
काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गरेको हो ।
परम्परागत पासवर्डको तुलनामा पास की निकै सुरक्षित र सहज मानिन्छ । यसले गर्दा ह्याकरले अनलाइनबाटै तपाईंको अकाउन्टमा लगइन गर्न सक्दैनन् । किनभने यसका लागि फोन अनिवार्य साथमा हुनुपर्छ । यसरी लगइन गर्नका लागि डिभाइसको फेस लेक, फिङ्गरप्रिन्ट स्क्यानर, पिन वा अथेन्टिकेसन की प्रयोग गर्नुपर्ने हुन्छ ।
पासकी मार्फत लगइन गर्नका लागि तपाईंलाई युजरनेम र पासवर्डमा निर्भर हुनु पर्दैन । यसरी पासवर्ड र युजरनेमको आवश्यकता नपर्ने भएपछि प्रयोगकर्ता फिशिङ वा अन्य किसिमका साइबर आक्रमणबाट सुरक्षित हुने सम्भावना उच्च रहन्छ ।
फेसबुकका अनुसार पास की फिचर आगामी महिनादेखि मेसेन्जरमा उपलब्ध हुँदैछ । त्यसपछि भने मेसेन्जर र फेसबुक दुवैका लागि पासकी प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी पास कीलाई भुक्तानीका जानकारी स्वतः भर्नका लागि पनि प्रयोग गर्न सकिनेछ । खासगरी मेटा पे प्रयोग गरेर भुक्तानी गर्दा यो फिचर प्रयोग गर्न सकिनेछ ।
पास की फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ता अकाउन्ट सेन्टरमा रहेको ‘पास की’ अप्सन छान्नुपर्ने हुन्छ । अकाउन्ट सेन्टरको अप्सन फेसबुकमा सेटिङ मेनुभित्र हुन्छ । एक पटक पास की सेटअप गरिसकेपछि तपाईंले अन्य डिभाइसमा लगइन गर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । पास की प्रयोग गरे पनि तपाईंले अकाउन्टमा एक्सेस पाउनका लागि पासवर्ड पनि प्रयोग गर्न सक्नुहुन्छ । अर्थात पास कीले पासवर्डलाई पूर्ण रूपमा विस्थापित गर्दैन । यसले गर्दा पास की सपोर्ट नगर्ने डिभाइसमा पनि पासवर्ड प्रयोग गरेर फेसबुक अकाउन्ट सजिलै लगइन गर्न सकिन्छ ।
यसअघि गुगल, माइक्रोसफ्ट, एप्पल, अमेजन, टिकटक, पेपाल, ह्वाट्सएप र एक्स लगायतका प्लेटफर्ममा यो सुविधा उपलब्ध भइसकेको छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८२ ८:१
सामाग्री श्रोत :
टेक पाना
बागलुङ – बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो ।
चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।
कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए ।
“नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भने– “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन ।
रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । मोबाइल चार्ज गर्ने क्रममा रौतहटमा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरी टोलकी ३० वर्षीया गुलनाज खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी दीपक रायका अनुसार खातुनलाई बुधबार दिउँसो करिब ४:२० बजे आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगेको थियो ।
तर, अस्पताल पुर्याइएको केही समयमै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको डीएसपी रायले जानकारी दिए ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप विवरण खुल्ने रायले जनाए ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ ११:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको गोप्य फोनकल सार्वजनिक भएपछि उनको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन सरकार संकटमा परेको छ । सीमा विवादसम्बन्धी विषयमा भएको १७ मिनेटको फोनकल लिक भएपछि ३८ वर्षीया प्रधानमन्त्रीको चौतर्फी आलोचना भएको छ ।
