२०८२ श्रावण २५ शनिबार
LATEST NEWS
२०८२ श्रावण २५ शनिबार

एजेन्सी – गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ३९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा भएको हवाई आक्रमणमा कम्तिमा ३९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाइएको छ ।

मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल–रिमलको अल–थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रमणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।

Ncell 2
Ncell 2

सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा दस प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । गाजा पट्टीको उत्तरमा जबालिया अल–बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, नेपालका निजी स्वास्थ्य संस्था तथा नेपालका निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधिहरूले आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

भेटमा उनीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र चुनौतीबारे जानकारी गराउँदै आवश्यक समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिमण्डलले हालै उपभोक्ता अदालतले गरेको निर्णय, स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।

उनीहरूले अदालतको निर्णयले स्वास्थ्य क्षेत्रको मनोबल खस्कन सक्ने खतरा रहेको भन्दै यथाशीघ्र यससम्बन्धी स्पष्ट नीति र कानुनी संरचना आवश्यक रहेको बताए।

भेटमा प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको चासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै समाधानका लागि आवश्यक समन्वय र संवादमार्फत अघि बढ्ने आश्वासन दिएका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । यदि तपाईं आफ्नो आवश्यकताअनुसारको शक्तिशाली कम्प्युटर (पीसी) बनाउने सोचमा हुनुहुन्छ भने यो सामग्री तपाईंको लागि उपयोगी हुन सक्छ । चाहे तपाईं गेमिङको सौखिन हुनुहोस् वा व्यावसायिक भिडिओ एडिटिङ जस्ता काम गर्नुहुन्छ, सही पार्टपुर्जाको छनोटले तपाईंको अनुभवलाई उत्कृष्ट बनाउन सक्छ ।

टेकपानाले आफ्नो कार्यालयको लागि एउटा यस्तै शक्तिशाली र बहुउपयोगी पीसी बिल्ड गरेको छ । काठमाडौंको न्युरोडस्थित ‘हुकुट स्टोर’को सहकार्यमा निर्माण गरिएको यो पीसीले गेमिङदेखि फोरके भिडिओ एडिटिङसम्मका काम सहजै गर्न सक्छ । आउनुहोस्, यो पीसी निर्माणमा प्रयोग भएका पार्टपुर्जा र तिनको विशेषता बारे विस्तृतमा जानौँ:

पीसी निर्माणका लागि छानिएका पार्टपुर्जा

१. प्रोसेसर (सीपीयू):

पीसीको मुटु मानिने प्रोसेसरका लागि ‘Intel Core Ultra 7’ मोडल छानिएको छ । विशेषज्ञका अनुसार, यो प्रोसेसर गेमिङ र भिडिओ एडिटिङ जस्ता कार्यका लागि उत्कृष्ट प्रदर्शन दिन सक्षम छ । यसमा तापक्रम व्यवस्थापन (Thermal Management) पनि राम्रो भएकाले लामो समयसम्म काम गर्दा पनि पीसी तात्ने समस्या कम हुन्छ ।

२. ग्राफिक्स कार्ड (जीपीयू):

उत्कृष्ट ग्राफिक्स र गेमिङ अनुभवका लागि ‘Gigabyte GeForce RTX 5070’ ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसमा ४०-सिरिजको तुलनामा ५०-सिरिजमा डीएलएसएस फोर, रे ट्रेसिङ र फ्रेम जेनेरेसन जस्ता नयाँ प्रविधि छन्, जसले लगभग उस्तै मूल्यमा राम्रो प्रदर्शन दिने हुकुटका प्राविधिकले जानकारी दिए ।

३. मदरबोर्ड:

सबै पार्टपुर्जालाई जोड्ने मुख्य आधार मदरबोर्डका लागि ‘Gigabyte Z890 Eagle WiFi 7’ रोजिएको छ । यो मदरबोर्ड अल्ट्रा सेभेन प्रोसेसरसँग पूर्ण रूपमा मिल्ने (कम्प्याटिबल) र भविष्यमा आउने नयाँ प्रविधिका लागि पनि तयार (फ्युचर प्रुफ) छ । यसमा वाईफाई-सेभेनको सुविधा पनि उपलब्ध छ ।

४. र्‍याम र एसएसडी:

मल्टीटास्किङ र छिटो कार्यसम्पादनका लागि 32GB (16GBx2) DDR5 V-Color र्‍याम जडान गरिएको छ । यसको स्पिड ६८०० मेगाहर्ज रहेको छ । स्टोरेजका लागि 1TB Lexar NVMe SSD प्रयोग गरिएको छ, जसले फाइलहरू खोल्न र लोड हुन लाग्ने समयलाई निकै कम गर्छ ।

५. लिक्विड कुलर (Liquid Cooler):

