
काठमाडौँ । नेपाली पब्जी टिम होरा ई-स्पोर्ट्स साउदी अरबमा आयोजना हुने ई-स्पोर्ट्स विश्वकप २०२५ का लागि छनोट भएको छ । कजाखस्तानको अल्माटीमा भएको ‘पब्जी मोबाइल सुपर लिग (PMSL) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२४’ मा दोस्रो स्थान हासिल गर्दै होराले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
उपविजेता बनेसँगै होराले २२ हजार ३५० अमेरिकी डलर (करिब २९ लाख ६४ हजार रुपैयाँ) पुरस्कार पनि जितेको छ । आइतबार सम्पन्न फाइनल चरणमा चिनियाँ ई-स्पोर्ट्स टिम ‘फर्स्ट अल्फा गेमिङ’ले उपाधि जित्यो भने होरा ई-स्पोर्ट्स उपविजेता बन्यो । पाकिस्तानको ‘४थ्राइब्स ई-स्पोर्ट्स’ तेस्रो स्थानमा रह्यो ।
ई-स्पोर्ट्स विश्वकपका लागि यी तीन ओटै टिम छनोट भएका छन् । २५ जुलाईदेखि सुरु हुने पब्जी मोबाइल विश्वकपमा ३० लाख अमेरिकी डलर (करिब ४१ करोड ६५ लाख रुपैयाँ) प्राइज पुल राखिएको छ । जसका लागि विश्वभरका २४ टिम भिड्दैछन् ।
प्रतियोगितामा सहभागी अन्य नेपाली टिमहरू डीआरएस गेमिङले ११औं र एएसटी ई-स्पोर्ट्स (ट्राइब एरोमेसी) ले १०औं स्थान हासिल गरे । यसै प्रतियोगितामा होरा ई-स्पोर्ट्सका खेलाडी आकाश ‘स्काई’ राईले एउटै खेलमा सबैभन्दा बढी इलिमिनेसन (Most Eliminations) गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ई-स्पोर्ट्स विश्वकपको छनोट चरणको रूपमा रहेको यो प्रतियोगिता जुन १२ देखि २२ सम्म चलेको थियो ।
यसमा मध्य तथा दक्षिण एसियाका २० व्यावसायिक टिमले प्रतिस्पर्धा गरेका थिए, जसबाट १६ टिम फाइनल चरणमा पुगेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख अमेरिकी डलर (करिब २ करोड ६६ लाख रुपैयाँ) रहेको थियो ।
यस प्रतियोगितामा डीआरएस गेमिङ र एएसटी ई-स्पोर्ट्स ‘पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) दक्षिण एसिया’ बाट क्रमशः पहिलो र दोस्रो हुँदै छनोट भएका थिए भने होरा ई-स्पोर्ट्सले ‘इन्भाइटेड’ टिमको रूपमा सहभागिता जनाएको थियो ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ ८:१८
सामाग्री श्रोत :
टेक पाना
भोजपुर – भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई आकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ ।
‘स्वीस सरकारको ३० प्रतिशत, स्थानीय, प्रदेश, केन्द्र सरकारको २०–२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिँचाइ कुलो निर्माण भइरहेको छ’, उनले भने, ‘सिँचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिँचाइको व्यवस्था भएपछि धान, मकैलगायतका बालीसँगै किसानलाई तरकारी तथा फलफूलखेतीमा लाग्न सहयोग पुग्ने छ ।’
सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुने छन् ।
अरुण गाउँपालिका– ७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताए । यसले सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । वडाले सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स्वीस सरकार, तीन तहका सरकार र जनश्रमदानसहित २६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक सुस्मिता लाप्चाले जानकारी दिइन् । यो सिँचाइ आयोजनाले यहाँका १०० रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।
यसै वर्ष वडा नम्बर ४ मा २७ लाख ८५ हजार रुपैयाँको लागतमा मामालुङ माथिल्लो कुलो, वडा नम्बर ६ मा १४ लाख पाँच हजार लागतमा कुताङ कुलो र वडा नम्बर २ मा ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उनले बताए ।
यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा समस्या भएपछि सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । सिँचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । युट्युबमा ‘दुश्मन हेरेकोहेर्यै’ गीतले १० करोड (१०० मिलियन) भ्युज पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो गीतका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत् प्रधानमन्त्री ओलीले नयाँ पुस्ताको संगीतप्रतिको रुचिबारे टिप्पणी गर्दै दुर्गेश थापालाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, “आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !”