उनले उक्त कलमा हुन सेनलाई अंकल भनेर सम्बोधन गरेकी थिइन् र एक थाइ सैन्य कमान्डरको आलोचना गरेकी थिइन् । शिनावात्राले फोनमा ती सैन्य कमान्डरलाई ‘सिर्फ स्मार्ट देखिन खोज्ने व्यक्ति’ भनेर टिप्पणी गरेकी थिइन् । उनको यो टिप्पणीलाई सेनाविरुद्धको अपमानको रूपमा व्याख्या गरिएको छ ।
शिनावात्राले सार्वजनिक माफी माग्दै भनेकी छन्, “कम्बोडियाली नेतासँगको मेरो कुराकानी लिक भएपछि जनतामा आक्रोश उत्पन्न भएकोमा म क्षमायाचना गर्न चाहन्छु ।”
उक्त घटनाले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको भन्दै विपक्षीहरूले राजीनामा माग गरिरहेका छन् । त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठुलो दल भुमजाइथाइ पार्टीले बुधबार गठबन्धन त्यागेको घोषणा गरेको छ । यसले शिनावात्राको पार्टी पिउ थाइको संसदमा रहेको बहुमत नै खतरामा परेको छ ।
आफ्नै दल पिउ थाइ पार्टीले समेत शिनावात्राको भूमिकालाई लिएर आलोचना गरेको छ । यदि अन्य दुई गठबन्धन दलले पनि समर्थन फिर्ता लिएमा सरकार ढल्ने निश्चित देखिएको विश्लेषण गरिएको छ । ती दुई दलले बिहीबार बस्ने बैठकमा निर्णय लिने बीबीसीले जनाएको छ ।
कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनले उक्त फोनकलको अडियो ८० जना नेताहरूलाई शेयर गरेको बताएका छन् । यसमध्ये कुनै एकबाट लिक भएको हुनसक्ने बताएका सेनले पछि आफ्नै फेसबुक आईडीमार्फत् पूरै अडियो सार्वजनिक गरेका छन् ।
–बीबीसीको सहयोगमा
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १५:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । मेटाको सामाजिक सञ्जाल थ्रेड्स प्रयोगकर्ताले अब फेडिभर्स पोस्टहरूका लागि नयाँ डेडिकेटेड फिड र फेडिभर्स प्रयोगकर्ताले थ्रेड्स भित्रबाटै सर्च गर्न सक्ने सुविधा पाउने भएका छन् । यो कदमले सामाजिक वेब सामग्रीलाई थ्रेड्समा अझ बढी देखाउने अपेक्षा गरिएको छ ।
मङ्गलबारदेखि लागु भएको यो सुविधा अनुसार, यदि तपाईँले थ्रेड्समा फेडिभर्स शेयरिङ फिचर अन गर्नुभएको छ भने तपाईँको फलोइङ फिडको माथिपट्टि एउटा नयाँ सेक्सन देखा पर्नेछ । यदि अन छैन भने थ्रेड्सको सेटिङ हुँदै अकाउन्टभित्र गएर बेटा भर्सनमा रहेको फेडिभर्स शेयरिङ अन गर्न सक्नु हुनेछ ।
यसले तपाईँलाई (तपाईँको थ्रेड्स अकाउन्ट कनेक्टेड छ भने) मास्टोडन (Mastodon), फ्लिपबोर्ड (Flipboard), वा अन्य कुनै पनि प्लेटफर्ममा तपाईँले फलो गरेका व्यक्तिहरूका पोस्टहरूको सूचीमा लैजानेछ । मेटाका सफ्टवेयर इन्जिनियर पिटर कटलका अनुसार, यो पूर्णतया छुट्टै फिड हो, जुन जानबुझ रूपमा तयार पारिएको हो । यो फेडिभर्स फिड एल्गोरिदमिक रूपमा क्रमबद्ध गरिएको छैन, न त यो थ्रेड्सका नियम वा मध्यस्थताको अधीनमा नै छ । यो केवल तपाईँले फलो गरेका सामग्रीहरूको रिभर्स-क्रोनोलोजिकल फिड हो ।
कटलका अनुसार, भविष्यमा मेटाले यी पोस्टहरूलाई थप मिश्रित बनाउन सक्ने सम्भावना छ । उनी भन्छन्, “फेडिभर्समा उपभोगका लागि वास्तवमा फरक उपयोगिता छ, जुन पुरानो आरएसएस रिडरहरू जस्तै छ । म घोस्ट पब्लिकेसनहरू, वा विभिन्न लेखकहरूलाई सब्सक्राइब गर्न सक्छु, ताकि मसँग मेरो वेबसाइटभरको सामग्रीलाई छुट्टै, फलोइङ फिड वा फर यु फिडबाट अलग राख्ने एक समर्पित ठाउँ होस् ।”
