
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ।
आज यहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफल मुलुकभित्रै सवारीसाधन अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानालगायत कर्मचारीको उपस्थिति थियो।
सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए।
‘मन्त्रालयको महत्त्पूर्ण योजनामध्ये मुद्रण केन्द्रलाई नियमित सञ्चालन गर्नु पनि एक हो। यथाशीघ्र केन्द्रमार्फत छपाइको काम सुरुआत गर्नेछौँ। त्यसका लागि आवश्यकपर्ने भौतिक र प्राविधिक तयारीमा लाग्नेछौँ’, उनले भने।
मन्त्री गुरुङले स्वदेशमा आवश्यक कागजात छाप्नु भनेको देशको स्वाभिमान र गौरवका साथै रोजगारीका अवसर सृजना हुने भएकाले सरकारका छपाइसम्बन्धी कार्य केन्द्रमार्फत गर्ने तयारी भइरहेको बताए। स्वदेशमा आयआर्जन हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने भएकाले यथाशीघ्र छपाइलाई निरन्तरता दिने उनले उल्लेख गरे।
यातायातमन्त्री दाहालले सरकार नयाँ र महत्त्वपूर्ण कार्यको सुरुआत गरेर जनतामा सकारात्मक र भरोसापूर्ण सन्देश छोड्नुपर्ने धारणा राखे। उनले सञ्चार मन्त्रालयसँग यथाशीघ्र सहकार्य गरेर सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छापाइसम्बन्धी लिखित सम्झौता गरिने प्रतिबद्धता जनाए।
सञ्चार सचिवसमेत रहेकी सुरक्षण मुद्रण केन्द्रकी अध्यक्ष अर्यालका अनुसार छलफलमार्फत सञ्चार मन्त्रालयले सवारीसाधन अनुमपतिपत्र छाप्न सकिने निष्कर्ष निकालेको छ। केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले छलफलमा उठेका विषयलाई सञ्चालक समितिको बैठकमा प्रस्ताव पेस गरेर सम्झौतामा हस्ताक्षर गर्नेदेखि छाप्ने मिति तय गरिने जानकारी दिए।
‘अहिले छलफल मात्रै भएको हो। कहिले छाप्ने भन्ने मिति तय भएको छैन’, उनले भने।
छलफलले करिब ३० लाख लाइसेन्स छाप्नसक्ने निष्कर्ष निकालेको छ। दुई वर्षअघि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो। त्यसपछि कार्यकारी निर्देशकविहीन भएको केन्द्र निष्क्रिय बनेको थियो।
सञ्चारमन्त्री गुरुङले निष्क्रिय अवस्थामा रहेको केन्द्रलाई पुनःजीवित बनाउन छपाइसम्बन्धी प्रक्रिया सुरु गर्न जरुरी रहेको बताए। कर्मचारीविहीन केन्द्र सञ्चालनका लागि कार्यकारी निर्देशक ढुङ्गानालाई नियुक्त गरिएको थियो। उनी आएपछि छपाइ कार्य सुरु गर्न लागिएको हो।
सञ्चारमन्त्री गुरुङले छापाखाना प्रविधियुक्त बनाउन, कर्मचारी व्यवस्थापनलगायत विषय प्रभावकारी बनाउन आवश्यक तयारी थालिएको बताए। कुनै पनि नेपाली कागजात बाहिर छाप्नु नपर्ने भन्दै हुलाक टिकट, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायत कागजपत्र स्वदेशमा छापाइ हुँदा देशको राजस्वमा टेवा पुग्ने उनको भनाइ छ।
मन्त्री गुरुङले एक–दुई दिनभित्र लाइसेन्स छाप्ने विषयमा यातायात मन्त्रालय र केन्द्रसँग सहमति गरी छपाइ थालिने स्पष्ट पारे। ‘यही वर्षभित्र छपाइ सुरु गर्छौं। एक–दुई दिनमा लिखित सहमति गरेर बाँकी प्रक्रिया सुरु गर्छौं’, उनले भने।
सामाग्री श्रोत :
सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय
काठमाडौँ । भारत सरकारले आगामी जेठ २ गतेदेखि सुरु हुने ‘सगरमाथा संवाद’ लाई लक्षित गर्दै नेपाललाई १५ ओटा विद्युतीय गाडी उपहारस्वरूप प्रदान गरेको छ । आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई टाटा कम्पनीको ‘कर्भ ईभी’ हस्तान्तरण गरेका हुन् ।
उक्त उपहारबारे सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सार्वजनिक गर्दै मन्त्री डा. राणाले यो सहयोगले जलवायु संकट विरुद्धको साझा प्रतिबद्धता झल्काएको बताएकी छिन् ।