दुर्गेशको स्वर, अभिनय तथा नृत्य रहेको यो गीत गत ३० डिसेम्बरमा युट्युबमा अपलोड भएको थियो । सामाजिक सञ्जालमार्फत भाइरल बनेको यस गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो ।
गीतमा दुर्गेशसँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । गीतको शब्द, संगीत र निर्देशन दुर्गेशकै छ ।
प्रधानमन्त्रीले नै बधाई दिएपछि दुर्गेश थप हौसिएका छन् । सोमबार आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै थापाले प्रधानमन्त्रीको बधाईलाई ऐतिहासिक प्रेरणाको रूपमा वर्णन गरे । उनले लेखेका छन्, “नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ ।”
पछिल्लो अध्यावधिक: असार ९, २०८२ ७:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
प्रोस्टेट पुरुषमा हुने यौन ग्रन्थी हो। यौन क्रियापछि वीर्य बाहिर निस्कने क्रममा सहयोग गर्नका लागि यसले चिल्लो पदार्थ बनाउँछ। बाहिर निस्किएको ७० देखि ८० प्रतिशत तरल पदार्थ प्रोस्टेटबाट उत्पादित हुन्छ।
पुरुषमा निश्चित उमेरसम्म यसको काम रहन्छ, त्यसपछि यसको कामै छैनभन्दा पनि हुन्छ। सामान्यतः मानिस यौन रुपमा सक्रिय रहँदासम्म यसको काम हुन्छ। जब उमेर ढल्कँदै जान्छ, हर्मोनल असन्तुलन पनि आउन थाल्छ र प्रोस्टेटको आकार पनि बढ्न थाल्छ। प्रोस्टेट सबै पुरुषमा बढ्छ नै भन्ने छैन। तर, अधिकांशमा बढ्छ।
४५ वर्ष नाघेपछि पुरुषमा प्रोस्टेटको समस्या देखिने हुन सक्छ। त्यसैले यो उमेरपछि पुरुषले पिसाबमा समस्या छ कि छैन, पिसाब रोकिई रोकिई आउने, पिसाबले च्याप्नेबित्तिकै शौचालय जान हतार हुने, शौचालय जाँदा पनि पिसाब नआउने, अन्त्यमा तप–तप चुहिने, ननिख्रनेजस्ता समस्या छ कि छैन भनेर दैनिक रुपमै ख्याल गर्नुपर्छ। यदि यस्ता लक्षण देखिएका छन् भने युरोलोजिस्टसँग परामर्श लिनुपर्छ।
कसैको उमेरअनुसार प्रोस्टेटको आकार बढ्दै गयो भने पनि डराउनुपर्दैन, जबसम्म यसले पिसाबमा समस्या ल्याउँदैन, तबसम्म यसलाई केही गर्नुपर्दैन। प्रोस्टेट ३०–४० ग्रामकै किन नहोस्, पिसाबको प्रवाहमा समस्या गरेको छैन भने केही गर्नुपर्दैन। तर, समस्या आएको छ, राति पटक–पटक उठ्नुपरेको छ, पिसाबले गर्दा निद्रामा समस्या आएको छ, दैनिक काममा असर गरेको छ भने उपचार चाहिन्छ।
के हुन्छ समयमा उपचार गरिएन भने?
पिसाबथैलीको मुखमा रहने प्रोस्टेटले पिसाब नलीलाई घेरेर बसेको हुन्छ। जब पिसाबको प्रवाहमा अवरोध आउँछ र पिसाब बाँकी रहिरहने हुन्छ भने पिसाबमा संक्रमण हुने डर हुन्छ। यदि सधैं यस्तै समस्या हुन्छ भने पिसाब थैली बिस्तारै खुम्चँदै जान्छ। त्यसपछि पनि उपचार गरिएन भने पिसाब मिर्गौलातिर नै फर्कने सम्भावना हुन्छ र संक्रमण झन् बढ्ने सम्भावना हुन्छ। लामो समयसम्म प्रोस्टेटको समस्यालाई वास्ता नगर्दा दुवै मिर्गौला फेल भएका उदाहरण पनि छन्।
के प्रोस्टेटलाई शल्यक्रिया गरेर निकाल्न सकिन्छ?