मेटा भित्र पनि, थ्रेड्स पूर्ण रूपमा खुला सामाजिक सञ्जाल हुने वा केवल बाह्य सामग्रीको भण्डारको रूपमा राख्ने भन्ने बारे बहस भइरहेको छ । यद्यपि थ्रेड्सको यो अपडेटले प्रयोगकर्ताहरूलाई मास्टोडन र अन्य फेडिभर्स प्लेटफर्महरूमा रहेका प्रयोगकर्ताहरूलाई थ्रेड्सको सर्च बारबाटै खोज्ने क्षमता पनि प्रदान गरेको छ ।
यदि तपाईँले तिनीहरूलाई फलो गर्नुभयो भने उनीहरूका पोस्टहरू पनि थ्रेड्समा देख्न थाल्नु हुनेछ । यस्तो सहज सर्च क्षमता विशेष गरी मास्टोडनका लागि लामो समयदेखि एउटा ठुलो चुनौती रही आएको छ । किनकि प्रयोगकर्ताहरू विभिन्न सर्भरहरूमा छरिएर रहेका हुन्छन् ।
कटल भन्छन् कि फेडिभर्सले कसरी काम गर्छ र यो के हो भन्नेबारे मानिसहरूलाई शिक्षित तुल्याउन अझै धेरै काम गर्न बाँकी छ । यही कारणले गर्दा मेटाले फेडिभर्सका सुविधाहरू रोल आउट गर्न केही ढिलो गरेको द भर्जमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १७:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीशद्वय टेकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पाठकले दायर गरेको निषेधाज्ञा रिटमा सुनुवाइ गर्दै यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाठकले आफ्नो अनलाइन ‘इन्टरफेस नेपाल नेटवर्क’ अन्तर्गतको ‘टफ टक विथ दिलभूषण पाठक’ युट्युब च्यानलमा होटल हिल्टनको शेयर खरिदबिक्री सम्बन्धी समाचार सामग्री प्रकाशन गरेका थिए । सोही समाचारलाई आधार बनाई आफूलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गर्न लागिएको भन्दै पाठकले पक्राउ पुर्जी जारी नगर्न र पक्राउ नगर्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
उनले अदालतमा आफ्नो पत्रकार परिचय पत्र, सूचना तथा प्रसारण विभागमा मिडिया दर्ता भएको प्रमाणपत्र समेत पेस गरेका थिए । यसैलाई अदालतले मुख्य आधार बनाएको छ । अदालतले आफ्नो आदेशमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको, विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई संरक्षण गरेको तथा पत्रकारिता क्षेत्रको नियमनका लागि प्रेस काउन्सिल नेपाल क्रियाशील रहेको उल्लेख गरेको छ ।
समाचार सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानुनी व्यवस्था हुँदाहुँदै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने अवस्था स्थापित नदेखिएको अदालतले जनाएको छ । अदालतले पत्रकारिता क्षेत्रको विवाद समाधानका लागि छुट्टै निकाय (प्रेस काउन्सिल) हुँदाहुँदै फौजदारी कसुरमा अनुसन्धान अघि बढाउनु उचित नहुने सङ्केत गरेको छ ।
रिट निवेदक पाठकको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा भिमार्जुन आचार्य तथा अधिवक्ताहरू ओमप्रकाश अर्याल, कुलराज लामिछाने लगायतले बहस गरेका थिए । विपक्षी गृह मन्त्रालय र प्रहरी कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता शंकर खत्री लगायतले बहस गरेका थिए । यस आदेशसँगै मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रहरीले पाठकलाई पक्राउ गर्न पाउने छैन ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १७:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको बिजनेस म्यानेजमेन्ट सफ्टवेयर ‘ओडू’ (Odoo) ले आफ्नो पछिल्लो संस्करण ‘भर्सन १८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रतिनिधिले सफ्टवेयरका नयाँ फिचर, कार्य क्षमता र नेपाली व्यवसायका लागि यसको उपयोगिताको बारेमा विस्तृत जानकारी दिएका हुन् ।
