
काठमाडौँ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि ‘एडभान्स्ड च्याट प्राइभेसी’ सार्वजनिक गरेको छ । यस फिचरमार्फत व्यक्तिगत तथा ग्रुप च्याटमा गोपनीयता थप बलियो बनाउने कम्पनीले लक्ष्य राखेको छ ।
ह्वाट्सएपले सुरक्षाका लागि मेसेज र कलहरूलाई इन्ड टु इन्ड इन्क्रिप्सन विधि प्रयोग गर्दै आएको छ । त्यसकै आधारमा कम्पनीले ‘डिसएपियरिङ मेसेज’, ‘च्याट लक’ जस्ता गोपनीयताका अन्य तह थपेको छ ।
पछिल्लो फिचर ‘एडभान्स्ड च्याट प्राइभेसी’ सक्रिय गरेपछि प्रयोगकर्ताले अरूलाई च्याट एक्सपोर्ट गर्न, मिडिया अटो-डाउनलोड गर्न वा च्याटमा प्रयोग भएका मेसेजहरूलाई एआई फिचरमा प्रयोग गर्न रोक लगाउन सक्नेछन् ।
ह्वाट्सएपले भनेको छ, “यसले च्याटका सबै सदस्यलाई च्याटमा भएका कुराकानी बाहिर लैजान सकिँदैन भन्नेमा थप विश्वास दिलाउँछ ।” यो फिचर विशेषगरी त्यस्ता व्यक्तिका लागि उपयोगी छ, जहाँ च्याट ग्रुपका सहभागीहरू एक-अर्कामा नचिने पनि संवेदनशील विषयमा छलफल गर्छन् ।
यसले ग्रुपका मेम्बरहरूलाई संवाद बाहिर जाने डर बिना कुरा राख्न सहज बनाउने ह्वाट्सएपको विश्वास छ ।
नेपालमा पनि यो फिचर चाँडै उपलब्ध हुने अनुमान छ । ‘एडभान्स च्याट प्राइभेसी’ फिचर इनेबल गर्न प्रयोगकर्ताले सम्बन्धित च्याट खोलेर ‘च्याट नाम’मा ट्याप गर्नुपर्नेछ । त्यसपछि ‘एडभान्स च्याट प्राइभेसी’ विकल्पमा ट्याप गरेर फिचर अन गर्न सकिन्छ ।
ह्वाट्सएपले यो फिचरको अहिलेको संस्करण सुरुवाती चरण भएको र भविष्यमा थप सुरक्षा सुविधा थप्ने बताएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १२:४६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ।
नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशनको प्रारम्भकाबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ। यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र प्री बजेट छलफल वैशाख २८ बाट हुने अनुमान छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुनेछ। यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका सङ्घीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याउन कोसिस हुनेछ।
संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- चिकित्स शिक्षा आयोगको १६ औं बैठकबाट गरिएको आठौं तह बराबरको तलबका लागि आवासीय चिकित्सक २९ दिनदेखि आन्दोलित छन्। उनीहरुले आफूले आठौं तहको तलब कुनै कृपाबाट नभइ निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मानका रुपमा चाहेको बताएका छन्।
बुधबार नेपाल चिकित्सक संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आवासीय चिकित्सकले साझा आवाज स्वरुप बिज्ञप्ति जारी गरेका हुन्। चितवन मेडिकल कलेजका आवासीय चिकित्सक डा विप्लव लामिछानले उक्त विज्ञप्ति पढेर सुनाएका हुन्।
यस्तो छ उनीहरुको बिज्ञप्ति :
हामी, निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरू, २८ दिनदेखि निरन्तर आन्दोलनमा छौं । यो केवल केही मागहरू राखिएको विरोध मात्र होइन, यो हाम्रो करियर, जीवन र आत्मसम्मानसँग प्रत्यक्ष सम्बन्धित संघर्ष हो। गहिरो पीडा र दृढ अठोटका साथ हामी सम्पूर्ण चिकित्सक समुदाय, हाम्रा सम्माननीय शिक्षकहरू, अग्रजहरू, सहकर्मीहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग – अनुरोध गर्न चाहन्छौं कि कृपया हामीसँग उभिनुहोस्, अन्यायको विरोधमा आवाज उठाउनुहोस्।
वर्षौंसम्म हामीले बिरामीहरूको सेवामा आफूलाई पूर्णतः समर्पित गरेका छौं । थकाइ, भोक, निद्रा, पारिवारिक दूरी, सबै त्यागेर हामीले बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिएका छौं । तर अहिले हामीलाई त्यागिएको छ । यो त्याग बिरामीहरूले होइन, हामी कार्यरत संस्थाहरूले गरेका छन्, तिनै संस्थाहरू जसले हामीलाई ‘शिक्षार्थी’ भनेर मात्र हेरिरहे, तर हाम्रो श्रमको उचित मूल्य कहिल्यै चुकाएनन्।
निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूलाई आठौं तहको तलब तुरुन्त लागू गर्नुपर्छ भनेर चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयहरूले स्पष्ट रूपमा निर्देशन दिइसकेका छन्, तर दुःखद कुरा के छ भने, निजी कलेजहरूले सो निर्देशनलाई खुलेआम उल्लंघन गर्दै आएका छन् । यो केवल व्यावसायिक गैरजिम्मेवारी होइन, यो कानुनी अवज्ञा र श्रम शोषणको प्रत्यक्ष नमुना हो । हामी हाम्रा अधिकारका लागि उभिएका हौँ तलबको लागि बिन्ती गरिरहेका होइनौँ । आठौं तहको तलब कुनै कृपा होइन, यो हाम्रो निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मान हो ।
यस आन्दोलनको क्रममा, संस्थाहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामीले दमन र धम्कीहरूको सामना गरिरहेका छौं। केही साथीहरूलाई व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाव दिने, कक्षाबाट हटाइने चेतावनी दिने, र यहाँसम्म कि रजिस्ट्रेसन रोक्ने वा “बाहिर गरिदिन्छौं” भन्ने धम्की दिने काम हुँदै आएको छ । केही साथीहरूलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ। यस्तो व्यवहार केवल असंवेदनशीलता होइन, यो हाम्रो आत्मसम्मानमाथिको गम्भीर प्रहार हो।
जबसम्म हाम्रो तलब लागू हुँदैन, तबसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा पूर्ण रूपमा बन्द रहनेछ भनी हामीले स्पष्ट रूपमा निर्णय गरेका छौं । यो आन्दोलन व्यक्तिगत स्वार्थको होइन, सम्पूर्ण आवासीय चिकित्सकहरूको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।
हामी सम्पूर्ण शिक्षक, परामर्शदाता, वरिष्ठ चिकित्सकहरू, स्वास्थ्य संस्थाहरू, मानव अधिकार संस्थाहरू र श्रम अधिकारकर्मीहरूलाई हार्दिक आह्वान गर्दछौं कृपया हामीसँग उभिनुहोस्। हाम्रो आवाजलाई तपाईंको आवाज बनाउनुहोस्। स्वास्थ्य शिक्षा क्षेत्रमा न्याय, समानता र गरिमाका लागि सँगै बोलौं, सँगै लडौं।
हामीलाई थाहा छ, यो बाटो सहज छैन । तर जबसम्म हाम्रो श्रमको मूल्य र कानुनी अधिकारको संरक्षण हुँदैन, तबसम्म हामी चुप बस्ने छैनौं। यो केवल आन्दोलन होइन, यो चेतना हो, आत्मसम्मानको युद्ध हो। हामी एक छौं । हामी अडिग छौं। २८ दिन भइसक्यो अब चुप बस्ने समय छैन । संघर्ष जारी छ र यसपटक, हामी अवश्य जित्नेछौं ।
– सम्पुर्ण निजी मेडिकल कलेजहरूका आवासीय चिकित्सकहरू
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाल प्रहरीका ३११ इन्स्पेक्टरको सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरेको हो।
बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरिएको जनाएको छ।
तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो।
सामाग्री श्रोत :
काठमाडौं । अच्युत घिमिरे ‘बुलबुल’ । उनैलाई थाहा थिएन कुनै दिन उनको सुमधुर आवाज रेडियोको तरङ्गमा गुन्जिएला भनेर ! किशोरावस्थाका ती रोमाञ्चक दिनमा उनका लागि रेडियो केवल सङ्गीतको साथी थियो । त्यही पनि उनले फाटफुट सङ्गत गर्ने । कुनै दिन यही सङ्गीत बज्ने माध्यममा उनको आवाज गुञ्जिएला भनेर उनले कल्पना पनि गरेका थिएनन् । कथा वाचन गरेर श्रोताको मनमा बसुँला वा कथावाचक ‘बुलबुल’को परिचय बनाउँला भन्ने सपना त झनै परको कुरा ।
तर समय र काम प्रतिको इमानदारीता र लगावले उनलाई आफ्नै लहलहैमा डोर्यायो । त्यसैको बहावमा उनी निरन्तर यात्रा गरिरहे र रेडियोको अक्षमा आइपुगे । कार्यक्रम निर्माताको रूपमा सङ्घर्षका पाइला चाल्दै उनी रेडियोको प्राङ्गणमा बामे सर्न थाले । अडिओ मिक्सरमा जटिल ढाँचामा मिलेर बसेका कीहरू चलाउन सिक्ने हुटहुटीले उनलाई कार्यक्रम निर्माता बन्ने सपना देखायो । त्यसैलाई पछ्याउँदै उनी कार्यक्रम निर्माता बने । त्यसपछि जन्मियो लोकप्रिय रेडियो कार्यक्रम ‘श्रुति संवेग’ । त्यसैका जन्मदाता अच्युतले २५ वर्षदेखि उस्तै स्वरूपमा ‘श्रुति संवेग’लाई निरन्तरता दिइरहेका छन् ।
समयसँगै रेडियो सुन्ने पुस्ता पोडकास्ट र अडिओ स्ट्रिमिङ प्लेटफर्मका श्रोता बनेका छन् । बाटो मोडेर नयाँ प्रविधि अङ्गालेका श्रोतामाझ पुग्न उनले युट्युबलाई आत्मसात् गरेका छन् । त्यही युट्युब घिमिरेका लागि नयाँ रङ्गमञ्च बनेको छ । अहिले उनी कथावाचनको यात्रालाई त्यही नयाँ रङ्गमञ्चबाट निरन्तरता दिइरहेका छन् । औपचारिक रूपमा रेडियो छोडे पनि उनको आवाज अझै पनि देशभरका रेडियो स्टेसनमा गुञ्जिरहन्छ ।
रेडियो पुस्ताका सेलिब्रेटी ‘अच्युत घिमिरे’, आज पनि उत्तिकै लोकप्रिय छन् । उत्तिकै श्रोताका मनमा छन् । लाखौं श्रोताका निदरीको ‘लोरी’ बनेका छन् । कसरी उनी यो यात्रामा जोडिए होलान् ?