पीसीलाई चिसो राख्न र आकर्षक देखाउन ‘ASUS Prime LC 360 ARGB’ लिक्विड कुलर जडान गरिएको छ । तीन ओटा फ्यान भएको यो कुलरले उच्च क्षमतामा काम गर्दा पनि प्रोसेसरलाई तात्ने समस्याबाट जोगाउँछ ।

६. पावर सप्लाई (PSU):

सबै पार्टपुर्जालाई स्थिर बिजुली आपूर्ति गर्न ‘Thermaltake Toughpower GF 850W’ (80 Plus Gold) पावर सप्लाई प्रयोग गरिएको छ । यो शक्तिशाली बिल्डका लागि ८५० वाट न्यूनतम आवश्यक मानिन्छ । यसमा १० वर्षको वारेन्टीसमेत उपलब्ध छ ।

७. केसिङ (Casing):

यी सबै पार्टपुर्जालाई आकर्षक र सुरक्षित राख्न ‘Acegeek Mercury R425 Pro’ केसिङ छानिएको छ, जसमा आरजीबी फ्यानहरूले यसलाई थप आकर्षक बनाएको छ ।

पर्फर्मेन्स र परीक्षण के पाइयो ?

पीसी तयार भएपछि यसको परीक्षण गर्दा उत्कृष्ट नतिजा देखिएको थियो । पब्जी र गड अफ वार जस्ता गेमहरू उच्च सेटिङ्समा खेल्दा २०० भन्दा माथि एफपीएस  प्राप्त भयो । यसले गेमिङ अनुभवलाई निकै सहज बनायो । त्यस्तै, एडोबी प्रिमियर प्रोमा १० मिनेट लामो फोरके भिडिओलाई रेन्डर (Export) गर्दा मात्र २ मिनेट १० सेकेन्डको समय लाग्यो ।

मूल्य र उपलब्धता

हुकुट स्टोरका अनुसार, यी सबै पार्टपुर्जासहितको पीसीको आधिकारिक मूल्य रु. ३,००,००० रहेको छ । तर, टेकपानाका दर्शकका लागि विशेष छुटको व्यवस्था गरिएको छ । ‘TechPana25000’ प्रोमो कोड प्रयोग गर्दा यो पीसी रु. २,७५,००० मा प्राप्त गर्न सकिनेछ ।

हुकुट गिगाबाइट र थर्मलटेलको आधिकारिक वितरक भएकाले मदरबोर्ड र ग्राफिक्स कार्डमा तीन वर्ष तथा पावर सप्लाईमा १० वर्षको वारेन्टी पाइनेछ । साथै, हुकुटले लाइफटाइम फ्री सर्भिसिङको सुविधा पनि प्रदान गर्ने बताएको छ । 

हेर्नुहोस् भिडिओ

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १७:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सम्झौता ठिक भएको र सरकार अझै पनि कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । शनिबार मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘महाकाली परियोजना सम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले सबै कार्यान्वयन गर्ने पक्षमा छन् म पनि छु,’ उनले भने । उनले निकट भविष्यमै कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए । ‘सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं । यो गर्नुपर्ने छ,’ उनले भने । 

Ncell 2
Ncell 2

उनले सोही सम्झौताअनुसार  बिजुलीको पैसा, पानी लिइरहेको बताए ।  चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए । उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए । 

‘महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो । नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,’ उनले भने, ‘त्यो सन्धी ठिक छ । सम्झौता ठिक छ । तर त्यसबेला नदी खोला बेचे खाए भनियो । कुनै नदी खोला बेचिएको थिएन,’ उनले भने । उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए । 

उनले नेकपा एमाले देख्दाको आकार जस्तो नभएर दुनियाँको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा असाधारण शक्ति भएको पनि दाबी गरे । उनले एमाले झुसे बारुलो नभएको स्पष्ट पारे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न मेटा र ओपनएआईबिच तीव्र प्रतिस्पर्धा र वाकयुद्ध सुरु भएको छ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले मेटाले आफ्ना अनुसन्धानकर्ताहरूलाई १०० मिलियन डलर (साढे १३ अर्ब रुपैयाँ बढी) सम्मको ‘साइनिङ बोनस’ दिएर चोर्न खोजेको आरोप लगाएका छन् । यता, मेटाले भने यो दाबीलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ ।

यो विवादलाई ओपनएआई छोडेर चाँडै मेटामा सामेल हुन लागेका अनुसन्धानकर्ता लुकास बेयरको एक पोस्टले थप बल दिएको छ । उनले सामाजिक सञ्जाल एक्समा १०० मिलियन डलरको साइन-अप बोनसको खबरलाई फेक न्युज भनेका छन् । 

बेयरले आफूसँगै ओपनएआईका अन्य दुई सहकर्मी अलेक्जेन्डर कोलेस्निकोभ र सियाओहुआ झाई पनि मेटामा जान लागेको पुष्टि गरेका छन् ।

