२०८२ आश्विन २८ मंगलवार
२०८२ आश्विन २८ मंगलवार

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।

‘चार किल्ला भित्रको क्षेत्रमा बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ को नियम ५ र ६ बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गराउन तथा यस क्रममा सुनसरी जिल्लाको अन्य स्थानमा रोग प्रमाणित भएमा पनि सोहि बमोजिम रोग नियन्त्रण कार्य सञ्चालन गर्न आवश्यक समन्वय, सहजिकरण तथा सहकार्यको लागि अनुरोध छ,’ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा भनेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार


श्रोत : www.janaboli.com

काठमाडौं। नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ।

संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो। विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरु मन्त्रालय पुगेका थिए।

भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।

भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरिन्।

नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरुको संगठन हो। काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको थियो।


श्रोत : www.dcnepal.com

काठमाडौँ- आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन् ।

ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो ।

उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो ।

उक्त दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।

छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन् ।

विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनले जोड दिइन्।

दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन उनले निर्देशन दिइन् ।


श्रोत : deshsanchar.com

काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो।

हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ ।


श्रोत : www.dcnepal.com

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताए ।

साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “मुलुकमा रहेको निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

“मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ । जनताको सङ्घर्षबाट प्रजातन्त्रकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौँ”, सन्देशमा भनिएको छ ।

देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको हाम्रो कार्यभार होभने लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेका हामीले अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध ध्यान केन्द्रित गर्नुपर्दछ ।”

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प गर्न सबैमा प्रेरणा मिल्ने विश्वास अध्यक्ष नेपालले व्यक्त गरेका छन्।


श्रोत : www.dcnepal.com

७  फागुन, काठमाण्डौँ ।  गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन् ।

गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए । बाँकी एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो ।

उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हाल सम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ । हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।

‘आज १३ जना नेपाली इजरायलका लागि उडेका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले नेपालीको भिसा पठाउने बित्तिकै उनीहरू पालैपालो जानेछन् । त्यहाँ नेपालीले इजरायली सरह नेपालीले पनि सेवा सुविधा पाउने छन् ।’ उनका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित छन् । इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ ।उनीहरू सबै इजरायल जी टू जी मार्फत नै जाने गरेका छन् । त्यहाँ विभिन्न किसिमका लडाइँ भए पनि हाम्रो श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित भएको उनी स्वीकार छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार


श्रोत : www.janaboli.com

काठमाडौं। धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिँड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अंगलाई फाइदा हुन्छ। सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईंको मेटाबोलिजम बढ्न जान्छ।

फटाफट वा गति बढाएर हिँड्दा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाइँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिड्दा मूड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ।

हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ। यसरी हेर्दा तिब्र गतिमा हिड्नुका धेरै फाइदाहरु छन्। तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिँड्ने? यसको बारेमा हामी केही जानकारी दिनेछौं।

खाली पेटमा हिडनुको फाइदा

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईंको लागि निकै फाइदाजनक साबित हुन सक्छ। यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ। जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ।

शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईं हिँड्नुहुन्छ, तपाईंको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ।

मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।

खाजा खाएर हिड्नुका फाइदाः

बिहानको खाजा पछि पनि हिड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ। खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। तपाईंको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ।

यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ। साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ। यदि तपाईं बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईंको पाचनलाई पनि स्वस्थ राख्छ।


श्रोत : www.dcnepal.com

ताप्लेजुङ- ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ ।

आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।

स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् । ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् ।

पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।

केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ । केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो ।


श्रोत : deshsanchar.com

बि.सं.२०८१ फागुन ७ गते बुधवार, ई.सं.२०२४ फ्रेबुअरी १९, नेपाल सम्बत ११४५ सिल्लागा सप्तमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, फागुन कृष्ण सप्तमी, पञ्चाङ्ग: वृद्धि वणिज स्वाति चन्द्र राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः भद्रा, याेगः बृद्दी। आज नेपालमा सूर्योदय बिहान ०६:४० बजे, सूर्यास्त साँझ ०५:५७  बजे हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा ज्वाँनाे मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १७  मिनेट देखि ८ बजेर ४५  मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

परीक्षा वा प्रतिस्र्पद्धामा सफल भइने छ, तर आज आवेग, रिस र घमण्डमाथि नियन्त्रण गर्नुपर्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्र्पद्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्नसक्छ । घरमा सम्पर्क राखी चलिरहेको परिस्थितिका बारेमा अपडेट हुनुपर्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्र्पद्धामा सफल भइने छ । भाइबहिनी वा छोराछोरीका लागि व्ययभार बढ्ने दिन हो । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ ।


श्रोत : www.dcnepal.com

काठमाडौं । प्रदर्शाेन्मुख चलचित्र ‘लाजशरणम’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न अदालतले आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरूद्ध हालेको रिटमा सो आदेश आएको हो ।

चलचित्रमा सिताराम कट्टेल धुर्मुसले निभाएको भूमिका आफूसँग मिलेको भन्दै आलमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अदालतको आदेशले भोलि हुने भनिएको ट्रेलर रिलिज रोकिएको छ ।

उच्च अदालतले मंगलबार छलफलका लागि दुई पक्षलाई बोलाएको थियो । आलमका वकिलहरुले धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाएका थिए । उनको गेटअप हुबहु आलमको जस्तै भएकाले यसबाट आलमको मानहानी हुने उनीहरुको तर्क थियो ।

लाजशरणमको तर्फबाट बहस गरेका वकिलहरुले भने सो चरित्रको आलमसँग कुनै लेनादेना नभएको बताए । गेटअप मिल्दैमा मानहानी नहुने उनीहरुको तर्क थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार


श्रोत : www.janaboli.com

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।