लिमासोलमा इलेक्ट्रिक स्कुटरलाई कारले ठक्कर दिंदा २६ वर्षीया नेपाली युवती गम्भीर घाइते भएकी छन्।
गत मंगलबार बिहान करिब ८:३० बजे लिमासोल सिटीस्थित Nikos Pattichis street मा दुर्घटना भएको हो।
घरेलु कामदारका रूपमा कार्यरत ती युवती काममा जाँदै गर्दा इलेक्ट्रिकल स्कुटरमा सवार रहेको बताइएको छ। दुर्घटनापछि उनलाई गम्भीर अवस्थामा लिमासोल जनरल अस्पताल लगिएको भनिए पनि अहिले मेडिटेरिनियन हस्पिटल मा उपचार भै रहेको छ।

photo credit: cyprus times
गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेयका अनुसार हाल उनलाई सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको छ। अध्यक्ष पाण्डेयले चिकित्सकलाई उद्धृत गर्दै बताए अनुसार युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने हात र खुट्टामा पनि फ्र्याक्चर भएको छ।
उनको अवस्था निकै गम्भीर रहेको र हाल उनी कोमामा रहेको बताईएको छ।
ती युवती दुई वर्षअघि साइप्रस आएकी हुन्। उनी आउट–लिभिङ भिसामा घरायसी काम (हाउस मेड) गर्दै आएकी थिइन्।
निकोसिया स्थित नेपाली कन्सुलेट कार्यालयले पनि घटनाबारे जानकारी लिँदै आवश्यक फलोअप गरिरहेको जनाएको छ।
दुर्घटनामा संलग्न ५२ वर्षीया महिला चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको स्थानीय मिडियाले जनाएका छन्।
यस घटना बारे थप जानकारी आउन बाँकी छ।
साइप्रसमा उपचारका क्रममा निधन भएकी नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया अन्ततः अघि बढ्ने भएको छ। नेपाली वाणिज्यदूतावास निकोसियाको सक्रियता र निरन्तर पहलपछि बीमा कम्पनीले दाबी स्वीकार गरेसँगै प्रक्रिया पुनः सुरु भएको हो।
नेपाली वाणिज्यदूतावासले दिएको जानकारी अनुसार मन्दिराको शव अब फेब्रुअरी ९ तारिख दिउँसो १२ बजे लार्नाकाबाट कतार एयरवेजको उडानमार्फत पठाइनेछ। उक्त उडान दोहा हुँदै फेब्रुअरी १० तारिख साँझ ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।
यसअघि मन्दिराको मेडिकल रिपोर्टमा ‘मुटु रोगी’ उल्लेख भएको कारण देखाउँदै बीमा कम्पनीले उपचार तथा शव व्यवस्थापन खर्चको दाबी अस्वीकार गरेको थियो। बीमा दाबी अस्वीकार भएपछि शव व्यवस्थापन गर्ने फ्युनरल हाउसले पनि अन्तिम समयमा आएर शव पठाउने सम्पूर्ण प्रक्रिया रोकिदिएको थियो।
यो विषय बाहिर आएपछि एनआरएन साइप्रस लगायत विभिन्न नेपाली संघसंस्थाले नेपाली वाणिज्यदूतावासलाई तत्काल पहल गर्न आग्रह गरेका थिए। संघसंस्थाहरूको आग्रहपछि वाणिज्यदूतावासले पनि विषयलाई गम्भीर रूपमा लिएर सक्रियता बढाएको थियो।
यसपछि नेपाली वाणिज्यदूतावासका प्रमुख रामजीवन पञ्जियारले बीमा कम्पनीसँग निरन्तर संवाद र समन्वय गर्दै समस्या समाधानका लागि पहल गरेका थिए। उनले मानवीय पक्षलाई ध्यानमा राख्दै दाबी प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए।
साइप्रसनेपाल डट कम संग को संवादमा वाणिज्यदुत डा. पञ्जियारले बीमा कम्पनीसँगको छलफलमा, यदि समस्या समाधानमा ढिलाइ भयो भने यसले भविष्यमा नेपाली नागरिकहरूको बीमाप्रति विश्वासमा असर पर्न सक्ने विषय समेत उठाएका थिए। त्यसपछि कम्पनीले पनि सो विषयलाई गम्भीरतापूर्वक लिँदै पुनः समीक्षा गरेको बताइएको छ।
बीमा कम्पनीले सुरुमा बीमा पोलिसी दोस्रो महिनाबाट मात्र लागू हुने भन्दै दाबी दिन कठिनाइ हुने जनाएको थियो। तर दूतावास र विभिन्न पक्षको समन्वयपछि कम्पनीले अन्ततः दाबी स्वीकार गरेको हो।
शव पठाउने प्रक्रिया रोकिँदा परिवारले ठूलो मानसिक पीडा भोग्नुपरेको थियो। नेपालमा मन्दिराको अन्तिम संस्कारका लागि परिवारजन र आफन्तहरू पहिले नै जम्मा भइसकेका थिए। तर अन्तिम समयमा प्रक्रिया रोकिँदा अन्त्येष्टि स्थगित हुँदा परिवार थप तनावमा परेको थियो।
एकातिर प्रियजन गुमाएको दुःख, अर्कोतिर अनिश्चितताले परिवार मानसिक र आर्थिक रूपमा प्रभावित बनेको थियो।