बाल्यकालमा सङ्गीतको साथी रेडियो !
गोकर्णेश्वरको माटोमा हुर्किएका घिमिरेको बाल्यकाल काठमाडौंको धुलोमै बित्यो । यो २०५० सालतिरको कुरा हो । त्यतिबेला काठमाडौं आधुनिक त थियो तर आजको जस्तो कङ्क्रिटको जङ्गल बनिसकेको थिएन । “हाम्रो घर काठमाडौंमै भए पनि, हामी कृषि र मेलापातमा गर्थ्यौं,” उनी सम्झन्छन् । फाट्टफुट्ट सङ्गीत सुन्ने अच्युतको रेडियोसँगको सम्बन्ध त्यति गहिरो थिएन । उनी अगाडि थप्छन्, “म कुनै कार्यक्रम सुन्न भनेर रेडियो खोल्दिनथेँ । कहिलेकाहीँ मन बहलाउन त्यसमा बज्ने संगीत सुन्थेँ ।”
उनलाई रेडियोमा संगीत बाहेक अरू के-के बज्छ भन्ने पत्तो थिएन । वास्ता नभएर पनि त्यसो भएको हुन सक्छ । गोकर्णेश्वरकै चामुण्डा माध्यमिक विद्यालयबाट एसएलसी सकेका उनी इन्जिनियर बन्ने सपना बोकेर आईएससी अध्ययन गर्न त्रिचन्द्र कलेजको प्राङ्गणमा आइपुगे । “इन्जिनियर बन्नका लागि फिजिक्स पढ्नुपर्ने । त्यही पढ्न त्रिचन्द्र आइपुगेको थिएँ,” उनी सम्झिन्छन्, “मलाई साहित्य र पढाउने काममा खुबै रहर थियो ।”
उनको रहर पूरा गर्ने र खर्चको जोहो गर्ने अचुक उपाय थियो – ट्युसन । त्यसका लागि उनी बिहान-बेलुका ट्युसन पढाउन थाले । त्यो समयमा एसएलसी पास गर्नु नै ठुलो मानिन्थ्यो । झन् एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भई आईएससी पढ्न खोज्नु भनेको त धेरैको सपना जस्तो हुन्थ्यो । जो आईएससी पढ्ने आँट गर्छन् उनीहरू पढाइमा तेज छन् भन्ने मानिन्थ्यो । अच्युत पनि कक्षा ८ देखि नै ऐच्छिक गणित, गणित र विज्ञानमा अब्बल थिए । त्यसैले उनले आईएससी पढ्दा कक्षा ९ र १० का विद्यार्थीलाई ट्युसन पढाएर आफ्नो खर्च जुटाए । उनी आईएससी पढ्दा गरेका संघर्ष सम्झिन्छन्, “म आईएससी पढ्ने भए पनि कक्षा ९/१० का विद्यार्थीलाई गणित, विज्ञानको ट्युसन पढाउँथें । तर, पढ्नेहरूलाई म आईएससी पढ्दै छु भन्ने थाहा थिएन । त्यतिबेला ट्युसन फी विषय हेरेर ५० रुपैयाँ, १०० रुपैयाँ थियो ।”
पढाउँदा चाहना पनि पूरा हुने खर्चको पनि जोहो हुने भएपछि घिमिरेले त्यसैलाई निरन्तरता दिन थाले । “एसएलसी आउन केही महिना बाँकी हुँदा ट्युसन पढ्ने विद्यार्थीको घुइँचो हुन्थ्यो । सायद राम्रो पढाउँछ भन्ने भएर होला विद्यार्थी धेरै धाउँथे । धेरै विद्यार्थीलाई पढाउन बिहानदेखि बेलुकासम्मै खटिनु पर्थ्यो । यतिसम्म कि पढाउँदा धेरै बोलेको भएर नाकबाट रगत नै आउँथ्यो । सायद त्यसले पनि मेरो बोल्ने कलालाई विकास गरेको होला,” उनी भन्छन् ।
यसरी ट्युसन पढाउने क्रममा उनको आवाज सुनेर विद्यार्थीहरू मन्त्रमुग्ध हुन्थे । तर, घिमिरेलाई यो कुरा कसैले भनेको थिएन । पढ्ने विद्यार्थी आफ्नै उमेर समूहका भएकाले उनका नजिक हुन्थे । त्यही ट्युसनको कक्षामा थिए ‘लालवीर योञ्जन’ । उनी घिमिरेको पढाउने शैलीका प्रशंसक थिए । “उनीहरूलाई ‘सरले मीठो कुरा गर्छ, राम्रो पढाउँछ, बुझाउँछ’ भन्ने थियो,” उनी अगाडि भन्छन्, “लालवीर शास्त्रीय सङ्गीतका लागि सरोद भन्ने बाजा बजाउने रहेछन् । एचबीसी रेडियोमा कुनै संस्थाबाट कार्यक्रम गर्न गएको बेला उनले त्यहाँ जागिर खुलेको नोटिस देखेका रहेछन् ।”

लालवीरले नोटिस देखेपछि अच्युतलाई ‘तीनचुले’को रेडियोमा जागिर खुलेको छ, तपाईं आवेदन दिनुस् भनेर आग्रह गरे । तपाईंको आवाज पनि मीठो छ, अङ्ग्रेजी पनि राम्रो छ, आवेदन दिनुस् नाम निस्किन्छ भनेर लालवीरले घिमिरेलाई उस्काए । रेडियोमा जागिर भन्ने शब्द नै घिमिरेले पहिलो पटक सुनेका थिए सायद । लालवीरले अनुरोध गरेपछि घिमिरे केही असहज महसुस गरी भने, “मलाई कहाँ रेडियोमा बोल्न आउँछ र ? कहिल्यै बोलेकै छैन ।”
लालवीरले आँट थप्ने हेतुले घिमिरेलाई भने, “ह्या गर्नु न गर्नु ।”
लालवीर अलि हक्की स्वभावका थिए । अच्युत उनका प्रिय विद्यार्थी भएकाले उनले मायाले हप्काए । “आवेदन दिनै पर्छ,” लालवीरले जोड दिए । अच्युतले नाइँनास्ति गर्दा पनि लालवीरले मानेनन् । उनले अच्युतलाई समातेर बाइक निकाल्न भने । अच्युतले भर्खरै बाइकको लाइसेन्स निकालेका थिए र नयाँ बाइक किनेका थिए । लालवीरले जानैपर्छ भनेर जिद्दी गरेपछि अच्युत बाध्य भए । उनले लालवीरलाई बाइकमा राखेर रेडियो एचबीसी (HBC) तिर लागे ।
रेडियो स्टेसनको दैलोमा पुग्दा पनि अच्युतको मन मानिरहेको थिएन । तर लालवीर आफैँ भित्र पसेर १६ प्रश्न भएको आवेदन फारम लिएर आए । उनले अच्युतको हातमा थमाउँदै भने, “ल, भरिहाल्नुस् ।” अच्युतले आनाकानी गर्दै भए पनि सबै प्रश्नको उत्तर लेखे । यतिबेलासम्म पनि उनको मनले मानेकै थिएन । लालवीरले आफैँले त्यो फारम रेडियोमा बुझाए । अनि अच्युत र लालवीर दुवैजना आ-आफ्नो बाटो लागे ।
अच्युतका अनुसार त्यतिबेला रेडियोमा जागिर खान ६०५ जनाले आवेदन दिएका थिए । त्यसबाट अन्तर्वार्ताका लागि १०५ जना छनोट भए । त्यसमा घिमिरे पनि परेका थिए । लिखितमा पास भएपछि अन्तर्वार्ताका लागि छनोट भएका १०५ जनालाई पार्टी खुलाएको अच्युतको मानसपटलमै छ । त्यतिबेला घिमिरेले अन्तर्वार्ता दिए । र, छनोट भएपछि सम्पर्क गर्नका लागि छिमेकीको फोन नम्बर उपलब्ध गराए । र, उनले रेडियो एचबीसीमै काम गर्ने शम्भु घिमिरेको नम्बर टिपेर आफ्नो साथमा राखे ।