निश्चित उमेरपछि यो अंगको काम नहुने भएकाले यसलाई निकाल्दा कुनै ‘साइड इफेक्ट’ हुँदैन, अर्थात् प्रोस्टेटविना जिउनै नसकिने भन्ने हुँदैन। प्रोस्टेटको समस्या लिएर आएका बिरामीलाई हामी पहिले औषधि दिएर समाधानको प्रयास गर्छौं। औषधिले पनि भएन र पिसाब फेर्न गाह्रो भइराख्यो भने शल्यक्रियामा जान्छौं। पहिला चिरफारद्वारा शल्यक्रिया गर्ने गरिएकोमा अहिले अत्याधुनिक लेजर प्रविधिका माध्यमबाट शल्यक्रिया गरिन्छ।
विकसित देशमा नियमित स्वास्थ्य जाँच हुन्छ। तर, नेपालमा त्यसरी नियमित जाँच गरिँदैन। तर, ४५ वर्ष नाघेका हरेक पुरुषले वर्षमा एक पटक युरोलोजिस्टसँग परामर्श लिनु उपयुक्त हुन्छ। अल्ट्रासाउन्ड, पिसाब परीक्षण र पीएसए गर्ने हो भने प्रोस्टेटमा समस्या छ कि छैन पत्ता लागिहाल्छ।
त्यसैले पिसाबमा समस्या देखिएको छ भने कुरेर नबसौं, युरोलोजिस्टसँग परामर्श लिन नहिच्किचाऔं।
(डा श्रेष्ठ नर्भिक अस्पतालका कन्सल्टेन्ट युरोलोजिस्ट हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । पछिल्ला केही दिनयता अस्ट्रिलियाबाट एक वृद्धा नेपाली महिलाले बनाएको भ्लगले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल टिकटकमा ‘ह्युमन रिभाइभ’ नामक अकाउन्टबाट राखिएको उक्त भिडिओ दशौँ लाखले हेरेका छन् । धेरैले उक्त भिडिओलाई वास्तविक ठान्दै आफ्नो धारणा राखिरहेका छन् । टेकपाना फ्याक्टचेकबाट उक्त भिडिओ एआईले बनाएको पुष्टि भएको छ ।
दाबी
टिकटकमा ‘ह्युमन रिभाइभ’ (Human Revive) नामक अकाउन्टले ३ असार २०८२ (१७ जुन २०२५) मा ‘Nepali Aama in Australia Vlog 1’ क्याप्सन राख्दै एक भिडिओ राखेको थियो । भिडिओमा एक वृद्धाले परम्परागत नेपाली पोसाकमा सिड्नी हार्बर ब्रिज र ओपेरा हाउसको पृष्ठभूमिमा सेल्फी भिडिओ खिचिरहेकी देखिन्छिन् । १ मिनेट ४ सेकेन्डको भिडिओको सुरुवातदेखि ८ सेकेन्डसम्म महिला भन्छिन्, “हे गाइज, वेलकम टु माइ भ्लग । शेर बहादुर, केपी र प्रचण्डले नेपालमै बसेर खान नै दिएनन् र हामी त आयौँ है अस्ट्रेलिया । म देखाउँछु अस्ट्रेलिया कस्तो छ अब ।”
८ देखि १५ सेकेन्डको क्लिपमा उनी सिड्नी ओपेरा हाउसको नजिक पुगेर भिडिओ खिचिरहेकी देखिन्छिन् । “यो चाहिँ सिड्नी ओपेरा हाउस हो रे । हेर्नुस् त कस्तो अचम्मको बिल्डिङ छ । यहाँ आएर भिडिओ बनाएन भने चाहिँ अस्ट्रेलिया आएको हुँदैन रे है ।”
त्यसपछि १५ देखि २३ सेकेन्डको क्लिपमा उनको पछाडि सिड्नी हार्बर ब्रिज प्रस्ट देखिन्छ । उनी भन्छिन्, “हे गाइज ! मैले त इङ्लिस बोल्न पनि जानिसकेँ नि । This is called Sydney Harbour Bridge. It is one of the historical bridge of Australia.”