लामो समयपछि प्रक्रिया अघि बढेपछि परिवारले केही राहत महसुस गरेको छ। परिवारले नेपाली वाणिज्यदूतावास, एनआरएन साइप्रस, संघसंस्था तथा सहयोगी व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको बीमा प्रणाली र आपतकालीन व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको तथ्य पुनः उजागर गरेको छ। यस्ता संवेदनशील विषयमा सम्बन्धित निकाय, दूतावास र समुदायको समन्वय महत्त्वपूर्ण हुने देखिएको छ।
लिमासोल, साइप्रस
साइप्रसमा उपचारका क्रममा निधन भएकी नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया हालका लागि रोकिएको छ। शुक्रबार लार्नाकाबाट नेपाल पठाइने तयारी अन्तिम चरणमा पुगेको बेला अचानक प्रक्रिया स्थगित भएपछि परिवार थप पीडामा परेको छ।
शव व्यवस्थापन गर्ने फ्युनरल हाउसले केही प्रशासनिक कारण देखाउँदै ढिलाइ हुने जानकारी परिवारलाई दिएको छ। यसैबीच, उपचार तथा शव व्यवस्थापनमा लागेको खर्चको बीमा दाबी अस्वीकार भएपछि समस्या झन जटिल बनेको हो।
परिवारका अनुसार मन्दिराको मेडिकल रिपोर्टमा ‘मुटु रोगी’ उल्लेख भएकै आधारमा बीमा कम्पनीले खर्च भुक्तानी गर्न अस्वीकार गरेको छ। कम्पनीले मन्दिरा साइप्रस आउँदा पूर्ण रूपमा ‘मेडिकली फिट’ रहेको प्रमाण पेस गर्न परिवारसँग माग गरेको छ। त्यसका लागि नेपालबाट जारी गरिएको प्रारम्भिक मेडिकल रिपोर्ट आवश्यक पर्ने बताइएको छ।
बीमा कम्पनीले मागेको कागजात तत्काल जुटाउन नसक्दा शव पठाउने प्रक्रिया थप लम्बिने सम्भावना देखिएको छ। परिवार अहिले नेपाल र साइप्रस दुवैतर्फ आवश्यक कागजात संकलन गर्न दौडधुपमा लागेको छ।
अचानक आएको यस परिस्थितिले मन्दिराको परिवारमा गहिरो मानसिक, आर्थिक र भावनात्मक दबाब थपिएको छ। एकातिर प्रियजन गुमाएको पीडा, अर्कोतिर खर्च र कागजी झन्झटले परिवार निकै तनावमा परेको छ।
“हामीले शनिबार नै शव नेपाल आइपुग्ने आशा गरेका थियौं, तर प्रक्रिया रोकिँदा झनै पीडादायी बनेको छ।” परिवार का एक सदस्य ले बताए।
परिवारले नेपाली दूतावास, सम्बन्धित निकाय तथा सामाजिक संघसंस्थासँग समस्या समाधानमा सहयोगको अपेक्षा गरेको छ। छिटो प्रक्रिया पूरा गरी शव नेपाल ल्याउन वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने उनीहरूको माग छ।
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको बीमा, स्वास्थ्य परीक्षण र आपतकालीन सहयोग प्रणाली अझै पनि कमजोर रहेको तथ्य पुनः उजागर गरेको छ। यस्ता संवेदनशील विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवाज समुदायमा उठ्न थालेको छ।
Nepali migrant workers and students living in Cyprus have submitted a memorandum to the Nepali Consulate Office in Nicosia on Sunday, drawing attention to the difficulties, hardships, and challenges they are facing.
The program was organized under the coordination of the Non-Resident Nepali Association (NRNA) Cyprus, in collaboration with various Nepali organizations. The memorandum was prepared collectively and submitted through the Embassy to the Government of Nepal.
Representatives of participating organizations shared their experiences related to social security, labor rights, salary facilities, student-related issues, and negligence by manpower agencies. They stated that these matters require serious attention from the state.
The memorandum highlights that many workers have not received refunds of their social security (social insurance) contributions even after completing their contract periods, despite paying for many years. This situation has made their future more uncertain.