त्यसको झन्डै एक वर्षपछि अर्थात् २०५६ सालतिर एकदिन अच्युत खेतमा धान गोडिरहेका थिए । त्यहीबेला छिमेकीले उनलाई देखिन् । अनि उनलाई अच्युतका लागि कसैले फोन गरेको याद आयो । रेडियोमा जागिरका लागि आवेदन दिएको ६ महिनापछि छिमेकीले उनलाई फोन आएको खबर सुनाइन् । “छिमेकी आन्टीले फोन आएको बिर्सिनु भएको रहेछ । दुई दिनपछि मलाई देख्दा सम्झिनु भयो । अनि भन्नुभयो- ‘ए, साँच्ची ! अच्युतलाई देखेपछि पो सम्झिएँ । तलाईं त तीनचुलेबाट फोन आएको थियो ।’
तीनचुलेबाट रेडियो एचबीसीबाहेक उनलाई फोन गर्ने कोही थिएन । उनले रेडियोबाटै फोन आएको भन्ने अड्कल काटे । “बोलाउँदैन होला भनेको रेडियोबाट अन्तर्वार्ता दिएको छ महिनापछि बोलाइयो । म खेत गोडिरहेको मान्छे, त्यहाँबाट निस्किएर सफा भएँ । अनि नम्बर लिएर फोन गरेँ,” उनी जागिरका लागि रेडियोबाट फोन आएको पल स्मरण गर्छन् ।
उनले फोन गर्दै शम्भु घिमिरेलाई आफ्नो परिचय दिए । त्यसपछि शम्भु घिमिरेले केही दिनदेखि उनैलाई खोजिरहेको भन्दै काम नै गर्नेगरी रेडियोमा आउन आग्रह गरे । अच्युत यसरी रेडियो एचबीसीमा छनोट भएका थिए । लिखितपछि छनोट भएका १०५ जनामध्ये तीन जनाले मात्र जागिर पाए । त्यसैमा एक अच्युत थिए ।
पढाइ कम भएकाले सीप सिक्ने हुटहुटी
अच्युतका अनुसार रेडियो एचबीसीमा जागिर पाउने तीन जनामध्ये घिमिरे आईएससी अध्ययन गरिरहेका थिए भने बाँकी दुई जना मास्टर्स पूरा गरिसकेका थिए । अच्युत भने कार्यक्रम निर्माताका रूपमा नियुक्त भएका थिए । “आफू पढेको छैन । आफूसँगै छनोट भएका अरू दुई जना मेजर इङ्ग्लिशमा मास्टर्स गरेका छन्,” उनी भन्छन्, “म त सानै मान्छे । के गरेर प्रभावित पार्न सकिन्छ भन्ने लाग्थ्यो ।”
प्रभावित पार्नका लागि त्यहाँ भएका सबै उपकरण खासगरी मिक्सर सिक्नुपर्छ भन्ने उनलाई लागेको थियो । मिक्सरमा जटिल संरचना बनाएर सजिएका की देखेपछि उनको मुखबाट निस्कियो, “यो सिक्न त हजार दिन लाग्छ होला है ?”
त्यही काम गर्ने उज्ज्वल अधिकारी अच्युतले भनेको सुनेपछि केहीबेर गलल्ल हाँसे । उज्ज्वल रेडियो एचबीसीमा प्राविधिकको जिम्मा पाएका थिए । अच्युतलाई मिक्सर सिक्न जटिल नभएको भन्दै उज्ज्वलले भने, “हजार दिन ? तिमीलाई जाँगर भयो भने सात दिनमा पर्फेक्ट बनाइदिन्छु ।”
कहाँ अच्युतले कल्पना गरेको हजार दिन, कहाँ उज्ज्वलले आश्वासन दिएको सात दिन । अच्युत मिक्सर सिक्न हौसिए । तर, सिक्नका लागि उज्ज्वलले भनेको जस्तो सजिलो पनि थिएन । प्रोजेक्ट म्यानेजरको जिम्मा पाएका इटालीका नागरिक क्लाउडियो रकी असम्बन्धित व्यक्तिलाई प्राविधिक उपकरण चलाउन दिँदैनथे । झन् अच्युत कार्यक्रम निर्माताका रूपमा नियुक्त भएका थिए । त्यसैले उनलाई त्यहाँ भएका प्राविधिक उपकरण चलाउने अधिकार थिएन ।
क्लाउडियोलाई रेडियो एचबीसीले कार्यालयमै सुत्ने व्यवस्था मिलाएको थियो । उनी बिहान ८ नबजेसम्म प्राविधिक कक्षमा आउँदैनथे । क्लाउडियोको यही बानी थाहा पाएका उज्वलले अच्युतलाई मिक्सर सिक्नका लागि ८ बजेभन्दा अगाडि कार्यालय आउन सुझाव दिए । उनी पनि बिहान पाँचै बजे कार्यालय आई मिक्सर सिक्न थाले । “चिसो, पूरै हुस्सु हुन्थ्यो । कार्यालय पुग्न मेरो घरबाट १५/२० मिनेट लाग्थ्यो,” उनी सम्झिन्छन्, “ठाउँ नजिक भए पनि कुकुरले सताउँथे । बिहान एक्लै हिंड्दा भुकेर हैरान पार्थे ।”
मिक्सरका सबै फङ्सन थाहा पाई आफूलाई निखार्नुपर्छ भन्दै कस्सिएका अच्युतलाई उक्त उपकरण सिक्न तीन दिन मात्र लाग्यो । “मैले हजार दिन लाग्छ होला भनेर कल्पना गरेको डिभाइस तीन दिनमै सिकेँ । सिके पनि फरक भूमिकामा काम गर्ने भएकाले निरन्तर प्रयोग गर्न पाउँदैनथेँ,” उनी सम्झिन्छन् ।
उनी अगाडि थप्छन्, “मिक्सरमा हाई फ्रिक्वेन्सी, लो फ्रिक्वेन्सी, गेन, प्यान भन्ने हुन्छ । हेर्दा धेरै की देखिन्छ । त्यसैले झट्ट हेर्दा, यो कहिले सिकिएला भन्ने लाग्छ । तर, समय दियो भने केही दिनमै सकिने रहेछ । अहिले कम्प्युटरबाट सबै मिलाउन सकिन्छ । तर, त्यतिबेला डिजिटल अडिओ टेप, स्पुल टेप भन्ने हुन्छ । अडिओ मिक्स गर्न यी टुलहरू प्रयोग हुन्थे ।”
यसरी अडिओ मिक्सरमा काम लाग्ने सबै टुलमा पोख्त भएपछि यी टुल आवश्यक पर्दा अच्युत आफैँ प्रयोग गर्थे ।
“रेडियोको भाषामा एउटा सेल्फ अप भन्ने हुन्छ । यो भनेको आफै सञ्चालन गर्ने भन्ने हो । सिसा बिचमा राखेर एउटा छेउमा टेक्निसियन बस्ने अर्को छेउमा बोल्ने मान्छे बस्नेलाई एङ्कर्स क्युब (प्रेजेन्टर क्युब) भनिन्छ । तर, टेक्निकल क्युबमै माइक राखेर आफै फेडर चलाएर बोल्न सक्नेलाई सेल्फ अप (अपरेसन) भनिन्छ । त्यो धेरै कम मान्छेले सक्छन् । रेडियो एचबीसीमा त्यो काम सक्ने म एउटा मात्र मान्छे थिएँ । म मेरो प्रोग्राम एक्लै बजाउन सक्थेँ । पूरै लाइभमा वाचन गर्थेँ ।”
श्रुति संवेगको जन्म !
