
काठमाडौँ । रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्याले सर्वसाधारण समस्यामा परेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वले मोबाइल उपहार दिएको छ । निमित्त कार्यालय प्रमुख डा कृष्ण खनाललाई भेटेर बुधबार सङ्घका पदाधिकारीहरूले एक थान मोबाइल र नेपाल टेलिकमको सिम कार्ड उपहार दिएका हुन् ।
पत्रकार महासङ्घ रुकुम पूर्वका अध्यक्ष वसन्त बाँठा मगरका अनुसार सेवाग्राहीले फोन गर्दा प्राय जसो नउठ्नु रुकुम पूर्व अस्पतालको दीर्घकालीन समस्या हो । त्यसैले अस्पताललाई लाभा कम्पनीको किप्याड फोन र एनटीसीको सिमकार्ड दिइएको हो ।
उनले भने, “वार्षिक समीक्षा बैठकहरूमा पनि अस्पतालको फोन नउठ्ने गरेको भनेर सधैँ गुनासो आउने गर्छ । अस्पतालको एम्बुलेन्स सेवामा समस्या नभएपनि केही बुझ्न परेर फोन गर्दा नलाग्ने समस्या थियो ।” लामो समयदेखि उक्त समस्या समाधान नभएपछि महासङ्घका सदस्यहरूले छलफल गरेर सिमकार्ड सहित मोबाइल फोन उपहार दिने निर्णयमा पुगेको उनले बताए ।
“मोबाइलले अस्पतालमा सेवाग्राहीसँग सम्पर्क गर्न पनि सहज होस् र जिम्मेवार हुन सामाजिक दबाब पनि सृजना गरोस् भनेर हामीले उपहार दिएका हौँ,” उनले भने । अस्पतालले पनि ड्युटीमा खटिएका कर्मचारीहरूलाई उक्त मोबाइल उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले सुनाए । अध्यक्ष मगरले भने, “अब सेवाग्राहीले फोन गर्दा उठ्नु पर्यो । अस्पतालले २४ सै घण्टा सेवा दिन सक्नु पर्यो ।”
पछिल्लो अध्यावधिक: असार २७, २०८२ ९:२२
सामाग्री श्रोत :
टेक पाना
यसवर्षको गर्मी तथा वर्षादको मौसममा समयमा नै साबधानी अपनाउन नसक्ने हो भने करिब ६० हजार भन्दा बढी डेंगु संक्रमण हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ। हालसम्म ७३ जिल्ला बाट १६ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हालसम्म १६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ भने गत बर्ष देशभरमा ५० हजार डेंगु बाट संक्रमित भएका र १५ जनाले ज्यान गुमाएको जानाकारी महाशाखाले दिएको थियो। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखापरेको छ। डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाई बाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे लाई टाईगर मसक्युटो पनि भनिन्छ। यो रोग जुनसुकै उमेर समुहका ब्याक्तिहरुलाई पनि लाग्न सक्दछ। डेंगु भाईरस चार प्रजातिका भाइरस डीईएन-१, डीईएन-२, डीईएन-३, डीईएन-४ गरी चार प्रजातिका डेंगु भाईरस बाट लाग्दछ । एकपटक एउटा प्रकारको डेंगु लागीसकेपछी जिबनभर त्यास्तै प्रकारको डेंगु रोग लाग्दैन , तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ।
र, दोस्रोपटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरानाक हुन्छ। यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ। एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टेले आफ्नो जीबनभर करिब ५०० देखि १००० वटासम्म अण्डा पार्ने गर्दछ। संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्। यसको अण्डा पानी बिना पनि महिनौंसम्म जीवित रहन सक्दछ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ। डेंगु एउटा मानिस बाट अर्कोमा सोझै सर्दैन । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुंदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ । र त्यासले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त ब्याक्ति रोग बाट संक्रमित हुन्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नको लागी प्रचुर मात्रमा प्रोटीनको आबस्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आप्mनो जिबन यापन गर्दछ।
लक्षण तथा चिन्हहरु
१ संक्रमण काल ३ देखि १० दिन ।
२ उच्च ज्वरो आउनु १०२ देखी १०३ं फरेनहाईट ।
३ टाउको दुख्ने पेट दुख्ने ।
४ वाकवाकी लाग्ने ।
५ आँखाको गेडी दुख्ने ।
६ सम्पूर्ण शरीर वा जोर्नी दुख्ने ।
७ रातोरातो बिमिराहरु देखा पर्ने ।