Participants also expressed dissatisfaction with manpower agencies that ignore stranded workers. They stated that workers’ suffering will not end unless strict action is taken against such companies. In addition, they urged the Embassy to play an active role in controlling illegal hundi transactions and loan-sharking activities, which are putting workers’ hard-earned income at risk.
During the program, Honorary Consul Dr. Ram Jeevan Panjiyar stated that the problems of Nepalis in Cyprus are increasing day by day. He emphasized that cooperation among all organizations is essential to find long-term solutions.
He said, “Only when the community moves forward together can the rights of workers and students be protected.”
Domestic workers also shared their struggles, including delayed salaries, lack of proper food and accommodation, and being deprived of social and medical insurance. Participants further raised concerns about the lack of transparency regarding the reopening of No Objection Certificate (NOC) approvals for students, which had previously been suspended due to various problems. This has created confusion among many students.
Various organizations in Cyprus signed the memorandum, expressing institutional unity. The signatories include the Non-Resident Nepali Association, Nepal Magar Association, Nepal Tamang Ghedung, Kirat Rai Yayokkha, Tamu Society, Sudurpaschim Nepali Society, and God Grace C.F.
Considering the growing Nepali community in Cyprus, participants demanded government initiatives to establish a permanent embassy. They stressed the need for closer cooperation among the government, the embassy, and the community to ensure the safety, dignity, and future of workers and students.
They also requested the establishment of regular quarterly virtual and in-person meetings among Nepali organizations in Cyprus, the Honorary Consul, and the Embassy to identify and resolve emerging issues in a timely manner.
Key Points of the Memorandum
- Ensure that workers receive refunds of deducted social insurance contributions after completing their contract periods.
- Improve salary facilities, accommodation, and timely social and medical insurance for domestic workers.
- Monitor and investigate how NOC approvals for students were reopened after being previously suspended.
- Take strict action against manpower agencies that neglect stranded workers.
- Disseminate information to discourage illegal hundi transactions and loan-sharking practices.
- Hold quarterly virtual and physical discussions among Nepali organizations, the Honorary Consul, and the Embassy.
- Urge the Government of Nepal, through the Embassy, to initiate the establishment of a permanent embassy in Cyprus in view of the growing Nepali population.
निकोसिया, साइप्रस ।
साइप्रसमा श्रम गर्दै आएका नेपाली श्रमिक तथा अध्ययनरत विद्यार्थीहरूले भोग्दै आएका समस्या, पीडा र अप्ठ्यारालाई बुलन्द आवाज दिन आइतबार नेपाली कन्सुलेट कार्यालय, निकोसियामा ध्यानाकर्षण कार्यक्रम गरि ज्ञापनपत्र बुझाइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको संयोजनमा विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा तयार पारिएको ध्यानाकर्षण पत्र दूतावासमार्फत नेपाल सरकारसमक्ष पेश गरिएको हो।