उनी कार्यक्रम निर्माताका रूपमा गए पनि सोखका हिसाबले प्राविधिक काममा बढी लाग्थे । तर, औपचारिक रूपमा उनी प्राविधिकको काम पनि गर्छन् भन्ने उनका नजिकका साथीभाइलाई मात्र थाहा थियो ।
निर्माताको रूपमा उनको काम सीडीहरूलाई स्टिकर टाँसेर व्यवस्थित गर्नु थियो । प्रत्येक सीडीलाई नम्बर र रङले चिनाएर छुट्याउनुपर्थ्यो । नेपाली गीतलाई एउटा नम्बर र रङ, हिन्दीलाई अर्को नम्बर र रङ दिइन्थ्यो । नेपाली गीतहरूमा पनि भजनलाई एउटा, लोकलाई एउटा र आधुनिक गीतलाई अर्को नम्बर र रङले मार्क गरेर राख्नुपर्ने हुन्थ्यो ।
उनको काम नै विभिन्न सङ्गीतका सीडीलाई मिलाउने, ती सीडीको विवरण राख्ने थियो । रेडियो एचबीसीमा काम गर्दा उनी विभिन्न कार्यक्रमका प्रस्ताव लिएर जान्थे । तर, उनका सबै कार्यक्रमका प्रस्ताव अस्वीकार हुन्थे । “पाँच ओटा पर्पोजल लग्दा सबै फेल भए । मैले लैजाने ती कार्यक्रमका प्रपोजल पहिले कतै भएका रेडियोका कार्यक्रमका हुन्थे । तर, क्लाउडियो केही फरक र पृथक कार्यक्रम ल्याऊ भन्थे । पर्पोजल देखाउने पालो नै झन्डै हप्तामा आउँथ्यो,” उनी सम्झिन्छन्, “छैठौंमा मैले श्रुति संवेगको प्रस्ताव लिएर गएँ । क्लाउडियोले स्वीकारे ।”
श्रुति संवेगको कल्पना ठ्याक्कै कसरी आयो भन्ने अच्युतलाई थाहा छैन । लाइब्रेरीमा सीडी मिलाउँदै गर्दा उनले ‘फिप्टी ग्लोरियस क्लासिकल इयर्स अफ इन्डिया’ नामको सीडी फेला पारेका थिए । यो इटालियन नागरिक क्लाउडियोले नै ल्याएर आएको सीडी थियो । “पाँच ओटा सीडीको प्याकेज थियो । यो तिनै क्लाउडियोले नै ल्याएको सीडी थियो,” क्लाउडियोको प्रशंसा गर्दै अच्युत भन्छन्, “उनी हामीलाई रामायण महाभारत सिकाउँथे । पश्चिमा र पूर्वीय दर्शन, साहित्य, धर्म जानेको विद्वान् कलाकार थिए उनी ।”
त्यस एल्बममा भएका विभिन्न हिन्दी शास्त्रीय सङ्गीतले अच्युतको ध्यान खिचे । खासगरी रेडियो नेपाल सुनेको बेला बज्ने शास्त्रीय सङ्गीतले पनि उनलाई प्रभावित पारेको थियो । एल्बममा भएका तिनै गीत बजाएर अच्युत कथा पढ्नुपर्छ कि भन्ने सोचे । उनी सम्झिन्छन्, “त्यतिबेला फ्ल्युटको म्युजिक ब्याकग्राउन्डमा बजाएर लभ लेटर, लभ स्टोरी पढ्ने प्रवृत्ति थियो । साहित्यिक किताब कसैले पढिरहेको थिएन । साहित्यका यस्ता राम्रा कथालाई यी म्युजिकमा कस्तो होला लाग्यो ।”
त्यसपछि घिमिरेले रङ्ग सारी गुलाबी चुनरिया, जाउँ मे तोप पे बेलिहारी जस्ता म्युजिक बजाउन थाले । उनका निम्ति समय बिताउनु एक चुनौतीजस्तै थियो । क्यासेट मिलाउने सामान्य कामबाहेक खासै अरू केही व्यस्तता थिएन । फुर्सदका ती खाली पललाई कसरी सार्थक बनाउने भन्ने ध्येयले होला, उनले क्यासेटका धुनसँगै साहित्यका रङ्गीन पुस्तकमा आफूलाई डुबाउन थाले । साहित्यको संसारमा उनको प्रवेश यसरी नै भयो, रुचि फक्रिन थाल्यो । शब्द र सङ्गीतको तालमेलमा पढ्दै जाँदा उनले अनौठो अनुभूति गरे । शास्त्रीय सङ्गीतको तालमा आफ्नो साहित्यिक स्वर घुलेर निस्किएको मिठासयुक्त ध्वनिले उनलाई मन्त्रमुग्ध पार्यो ।
यसरी पढ्दै जाँदा उनले आफ्नो स्वरमा सुहाउने म्युजिक मार्क गर्न थाले । ‘यति सेकेन्डदेखि यति सेकेन्डमा यस्तो किसिमको म्युजिक छ, यो म्युजिक पुस्तकको यो अनुच्छेदका लागि उपयुक्त हुन्छ’ भन्दै सेकेन्ड सेकेन्ड नोट गरेर राखे । “यसरी म्युजिक बढाएर पढ्दै कुनमा सुहाउँछ भन्ने परीक्षण गरेँ,” उनी सम्झिन्छन्, “उता क्लाउडियोलाई एउटै म्युजिक मन पर्थेन । उसलाई फरक-फरक स्वादको म्युजिक चाहिने भएकाले एउटै पुस्तक पढ्दा पनि फरक-फरक म्युजिक बजाउने कन्सेप्ट बनाएँ ।”

यसरी क्लाउडियोलाई खुसी पारेर कार्यक्रम सुरु गर्न उनकै चाहना अनुरूपका काम गर्दा अघोषित रूपमा ‘श्रुति संवेग’को जन्म भएको घिमिरे ठान्छन् । यो कात्तिक २०५७ तिरको कुरा हो । “यो झट्ट हेर्दा त मैले नै निकालेको हो । तर, पछाडि सबै क्लाउडियोको हात छ,” उनी थप्छन् । यसरी तयार पारेको कार्यक्रमको नमूना क्लाउडियोले स्वीकारेपछि श्रुति संवेगको यात्रा सुरु भयो ।
उनले पहिले गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रहभित्रको कथा ‘चिताको ज्वाला’ वाचन गरे र त्यसैलाई रेकर्ड गरे । सुरुमा त यो एउटा परीक्षण मात्रै थियो, स्वरको एक सामान्य रेकर्डिङ । तर जब घिमिरेका साथीले यसमा अनौठो मिठासको अनुभूति गरे, तब त्यो सामान्य प्रयासले विशेष मोड लियो । अब यसलाई रेडियोका श्रोतासम्म पुर्याउने ध्येयले व्यवस्थित रूपमा रेकर्ड गरियो । र, प्रसारण भयो पनि । त्यो पहिलो प्रस्तुतिमा आठ ओटासम्म सङ्गीतको धुन प्रयोग भएको उनी सम्झन्छन् । पहिलो शृङ्खलाको सफलताले हौसिएर होला दोस्रो पटक उनी भैरव अर्यालको ‘जय भोलि’ निबन्ध लिएर आए । त्यसपछिका वाचनहरू उनका मानसपटलमा धमिलो बनेर बसेका छन्, समयको ओझेलले सबै स्पष्ट नभए पनि त्यो प्रारम्भिक मिठो पलको याद भने ताजै छ ।
उनको स्मरणमा २० वा २१ औं शृङ्खलादेखि उपन्यास पढेको पल ताजै छ । “एक हप्तामा एउटा शृङ्खला हुन्थ्यो । लगभग चार/पाँच महिनापछि उपन्यास पढ्न थालेको मलाई सम्झना छ,” उनी सुनाउँछन् ।
२८ औं शृङ्खलाको यात्रामा आइपुग्दा घिमिरेले शोभा भट्टराईको ‘अन्त्यहीन अन्त्य’ उपन्यासलाई आफ्नो स्वर दिएर नयाँ स्वरूपमा ल्याए । यो वाचन यति महत्त्वपूर्ण बन्यो कि, पछि यसलाई उनको युट्युब च्यानलमा पुनः रेकर्ड गरी सार्वजनिक गरियो । यी दुई वाचन, कथा र उपन्यासको प्रस्तुतिले उनलाई कहिल्यै पछि फर्केर हेर्नुपर्ने अवस्था आउन दिएन । अच्युत घिमिरेको परिचयको आधार नै यी कार्यक्रमहरू बने । त्यसपछि त चिठीको माध्यमबाट श्रोताका प्रशंसाका शब्दहरू ओइरिए, साथसाथै आफ्ना लेख र रचनाहरू पनि आउन थाले । यसरी अनगिन्ती गजल आउन थालेपछि, तिनलाई छुट्टै स्थान दिन र श्रोतासामु पुर्याउन २०५८ सालको जेठमा घिमिरेले ‘बुलबुल’ नामको अर्को विशेष कार्यक्रमको सूत्रपात गरे । त्यहीँ गुन्जिन थाले गजलका भाकाहरू ।