कार्यक्रम साना, मझौला तथा ठुला सबै प्रकारका संस्थाका लागि ओडू कसरी एक शक्तिशाली र एकीकृत समाधान बन्न सक्छ भन्ने विषयमा केन्द्रित थियो । कम्पनीका अनुसार आज धेरै कम्पनीले फरक-फरक कामका लागि छुट्टाछुट्टै सफ्टवेयर प्रयोग गर्ने झन्झट बेहोरिरहेका छन् । ओडूले यही समस्याको समाधान गर्दै उत्पादन, गोदाम व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, बिक्री, खरिद, मार्केटिङ र ई-कमर्स जस्ता सबै पक्षलाई एउटै प्रणालीमा एकीकृत गर्छ ।
यसमा रहेका ७० भन्दा बढी एप एक-आपसमा पूर्ण रूपमा जोडिएकाले व्यावसायिक कम्पनीभित्रका कुनै पनि विभागको जानकारी अर्को विभागले तुरुन्तै पाउन सक्छ । यसले गर्दा काममा प्रभावकारिता बढ्ने कम्पनीले जनाएको छ ।
कम्पनीले व्यावसायिक क्षमताको हिसाबले आफूलाई एसएपी, ओराकल जस्ता ठुला ईआरपी सफ्टवेयरसँग तुलना गरे पनि प्रयोगकर्ताका लागि यो अत्यन्तै सरल र सहज रहेको दाबी गरेको छ । सार्वजनिक गरिएको नयाँ भर्सन १८ मा व्यवसाय सञ्चालनलाई थप सहज बनाउने विभिन्न फिचर थपिएका छन् । यससँगै अब कम्पनीले आफ्ना बिक्री प्रतिनिधिका लागि लक्ष्य निर्धारण गरी सोही आधारमा कमिसन स्वतः मापन गर्न सक्नेछन् ।
त्यसैगरी कोटेसन वा बिल जस्ता पीडीएफ फाइलमा आफ्नो अनुकूल जानकारी, लोगो वा डिजाइन थप्न मिल्ने ‘कस्टम जोन’ को सुविधा पनि ल्याइएको छ । अब म्यानुअल रूपमा उत्पादनको विवरण टाइप गर्नुको सट्टा, सेल्स एपबाट सिधै क्याटलगमा गएर वस्तु र सङ्ख्या छनोट गर्न सकिने, वेबसाइट बिल्डरमा परिष्कृत डिजाइन छनोट गर्न सकिने, बारकोडमार्फत उत्पादनको जानकारी प्रणालीमा स्टोर गर्न सकिने जस्तो सहजता प्राप्त हुनेछ ।
साथै प्वाइन्ट अफ सेल (POS) प्रणालीलाई पनि थप सुविधासम्पन्न बनाइएको छ । यस किसिमका सुधारले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको विश्वास छ । कार्यक्रममा विभिन्न क्षेत्रका २०० बढी पेसाकर्मीहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रममा यसको कार्यक्षमता पुष्टि गर्न नेपालको एक इलेक्ट्रोनिक्स रिटेलर कम्पनीको उदाहरण दिँदै प्रत्यक्ष डेमो समेत प्रस्तुत गरिएको थियो ।
डेमोमा देखाइए अनुसार जब एक ग्राहकले वेबसाइटमार्फत वाशिङ मसिन खरिद गर्ने बारे सोधपुछ गर्छन्, त्यो जानकारी स्वतः सीआरएम प्रणालीमा ‘लिड’को रूपमा पुग्छ । बिक्री प्रतिनिधिले तुरुन्तै कोटेसन पठाउँछन्, तर प्रणालीले गोदाममा उक्त सामान नभएको जानकारी दिन्छ । त्यसपछि पर्चेज (Purchase) एपमार्फत सबैभन्दा उपयुक्त आपूर्तिकर्ताबाट सामान खरिद गरिन्छ र सामान गोदाममा आएपछि ‘इन्भेन्टरी’ (Inventory) एपमा त्यसको जानकारी स्वतः अपडेट हुन्छ ।
यो सम्पूर्ण प्रक्रियाको लेखाजोखा ‘अकाउन्टिङ’ एपमा रेकर्ड हुँदै जान्छ । अन्ततः सामान ग्राहकलाई पठाइन्छ, बिल जारी गरिन्छ र भुक्तानी प्राप्त भएपछि सम्पूर्ण कारोबार सम्पन्न हुन्छ । कम्पनीको मालिक वा म्यानेजरले ड्याशबोर्ड मा गएर बिक्री, नाफा र अन्य महत्त्वपूर्ण रिपोर्ट एकै पटक हेर्न सक्छन् । यो सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा सम्पन्न हुँदा समयको बचत र काममा सरलता आउने देखाइएको थियो ।
