
एजेन्सी– संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा सशस्त्र द्वन्द्वमा बालबालिका विरुद्धका घटना ३० बर्षकै सबैभन्दा बढी भएको जनाएको छ।
राष्ट्रसङ्घले प्यालेस्टिनी क्षेत्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, सोमालिया, नाइजेरिया र हाइटीमा सबैभन्दा बढी गम्भीर उल्लङ्घनका घटना भएको उल्लेख गरेको छ।
राष्ट्रसङ्घका महासचिवका बालबालिका र सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधि भर्जिनिया गाम्बाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को छलफलका क्रममा युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकामा पारेको भयानक स्तरको हिंसाका बारेमा बैठकलाई उक्त कुरा बताएका हुन्।
उनले भने, “युद्ध र द्वन्द्वका पक्षहरू र हामी अन्तर्राष्ट्रिय समुदायले सबै बालबालिकाको हितका लागि शान्ति सम्झौता गर्नुको साटो हाम्रा छोराछोरीका लागि ठूलो मूल्य चुकाएर सैन्य माध्यमबाट हाम्रा विवादहरू सुल्झाउन चाहेको जस्तो देखिन्छ।”
विश्वव्यापी रूपमा र विशेष गरी गाजामा बालबालिकामा के भइरहेको छ भनेर कुनै काम नगरी हामी हेरेर बस्न सक्दैनौँ। गाजाका बालबालिकाहरूले भोगेको विनाश र पीडाको परिणमले हरेक मानव मापदण्डको अवहेलना र उल्लङ्घन गर्दछ। बालबालिकाहरूलाई खाना, स्वास्थ्य सेवा र सुरक्षाको पहुँचसहित आफ्नो अस्तित्वको साधनबाट वञ्चित गर्ने कुनै औचित्य छैन गाम्बाले स्पस्ट पारेका छन्।
संयुक्त राष्ट्र सङ्घका अधिकारीले निगरानी, प्रमाणिकरण र रिपोर्टिङमा उनीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै यी उल्लङ्घनहरूलाई कम गर्न दिगो स्रोतहरू उपलब्ध गराउने महत्वलाई प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । सरकारी डेटा सेन्टर (जीआईडीसी) तथा एकीकृत डेटा व्यवस्थापन कार्यालय (आईडीएमसी) बाट सञ्चालित सी-प्यानलमा रहेका सबै वेबसाइटहरू यही असार मसान्तपश्चात् बन्द हुने भएका छन् । बुधबार एक सूचना जारी गर्दै सूचना प्रविधि विभागले सबै सरकारी निकायहरूलाई सम्बोधन गर्दै यसको जानकारी दिएको हो ।
विभागले त्यसको साटो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जीआईडब्लूएमएस) विकास गरेको छ । तत्कालीन मुख्य सचिवको संयोजकत्वमा ७ कात्तिक २०८१ मा बसेको सचिव स्तरीय बैठकले सबै सरकारी निकायहरूले अनिवार्य रूपमा सोही प्रणाली प्रयोग गर्ने निर्णय गरेको थियो ।
सोही अनुरूप यसअघि तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) तथा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी) र हालको एकीकृत डेटा व्यवस्थापन कार्यालयबाट सञ्चालित सी-प्यानलमा रहेका सबै वेबसाइट बन्द गर्न लागिएको हो ।
“सबै सरकारी निकायहरूलाई यथाशीघ्र आफ्नो वेबसाइट जीआईडब्लूएमएसमा स्थानान्तरण गर्न १३ कात्तिक २०८१ मा प्रकाशित भएकोमा हालसम्म पनि धेरै निकायहरूमा स्थानान्तरण नभएको हुदा यथा शीघ्र स्थानान्तरण गर्न यो सूचना प्रकाशित गरिएको छ,” विभागले भनेको छ । यसका लागि विभागमा सम्पर्क गर्न सकिनेछ ।
विभागका महानिर्देशक रमेश शर्माका अनुसार अझै २,३०० साइटहरू पुरानै सिस्टममा रहेका छन् । “अहिलेसम्म ३०० जति साइट मात्रै यता आएका छन्,” उनले भने, “आउन बाँकी रहेका धेरैजसो वेबसाइटहरू जिल्ला स्तरका छन् । अब समय धेरै बाँकी छैन, सबै एकै पल्ट आए भने सहजीकरण गर्न पनि कठिन हुने अवस्था छ ।”
उनका अनुसार आईडीएमसीको पुरानो सी-प्यानल प्रयोग गरिरहेका वेबसाइटहरू जीआईडब्लूएमएसमा ल्याउन चाहने सरकारी निकायहरूले पत्र लेखेर विभालाई अनुरोध गर्नुपर्ने हुन्छ । त्यसपछि पुरानो वेबसाइटमा रहेका कन्टेन्टलाई विभागको टेम्लेटमा ट्रान्सफर गर्न सकिन्छ ।
