
दिनेश गौतम
युरोप ,साईप्रस , गैर आवासीय नेपाली संघको १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवार र आईतबार विभिन्न १८ बुदे घोषणा पत्र जारी गर्दै भब्यताका साथ सम्मपन्न भएको छ। सम्मेलनमा यरोप लगाएत एनआरएनएको केन्द्रिय तहका नेता , पत्रकार एवम समाजसेबीहरुको सहभागितामा सम्पन्न भएको एनआरएनए युरोप संयोजक नारायण अर्चायले जानकारी दिए ।
“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए। नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सम्वोधन गर्नु भयो।
विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्वोधन गर्नु भयो भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्व मंत्री तथा नेकपा नेता डा गंगाधर तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, महामहिम राजदूतज्यूहरु, एनआरएनएका केन्द्रिय नेतृत्व, पूर्व अध्यक्षज्यूहरु, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा आम गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले निम्न निर्णयहरु गरेको छ :
१. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका गैर आवासीय नेपाली अभियन्ताहरु, प्रवासी नेपाली संघसंस्था, नेपाली समुदायका अगुवाहरु, नेपाली नियोगहरु लगायत सम्बन्धित सबैको उच्च सम्मान गर्दै यो बैठक उहांहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेकाले सुरक्षित रहन सबै गैर आवासीय नेपाली समुदायलाई यो बैठक आग्रह गर्दछ।
२. संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भै संसदको विचाराधीन रहेको ‘गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन’ लाई “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसंग जोड्ने प्रावधान सहित यथाशिघ्र पारित गर्न सबै सांसदज्यूहरु तथा प्रमुख राजनीतिक दलहरुलाई यो बैठक आह्वान गर्दछ।
३. सन् २०१९ मा नेपाल सरकारको आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानी गर्न समेत यो बैठक आह्वान गर्दछ ।
४. युरोपले एक अल्पविकसित मुलुकका रुपमा नेपाललाई सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिएको तर त्यसको पर्याप्त उपयोग गर्न नसकिएकाले नेपालका हस्तकला, पश्मिना, चिया, कफी लगायतका उत्पादनहरुको निर्यात युरोपेली बजारमा वृद्धि गर्न र र आआफ्नो घरमा नेपाली उत्पादनहरुको प्रयोग बढाउन प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरुले विशेष भूमिका निर्वाह गर्ने निर्णय गर्दछ। यसैगरी संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवर्धन गर्न संसारका धेरैजसो देशहरुसंग दोहोरो कर तिर्नु नपर्ने सम्बन्धि सन्धि (Double Taxation Avoidance Agreement), लगानी प्रवर्धन सम्बन्धि सन्धि (Investment Promotion Agreement) हरु गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ।

५. नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटनक्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारको रुपमा काम गर्न गैर आवासीय नेपाली संघ तत्पर रहेको बताउंदै उक्त रणनीतिमा आन्तरिक पर्यटनसंगै एनआरएन पर्यटनको विषयलाई पनि अरु स्पष्टरुपमा उल्लेख गर्न यो बैठक अनुरोध गर्दछ।
६. विगत केही वर्ष देखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहक लगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइ रहेकोमा यथाशिघ्र सो प्रतिबंध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ।
७. नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन समेत यो बैठक अनुरोध गर्दछ। युरोपस्थित नेपाली नियोगहरु तथा युरोपमा रहेका नेपाली समुदायबीच निकट सहकार्य गर्दै मिलेर अगाडी बढ्न यो बैठक आह्वान गर्दछ ।
८. युरोपस्थित गैरआवासीय नेपाली संघ महिला फोरमले महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागितालाई अरु वृद्धि गर्दै जाने निर्णय गर्दछ । ’कोभिड १९’ का कारण महिलाहरु अत्यधिक प्रभावित भएको र महिला बेचबिखन तथा नेपाल भित्रै देहव्यापारमा महिला, बालवालिकालाई संलग्न गराउने प्रवृत्ति बढ्दै गएकाले जनचेतना जगाई यस्ता विकृति नियन्त्रण गर्न प्रभावकारी कार्यक्रममा ल्याउन यो बैठक माग गर्दछ ।
९. युरोप क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न उपयुक्त वातावरण बनाउन पहल गर्दै यस्ता प्रयासहरुलाई ठोस सहयोग गर्न एनआरएन केन्द्रलाई यो बैठक अनुरोध गर्दछ । साथै हाल विदेशमा हुर्कीरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्यलाई अरु विस्तारित र संस्थागत गर्न यो बैठक अपील गर्दछ ।
१०. ब्रिटिश सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुसंग रहेको सीप, अनुभव र पूँजीलाई मातृभूमिको विकासमा परिचालन गर्ने ठोस प्रयासहरुको आवश्यकता रहेको महसुस गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नागरिकताको निरंतरताको विषयलाई नेपाल तथा ब्रिटिश सरकारबीच कूटनीतिक माध्यमबाट यथाशिघ्र सुनिस्चित गर्न र सो कार्यमा हरसम्भव सहयोग गर्न एनआरएनए प्रतिबद्धता व्यक्त गर्दछ।
११. गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको सृजना गर्न तथा नेपाल सरकारले अगाडी सारेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सार्थक पर्न आआफ्नो ठाउँबाट सघाउन यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्दछ ।
१२. कोभिड-१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै ५ लाख नेपालीहरुलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरु तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान संचालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ।
१३. कोभिड -१९ शुरु भएको ६ महिना बितिसक्दा अहिले खाडी, मलेसिया लगायतका मुलुकमा रोजगारी गुमाएका लाखौं नेपाली नेपाल फर्कन पर्खि रहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, आर्थिक अभाव बेहोरी रहनु भएका नेपालीहरुलाई निशुल्क उडानको व्यवस्था मिलाउन तथा नेपालीहरुका प्रमुख चाड दशैं, तिहार अगावै अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न यो बैठक नेपाल सरकारसंग आग्रह गर्दछ। कोभिड-१९ का कारण विदेशमा निधन भएका नेपाली नागरिकहरुको तथ्यांक स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिने विवरणमा समावेश गर्न यो बैठक आग्रह गर्दछ। त्यस्तै वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन गैर आवासीय नेपाली संघले विभिन्न कालखण्डमा पेश गरेका बुंदाहरुमा मंत्रीस्तरीय निर्णय भै सकेर पनि लागू नभएका विषयहरु तत्काल लागू गर्न यो बैठक आग्रह गर्दछ।
१४. स्थापना भएको १७ वर्ष पुरा हुंदै गर्दा एनआरएनएलाई रुपान्तरण गर्नु पर्ने आवश्यकताबारे यो बैठकमा व्यापक छलफल गरियो। एनआरएनको वर्तमान नेतृत्वले अगाडी सारेको निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरी एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन यो बैठक आइसीसी केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ ।
१५. गैर आवासीय नेपाली अभियानमा नेपाल तथा संसारभरि रहेका संचारकर्मीहरुको योगदानको उच्च मूल्यांकन गर्दै एनआरएनए तथा संचार माध्यमहरुबीच नियमित अन्तरक्रिया, सामाजिक संजालको जिम्मेवारीपूर्ण रुपमा प्रयोग तथा सहकार्य, सहयोग र समन्वयका लागि यो बैठक आग्रह गर्दछ।
१६. यो बैठक संघका सबै क्षेत्रहरुमा क्षेत्रीय आपतकालीन कोष निर्माण गर्नका लागि एनआरएनए केन्द्रलाई सुझाव दिने निर्णय गर्दछ।
१७. अक्टोबर ४ मा सम्पन्न दोश्रो ज्ञान सम्मेलनमा पांच ओटा विभिन्न विषयगत सत्रहरुमा नेपाली तथा गैर आवासीय नेपाली विज्ञहरुले प्रस्तुत गरेका विभिन्न कार्यपत्रहरुमाथि व्यापक छलफल भयो। कोभिड-१९, जलवायु परिवर्तन, नवीकरणीय उर्जाको विकास, वातावरण संरक्षण, पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा रहेका सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरु लगायतका साझेदारहरु र विदेशमा रहेका गैर आवासीय नेपाली विज्ञ तथा संस्थाहरुसंग निकट सहकार्य गर्न यो बैठक आह्वान गर्दछ। कोभिड-१९ का कारण नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरु देखिएकाले एनआरएनएको स्वास्थ्य समितिसंग समन्वय गरी संचालित चेतनामूलक कार्यक्रमहरुलाइ नियमितता दिन यो बैठक आग्रह गर्दछ। नेपालको आधुनिकीकरण र समृद्धिका लागि विज्ञान र प्रविधिको विकास तथा प्रयोगमा जोड दिन पनि यो बैठक आग्रह गर्दछ।
१८. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, संघको केन्द्रिय कार्यालय, आइटी टिम, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंसेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नारायण आचार्य
संयोजक
गैर आवासीय नेपाली संघ युरोप
४ अक्टोबर, २०२०
जिएनएन ,युरोप , नेकपा संसदीय दलका उपनेता एबम पूर्व सभामुख सुबास नेम्बाङले गैर आबासीय नेपालीलाई नेपाल सरकार र राजनितिक नेत्रित्वले कुनै भेदभाब नगरेको र देशको उन्नतीमा साझेदार र सहयात्रीको रुपमा स्वीकार गरी सकेको बताउनु भएको छ ।
गैर आबासीय नेपाली संघको युरोपियन बैठकको एनआरएन नागरिकता र मतदानको अधिकार सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले गैर आबासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक संसदमा पेश भैसकेको र आगामी संसद अधिबेशनले पारीत गर्ने र कार्यन्वयन हुने विश्वाश दिलाउनु भयो ।
एनआरएनहरुलाई अधिकार दिन र नेपालको बिकासमा सझेदार रहेका एनआरएनहरु सँग मातृभूमीको सम्बन्ध दिर्घ्काल सम्म कायम गर्ने कुरामा सबै राजनीतिक दलको सहमति रहेको पनि उहाले बताउनु भयो ।
ब्यक्तिगत रुपमा एनआरएनहरुलाई नागरिकता दिलाउन सुरुवाती दिनबाट आफुले एनआरएन नेत्रित्व सँग सहकार्य गर्न पाएकोमा आफुलाई खुशी लागेको बताउनु भयो । नेपाली काङ्रेशका नेता मिनेन्द्र रिजालले गैर आबासीय नेपालीहरुले भोगी रहेका समस्या , गरी रहेको प्रगती र प्राप्त ज्ञान सीप बारे आफुले नजिकबाट बुझेको र गैर आबासीय नेपाली अभियानले आफ्नो छुट्टै परोपकारी छबि र नेपालको दु:ख सुखको साथीको छबि बनाएको छ भन्दै मात्रीभुमी सँगको सम्बन्ध अझ दरिलो बनाउन एनआरएन नागरिकताले सहयोग गर्ने बताउनु भयो ।
