अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।
कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेको एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्ले अनलाइनखबरलाई बताए। ‘गत सातादेखि सम्पर्कविहीन भएपछि उहाँको परिवारले चिन्ता प्रकट गर्दै हामीलाई सम्पर्क गर्नुभएको छ । घटना विवरणबारे बुझ्ने कोसिस गरिरहेका छौं,’ उनले भने।
घिसिङका अनुसार ग्रिस-टर्की सिमानाबाट केही नेपालीहरू कष्टकर यात्रा गर्दै स्तानबुल आइपुगेका छन् । ‘सिमानाबाट फर्किएका भाइहरुसँग भेटें । उहाँहरूले निकै दु:खद् घटना सुनाउनुभयो’ उनले भने, ‘ग्रिसको प्रहरीले शरीरमा लगेको ज्याकेट र जुत्तासमेत खोसिदिएपछि,जाडोले कठ्यांग्रिदै खाली खुट्टा घन्टौं हिँडेको सुनाउनु भयो।’
स्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिसको प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको घिसिङ्ले सुनाए। ‘उहाँहरूका अनुसार ८ जना नेपालीहरू रहेको बुझियो । तीमध्ये ७ जना फर्किएको भए पनि हालसम्म अवस्थी मात्रै सम्पर्कविहीन हुनुहुन्छ ।’
चिसोमा कठ्यांग्रिएर बुधबार र बिहीबार गरी १९ जना आप्रवासीहरूको मृत्यु भएको बताइएको छ। ‘अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा मृत्युको खबर आइरहेको छ । तर शवहरू कुन-कुन अस्पतालमा राखिएका छन् भनेर हामीले बुझ्ने प्रयास गरिरहेका छौ,’ घिसिङ्ले भन ।
अवैधरुपमा ग्रिस प्रवेश गरेका चारजना नेपालीको मंसिरको पहिलो साता गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । दुई साताअघि मात्रै उनीहरूको शव नेपाल पुगेको थियो ।
सभारः अनलाईन खबर