

ललितपुर –ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेको हो । “महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ । उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ”, पत्रमा भनिएको छ ।
विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २७ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । रौतहटको उर्वर भूमिमा भर्खरै जुँगाको रेखी बस्दै गरेका १४ वर्षे कृष्णप्रसाद यादव आफ्ना उमेर समूहका किशोर-किशोरीमाझ परिचित थिए । टिकटकको भर्चुअल संसारमा उनको आफ्नै सानो साम्राज्य थियो । भिडिओ मन पराएर उनलाई पछ्याउनेको सङ्ख्या दिनानुदिन बढ्दै १० हजार नाघेको थियो ।
क्यामेराको लेन्सबाट सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर आफूलाई फ्रेममा कैद गर्ने उनको सोख अनौठो थियो । त्यसैले पनि उनी नयाँ र आकर्षक स्थानको खोजीमा निरन्तर भौतारिरहन्थे ।
टिकटकका सीमित समर्थकको वाहीवाहीले पनि उनलाई त्यस्ता भिडिओ बनाउन प्रेरित गरेको थियो । तर, उनको यही उक्साहट र साथीप्रतिको विश्वास नै जीवनको अन्तिम यात्रा बन्न पुग्यो । गाउँकै केही साथीले उनको यही निर्दोष सोखलाई हतियार बनाएर षड्यन्त्रको जाल बुने । टिकटक भिडिओका लागि उपयुक्त रौतहटमा रहेको चाँदीखोलाको मनमोहक दृश्य देखाएर कृष्णका साथीहरूले भिडिओ शुट गर्न बोलाए ।

आफ्नै गाउँका साथीहरू । त्यसमाथि मनपर्ने काम टिकटक भिडिओ बनाउन सघाउने प्रस्ताव । कृष्णको कलिलो मनले साथीहरूको त्यो निमन्त्रणाभित्र लुकेको कालको छायाँ देख्न सकेन । उत्साह र टिकटक भिडिओको हुटहुटी बोकेर घरबाट शनिबार, ६ वैशाख बेलुका ४ बजे बाइकमा निस्किएका ती किशोर फेरि कहिल्यै आफ्नो आँगन टेक्न फर्किएनन् ।
चाँदी खोलाको पानी त निरन्तर बगिरह्यो तर त्यहीको मनमोहक दृश्यलाई आफ्नो पृष्ठभूमिमा सजाएर टिकटकमा देखाउने सपना बुनेका कृष्णको जीवनयात्रा त्यही किनारमा, साथीहरूले नै खनेको धोकाको खाडलमा सदाका लागि अडियो । उनको अन्तिम टिकटक कहिल्यै रेकर्ड भएन, बरु उनको जीवनकै पाना सदाका लागि बन्द भयो ।
पारिवारिक कलहसँग जोडिएको पृष्ठभूमि
रौतहट जिल्ला वृन्दावन नगरपालिका वडा नम्बर ७ घर भएका १४ वर्षीय कृष्णप्रसाद यादवका बुवा तीन वर्षअघि अपहरणमा परेका थिए । गाउँमै इट्टाभट्टा सञ्चालन गरिरहेका यादवका बुवालाई अपहरण गरेको आरोप त्यही वडाका २५ वर्षीय नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीलाई लागेको थियो । अपहरणको मुद्दा लागेपछि ती धर्मेन्द्र सहनी फरार थिए । र, अहिलेसम्म पनि अत्तोपत्तो छैन ।
करिब छ महिनाअघि तिनै धर्मेन्द्र सहनीकी छोरी कृष्ण यादवका बुवाले सञ्चालन गरेको इट्टाभट्टामा रहेको खाल्डोको पानीमा डुबेर बितेकी थिइन् । खाल्डोमा जमेको पानीमा डुबेको भनिए पनि सहनी परिवारलाई भने कृष्णका बुवाले पहिले अपहरण गरेको रिस साध्न मारेको आशङ्का थियो । त्यही आशङ्का बोकेका नागेन्द्र सहनीले त्यही वडाका साधु भनिने उही नाम अर्थात २२ वर्षीय नागेन्द्र सहनीसँग मिलेर कृष्ण यादवको हत्या गर्ने योजना बनाए ।
साधुसँग कृष्ण खुबै मिल्थे । त्यसैले पनि नागेन्द्रका लागि साधु उपयुक्त पात्र थिए । उनै साधुले ६ वैशाख २०८२ मा कृष्णलाई फोन गरेर चाँदी खोलामा टिकटक भिडिओ बनाउनका लागि बोलाए । कृष्ण घरमा भएको बीआर ०५ डब्लु ०१३७ नम्बर प्लेटको भारतीय मोटरसाइकल लिएर निस्किए ।
एकाएक सम्पर्कविहीन भएका कृष्ण खोज्न भौतारियो परिवार
घरको दैलोबाट कसैलाई सुइँकोसम्म नदिई अन्जानमै पाइला चालेका कृष्ण समयको गतिसँगै हराए । एक दिन बित्यो, रात पर्यो, अर्को सूर्य उदायो । तर कृष्णको हँसिलो मुहार घरमा देखिएन । लगातार दुई दिनसम्म उनको अनुपस्थितिले घरको वातावरण भारी बनायो । परिवारको मनमा चिन्ताको कालो बादल मडारिन थाल्यो । कृष्ण त्यतिका दिन सम्पर्कमै नआएपछि आशाका त्यान्द्रा चुँडिदै गए र त्यले विचलित भएको उनको परिवारले ९ वैशाखमा छोरा हराएको व्यहोरासहित गरुडास्थित इलाका प्रहरी कार्यालयमा गुहार माग्यो ।
यता कृष्णलाई खोज्न प्रहरीको विशेष टोली खटियो । खोजको त्यो सिलसिला थप दुई दिन लम्बियो । अन्ततः ११ गते त्यही नगरपालिका भएर बग्ने चाँदी खोलाको किनारमा प्रहरीको पाइला रोकियो । त्यहाँ खोलाको चिसो बगरमा एउटा शव शङ्कास्पद अवस्थामा भेटियो ।
त्यो निर्जीव शरीर अरू कसैको नभए टिकटक बनाउन निस्किएका कृष्णप्रसाद यादवको थियो । जुन खोलाको सौन्दर्य क्यामेरामा कैद गर्ने अभिलाषाले उनी घरबाट निस्किएका थिए त्यही खोलाको काख उनको अन्तिम शय्या बन्न पुग्यो ।
खोलाको किनारमा चिसो बालुवामाथि भेटिएको त्यो निर्जीव शरीर हराइरहेका कृष्णकै भएको पुष्टि हुनासाथ अनुसन्धानको सुई एकाएक जटिल र अँध्यारो मोडमा पुग्यो । हराएका कृष्ण खोज्न हिँडेको प्रहरी टोलीले अब एउटा सम्भावित अपराधको गाँठो फुकाउनु पर्ने भयो ।
त्यसपछि प्रहरीले उक्त निर्जीव शरीरको सूक्ष्म विश्लेषण सुरु गर्यो । प्रहरीले हरेक कोणबाट त्यस शवको जाँचपड्ताल गर्दा कृष्णको छाती र पेटमा अनौठा छिद्र देखिए । ती छिद्र सामान्य चोटका निसान थिएनन् । ती प्वाल कुनै धारिलो वस्तुले घोचेजस्तो नभई कुनै अज्ञात शक्तिले छेडेजस्ता देखिन्थे । प्रहरीले ती छिद्र गोलीका निसान वा धारिलो हतियारले प्रहार भएको हुन सक्ने अड्कल काट्यो ।
घाँटी छिनिन लागेको, पेटबाट भित्री अङ्ग बाहिर निस्किएको र टाउको सडेको अवस्थामा शव भेटिनुले शव आफैमा अनेकौं प्रश्नले घेरिएको थियो । जुन अवस्थामा कृष्णको शव भेटिएको थियो, त्यसले घटनालाई रहस्यमय बनाएकै थियो । त्यसमाथि गोली लागेको जस्तो देखिने ती भयावह सङ्केतले कृष्णको मृत्यु कुनै दुर्घटना नभई एक निर्मम र सुनियोजित हत्या हुन सक्ने प्रहरीले अनुमान लगायो ।
नजिकका साथीहरूले भिडिओ खिच्ने नाममा बोलाएर हत्या गरेको निष्कर्ष
शव भेटिएपछि प्रहरीले गाउँका शङ्कास्पद व्यक्तिमाथि नजर राख्यो । यता कृष्णको मोबाइल र बाइक पनि गायब थियो । उनको नम्बर लिएर प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) र अन्य प्राविधिक पक्षको सूक्ष्म विश्लेषण सुरु गर्यो ।
यसबाट कृष्णले अन्तिम पटक साधुसँग कुराकानी गरेको फेला पर्यो । त्यसपछि प्रहरीले साधुको खोजी गर्यो । र, उनलाई प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ आसपासमा साधुलाई फेला पार्यो । उनी एक्लै थिएनन् । उनीसँगै थिए २५ वर्षीय नागेन्द्र पनि, जो आफ्ना बहिनी-ज्वाइँको घरको लुकेर बसेका थिए ।
१२ वैशाखमा प्रहरी हिरासतको पर्खालभित्र साधु र नागेन्द्रमाथि अनुसन्धानको दबाब बढ्दै गयो । दुई दिनको निरन्तर केरकार र मनोवैज्ञानिक दबाबपछि अन्ततः सत्यको पर्दा च्यातिन थाल्यो । उनीहरू खुलेपछि कृष्ण यादवको अन्तिम यात्राको त्यो भयावह कथा बाहिर आयो ।
प्रहरीसमक्ष उनीहरूले ओकलेको विवरण अनुसार यो सम्पूर्ण घटना एउटा सुनियोजित षड्यन्त्र थियो । नागेन्द्रले कृष्णको टिकटकप्रतिको गहिरो आशक्तिलाई नै हतियार बनाए । र, साधुलाई प्रयोग गरे । टिकटक बनाउने मिठो प्रलोभन दिएर बोलाएपछि कृष्ण आफ्नो बाइकमा सवार भई साथीले डाकेको ठाउँमा पुगे । त्यहाँ साधु एक्लै थिएनन् उनको साथमा थिए नागेन्द्र सहनी, जसको मनमा पहिलेदेखि नै कालो योजना बुनिएको थियो ।
कृष्ण आइपुग्नासाथ घटनाले नाटकीय मोड लियो । नागेन्द्रले कृष्णको हातबाट मोबाइल र बाइकको चाबी खोसे । क्षणभरमै बाइक स्टार्ट भयो मानौं त्यो कुनै विजयको घोषणा थियो । त्यसपछि निरीह कृष्णलाई साधुले बाइकको बिचमा राखे । एकातिर नागेन्द्र र अर्कोतिर आफू थिए । उनीहरूको गन्तव्य बन्यो त्यही चाँदी खोलाको एकान्त किनार, जहाँ सुन्दरताको पछाडि क्रूरता लुकेको थियो ।
किनारमा पुग्नासाथ साधुले कृष्णलाई निर्ममतापूर्वक धकेलेर भुइँमा पछारे । कृष्ण सम्हालिन नपाउँदै नागेन्द्रले आफ्नो लुकाएको कटुवा पेस्तोल झिके र त्यो कलिलो छाती अनि पेटमा निशाना लगाएर गोली प्रहार गरे । गोलीको आवाजसँगै कृष्णको जीवनको अन्तिम चीत्कार त्यही खोलाको सुसाहटमा बिलायो ।
आफ्नो कालो कर्तुतपछि दुवै जना त्यही बाइकमा चढेर घटनास्थलबाट भागे । कृष्णको रक्ताम्य शरीरलाई त्यहीं वेबारिस बनिरह्यो । घटनाको भोलिपल्ट अर्थात् ७ वैशाखमा उनीहरू कृष्णको रगत लतपतिएको त्यही बाइक लिएर नागेन्द्रका बहिनी-ज्वाइँको घर पुगे । अपराधको प्रमाण नष्ट गर्ने हतारोमा उनीहरूले गौर नगरपालिका-४ का विकास पटेललाई त्यो बाइक केवल पाँच हजार रुपैयाँमा बेचिदिए । र, त्यसलाई ‘व्यवस्थापन’ गर्ने जिम्मा पनि लगाए । प्रहरीका अनुसार प्रमाण मेटाउन उनीहरूले बाइकको नम्बरप्लेटलाई टुक्राटुक्रा पारेर बारीको माटोमुनि गाडेका थिए ।
विकास पटेलले पनि त्यो ‘जिम्मेवारी’ सोही नगरपालिका वडा नं. ८ बस्ने अनिल साहलाई सुम्पिए । अनिलले आफ्नो ग्यारेजमा लगेर उक्त मोटरसाइकललाई टुक्राटुक्रा पारेर छिन्नभिन्न बनाइदिए ।
तर, अपराध कहिल्यै लुक्दैन। अनुसन्धानकै क्रममा प्रहरीले नागेन्द्रको बहिनीको घरबाट त्यो कटुवा पेस्तोल पनि बरामद गर्यो । त्यही हतियार जसले १४ वर्षे किशोरको सपना र जीवन दुवै खोसेको थियो । यसरी टिकटकको चमकबाट सुरु भएको कथा चाँदी खोलाको किनारमा विभत्स हत्या र प्रमाण नष्ट गर्ने प्रयाससँगै अन्ततः कानुनको कठघरामा आइपुगेको हो ।
कृष्ण सधैंका लागि अस्ताएपछि अहिले उनका पुराना टिकटक भिडिओमा भावपूर्ण श्रद्धाञ्जलीका शब्दहरू वर्षिरहेका छन् ।
१४ वैशाखमा प्रहरीले पत्रकार सम्मेलन गर्दै आरोपित चारै जनालाई सार्वजनिक गरेको थियो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार उनीहरूमाथि रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जना बाहेक यसमा अर्का एक व्यक्तिको मुख्य भूमिका हुन सक्ने प्रहरीको आशङ्का छ । ती मुख्य भूमिकामा रहेका व्यक्तिलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।
नोटः यो घटनाको विवरण जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति, पत्रकार सम्मेलका क्रममा प्रहरी उपरीक्षक घिमिरेले दिएको जानकारी र उनलाई टेकपानाले सम्पर्क गरी माग गरेका विवरणको आधारमा तयार पारिएको हो । प्रहरीले मृतक यादव १४ वर्षको भनेको भए पनि उनले टिकटकको बायोमा आफ्नो उमेर १६ वर्ष राखेको पाइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १८:९
सामाग्री श्रोत :
टेक पाना

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ।
झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए। उनले भने, ‘क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ।’ सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उनको भनाइ छ।
नारायणी नदीमा बनेको झोलुङ्गे पुलबाट नदी र त्यस वरपरको मनोरम दृश्य हेर्न उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका छन्। पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा समेत सुस्ताको झोलुङ्गे पुल परेको छ। पर्यटकका लागि भन्दा पनि सुस्तावासीलाई सहजता प्रदान गर्न पुल निर्माण गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। गाउँपालिकाले पुलको हेरचाहका लागि नगरप्रहरी परिचालन गरेको उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाले पुल सञ्चालन तथा रेखदेख गर्न गत वर्ष ठेक्का आह्वान गरे पनि अघि बढ्न सकेन। ‘पन्ध्र महिनाका लागि रु ९ लाखमा ठेक्का आह्वान गरेका थियौँ। कोहीको पनि निवेदन नपरेपछि पुनः आह्वानको तयारी गरिरहेका छौ’, उनले भने। रु २३ करोडको लागतमा नारायणी नदीमाथि पुल निर्माण गरिएको हो। उक्त पुलको लम्बाइ एक हजार पाँच सय ७१ मिटर र चौडाइ एक मिटर ६० सेन्टिमिटर रहेको छ।
सामाग्री श्रोत :

काठमाडौँ –अमेरिकी सेनाले यमनको सादा प्रान्त (गभर्नोरेट) स्थित आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु गएको छ ।
यमनको नागरिक सुरक्षा संस्थाका अनुसार सादा शहरमा गरिएको यो रातभरि चलेको आक्रमणमा थप ४७ जना घाइते भएका छन् । आक्रमण भएको केन्द्रमा करिब १०० जना अफ्रिकी आप्रवासीहरू राखिएका थिए ।
अमेरिकी पक्षले अहिलेसम्म यो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, अमेरिकी सेनाको केन्द्रिय इकाई (सेन्ट्रल कमाण्ड)ले यसअघि जारी गरेको वक्तव्यमा १५ मार्चदेखि सुरु भएको “तीव्र र स्थायी अभियान” अन्तर्गत ८०० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको र सयौं हुथी लडाकू र नेताहरू मारिएको दाबी गरिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मार्च १५ देखि इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी आक्रमण अभियान तीव्र पारेको हो, जुन अभियान पूर्व राष्ट्रपति जो बाइडेनको पालामा सुरु गरिएको थियो ।
हुथीहरूद्वारा २०२३ अक्टोबरमा इजरायली माथि गरिएका हमलाको प्रतिशोधस्वरूप गाजामा इजरायली कारबाही सुरु भएपछि यमनबाट पनि अमेरिकी र ब्यापारिक जहाजहरू लक्षित हमला सुरु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चितवन- नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले चितवनमा वृहत रक्दान कार्यक्रमको आयोजना गरेको छ।
वैशाख १५ गते ११५ जनाले रक्तदान गर्ने लक्ष्य सहित आयोजित रक्दान कार्यक्रममा लक्ष्य अनुसार नै रक्दान भएको छ।
नेपाल रेडक्रस सोसाइटीको चितवन शाखाको परिसरमा रक्दान कार्यक्रम भएको थियो।
नयाँ वर्षको सुरुवातको समय रक्तदान जस्तो पूण्य काम गरेर गरौं भन्ने उद्देश्यका साथ रक्दान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले जानकारी दिइन्।
उनले रक्तदान कार्यक्रमलाई आफूले विशेष प्राथमिकता राखेको जानकारी दिँदै सहयोगी हातहरुलाई धन्यवाद पनि दिइन्।
नेपाल रेडक्रस सोसाइटीको चितवन शाखाका अध्यक्ष हरि पौडेलको प्रमुख आतिथ्यमा रक्दान कार्यक्रम भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने भएको छ । आइतबार सङ्घीय संसद्को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक २०८१ मा यस किसिमको व्यवस्था गरिएको हो ।
यसको अर्थ चलचित्र बोर्डको सफ्टवेयर तथा सर्भरमा अन्तर आबद्धता भएको विद्युतीय माध्यमबाट टिकेट जार्नुपर्ने र सो कारोबारको जानकारी रियल टाइममा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा पुग्नेछ ।
यस किसिमको सफ्टवेयर प्रणालीबाट बोर्डले रियल टाइम डेटा लिनुका साथै चलचित्र घरहरूले प्रत्येक चलचित्रका लागि छुट्टाछुट्टै कोड लिएर टिकेट बुकिङ वा बिक्री गर्नुपर्नेछ ।
यसका साथै चलचित्र घरहरूमा चलचित्र प्रदर्शनको लागि इनकोडिङ गर्ने व्यवस्था समेत मिलाउन सक्ने प्रावधान विधेयकमा समेटिएको छ । बक्स अफिस बिना चलचित्र प्रदर्शन गरेमा १० लाख रुपैयाँसम्म जरिबानाका साथै उपकरण जफत गरी चलचित्र घर नै बन्द गराउन सक्ने उल्लेख छ ।
यस्तो छ विधेयक
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १७:२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलपलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे।
पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो। यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ’, उनले भने।
मन्त्री पाण्डेले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशीलरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको उल्लेख गरे। उनले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेकयमा प्रबन्ध गरिने स्पष्ट पारे।
‘हिजोदेखि नै संशोधनको कार्य प्रारम्भ भएको र आजदेखि ७२ घण्टे अवधिमा थुप्रै संशोधनका प्रस्ताव आउनेछन्’, मन्त्री पाण्डेले भने, ‘मन्त्रालय वा सरकार कुनै किसिमको जडता नपालीकनै संशोधनहरूमाथि सार्थक संवाद गर्न तयार छ। विधेयकलाई समृद्ध बनाउने दिशामा दृढ संकल्पका साथ अगाडि बढौँ।’ उनले विधेयकमा सकारात्मक उपलब्धि प्राप्ति गर्ने दिशामा सबै सरोकारवालासँग पनि छलफल गरिने विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले दृढताका साथ काम गर्ने विश्वास व्यक्त गरे। उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे निष्पक्षताका साथ छानबिन भइरहेको र प्रारम्भिक प्रतिवेदन आइसकेको जानकाररी दिँदै अन्तिम प्रतिवेदन आएपछि प्रतिवेदनले औँल्याएका विषयलाई कुनै कसुर बाँकी नगरीकन जो कोहीलाई दण्डित गर्न दृढताका साथ लाग्ने विश्वास व्यक्त गरे।
सामाग्री श्रोत :
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो: पर्यटनमन्त्री पाण्डे
आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । अब डिजिटल प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्न सरकारबाट लाइसेन्स लिनुपर्ने भएको छ । आइतबार सङ्घीय संसद्को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक, २०८१ मा यस किसिमको व्यवस्था अघि सारिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता गराएको उक्त विधेयकको दफा १७ मा डिजिटल प्लेटफर्म मार्फत चलचित्र वा चलचित्र जन्य सामग्रीको प्रदर्शन गर्न चाहेमा त्यस्तो प्लेटफर्म, व्यक्ति वा निकायले बोर्डबाट इजाजतपत्र लिनुपर्ने उल्लेख छ ।
यस हिसाबले अब युट्युब तथा युट्युब च्यानल, नेटफ्लिक्सका साथै नेपालमा सञ्चालित नेटटीभी, सिनेमाघर, एमएसएम, कान्तिपुर सिनेमाज, मोर म्युजिक-मोर मुभिज (मोमो) लगायतका ओटीटी एपहरूले समेत लाइसेन्स लिनुपर्ने हुन्छ ।
यस्तो लाइसेन्सका लागि लाग्ने दस्तुर, रोयल्टी शुल्क तथा अन्य दस्तुर सम्बन्धी व्यवस्था भने तोकिए बमोजिम हुनेछ । जुन पछि नियमावली तथा निर्देशिका मार्फत तय हुनेछ ।
दर्ता विधेयकमा प्रस्ताव गरिएको यो व्यवस्था ऐनको रूपमा पारित भएमा लाइसेन्स नलिई चलचित्र देखाउने डिजिटल प्लेटफर्म तथा ओटीटी एप कारबाहीको भागिदार बन्नेछन् । ऐन अनुसार यसरी लाइसेन्स नलिई डिजिटल प्लेटफर्म मार्फत चलचित्र तथा चलचित्रजन्य सामग्री प्रदर्शन गरेमा दश लाख रुपैयाँसम्म जरिबाना गरिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १५:५२
सामाग्री श्रोत :
टेक पाना

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन्।
वर्षासँगै परेको चट्याङ लागेर मकालु-३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। चट्याङ लागेर भैंसी मर्दा १० लाख बढीको क्षति भएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ।
सामाग्री श्रोत :