कार्यक्रममा सहभागी संघसंस्थाले साइप्रसका नेपालीले भोगेका सामाजिक सुरक्षा, श्रम अधिकार, तलब सुविधा, विद्यार्थी समस्या तथा म्यानपावर कम्पनीको लापरबाहीसम्बन्धी अनुभवहरू साझा गर्दै राज्यको गम्भीर ध्यान आवश्यक रहेको बताएका छन्।
ध्यानाकर्षण पत्रमा धेरै श्रमिकहरूले वर्षौंसम्म तिरेको सामाजिक सुरक्षा (सोसल इन्स्योरेन्स) रकम करार अवधि पूरा गरेपछि पनि फिर्ता नपाएको गुनासो गरिएको छ। यसले उनीहरूको भविष्य थप अनिश्चित बनेको उल्लेख गरिएको छ।
यस्तै गरि अलपत्र परेका श्रमिकलाई समेत वेवास्ता गर्ने म्यानपावर कम्पनीप्रति कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरे। उनीहरूले यस्ता कम्पनीमाथि कडा कारबाही नभएसम्म श्रमिकको पीडा नरोकिने बताएका छन्।साथै, हुन्डी कारोबार र मिटरब्याजी गतिविधिले श्रमिकको मेहनतको कमाइ जोखिममा पारेको भन्दै त्यसलाई नियन्त्रण गर्न दूतावासले सक्रिय भूमिका खेल्नुपर्ने माग गरिएको छ।

कार्यक्रममा अवैतानिक वाणिज्य दूत डा. राम जीवन पन्जियारले साइप्रसमा रहेका नेपालीहरूको समस्या दिनानुदिन बढ्दै गएको बताउँदै समाधानका लागि सबै संघ–संस्थाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
उनले भने, “समुदाय एक भएर अघि बढे मात्र श्रमिक र विद्यार्थीको अधिकार सुरक्षित गर्न सकिन्छ।”
घरेलु कामदारहरूले समयमा तलब नपाउने, उचित खाने–बस्ने सुविधा नहुने र मेडिकल इन्स्योरेन्सबाट समेत वञ्चित हुनुपर्ने बाध्यता भोग्दै आएको पीडा पनि कार्यक्रममा उठाइएको छ।त्यस्तै विगतमा देखिएका समस्याका कारण बन्द गरिएको अध्ययन को लागि आवश्यक एनओसी पत्र हाल कसरी पुनः खुला गरियो भन्ने विषयमा पारदर्शिता नहुँदा धेरै विद्यार्थी अन्योलमा परेको सहभागीहरूको भनाइ छ।
ध्यानाकर्षण पत्रमा साइप्रसस्थित विभिन्न संघ–संस्थाले हस्ताक्षर गर्दै संस्थागत एक्यवद्धता जनाएका छन्।
यसमा गैरआवासीय नेपाली संघ, नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु समाज, सुदूरपश्चिम नेपाली समाज र गड ग्रेस सी.एफ. सहभागी छन्।
साइप्रसमा बढ्दो नेपाली समुदायलाई मध्यनजर गर्दै स्थायी दूतावास स्थापना गर्न सरकारको पहल आवश्यक रहेको सहभागीहरूको माग छ।
उनीहरूका अनुसार, श्रमिक र विद्यार्थीको सुरक्षा, सम्मान र भविष्य सुरक्षित गर्न राज्य, दूतावास र समुदायबीच अझ नजिक सहकार्य हुन जरुरी छ। साइप्रसमा देखा परिरहेका श्रमिक, विद्यार्थी तथा समुदायसम्बन्धी समस्या समयमै पहिचान र समाधान गर्न, त्रैमासिक रूपमा साइप्रसमा स्थापित संघ–संस्था, अवैतानिक वाणिज्य दूत तथा दूतावासबीच भर्चुअल तथा प्रत्यक्ष छलफलको नियमित व्यवस्था गरियोस् माग राखिएको छ।

ज्ञापनपत्रका मुख्य बुँदाहरू
• साइप्रसमा रहेका श्रमिकको सोसल इन्स्योरेन्समा काटिएको रकम करार अवधि पूरा गरिसकेपछि फिर्ता पाउने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गरिएको।
• घरेलु कामदारको तलब सुविधा, खाने–बस्ने सुविधा तथा समयमै सोसल र मेडिकल इन्स्योरेन्सको व्यवस्था मिलाउन ध्यानाकर्षण।
• साइप्रसमा विगतमा आउने विद्यार्थीहरूमा समस्या देखिएको कारण NOC बन्द भएको अवस्थामा अहिले कसरी खोलियो भन्ने विषयमा अनुगमन तथा निरीक्षक हुनुपर्ने।
• साइप्रसमा कामदार पठाउने म्यानपावरहरू, जो कामदार अलपत्र हुँदा समेत बेवास्ता गर्ने, त्यस्ता म्यानपावरलाई कडाइ गरिनुपर्ने।
• हुन्डी कारोबार र मिटरब्याजीहरूलाई निरुत्साहित गर्न दूतावासबाट सूचना प्रवाह गरिनुपर्ने।