सामान्यतया: ज्वरो आएको ३ देखि ५ दिन पछी समयमै उपचार ब्याबस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशत भन्दा कममा झार्न सकिन्छ। खास रोग नभएका तथा सामान्य भन्दा सामान्य विरामी २० देखि ५० प्रतिशत हुन्छन्। जसले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यबोझ बढाएको छ। डेंगुको विश्वब्यापी अवस्था भन्नुपर्दा विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ। वितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाइएको छ। स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरीएको डेंगुको उत्पत्ति झन्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलो पटक सन् २००४ मा पहिलो बिरामी बिदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्ला हरुमा डेंगुका बिरामी भेटिएको थिए। सन् २०१० मा चितवन लगायत रुपन्देही नबलपरासी आदी जिल्लाहरुमा महामारीको रुपमा फैलिएको थियो।दे शभरीमा ९१७ केशहरु देखिएको थियो।
सन् २०१६ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा १५२७ केशहरु देखिएको थियो। सन् २०१७ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा २१११ केशहरु देखिएको थियो। सन् २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरीमा जम्मा ८११ केशहरु देखिएको थियो। सन् २०१९ मा सुनसरी मोरङ्ग झापा चितवन कास्की र मकवानपुर जिल्लाहरुमा महामारीको रुपमा फैलिएको सुनसरीमा मात्र ३२६६ बिरामी पाईएका थियो। सन् २०१९ देखी २०२३ सम्म ७३११ डेंगुका बिरामी भेटीएको देखिन्छ भने गत बर्ष २०२४मा देशभर ५० हजारमा डेंगु संक्रमण भएको र १५ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको थियो भने यसवर्ष २०२५ को गर्मी तथा बर्षादको मौसममा समयमा नै साबधानी अपनाउन नसक्ने हो भने करिब ६० हजार भन्दा बढी डेंगु संक्रमण हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ।
यसवर्ष हाल सम्म ७३ जिल्ला बाट १६ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म १६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । यो रोग बिभिन्न उष्ण प्रदेशीय तथा उप उष्णप्रदेशीय भागहरुमा तिब्र गतिमा फैलिएको पाइन्छ।
रोकथामका उपायहरु
पानी जम्न सक्ने भाँडाहरु जस्तै : गमला फुलदानी खाली बट्टा अलकत्र वा मट्टीतेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपाय गर्नु पर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदीने गरी ढाकेर राख्नुपर्दछ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ। घर वरपरका पानी जम्ने खाल्डाहरु पुरिदिने गरेको छ। घरका नजिकका पानी बग्ने नालीहरुमा बेलाबेलामा मट्टीतेल छर्कने गर्नु पर्दछ।
बस्तिको वरीपरीका झाडीहरु सफा गर्ने गर्नुपर्छ। एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पुरा शरीर पुरा छोप्नेगरी कपडाहरु प्रयोग गर्ने गरिन्छ। बच्चाहरुलाई बाहिर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मल्हमहरु शरीरमा लगाई हिँडाउने गर्नुपर्छ।
फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नुपर्दछ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ। सुत्दा दिँउसो या राति झुलको प्रयोग अनिवार्य रुपमा गर्नुपर्दछ। लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नस्ट गर्नका लागि ‘खोज तथा नस्टगर’अभियान कार्यक्रम निरन्तर गर्नु पर्दछ।
(पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । आधुनिक डिजिटल संसारमा अनलाइन अकाउन्टहरू सुरक्षित राख्नु पहिलेभन्दा जटिल बनेको छ । साइबर सुरक्षाका लागि अहिले हरेक साइट र सेवाका लागि युनिक (अन्यत्र प्रयोग नगरेको) तथा जटिल पासवर्डहरू राख्ने, पासवर्ड म्यानेजर प्रयोग गर्ने र टु-फ्याक्टर अथेन्टिकेसन (2FA) अपनाउने अभ्यास सबैभन्दा उत्तम मानिन्छन् । तर, अब एउटा नयाँ र सरल अथेन्टिकेसन विधि प्रचलनमा आइरहेको छ, जसलाई ‘पासकी’ भनिन्छ । जुन सुरक्षालाई अझ सहज र मजबुत बनाउन तयार पारिएको हो । यसले पासवर्डको जटिलता र असुरक्षालाई हटाएर सुरक्षित लगइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
के हो पासकी ?
पासकी तुलनात्मक रूपमा नयाँ सुरक्षा सुविधा हो, जसले तपाईँलाई आफ्नो औँठा छाप वा अनुहार स्क्यानको माध्यमबाट डिभाइसमा अथेन्टिकेसन गरेर अकाउन्ट लगइन गर्न दिन्छ । केही अवस्थामा यसमा पिन वा पासकोड जस्ता अन्य स्क्रिन लक संयन्त्र पनि प्रयोग गर्न सकिन्छ । यसलाई एक प्रकारको टु-फ्याक्टर अथेन्टिकेसन जस्तै मान्न सकिन्छ । जहाँ तपाईँ सिधै दोस्रो चरणमा जानुहुन्छ र तपाईँले पहिले नै भेरिफाइड डिभाइस अनलक गरेको देखाएर आफ्नो पहिचान प्रमाणित गर्नुहुन्छ । पासकी प्रयोग गर्दा परम्परागत पासवर्डको टाइप गर्ने आवश्यकता पनि यसमा पर्दैन ।
पासवर्डभन्दा कसरी सुरक्षित हुन्छ ?
पासकीले परम्परागत पासवर्डको तुलनामा धेरै सुरक्षा लाभहरू प्रदान गर्छ । परम्परागत पासवर्ड टेक्स्ट (अङ्क, अक्षर र चिन्ह) मा आधारित कोड हो, जुन टाइप गरिन्छ वा कतै स्टोर गरेर राखिन्छ । जसले गर्दा अरूले पहुँच गर्न वा पत्ता लगाउन सक्ने जोखिम हुन्छ । तर पासकीले यो जोखिमपूर्ण रूपमा हटाउँछ ।
पासकी मार्फत तपाईँ आफ्नो फोन वा कम्प्युटर अनलक गरिसकेको आधारमा लगइन गर्न सक्नु हुन्छ । यसले बायोमेट्रिक अथेन्टिकेसन तथा प्रमाणीकरण (जस्तै ओँठा छाप वा अनुहार स्क्यान) वा कम्तीमा पिन/पासकोड प्रयोग लिने गर्दछ ।
तपाईँले हरेक साइट वा सेवाका लागि फरक फरक पासकी सेटअप गर्नुपर्ने हुन्छ, जसले अथेन्टिकेसन डिटेलको पुनः प्रयोगको सम्भावनालाई हटाउँछ । यस बाहेक पासकीले फिशिङ आक्रमणहरूको सम्भावनालाई लगभग असम्भव बनाउँछ, किनभने ह्याकरले तपाईँको डिभाइस भौतिक रूपमा नलिई र लक स्क्रिन खोल्न नसकी तपाईँको कोड क्र्याक गर्न सक्दैन । पासकीले लगइनका चरणहरूलाई सुव्यवस्थित गर्छ, जसले गर्दा प्रत्येक पटक लगइन गर्दा विभिन्न चरणको झन्झटबाट पनि मुक्ति मिल्छ ।
परम्परागत साइन-इन प्रक्रियामा टु-फ्याक्टर अथेन्टिकेसन अझै पनि अत्यन्तै जरुरी मानिन्छ । तर पासकी प्रयोग गर्दा भने यसको आवश्यकता पर्दैन । किनभने पासकीमा पहिलो चरण (पासवर्ड) सान्दर्भिक नरहने भइसकेपछि सोझै दोस्रो चरणको लगइनमा जान सकिन्छ, जसको काम पासकी आफैँले गर्दछ ।
पासकी कसरी स्टोर हुन्छ ?
प्राविधिक रूपमा पासकीहरू ‘पब्लिक की क्रिप्टोग्राफी’ (public key cryptography) मार्फत इन्क्रिप्टेड गरिएको हुन्छ । यसको अर्थ त्यो पब्लिक र प्राइभेट कीको जोडीमा भर पर्छ, जहाँ प्राइभेट की तपाईँको लोकल डिभाइसमा गोप्य रूपमा स्टोर गरिन्छ । तपाईँले लगइन गर्ने साइटले तपाईँको त्यो प्राइभेट की कहिल्यै देख्दैन र यसको उपस्थिति र वैधताको पुष्टि मात्र प्राप्त गर्छ । की आफैँ तपाईँको डिभाइसमा रहन्छ र तपाईँले प्रमाणीकरण नगरेसम्म इन्क्रिप्टेड रहन्छ । वास्तविक पासकी डेटा लगइनको समयमा कहिल्यै ट्रान्सफर हुँदैन र यसलाई पासवर्ड जस्तै कपी वा पेस्ट गर्ने कुनै संयन्त्र नै हुँदैन ।
अधिकांश मानिसहरूका लागि इन्क्रिप्टेड पासकी डेटा गुगल पासवर्ड म्यानेजर (एन्ड्रोइडसँग सम्बन्धित), आईक्लाउड कीचेन (आईओएससँग सम्बन्धित) र वन पासवर्ड वा बिटवार्डेन जस्ता थर्ड-पार्टी पासवर्ड म्यानेजर जस्ता सुरक्षित अकाउन्टमा सिंक हुन्छ । यी सेवाहरूमा स्टोर गरिएको पासकीको भर्सन सुरक्षित रूपमा र्याप गरिएको हुन्छ र कुनै कच्चा, पढ्न योग्य, वा ट्रान्सफर योग्य रूपमा हुँदैन । डेटा तपाईँको भेरिफाइड डिभाइसमा भएपछि मात्र लोकल रूपमा डिक्रिप्सन हुन्छ र लगइन प्रक्रिया पूरा हुन्छ ।
डिभाइस फेर्दा वा हराउँदा के गर्ने ?
यदि तपाईँले आफ्नो डिभाइस गुमाउनुभयो वा नयाँ डिभाइस लिनु भयो भने पनि पासकीहरू सुरक्षित रहन्छन् । यदि कुनै डिभाइस हरायो भने यसको लक स्क्रिनले अरूलाई त्यसको पासकीमा पहुँच पाउनबाट रोक्छ । साथै, हराएको डिभाइसलाई सकेसम्म चाँडो रिमोट्ली रिसेट गर्न सल्लाह दिइन्छ ।
अधिकांश अवस्थामा अन्तर्निहित डेटा पासकी तयार पार्ने सर्भिस (जस्तै गुगल पासवर्ड म्यानेजर वा आईक्लाउड कीचेन) मा सुरक्षित रूपमा स्टोर गरिन्छ । तपाईँले नयाँ डिभाइसमा सोही सेवामा साइन इन गरेर आफ्नो पासकीमा पहुँच पाउन सक्नुहुन्छ । धेरै सर्भिसहरूले विभिन्न डिभाइसमा धेरै पासकी तयार पार्ने र व्यवस्थापन गर्ने अनुमति पनि दिन्छन् । जस्तै गुगलले आफ्नो गुगल अकाउन्ट वेबसाइट मार्फत यस्तो काम गर्छ । यदि सबै विफल भएमा अधिकांश प्लेटफर्महरूले तपाईँलाई ब्याकअपको रूपमा आफ्नो परम्परागत पासवर्ड प्रयोग गरेर साइन इन गर्न अनुमति दिन्छन् ।
केही प्रयोगकर्ताहरूले पासकीलाई भौतिक प्रकारको सेक्युरिटी की (physical security key) मा स्टोर गर्न पनि सक्छन् । जुन यूएसबी वा ब्लुटुथ स्टिकको रूपमा हुन सक्छ । उदाहरणको रूपमा युबिको र गुगलले यस किसिमका सेक्युरिटी की बनाएका छन् । यस्ता की एउटा डिभाइसमा मात्रै सीमित हुन्छ, जुन हराएमा अरू विकल्प बाँकी हुँदैन । त्यसैले बढी सावधानी अपनाउनु पर्ने हुन्छ ।
पासकीहरू कहाँ र कसरी प्रयोग गर्ने ?
हाल पासकी सपोर्ट त्यति व्यापक भइसकेको छैन । यस्तोमा कुनै प्लेटफर्मले पासकी सपोर्ट गर्छ वा गर्दैन भनेर जान्नको लागि सेटिङमा गएरै जाँच्नुपर्ने हुन्छ वा त्यसको उपलब्धताका लागि पर्खनु पर्ने हुन्छ । यद्यपि, एप्पल, गुगल, माइक्रोसफ्ट, एडोबी, लिंक्डइन, जोहो जस्ता धेरै एप तथा सर्भिसले पासकी सपोर्ट थपिरहेका छन् । पासकी डट डाइरेक्ट्री (Passkeys.directory) नामक क्राउडसोर्स गरिएको साइटमा पासकी उपलब्ध भएका प्लेटफर्महरूको सूची फेला पार्न सकिन्छ ।
पासकी सिर्जना गर्ने प्रक्रिया सेवा अनुसार फरक हुन सक्छ । सामान्यतया, यदि कुनै सर्भिसले पासकी सपोर्ट गर्छ भने, त्यसले लगइन गर्दा स्वतः एउटा पासकी तयार पार्न प्रोत्साहित गर्छ वा यसको सेक्युरिटी वा साइन-इन सेटिङमा विकल्प दिन्छ । एक पटक सेट अप गरेपछि पासकी प्रयोग गरेर लगइन गर्न सामान्यतया बटन क्लिक गरेर आफ्नो पहिचान पुष्टि गर्ने कुरा हो ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ ९:३२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आज नेपालमा आफ्नो नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फोन १० जुलाई, २०२५ देखि नेपालभरका पसलहरूमा उपलब्ध हुनेछ ।
ओप्पो ए ५ लाई एक बलियो डिजाइन भएको फोनको रूपमा प्रस्तुत गरिएको छ, जसले भरपर्दो टिकाउपन प्रदान गर्ने बताइएको छ । ओप्पो ए ५ ले पानी र धुलो प्रतिरोधका लागि आईपी ६५ रेटिङ प्राप्त गरेको छ ।
यसको सिलबन्द डिजाइनले बालुवा, फोहोर जस्ता कणहरूलाई डिभाइसमा प्रवेश गर्नबाट रोक्छ । जसले यसलाई घर बाहिरका कामहरू, निर्माण स्थल वा धुलोयुक्त वातावरणमा समेत प्रयोग गर्न सकिने बनाएको छ । यो फोनले वर्षा, आकस्मिक रूपमा पेय पदार्थ पोखिने र घरायसी छिटपुट तरल पदार्थबाट पनि जोगाउँछ ।
यसको डिजाइनमा सिम ट्रे जस्ता पोर्टहरूलाई सिलिकन गास्केटले सुरक्षित गरिएको छ भने यूएसबी-सी इन्टरफेसमा वाटरप्रुफ सकेट प्रयोग गरिएको छ । आन्तरिक कम्पोनेन्टहरूलाई कम्पन र प्रभावबाट जोगाउन फोम एडहेसिभ र ग्लु डिस्पेन्सिङ राखिएको छ ।
कम्पनीका अनुसार यसको बलियो भित्री र बाहिरी बनावटले फोनलाई लामो समयसम्मका लागि टिकाउ र मर्मतको आवश्यकता समेत घटाउने बनाएको छ । ओप्पो ए ५ ले मिलेट्री-ग्रेड शक प्रतिरोधी र एसजीएस गोल्ड लेबल रेटिङका साथ टिकाउपनमा नयाँ मापदण्ड सेट गरेको छ ।
यसको फ्ल्यागशिप-स्तरको डबल-टेम्पर ग्लास स्क्रिनले स्ट्यान्डर्ड ग्लासको तुलनामा १६०% बढी प्रभाव सहन सक्ने दाबी छ । ओप्पो ए ५ ले सामान्य अवस्थामा खस्ने, चाबीले कोरिने देखि गाडीले कुल्चिने जस्ता प्रयोगशाला परीक्षणहरूमा टिक्न सक्ने क्षमता देखाएको उल्लेख छ।
यसमा ६,००० एमएएच ब्याट्री रहेको छ । जुन ५ वर्षसम्म ढुक्कले टिक्ने बताइएको छ । आफ्नै एड्भान्स हार्डवेयर र इन्टेलिजेन्स सफ्टवेयर इनोभेसनको संयोजनका कारण ब्याट्रीले १,७०० चार्ज साइकलपछि पनि ब्याट्री हेल्थ ८०% भन्दा बढी कायम राख्न सक्ने ओप्पोले जनाएको छ ।
ओप्पो ए ५ मा ४५ वाटको सुपरभोक टीएम फ्ल्याश चार्ज प्रविधि पनि समावेश छ । जसले फोनलाई २१ मिनेटमा ३०% र ८४ मिनेटमा १००% चार्ज गर्न सक्छ ।
कलरओएस १५ मा आधारित यो फोनमा गुगल जेमनाई एआई असिस्टेन्ट जस्ता उन्नत एआई फिचरहरू समेत रहेका छन् । फोनमा ५० एमपीको अल्ट्रा-क्लियर मेन क्यामेरा, २ एमपी डेप्थ सेन्सर र ५ एमपी फ्रन्ट क्यामेरा दिइएको छ ।
फोनमा स्न्यापड्रागन ६ एस फोरजी जेन १ मोबाइल प्लेटफर्म चिपसेट, ६ जीबी सम्मको र्याम र १२८ जीबीको स्टोरेज दिइएको छ । १००० निट्सको ब्राइट डिस्प्ल, ३००% अल्ट्रा भोलुम मोड र सिमलेस सेलुलर/वाई-फाई नेटवर्क स्विचिङ २.०जस्ता विशेषता समेत यो फोनमा छन् ।
डिजाइनको कुरा गर्नु पर्दा यो फोन स्टाइलिश डिजाइनमा आएको छ । ओप्पो ए सिरिजको प्रतिष्ठित हल्का र अल्ट्रा-स्लिम डिजाइनलाई निरन्तरता दिइएको छ भने फोनको मोटाई ७.९९ एमएम र तौल मात्र १९३ ग्राम रहेको छ ।
ओप्पो ए ५ को ६ जीबी र्याम + १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन बिहीबारदेखि नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोन ०% ब्याजदरको ईएमआईमा पनि खरिद गर्न सकिनेछ जसका लागि ४०% डाउन पेमेन्ट र बाँकी १२-महिनाको सजिलो किस्ताबन्दी योजना रहेको छ ।
लन्च अफरको रूपमा १० जुलाईदेखि ९ अगस्टसम्म ओप्पो ए ५ खरिद गर्ने ग्राहकले २ वर्षसम्मको विस्तारित वारेन्टी पाउने छन् ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १४:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आधिकारिक वेबसाइटमा बिहीबार दिउँसो एउटा गम्भीर प्राविधिक त्रुटि सार्वजनिक भएपछि वेबसाइट ह्याक भएको आशंका उत्पन्न भयो । यद्यपि, अध्यागमन विभागले यसलाई ह्याक नभई सफ्टवेयरमा आएको सामान्य प्राविधिक समस्या भएको दाबी गरेको छ ।
तर, वेबसाइटमा देखिएको त्रुटिको विवरणले सरकारी वेबसाइटको सुरक्षामा गम्भीर कमजोरी रहेको र ह्याकरका लागि सहज निशाना बन्न सक्ने खतरा देखाएको छ ।
बिहीबार दिउँसो करिब २ बजेतिर वेबसाइटमा ‘foreach() argument must be of type array|object, null given’ भन्ने सन्देशसहितको डिबग स्क्रिन देखिएको थियो । यो त्रुटि सार्वजनिक हुनु भनेको वेबसाइटको भित्री कोड, फाइलको संरचना (जस्तै; resources/views/home.blade.php) र सर्भरमा चलिरहेको सफ्टवेयर (PHP 8.1.2) को जानकारी बाहिरिनु हो ।
वेबसाइटको कोडले तस्बिरहरूको एउटा सूची (list) मागेको थियो, ताकि त्यसलाई एक-एक गरी वेबसाइटमा देखाउन सकियोस् । तर, त्यो सूचीको ठाउँमा प्रणालीले ‘केही पनि छैन’ (null) भन्ने जवाफ पायो । खाली चिजमाथि काम गर्न नसक्ने भएकाले प्रणालीले काम गर्न बन्द गर्यो र त्रुटिको सन्देश देखायो ।

यस्तो संवेदनशील जानकारी सार्वजनिक हुनुलाई साइबर सुरक्षा विज्ञहरूले ‘ह्याकरलाई घरको ठेगाना दिनु’ जस्तै मान्छन् । यसले भविष्यमा आक्रमणको जोखिम बढाउने उनीहरूको भनाइ छ ।
यसबारे प्रतिक्रिया दिँदै अध्यागमन विभागका कम्प्युटर अपरेटर सुरेश खड्काले वेबसाइट ह्याक नभएको बताए । एउटा सूचनालाई वेबसाइटमा पप-अपको रूपमा देखाउन पीडीएफ फाइललाई तस्बिरमा बदल्ने क्रममा प्रणालीले त्रुटि सही तरिकाले व्यवस्थापन गर्न नसक्दा ‘Exception Handling’ समस्या देखिएको उनले सुनाए ।
“पीडीएफ कन्भर्जन गर्ने क्रममा प्रणालीले त्यसलाई ठीकसँग ‘ह्यान्डल’ गर्न सकेन,” उनले टेकपानासँग भने, “यो सफ्टवेयरमा देखिने सामान्य समस्या हो ।”
सूचना सफलतापूर्वक अपलोड भएपछि त्रुटि आफैँ हटेर वेबसाइट सामान्य अवस्थामा फर्किएको विभागको भनाइ छ । विभागले आफूअन्तर्गतका १४ ओटै वेबसाइट एउटै प्रणालीबाट चल्ने र एउटा ह्याक हुँदा सबैमा असर पर्ने, तर बिहीबारको घटनामा त्यस्तो नदेखिएकोले यो ह्याकिङ नभएको तर्क गरेको छ ।
यद्यपि, सरकारी र संवेदनशील निकायको वेबसाइटमा डेभलपरले मात्र हेर्नुपर्ने ‘डिबग मोड’ सार्वजनिक रूपमा सक्रिय रहनुले वेबसाइटको सेक्युरिटी अडिट र व्यवस्थापनमा चरम लापरवाही भएको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ २२:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स)ले जेठ महिनामा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गएको जेठ महिनामा १ खर्ब ७६ अर्ब ३० करोड रुपैयाँ विप्रेषणका रुपमा नेपाल भित्रिएको हो । यसअगाडी गत वैशाख महिनामा पनि १ खर्ब ६५ अर्ब ३० करोड रकम भित्रिएको थियो । सो रकम यस अगाडी एकै महिनामा भित्रिएको मध्ये सबैभन्दा धेरै रकम थियो । यसैगरी गत फागुनमा १ खर्ब ५१ अर्ब र गत असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ विप्रषणका रुपमा नेपाल भित्रिएको थियो ।
गत ११ महिनामा (साउनदेखि जेठसम्म) रेमिट्यान्समार्फत १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको जेठ महिनासम्ममा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
अमेरिकी डलरमा गत जेठ महिनामा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । जापान, युरोप लगायतका मुलुकहरुबाट आउने रकम बढेसँगै नेपाल आउने विप्रेषणको रकम बढेको हो ।
गत ११ महिनामा वैदेशिक रोजगारीका लागि ४ लाख ५२ हजार ३ सय २४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको तुलनामा यो धेरै हो । गत आर्थिक वर्षको ११ महिनामा ४ लाख २१ हजार ३ सय ५६ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ६१ हजार २ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । काठमाडौँको टोखामा मंगलबार दिउँसो ईभी माइक्रोबसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीय सोनम योञ्जनको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब ३:३० बजे टोखा नगरपालिका-६ स्थित ग्रान्डी सडकखण्डमा बा.प्र-०१-००२ ज ७३७८ नम्बरको माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक योञ्जनको उपचारका क्रममा मृत्यु भएको हो । उनी परिवारसहित भक्तपुरको थलीमा बस्दै आएका थिए ।
प्रहरी वृत्त महाराजगन्जका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले ठक्कर दिने माइक्रोका चालक टोखाका २९ वर्षीय सुरेन शिलवाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । शिलवालविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् । प्रहरी निरीक्षक पन्थीका अनुसार मृतक योञ्जनले राइड शेयरिङ प्लेटफर्ममार्फत यात्रु तथा सामान डेलिभरीको काम गर्ने गरेको खुलेको छ ।
“दुर्घटनाका समयमा उनी कुन प्लेटफर्ममा सक्रिय थिए भन्ने यकिन भइसकेको छैन । हामी इनड्राइभ र पठाओसँग विवरण मागेर अनुसन्धान गर्दैछौँ,” उनले भने ।
मृतकको परिवारले भने दुर्घटना हुँदा योञ्जनले इनड्राइभ नै चलाइरहेको दाबी गरेको छ । यस विषयमा इनड्राइभले मृतक योञ्जन आफ्नो प्लेटफर्ममा दर्ता भएको चालक रहेको स्वीकार गरेको छ ।यद्यपि, कम्पनीले दुर्घटनाको दिन उनी सक्रिय नरहेको दाबी गरेको छ ।
“उहाँको मृत्युको खबरले हामी दुःखी छौँ । हाम्रो प्रणालीअनुसार उहाँले अन्तिम पटक शनिबार मात्रै हाम्रो प्लेटफर्म प्रयोग गर्नुभएको देखिन्छ,” इनड्राइभले भनेको छ, “हामी अनुसन्धानमा सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्न तयार छौँ ।”
यसैगरी, अर्को राइड शेयरिङ प्लेटफर्म पठाओले भने योञ्जन आफ्नो प्लेटफर्ममा दर्ता नै नभएको स्पष्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ २३:२२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । दुर्गेश थापाको म्युजिक भिडिओले युट्युबमा अपलोड भएको एक दिनमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड कायम गर्न सफल भएको छ । बुधबार साँझ अपलोड भएको ‘जाने भए जाम माया’ बोलको उक्त गीतले २१ घण्टामै १७ लाखभन्दा बढी भ्युज पाएको छ । यससँगै उक्त म्युजिक भिडिओ नेपालमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । जसमा यो समाचार तयार पार्दासम्म १ लाख ९२ हजार लाइक र करिब १७ हजार कमेन्ट आइसकेका छन् ।
यसअघि एक दिनमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड विष्णु माझीको नाममा रहेको थियो । ‘आइनँ आमा यो तीजमा‘ बोलको उक्त गीत गीतले अपलोड भएको २४ घण्टामा १४ लाख भ्युज पाएको थियो ।
दुर्गेशको म्युजिक भिडिओमा सिसन बानियाँ, गुराँस नानी लगायतको अभिनय रहेको छ । दुर्गेश, सिसन र अल्हाजी जेरोको स्वर रहेको गीतको शब्द र लय दुर्गेशकै छ ।
अपडेट: यस म्युजिक भिडिओले युट्युबमा अपलोड भएको २४ घण्टामा १९ लाख बढी १० हजार बढी भ्युज पाएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १८:१८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । वैदेशिक रोजगारको विषयलाई राजनीतिक दृष्टिकोणबाट बहस र छलफल चलाउन तथा अभियानहरु सञ्चालनको उद्धेश्य सहित नयाँ सञ्जाल आप्रवासन महिला सञ्जाल (मञ्जरी)को सुरुवात गरिएको छ । सो सञ्जालले महिलावादी दृष्टिकोणबाट आप्रवासी महिलाको अधिकार र नेतृत्व सुनिश्चितताका लागि राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा पैरवी गर्ने लक्ष्य राखिएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को अगुवाईमा सुरु गरिएको सो सञ्जालले आप्रवासनको राजनीतिक विश्लेषण गर्दै आप्रवासनमा जोडिएका महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि पैरवी र बहस निर्माण गर्ने साझा मञ्च रहेको अधिकारकर्मी डा. रेणु अधिकारीले बताइन् । उनले वैदेशिक रोजगारको सन्दर्भमा राजनीतिक ढंगले विश्लेषण नै नहुने गरेको भन्दै महिलालाई विचराको दृष्टिकोणबाट हेर्ने गरिएको तर समस्याको जरोमा छलफल नै नभइरहेको हुँदा मञ्जरीले त्यसलाई चिर्ने बताइन् । उनले हाल मञ्जरीमा ८ वटा संस्थाहरु सदस्य रहेको भन्दै यसमा आगामी दिनमा महिला आप्रवासी श्रमिकहरु, महिलावादी अभियन्ताहरु, अधिकारकर्मीहरु र आप्रवासनको विषयमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरु, शैक्षिक क्षेत्रका व्यक्ति तथा विषयविज्ञहरु सदस्य बन्न सक्ने बताइन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगारीबाट फर्किएका तीनजना महिला र डा. अधिकारीले मञ्जरीको औपचारिक शुभारम्भ गरे । मञ्जरीले महिला आप्रवासी श्रमिकहरुमाथि हुने शोषण, लाञ्छना र वहिष्करणको मृद्धालाई साझा रुपमा उठान गरी नीतिगत समाधानको लागि खवरदारी गर्ने लक्ष्य राखेको छ ।
सो अवसरमा बोल्दै आप्रवासन विषयकी अध्येता डा. मीना पौडेलले राज्यले सहजिकरण गर्नुपर्ने ठाउँमा घरेलु श्रम गर्न विदेश जान चाहनेहरुलाई बन्देज लगाएर अपराधिकरण गरेको बताइन् । संसदिय समितिले ७ बुँदे शर्तको नाममा तेस्र्याएको अवरोधले समस्या अझ थपेको उनको भनाई थियो । आफ्नै मुलुकले गर्नुपर्ने काम नगर्ने तर गन्तव्य मुलुकसँग शर्त राख्ने काम जायज नरहेको डा. पौडेलले धारणा राखिन् ।
डा. पौडेलले आर्थिक, सामाजिक रुपमा पछाडी पारिएका व्यक्तिहरुलाई रोजगारीका लागि विदेश पठाएर नेपालले अर्थतन्त्र धानिरहेको र पश्चिम एसियाका मुलुकहरुले पनि सस्ता श्रमिक लगेर उनीहरुलाई शोषण गरेर समृद्धि हासिल गरेको बताइन् । राज्य संरक्षित वैदेशिक रोजगार व्यवसायीहरुबाट श्रमिक मारमा परिरहेको अध्येता पौडेलको भनाई थियो ।
सोही अवसरमा बोल्दै ब्रुनेल युनिभर्सिटी, लण्डनका ‘पोलिटिकल जियोग्राफी’का लेक्चरर डा. आयुषमान भगतले आप्रवासनमा रंगभेद चर्को समस्या रहेको बताए । उनले गोरो छाला भएकाहरु र गहुँगोरो वा कालो छाला भएकाहरु प्रति गरिने विभेदको दृष्टान्त प्रस्तुत गर्दै अन्य मुलुकबाट युरोपका मुलुकहरु वा अमेरिका गएकाहरुले सो मुलुकको नागरिक सरह व्यवहार प्राप्त गर्न नसक्ने बताए । उनले खाडीका मुलुकहरुमा काम गर्न जाने न्यून दक्ष श्रमिकहरु मात्र नभई बेलायतमा काम गर्न गएका नर्सहरुले पनि उस्तै विभेद भोगिरहेको भन्दै यसका बारेमा छलफल हुनुपर्ने धारणा राखे । आप्रवासनको राजनीतिक दृष्टिकोणबाट पर्याप्त छलफल नभइरहेको अवस्थामा मञ्जरी उपयुक्त मञ्च हुन सक्ने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पद्म प्रसाद खतिवडाले जनसांख्यिक रुपमा नेपालमा विश्वको प्रवृत्ति भन्दा फरक अवस्था रहेको भन्दै किन यस्तो भइरहेको छ भनेर अध्ययन हुनुपर्ने बताए । नेपालमा आप्रवासनको विषयमा गहन अध्ययन आवश्यक छ भन्ने निश्कर्षका साथ त्रिभुवन विश्वविद्यालयमा माईग्रेसन स्टडीजको अध्ययन सुरु गरिएको उनको भनाई थियो ।
संविधानसभाका सदस्य समेत रहेका अधिकारकर्मी सुनिल बाबु पन्तले सबैभन्दा धेरै आप्रवासन विवाह मार्फत हुने गरेको भन्दै यो विषयमा पर्याप्त ध्यान नदिइएको बताए । उनले फरक लैंगिक पहिचान भएका व्यक्तिहरु गाउँमा बस्न नसकेर शहर पस्नु पर्ने बाध्यतामा रहेको र शहरमा पनि टिक्न उनीहरुलाई मुस्किल पर्ने गरेको जानकारी दिए । नेपालमा बस्न नसकेर वैदेशिक रोजगारमा जाँदा त्यहाँ अझ समस्यामा पर्ने गरेको भन्दै उनीहरुलाई सचेत बनाउने तर्फ प्रस्थानपूर्वको अभिमुखिकरणमा पनि विषयवस्तु नसमेटिएको पन्तको भनाई थियो ।
यसैगरी टिडिएचकी आप्रवासन कार्यक्रमकी क्षेत्रीय कार्यक्रम संयोजक सन्ध्या सिटौलाले नेपालको आप्रवासन सम्वन्धी विद्यमान नीति, कानुनहरुले युवा र महिलाको विषयलाई समेट्न नसकेको धारणा राखिन् । उनले जतिसुकै राम्रा द्धिपक्षिय श्रम सम्झौताहरु गरिएपनि तिनको व्यवहारिक कार्यान्वयन कमजोर रहेको भन्दै यसका दृष्टिकोण देखि नै स्पष्ट हुन जरुरी रहेको औंल्याइन् ।
सो अवसरमा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवि बरालले नीतिगत पैरवी, क्षमता विकास लगायतका विषयमा सञ्जालले काम गरिरहेको जानकारी दिंदै यसले असुरक्षाको अवस्थालाई कम गर्न मद्धत पुर्याएको धारणा राखे । उनले नयाँ नयाँ आयामहरु आउने भन्दै हाल युरोप आप्रवासनको रुपमा ठगि, शोषण बढेको धारणा राखे । उनले सञ्जालका तर्फबाट गरिएको काममा मञ्जरीले थप क्षेत्रहरुमा नविन ढंगले काम गर्ने अपेक्षा गर्दै शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले आप्रवासन र महिलाका मृद्धाहरु, नीतिगत रुपमा देखिएका चुनौति, मञ्जरीको आवश्यकता बोध लगायतका विषयमा जानकारी गराएकी थिइन् । सो अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले आफ्नो अनुभव पनि आदानप्रदान गरेका थिए ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । शैक्षिक प्रयोजनका लागि उडेको ड्रोन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा खसेको पाइएको छ । टेक्स्पायर कलेजका विद्यार्थीले बनाएको ड्रोन परीक्षणका क्रममा अनियन्त्रित भई संसद् भवनको छतमा खसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, उक्त ड्रोन टेक्स्पायरका विद्यार्थीहरूले ‘सेमेस्टर टास्क’ को रूपमा बनाएका थिए । असार २३ गते राति कलेज परिसरबाट ड्रोनको परीक्षण उडान गर्ने क्रममा जीपीएस सिग्नलले काम नगरेपछि त्यो नियन्त्रण बाहिर गएर हराएको थियो ।
हराएको ड्रोन २४ गते बिहान संसद् भवनको छतमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली कलेजमा पुग्दा प्रधानाध्यापक लक्ष्मण पोखरेलले कलेजका कोर्स कोअर्डिनेटर विजयबाबु रेग्मी र विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताब रेजालाई ड्रोन निर्माण गरी परीक्षण गर्न ‘सेमेस्टर टास्क’ दिइएको जानकारी गराएका थिए ।
कलेज प्रशासनले घटना प्राविधिक त्रुटिका कारण भएको स्वीकार गर्दै प्रहरीलाई ड्रोन निर्माणका लागि खरिद गरिएका उपकरणको बिल र घटनाबारे जानकारीसहितको पत्र बुझाएको छ ।
प्रधानाध्यापक पोखरेलका अनुसार ड्रोनका लागि आवश्यक पार्टपुर्जा खरिद गरी कलेजमै एसेम्बल गरिएको थियो । सोही दिन राति ९:१० बजे ड्रोनको ‘थ्रस्ट टेस्ट’ गर्ने क्रममा जीपीएस सिग्नल गुमेपछि त्यो अनियन्त्रित भई हराएको थियो ।
प्रहरी वृत्त, नयाँ बानेश्वरले घटनाको प्राविधिक तथा अन्य पक्षबारे गहिरो अनुसन्धान भइरहेको जनाएको छ । ड्रोन खस्नुमा कुनै गलत नियत थियो वा यो केवल प्राविधिक त्रुटि मात्र हो भन्नेबारे अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार: नेपालको संसद्मा एउटा ठुलो ड्रोन आएर खसेको समाचार छः सांसद रामहरि खतिवडा
पछिल्लो अध्यावधिक: असार २६, २०८२ २१:६
सामाग्री श्रोत :
टेक पाना