ओडूले व्यवसायको आवश्यकता अनुसार विभिन्न प्याकेज उपलब्ध गराएको छ । यसमा ‘स्ट्यान्डर्ड’ प्याकेज प्रति प्रयोगकर्ता प्रति महिना ७.२५ डलरबाट तथा ‘कस्टम’ प्याकेज १०.९० डलरबाट सुरु हुन्छ । कम्पनीले सफ्टवेयर कार्यान्वयन, तालिम र डेटा माइग्रेसनका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराउने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १८:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बेच्ने समयसीमा नजिकिँदै गर्दा ‘ओन’ (Own) नामक नयाँ विकेन्द्रीकृत सामाजिक सञ्जाल एप सुरु गरेको छ । मङ्गलबारदेखि बेटा संस्करणमा उपलब्ध यो एप टिकटकको विकल्पका रूपमा आएको छ, जसमा छोटा भिडिओ, टेक्स्ट पोस्ट र तस्बिरका साथै डाइरेक्ट मेसेजिङ (डीएम) जस्ता सामान्य सामाजिक सञ्जालका सुविधा छन् ।
‘ओन’ को मुख्य विशेषता भनेको यसले ब्लकचेन प्रविधि र टोकन इकोनोमीको प्रयोग गरी बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्य राखेको छ । अन्य सामाजिक सञ्जालहरूभन्दा फरक, यसमा कन्टेन्ट क्रियटरहरूले फलोअर सङ्ख्या वा पोस्ट सङ्ख्याको कुनै न्यूनतम आवश्यकता बिना नै आम्दानी सुरु गर्न सक्नेछन् ।
एपका सीईओ आमिर कल्तक र सीओओ काटिया जाइट्सेभले यसको विकास गरेका हुन् । जसले यसअघि वेब थ्री कम्पनी लेक्जिटको सह-स्थापना गरेका थिए । टिन्डर (Tinder) र बम्बल (Bumble) जस्ता प्रमुख डेटिङ एपहरूमा काम गरिसकेकी सारा मिक (सीओओ) पनि यस एपकी सह-निर्माता हुन् ।
$OWN टोकन र विश्वव्यापी भुक्तानीको अवसर
‘ओन’ को प्रमुख विशेषता भनेको ‘$OWN’ नामक टोकन हो, जुन भिडिओ इङ्गेजमेन्ट (video engagement) को आधारमा क्रियटरहरूलाई पुरस्कृत गरिन्छ र यो पूर्ण रूपमा व्यापार योग्य छ । यो एप बेस लेयर २ ब्लकचेनमा सञ्चालित छ, जसले सुरक्षित कारोबार र कन्टेन्टको स्वामित्व सुनिश्चित गर्दछ ।
कल्तकको भनाईमा यसले विश्वभरका क्रियटरहरूका लागि एउटा ठुलो परिवर्तन ल्याउनेछ । किनकि उनीहरूले आफ्नो स्थानको परवाह नगरी टोकनहरू कमाउन सक्नेछन् । कल्तकले टेकक्रन्चसँग भनेका छन्, “विश्वभरका अधिकांश क्रियटरहरूले प्रमुख सामाजिक प्लेटफर्महरूमा आफ्नो लोकेसनका कारण मनिटाइजेसनमा पहुँच पाउँदैनन् । ओनमार्फत हामीहरूले एक यस्तो प्रणाली बनाएका छौँ, जसले समान अवसर प्रदान गर्दछ र विश्वव्यापी रूपमा क्रियटरहरूका लागि वास्तविक आम्दानीको सम्भावना खोल्दछ ।”
क्रियटरहरूलाई वितरण गर्न प्लेटफर्मको केही आम्दानी एक्स्चेन्जबाट $OWN टोकन खरिद गर्ने कार्यमा प्रयोग गरिन्छ । कल्तकले यो कदमले क्रियटरहरूलाई निष्पक्ष रूपमा पुरस्कृत गर्दा खुला बजारमा टोकनको लागि सधैँ माग सिर्जना गर्ने र यसले दीर्घकालीन मूल्य स्थिरता र दिगोपनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आम्दानीका अन्य स्रोत र आकर्षक लाभ
‘ओन’ मा क्रियटरहरूले टिपिङ, स्पोन्सरशिप र ‘ओन शप’बाट पनि कमाउन सक्छन्, जुन टिकटकमा रहेको शप जस्तै हो । क्रियटरहरूले अन्य प्लेटफर्महरू भन्दा यसबाट ५०% बढी कमाउन सक्ने बाचा गरेको छ । विशेष गरी, टिपिङको हकमा ‘ओन’ ले आम्दानीको २०% मात्र लिन्छ, जबकि टिकटकले ५०% लिन्छ । स्पोन्सरशिपको हकमा क्रियटरहरूले ९०% आम्दानी राख्छन् र ‘ओन’ ले १०% मात्र लिन्छ । ‘ओन शप्स’ मा भने क्रियटरहरूलाई ९५% आम्दानी प्राप्त हुन्छ, ओनले केवल ५% मात्र लिन्छ । यसरी क्रियटरहरू कम्पनीले अधिकतम लाभ प्रदान गर्ने योजना बनाएको छ ।
