा संलग्न रहेको अनुमान छ ।
इरानसँगको तनावका कारण नेपाली नागिरकहरूको सुरक्षालाई ध्यानमा राखी यो कदम चालिएको दूतावासको भनाइ छ । स्वदेश फिर्तीको प्रक्रिया र मितिबारे थप जानकारी संकलित विवरणको आधारमा चाँडै सार्वजनिक गरिने दूतावासले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८२ १२:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