यसका लागि प्राविधिक सहायता तथा तालिम समेत विभागले नै दिने महानिर्देशक शर्माले बताए । “यद्यपि सबै निकायहरू तत्काल माइग्रेसनका लागि आए अनलाइन तालिम दिएर सिकाउन सकिने विकल्प पनि हुन सक्छ,” उनले भने ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १३:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे। भारतमा लगी बन्धक बनाइएकाले दोषीलाई खोजी गरी कारबाही गर्न उनले सरकारसँग माग गरे।
सदस्य घनश्याम रिजालले २०१ स्थानीय तहमा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले शीघ्र पठाएर सहज कार्यसम्पादन गर्ने वातावरण बनाउन माग गरे। सदस्य रुक्मिणी कोइरालाले महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले तिनको यथोचित व्यवस्थापन गर्न माग गरिन्।
सदस्य रेणु चन्दले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैतडीको कार्यालयमा आगलागी भई महत्त्वपूर्ण दस्तावेज नष्ट भएकाले कसले र किन आगलागी गरेको हो ? तिनको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरिन्। सदस्य विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारले नेपाली खुसी भएका उल्लेख गर्दै यसलाई रोजगारी प्रवर्द्धनमा उपयोग गर्न माग गरिन्।
सदस्य विष्णुदेवी पुडासैनीले प्रदूषण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरी वातावरण सुधारमा योगदान गर्न सरकारसँग माग गरिन्। सदस्य विष्णुबहादुर विश्वकर्माले कोरोना बढ्दै गएको, ७३ जिल्लामा डेङ्गु फैलिएकाले भन्दै दुवै रोगको नियन्त्रणमा समयमै काम गर्न माग गरे।
सदस्य कृष्णप्रसाद अधिकारीले नवलपरासी दाउन्ने सडकमा भएको समस्या शीघ्र समाधान गर्न माग गर्दै गत वर्षको वर्षाद्मा पुगेको क्षतिको पनि अझै पुनःनिर्माण हुन नसकेकाले यो वर्षका लागि हुनसक्ने विपद्को पूर्वतयारी गर्न माग गरे। सदस्य सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर ग्यासको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका व्यक्तिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रास्वपा चितवन क्षेत्र नं-३ निर्वाचन क्षेत्रीय सदस्य विष्णु पौडेल रहेका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले आरोपी पौडेललाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको जानकारी दिए । पक्राउको कारण र थप विवरण विज्ञप्तिमार्फत सार्वजनिक गरिने उनले बताए ।
रास्वपा भरतपुर महानगर समितिकी कोषाध्यक्ष आकाङ्क्षा पोख्रेललका अनुसार पौडेल गत निर्वाचनमा रास्वपाको समानुपातिक उम्मेदवार पनि थिए । “सिभिल प्रहरी चितवन आई बिना जानकारी घरमै गएर पक्राउ गरी काठमाडौँ लगिएको घटनाप्रति खेद प्रकट गर्दछु,” पोख्रेलले फेसबुकमा लेखेकी छिन्, “बिना जानकारी पक्राउ गरिनु मानव अधिकारको उल्लङ्घन र गैरकानुनी हो ।”
उनले अगाडि लेखेकी छिन्, “लोकतान्त्रिक मुलुकमा राज्यको यो किसिमको रवैया स्वीकार्य छैन । प्रहरीको तर्फबाट अझै आधिकारिक केही आएको छैन, किन समातिएको हो भनेर प्रश्न गर्दा ‘अहिले भन्न मिल्दैन’ भन्ने गैरजिम्मेवार जवाफले नागरिकको सूचना पाउने हक कता पुग्यो ? फेसबुकमा सरकार विरुद्ध लेखेको भरमा उहाँलाई साइबर ब्युरोले पक्राउ गरेको भन्ने हाम्रो आशङ्का रहेको छ ।”
सरकारको आलोचना गरेकै भरमा नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नहुने भन्दै उनले आपत्ति जनाएकी छिन् ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १२:३१
सामाग्री श्रोत :
टेक पाना
भक्तपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताएका छन्।
आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्याउनुपर्ने धारणा राखेका हुन्।