२३ देखि ३१ सेकेन्डको क्लिपमा उनी डार्लिङ हार्बरको किनारमा हिँड्दै भिडिओ खिचिरहेकी देखिन्छिन् । उनी भन्छिन्, “यो चाहिँ डार्लिङ हार्बर हो है गाइज । नाम पनि डार्लिङ चा हौ । हाम्रोतिर त डार्लिङ भन्यो भने मार्छ । यता ठाउँको नाम नै डार्लिङ छ ।”
त्यसपछिको ३१ देखि ३९ सेकेन्डसम्मको क्लिपमा उनी सडकको छेउमा उभिएकी छिन् र पछाडिबाट ट्राम (रेल) गइरहेको देखिन्छ । “हेर्नुस् त यहाँ त बाटोमा रेल कुद्छ । हाम्रोतिर त गाडी पाउन नि गाह्रो हुन्छ । अनि मान्छे किन नेपालमै बसिराख्छन् त ?” उनी सोध्छिन् ।
त्यसपछिको ३९ देखि ४७ सेकेन्डको क्लिपमा उनी एउटा सुपरमार्केटभित्र आलु र तरकारी भएको ठाउँमा पुग्छिन् । “गाइज ! आलु र सब्जीहरू सारै महँगो हो । अब नेपालबाट ल्याएर सागसब्जी बेच्नु पर्यो यता । राम्रो बिजनेस आइडिया छ है गाइज ।”
अब आउने ४७ देखि ५५ सेकेन्डको क्लिपमा उनी एउटा सुन्दर, हरियो पार्कमा पुग्छिन् । उनी त्यसैलाई देखाउँदै भन्छिन्, “यता त सारै सफा हुने रैछ हौ । न धुँवा न धुलो । झन् नेपाली कति धेरै, जता गएपनि आमा भन्छन् । अनि नेपाल अस्ट्रेलियामा रैछ गाइज ।”
अन्तिम अर्थात् ५५ सेकेन्डदेखि १ मिनेट ४ सेकेन्डसम्मको क्लिपमा उनी रेलभित्र बसेर बाहिर हेर्दै भिडिओ बनाइरहेकी छिन् । “ल गाइज, भिडिओ र भ्लग बनाउँदै गर्छु । लाइक, कमेन्ट र फलो चाहिँ गर्न नबिर्सिनु है । See you soon. Love you everyone.”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ५६ लाख भ्युज, चार लाख ७५ हजार लाइक, ११ हजार बढी कमेन्ट र ६१ हजार पटकभन्दा बढी शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
टिकटकमा यस भिडिओले चर्चा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा पनि यो व्यापक रूपमा भाइरल भइरहेको छ । फेसबुकमा ‘कल्पना बिस्ट’ नामक फेसबुक पेजबाट पनि यो भिडिओ राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो भिडिओमा ६४ हजार बढी रियाक्सन, ७४० कमेन्ट र १० लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
पूर्णहाङ राई नामका प्रयोगकर्ताले ‘आन्टी कडा’ क्याप्सन राख्दै सोही भिडिओ राखेका छन् । सो भिडिओमा १६ हजार बढी रियाक्सन, ४२६ बढी कमेन्ट र चार लाख ७५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै खेलाडी नामक फेसबुक पेजले पनि ‘स्माइली’ ईमोजी राख्दै सोही भिडिओ पोस्ट गरेको छ । सो भिडिओमा ११ हजार रियाक्सन, १७७ कमेन्ट, २४१ शेयर र दुई लाख ३२ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
यसरी यही भिडिओ प्रसँग नै नखुलाई राख्ने कैयौं टिकटक अकाउन्ट र फेसबुक अकाउन्ट तथा पेज छन् ।
यो भिडिओ बनाउने ‘ह्युमन रिभाइभ’ नामक टिकटक अकाउन्टले पनि प्रयोगकर्तालाई भ्रममा पार्न ‘यो भिडिओ एआईले तयार नपारेको’ दाबी गर्दै कमेन्ट गरिरहेको छ । त्यसमा आएका अधिकांश कमेन्ट हेर्ने हो भने धेरैले भिडिओ वास्तविक नै ठानेको देखिन्छ । केहीले भने भिडिओमा बोल्ने महिलाको आत्मविश्वासको प्रशंसा समेत गरेका छन् । केहीले भने भिडिओ एआईले नै बनाएको भन्दै आफ्नो धारणा राखेका छन् ।
भिडिओ विश्लेषण गर्दा उक्त भिडिओ एआईले बनाएको स्पष्ट हुन्छ । भिडिओ पोस्ट गर्ने क्रियटरले कतै पनि भिडिओ एआईले बनाएको भन्ने नखुलाए पनि भिडिओको दायाँपट्टि तल ‘Veo’ को वाटरमार्क छ । अर्थात् यो भिडिओ भिओ थ्रीले तयार पारेको स्पष्ट हुन्छ ।
त्यसपछि भिडिओको सुरुवाति समयमै अर्थात् ४ सेकेन्डतिर वृद्धा महिलाको पछाडिपट्टि उडिरहेका चरा एक्कासि हराउँछन् । भिडिओको सात सेकेन्डमा महिलाको पृष्ठभूमिमा देखिने पसलहरूको नाम पनि स्पष्ट देखिँदैन । पसलको बोर्डमा भएको टेक्स्ट बिग्रिएको प्रस्ट देखिन्छ । यसबाट पनि भिडिओ एआईले बनाएको पुष्टि हुन्छ ।
भिडिओको नौ सेकेन्डमा ओपेरा हाउसमा नेपालको राष्ट्रिय झण्डा देखिन्छ, जुन वास्तविक रूपमा छँदै छैन ।
पहिलो आठ सेकेन्ड र त्यसपछि सुरु हुने नौ सेकेन्डपछि देखिने महिलाको अनुहार पनि परिवर्तन भएको छ । त्यसपछि १६ सेकेन्डमा पनि महिलाको अनुहार परिवर्तन हुन्छ । त्यसबेला पनि पृष्ठभूमिका दृश्य अस्वाभाविक देखिन्छन् ।
त्यसपछि २४ सेकेन्डमा अर्को दृश्य देखिन्छ । सुरुवातदेखि २३ सेकेन्डसम्म देखिएको भिओको वाटरमार्क २४ औं सेकेन्डमा गायब हुन्छ । र, २४ औँ सेकेन्डपछि देखिने महिलाको अनुहार पनि पहिले देखिएका महिलासँग मेल खाँदैन ।
३२ सेकेन्डको क्लिपमा महिलाको पृष्ठभूमिमा ट्राम (विद्युतीय रेल) कुदिरहेको देखिन्छ । त्यसमा पनि महिलाको फोटो फरक छ । त्यस्तै रेल पृष्ठभूमिबाट हटिसकेपछि देखिने पसलहरूको बोर्ड पनि अस्पष्ट देखिन्छ ।
त्यसपछि ४० औं सेकेन्डमा महिला सुपरमार्केटमा देखिन्छिन् । त्यसमा पनि महिलाको अनुहार परिवर्तन भएको छ । त्यसमा पृष्ठभूमिको दृश्य अस्वाभाविक लाग्छ । अब सुरु हुने ४८ औँ सेकेन्डको क्लिपमा सुरुवाति क्लिपमा देखिएकी महिलाभन्दा कैयौँ फरक महिला देखिन्छिन् । त्यसपछिको अन्तिम ५६ औं सेकेन्डपछि महिला रेलमा यात्रा गरिरहेकी देखिन्छिन् ।
त्यसमा भिओको वाटरमार्क प्रस्ट देखिएको छ भने क्याप्सनमा अक्षरहरू सबै बिग्रिएका छन् ।
यहाँ १ मिनेट ४ सेकेन्डको भिडिओमा हरेक ८ सेकेन्डमा फरक फरक क्लिप देखिएका छन् । भिओ थ्रीले अहिले आवाजसहितको भिडिओ जम्मा आठ सेकेन्डको बनाउन सक्छ । उही पात्र भएको अर्को भिडिओ बनाउन त्यही किसिमको प्ररिस्कृत प्रम्प्ट आवश्यक पर्छ । त्यसो गर्दा पनि दुरुस्तै अनुहार मिल्ने अर्को क्लिप बनाउन एआईलाई गाह्रै पर्छ । त्यसैले हरेक आठ सेकेन्डपछि भिडिओमा देखिने महिलाको स्वरूप नै फरक देखिएको छ । आवाज केही हदसम्म पहिलेकै क्यारेक्टरसँग मिल्दोजुल्दो सुनिए पनि हरेक क्लिपमा भिन्नता पाउन सकिन्छ ।
भिडिओ एआईले बनाएको हो वा होइन भन्ने पहिचान गर्ने टुल हाइभ मोडेरेसनमा भिडिओ अपलोड गर्दा यो ९९.३ प्रतिशत एआईले बनाएको हुनसक्ने देखियो ।
एआई भिडिओ राखेर भ्रममा पार्दै ‘ह्युमन रिभाइभ’
पहिलो पटक ‘ह्युमन रिभाइभ’ नामक टिकटक अकाउन्टबाट १३ जुन २०२५ मा भिडिओ राखेको देखिन्छ । उक्त भिडिओ पनि एआईले नै तयार पारेको हो । एआईमा पनि गुगलको नयाँ टुल ‘भिओ थ्री’ले सो भिडिओ बनाएको वाटरमार्कबाट स्पष्ट हुन्छ ।
त्यसपछि पनि उक्त अकाउन्टबाट ‘भिओ’ निर्मित भिडिओहरू निरन्तर अपलोड भइरहेका छन् । माथि चर्चा गरिएकी वृद्धाको भिडिओ नै उक्त अकाउन्टबाट पोस्ट गरिएको पहिलो यस्तो सामग्री देखिन्छ । सोही भिडिओले व्यापक चर्चा पाएपछि प्रयोगकर्ता हौसिएर यस्तै प्रकृतिका अन्य भिडिओ निरन्तर पोस्ट गरिरहेका छन् ।
भिडिओमा कतै पनि ती सामग्री एआईद्वारा निर्मित हुन् भनेर खुलाइएको छैन । यतिसम्म कि प्रयोगकर्ताले ‘भ्लग भाग १, भाग २, भाग ३’ जस्ता शीर्षक राखेर दर्शकलाई थप भ्रममा पार्ने प्रयास गरिरहेका छन् । यिनै भ्रामक भिडिओलाई वास्तविक ठानेर अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि टिकटक र फेसबुकमा व्यापक रूपमा शेयर गरिरहेका छन् ।
दाबी
देशको बेथितिबाट दिक्क भएर अस्ट्रेलिया पुगेकी नेपाली वृद्धाले भ्लग बनाइन् ।
दाबीकर्ता
नेपाली रिभाइभ नामको टिकटक अकाउन्ट, ‘पूर्णहाङ राई’, ‘खेलाडी’, ‘कल्पना बिस्ट’ नामक फेसबुक पेज ।
तथ्य
भिडिओ वास्तविक नभई गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ले निर्माण गरेको हो ।
निष्कर्ष
‘नेपाली रिभाइभ’ नामक टिकटक अकाउन्ट, ‘पूर्णहाङ राई’ र ‘खेलाडी’ नामक फेसबुक पेजले एउटा भिडिओ पोस्ट गर्दै देशको बेथितिबाट दिक्क भएर अस्ट्रेलिया पुगेकी एक नेपाली वृद्धा महिलाले भ्लग बनाएको भ्रामक दाबी गरिरहेका छन् । भिडिओलाई वास्तविक देखाउन उनीहरूले कमेन्टमा समेत ‘यो साँचो हो’ भनेर लेखिरहेका छन् । तर, फ्याक्टचेकको विश्लेषणबाट यो भिडिओ वास्तविक नभई गुगलको नयाँ एआई भिडिओ जेनेरेसन टुल ‘भिओ’ (VEO) बाट बनाइएको कृत्रिम भिडिओ भएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ १६:३९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपाल प्रहरीले हालै ललितपुरमा एउटा ठुलो अनलाइन सट्टाबाजीको र्याकेट फेला पार्यो । त्यसमा संलग्न ५ जना भारतीय र १२ जना नेपाली गरी १७ जना पक्राउ परे । उक्त समूहले ‘711Bat.club’, ‘711Bat.com’ र ‘Unicon offline’ जस्ता अनलाइन साइटहरू प्रयोग गरी ८१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रमाण फेला परेको छ । यो सञ्जाल सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालित रहेको भए पनि त्यहाँको महँगो खर्चका कारण नेपालमा सारिएको खुलेको छ ।
यो र्याकेटमा पक्राउ परेका मुख्य प्रतिवादी मध्येका एक हुन्, डायमण्ड कुँवर । अछाम साँफेबगरका २९ वर्षीय उनी करिब दुई ढाई वर्ष अघि भिजिट भिसामा यूएई गएका थिए । उनका अनुसार वर्किङ भिसा बनाएर कामको खोजीमा थिए । त्यसैक्रममा भारतीय नागरिक निखिल सोनी भन्ने ब्यक्तिसँग उनको भेट भयो । निखिलले क्यासिनोको काम अफर गरे । तयार भएपछि उनले डायमण्डलाई लिएर यूएईको सत्तुवा सहरमा रहेको एउटा भवनमा पुर्याए । त्यहाँ भारतीय नागरिक राहुल सिंह, नेपाली नागरिक विनोद विक्रम शाही, महेश बोगटी र दिपक पौडेल भेटिए । यसरी डायमण्ड पनि उनीहरूले सञ्चालन गरिरहेको अनलाइन जुवा खेलाउने काममा संलग्न भए ।
च्याट सपोर्टको रूपमा बेटिङको काम थालेका उनी क्रमशः ग्राहकको रकम कसरी डिपोजिट गर्ने, कसरी विथड्र गर्ने लगातका काममा सक्रिय हुन थाले । करिब दुई वर्ष यूएईमा अनलाइन सट्टेबाजीको काम गरेको बताउने डायमन्डले त्यहाँ मासिक ७४ हजार रुपैयाँ पाउँथे ।
यूएईमा बस्न-खान महँगो हुने देखेर त्यहाँ गरिरहेको अनलाइन सट्टेबाजीको काम नेपालमै बसी गर्न सकिने आइडिया उनले निकाले । त्यसपछि सञ्चालक मध्येका राहुल सिंहसहित पुस २०८१ मा नेपाल आए । पक्राउ पर्ने कुँवरसँगै डोटी पुर्वीचौकी-४ का हर्कबहादुर खड्का, ठक्कर कुँवर, तिलक खड्का, रूपन्देही, तिलोत्तमा-४ का पुर्णबहादुर दर्लामी मगर, दाङ, लमही-१ बिष्णुकुमार रावत, नवलपरासी (पुर्व) गैडाकोट-१२ का जीतबहादुर महतो सबै भिजिट भिषामा यूएई पुगेरै अनलाइन बेटिङमा जोडिएका हुन् । त्यस्तै भारतीय नागरिकहरू बिहारका दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र दिल्लीका मोहितकुमार सिंहले पनि भिजिट भिसामा आफूहरू दुबई गएको बेला विभिन्न व्यक्तिहरूको सम्पर्कबाट अनलाइन बेटिङसँग जोडिएको बयान दिएका छन् ।
बाँकी कैलाली गौरीगंगा ६ का अरविनकुमार खड्का, अछाम चौरपाटी ७ का मनोज बोगटी, कञ्चनपुर कृष्णपुर ३ का राजेन्द्रबहादुर महता, अछाम साँफेबगर ७ का तेजबिकास थापा र डोटी पुर्वीचौकी ४ का सुवाश खड्का कामको खोजी गर्ने क्रममा काठमाडौँमै आएर यसमा संलग्न भए । भारत, बिहारका ऋषभ राजले उडिसामा नोकरी खोज्ने क्रममा भेटिएका एक व्यक्तिको सम्पर्कबाट काठमाडौँ आइपुगेको बयान दिएका छन् । नेपालमै अनलाइन सट्टेबाजीमा जोडिएकाहरूले खान-बस्न निःशुल्क अनि मासिक २५ हजार भारुदेखि माथिको तलब आफूहरूले पाउने गरेको बताएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले ललितपुर महानगरपालिका-२६ जैनखेलस्थित एक घर र वडा १३ नख्खुस्थित सनराइज अपार्टमेन्टको एक फ्ल्याटमा छापा मारेको थियो । १९ जेठ २०८२ को साँझ ५ बजे छापा मार्ने क्रममा अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेका १५ जनालाई जैनखेलबाट र डायमण्ड कुँवरको बयानका आधारमा नख्खुस्थित अपार्टमेन्टबाट थप २ जनालाई पक्राउ गरिएको हो ।
मुख्य योजनाकार राहुल सिंह, दिपक पौडेल र महेश बोगटी (रोलेक्स) भने फरार रहेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूकै निर्देशनमा डायमण्ड कुँवरले यस समूहको नेतृत्व गरेको बताइएको छ ।
यस समूहले क्रिकेट, फुटबल, टेनिस र तासको ‘तीन पत्ती’ जस्ता खेलहरूमा अनलाइन सट्टाबाजी खेलाउने गरेको थियो । खेलाडीहरूले ‘www.711Bat.club’ जस्ता साइटहरूमा साइनअप गरी भारतीय मोबाइल नम्बरबाट ओटीपी प्राप्त गरेर आईडी बनाउँथे । त्यसपछि, साइटमा रहेको भारतीय बैङ्क खातामा रकम जम्मा गरेपछि स्वतः कोइन प्राप्त हुन्थ्यो, जसबाट उनीहरूले बाजी लगाउन सक्थे । जित्दा कोइन बढ्ने र हार्दा घट्ने व्यवस्था मिलाइएको थियो । ग्राहकले जितेको रकम आफ्नो बैँक खातामा निकाल्न सक्ने प्रणाली बनाइएको थियो ।
समूहका सदस्यहरूले ग्राहकहरूलाई सपोर्ट दिने, समयमा रकम जम्मा गर्ने र निकाल्ने, तथा प्राविधिक समस्याहरू समाधान गर्ने जस्ता कामहरू गर्थे । उनीहरूले ह्वाट्सएपको माध्यमबाट ‘RTGS Group’ र ‘Account Group’ हरू बनाएर रकम र बैङ्क खाता उपलब्ध गराई कारोबार सञ्चालन गर्ने गरेका थिए । बरामद भएका ल्यापटप र मोबाइलको प्राविधिक जाँचबाट ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।
अधिकांश प्रतिवादीहरूले आफूहरू दुबईमा पनि यस्तै काम गरेको र पछि नेपाल आएर निरन्तरता दिएको बयान दिएका छन् । उनीहरूलाई मासिक नेपाली ४० हजारदेखि ८० हजार रुपैयाँसम्म (भारतीय २५ हजारदेखि ५० हजार रुपैयाँसम्म) तलब दिने गरिएको थियो ।
यी प्रतिवादीहरू विरुद्ध सट्टेबाजीसम्बन्धी कसुरमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसअनुसार उनीहरूबाट बिगो जफतसँगै एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ २०:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विद्युतीय शवदाह गृहको उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिए ।
अख्तियारले शवदाह गृहको उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरेको छ । यो प्रकरणमा सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी लिइएको छ ।
यसैगरी उपकरण आपूर्तिकर्ता म्याप इन्ट्रप्रेनर प्रालिका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि संयुक्त रुपमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । यस्तै एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध कायम गरेको बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी छ ।
पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ मा बोलपत्र आह्वान गरी विद्युतीय शवदाह गृहको उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । उक्त प्रक्रियामा योग्यता नपुगेका र योग्यता नपुगेका कम्पनीलाई ठेक्का दिलाउन मापदण्डसमेत हेरफेर गरिएको लगायतका र मिलोमतोमै रकम भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । करिब १०,५०० वर्षअघि हालको बेल्जियममा बसोबास गर्ने एक प्रागैतिहासिक महिलाको अवशेषको अध्ययन गरिरहेका वैज्ञानिकहरूले प्राचिन डीएनए प्रयोग गरी उनको अनुहारको पुनर्निर्माण गरेका छन् । यो महत्त्वपूर्ण वैज्ञानिक सफलताले प्राचीन युरोपेली मानिसहरूको बारेमा नयाँ र अप्रत्याशित जानकारी उजागर गरेको छ ।
गेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा रहेको एक टोलीले पत्ता लगाएअनुसार, पुनर्निर्मित महिलाका नीला आँखा र पश्चिमी युरोपका मेसोलिथिक (मध्य पाषाण कालीन) कालका अधिकांश मानिसहरूको भन्दा केही हलुका छाला थियो । गेन्ट विश्वविद्यालयकी पुरातत्त्वविद् तथा मेसोलिथिक बेल्जियमसम्बन्धी अनुसन्धान परियोजनाको नेतृत्व गरिरहेकी इजाबेल डे ग्रोटले सीएनएनलाई बताएअनुसार, यी महिला बेलायतमा सोही समयमा बाँचेका ‘चेद्दरम्यान’ (Cheddar Man) जस्तै मानव समूहकी थिइन्, तर उनको छाला ‘चेद्दरम्यान’को भन्दा हलुका थियो ।
यी निष्कर्षहरूले सिकार जम्मा पार्ने युरोपेलीहरूको आनुवंशिक बनावट एकनासको थियो भन्ने पहिलेका धारणाहरूलाई चुनौती दिएका छन् । डे ग्रोटका अनुसार यसले विभिन्न जनसङ्ख्या समूहहरूमा छालाको रङ्गमा पहिलेदेखि नै उल्लेखनीय भिन्नता रहेको देखाउँछ । खोपडीको विश्लेषणबाट, उनी ३५ देखि ६० वर्ष बीचकी भएको अनुमान गरिएको छ । डे ग्रोटका अनुसार, उनको नाकको डाँडी उचो थियो, जुन ‘चेद्दम्यान’सँग मिल्दोजुल्दो छ । महिला भए पनि उनको निधारको हाड बलियो थियो ।
यी महिलाको अवशेष सन् १९८८-१९८९ मा बेल्जियमको डिनान्टस्थित मार्गाउक्स गुफामा पुरातात्त्विक उत्खननका क्रममा भेटिएको थियो । त्यस क्रममा अन्य आठ जना महिलाको शवसँगै फेला परेको थियो ।
अनुसन्धान परियोजनाका सदस्य तथा विश्वविद्यालयका पुरातत्त्वविद् फिलिप क्रोम्बेका अनुसार, अवशेषहरू फेला पर्दा प्राचीन डीएनएमा अनुसन्धान गर्ने कुनै प्रविधि उपलब्ध थिएनन् । “उत्खननपछि प्रविधिहरू विकसित भएका छन्,” उनले भने, “इन्टरडिसिप्लिनरी परियोजना पुराना उत्खननहरूको अत्याधुनिक विधिहरू प्रयोग गरेर गरिने नयाँ विश्लेषण हो ।” क्रोम्बेले महिलाको खोपडीबाट निकै राम्रो गुणस्तरको डीएनए लिइएको र त्यसले विस्तृत पुनर्निर्माण सम्भव भएको बताए ।
उनको छालाको रङ्ग, कपालको रङ्ग र आँखाको रङ्ग सबै प्राचीन डीएनएमा आधारित छ । जबकि, गहना र ट्याटु जस्ता अन्य तत्त्वहरू भने मियुज नदी बेसिनका अन्य उत्खननहरूबाट प्राप्त पुरातात्त्विक जानकारीमा आधारित छन् । यसले उनको दैनिक जीवनको चित्र बनाउन पनि मद्दत गरेको छ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८२ २१:८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २ खेलेर स्वदेश फर्किएको छ ।
आइतबार अपरान्ह स्वदेश फर्किएको टोलीलाई त्रिभुवन बिमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । त्यस्तै लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो ।
स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए ।
नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टि ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