

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बीचमा छोड्नुपर्ने अवस्था थियो। उक्त समस्या समाधान गर्न गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए।
जिल्लामा लामो समयदेखि एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको ‘हाम्रो जीवन प्लस’द्वारा संकलित तथ्यांक र व्यक्तिले दिएको निवेदनका आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
गाउँपालिकाले यस वर्ष २५ जना सङ्क्रमितका लागि उक्त रकम उपलब्ध गराइसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताए। एचआइभी सङ्क्रमित हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने भएकाले कोही पनि उपचारबाट वञ्चिन नहुन् भनेर आर्थिक सहयोग गरिएको उनको भनाइ छ।
सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआइभी सङ्क्रमित रहेपनि २५ जनाले मात्र उक्त सहयोग लिएका पालिका कार्यालयले जनाएको छ। कतिपय सङ्क्रमित समाजमा खुल्न र सम्पर्कमा आउन नचाहेकाले रकम उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए।
हाम्रो जीवन प्लसले एचआइभी सङ्क्रमितका लागि घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरिरहेको छ। सो कार्यक्रमअन्तरगत सेवाग्राहीको घरसम्म पुग्ने, नियमित औषधि खाए/नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर)लगायत काम गर्दै आएको संस्थाकी अध्यक्ष जुना ज्ञवालीले बताए।
संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआइभी सङ्क्रमित बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजारका दरले सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
अध्यक्ष ज्ञवालीका अनुसार घर समुदायमा आधारित कार्यक्रमअनुसार हाल २७ जना सङ्क्रमित बालबालिकालाई उक्त सुविधा प्रदान गरिएको छ। उनले जिल्लामा सञ्चालनमा आइरहेको सामुदायिक हेरचाह केन्द्र बन्द भएपछि सङ्क्रमित सेवाग्राहीको अवस्था समस्यामा परेको बताए। जिल्लामा हाल तीन सय १२ जना एचआइभी सङ्क्रमित छन्। रासस
सामाग्री श्रोत :
काठमाडौँ । अब एप्पल र गुगलजस्ता ठुला एप स्टोर सञ्चालकको एकाधिकार टुट्ने भएको छ । यस्ता कम्पनीहरूको प्लेटफर्ममा थर्ड-पार्टी एप स्टोर र भुक्तानी प्रणालीहरूलाई अनुमति दिन बाध्य पार्नेगरी अमेरिकी संसद्मा एक नयाँ विधेयक पेस भएको हो ।
रिपब्लिकन सांसद क्याट क्याम्याकले प्रस्तुत गरेको यो विधेयकलाई ‘एप स्टोर फ्रिडम एक्ट’ नाम दिइएको छ । यसको लक्ष्य मोबाइल एप बजारमा प्रतिस्पर्धा बढाउनु र उपभोक्ता तथा डेभलपरहरूको रक्षा गर्नु हो ।
यो विधेयक अमेरिकामा १० करोडभन्दा बढी प्रयोगकर्ता भएका एप स्टोरहरू प्रति लक्षित छ । यद्यपि विधेयकमा एप्पलको नाम स्पष्ट रूपमा उल्लेख गरिएको भने छैन । यसका नियमहरू स्पष्ट रूपमा एप्पल र गुगलका अभ्यासहरू प्रति लक्षित छन् । किनकि तिनीहरू ठुला एप स्टोर सञ्चालक हुन् । विधेयक अनुसार यी कम्पनीहरूले प्रयोगकर्ताहरूलाई थर्ड-पार्टी एप स्टोर इन्स्टल गर्न र त्यसलाई डिफल्ट रूपमा सेट गर्न दिनु पर्नेछ । साथै, डेभलपरलाई थर्ड-पार्टी पेमेन्ट सिस्टम प्रयोग गर्नबाट रोक्न समेत निषेध गरिनेछ ।
विधेयकअनुसार एप्पल र गुगलले डेभलपरलाई इन्टरफेस, फिचर र डेभलपमेन्ट टुलहरूमा लागत तथा भेदभाव बिना समान पहुँच’ प्रदान गर्नुपर्नेछ । यसका साथै, प्रयोगकर्ताहरूलाई प्रि-इन्स्टल गरिएका एपहरू हटाउने वा लुकाउने अनुमति पनि दिनुपर्नेछ ।
विधेयककी प्रस्तोता सांसद क्याम्याकका अनुसार ‘प्रमुख एप स्टोरहरूले ग्राहकको डेटा नियन्त्रण गरेका छन् र उपभोक्ताहरूलाई आफ्नै मर्चेन्ट सेवाहरू प्रयोग गर्न बाध्य पारेका छन् । यसले उपभोक्ताहरूका लागि चर्को मूल्य र सीमित छनोट सिर्जना गरेको छ र डेभलपरहरूका लागि प्रतिस्पर्धा विरोधी अभ्यासहरू लाई बढावा दिएको छ । जसले इनोभेसन अर्थात् नवप्रवर्तनलाई समेत अवरुद्ध पारेको छ ।
यो विधेयक युरोपियन युनियनमा लागु भएका कानूनहरू जस्तै समान छ । युरोपेली नियमहरूले एप्पललाई थर्ड-पार्टी एप स्टोरहरू डाउनलोड गर्न र डिफल्ट एपहरू परिवर्तन गर्न अनुमति दिनुपर्ने कुरामा बाध्य पारिसकेको छ । हालै, ‘एपिक भर्सेस एप्पल’ मुद्दामा भएको फैसलाको प्रतिक्रिया स्वरूप एप्पलले डेभलपरहरूलाई बाह्य भुक्तानीहरूमा लिंक गर्न अनुमति दिन थालिसकेको छ । गुगलले पनि ईयूका नियमहरू लागु भएपछि परिवर्तनहरू गरेको छ, जसमा प्रयोगकर्ताहरूले आफ्नो डिभाइस सेटअप गर्ने क्रममा नयाँ ब्राउजर छनोट गर्न पाउने विकल्प पनि छ ।
यो विधेयकको उल्लङ्घन गरेमा सङ्घीय व्यापार आयोग बाट जरिबाना लाग्न सक्नेछ । प्रत्येक उल्लङ्घनका लागि १० लाख डलरसम्मको अतिरिक्त सिभिल पेनाल्टी पनि तोकिएको छ ।
-द भर्ज
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १६:४४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नवौं प्रधानमन्त्री (पीएम) कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने भएको छ।
नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिएका हुन्।
काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको कारण पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको श्रेष्ठले बताए।
उक्त निर्णयसँगै एनभीए लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीक कभर्ड हलमा जेठ ८ देखि १५ गतेसम्म हुनेछ।
महासचिव श्रेष्ठकाअनुसार पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितातर्फ विजेता हुने टोलीले समान ८ लाख पाउनेछन्। उपविजेता हुने टोलीले ४ लाख र तेस्रो हुने टोलीले समान २ लाख पाउने संघले जनाएको छ।
सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए। यसअघि पोखराको इन्डोर हलमा बैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।
सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको उनले बताए।
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे।
उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे।
सो अवसरमा बरिष्ठ पत्रकार सम्मान पत्रकार महासंघका पूर्वअध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारीता पुरस्कार २०८१ विमल गौतम, दिपेन्द्र श्रेष्ठ, लोग्शरी कुँवर, दिपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको थियो।
सामाग्री श्रोत :
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य होस् : राष्ट्रपति
काठमाडौँ । आजभोलि जता हेर्यो , त्यता रिल्स, स्टोरी र शर्ट्स देखिन्छन् । सामाजिक सञ्जालमा छोटो भिडिओकै बोलवाला छ । भिडिओको यस किसिमको फर्म्याटले केवल मनोरञ्जनको शैली मात्र बदलिएको छैन, सिङ्गो सामाजिक सञ्जालको स्वरूप नै रूपान्तरित गर्दैछ । र यो रूपान्तरणको केन्द्रमा छ – टिकटक ।
सन् २०१६ मा सुरु भएको टिकटकमा हाल १ अर्ब १२ करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । छोटा भिडिओको लागि यो संसारकै सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ । अमेरिकामा मात्र ११ करोड ८० लाखभन्दा धेरै मानिसले दैनिक औसत एक घण्टा ४८ मिनेट समय टिकटकमा बिताउँछन् । प्रयोगकर्ताको बानी र ध्यान टिकटकमा यति गहिरोसँग जोडिएको छ कि धेरै युवाहरू दिनभर स्क्रोलमै गर्नमै व्यस्त हुन्छन् ।
अलि बेर पर्खनु पर्ने, लामो कथा बुझ्नुपर्ने परम्परागत किसिमका माध्यमको तुलनामा मानिसहरूले छोटो भिडिओलाई निकै फरक रूपमा लिन्छन् । छोटो भिडिओले प्रयोगकर्ताको ध्यान छोटो समयमै खिच्ने भएकाले यो निकै लत लाग्दो हुन्छ । यसले मनोरञ्जन, शिक्षा र ट्रेन्डहरू मिश्रित रूपमा प्रदान गर्दछ । जसले प्रयोगकर्तालाई घण्टौँसम्म व्यस्त राख्छ । परम्परागत मनोरञ्जन माध्यम जस्तै टिभी वा रेडिओ नाटकहरूले पूरा अवधि दर्शकको ध्यान खिच्न खोज्थे । तर छोटो भिडिओको उद्देश्य केही सेकेन्ड वा मिनेटको लागि मात्रै ध्यान खिच्नु हो र त्यसपछि रुचि अनुसारको अर्को भिडिओमा लैजानु हो ।
यो झट्ट हेर्ने, छिटो मनोरञ्जन दिने र अत्यन्त व्यक्तिगत तवरको अनुभव प्रदान गर्ने खालको हुन्छ । यसै कारण यस्ता भिडिओ नशाजस्तै लत लाग्ने कारण बनेका छन् ।
टिकटकको सफलता र यसको शक्तिशाली एल्गोरिदमले यति ठुलो प्रभाव पारेको छ कि युट्युब, इन्स्टाग्राम, फेसबुक र लिङ्क्डइन जस्ता प्लेटफर्महरू पनि यसको नक्कल गर्दैछन् । जसका उदाहरण हुन्, शर्ट्स, रिल्स र छोटो भिडिओ देखिने फिड ।
एल्गोरिदम
टिकटकको शक्तिको प्रमुख आधार भनेकै यसको एल्गोरिदम हो । जुन प्रयोगकर्ताको रुचि अनुसार सामग्री सिफारिस गर्न निकै सक्षम छ ।
टिकटकले सुरुमा छोटो भिडिओमा ध्यान केन्द्रित गरेको थियो जबकि अरू धेरैले यसमा खासै चासो दिएका थिएनन् । पहिले ट्वीटरको भाइन (Vine) भन्ने छोटो भिडिओ प्लेटफर्म थियो । तर कुनै कारणले गर्दा कम्पनीले त्यसलाई निरन्तरता दिएन । जसले गर्दा टिकटकका लागि बजार खाली भयो र उसले यसको फाइदा उठायो ।
टिकटकको एल्गोरिदमले प्रयोगकर्ताको रुचि राम्रोसँग बुझ्ने र सोही अनुसार सामग्री देखाउने भएकाले यो अरूका लागि नक्कल गर्न गाह्रो भएको छ । प्रयोगकर्ताहरू ठान्छन्, “टिकटक मलाई के चाहिएको छ भन्ने कुरा म आफैँलेभन्दा राम्रोसँग जान्दछ ।” यो व्यवहारले विशेष गरी किशोर-किशोरीहरूको ध्यान दिने क्षमतामा असर गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।
छोटो भिडिओहरू निरन्तर स्क्रोल गर्न मिल्ने ‘अनन्त स्क्रोलिङ’ सुविधासहित आउने हुँदा प्रयोगकर्ताको समय अनायासै बित्छ । यसले ध्यानको अवधि (attention span) घटाउँछ । साथै, यसले मानसिक स्वास्थ्यमा तनाव पनि बढाउन सक्छ । रातमा स्क्रिन हेर्दा निद्रामा समस्या आउन सक्छ किनकि । त्यसको ब्लु लाइट (निलो प्रकाश)ले दिमागलाई जागा रहन प्रेरित गरिरहन्छ । धेरै समय स्क्रिनमा बिताउँदा निद्रा, बाहिर समय बिताउने वा साथीभाई र परिवारसँग प्रत्यक्ष भेटघाट जस्ता मानसिक स्वास्थ्यका लागि फाइदाजनक मानिने गतिविधिहरूमा बाधा पुग्न सक्छ । टिकटकसँग हुर्किएको पहिलो पुस्ता, जेन जी (Gen Z), मा परिवर्तनका लक्षण देखिन थालेका छन् । धेरैले लामो भिडिओ १.५ वा २ गुणा स्पिडमा हेर्ने गरेका हुन्छन् र परम्परागत फर्म्याटमा बस्न गाह्रो मान्छन् । कसै-कसैले त टिकटकले सबैको ध्यान अवधि बर्बाद गरेको पनि बताएका छन् ।
प्रतिस्पर्धा
टिकटकको यो सफलता देखेर अन्य सामाजिक सञ्जालहरू पनि छोटो भिडिओको दौडमा सामेल भएका छन् । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले अगस्ट २०२० मा रिल्स ल्यायो । गुगलको स्वामित्वमा रहेको युट्युबले भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि सेप्टेम्बर २०२० मा शर्ट्स ल्यायो । फेसबुकले पनि सोही वर्ष रिल्सको आफ्नै संस्करण ल्यायो । व्यावसायिक सञ्जाल लिंक्डइन पनि २०२४ देखि छोटो भिडिओको लोकप्रियतालाई उपयोग गर्न थालेको छ ।
मेटाका अनुसार फेसबुक र इन्स्टाग्राममा बिताइने कूल समयको ६०% भन्दा बढी भिडिओमा खर्च हुन्छ । इन्स्टाग्राममा मात्रै प्रयोगकर्ताले बिताउने कूल समयको ५०% हिस्सा रिल्सले ओगटेको छ । यसमा दैनिक ४.५ अर्ब पटक भन्दा बढी शेयर गरिन्छ । क्रियटरहरूलाई आकर्षित गर्न इन्स्टाग्रामले ३ मिनेटसम्मका रिल्स र थप एडिटिङ टुल लगायतका नयाँ फिचरहरू थपेको छ । मेटाको लक्ष्य छोटो भिडिओको बजारमा टिकटकलाई टक्कर दिनु हो ।
तर टिकटक यो मामिलामा निकै अगाडि छ । प्लेटफर्ममा अहिले ‘टिकटक शप’, लामा भिडिओ, एनालिटिक्स जस्ता सुविधाहरू थपिएका छन् । जसले गर्दा यो अझ व्यापक बनिरहेको छ ।
तर आम्दानी भने चुनौतीपूर्ण
यति धेरै प्रयोगकर्ता संलग्न भए पनि छोटो भिडिओबाट आम्दानी गर्न भने सजिलो छैन । धेरै इङ्गेजमेन्ट भए पनि छोटो भिडिओबाट पैसा कमाउन क्रिएटरहरूका लागि अझै पनि गाह्रो छ । लामो भिडिओमा प्लेटफर्महरूले धेरै विज्ञापनहरू राख्न सक्छन्, तर छोटो भिडिओमा विज्ञापनको लागि सीमित ठाउँ हुन्छ । यसको मतलब प्रति भ्युज आम्दानी कम हुन्छ । छोटो भिडिओका विज्ञापनहरू प्रायः भिडिओको बीचमा राखिन्छ, जसलाई प्रयोगकर्ताहरूले सजिलै स्किप गर्न सक्छन् । यसै कारणले पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले विज्ञापनका लागि लामो भिडिओलाई प्राथमिकता दिइरहेको पाइन्छ ।
युट्युब र स्न्यापच्याट (Snapchat) बाहेक धेरैजसो प्लेटफर्महरूले छोटो भिडिओबाट हुने विज्ञापन आम्दानी क्रियटरहरूलाई वितरण गर्दैनन् । । टिकटकले सन् २०२४ मा विज्ञापनबाट २३.६ अर्ब डलर कमाएको थियो । तर अधिकांश क्रियटरहरूले मिलियन भ्युजमा केही डलर मात्र पाए । युट्युबले छोटो भिडिओलाई विज्ञापनको आम्दानी बाँडफाँट गर्ने गरेको भए पनि क्रियटरले १००० भ्युजमा करिब ०.०४ अमेरिकी डलर मात्रै कमाउँछन् । जुन लामो भिडिओले कमाउने भन्दा धेरै कम हो । क्रियटरहरू यसबाट निकै निराश बनिरहेका छन् । यसै कारण क्रियटरहरू अब ब्रान्ड डिल, ईकमर्स, सब्स्क्रिप्सन कन्टेन्ट लगायतका अन्य स्वरूपमा आम्दानीका स्रोतहरू खोजीरहेका छन् ।
अबको भविष्य
छोटा भिडिओले सामाजिक सञ्जाललाई झन् व्यस्त, झन् व्यक्तिगत र झन् तीव्र बनाएको छ । तर यसले ध्यान केन्द्रित गर्ने पाटोलाई कमजोर बनाउनुका साथै मानसिक स्वास्थ्यमा असर पुर्याउने जोखिम पनि बोकेको छ ।
अब प्रश्न उठ्छ – छोटा भिडिओले हामीलाई स्मार्ट बनाइरहेका छन् कि केवल छिटो मनोरञ्जनको लागि हाम्रो धैर्यता र सोच्ने क्षमतामा चोट पुर्याइरहेका छन् त ? कानुन निर्माताहरूको बढ्दो निगरानी र एल्गोरिदममा परिवर्तनका कारण छोटो भिडिओको भविष्य अझै अनिश्चित छ । प्लेटफर्महरू ई-कमर्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सञ्चालित सिफारिसहरूमा निर्भर छन् ताकि बजारमा अगाडि रहन सकियोस् ।
छोटो भिडिओले संलग्नता (engagement) बढाए पनि र ध्यान अवधि घटाए पनि, एउटा प्रश्न बाँकी छ: के छोटो भिडिओले सामाजिक सञ्जाललाई साँच्चै विकसित गरिरहेको छ वा राम्रो वा नराम्रोका लागि हामीले सामग्री उपभोग गर्ने तरिकालाई मात्र परिवर्तन गरिरहेको छ? एउटा कुरा के निश्चित छ भने यो ट्रेन्ड यहीँबाट अन्त्य हुने वा पहिलेकै जस्तो लामा भिडिओ फर्म्याटमा फर्किन गाह्रो छ । सामाजिक सञ्जालको भविष्य नै छोटो, छिटो र अत्यधिक व्यक्तिगत ढङ्गले अगाडि बढिरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १४:६
सामाग्री श्रोत :
टेक पाना

काठमाडाै– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना युवक पक्राउ परेका छन्।
प्रहरीले गुल्मीको धुर्कोट गाउँपालिका–३ का २८ वर्षीय दीपेन्द्र महतलाई पक्राउ गरेकाे हाे।
वैदेशिक रोजगारीको नाममा छ जना पीडितबाट ९ लाख ५० हजार उठाएर महत बेपत्ता भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सुर्खेत- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सकसहितको टोलीले सुर्खेतमा क्यान्सर परीक्षण तथा उपचार सेवा दिएका छन्।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नेतृत्वमा चितवनबाट सुर्खेत पुगेका टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा बिरामीलाई सेवा दिएका हुन्।
बीपी क्यान्सर अस्पतालका टोलीले सुर्खेतमा पुगेर १२६ जनालाई सेवा दिएका छन्। क्यान्सर विशेषज्ञसहितको टोलीले सुर्खेतमा पाठेघरको मुखको क्यान्सर जाँच ६२ जनामा गरेका छन्। जसमा १२ जनामा भिआइए पोजिटिभ, १जनामा सिए सर्भिक्स र अर्का एक जनाम सिए ओभरी देखिएको डा पौडले नेतृत्वको टोलीले जनाएको छ।
यसैगरी, सुर्खेतमै टोलीले चार जनाको क्यान्सर सम्बन्धी नाका, कान घाँटीको शल्यक्रिया समेत गरेका छन्।
बीपी क्यान्सर अस्पतालबाट डा पौडेलसहित डा विवेक कँडेल, डा सुनिल ढकाल, डा सिरता राना, डा विजय न्यौपाने र नर्सिङ चिफ अनिता देवकोटा र वरिष्ठ स्टाफ नर्स मनिता ढकालले सेवा दिएको प्राविधिक उपसमितिका सदस्य सचिव रमेश शर्मा पौडेलले जानकारी दिए।
प्रदेश अस्पतालबाट अस्पताल निर्देशक डा केशर ढकालको नेतृत्वमा डा विकास केसी र डा उपेन्द्रकृष्ण रेग्मी लगायतको टोलीले सहयोग गरेका थिए।
बीपी क्यान्सर अस्पतालले यसअघि पनि सर्खेतमा पुगेरका तीन पटक सेवा दिइसकेको छ। स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार बीपी क्यान्सर अस्पतालले कर्णाली प्रादेशीक अस्पताल सुर्खेतसँग क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार नै अस्पतालले चौथो पटक सेवा दिएको हो।
सामाग्री श्रोत :
swasthyakhabar

बागलुङ । बागलुङमा घरको झ्यालबाट खसेर वृद्धाको निधन भएको छ।
बागलुङ नगरपालिका-४ श्रीनगरटोलमा बुधबार बिहान घरको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको निधन भएको हो।
उनको पक्की घरको तेस्रो तलाबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
शव पोष्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बगालुङमा लगिएको प्रहरीको भनाइ छ।
सामाग्री श्रोत :
काठमाडौँ । भारत-पाकिस्तान युद्ध यतिखेर सामाजिक सञ्जालको ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । रातको समयमा भएका रोमाञ्चक यूईएफए च्याम्पियन्स लिग र आईपीएल म्याचलाई पछि पार्दै छिमेकी दुई देशबिचको युद्ध सबैभन्दा चर्चाको विषय बनेको हो ।
९ वैशाख (अप्रिल २२)मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाका क्रममा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो । उक्त घटनामा कयौँ घाइते भएका थिए । सोही आतङ्कवादी हमलाको १५ दिनपछि भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि बदला स्वरूप हमला गरेको हो । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा भारतले मिसाइल आक्रमण गरेसँगै दुई देशबिच युद्धको स्थिति देखिएको हो ।
उक्त हमलापछि पाकिस्तानले एउटा विज्ञप्ति जारी गर्दै भारतसँग बदला लिने प्रतिक्रिया दिएको छ । पाकिस्तान सरकारले भारतीय हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । बुधबार पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायर खोल्दा ३ जना भारतीयको मृत्यु भएको बताइएको छ ।
त्यससँगै भारत र पाकिस्तानको पक्ष-विपक्ष र तटस्थ कोणबाट सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ ।
अर्कोतर्फ च्याम्पियन्स लिग अन्तर्गत भएको रोमाञ्चक खेलमा बार्सिलोना हार ब्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । सँगसँगै भारतमै आईपीएल क्रिकेट प्रतियोगिता चलिरहेको छ । नेपालमा समेत ठुलो फ्यान-फलोइङ रहेका यी महत्त्वपूर्ण खेल प्रतियोगिताको सन्दर्भ सामाजिक सञ्जालमा भारत-पाकिस्तान युद्ध सामु छायाँमा परे ।
बुधबार सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारत-पाकिस्तान युद्ध पहिलो नम्बरको ट्रेन्डिङमा चलिरहेको छ । यो सामग्री तयार पार्दासम्म १७ लाखभन्दा बढी पोस्ट #operationsindoor को नाममा भएका छन् । उक्त ह्यासट्याग नेपालमा पनि ट्रेन्डिङमा छ ।

पाकिस्तान (Pakistan) दोस्रो नम्बरको ट्रेन्डिङमा छ । त्यसपछि तेस्रो स्थानमा मात्रै स्पोर्ट्स अन्तर्गत बार्सिलोना ट्रेन्डिङमा चलिरहेको छ । चाैथो स्थानमा बार्सिलोनाकै खेलाडी रोनाल्ड अराउजो छन् । आईपीएल भने ट्रेन्डिङको छैटौँ स्थानमा सीमित भएको छ । जहाँ मङ्गलबार मुम्बई इन्डियन्स र गुजरात टाइटान्सबिच खेल भएको थियो।
यता सामाजिक सञ्जाल फेसबुकमा पनि अपरेसन सिन्दूरको ह्यासट्याग प्रयोग गरेर १२ लाखभन्दा धेरै पोस्टहरू भएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १४:५२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ।
उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए। सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दिएको हो।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो। टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए।
छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।
यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन।
प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने घरमै लडेको दावी गरेका छन् । उनले भने, ‘घरमै भएको घटना हो । बाहिर चलेको हल्लाबारे थाहा भएन ।’
प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।
छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति खानपिनसहित रमझम गरेका थिए । उनी बिहान नहुँदै बाथरुममा लडेको बताइए पनि विस्तृत विवरण आएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