• साइप्रसका समस्या र समाधान विषयमा त्रैमासिक रूपमा साइप्रसमा स्थापित संघ–संस्था, अवैतानिक वाणिज्य दूत र दूतावासबीच भर्चुअल तथा प्रत्यक्ष छलफल गरिनुपर्ने।
• साइप्रसमा नेपाली समुदायको बढ्दो चापलाई मध्यनजर गर्दै दूतावासका लागि पहल गरिदिन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको।
साइप्रसमा निधन भएकी नेपाली मन्दिरा कुमारी विश्वकर्माको शव कतार एयरवेज कार्गो मार्फत नेपाल पठाइने भएको छ।
नेपाली वाणिज्यदूतावास निकोसियाले दिएको जानकारी अनुसार शव ३० जनवरीमा लार्नाका विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत दोहा पठाइने र त्यसपछि ३१ जनवरी शुक्रबार का दिन QR646 उडानमार्फत काठमाडौं पुग्नेछ।
शव ढुवानी, कागजात तथा कानुनी प्रक्रिया सबै पूरा भइसकेको वाणिज्यदूतावासले जनाएको छ।
शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकका छोरा योगेश कुमार विश्वकर्मा र श्रीमान ले बुझ्नेछन्। साउदी अरब मा कार्यरत श्रीमान इश्वर विश्वकर्मा गत हप्ता नै नेपाल पुगी सकेका छन्।
लालबन्दी–७, सर्लाही घर भएकी मन्दिरा कुमारी विश्वकर्माको उपचारका क्रममा गत जनवरी ११ गते बिहान ९:३० बजे लिमासोलस्थित अस्पतालमा निधन भएको थियो।
नुवाकोटकी अनिता तामाङको जीवन कहिल्यै सजिलो थिएन। गरिबीको छायाँमा हुर्किएकी अनिताले जीवनलाई सधैं संघर्षकै रूपमा स्वीकार गरिन्। जब उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिइन्, तब उनी सोचेकी थिइन् अब जीवनले नयाँ मोड लिन्छ। तर नियतिले उनलाई फेरि अर्को कठोर परीक्षा दिएर स्वागत गर्यो।
जन्मिँदै छोरीका दुवै किड्नी फेल भएको खबरले अनिताको संसार एकैछिनमा अन्धकार भयो। डेढ महिनासम्म ICU मा राखेर उपचार गराइयो। ऋण काढेर, आफन्तसँग हात फैलाएर उनले छोरीको जीवन जोगाइन्। त्यो बेला अनिताले आफूलाई होइन, केवल छोरीलाई बचाउने सपना देखिरहेकी थिइन्। १८ महिनासम्म बिरामी छोरीलाई जसो तसो हुर्काउँदै, उपचार खर्च तिर्दै, ऋणको भार बोक्दै गर्दा उनले एउटा निर्णय गरिन् परदेश जाने।
सन् २०२२ को जुलाईमा उनी साइप्रस आइपुगिन्। घरेलु कामदारको रूपमा काम सुरु गरिन्। परदेशी भूमिमा पसिना बगाउँदै उनले छोरीका लागि भविष्य बुन्न थालिन्। काम राम्रो चलिरहेको थियो। जीवन बिस्तारै सम्हालिँदै थियो। तर करिब १४ महिनापछि उनको शरीरले साथ दिन छाड्यो। लगातार दुई हप्ता दिसा रोकियो। त्यसपछि रगतको बान्ता हुन थाल्यो। अवस्था गम्भीर बन्दै गएपछि डाक्टर घरमै आएर जाँच गरे। एक मिनेट पनि ढिला नगरी उनलाई लिमासोल जनरल अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियो।
त्यही दिन उनलाई थाहा भयो कि उनको ठूला आन्द्रामा क्यान्सर भएको रहेछ। यो खबरले अनिताको जीवन एकाएक थामिएजस्तो भयो। भोलिपल्टै अपरेशन गरियो। आन्द्रा काटेर हटाइयो। जीवन र मृत्युको सीमारेखामा उभिएकी अनिताले त्यो दिन आफूभन्दा बढी छोरीको अनुहार सम्झिइन्।
अपरेशनपछि उनले एक वर्ष घरमै बसेर उपचार गरिन्। छ पटक किमोथेरापी सहिन्। शरीर कमजोर हुँदै गयो, तर मन बलियो बनाइराखिन्।
एक वर्षको लगातार औषधि उपचारपछि परीक्षण गर्दा क्यान्सर छैन भन्ने रिपोर्ट आयो। डाक्टरले अब सामान्य काम गर्न सक्ने बताए। नेपाल फर्किन चाहेमा उडानका लागि समस्या नहुने जानकारी पनि दिए।
दिदीले नेपाल फर्कन सुझाइन्। तर अनिताले छोरीको उपचार खर्च जुटाउन अझै काम गर्नैपर्छ भन्दै नेपाल नफर्कने कठोर निर्णय गरिन्। उनले आफ्नै स्वास्थ्यलाई दोस्रो स्थानमा राखिन्।