गत हप्ता ओपनएआईले आयोजना गरेको एक पडकास्टमा सीईओ अल्टम्यानले मेटाले आफ्ना कर्मचारीहरूलाई ठुलो रकमको प्रस्ताव गरिरहेको दाबी गरेका थिए । “मेटाले हाम्रो टोलीका धेरै मानिसहरूलाई ठुला अफरहरू दिन थालेको छ,” उनले भनेका थिए, “तर अहिलेसम्म हाम्रा कुनै पनि उत्कृष्ट व्यक्तिले ती अफर स्वीकार गरेका छैनन् ।”

अल्टम्यानको यो आरोपको जवाफमा मेटाका प्रमुख प्रविधि अधिकृत (सीटीओ) एन्ड्रयु बोसवर्थले द भर्जसँगको कुराकानीमा अल्टम्यानमाथि नै बेइमानीको आरोप लगाएका छन् । “साम यहाँ बेइमान भइरहेका छन् । उनले यो सबैका लागि भइरहेको छ भन्ने देखाउन खोजिरहेका छन्,” बोसवर्थले भने, “हो, बजार तातेको छ, तर त्यति धेरै पनि होइन ।” उनले अल्टम्यानले यस्ता अफरहरूलाई रोक्न खोजिरहेको समेत आरोप लगाए ।

यसैबिच, मेटाले आफ्नो एआई रणनीति ओपनएआईको भन्दा फरक रहेको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख उत्पादन अधिकृत (सीपीओ) क्रिस कक्सका अनुसार, मेटाको लक्ष्य च्याटजीपीटी जस्तो काममा सघाउने एआई च्याटबट बनाउनु मात्र नभई मनोरञ्जन, साथीभाइसँगको सम्बन्ध र मानिसहरूको जीवनशैलीमा केन्द्रित भएर आफ्नो एआईलाई फरक बनाउनु हो ।

गुगल र ओपनएआईको तुलनामा मेटा एआई दौडमा प्रतिस्पर्धा गर्न संघर्षरत देखिन्छ । यद्यपि, मार्क जुकरबर्गको कम्पनीले हालै आफ्नो ‘सुपरइन्टेलिजेन्स’ टोली गठन गरी ठुलो संख्यामा कर्मचारी भर्ना गरिरहेको छ । हालै, मेटाले स्केल एआई (Scale AI) मा ४९ प्रतिशतको हिस्सेदारी खरिद गरी त्यसका २८ वर्षीय सीईओ अलेक्जेन्डर वाङलाई आफ्नो नयाँ टोलीको नेतृत्व गर्न नियुक्त गरेको छ । यो प्रकरणले एआई प्रतिभा भित्र्याउन मेटा आक्रामक रणनीतिका साथ लागिपरेको संकेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १६:१२





सामाग्री श्रोत :
टेक पाना

हेटौंडा– मवकानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

Ncell 2
Ncell 2

डीएसपी अर्यालका अनुसार गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी  स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।

थापाले वाइबामाथि खुर्पा प्रहार गरेपछि कोही नजिक आए मार्ने धम्की दिएर गाउँमा आतंक फैलाएका थिए ।

घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा मूल प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातका लागि परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खु धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । पनिकाले आफ्ना १० प्रमुख सेवाहरू भोलिदेखि पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको हो ।

सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको पनिकाले जनाएको छ । दीक्षान्त समारोहका लागि अनलाइन फाराम र TUEIMS प्रविधिको सफल प्रयोगप तथा अनलाइन भुक्तानीको सफल परीक्षणपछि परीक्षा प्रणालीलाई पूर्ण विद्युतीयकरण गर्ने लक्ष्यअन्तर्गत यो व्यवस्था लागु गर्न लागिएको हो ।

पनिकाका अनुसार अब विद्यार्थीले आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी निम्न सेवाहरूका लागि घरबाटै आवेदन दिन सक्नेछन्:

१. नयाँ रजिस्ट्रेसन आवेदन फाराम

२. परीक्षा आवेदन फाराम

३. ट्रान्सक्रिप्ट आवेदन फाराम

४. प्रोभिजनल सर्टिफिकेट

५. मूल प्रमाणपत्र

६. पुनर्योगका लागि आवेदन फाराम

७. शैक्षिक कागजातमा नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फाराम

८. विभिन्न सिफारिस पत्रहरू

९. प्रमाणपत्रहरूको प्रमाणीकरण

१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि

 

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १४:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए।

Ncell 2
Ncell 2

कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो, त्योअनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे। अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए।

अध्यक्ष दाहालले भने, ‘आजभोलि पार्टीमा, आन्दोलनमा धेरै किसिमका विचलनहरू — सैद्धान्तिक, राजनीतिक, व्यवहारिक, सांस्कृतिक — थुप्रै किसिमका विचलनहरू देखिन्छन्। हामीले जति बेला कम्युनिस्ट पार्टी स्थापना गरेर अघि बढ्दै थियौँ, जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ। सबैतिर पदको निम्ति, स्वार्थको निम्ति, व्यक्तिगत प्रतिष्ठाको निम्ति तँछाडमछाड गरिएको देखिन्छ। हाम्रो पार्टीले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो। हामी हाम्रो विचार, राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो, त्यस्तो भएन।’

अध्यक्ष दाहालले यही अवस्था चलिरहे कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली हौसिएका छन् । शनिबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतको वर्षभन्दा नतिजामा १४ प्रतिशत वृद्धि भएकोमा खुसी व्यक्त गरे । 

“यसै सदनबाट भनेको थिएँ मैले, यसपल्ट ६० प्रतिशतभन्दा बढी पुऱ्याइनेछ । सबैको सहयोग भयो भने ७० प्रतिशतसम्म पनि पुऱ्याउने सम्भावना हुन्छ,” उनले भने ।

उनले आफ्नो व्यक्तिगत पहल र आग्रहमा डेढ लाख विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गराएको पनि सुनाए । “व्यक्तिगत रुपमा मैले आग्रह गरेर डेढ लाख विद्यार्थीहरुलाई निःशुल्क अनलाइन पढाइएको छ । मैले भनेको थिएँ कि यस कुराले सकारात्मक प्रभाव पार्छ नै,” उनले भने ।

उनले यो अभियानमा २५० भन्दा बढी युवा शिक्षक र प्राविधिकहरूले स्वयंसेवी रूपमा काम गरेको जानकारी दिए । अभियानमा शिक्षक र मेन्टरहरूले ल्यापटप र मोबाइलको प्रयोग गरेको तथा फोरजी सेवा नपुगेका ठाउँमा नेपाल दूरसञ्चार (नेपाल टेलिकम)ले इन्टरनेट सेवा पुऱ्याएर सहयोग गरेको समेत उल्लेख गरे ।

नतिजा प्रकाशनपछि कतिपयले अंक थपेर पास गराइएको भन्दै गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता आरोपले विद्यार्थीको मेहनतको अपमान गरेको धारणा राखे । “विद्यार्थीहरुले मेहनत गरेर यो नतिजा ल्याएका छन् । म सबैलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु,” उनले भने, “यस नतिजालाई, विद्यार्थीको मेहनतलाई अपमान नगर्न म आग्रह गर्न चाहन्छु ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यो निःशुल्क अनलाइन कक्षाको कार्यक्रमलाई निरन्तरता दिने घोषणा समेत गरे । उनले भने, “यो सेवा मौका परीक्षा दिनेहरुका लागि भोलिबाटै सुरु हुनेछ । र अर्को वर्षको एसईईको लागि तुरुन्तै सुरु हुनेछ ।” उनले आगामी वर्ष एसईईको नतिजा ६५ देखि ७० प्रतिशत पुऱ्याउने लक्ष्य राखेको समेत बताए ।

 

पछिल्लो अध्यावधिक: असार १४, २०८२ १३:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेन भ्रमणका लागि जाँदैछन् । शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी पनि गराइसकेका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ ।

कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली आजै साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका तय छ । भ्रमण टोलीमा २१ जना सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार १४

–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान (साँझ ६ बजे)

असार १५

–दिउँसो करि ४ बजे सोभिया पुग्ने ।

–नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन ।

–साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग भेटवार्ता ।

– लगत्तै, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रीभोजमा सहभागी ।

असार १६ गते

–बिहान उद्घाटन सत्रमा सहभागीता ।

–अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन ।

–दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग भेटवार्ता ।

–दिउसो ३ देखि ४ बजे (नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्बोधन)

–अपरान्ह ४:०० देखि ५:१५ बजे

*इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुलीसँग भेटवार्ता ।

*पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग भेटवार्ता ।

*संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता ।

–स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रीभोज ।

असार १७ गते

Ncell 2
Ncell 2

–पहिलो कार्यक्रम, बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य ।

–बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यवद्धतामा लगानी: विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन ।

–अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई संबोधन ।

–अपरान्ह नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन ।

–दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन ।

–साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्रीभोजमा सहभागी ।

असार १८ गते

–सेभियाबाट म्याड्रिड फर्किने ।

–म्याड्रिडमा केही कार्यक्रममा संलग्नता ।

–साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई सम्बोधन ।

असार १९ गते

–स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लबका अधिकारीहरुसँगको भेटघाट ।

–सान्टियागो वर्नावाउ रंगशालाको अवलोकन ।

–स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट (अन्तिम कार्यक्रम)

–यसै दिन राती १०:४५ बजे दोहाको लागि प्रस्थान ।

असार २० गते

–दिउँसो ४:४५ बजे काठमाडौं अवतरण ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट