

काठमाडौँ –साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै चाँदीको मूल्य भने केहि घटेको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ।
पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाइएको छ।
यस सम्बन्धमा, वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ।
अधिसूचना अनुसार, यस सम्बन्धमा एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको छ। जसमा भनिएको छ – अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ।
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए।
यस आक्रमणपछि भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् र दुई देशबीच तनाव कायमै छ।
सामाग्री श्रोत :
काठमाडौं- सरकारी तथा निजी अस्पतालको बक्यौता स्वास्थ्य बिमा बाफतको रकम भुक्तानी गर्न सरकारले ३ अर्ब निकासा गरेको जनाएको छ। अर्थ मन्त्रालयले गत शुक्रबार स्वास्थ्य बीमा बोर्डलाई उक्त रकम पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ। विशेषगरी निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने सहमतिको सेरोफेरोमा रहेर उक्त रकम निकासा गरिएको हो।
धेरै समयदेखि बक्यौता बीमाको रकम प्राप्त गरेपछि आवासीय चिकित्सकलाई तोकिएको ४८ हजार रुपैयाँ समयमै दिने अपेक्षा सरकारको छ। झन्डै एक महिनादेखि चलेको आन्दोलनलाई सरकारले अहिले साम्य पारेको छ। निजी मेडिकल कलेज उक्त रकम दिन तयार भएका छन्।
आन्दोलनरत पक्षका तर्फबाट नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयसँग यसको कार्यान्वयनका लागि ४ बुँदे सहमति समेत गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । डीजी नेपाल फिनटेक च्यालेन्ज अन्तर्गत हाम्रो पेले प्रयोगकर्ताले अन्तरक्रिया वा कुराकानीमार्फत नै कारोबार गर्न सक्ने एपको परीक्षण सुरु गरेको छ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोपरेशनको सहयोगमा सञ्चालित उक्त कार्यक्रम नेपाली फिनटेक कम्पनीहरूलाई प्रविधि प्रयोगमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने समाधानको परीक्षण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
हाम्रो पेले विकास गरिरहेको एपले प्रयोगकर्तालाई सामान्य संवाद शैलीमा निर्देशन दिएर आर्थिक कारोबार गर्न सक्ने सुविधा दिनेछ। यसबाट डिजिटल कारोबारलाई अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
हाम्रो पेका अनुसार, “कुराकानीबाट कारोबार सम्भव हुने यो एपले विशेषगरी डिजिटल साक्षरतामा सीमितता भएका समुदायलाई लक्षित गरेर तयार पारिएको हो।” एआईमा आधारित यो एपमार्फत प्रयोगकर्ताले वित्तीय साक्षरताको अध्ययन, कारोबारका लागि सरोकारवालसँग सिधा सम्पर्क तथा भुक्तानी समेत गर्न सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ८:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – गायक गोपिकृष्ण खतिवडा र गायिका जमुना खतिवडाको स्वरमा रहेको नयाँ लोकगीत ‘दिलको राजा दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम भाव र पारिवारिक आत्मीयता समेटिएको यस गीतमा शब्द र सङ्गीत स्वयं गोपिकृष्ण खतिवडाले तयार पारेका हुन् । जमुना खतिवडाको सुमधुर स्वरले गीतमा मिठास थपेको छ भने रमण थामीको सङ्गीत संयोजनले आधुनिक र आकर्षक बनाएको छ ।
गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन् । मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्की, मादल, तबला र ढोलकमा अनिल मगर र बाँसुरीमा सम्पूर्ण लामाको योगदान रहेको छ । सङ्गीत पक्षमा प्रयोग भएका पारम्परिक बाजा र आधुनिक संयोजनको मेल दर्शकका लागि आकर्षणको विषय बनेको छ ।
म्युजिक भिडियोमा भीमसेन खतिवडा, नारायण चौलागाईं र सरस्वती चौलागाईंको अभिनय समावेश छ । उनीहरूले गीतको भावलाई गहिरो अभिनयमार्फत प्रस्तुत गरेका छन् । नृत्य निर्देशन आशिष लामाले गरेका छन् भने सुबिन दाहालले सम्पादन मार्फत भिडियोमा प्रवाह र सौन्दर्यता थपेका छन् ।
भिडियोलाई ठाकुर खतिवडाले निर्देशन गरेका हुन् । ‘दिलको राजा दिलकी रानी’ को छायाङ्कन मेलम्ची नगरपालिका–२ र काठमाडौँको गोकर्णेश्वर क्षेत्र मा गरिएको हो, जसले ग्रामीण र सहरी वातावरणलाई सँगसँगै प्रस्तुत गरेको छ। भिडियो जमुना खतिवडा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतले नेपाली लोक संगीतको मौलिकता, पारिवारिक सम्बन्ध र प्रेम भावनालाई आधुनिक दृश्य प्रभावमार्फत दर्शक–श्रोतासमक्ष प्रस्तुत गर्ने प्रयास गरेको छ । लोक–प्रेमी दर्शकले गीतलाई सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई पोपको रूपमा एआई उत्पन्न छवि पोस्ट गरेपछि केही क्याथोलिक धार्मिक गुरूहरूले आलोचना गरेका छन्।
ह्वाइट हाउस आधिकारिक सोशल मिडिया खातामा द्वारा साझा गरिएको यो तस्विर, क्याथोलिकहरूले २१ अप्रिलमा मृत्यु भएका पोप फ्रान्सिसको मृत्युमा शोक गर्ने र अर्को पोन्टिफ छनौट गर्ने तयारी गर्दा आएको हो।
न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई विश्वासको खिल्ली उडाएको आरोप लगाएको छ। उनले पत्रकारहरूलाई ठट्टा गर्दै ‘म पोप बन्न चाहन्छु’ भनेको केही समय पछि यो पोष्ट आएको हो
क्याथोलिक धर्मको उपहास गरेको आरोप लाग्ने ट्रम्प पहिलो राष्ट्रपति होइनन्। पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले एक वर्ष पहिले फ्लोरिडाको ताम्पामा गर्भपतन समर्थक पहुँच र्यालीमा क्रसको चिन्ह बनाए पछि आक्रोश पैदा गरेको थियो ।
भ्याटिकनका प्रवक्ता म्याटियो ब्रुनीले शनिबार पत्रकारहरूसँगको ब्रीफिंगमा ट्रम्पको तस्विर र भुमिकाको बारेमा प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। भ्याटिकनले बुधबार देखि फ्रान्सिसको उत्तराधिकारी छनोट गर्न सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ।
शुक्रबार राति ट्रम्पले पोस्ट गरेको तस्बिरमा उनले सेतो क्यासक र पोइन्टेड मिटर लगाएका छन्, परम्परागत रूपमा विशपले लगाउने जस्तो। र, उनले आफ्नो घाँटीमा ठूलो क्रस लगाएका छन र र आफ्नो औंला समातेको छ, त्यसमाथी गम्भीर अनुहारको अभिव्यक्तिको साथ।
न्यूयोर्क राज्य क्याथोलिक सम्मेलन, जसले न्यूयोर्कमा विशपहरूको प्रतिनिधित्व गर्दछ, सो तस्विरको आलोचना गर्न एक्समार्फत गरेको हो । ‘यस छविको बारेमा चतुर वा हास्याँस्पद केहि छैन, श्रीमान राष्ट्रपति,’ समूहले लेखेको छ।
‘हामीले भर्खरै हाम्रा प्रिय पोप फ्रान्सिसलाई बिदा गरयौंर कार्डिनलहरू सेन्ट पिटरको नयाँ उत्तराधिकारी चयन गर्नको लागि एउटा भव्य सम्मेलनमा प्रवेश गर्न लागिरहेका छन्। हामीलाई खिल्ली नगर्नुहोस्,’ भन्दै ट्रम्पको आलोचना भएको विविसीले जनाएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । माइक्रोसफ्टले अब खोलिने सबै नयाँ खाताहरूमा पासवर्ड बिना नै साइन-इन गर्ने प्रणाली अनिवार्य गर्ने भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ब्लग पोस्टमा नयाँ प्रयोगकर्ताले पासवर्ड राख्नुपर्ने आवश्यकता नरहने बताएको हो।
“नयाँ प्रयोगकर्ताहरूले विभिन्न पासवर्डलेस विकल्प प्रयोग गरी खाता खोल्न सक्नेछन्, र उनीहरूले पासवर्ड कहिल्यै प्रयोग गर्नुपर्ने छैन,” माइक्रोसफ्टको ब्लगमा उल्लेख गरिएको छ।
पासवर्डलेस साइन-इन प्रणालीमा बायोमेट्रिक प्रमाणीकरण (जस्तै औँठाछाप वा अनुहार स्क्यान) र प्रयोगकर्ताको डिभाइससँग जोडिएको पिन कोडमार्फत साइन-इन गर्न सकिनेछ । माइक्रोसफ्टका अनुसार यस प्रविधिले साइबर सुरक्षालाई बलियो बनाउनुका साथै प्रयोगकर्ताको लग-इन अनुभवलाई पनि सहज बनाउनेछ।
कम्पनीले पासवर्डलेस प्रविधिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न साइन-इन इन्टरफेस पनि परिमार्जन गरेको छ। नयाँ इन्टरफेसले सबैभन्दा सुरक्षित विकल्प पहिचान गरी प्रयोगकर्तालाई डिफल्ट रूपमा सुझाव दिने बताइएको छ।
हाल पासवर्ड प्रयोग गरिरहेका प्रयोगकर्तालाई पनि पासवर्ड हटाएर पासकी (passkey) प्रयोग गर्न मिल्ने सुविधा दिइएको छ। कम्पनीका अनुसार यो परिवर्तनले लग-इन समय घटाउने, पासवर्ड प्रयोगमा २० प्रतिशतसम्म कमी ल्याउने र फिशिङ तथा व्यक्तिगत विवरण चोरीजस्ता साइबर आक्रमणबाट सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ९:३
सामाग्री श्रोत :
टेक पाना

नवलपरासी– शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
उनले रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।
त्यसैगरी, रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपु। गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ ।
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।
भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ ।
सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।
गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्रगतिमा काम हुन नसक्दा समस्या आएको छ ।
सामाग्री श्रोत :

काठमाडौं– अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भूभागमा वर्षा भइरहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