‘श्रुति संवेग’मा वाचनको प्रवाह एकतर्फी थियो; एक समयमा एउटा मात्रै लेख, उपन्यास वा कथाले स्थान पाउँथ्यो । तर, ‘बुलबुल’को बगैँचामा भने एकै कार्यक्रममा अनेकौं गजलका फूलहरू फुल्न थाले, जसले श्रोताको मनमा अझ गहिरो र मीठो छाप पार्दै गयो । यता अन्तरक्रियात्मक संवाद र वाचनको माध्यमबाट श्रोतासँग सीधा सम्बन्ध गाँसिएपछि यो कार्यक्रमको लोकप्रियताले चुली चढ्यो । ‘बुलबुल’को बढ्दो लोकप्रियताले ‘श्रुति संवेग’लाई थप ऊर्जा दियो । उता ‘श्रुति संवेग’ले आर्जन गरेको विश्वसनीयताले ‘बुलबुल’को जगलाई बलियो बनायो । यसरी यी दुई कार्यक्रमहरू एक-अर्काका पूरक बन्दै समयको गतिसँगै समानान्तर रूपमा अगाडि बढ्दै गए ।

घिमिरेको ख्याति दिनानुदिन चम्किँदै गयो । यो चम्किलो यात्रासँगै उनलाई आउने पत्रहरूको सङ्ख्या नदीमा बाढी आएझैँ उर्लँदै गयो । सुरुवाती चरणमा श्रोताका स्नेहपूर्ण पत्रहरू देख्दा उनको छाती गर्वले ढक्क फुल्थ्यो, मन मयूरझैँ नाच्थ्यो । उनी ती दिन सम्झँदै भन्छन्, “एउटा २३/२४ वर्षको युवक, जसलाई देशका कुनाकुनाबाट यति धेरै मायाका अक्षरहरू आउँथे, उसको त खुट्टा जमिनमा टिक्दै टिक्दैनथ्यो नि ।” सुरुमा त प्रत्येक चिठी एउटा उपहारजस्तो लाग्थ्यो, जसले अथाह खुसी दिन्थ्यो । तर समय बित्दै जाँदा ती पत्रहरू पत्र रहेनन्, दिनदिनै बढ्दै जाने चिठीका चाङले एउटा थुप्रोको रूप लिन थाल्यो ।

त्यही पुस्ता अहिले जिमेल र फेसबुकमा मोडिएको उनी सुनाउँछन् । पहिले जसरी चाङका चाङ चिठी आउँथे अहिले पनि त्यसरी नै ईमेल र मेसेज आउँछन् । समय फेरिए पनि समर्थकको उत्तिकै स्नेह पाउँदा उनी गमक्क छन् ।
अच्युत घिमिरे ‘बुलबुल’ बनाइदिने क्लाउडियोसँगको आत्मीयता
क्लाउडियो प्रोजेक्ट म्यानेजर थिए भने घिमिरे कार्यक्रम प्रस्तोता थिए । त्यतिबेलासम्म पनि उनले आफूले त्यहाँ प्राविधिक काम सिकें भन्ने जानकारी सबैलाई दिइसकेका थिएनन् । उनी निकट केही साथीहरूलाई मात्र थाहा थियो । घिमिरे त्यहाँ काम गर्न थालेको लगभग दुई वर्षपछि क्लाउडियो रेडियो एचबीसी छोडी आफ्नै देश पर्किने तरखरमा थिए ।

बिदाइको त्यो अन्तिम साँझ जब उनका प्रिय प्राविधिक उज्वल उपस्थित थिएनन्, क्लाउडियोले घिमिरेलाई नजिक बोलाए । उनको प्रश्नले घिमिरेको मनमा सानो तरङ्ग ल्यायो, “अच्युत, ह्वाट आर यु डुइङ ?”
घिमिरेको सरल उत्तर थियो, “आई एम फ्रि, सर ।”
त्यसपछि क्लाउडियोले बोलेका शब्दहरूले घिमिरेलाई आश्चर्यको सागरमा डुबायो, “गो टु द टेक्निकल क्युब । आई वान्ट टु रेकर्ड सम्थिङ ।”
क्लाउडियोले आफूलाई यस्तो निर्देशन दिन्छन् होला भन्ने घिमिरेले कहिल्यै कल्पना गरेका थिएनन् । क्लाउडियोले आफूलाई कहिल्यै प्राविधिक कक्षमा देखेको उनले सोचेका थिएनन् । अचानक अनुभवी प्राविधिकलाई जस्तो जिम्मेवारी पाउँदा उनको मनमा प्रश्नहरू उठे । शंकाका साथ उनले आफ्नो औंला आफैंतिर तेर्साए र सोधे, “मि ?”
क्लाउडियोको मौन स्वीकृति थियो – “अँ तिमी ।” उनले घिमिरेको काँधमा प्राविधिक जिम्मेवारी सुम्पिए ।
घिमिरे त्यो पललाई सम्झिँदै भन्छन्, “उनले देख्नेगरी म कहिल्यै टेक्निकल क्युबमा बसेकै थिइनँ । अनावश्यक व्यक्तिलाई प्राविधिक सामग्री छुनै नदिने मान्छे मैले सिकेको देख्दा केही नभनेको हो कि ? तर, एक्कासि तिमीले गर्छौं भनेपछि मलाई अझ प्रेरणा मिल्यो ।”

घिमिरेलाई लाग्छ क्लाउडियोले उनको आँखामा सीप सिक्ने तीव्र तृष्णा र मनमा अठोट देखेका थिए । त्यसैले देखेर पनि नदेखे झैं गरी उनले त्यो क्षणको लागि पर्खिरहेका थिए । घिमिरे अगाडि भन्छन्, “प्राविधिकका रूपमा मलाई काम गरेको देखेनन् भन्ने मलाई लाग्थ्यो । तर, उनीहरू कति चलाख र बौद्धिक मान्छे रहेछन् ।”
क्लाउडियोले जाने बेला पनि एचबीसीको व्यवस्थापन टिमलाई घिमिरेको बारेमा कुरा राखेका थिए । उनले भनेका थिए, “जहिलेसम्म अच्युत रेडियो एचबीसीमा हुन्छन् । त्यतिबेलासम्म क्लाउडियोको फिलोसोफी यहाँ हुन्छ । उनलाई निकालेको दिन सम्झिनु, मेरो पनि फिलोशोफी सधैंका लागि अस्तायो ।”

क्लाउडियोको यही भनाइले पनि होला घिमिरे रेडियो एचबीसीमा जस्तोसुकै सङ्कट आइलाग्दा पनि सँगै भए । २०६४ मा रेडियो सधैंका लागि बन्द भएको दिनसम्म उनी त्यहाँ कर्मचारीका रूपमा कार्यरत थिए । त्यसपछि उनी केही समय खाली भए । त्यसपछि उनलाई अन्य रेडियोहरूबाट प्रस्ताव आउन थाल्यो । केही महिना खाली बसे पनि पछि उनी एन्टेना फाउन्डेसन नेपालमा कामको प्रस्ताव आयो । त्यसपछि उनी त्यहाँ वरिष्ठ अधिकृत स्तरमा काम गर्न थाले । त्यहाँ एक वर्षसम्म काम गरे ।
“घरायसी परिबन्धले गर्दा पनि मलाई समय चाहिएको थियो,” घिमिरे सम्झिन्छन् । वि.स २०६५ मा उनी उज्यालो रेडियो नेटवर्कमा आबद्ध भए । र, त्यहींबाट श्रुति संवेग र बुलबुल प्रसारण हुन थाले । “रेडियो एचबीसीमा जसरी श्रुति संवेग र बुलबुल प्रसारण हुन्थ्यो, त्यही शैलीमा उज्यालोमा प्रसारण हुन थाल्यो । तर, कार्यक्रमको सुरुवात र अन्यमा महिलाको आवाज राखेर केही फरक बनाइयो,” घिमिरे भन्छन् । तर, सुरुवातमा उनी पार्ट टाइमका रूपमा काम गर्थे । यो क्रम २०७१ सम्म चलिरह्यो । घिमिरेले चलाउने कार्यक्रमको माग बढ्दै गएपछि भदौ २०७१ मा उनी त्यहाँको प्रबन्धक भए र काम गर्न थाले । र, मंसिर २०८० सम्म रेडियो उज्यालोमा सक्रिय भए । त्यतिबेलासम्म पनि घिमिरेले युट्युब यात्राबारे विचार गरिसकेका थिएनन् ।
फोटो बाहिर ल्याउनै नचाहने अच्युत
सुरुवाती दिनहरूमा जब फेसबुकको पहुँचले समाजलाई त्यति गाँजिसकेको थिएन, प्रविधि र सामाजिक सञ्जालका नयाँ आयाममा आफूलाई सधैं अद्यतन राख्ने ध्येयका साथ घिमिरे यसको आरम्भिक लहरसँगै जोडिए । विश्वव्यापी प्रयोगकर्ताले यसलाई अपनाउन थालेकै बेला उनी पनि यसको हिस्सा बने । त्यही डिजिटल संसारको सञ्जालमा एक जना समर्थक उनीसँग जोडिन आइपुगे । सामान्य चिनारीबाट सुरु भएको सम्बन्धले विस्तारै आत्मीयताको स्वरूप लियो । संवादको सिलसिला लम्बिए पनि उनीहरूबीच कहिल्यै तस्बिरको आदानप्रदान भएको थिएन ।
घिमिरेको मनमा कौतूहलता जाग्यो– कस्ता होलान् ती व्यक्ति, जसले आफूसँग यसरी मनैदेखि सम्बन्ध गाँसेका छन् ? उनले सोधिहाले, “एउटा फोटो पठाउनुहोस् न ।” प्रत्युत्तरमा आएको जवाफले उनलाई स्तब्ध पार्यो: “तपाईंसँग मेरो सम्बन्ध त मस्तिष्कको धरातलमा बनेको हो, तस्बिरको के काम !” त्यो जवाफले घिमिरेको सोचलाई नयाँ दिशा दियो । उनको अन्तर्मनले भन्यो, “च्याटमा कुरा गर्दा त दोस्तीमा मस्तिष्कको कुरा आयो भने म त रेडियोमा बोल्ने मान्छे । म मेरा श्रोतासँग आवाजको माध्यमबाट दोस्ती गरिरहेको छु ।”

ती व्यक्तिको जवाफले घिमिरेलाई आफैंभित्र एक नयाँ पहिचानको बोध गरायो । उनलाई लाग्यो, जसले आवाजबाटै यति गहिरो सम्बन्ध स्थापित गर्न सक्छ, तस्बिर देखाउनुको के औचित्य । यही विचारले उत्प्रेरित भएर उनले आफ्ना सामाजिक सञ्जालका सबै माध्यमबाट आफ्ना तस्बिरहरू लुकाउँदै गए । “जति आफ्नो दृश्य पहिचान लुकाउँदै गएँ, आवाजलाई प्रेम गर्ने श्रोताहरूको सङ्ख्या झन् बढ्दै गयो,” उनी विगतलाई सम्झँदै भन्छन्, “आवाजको खोजी गर्नेहरूका लागि आखिर आवाज नै सबैभन्दा महत्त्वपूर्ण कुरा रहेछ ।” त्यो आत्मबोधले उनलाई रेडियोका लागि नै जन्मिएको महसुस गरायो । अनि तस्बिर लुकाउने क्रम झन् दृढ भयो ।
जब उनको तस्बिर पाउनु दुर्लभ हुन थाल्यो, धेरैको मानसपटलमा उनको खोजी सुरु भयो । यो लुकामारीको खेल उनलाई रमाइलो लाग्दै थियो । तर, समयले उनलाई व्यावसायिकताको बाटोतिर डोर्यायो । आफ्ना केही मन मिल्ने साथीहरूसँगको सहकार्यमा उनले प्रकाशन गृह सञ्चालनमा ल्याउने योजना बनाए । त्यसको नाम के राख्ने भन्ने सवालमा सबै साथीहरूले घिमिरेकै उपनाम ‘बुलबुल’ जोडेर पब्लिकेसनको नाम राख्न सुझाए । र, त्यही नाम राखियो ।

सञ्चार गृहको नाम नै आफ्नो उपनामसँग जोडिएपछि घिमिरे विभिन्न कार्यक्रममा भौतिक रूपमै उपस्थित हुनुपर्ने भयो । प्रकाशकको जिम्मेवारीको काँधमा लेखकका सपना बोक्दै उनी मञ्चहरूमा देखिन थाले । सुरुवाती दिनमा केहीलाई फोटो नखिच्न घिमिरेले अनुरोध पनि गरे । तर, कतिलाई रोकिसक्नु ? त्यसपछि उनका फोटो र भिडिओ बाहिर आउन थाले । “करिब ७-८ वर्ष भयो मेरो फोटो बाहिर आउन थालेको । रोक्नुको खास कारण पनि केही थिएन, ल्याउनुको खास कारण पनि केही छैन,” उनी थप्छन् ।

शुभचिन्तकको सङ्गालो फेसबुक पेज नै गुम्यो !
समयसँगै घिमिरेको आवाजका पारखीहरूले उनलाई फेसबुकमा खोज्दै जान थाले । यसरी उनको फेसबुक पेजको लोकप्रियता पनि चुलिँदै गयो । पेज सञ्चालनमा ल्याएको केही वर्षमै फलोअरको सङ्ख्या हजारौं बढ्यो, झन्डै डेढ लाखको आँकडा छोयो । अन्य डिजिटल माध्यमभन्दा उनले फेसबुकलाई नै बढी प्राथमिकता दिए । त्यसैमा आफ्ना समर्थक र प्रशंसकलाई मन पर्ने कन्टेन्ट राख्न थाले ।
तर, प्रविधिको विकाससँगै फेसबुकको नियममा पनि परिवर्तन आयो । पहिले फेसबुक पेजलाई बिजनेस अकाउन्टमा जोड्ने सुविधा थिएन । सन् २०१७ तिर फेसबुकले बिजनेस अकाउन्टको नयाँ अवधारणा ल्यायो । त्यसपछि, २०२३/२४ तिर फेसबुकले आफ्नो नीतिमा परिवर्तन गर्दै बिजनेस अकाउन्टमा जोडिएका पेजहरूलाई मात्र निरन्तरता दिने र अन्य पेजहरूलाई हटाउने अवधारणा सुरु गर्यो ।
दुर्भाग्यवश घिमिरेको लाखौं फलोअर भएको त्यो लोकप्रिय फेसबुक पेज यही नीतिको मारमा पर्यो । अचानक उनको पेज फेसबुकबाट हरायो । मेटा (फेसबुकको मातृ कम्पनी) ले पेज फिर्ता गराइदिने प्रतिबद्धता जनाए पनि, त्यो पेज कहिल्यै फिर्ता भएन र सधैंका लागि फेसबुकको डिजिटल संसारबाट विलीन भयो । लाखौं स्रोता र पाठकहरू जोडिएको त्यो पेज यसरी एकाएक टुट्यो, जसले घिमिरे र उनका फलोअर दुवैलाई निराश बनायो ।
पेज गायब भएको सुरुवाती समयमा घिमिरे निकै चिन्तित थिए । त्यसले घिमिरेलाई त दुःखी बनाएको थियो नै साथै उनलाई चिनेर फलो गर्नेहरूलाई पनि दुःखी बनायो । पेज फिर्ता आउने आशा गुमेपछि उनले आफ्नो व्यक्तिगत अकाउन्टलाई नै प्रोफेस्नल अकाउन्ट बनाए । र, अहिले त्यसैलाई निरन्तरता दिंदै आएका छन् । “फेसबुक पेज गएर त्यस्तो चिन्तित पनि होइन । तर, त्यसमा सुरुवातदेखि जो जोडिनुभयो थियो, त्यसले बेग्लै आभास दिएको थियो । उहाँहरूले पठाएका सन्देश प्रिय थिए । आफूले राखेका सामग्री पनि त्यत्तिकै प्रिय थिए,” उनी सम्झिन्छन् । उहाँहरूले पठाएका हजारौं मेसेज थिए । प्रेम दर्शाएका शब्दहरू थिए । ती सबै हराउँदा चाहिं दुःखी भएँ,” उनी भन्छन्, “पेज सञ्चालनमै भएको भए अहिले युट्युब च्यानल सब्स्क्राइबरको मामलामा जहाँ छ त्योभन्दा धेरै अगाडि पुगिसक्थ्यो ।”
यो एउटा घटनाले पनि घिमिरेलाई प्रविधिमा सधैं अग्रसर हुनुपर्छ भनेर सचेत बनाएको उनी ठान्छन् । पछि उनले आफ्नै नामको नयाँ पेज सञ्चालनमा ल्याउने प्रयास गरे । तर, फेसबुकले नक्कली भन्दै पेज नै बनाउन दिएन ।
नयाँ गन्तव्य ‘युट्युब’
रेडियो उज्यालोबाट आफूलाई अलग्याएपछि घिमिरेको मनमा आगामी बाटोबारे स्पष्टता थिएन । पाइला कहाँ मोड्ने, भविष्यको क्षितिज कतातिर फैलिन्छ, उनले कल्पना गरेका थिएनन् । यट्युबको संसारले उनलाई आकर्षित गरेको थियो, तर नेपाली समाजमा ‘युट्युबे’ भनेर होच्याउने प्रवृत्तिले मनमा केही सङ्कोच पैदा गरेको थियो ।
कम लगानीमा आफ्नो प्रिय कामलाई निरन्तरता दिने चुनौती घिमिरेको सामुन्ने खडा थियो । श्रोताको माग र वाचनप्रतिको उनको अथाह प्रेमले गर्दा युट्युब नै सही बाटो हो भन्ने सङ्कल्प उनले मनमनै बुने ।