मन्त्री पाण्डेले भक्तपुरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताए। उनले भने, ‘नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ। अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन्। योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ। यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ। यो अभियान अब नेपालबाट सुरु हुन्छ।’
भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए। धार्मिक ज्ञान र विज्ञानबिचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लानसके समुन्नत समाजको निर्माण हुने उनको धारणा छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले योगलाई विद्यालय केन्द्रित बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए। आज अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिक्षकका लागि योग प्रशिक्षणमा जिल्लाभरिका ६० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिए।
योग प्रशिक्षणमा सामुदायिक सबै विद्यालयलाई कार्यक्रममा नसमेटिएको, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले विद्यालयमा विभेद गरेको, संस्थागत विद्यालयका छाता सङ्गठन एवं विद्यालयलाई सहभागिता नगराइएको, बजेटको दुरुपयोग गरेकोलगायत कारण देखाउँदै संस्थागत विद्यालयका सञ्चालकले असन्तुष्टि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अछाम- जिल्लाका साँफेबगरमा रहेको बयालपाटा अस्पतालमा कार्यरत डा मन्दिप पाठक सहित ३३ जनालाई सम्मान गरिएको छ। बुधबार एक कार्यक्रमका बिच डाक्टर पाठकक सहित अस्पतालमा कार्यरत ३३ जना कर्मचारीहरु लाई सम्मान गरिएको हो।
डा पाठकले बिगत एक दशकदेखि बयालपाटा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ। ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने न्याय हेल्थ नेपालले लिएको लक्ष्य पूरा गर्न अटल समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै सम्मान गरिएको हो।
यस्तै, अन्य ३३ जना कर्मचारीहरुलाई समेत न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रममा अनवरत रुपमा बिगत एक दशक देखि कार्यरत रहि पुर्याएको उमुल्य योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको छ।
नागरिकको स्वास्थ्य उपचार सेवा सुनिश्चत गर्न क्रियाशिल संस्थामा १० बर्ष पुरा गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो। सम्मानित हुने सबैलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले खादा र कदर पत्र प्रदान गरेका थिए।
बुधबार भएको सामाजिक परिक्षण कार्यक्रमको अवसरमा उनिहरुलाई सम्मान गरिएको थियोे।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । तपाईंले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को बारेमा समयसमयमा सुन्दै वा पढ्दै आउनुभएको होला । विभिन्न देशका नागरिकहरू अन्तरिक्षमा जाने वा अन्तरिक्ष यात्रीहरूसँग सम्बन्धित समाचारहरू बारम्बार आइरहन्छन् । हालै छिमेकी मुलुक भारतका वायुसेना ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई अन्तरिक्ष मिसनका लागि छनोट भएर अन्तरिक्ष पुगेपछि यस विषयमाथिको चर्चा थप चुलिएको छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पृथ्वीको तल्लो कक्षमा (Low Earth Orbit) परिक्रमा गर्ने एउटा विशाल अन्तरिक्ष यान र वैज्ञानिक प्रयोगशाला हो । यो अन्तरिक्षमा मानव निर्मित सबैभन्दा ठुलो संरचना पनि हो । आज हामी यसैसँग सम्बन्धित केही रोचक तथ्यबारे चर्चा गर्नेछौं:
१) आईएसएस छ ओटा सुत्ने कोठा, दुई ओटा बाथरुम, एउटा जिम र ३६० डिग्री भ्यु देखिने झ्यालसहितको छ ओटा बेडरुम भएको घरभन्दा पनि ठुलो छ ।
२) अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, रुसी अन्तरिक्ष एजेन्सी रस्कोस्मस, युरोपेली अन्तरिक्ष एजेन्सी ईएसए, जापानी अन्तरिक्ष एजेन्सी जाक्सा र क्यानडियाली अन्तरिक्ष एजेन्सी सीएसएले आईएसएसलाई योगदान दिँदै आएका छन् ।
३) यसलाई पाँच अन्तरिक्ष एजेन्सी र १५ ओटा देशले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन् । कुन देशबाट कति यात्री अन्तरिक्ष पुगे भन्ने यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
४) नोभेम्बर २००० देखि यो अन्तरिक्ष स्टेसनमा पृथ्वीबाट जाने अन्तरिक्ष यात्रीले ओगटेको छन् । सन् २००० पछि यसमा मानिस नभएको कुनै दिन नै छैन ।
५) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एक पटकमा न्यूनतम छ देखि सात अन्तर्राष्ट्रिय क्रु बस्छन् । र, उनीहरू प्रति सेकेन्ड ५ माइलका दरले हरेक ९० मिनेटमा पृथ्वीको पराक्रम गर्छन् । कहिलेकाहीं मिसन अनुसार त्यहाँ सात जनाभन्दा बढी यात्री हुन सक्छन् ।
७) २४ घण्टाको अवधिमा यो स्पेस स्टेसन पृथ्वीलाई १६ पटक घुम्छ । साथै यात्राका क्रममा यसले १६ ओटा सूर्योदय र त्यति नै सुर्याअस्तको सामना गर्छ ।
८) २ सेप्टेम्बर २०१७ मा अमेरिकी नागरिक पेग्गी विट्सनले ६६५ दिन अन्तरिक्षमा बसेर सबैभन्दा बढी समय अन्तरिक्षमा रहने अमेरिकी नागरिकको कीर्तिमान बनाएका थिए ।
९) अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग र परीक्षण गर्ने क्रममा न्यून गुरुत्वाकर्षण (माइक्रो ग्राभिटी)का कारण माशंपेशी र हड्डी कमजोर नहोस् भन्नका लागि अन्तरिक्ष यात्री दैनिक कम्तीमा दुई घण्टा व्यायाम गर्छन् ।
१०) स्पेस स्टेसनलाई मर्मत गर्नुपर्यो, निर्माण गर्नुपर्यो वा केही थप्नुपर्यो भने अन्तरिक्ष यात्री स्टेसनबाट बाहिर निस्किएर काम गर्छन् । यसलाई स्पेस वाक पनि भनिन्छ ।
११) अन्तरिक्ष स्टेसनलाई पावर दिने सोलरको पङ्खा विश्वको सबैभन्दा ठुलो यात्रु विमान एयरबस ए३८९ भन्दा पनि लामो छ । यसको आकार १०९ मिटर छ, जबकि एयरबस ए ३८९ को आकार ८० मिटर छ ।
१२) अन्तरिक्ष स्टेसन निर्माणका लागि आवश्यक पर्ने ठुला मोड्युल र अन्य पाटपुर्जा ४२ एसेम्बली फ्लाइटमा पुर्याइएका हुन् । त्यसमध्ये ३७ पटक अमेरिकी स्पेस सटलबाट पुर्याइएका हुन् भने बाकी पाँच पटक रुसी प्रोटोन रकेटबाट पुर्याइएका हुन् ।
१३) अन्तरिक्ष स्टेसनको लम्बाइ ३५६ फिट छ । यो भनेको अमेरिकी फुटबल मैदानको अन्तिम जोन समेको सम्पूर्ण लम्बाइभन्दा एक गज मात्र छोटो हो ।
१४) अन्तरिक्ष स्टेसनमा भएको विद्युत प्रणाली जोड्नका लागि आठ माइल (१२ किलोमिटर) लामो तार प्रयोग गरिएको छ ।
१५) अन्तरिक्ष स्टेसनमा एक पटकमा आठ अन्तरिक्ष यान जोड्न सकिन्छ ।
१६) पृथ्वीबाट प्रक्षेपण भएको चार घण्टामै अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनमा पुग्छ ।
१७) अन्तरिक्ष स्टेसनमा चार कार्गो अन्तरिक्ष यानले आवश्यक विज्ञानका उपकरण, कार्गो अन्य सामग्री पुर्याउँछन् । ती चार कार्गो अन्तरिक्ष यानहरू नर्थ्रोप ग्रुमनको सिग्नस, स्पेसएक्सको ड्रागन, जापानी अन्तरिक्ष एजेन्सीको एचटीभी र रुसी प्रोग्रेस हुन् ।
१८) एक्सपेडिसन ६० मिसन (३ अक्टोबर २०१९) सम्म अन्तरिक्ष स्टेसनले माइक्रो ग्राभिटीमा १०८ भन्दा बढी देशका अनुसन्धानकर्ताका तीन हजार जति खोज तथा अनुसन्धानका काम सम्पन्न गरिसकेको छ ।
१९) अन्तरिक्ष स्टेसनको कक्षीय मार्गले पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमाथि यात्रा गर्छ । यस क्रममा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको लाखौं तस्बिरहरू खिचेका छन् । तस्वीर हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
२०) पृथ्वीदेखि चन्द्रमासम्मको दूरीभन्दा दोब्बर दूरी अन्तरिक्ष स्टेसनले एकै दिनमा यात्रा गर्छ ।
२१) अन्तरिक्ष स्टेसनमा भएको ‘वाटर रिकभरी सिस्टम’ अर्थात् खेर जाने पानीलाई पुनः प्रयोगमा ल्याउने प्रणाली छ । यसले खेर जाने पानीबाट ९८ प्रतिशत पानीलाई प्रयोगमा ल्याउन सक्ने बनाउँछ । जसले गर्दा कार्गो अन्तरिक्ष यानबाट पुर्याउनुपर्ने पानीको मात्रा पनि घटेको छ ।
२२) अन-अर्बिट सफ्टवेयर मनिटरमा साढे तीन लाख बढी सेन्सर छन् । यसले स्टेसन र त्यहाँ भएका क्रुको स्वास्थ्य र सुरक्षालाई निगरानी गरेको हुन्छ ।
२३) ५० ओटा कम्प्युटरले अन्तरिक्ष स्टेसनको सिस्टम नियन्त्रण गरेका छन् ।
२४) जमिनमा रहेको ३० लाखभन्दा बढी लाइनको सफ्टवेयर कोडले उडानका लागि प्रयोग हुने १५ लाखभन्दा बढी लाइनको सफ्टवेयर कोडलाई सपोर्ट गर्छ ।
२५) अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनको अमेरिकी खण्डमा मात्र १५ लाखभन्दा बढी लाइनको फ्लाइट सफ्टवेयर कोड ४४ ओटा कम्युटरमा चल्छ । यी कम्प्युटरले १०० ओटा डेटा नेटवर्कबाट सञ्चार गर्दै चार लाख सिग्नल ट्रान्सफर गर्छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ ११:२४
सामाग्री श्रोत :
टेक पाना
इटाली– इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ।
इटालीका अधिकारीहरूका अनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ। जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट गर्न आग्रह गरेको छ।
मंगलबार मध्य इटालीको फ्लोरेन्स र उत्तरपश्चिममा टुरिन जस्ता लोकप्रिय पर्यटकीय स्थलहरूसहित सात शहरहरूलाई ओरेन्ज शतर्कता अन्तर्गत राखिएको छ।
आगामी दिनहरूमा अवस्था बिग्रने अनुमान गरिएको छ। पछिल्लो बुलेटिनअनुसार बुधबार १३ शहरहरू ओरेन्ज शतर्कता अन्तर्गत रहनेछन्। क्षेत्रीय अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई विशेष चेतावनी पनि जारी गरेका छन्।
मध्य इटालीको टस्कनीमा, तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार सुन्दर गाउँपालिका-६, गौरास्थित खोलामा हाम फालेका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो ।
प्रहरी निरीक्षक सुवास खतिवडाका अनुसार मुसलमान नेपालमा आफ्नो मामाघर आएका थिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँग खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडिओ बनाउने भन्दै खोलामा डाइभ हान्ने योजना बनाएका थिए ।
“म डाइभ हान्छु, भिडिओ खिचेर टिकटकमा हाल्ने भन्दै उनले भाइलाई मोबाइल खिच्न दिएका रहेछन्,” प्रहरी निरीक्षक खतिवडाले भने, “डाइभ हानेपछि पानीको बहाव एक्कासि बढेकाले उनले आफूलाई सम्हाल्न सकेनन् र डुबेर बेपत्ता भए ।”
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको थियो । बेपत्ता भएको दुई दिनपछि बुधबार बिहान ७ बजे उनले डाइभ हानेको ठाउँबाट करिब ३०० मिटर तल स्थानीयले खोला छेउको जालीमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।
स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकका मामाले शवको सनाखत गरेपछि पोस्टमार्टमका लागि पठाइएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव मृतकका बुबा इस्तिकाल मुसलमानलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १०:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।
भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्री लाई जानकारी दिए ।
उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए ।
मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेको बताए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए ।
नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए ।
त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