नयाँ आशा बोकेर उनी पारालिम्नी सिलाफागु पुगिन्। नयाँ काम सुरु गरिन्। चार महिना पनि बित्न नपाउँदै फेरि पेट दुख्न थाल्यो। अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। उनलाई अस्पताल पुर्याइयो। त्यहाँबाट फेरि लिमासोल जनरल अस्पताल रिफर गरियो। परीक्षणपछि रिपोर्ट आयो कि क्यान्सर चौथो चरणमा पुगेको छ। अब रोगले शरीरका सीमाना तोडिसकेको थियो। पचाउने आन्द्रा बाँकी थिएन। क्यान्सर पाठेघरमा समेत फैलिसकेको थियो। उनलाई निजी अस्पतालमा पठाइयो।
आज अनिता एउटा कोठामा सीमित जीवन बिताइरहेकी छिन्। दिसा–पिसाब शरीरबाट सिधै पाइपमार्फत प्लास्टिकको थैलीमा जम्मा हुन्छ। दिनमा तीन चार पटक त्यो थैली फेर्नुपर्छ। आफैं उठ्न, हिँड्न, हेरचाह गर्न सक्दिनन्। सधैं कसैको सहारा चाहिन्छ। शरीर पहेँलो भएको छ। जे खान्छिन्, त्यो टिक्दैन जस्ताको तस्तै बाहिर निस्किन्छ । दुखाइ उनको दैनिकी बनेको छ।
अहिले उनी दिदीकी साथीको घरमा बसिरहेकी छन्। तर त्यो घरका मालिकले पनि अब उनलाई त्यहाँ नराख्ने निर्णय गरिसकेका छन्। अनितालाई तत्काल बस्न कोठा चाहिएको छ। हेरचाह गर्ने मानिस चाहिएको छ। तर कहाँ जाने, कसरी बाँच्ने भन्ने प्रश्नले सबैलाई तनावमा पारेको छ।
नेपालमा रहेका उनका श्रीमान् स्वयं बिरामी छन्। टाउकोमा एलर्जी, घाउ पाकिरहन्छ। महिनामा १५ देखि १६ हजार कमाइले जीवन चलाउनै मुस्किल छ। छोरी अझै पनि बिरामी छिन्। बुबा–छोरी दुवै आमाको प्रतीक्षामा छन्।
यस कठिन अवस्थामा नेपाली समुदायका विभिन्न संस्था तथा सामाजिक अभियन्ताहरूले अनिताका लागि सहयोग संकलन गर्ने अभियान सुरु गरिसकेका छन्। Helping Hand Cyprus लगायतका प्रतिनिधिहरूले उनको उपचार, बसोबास, औषधि र हेरचाहका लागि सहयोग जुटाइरहेका छन्। अहिलेसम्म धेरै नेपालीहरूले आफ्ना साना ठूला योगदानमार्फत उनलाई जीवनको आशा दिएका छन्।
डाक्टरले अझै चार पटक किमोथेरापी गर्नुपर्ने बताएका छन्। अनिता त्यो पीडा सहन तयार छिन्। कारण एउटै छ आखाँ अगाडी आइरहने उनकी सानी छोरी।
भेट्न गएकाहरूलाई उनी भन्छिन्, “म बाँच्न चाहन्छु। मेरी छोरीका लागि। म बाँच्न सकिन भने, मेरो नाममा उठेको पैसा उसैलाई दिनु।”
यी शब्दहरू कुनै समाचारका साधारण वाक्य होइनन्। यी एक आमाको अन्तिम प्रार्थना हुन्।
आज अनिता तामाङको जीवन तपाईं हामी सबैको सहयोगमा टिकेको छ। तपाईंले दिनुभएको सानो सहयोगले उनको उपचार, बसोबास र हेरचाहलाई निरन्तरता दिन सक्छ। तपाईंको एउटा सानो कदमले एक नानीको भविष्य सुरक्षित हुन सक्छ।
अनिताको परिवारले साइप्रसबासि नेपाली संग सहयोग को लागि अपिल गरेको छ।
अनितालाई सहयोग गर्न चाहने महानुभावहरूले Revolut नम्बर 97819683 मा Subash Waiba को नाममा रकम पठाउन सक्नुहुन्छ। त्यसैगरी Bank of Cyprus को खाता नम्बर 95119138 मा Dinesh Mahara को नाममा पनि सहयोग उपलब्ध गराउन सकिन्छ। थप जानकारीका लागि 94432136, 97 523883 वा 95119138 नम्बरमा सम्पर्क गर्न सकिन्छ।
आज तपाईं पनि आफ्नो सामर्थ्यअनुसार सानो सहयोग गर्न सक्नुहुन्छ। किनकि मानवता सानो सहयोगबाटै सुरु हुन्छ।
अनिता बाँचुन्।
एउटी छोरी अनाथ नहोस्।
नेपाल तामांग घेदुङ्ग साइप्रस प्रवास शाखाको आयोजनामा तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार २०२६ को अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार फेब्रुअरी ८ तारिख आइतबार बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म लिमासोलस्थित नियो फिस्टा हल मा सञ्चालन हुनेछ। कार्यक्रम मञ्जुश्री संवत् २८६२, थो/ता ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना गर्न लागिएको हो।
मञ्जुश्री संवत् तामाङ समुदायले प्रयोग गर्ने आफ्नै वर्ष गन्ने तरिका हो। यसै संवत् अनुसार तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्।