त्यसपछि, नयाँ रङ्गमञ्चमा उनको सुनौलो यात्रा सुरु भयो । उनले स्टुडियो भाडामा लिए । र, त्यहीँ उनको आवाजले नयाँ जीवन पायो, रेकर्डिङ सुरु भयो । भिडिओ निर्माणको कामले पनि त्यहीँबाट गति लियो । रेडियो उज्यालोको बाटो छोडेर उनले युट्युबको उज्यालोमा आफ्नो नयाँ अध्यायको सुरुवात गरे, जहाँ उनका शब्दहरू र वाचनकलाले नयाँ रूप र रङ्ग पाउन थाले । “रेडियो जति कमाउन सकिएको छैन । तर, यो सुरुवाती समय हो । मैले कल्पना गरेको भन्दा पनि तीव्र रफ्तारतमा सब्स्क्राइबर र भ्युअर्सको सङ्ख्या बढिरहेको छ,” उनी अगाडि भन्छन्, “अझै पनि युट्युबका श्रोतालाई कार्यक्रम कहिले आउँछ भन्ने कौतूहलता हुन्छ । युट्युबको यात्रा पनि रोमाञ्चक हुँदैछ ।”
हुन त घिमिरे इन्टरनेटमा आफ्ना सामाग्री राख्न हुन्न भन्ने मान्यतामा कहिल्यै थिएनन् । ०६७ सालतिर अनिल घिमिरेले अच्युत घिमिरेले वाचन गरेका सामग्री इन्टरनेटमा राखिदिने प्रस्ताव ल्याए । अच्युतले उक्त प्रस्ताव स्वीकारे । र, अनिलले अच्युतका सामग्री ब्लग्सपोस्टमा राख्न थाले । “इन्टरनेटको पुस्तामाझ मलाई लोकप्रिय बनाउन त्यो ब्लगले पनि राम्रो भूमिका खेल्यो,” उनी भन्छन्, “पछि त म उहाँलाई सीडी नै दिएर इन्टरनेटमा राख्दिनुस् भन्थे ।”
तर, इन्टरनेटको व्यापक प्रयोग बढेसँगै नयाँ पुस्ताले घिमिरेले रेडियोमा वाचन गरेका अडिओ डाउनलोड गरेर युट्युबमा राखिदिन थाले । युट्युबमा राख्नलाई पनि घिमिरेकै नाम, उनका कार्यक्रमका नाम राखे । यसले गर्दा धेरै स्रोतालाई ती च्यानल उनैले सञ्चालन गर्छन् भन्ने लाग्यो । घिमिरेले यी देखे पनि बेवास्ता गरिरहे । तर, युट्युबको यात्रा सुरु गरिसकेपछि भने उनलाई गाह्रो भयो । घिमिरेले आफ्नै च्यानलमा राखेका कार्यक्रममा कसले कपिराइट हान्छ भन्ने चिन्तामा पिरोलिनुपर्यो । त्यसैले उनले सबैलाई अनुरोध गरेर आफ्नो युट्युब च्यानलबाट डाउनलोड गरी राखिएका भिडिओ हटाइदिन अनुरोध गरे । केहीले उनको अनुरोध माने पनि केहीले अझै पनि बेवास्ता गरेको घिमिरेको गुनासो छ । अहिले युट्युबले घिमिरेकै आवाजका सामग्रीलाई उनको कपिराइट मान्यता दिने भएकाले रिपोर्ट गर्ने योजनामा उनी छन् । त्यसैले रिपोर्ट गर्नु अगावै ती च्यानलबाट उनका अडिओबुक हटाउन घिमिरे बारम्बार अनुरोध गरिरहेका हुन्छन् ।
कसरी छनोट गर्छन् घिमिरे अडिओबुकका लागि पुस्ता ?
घिमिरेका अनुसार रेडियो एचबीसीमा कार्यक्रम सुरु गरिसकेपछि उनले आफूसँग भएका सबै पुस्तक पढे । कसैलाई सोध्ने वा अनुमति लिने भन्ने थिएन । पछि कार्यक्रम लोकप्रिय हुँदै जाँदा पढेको पुस्तकले पनि चर्चा पाउने क्रम बढिरह्यो । यसरी २०६० सालसम्म उनले पुस्तक वाचन गरे । सुरुवाततिर वाचन गरेको ‘अन्त्यहीन अन्त्य’ लोकप्रिय भएपछि बजारमा पुस्तककै अभाव भयो । विदेशमा रहेकी लेखक भट्टराईलाई यसबारे थाहा भयो । त्यसपछि उनले वाचन गर्ने व्यक्ति अच्युत घिमिरे खोज्न थालिन् । अच्युत घिमिरेलाई भेटेपछि भट्टराई निकै खुसी भइन् र वाचन गरेकोमा धन्यवाद प्रकट गरिन् ।
‘अन्त्यहीन अन्त्य’ को घटनापछि घिमिरेको मनमा एउटा नयाँ सोच पलायो- लेखकलाई जानकारी गराएर उपन्यास वाचन गर्दा त्यसको प्रभाव अझ राम्रो हुने रहेछ । यही विचारका साथ उनले लेखकलाई जानकारी दिएर उपन्यास वाचन गर्न थाले । यो क्रम रेडियो उज्यालोमा पनि निरन्तर चलिरह्यो, जहाँ उनको आवाजले थुप्रै साहित्यिक कृतिहरूलाई श्रोताको कानसम्म पुर्यायो ।
तर, ०६५ सालमा एउटा अप्रिय घटना भयो । एकजना लेखकले आफ्नो पुस्तक वाचन गर्नका लागि अनुमति दिएका थिए । तर, दुई भाग वाचन गरिसकेपछि अचानक उक्त कार्यक्रम रोक्नुपर्ने दबाब आयो । कुनै उपन्यास वाचन सुरु गर्नुअघि त्यसको बारेमा व्यापक चर्चा गरिएको हुन्छ, जसले गर्दा श्रोताहरू त्यो सुन्नका लागि आतुर हुन्छन् । यस्तो अवस्थामा दुई भाग मात्र पढेर अचानक कार्यक्रम रोकिँदा रेडियो र घिमिरे दुवैको छविमाथि प्रश्न उठ्यो ।
यस घटनाबाट पाठ सिक्दै घिमिरेले अब लेखकबाट पुस्तकको पहिलो पृष्ठमा ‘पढ्ने अनुमति’ सहितको हस्ताक्षर लिएर मात्र वाचन गर्न थाले । यो कदमले उनको कामलाई अझ सुरक्षित र आधिकारिक बनायो । र, भविष्यमा यस्ता अप्रिय घटनाहरू दोहोरिनबाट बचायो ।
यसरी पुस्तकको पहिलो पृष्ठमा लिखित अनुमति दिने क्रम रेडियो उज्यालोमा हुनेबेलासम्म निरन्तर चल्यो । तर, युट्युब यात्रा सुरु भएपछि यसमा झनै व्यावसायिक बनाउनुपर्ने भयो । “युट्युबका लागि त कपिराइट सबैभन्दा ठुलो मुद्दा हो । पुस्तकको पहिलो पृष्ठमा लेखकले लेखिदिएको अनुमतिले काम गर्दैन । त्यसैले दुई पक्षीय सम्झौता गरेर मात्र वाचन गर्ने गरेको छु,” उनी सुनाउँछन् ।
पुस्तकको संसारमा एउटा आममान्यता के छ भने श्रव्यपुस्तक अर्थात् अडिओबुकको आगमनले पाठकलाई पढ्नबाट विचलित गर्छ र पुस्तकको बिक्रीमा कमी ल्याउँछ । तर, घिमिरे यो विचारसँग सहमत छैनन् । उनी भन्छन्, “अडिओबुकले पुस्तक पढ्न प्रेरित गर्छ। पठन संस्कृतिको विकास गर्छ । र, समग्र साहित्य क्षेत्रलाई नै योगदान दिन्छ ।” उनको भनाइमा अडिओबुकले पढ्ने बानी नभएका वा समय अभाव भएका व्यक्तिहरूलाई पनि साहित्यसँग जोड्ने काम गर्छ ।
धेरै लेखकहरूलाई आफ्नो पुस्तकको ‘एक्सक्लुसिभिटी’ गुम्ने डरले पनि अडिओबुक बनाउन हिचकिचाउने घिमिरे सुनाउँछन् । तर, अडिओबुकले एउटा अर्को महत्त्वपूर्ण पक्षलाई पनि बढावा दिन्छ भन्ने उनको विश्वास छ । उनी भन्छन्, “सुनेको पुस्तक आफैंले पढ्ने इच्छाशक्ति धेरैमा जाग्छ । अडिओबुकले पुस्तकको कथा र पात्रहरूसँग परिचय गराउँछ, जसले पाठकलाई त्यो पुस्तकलाई आफ्नो हातमा लिएर पढ्ने चाहना जगाउँछ ।” यसरी अडिओबुकले पुस्तकको बिक्री घटाउनुको सट्टा बढाउन मद्दत गर्न सक्छ र साहित्यलाई फराकिलो पाठक वर्गसम्म पुर्याउन सेतुको काम गर्न सक्छ भन्ने घिमिरेको तर्क छ । नगेन्द्र न्यौपाने, कृष्ण धरावासी लगायतका साहित्यकारले आफ्नो पुस्तक घिमिरेले पढ्दा धेरै पाठक र स्रोतासम्म पुग्छ भन्ने ठान्छन् । र, हरेक पुस्तक आउँदा पढ्नका लागि अनुरोध गर्छन् ।
उनी आफै पनि प्रकाशक हुन् । र, अडिओबुक बनाउँदा पुस्तक बुलबुल पब्लिकेसनका थुप्रै पुस्तक बिक्री भएको प्रमाण उनीसँग छ ।
ग्लोबल अडियन्ससम्म पुग्न हिन्दी वाचनको यात्रा !
नेपाली श्रोतामाझ मात्र सीमित रहेका घिमिरे आफूलाई विश्वव्यापी रूपमै वाचकका रूपमा चिनाउन चाहन्छन् । युट्युब लगायतका माध्यमबाट सहजै विश्वभर पुग्न सकिने भएकाले पनि उनलाई यो यात्रा सम्भव छ भन्ने लाग्छ । त्यसैका लागि उनले झन्डै आठ महिनाअघिदेखि ‘प्रीत की रीत’ युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । “नेपालबाहिर अहिले भारतका श्रोतासम्म पुग्न नयाँ च्यानल सञ्चालनमा ल्याएको छु,” उनी अगाडि थप्छन्, “यसबाट विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिन्छ कि भन्ने लागेको छ ।”
वाचन सँगसँगै उनले युट्युब च्यानललाई व्यावसायिक रूप दिएका छन् । चर्चित पुस्तक वाचन गर्दा लेखकसँग रोयल्टी सम्झौता गर्छन् । यता नयाँ लेखकले भने शुल्क तिरेरै आफ्नो पुस्तक वाचन गराउँछन् । घिमिरे पनि पुस्तकको वजन, त्यसले पाठकमा पार्ने प्रभाव आदिलाई विश्लेषण गरेर पुस्तक वाचन गर्ने वा नगर्ने निर्णय गर्छन् । र, वाचन गर्ने भए त्यही अनुसार दर निर्धारण गर्छन् । अनुभव र चर्चालाई समय अनुसार व्यापारिक मोडेलमा ढाल्नुपर्ने उनको भोगाइ छ । सरकारी जागिरमा अवकाशपछि पेन्सन आउँछ, तर यहाँ त्यो सुविधा नहुने हुँदा उनले वाचनलाई नै व्यापार बनाएका छन् । त्यसैले वाचनका लागि उनले शुल्क निर्धारण गरेका छन् । आफ्नो पुस्तक वाचन गराउन चाहनेहरूले सामाजिक सञ्जाल वा ईमेलबाट सम्पर्क गर्नसक्ने उनी बताउँछन् ।
यी हुन् घिमिरेका अन्य युट्युब च्यानल तथा अनलाइन प्लेटफर्म:
३) श्रुति संवेग
४) फेसबुक
५) वेबसाइट
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १०:२९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।
आईपीओका लागि १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारत सरकारले लिएको द्रुत निर्णयपछि पाकिस्तानले क्षेप्यास्त्र परीक्षण गर्ने भएको छ। पाकिस्तानले यस सम्बन्धमा एक सूचना जारी गरेको छ।
पाकिस्तानले अरब सागर क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गर्ने निर्णय गरेको छ। यो क्षेप्यास्त्र सतहदेखि सतहमा प्रहार गर्ने क्षेप्यास्त्र हुनेछ र परीक्षण २४-२५ अप्रिलमा कराँची तटबाट गरिनेछ।
भारतका अनुसन्धान एजेन्सीहरूले यस विकासक्रममाथि नजर राखिरहेका छन्। यस सम्बन्धमा गृह मन्त्रालयमा गृह सचिवसँग रअ र आईबी प्रमुखहरूको उच्चस्तरीय बैठक भइरहेको छ।
पहलगाम आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) ले बुधबार सिन्धु जल सन्धिलाई तत्काल प्रभावबाट निलम्बन गरेको थियो।
भारतले यति ठूलो र कडा कारबाही गरेको यो पहिलो पटक हो। भारत र पाकिस्तानबीच तीन ठूला युद्ध भइसकेका छन् तर यो सन्धि पहिले कहिल्यै निलम्बन गरिएको थिएन।
मन्त्रिपरिषद् समितिको बैठकमा गरिएका निर्णयहरूको सम्बन्धमा, विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै १९६० को सिन्धु जल सन्धि तत्काल प्रभावबाट निलम्बन गरिएको बताएको थियो। यो प्रतिबन्ध पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म कायम रहनेछ।
मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा हालसम्म २६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यो आक्रमण पहलगामको बैसरन उपत्यकामा गरिएको थियो जसमा आतंककारीहरूले छनौट गरेर मानिसहरूलाई निशाना बनाएका थिए।
सामाग्री श्रोत :
भारतले आक्रमणको धम्की दिँदै गर्दा पाकिस्तानले मिसाइल परीक्षण गर्दै
काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री आपूर्तिकर्ता चिनियाँ कम्पनी कन्टेम्पररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) ले नयाँ ब्याट्री सार्वजनिक गरेको छ । यो ब्याट्रीले पाँच मिनेट चार्जमै ५२० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
सोमबार कम्पनीले सार्वजनिक गरेको ‘शेन्शिङ सेकेन्ड जेनेरेसन’ नामक ब्याट्रीले यति थोरै समयको चार्जिङमै अपत्यारिलो रेन्ज दिने बताइएको छ । पेट्रोल गाडीमा इन्धन हाल्न लाग्ने समयभन्दा केही मात्र बढी समय लाग्ने यो ब्याट्रीलाई ‘सुपर फास्ट चार्जिङ’ प्रविधिमा नयाँ विश्व रेकर्ड भएको सीएटीएलको दाबी छ ।
सीएटीएलको यो प्रविधि प्रतिस्पर्धी कम्पनीहरूभन्दा अगाडि रहेको बताइएको छ । केही हप्ताअघि चिनियाँ कम्पनी बीवाईडीले पाँच मिनेटमा ४०० किलोमिटर चार्ज हुने ब्याट्री सार्वजनिक गरेको थियो । तर, त्यसमा प्रविधिगत चुनौती र लागतसम्बन्धी शंका व्यक्त भएका थिए ।
सीएटीएलको यो नयाँ ब्याट्रीले अमेरिकी कम्पनी टेस्ला, जर्मन कम्पनी मर्सिडिज जस्ता प्रतिस्पर्धीमध्ये पनि अगाडि रहेको देखिएको छ । टेस्लाको सुपरचार्जरले १५ मिनेटमा २७० किलोमिटर चार्ज गर्छ भने मर्सिडिजको ब्याट्रीले १० मिनेटमा ३२५ किलोमिटर चार्ज गर्न सक्छ ।
शेन्शिङ ब्याट्रीले अधिकतम ८०० किलोमिटरको रेन्ज दिने र १.३ मेगावाटसम्मको पिक चार्जिङ पावर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो ब्याट्रीले -१० डिग्री सेल्सियसको चिसो वातावरणमा पनि उच्च स्तरको चार्जिङ प्रदर्शन गर्न सक्छ ।
कम्पनीले ‘Naxtra’ सिरिजअन्तर्गत नयाँ सोडियम-आयन ब्याट्री पनि सार्वजनिक गरेको छ । यो प्रविधि प्रयोग गरिने विश्वकै पहिलो व्यावसायिक उत्पादन हुने सोडियम-आयन ब्याट्री भएको कम्पनीको दाबी छ । सोडियम ब्याट्रीले लिथियममा निर्भरता कम गर्ने, कम मर्मत खर्च लाग्ने र -४० देखि +७० डिग्री सेल्सियससम्मको तापक्रममा काम गर्न सक्ने जनाइएको छ ।
हेभी सवारीका लागि तयार पारिएको ‘Naxtra’ ब्याट्री आठ वर्षको सेवा अवधि, कम लागत र बढी कार्यक्षमता दिने उल्लेख गरिएको छ ।
चिनियाँ स्टक बजारमा सीएटीएलको सेयर मूल्यमा करिब १ प्रतिशतले वृद्धि देखिएको छ । यसै वर्ष कम्पनीले हङकङमा सूचीकरणका लागि निवेदन दिएको छ । जसबाट कम्तीमा पाँच अर्ब डलर जुटाउने अपेक्षा गरिएको छ । यदि सफल भएमा यो सन् २०२१ पछि हङकङको सबैभन्दा ठुलो आईपीओ हुने अनुमान छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १०:४०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ । शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा सेवा सुरु गरिएको हो ।
सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यो सेवा अब नियमित हुने पनि बताइएको छ ।
विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको बताएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन्।
प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे। “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,” उनले भने।
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए।
काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो।
‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र यसले संगठनलाई थप मजबुत बनाएको जानकारी दिए।
प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए। साथै, प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए।
सामाग्री श्रोत :
शिक्षकका माग सम्बोधन गर्न जिम्मेवार भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन









