
काठमाडौँ । ४० वर्षपछि भारतले पुनः अन्तरिक्षमा मानव पठाएको छ । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्ला सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका हुन् । स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टबाट उडेका शुक्ला १४ दिने ‘एक्सियम-४ मिसन’मा सहभागी छन् । सो मिसनमा अन्तरिक्ष यात्रीहरूले माइक्रोग्राभिटी (सूक्ष्म गुरुत्वाकर्षण) मा ६० भन्दा बढी वैज्ञानिक प्रयोगहरू गर्ने बताइएको छ ।
स्पेसएक्सको फाल्कन-९ रकेट अमेरिकी अन्तरिक्ष निकाय नासाको केनेडी स्पेस सेन्टर, फ्लोरिडाबाट बुधबार बिहान १२:४६ बजे (नेपाली समयअनुसार) सफलतापूर्वक उडेको हो ।
आईएसएस पुगेपछि उनले सबै देशवासीलाई मानव अन्तरिक्ष कार्यक्रमको हिस्सा बन्न आह्वान गरेका छन् । “४० वर्षपछि हामी फेरि अन्तरिक्ष पुगेका छौँ र यो यात्रा अत्यन्त अद्भुत छ । अहिले म पृथ्वीको चारैतिर प्रति सेकेन्ड ७.५ किलोमिटरको गतिमा घुमिरहेको छु । मेरो काँधमा तिरंगा छ, जसले मलाई सम्झाइरहेको छ कि म तपाईं सबैसँग छु ।”
उनले यो यात्रा व्यक्तिगत नभइ सम्पूर्ण भारतको लागि महत्त्वपूर्ण रहेको बताए । शुभांशुले भने, “यो मेरो आईएसएससम्मको यात्रा मात्र होइन, यो भारतको मानव अन्तरिक्ष कार्यक्रमको सुरुवात हो । म चाहन्छु सम्पूर्ण देशवासी यो अभियानको हिस्सा बनून् ।”
उनले थपे, “हामी सबैको छाती गर्वले फुल्नुपर्छ । यो यात्रा हाम्रो साझा गौरव हो । आउनुहोस्, हामी सबै मिलेर भारतको मानव अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाउँ । जय हिन्द, जय भारत ।”
स्पेसएक्सको क्रु ड्र्यागनमार्फत उडेका उनीहरू २८ घण्टाको उडानपछि स्वतः प्रणालीमार्फत आईएसएसमा डक (Dock) हुने तालिका छ । सो समय उनीहरू पृथ्वीबाट करिब ४०० किलोमिटर माथि कक्षामा रहनेछन् । आईएसएसमा उनीहरूलाई तीन अमेरिकी, एक जापानी र तीन रुसी अन्तरिक्ष यात्रीहरूले स्वागत गर्ने कार्यक्रम छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १५:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर बनेको एक महिनापछि उनले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा गभर्नर पौडेलको परिवारसँग झन्डै १८ करोड बराबरको सम्पत्ति रहेको देखिएको छ।यसमध्ये धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन्।
सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा उनको सेयर लगानी छ।
गभर्नर पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको छ। यस्तै, उनकी श्रीमती शर्माको नाममा नवलपरासी र ललितपुरमा १ करोड ५५ लाख रुपैयाँमा खरिद गरेको जग्गा रहेको छ।
त्यस्तै, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न तीनवटा बैंकमा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको नाममा २० लाख ६८ हजार रुपैयाँ र सानिमा बैंकको डलर खातामा चार हजार भन्दा बढी अमेरिकी डलर रहेको व्यहोरा उनले खुलाएका छन्।
गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा सानिमा बैंकमा रहेको डलर खातामा ४ हजार ५१३ अमेरिकी डलर रहेको छ। जसको आजको दर अनुसार ६ लाख २२ हजार २५६ रुपैयाँ हाराहारी हो।
सम्पत्ति विवरणमा उल्लेख गरे अनुसार गभर्नर पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिराको गहना रहेको छ। त्यसबाहेक उनीसँग ४५ तोला सुन रहेको छ। जसको आजको भाउ अनुसार ८६ लाख ४० हजार रुपैयाँ बराबरको हुन आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ।
नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन्।
इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो।
बुधबार सुरु हुने बयान छिटोछरितो रूपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो। गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । फेसबुक मेसेन्जरमा आफूलाई थाइल्यान्डको बैंकको म्यानेजर बताउँदै लाखौँ ठगी गरेर फरार भएका एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं का २० वर्षीय कुशेश्वर मेहता छन् ।
उनलाई साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पक्राउ गरेको हो । उनलाई कोशी गाउँपालिका वडा नं ८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्र आसपासमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मेहताले ‘Vanida Suwan’ नामको फेसबुक आईडी बनाएका थिए । उनले आफ्नो नाम ‘Phueng Vanida’ रहेको र आफू थाइल्याण्डको एसआईएम कमर्सियल बैंकको म्यानेजर रहेको भन्दै रमेश शाही (नाम परिवर्तन) लाई मेसेज गरेका थिए ।
मेहताले बैंकमा ‘एलेन रवि शाही’ नामको खाता रहेको, तर ती व्यक्ति जीवित नरहेको भन्दै अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएको कुरा रमेशलाई सुनाएका थिए । एलेन रवि र रमेश दुवैको थर एउटै भएकाले बैंक खातामा भएको रकम सबै रमेशलाई ट्रान्सफर गरिदिने विश्वास पनि दिलाए ।
त्यसपछि पटक पटक गरेर उनले शाहीबाट फरक फरक बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ हाल्न लगाएका थिए । आफू ठगिएको थाहा पाएपछि शाहीले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिए । सोही जाहेरीको आधारमा सुनसरीबाट उनी पक्राउ परेका हुन् ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १४:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– काठमाडौं विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ।
पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा उनले बयान दिएका हुन्।
‘टी ब्रेक’पछि थुनछेक बहस सुरु भएको छ। तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन्। अख्तियारले पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको छ। थुनछेक बहस आजै सक्नेगरी तयारी भइरहेको स्रोतको भनाइ छ।
थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ। वरिष्ठ अधिवक्ता नै डेढ दर्जन जति छन्।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
नेपालको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु :
गोविन्द बन्दी, शम्भु थापा, गोपालकृष्ण घिमिरे, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टीकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवाली, हरिहर दाहाल, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीलगायत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरू हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन गरेको छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले अब अनुमति बिना सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूले अनिवार्य रूपमा संचालन अनुमति लिनुपर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अबदेखि एम्बुलेन्स सेवा प्रदान गर्न चाहेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वयमा रही सेवा दिनुपर्नेछ। साथै, सेवा दिने क्रममा सम्पूर्ण मापदण्डहरू पालना गरेको हुनुपर्नेछ।’
अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान गरिएको हुनु पर्ने, प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनु पर्ने र फोरह्विल सवारी हुनु पर्ने मापदण्ड रहेका छन्। त्यसैगरी निर्देशिकाअनुसार वर्ग, रङ, उपकरण तथा चालकको तालिम पूरा भएको हुनु पर्ने र राजश्व छुटको सिफारिस गर्दा पनि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १३ (ञ) बमोजिम प्रदेश सिफारिस पत्रमा यसअगाडि छुट लिएको/नलिएको स्पष्ट खुलाउनुपर्ने उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले सबै एम्बुलेन्स सञ्चालक, सम्बन्धित निकाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र आवश्यक अनुमति लिई कानुनी रूपमा सेवा संचालन गर्न अनुरोध समेत गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि क्रोम वेब ब्राउजरमा नयाँ सुविधा ल्याएको छ । यससँगै अब ब्राउजरको एड्रेस बारलाई स्क्रिनको तल पुछारमा राख्न सकिने भएको हो ।
यो परिवर्तनले प्रयोगकर्ताहरूलाई विशेषगरी ठुला स्क्रिन भएका स्मार्टफोनहरूमा एड्रेस बारमा अझ सजिलसँग पहुँच पाउन सघाउने अपेक्षा गरिएको छ। यो सुविधा आईओएस क्रोम प्रयोगकर्ताहरूका लागि भने सन् २०२३ देखि नै उपलब्ध थियो ।
गुगलका निक किम सेक्सटनले एक ब्लग पोस्टमा भनेका छन्, “तपाईँको हातको आकार र तपाईँको डिभाइसको आधारमा एड्रेस बारको एउटा स्थान अर्कोभन्दा बढी सहज महसुस हुन सक्छ । यो अपडेट तपाईँलाई आफ्नो मनपर्ने स्थान छनोट गर्न विकल्प दिने लागि डिजाइन गरेका छौँ, जसले गर्दा तपाईँ अझ सजलैसँग ब्राउज गर्न सक्नु हुनेछ ।”
यो सुविधा प्रयोग गर्न निकै सरल छ । एड्रेस बारमा केही बेर थिचिराखेर त्यसलाई सार्ने विकल्प चयन गर्न सक्नुहुन्छ । यसबाट एड्रेस बारलाई स्क्रिनको तल सार्न वा फेरि माथि ल्याउन मिल्छ । यसबाहेक क्रोमको सेटिङ मेनुबाट पनि त्यसलाई मिलाउन सकिन्छ ।
यो सुविधा २४ जुनदेखि रोल आउट हुन थालेको यो सुविधा सबै एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध हुन थप केही समय लाग्न सक्छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १३:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पुु वन्यजन्तुु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा आफूहरुको घर बसोबास अधिग्रहण भएकामा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका छन् ।
सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागुुन ६ गते रकम चेम्जोङ नेतृत्वको गठन भएको कोशीटप्पुु वन्यवजन्तुु आरक्षका विस्थापितहरुको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुुझाव दिएको थियो ।
सो प्रतिवेदन कार्यान्वयन हुनुुपर्ने मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने प्रतिनिधिमण्डलमा सहभागी उच्चस्तरीय आयोगका तत्कालीन सदस्य मनोहरनारायण श्रेष्ठले बताए । सो समस्याका विषयमा सर्वाेच्च अदालतको २०४६ वैशाख ५ गतेको फैसलामा पनि सट्टा जग्गा दिनुु भन्ने आदेश भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।
ज्ञापनपत्र बुुझेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई उक्त समस्याबारे अध्ययन गरी १५ दिनभित्र विस्थापित परिवारलाई उचित जवाफ दिन निर्देशन दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । गुडिरहेको अवस्थामा इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । रत्नपार्कमा बुधबार बिहान करिब ९:४० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त, सिंहदरबारले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् ।
स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १२:११
सामाग्री श्रोत :
टेक पाना
कञ्चनपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ।
प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताएका हुन्।
कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ। जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ।
हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डिपिए, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ। उनका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डिएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ।
कम्पनीले युरिया प्रतिबोरा रु ९४०, डिएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ का दरले सहकारीलाई बिक्री भइरहेको छ। जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