मञ्जुश्री संवत् २८६२ लाई थो/ता ल्हो भनिन्छ, जसको अर्थ घोडा वर्ष हो। तामाङ परम्परामा प्रत्येक वर्षलाई एउटा जनावरको नाम दिइएको हुन्छ। घोडा छिटो दौडने, मेहनती र साहसी जनावर हो। त्यसैले घोडा वर्षलाई मेहनत गर्ने, अगाडि बढ्ने र नयाँ काम सुरु गर्ने राम्रो वर्ष मानिन्छ।
यस वर्ष जन्मिएका बच्चाहरूलाई फुर्तिला, आत्मविश्वासी र काम गर्न मन पराउने स्वभावका हुन्छन् भनेर विश्वास गरिन्छ।
त्यसैले तामाङ समुदायले नयाँ वर्ष सुरु हुँदा सोनाम ल्होछार मनाएर खुशी साटासाट गर्छन्, नाचगान गर्छन् र सबैलाई राम्रो होस् भनेर कामना गर्छन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रख्यात तामाङ तथा नेपाली सांगीतिक क्षेत्रका कलाकार विश्व दोंग को सांगीतिक प्रस्तुति रहनेछ।
विश्व डोङ नेपाली र तामाङ सङ्गीतका गायक, सङ्गीतकार, गीतकार तथा अर्रेन्जरका रूपमा परिचित छन्। सेलो, लोक पप तथा तामाङ मौलिक सङ्गीतमा सक्रिय गायक दोङ्गले विभिन्न लोकप्रिय गीतमार्फत पहिचान बनाउँन सफल छन् । साथै, उहाँ तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
आयोजकका अनुसार कार्यक्रममा तामाङ मौलिक गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।
साइप्रसमा बसोबास गर्ने तामाङ समुदाय तथा सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा सफल बनाउन आयोजकले अनुरोध गरेको छ।
कार्यक्रम स्थल सम्म आउन जान को लागि साइप्रसका विभिन्न शहरबाट बस को आयोजना गरिएको छ। कार्यक्रम मा तामांग समुदाय को मौलिकता र संस्कृति संगै रमाउदै नेपाली खाना को पनि व्यवस्था गरिएको छ। कार्यक्रम मा सहभागी हुन टिकट को मुल्य २० युरो तोकिएको छ। यातायात को लागि पोस्टर मा दिएको व्याक्ति र नम्बर मा सम्पर्क गर्न सकिने आयोजक ले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा पछिल्लो समय नेपाली कन्सुलेट, निकोसियाले लिने राजश्व र सेवा शुल्कलाई लिएर विभिन्न किसिमका बहस, टिप्पणी र आलोचना देखिन थालेपछि त्यसलाई स्पष्ट पार्ने उद्देश्यले कन्सुलेटले आधिकारिक सेवा शुल्क सूची सार्वजनिक गरेको छ।
विशेषगरी Cyprus मा पासपोर्ट नवीकरण शुल्क महँगो भएको, कन्सुलेटले बढी पैसा लिएको तथा होलिडे पेपरमा तोकिएभन्दा बढी रकम असुल गरिएको भन्ने बुझाइ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। यसले धेरै सेवाग्राहीमा अन्योल सिर्जना गरेपछि वास्तविक शुल्क संरचना स्पष्ट जानकारीका लागि यो सेवा शुल्क सूची सार्वजनिक गरिएको कन्सुलेटले जनाएको छ।
कन्सुलेटका अनुसार पासपोर्ट नवीकरण, यात्रा अनुमति पत्र तथा अन्य कागजातसम्बन्धी मुख्य शुल्कहरू कन्सुलेटले निर्धारण गर्ने होइन। यी सबै शुल्क नेपाली दूतावास इजरायलबाटै तोकिएका fixed fee हुन्। नेपाली कन्सुलेट, निकोसियाबाट लिइने स्थानीय सेवा शुल्क भने पासपोर्टको हकमा जम्मा १० युरो मात्र रहेको स्पष्ट पारिएको छ।
सेवाग्राहीले तिरेको कुल रकम धेरै देखिनुको मुख्य कारण दूतावासको राजस्व र कागजात पठाउँदा तथा फिर्ता ल्याउँदा लाग्ने DHL courier शुल्क हो। कागजात लाई नेपाली दुतावास इजरायल पठाउँदा करिब ५० युरो र पुनः फिर्ता ल्याउँदा अर्को ५० युरो लाग्ने भएकाले पासपोर्ट renewal को कुल लागत बढेर देखिएको कन्सुलेटले जनाएको छ।
यसअघि सेवा शुल्क घटाउनका लागि नेपाली कन्सुलेट, निकोसियाले नेपाली दूतावास, इजराइलसँग पटक–पटक ताकेता गरेको र यस विषयमा NRNA Cyprus तथा अन्य संघ–संस्थाहरूले पनि ध्यानाकर्षण गराउँदै आएको जनाइएको छ। तर हालको अवस्थामा पासपोर्टसम्बन्धी शुल्क घटाउने निर्णय सम्भव नदेखिएको कन्सुलेटको भनाइ छ, किनकि शुल्क निर्धारण कन्सुलेटको अधिकार क्षेत्रभित्र नपर्ने बताइएको छ।