“आगामी सगरमाथा संवादको सहयोगार्थ १५ ओटा विद्युतीय सवारी साधन प्रदान गरेकोमा भारत सरकारप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्दछौं । यो महत्त्वपूर्ण योगदानले वातावरणीय दिगोपनप्रति र क्षेत्रीय सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” डा. राणाले भनिन् ।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे विश्वको ध्यानाकर्षण गराउने र समाधानका लागि साझा धारणा बनाउने उद्देश्यसहित नेपाल सरकारले जेठ २ देखि ४ गते (१६–१८ मे) सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको हो ।
भारतले उपलब्ध गराएको कर्भ ईभी टाटा कम्पनीद्वारा निर्मित एक एरोडाइनामिक डिजाइनमा आधारित विद्युतीय गाडी हो । यसमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाटको मोटर जडान गरिएको छ ।
गाडी चार्ज गर्न ७.२ किलोवाटको एसी होम वाल बक्स चार्जर र ४० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने डीसी फास्ट चार्जर सुविधा दिइएको छ ।
कर्भ ईभीले ४०० देखि ४२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ । यसमा ३१.२४ सेन्टिमिटरको सिनेम्याटिक टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट छ ।
सुरक्षाको लागि दोस्रो तहको एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम, ६ ओटा एयरब्याग, चार ओटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, इन्टेलिजेन्ट भ्याकुम-लेस बुस्ट, एक्टिभ कन्ट्रोल (iVBAC) लगायतका सुरक्षा फिचर समावेश छन् ।
हिल होल्ड असिस्ट प्रणालीले यो गाडी नेपालजस्ता पहाडी भूगोलमा पनि सहज र सुरक्षित बनाउने बताइएको छ । गत फागुनमा नेपाली बजारमा सार्वजनिक गरिएको कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १५:३५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसमाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो । छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।
आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् ।
आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।
नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे। बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो।
सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए। ‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ।’
मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भैरहेको बताए।
‘हामीसँग आर्थिक अभाव भएको कुरा सत्य हो,’ उनले भने, ‘यसलाई मध्यनजर गर्दै अधिकतम श्रोतको उपयोग गरेर नागरिकलाई सुविधा प्रदान गरेका छौं।’
मन्त्री पौडेलले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए। यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए।
थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताए।
अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइरहेको उनको सचिवालयले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई ४ बर्ष अनाबश्यक थुनामा राखेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले १० बर्षमा मुद्दा सकिएको भए पनि थप ४ बर्ष अनावश्यक थुनेको बताएका हुन् ।
‘१० बर्षमा मुद्दा सकियो तर थप ४ बर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने ।
उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व् र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए । ‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाई हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन् भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो?’
उनले केही दिन अघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाई प्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिब्यक्ति सुने, म त पाको भएँ, कहाँ भाग्न सक्छु र रु नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने रु भाग्ने त तपाई युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौ, हामी भाग्दैनौं ।’
सामाग्री श्रोत :
राजतन्त्र कालमा आफुलाई फ्रिमा ४ बर्ष थुनेको प्रधानमन्त्रीको भनाई
काठमाडौँ । इसाई धर्मसँग सम्बन्धित भिडिओमा अभिनय गरेपछि सामाजिक सञ्जालमा आलोचित बनेका कलाकार सुरवीर पण्डित (दारी बा) ले सार्वजनिक रूपमा माफी मागेका छन् । शनिबार चर्चित टेलीश्रृङ्खलाले ‘मेरी बास्सै’ को आधिकारिक सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् ।
भिडिओ सन्देशमा पण्डितले केही दिनअघि दुई ओटा इसाई गीतमा आफूले अभिनय गरेको स्वीकारेका छन् । कलाकारिताको धर्म निर्वाह गर्ने क्रममा र अग्रजको ‘जे अगाडि आउँछ, त्यसलाई प्रसाद सम्झेर अगाडि बढ्नुपर्छ’ भन्ने भनाइलाई शिरोधार्य गर्दै उक्त भूमिका स्वीकारेको उनले स्पष्ट पारे ।
आफ्नो अभिनयले दर्शकको मन दुखेकोमा आफू मर्माहत भएको बताउँदै पण्डितले भने, “हाम्रो उद्देश्य कसैको मन दुखाउनु पटक्कै थिएन, सिर्फ कलाकारिता गर्ने मात्रै थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु ।”
आगामी दिनमा धर्म, संस्कार, संस्कृति र राष्ट्रले गर्व गर्ने किसिमका काम गर्ने प्रतिबद्धता जनाउँदै उनले दर्शकबाट निरन्तर आशीर्वादको अपेक्षा गरे । पण्डितले भिडिओमा आफ्ना सहकर्मी कलाकार रामचन्द्र अधिकारी (काजी साब) को तर्फबाट समेत क्षमायाचना गर्दै भने, “यो एउटा बुबाआमा, काका, एउटा अज्ञानी सम्झेर हामीलाई क्षमा गरिदिनुहोला । अब हामी यस्तो गर्दैनौँ ।”
पण्डित र अधिकारीले अभिनय गरेका इसाई धर्मसम्बन्धी गीतको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले हिन्दु धर्म-संस्कृतिमाथि प्रहार भएको भन्दै चर्को आलोचना गरेका थिए ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १५:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्याङ मात्रै हो ? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवालले यस्तो प्रश्न गरेका हुन्।
उनले मुलुकको सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब र १५ खर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरे।
उनले जनताको निराशा हटाउने र तीव्र आर्थिक वृद्धि यही हो ? भन्दै प्रश्न गरे। उनले पतञ्जलि, गिरिबन्धु चियाबगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब, व्यापार घाटा १५ खर्ब, राजस्व तलब नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तीव्र आर्थिक वृद्धि हो? समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य तीन दशकपछि बुढ्यौली समाज बनाउने, २५ प्रतिशत नागरिक अहिले पनि कुपोषणको कारण पुड्कोपन हुने यही हो र ? पतञ्जलि, गिरिबन्धु चियाबगान, बालमन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई के कारबाही हुँदै छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताए।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए।
“त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो । थालनी भएका आयोजना रोकिने स्थिति रहनुु हुँदैन”, प्रधानमन्त्रीले भने । थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न गर्ने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको उनको भनाइ थियो ।
पूर्वाधार विकासका नयाँ परियोजना बनाउँदा ‘सम्भाव्यता, जोखिम र प्रतिफल’को लेखाजोखाजस्ता सरोकार भएका निकायहरुको चासो र पुँजीको सुनिश्चितता र प्रतिबद्धता व्यक्त गर्नुअघि ‘नगद प्रवाह, जोखिम न्यूनीकरण र कानुनी सुरक्षा’ लगायत लगानीकर्ता र ऋणदाताको चासो समेटिएको ‘बिजनेस प्लान’ विकास गर्नुपर्ने नीति नयाँ भएको प्रधानमन्त्री ओलीले बताए।
सरकारका निकायबाट सञ्चालित कार्यक्रम उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारबीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाउने नीति अघि सारिएको बताए । साथै सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गर्ने, स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनःसंरचना गरिने स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउने प्रधानमन्त्रीले बताए।
सामाग्री श्रोत :
पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री
काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले गत वैशाख २५ गतेदेखि नै छपाइ कार्य रोकिएको जानकारी दिएको हो ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि यस्तो अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।
“विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको छ,” विभागले जारी सूचनामा उल्लेख छ ।
प्रणालीमा देखिएको समस्या समाधान भएपछि छपाइ कार्य पुनः सुचारु गरिने विभागले जनाएको छ । तर, कहिलेसम्ममा समस्या समाधान हुने भन्नेबारे केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १४:०
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन्।
दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ।
उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ।”
“दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ र हामीले अन्य १४ जना गम्भीररूपमा घाइते भएका छन्,’” नाम नबताउने शर्तमा ती अधिकारीले भने।
उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।
श्रीलङ्कामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन्। अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलङ्काका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन्।
श्रीलङ्काको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो। आइतबारको बस दुर्घटना श्रीलङ्कामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो।
सन् २०२१ को मार्चमा दुर्घटनास्थलबाट करिब १०० किलोमिटर पूर्व पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