संसारका धेरै देशमा दोहोरो नागरिकताको प्राबधान रहेको त्यस्ता देशले छीट्टो बिकास गरेको उदाहरण छन भन्दै अहिले सामाजिक सान्स्कृतिक अधिकार सहितको नागरिकता भएमा राजनीतिक अधिकार सहितको नागरिकता र मतदानको अधिकार कसरी दिन सकिन्छ भनी बहस चलाऊनु पर्ने बताउनु भयो ।
गैर आबासीय नेपाली अभियान सुरु भए देखि आज सम्म एनआरएन नागरिकताको लागि गरेको संघर्ष र प्रगती बारे चर्चा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो , रामप्रताप थापा, संघका अध्यक्ष कुमार पन्त , सल्लाहकार कुल आचार्य , सरोज दाहाल, सुरेन्द्र नेपाल श्रेष्ठ लगायतले एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल नारा भएको त्यसलाई एनआरएन नागरिकता र मतदानको अधिकारले पुरा गर्ने हुँदा त्यस तर्फ छिट्टो काम भएमा देशको र एनआरएनहरुलाई फाईदा हुने भनाइ राख्नु भयो ।
पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले कार्यक्रमको समिक्षा गर्नु भएको थियो, बिरेन्द्र सिंह कार्कीले टिप्पणी गर्नु भएको थियो । गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले स्वागत गर्नु कार्यक्रममा सहभागीहरुलाई आईसिसी सदस्य बिनोद कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । गैर आबासीय संघका उपाध्यक्ष एबम नेपाली नागरिकता निरन्तरता समिती सन्योजक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन आईसिसी सदस्य सन्तोष जोशी सुबाशले गर्नु भएको थियो ।
१८ असोज
धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं २ की कक्षा १० मा पढ्ने १४ वर्षिय बालिका सुर्यमुखी (नाम परिवर्तन) असोजको पहिलो साता गाउँमै काठको काम गर्न आएका उदयपुर तिरका एक पुरुषसंग विहे गर्ने भन्दै घरबाट भागिन् । बाबुले छोरी घरमा नरहेको जानकारी पाएपछि प्रहरीमा उजुरी गरे । केटा सहित उक्त बालिकालाइ प्रहरीले दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो ।
प्रहरीले बालिकालाइ नियन्त्रणमा लिएपछि नयाँ घटनाक्रम थाहा पाएर प्रहरी नै आश्चर्य चकित बन्यो । आफ्नै बाबुबाट पटक पटक बलात्कृृत भएको र सहनै नसक्ने भएपछि घर छाडेर भागेको कुरा बालिकाले बताएपछि प्रहरीहरु झस्किए । त्यसपछि बालिकालाइ परिवारको जिम्मा नलगाइ सेफ हाउसमा राखेर अनुसन्धान सुरु ग¥यो । पछिल्लो पटक गत असोज ८ गते आमा र भाइ मामाघर गएको बेलामा बाबुले फेरी बलात्कार गरेपछि भने उनले घर छाड्ने सोच बनाइन् ।
आमा र भाइ नै घरमा नहुने भएपछि उनले फेरी आज बाबुबाट बलात्कृत हुँदै छु भन्ने शंकाले मामाघर जान अड्डि लिइनन् तर आमाले बाबा काममा जाने र घर कुर्ने कोही नहुने भन्दै लगिनन् । सेफ हाउसमा रहेकी ती बालिकाले रुदै भनिन्, ‘म पनि मामाघर जान्छु भन्दा मलाइ लैजानु भएन, त्यस दिन पनि बुवाले मलाइ बलात्कार गरे ।’ ती बालिकाको बयान सुन्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । उनलाइ आफ्नै जन्म दिने बाबुबाट कहिलेदेखि बलात्कृत भइन् भन्ने बारेमा ठयाक्कै मिति थाहा छैन, तर यत्ति थाहा छ कि उनी जान्ने बुझ्ने भएदेखि नै निरन्तर बाबुले बलात्कार गरिरहेका छन् ।
मलाई बुवाले बलात्कार गरेको कुरा मेरो आमालाइ पनि पहिलेदेखि नै थाहा थियो, तर आमाले कहिल्यै मेरो समस्या सुन्नुभएन । सधै लुकाइरहनुभयो थाहा नपाए झै गरिहनुभयो ।’ निक्कैबेर टोलाएर बालिकाले भनिन्, ‘घटना बाहिर आएपछि हामी सवैजनालाइ समस्या पर्छ भनेर आमाले कहिल्यै पनि मलाइ सहयोग गर्नुभएन, उल्टै चुप लाग्न भनिरहनुभयो ।
आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भइरहेपछि बालिकामा मानसिक समस्या देखा पर्न थाल्यो । उनले धेरै पटक आत्महत्याको प्रयास गरिन । उनलाइ लाग्छ, ‘मेरो पिडा भगवानले पनि देखेन, मलाइ सजिलै मर्न पनि दिएनन्, मर्न पाएको भए यो पिडाबाट उन्मुक्ती पाउथे कि ।’ विद्यालयमा पनि टोलाउने, धेरै नवोल्ने एक्लै बस्ने गर्न थालेपछि शिक्षकहरुले पनि अभिभावकलाइ जानकारी गराए । जन्म दिने बाबुआमा नै आफ्नो नभएपछि उनले आफ्नो पिडा कतै भन्न सकिनन् ।
एकदिन बालिकाको आमाले घरको आँगनमा गर्भ निरोधक चक्की (आइपिल्स) को खोल फेला पारिन । घरमा सोधीखोजी भयो, कसरी आयो त्यो औषधी । त्यो औषधी बाबुले गर्भ बस्दैन भनेर छोरीलाइ खुवाएका रहेछन् । ‘मलाइ बुवाले थकाइ लाग्दैन, तागत दिन्छ भनेर पहिलेदेखि नै यो औषधी बेला बेलामा खान दिइरहनुहुन्थ्यो ।’ बालिकाले गम्भीर हुँदै भनिन्, ‘मलाइ के थाहा त्यो औषधी गर्भरोक्ने औषधी थियो भनेर ।’
जन्म दिने बाबु बलात्कार गर्ने, आमा चुपचाप सहन बाध्य गराउने भएपछि उनलाइ घर बस्न मन लागेन । त्यसैमा साथ दिन आइपुगे उदरपुर तिर घर भएका काठको काम गर्ने मिस्त्री । दुवैजना भागेर विहे गर्ने सल्लाह गरेर घरबाट हिडेपछि यो घटना बाहिरियो ।
उनको अहिले सुरक्षित आवास गृह (सेफ हाउस) मा राखेर उपचार भइरहेको छ । उनीमा पिसाव नरोकिने समस्या देखिएको छ । उनलाइ सेफ हाउसमा राखेर दैनिक मनोपरामर्श दिइरहेको छ ।
बाबुलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय धादिङका अपराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा विगत ५÷७ वर्ष अघिदेखि नै छोरीलाइ बलात्कार गरिरहेको कुरा खुल्न आएको छ । बच्चा नजन्मियोस भनेर औषधी खुवाएको, पटक पटक बलात्कार गरिरहेको जस्ता छोरीले लगाएको सवै आरोपहरु बाबुले स्वीकार गरिसकेको अवस्था छ । हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’
बाबुलाइ जवरजस्ती करणी र हाडनाता करणी मुद्धामा अनुसन्धान गरिरहेको भट्टले बताए । तर आफ्नै श्रीमान विरुद्ध छोरी बलात्कार गरेको अभियोगमा आमाले जाहेरी दिन नचाहेपछि उद्धार गर्ने सस्था सहयात्री समाजको तर्फबाट जाहेरी दिइएको छ ।
प्रहरहरीकै निगरानीमा सहयात्रीकै सेफ हाउसमा रहेकी बालिकालाइ आमाले भेटेर पटक पटक मुद्धा फिर्ता लिन दवाव दिएकी छिन् । घरमा कमाउने मान्छेलाइ नै जेल पठाएपछि परिवारलाइ नै समस्या पर्ने भएकाले बुवालाइ नफसाउन र मुद्धा फिर्ता लिन दवाव दिइरहेको बालिकाले बताइन् ।
अव कहाँ जाने कता जाने उनी निराश छिन् । उनको घर आफनो कहिल्यै भएन, विकल्पमा पराइघर जान खोजेपछि घटना बाहिरियो । बाबुलाइ जेलमा हालेको भन्दै आमाले गाली गरिरहेकाले अव उनी फर्केर घर जान पनि सक्दिनन् । ‘बाबुलाइ अदालतले सजाय त दिलाउला, जेलभित्रै राखेर पालन पोषण पनि गर्ला ।’ लामो सास तान्दै भनिन्, ‘पढाइ पनि छुट्यो, अव म कहाँ जाउँ, कस्लाइ आफ्नो भनेर जाऊँ ।’
यो घटनालाइ नजिकबाट हेरिरहेकी अधिवक्ता सापकोटाले भनिन्, ‘हाम्रो कानुन नै पिडक मैत्री भयो, परिवारबाटै बलात्कृत घटनामा बालिकाहरु न त घर फर्किन सक्छन, न त राज्य लै नै उनीहरुको संरक्षण गर्ने दायित्व लिएको छ ।’
पराइबाट बलात्कृत बालिकाहरुलाइ घरको संरक्षण हुने भएपनि घरभित्रैको बलात्कारको केशमा सवैभन्दा समस्यामा बलात्कृतहरु नै परेका छन् । ‘अपराध गर्नेलाइ मानव अधिकारको प्रत्याभुति सहित दैनिक भत्ता दिएर जेलमा राख्छ ।’ सापकोटाले भनिन्, ‘यी पिडितहरुको अवस्था के छ भनेर कसैलाइ चासो हुदैन । एसिड पिडितलाइ जस्तो ऐन संसोधन हुनु अव जरुरी छ ।’