कन्टेन्ट लाइसेन्सिङ पनि आम्दानीको अर्को महत्त्वपूर्ण स्रोत हो । ब्लकचेनमा ट्य्राक गरिएको प्रमाणित स्वामित्व र स्रोतका कारण क्रियटरहरूले आफ्नो अधिकार कायम राख्दै आफ्नो सामग्रीको लाइसेन्स दिन सक्छन् । उदाहरणका लागि, क्रियटरहरूले आफ्नो सामग्री ब्रान्डहरूलाई मार्केटिङ अभियानहरूमा प्रयोगका लागि बिक्री गर्न सक्छन् र ९०% आम्दानी कमाउन सक्छन् । जब कि ‘ओन’ ले यसबाट १०% मात्र कमिसन लिन्छ ।
नयाँ र्याङ्किङ सिस्टम र पारदर्शिता
यो एपको र्याङ्किङ प्रणाली पनि निकै रोचक छ । दर्शकहरूले रेडिटजस्ता प्लेटफर्महरूमा रहेको अपभोट वा डाउनभोट जस्तै यसमा पनि कन्टेन्ट माथि वा तल एरो थिचेर भोट दिन सक्छन् । धेरै अपभोट पाउने क्रियटरहरू लिडरबोर्डमा माथि चढ्न सक्छन् र बढी एक्स्पोजर प्राप्त गर्न सक्छन् ।
सारा मिकले टेकक्रन्चसँग भनेकी छिन्, “आफ्नो सामग्रीको स्वामित्व, उपभोक्ताको एजेन्सी, विश्वव्यापी समान भुक्तानी, भाइरल हुने समान अवसर, अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्ने, र आत्म-अभिव्यक्ति र निष्पक्ष भुक्तानी मार्फत मानिसहरूलाई सशक्त बनाउने कुराहरू हालको सामाजिक सञ्जालका समस्याहरूलाई सच्याउने दिशामा छन् ।”
उपलब्धता र आगामी योजना
‘ओन’ एप हाल एप्पलको एप स्टोर र गुगल प्ले स्टोर मा नि:शुल्क रूपमा उपलब्ध छ । कम्पनीले ४०,००० भन्दा बढी मानिस वेटलिस्टमा रहेको दाबी गरेको छ । हालसम्म, यो स्टार्टअपले सारा मिक, माइकल टर्पिन (ट्रान्सफर्म भेन्चर्स), साबा क्यापिटल, बेस स्पिन क्यापिटल, र स्टोका ग्लोबल लगायतका लगानीकर्ताहरूबाट ५० लाख डलरभन्दा बढी रकम जुटाएको छ ।
टोकन समेत समावेश मनिटाइजेसन फिचर आगामी जुलाई र सेप्टेम्बरको बीचमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसैबिच, ‘ओन शप’ अक्टोबर र डिसेम्बरको बीचमा बेटाको रूपमा रोल आउट हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १९:०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई ओटा डिजिटल वालेटलाई प्रदान गरेको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । बिहिबार एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।
पेवेल नेपाल प्रालिले राष्ट्र बैंकबाट ११ असोज २०७७ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिले १७ चैत २०७७ मा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाएको थियो । यी दुबै डिजिटल वालेटले सरकारका विभिन्न प्रावधान उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकले भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३५ अनुसार लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकले भनेको छ, “भुक्तानी तथा फर्स्यौट ऐन, २०७५, भुक्तानी तथा फर्स्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले यस बैंकको सञ्चालक समितिको मिति २०८२/०३/०५ को निर्णय अनुसार भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”
पछिल्लो अध्यावधिक: असार ५, २०८२ २२:२३
सामाग्री श्रोत :
टेक पाना