सार्वजनिक गरिएको सेवा शुल्क विवरण यसप्रकार रहेको छः
-
अधिकृत वारेसनामा–१ पेज : ५ अमेरिकी डलर
-
अधिकृत वारेसनामा–२ पेज : ५० अमेरिकी डलर
-
राहदानी (पासपोर्ट) नविकरण : १०० अमेरिकी डलर
-
हराएको वा नासिएको पासपोर्ट : १५० अमेरिकी डलर
-
एकतर्फी यात्रा अनुमति पत्र : ५० अमेरिकी डलर
-
कागजात प्रमाणीकरण : ५० अमेरिकी डलर
-
होलिडे पेपर (अनुसूची–५) : २५ युरो, सेवा शुल्क नलाग्ने।
कन्सुलेटले सार्वजनिक गरेको यो सुची कुनै नयाँ शुल्क वृद्धि गर्नका लागि नभई दूतावासले लिने शुल्क, DHL लागत र कन्सुलेटको वास्तविक सेवा शुल्क कति हो भन्ने कुरा स्पष्ट रूपमा देखाउनका लागि जारी गरिएको जनाएको छ। यसमार्फत सामाजिक सञ्जालमा फैलिएको भ्रम हटाउने र सेवाग्राहीलाई सही तथा पारदर्शी जानकारी प्रदान गर्ने कन्सुलेटको उद्देश्य रहेको उल्लेख गरिएको छ।
कन्सुलेटले सेवाग्राहीलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनामा विश्वास नगर्न र Nepali Consulate Nicosia fee सम्बन्धी जानकारीका लागि सेवा लिनुअघि आधिकारिक सूचना तथा सेवा शुल्क सुची हेरेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

‘साइप्रस नेपाली भ्वाइस’ अनलाइन गायन प्रतियोगिताको पहिलो संस्करणमा निशा विश्वकर्मा विजेता बन्न सफल भएकी छन्।
प्रवासमा रहेर नेपाली मौलिक कला, गला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगिता करिब दुई महिनासम्म सञ्चालन भएको थियो। अनलाइन माध्यमबाट सम्पन्न प्रतियोगितामा विभिन्न चरणमा प्रतिस्पर्धा गराउँदै उत्कृष्ट प्रतिभाको छनोट गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको अन्तिम नतिजा अनुसार दोल्मा योल्मो दोस्रो र मिङ्गमार दोर्जे लामा तेस्रो स्थानमा रहन सफल भए। त्यस्तै, दुर्गा कार्की चौथो र समीर भट्टराई पाँचौँ स्थानमा रहन सफल भएका छन्।
आयोजक समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम स्कोरकार्ड अनुसार, निर्णायकहरूको प्राविधिक मूल्याङ्कन र सामाजिक सञ्जालमार्फत प्राप्त जनमत (Like, Comment, Share) लाई आधार मानेर गरिएको गणनामा निशाले ७६.३३ अंक प्राप्त गर्दै ‘साइप्रस नेपाली भ्वाइस’ की पहिलो विजेता बन्न सफल भएकी हुन्।
यस प्रतियोगितामा दोल्मा योल्मोले ७१.१८ अंक, मिङ्गमार दोर्जे लामाले ४७.०३ अंक, दुर्गा कार्कीले ४५.६१ अंक र समीर भट्टराईले २९.६४ अंक प्राप्त गरेका थिए।
प्रतियोगिताको क्रममा टिकटक प्लेटफर्ममा देखिएका केही प्राविधिक ‘कपीराइट’ समस्याका कारण प्रतियोगीहरूको प्रस्तुति तथा मतदान प्रक्रिया फेसबुकमार्फत सञ्चालन गरिएको थियो। यसै क्रममा सामाजिक सञ्जालमा ‘फेक लाइक’, ‘फेक भ्यु’ तथा बोट प्रयोग भएको आशङ्कापछि आयोजकले प्राविधिक रूपमा छानबिन गरेको बताइएको छ ।
छानबिनका क्रममा कुनै पनि प्रतिस्पर्धीले नियमविपरीत गतिविधि गरेको पुष्टि भएमा अयोग्य ठहर गर्ने स्पष्ट व्यवस्था रहेकाले नतिजा सार्वजनिक गर्न ढिलाई भएको आयोजकले सुचना मार्फत जानकारी गराएको थियो । निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न कुनै पनि दवाब मा नरही अन्तिम निर्णय गरिएको आयोजकको दाबी छ।
गायक तथा सङ्गीतकर्मी धीरज राई, तुलसी सिवाकोटी र सहिमा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको अन्तिम चरणमा प्राविधिक मूल्याङ्कन र डिजिटल भोटिङ समेटेर नतिजा सार्वजनिक गरिएको हो ।
आयोजक संस्था ‘नागरिक बोली’ ले प्रवासमा रहेका नेपाली प्रतिभालाई पहिचान र अवसर दिने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई विशेष समारोहबीच पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ।