
काठमाडौँ । गुगलले आफ्नो एआई असिस्टेन्ट जेमिनाईमा विभिन्न फिचर ल्याउँदै आएको छ । त्यसमध्येको सबैभन्दा चर्चित फिचर हो- जेमिनाई लाइभ । यसमार्फत प्रयोगकर्ताले कुनै व्यक्तिसँग कुराकानी गरेजसरी च्याटबटसँग बोलेरै कुराकानी गर्न सक्छन् ।
जेमिनाई लाइभलाई थप परिष्कृत बनाउँदै गुगलले स्क्रिन शेयर र क्यामेरा फिड फिचर थप गरेको छ । यसको अर्थ अब तपाईंले जेमिनाईसँग कुरा गर्दा आफ्नो स्क्रिन शेयर गर्दै कुरा गर्न सक्नुहुन्छ । त्यस्तै जेमिनाई लाइभबाटै क्यामेरा अन गर्नुभयो भने उक्त टुलले तपाईंको क्यामेरामा देखिएको वस्तु देख्छ ।
यो सुविधा लगभग सबै एन्ड्रोइड फोनमा उपलब्ध हुनेछ । तर यसका लागि गुगल वन एआई प्रिमियमको मेम्बरशिप आवश्यक पर्छ । यदि तपाईं जेमिनाईमा भएको स्क्रिन शेयर वा लाइभ क्यामेरा फिड कसरी प्रयोग गर्ने भन्ने जान्न उत्सुक हुनुहुन्छ भने यो सामग्री उपयोगी हुनसक्छ:
के-के चाहिन्छ ?
जेमिनाई लाइभको यो नयाँ फिचर प्रयोग गर्न तपाईंको फोनमा कम्तीमा २ जीबी र्याम र एन्ड्रोइड १० वा सोभन्दा नयाँ अपरेटिङ सिस्टम हुनुपर्छ । हार्डवेयरको खासै ठुलो आवश्यकता छैन, किनभने प्रोसेसिङ फोन बाहिर क्लाउडमा हुन्छ ।
तर, गुगलले प्रयोगकर्तालाई जेमिनाई लाइभसँग शेयर गरिएको जानकारी (क्यामेरा फिड वा स्क्रिन) क्लाउडमा विश्लेषण गरिने हुनाले निजी वा पहिचान खुल्ने जानकारी शेयर नगर्नु सुझाव दिएको छ ।
हाल यो मल्टी-मोडल फिचर जेमिनाई एडभान्स्डका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यसका लागि गुगल वन एआई प्रिमियमको मेम्बरशिप लिनुपर्ने हुन्छ । यद्यपि गुगल पिक्सेल ९ र सामसङ ग्यालेक्सी एस २५ सिरिजका प्रयोगकर्ताका लागि यो फिचर निःशुल्क हुनेछ । नयाँ पिक्सेल फोन प्रयोगकर्ताले परीक्षण अवधिका लागि जेमिनाइ एडभान्स्ड निःशुल्क पाउन सकिन्छ ।
लाइभ क्यामेरा फिड कसरी प्रयोग गर्ने ?
जेमिनाई लाइभले पहिलेदेखि नै मानवशैलीमा कुराकानी गर्न सक्थ्यो । अब भने तपाईंले आफ्नो वरपरका वस्तु देखाएर थप जानकारी लिन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
१) आफ्नो फोनमा जेमिनाई एप खोल्नुहोस् ।
२) त्यसपछि स्क्रिनको तल दायाँपट्टि रहेको ‘लाइभ’ आइकनमा ट्याप गर्नुहोस् ।

३) तपाईंले माथि उल्लेखित मापदण्द पूरा गर्नुभएको छ भने त्यहाँ ‘क्यामेरा’ बटन र स्क्रिन शेयर बटनमा ट्याप गर्नुहोस् ।

४) त्यसपछि तपाईंले जेमिनाईलाई सोध्न चाहेको वस्तु वा दृश्य क्यामेराको भ्यु फाइन्डरभित्र पार्नुहोस् ।
५) अब त्यस विषयमा बोलेर प्रश्न सोध्न सुरु गर्नुहोस् ।
यो फिचर विशेषगरी तपाईंलाई नाम थाहा नभएका वस्तु पहिचान गर्न र तिनको बारेमा थप विवरण प्राप्त गर्न उपयोगी हुन्छ ।
स्क्रिन कसरी शेयर गर्ने ?
यदि तपाईंको फोन वा ट्याब्लेटको स्क्रिनमा कुनै विषय छ र त्यसको जानकारी लिन जेमिनाईसँगको कुराकानीले सहयोग पुर्याउँछ जस्तो लाग्छ भने तपाईंले स्क्रिन शेयर गर्न सक्नुहुन्छ ।
१) तपाईंले जेमिनाई लाइभलाई सोध्न चाहेको एप, आर्टिकल भएको वेबसाइट वा स्क्रिन खोल्नुहोस् ।
२) त्यसपछि जेमिनाई एप खोल्नुहोस् । र, तल दायाँपट्टि भएको ‘स्क्रिन शेयर विथ लाइभ’ (Share screen with Live) को अप्सन ट्याप गर्नुहोस् ।

३) यति गरेपछि बिचमा भएको स्क्रिन शेयरको अप्सन ट्याप गर्नुहोस् ।
४) अब आफ्नो स्क्रिनको सामग्रीबारे जेमिनाई लाइभलाई प्रश्न सोध्न सुरु गर्नुहोस् ।
स्क्रिन शेयर गर्दा जेमिनाईले स्क्रिनमा भएको सामग्रीको सारांश बताउन, त्यसबारे सोधिएका प्रश्नको जवाफ दिन र अन्य काम गर्न सक्छ । यस फिचरले भ्वाइस-ओन्ली जेमिनाई लाइभ र ‘सर्कल टु सर्च’ जस्ता फिचरको पनि काम गर्छ ।
कहिले प्रयोग गर्ने ?
कुनै कुराको लामो वर्णन गर्नुपर्ने अवस्था आयो भने माथि उल्लेखित फिचर प्रयोग गर्न सक्नुहुन्छ । कुनै कुराको बोलेर वर्णन गर्नुको सट्टा तपाईंले क्यामेरा वा स्क्रिन शेयरिङमार्फत देखाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंको समयको बचत हुन्छ नै, साथसाथै तपाईंले कुनै वस्तुको धेरै वर्णन गरिरहनु पर्दैन ।
यस अपडेटले गुगल जेमिनाईलाई मेटा एआई वा ओपनएआईको जीपीटी-फोरओ जस्ता प्रतिस्पर्धी टुलको हाराहारीमा ल्याएको छ । यो फिचर नयाँ पिक्सेल र ग्यालेक्सी फोनमा उपलब्ध गराइएको छ भने अन्य एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल वन प्रिमियम सब्स्क्रिप्सनमा निर्भर हुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १४:४०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो ।
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका थिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

धनगढी । कैलालीको सहजपुर नजिक बस र इभी गाडी ठोक्किएर दुर्घटना भएको छ।
चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका हुन्।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतीक्षा सिजामगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनास्थल पुगेर ट्राफिक प्रहरीले अनुसन्धान गरिरहेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले स्थापनाकालदेखि हालसम्म विभिन्न कर तथा शुल्क शीर्षकमा ३४० अर्ब रुपैयाँभन्दा बढी राज्यलाई बुझाएको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ठुलो योगदान दिएको भन्दै सरकारले एनसेललाई सम्मान गरेको हो ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे ।
गत आवमा मात्रै एनसेलले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क राज्यलाई बुझाएको थियो । यस योगदानको उच्च मूल्याङ्कन गर्दै सरकारले सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने संस्थाका रूपमा कम्पनीलाई कदर गरेको हो ।
एनसेल विगत लामो समयदेखि उच्च करदाता कम्पनीका रूपमा स्थापित रहँदै आएको छ । कम्पनीले यसअघि पनि सरकारले प्रदान गर्ने उत्कृष्ट करदाता र उत्कृष्ट आयकरदाता सम्मानहरू प्राप्त गरिसकेको छ । गत पुसमा ललितपुर महानगरपालिकाले पनि कम्पनीलाई संस्थागत उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको थियो ।
व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनमार्फत कम्पनीले हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै सातै प्रदेशमा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गरेको छ । कम्पनीका अनुसार यस्ता कार्यक्रममार्फत एक करोड ३० लाखभन्दा बढी जनसंख्या लाभान्वित भएका छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सरकारले दिएको सम्मानप्रति आभार व्यक्त गर्दै आईसीटी क्षेत्रको विकास र डिजिटल नेपालको लक्ष्यमा कम्पनीको निरन्तर योगदान रहने बताए ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १२:९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन्।
प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन्।
उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।
उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’
गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिल्ने काम गरेको आरोप लगाए। यो सरकारले सुशासन दिँदै नसकेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

नवलपरासी। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे।
राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिए।
चितवनामा पत्रकारहरुसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य छ भन्नुभयो। नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुननहुनेमा उनको जोड थियो।
फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।
सामाग्री श्रोत :
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
काठमाडौँ । निकट भविष्यमा तपाईँले आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई सजिलै डेस्कटप कम्प्युटरको रूपमा प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि गुगलले एन्ड्रोइड १६ को बेटा संस्करणमा ‘एन्ड्रोइड डेस्कटप मोड’ सुविधा समावेश गरेको छ ।
यो नयाँ फिचरले भविष्यमा प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोन सजिलै मनिटरमा जोडेर ल्यापटप वा डेस्कटप कम्प्युटर जस्तै प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्ने बताइएको छ ।
एन्ड्रोइड विशेषज्ञ मिशाल रहमानले एन्ड्रोइड अथोरिटीमा लेख लेख्दै आफूले यो मोड डेभलपर अप्सनमार्फत एन्ड्रोइड १६ को बेटा चलिरहेको पिक्सेल ८ प्रो फोनमा इनेबल भएको जानकारी दिएका छन् । फोनलाई यूएसबी-सी पोर्ट प्रयोग गरेर मनिटरमा कनेक्ट गरेपछि त्यसमा कम्प्युटरजस्तो इन्टरफेस देखिएको उनले उल्लेख गरेका छन् ।
डेस्कटप मोडमा स्टाटस बार माथिल्लो भागमा देखिन्छ भने तल्लो भागमा एप टास्कबार, स्टार्ट मेनुजस्तो एप ड्रअर र नेभिगेसन बटनहरू उपलब्ध हुन्छन् । साथै, एपहरूलाई विन्डो मोडमा राखेर मिलाउने, साइडमा सार्ने जस्ता कार्य गर्न सकिन्छ ।
यसअघि यो मोड सीमित प्रयोगमा मात्रै सीमित थियो, तर हालको संस्करणमा थप सुधार गरिएको छ । प्रयोगकर्ताले स्क्रिन व्यवस्थापनसमेत गर्न सक्ने भएकाले यो फिचर डेस्कटपको जस्तो अनुभव दिने अपेक्षा गरिएको छ ।
यो सुविधा एन्ड्रोइड १६ सँगै सार्वजनिक हुन पनि सक्ने वा पछि आउने अपडेट वा एन्ड्रोइड १७ मा उपलब्ध हुने चर्चा छ ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १२:४५
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् ।
घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताएका छन्।
“घाइतेमध्ये छ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले पत्रकारसँग भने ।
उनले अस्पतालको अनुगमन गर्दै मृतक वा घाइतेका परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन् ।
गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
उनले भने, “पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना प्रकट गरेको छ ।
लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ ।
भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् ।
यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन्। उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा जोड दिएका हुन्।
राष्ट्रपति पौडेलले काठमाडौ नागार्जुन –७ रामकोटस्थित बद्रिनारायण धाम उद्घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरे।
‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ। यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्दछ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ’, उनले भने।
उनले आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउँदै आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारिहेको यही कारण हो भने।
सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ हुन्छ भन्दै उनले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौंको पश्चिमी पवित्र भू–भागको सुगम स्थलमा अब हामीले पाएको बताए।
राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिधाम निर्मांणले खुसी ल्याउने विश्वास व्यक्त गरे।
उनले यस धामले नेपालको पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्ने बताए।
‘विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा निर्माण भएको यो बद्रिधामसहितको अध्यात्म केन्द्रले आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।
सामाग्री श्रोत :
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
काठमाडौं- नेपालमा अवैध अभ्यास गरिरहेका भारतीय चिकित्सक डा पंकज कुमार बर्मनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले उनी कार्यरत मेडिकल कलेज अस्पताललाई पत्राचार गरेको छ।
पछिल्लो समय चितवन मेडिकल कलेजमा कार्यरत उनका विषयमा विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पत्राचार गरेका हुन्।
उक्त पत्राचारमा उनि कार्यरत भए/नभएको जानकारीका साथै पछिल्लो ६ महिनाको हाजिर प्रमाणित मगाइएको छ। साथै उनले परीक्षण गरेको विरामीको संख्या र नामनामेसी समेत उपलब्ध गराउन भनिएको छ।
नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स नविकरण नगरी उनी अभ्यास गरिरहेको यसअघि स्वास्थ्यखबरले समाचार छापेको थियो। काउन्सिलको छानविनमा समेत उनले बिरामी जाँचेर औषधि प्रस्क्राइब गरेको भेटिएको विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने काउन्सिलको कमिटी (एफएनडी)का अध्यक्ष डा अनिल कार्कीले जानकारी दिएका छन्।
स्वास्थ्य खबरमा प्रकाशित समाचारका आधारमा छानविन गर्दा अवैध अभ्यास गरिरहेधको भेटिएपछि काउन्सिलले कारबाहीको निर्णय गरेको थियो।
उक्त कमटीको निर्णय अनुसार काउन्सिलका रजिष्ट्रार डा सतिश देवले गृह प्रशासनलाई कारबाहीका लागि पत्राचार गरेका थिए। सोही पत्रकार आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले कलेजबाट कागजात झिकाएको हो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ। उपदफा १ मा भनिएको छ, ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
डा बर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।
डा बर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’ भएको छैन। रजिष्ट्रार देवका अनुसार उनको अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ।
डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। डा बर्मन ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा समेत मुछिएका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ। उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो।
सम्बन्धित समाचार
क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए
सामाग्री श्रोत :
swasthyakhabar









