
काठमाडौं। काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
काडमाडौं महानगरपालिका–२२ स्थित काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर नबढाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै बजेट भाषण पूर्व चेम्बरले यस्तो सुझाव दिएको हो ।
सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने १०० बुँदे सुझाव पत्र बुझाएको छ । उक्त सुझावमा विद्युतीय सवारी साधनमा कर वृद्धि गर्दा आम नागरिकलाई असर पर्ने र विद्युतीय माइक्रोबस,मिनिबस, ठुलाबस लगायतले वातावरण संरक्षणमा ठूलो योगदान दिनका साथै स्वरोजगार प्रवर्द्धनलाई प्रोत्साहन गर्ने हुँदा सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ ।
“नेपालकै विद्युत खपत हुने मर्मत सम्हारमा पनि ठूलो खर्च नलाग्ने, पेट्रोलियम पदार्थको आयात पनि न्यूनीकरण हुने हुँदा आर्थिक गतिविधि विस्तारका लागि पनि विद्युतीय सवारीको ठूलो भूमिका रहेको देखिन्छ,” सुझावपत्रमा लेखिएको छ, “सार्वजनिक विद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस, ढुवानीका ठुला साधनहरू, कृषिजन्य तथा हेवी इक्युपमेन्टमा तत्कालका लागि युरो ६ मा नजान उपयुक्त हुने देखिन्छ ।”
धेरै संख्याको स्वरोजगारसंग प्रत्यक्ष जोडिएको विषय भएकाले युरो ६ मा लैजाँदा सवारी साधनहरुको मूल्यमा ३० प्रतिशत सम्म वृद्धि हुन जाने भएका कारण समग्र यातायात क्षेत्रको लागत बढ्न गई आम जनता तथा स्वरोजगार नागरिकलाई प्रत्यक्ष असर पर्ने चेम्बरको भनाइ छ ।
यस्तै सुझावपत्रमा चेम्बरले सूचना प्रविधि क्षेत्रको विकास र विस्तार गर्दै अन्तराष्ट्रिय ठूला आईटी कम्पनीको व्याकअपका रुपमा जनशक्ति र प्रविधी विस्तार गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ । साथै उद्योग व्यवसाय दर्ता, खारेजीका साथै राजश्व तिर्न सरल र झण्झटरहित बनाउन सबै प्रक्रियालाई अनलाइन भुक्तानी प्रक्रियामा लैजानका लागि पनि चेम्बरले सरकारलाई सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १८:२३
सामाग्री श्रोत :
टेक पाना
चितवन – नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
सोमबार नदीमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपालीको मृत्यु भएको हो।
मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
रौतहट- नेपाल चिकित्सक संघको रौतहट शाखा गठन भएको छ।
संघका केन्द्रीय अध्यक्ष डा अनिल कार्की, उपाध्यक्ष डा निरज सिंह, महासचिव डा सन्जिब तिवारी, सहकोषाध्यक्ष डा विक्रान्त ढकालको उपस्थितिमा शाखा र तदर्थ समित गठन भएको हो।
शाखाको सभापतिमा डा सुवास कुमार चौधरी चयन भएका छन्। वरिष्ठ उपसभापतिमा डा कौशर आलम, उपसभापतिमा डा राकेश चौधरी, सचिवमा डा मनोज कुमार कौशल, कोषाध्यक्षमा डा शषि रंजन तिवारी, सहसचिवमा डा नविन कुमार सिंह र सहकोषाध्यक्षमा डा राम भरोस प्रसाद चयन भएका छन्।
यसैगरी सदस्यहरुमा डा श्याम बाबु साह, डा राकेश कुमार साह, डा पंकज कुमार साह, डा यादव प्रसाद घिमिरे, डा राम ईश्वर साह, डा अमरेश कुमार यादव, डा अम्बेडकर कुमार यादव र म. सवरे आलम चयन भएका छन्।
सल्लाहकारमा प्रो डा राजेन्द्र कुमार चौधरी र डा अभिनन्दन श्रीवास्तव रहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
सुर्खेत। कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ। उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो।
कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।
रामाघाट–साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ। मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नु पर्नेछ। कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो।
सडक डिभिजन कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो। सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए। ‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’ उनले भने, ‘निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो।’
राजमार्ग जेठ ११ गतेसम्म दैनिक विहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ। लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताए।
२०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का के एस के शिशिर बसन्त जेभीले पाली–रामाघाट १२ र सिस्ने–साईगाउँ १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ। कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिए। बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म वेश विछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ। नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक भएको छ । शनिबार नेपथ्यको आधिकारिक वेबसाइटमा भिडिओ सहितको नयाँ गीत रिलिज भएको हो ।
यसअघि युट्युब सहित अन्य डिजिटल प्लेटफर्ममा गीत सार्वजनिक हुँदै आएकोमा यस पटक आधिकारिक वेबसाइटमै रिलिज भएको छ । नेपथ्यको वेबसाइट व्यवस्थापनको जिम्मा लिएको कम्पनी नेपालयका अनुसार पहिलो पटक यस्तो प्रयोग गरिएको हो ।
यस म्युजिक भिडिओका छोटा क्लिप युट्युब तथा टिकटकतिर उपलब्ध भए पनि पूरा भिडिओ हेर्न आधिकारिक वेबसाइटमै पुग्नुपर्ने हुन्छ । “हामीले लाखौं आम्दानी नै गर्छौं भन्नुभन्दा पनि यस्तो किसिमको प्रयास गरौं, वेबसाइट व्यवस्थापनको खर्च पनि धानिन्छ भनेर ल्याएका हौ,” नेपालयका अर्पण शर्माले भने, “दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको छ ।”
यसका लागि न्यूनतम शुल्क १० रुपैयाँ तोकिएको छ । शर्माका अनुसार डिजिटल वालेटबाट एपीआईमार्फत न्यूनतम कारोबार १० रुपैयाँको गर्नुपर्ने भएकाले उक्त रकम तोकिएको हो । नेपालबाहेकका देशबाट भने १ अमेरिकी डलर तिरेर खरिद गर्न सकिन्छ ।
कसरी खरिद गरेर सुन्ने ?
– सबैभन्दा पहिले यहाँ क्लिक गरेर नेपथ्यको वेबसाइटमा जानुहोस् ।
– त्यसपछि फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्ने अप्सन देखिन्छ । त्यसबाट आफूलाई उपयुक्त हुने अप्सन छान्नुहोस् ।
-
हामी यहाँ गुगल अकाउन्ट प्रयोग गर्दैछौं । त्यसैले गुगल अप्सन छानिसकेपछि आफूले चाहेको गुगल अकाउन्ट छान्नुहोस् । (एउटा मात्र गुगल अकाउन्ट लगइन छ भने तपाईंले त्यही अकाउन्ट छाने पुग्छ ।)
-
यति गरेपछि तपाईंको अकाउन्ट खुल्छ ।
-
त्यसपछि ‘गेट एक्सेस टु दिस भिडिओ’ लेखको बक्समा आफूले चाहेको रकम छान्नुहोस् । (याद गर्नुहोस् न्यूनतम १० रुपैयाँ छान्नुपर्ने हुन्छ ।)
-
यति भएपछि ‘बाइ नाउ’को बटनमा ट्याप गर्नुहोस् ।
-
त्यसपछि फोनपे क्यूआर, ईसेवा, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र बैंकको अप्सन देखिन्छ ।
-
आफूलाई पायक पर्ने अप्सन छानेर तपाईं शुल्क तिर्न सक्नुहुन्छ ।
-
यदि तपाईं कुनै अर्को व्यक्तिलाई रकम तिर्न लगाउँदै हुनुहुन्छ भने तलपट्टि रहेको ‘क्लिक टु कपी’ भन्ने बटनमा क्लिक गरी लिङ्क कपी गरेर साथीलाई पठाउन सक्नुहुन्छ ।
तपाईंको साथीले उक्त लिङ्क खोलेर माथि उल्लेख भएका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् । सबै प्रक्रिया पूरा गरेर भुक्तानी गरियो भने उक्त भिडिओ स्क्रिनमा देखिन्छ । र, तपाईंले भिडिओ हेर्न र गीत सुन्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १७:१९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्।
बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन्।
प्राध्यापक युनुसले भने,“बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ”।
उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे। गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।
उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे। “हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने।
त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन्।
“नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ,” उनले भनिन्।
हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको उपसभामुख रानाले प्रशंसा गरिन्। उनले यसमार्फत दुई देशबिचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन्।
त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ। प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे।
त्यसअवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मेलम्ची। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकारले ध्यान दिने बताएका छन्।
सोमबार मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन्। उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिबद्धता जनाए।
उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए। पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाई थियो।
त्यस्तै सो क्षेत्रका सांसद मोहन बस्नेतले बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल बनाएपनि प्रभावकारी बनाएकाले स्थायी संरचना बनाउनुपर्नेमा जोड दिए।
विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो। निरीक्षणका क्रममा मन्त्री खड्कालाई सोही क्षेत्रका स्थानीयहरूले बाढीपहिरोले पुगेको क्षतिको पुन निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
सामाग्री श्रोत :
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माणमा सरकारले ध्यान दिन्छः ऊर्जामन्त्री खड्का
काठमाडौँ। माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथले अमेरिकी सिनेटको एक सुनुवाइका क्रममा आफ्ना कर्मचारीलाई ‘डिपसिक’ नामक एआई एप प्रयोग गर्न प्रतिबन्ध लगाइएको खुलासा गरेका छन् । डेटा सुरक्षा र चिनियाँ प्रोपोगान्डाको जोखिमलाई उद्धृत गर्दै स्मिथले माइक्रोसफ्टले आफ्नो एप स्टोरमा पनि डिपसिकलाई स्थान नदिएको बताएका हुन् ।
“माइक्रोसफ्टमा हामी हाम्रा कर्मचारीलाई डिपसिक एप प्रयोग गर्न अनुमति दिदैँनौ,” स्मिथले भने । प्रयोगकर्ताको डेटा चीनमा स्टोर हुन सक्ने र डिपसिकका प्रतिक्रिया ‘चिनियाँ प्रोपोगान्डा’बाट प्रभावित हुन सक्ने जोखिमका कारण यो कदम चालिएको स्मिथले स्पष्ट पारे ।
डिपसिकको गोपनीयता नीतिले पनि प्रयोगकर्ताको डेटा चिनियाँ सर्भरमा स्टोर हुने र उक्त डेटा चिनियाँ कानुनको अधीनमा रहने कुरा उल्लेख गरेको छ । यस अन्तर्गत डिपसिकले चिनियाँ गुप्तचर निकायसँग सहकार्य गर्नुपर्ने हुन्छ । साथै डिपसिकले चिनियाँ सरकारले संवेदनशील मान्ने विषयमाथि कडा सेन्सरसिप लगाउने गरेको पनि बताइएको छ ।
टेकक्रन्चका अनुसार माइक्रोसफ्टले डिपसिकमाथि यस्तो प्रतिबन्धबारे सार्वजनिक रूपमा जानकारी दिएको यो पहिलो पटक हो । यद्यपि विभिन्न संघसंस्था र देशले डिपसिकमाथि कडा प्रतिबन्ध नै लगाइसकेका छन् । अमेरिकी वाणिज्य विभाग र अमेरिकी नौसेना लगायत विभिन्न सरकारी निकायले पनि यो विवादास्पद एआई मोडेलमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
डिपसिक र च्याटजीपीटी जस्ता एआई मोडेलले प्रयोगकर्ताले दिने जानकारी र व्यक्तिगत डेटा सङ्कलन र स्टोर गर्ने तरिकाका कारण गोपनीयताका लागि चुनौती बनेको आरोप लाग्दै आएको छ । अमेरिकी कंग्रेसले विशेष रूपमा डिपसिकलाई राष्ट्रिय सुरक्षा र गोपनीयताका लागि ‘गम्भीर खतरा’को रूपमा वर्णन गरेको छ ।
कंग्रेसको प्रतिवेदनअनुसार डिपसिकले ‘च्याट हिस्ट्री, डिभाइसको विवरण र व्यक्तिले टाइप गर्ने तरिका’ समेतका डेटा सङ्कलन गर्छ । “नजिकबाट निरीक्षण गर्दा एपले जनवादी गणतन्त्र चीन (पीआरसी) मा डेटा पठाउने, प्रयोगकर्ताका लागि सुरक्षा कमजोरी सिर्जना गर्ने र चिनियाँ कानुनअनुसार सूचनालाई गोप्य रूपमा सेन्सर र हेरफेर गर्ने मोडेलमा निर्भर रहेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
यसबाहेक डिपसिक च्याटबटले एक महत्त्वपूर्ण डेटा ब्रिचको सामना पनि गरेको थियो । त्यस घटनामा डिपसिकबाट १० लाखभन्दा बढी रेकर्ड बाहिरिएका थिए ।
माइक्रोसफ्टको दोहोरो रणनीति ?
स्मिथले डिपसिकप्रति आलोचनात्मक टिप्पणी दिए पनि माइक्रोसफ्टले यसै वर्षको सुरुमा डिपसिक भाइरल भएपछि यसको आर वन (R1) मोडेल आफ्नो एज्योर क्लाउड सेवामा उपलब्ध गराएको थियो । तर, यो डिपसिकको च्याटबट एप आफैं उपलब्ध गराउनु भन्दा फरक कुरा हो । डिपसिक ओपन सोर्स भएकाले जो कोहीले पनि यो मोडेल डाउनलोड गर्न, आफ्नै सर्भरमा भण्डारण गर्न र डेटा बाहिर जान दिनबाट रोक्न सक्छन् । यद्यपि यो तरिका प्रयोग गर्दा प्रोपोगान्डा फैलाउने वा असुरक्षित कोड उत्पन्न गर्ने जस्ता अन्य जोखिम हट्दैन ।
सिनेट सुनुवाइका क्रममा स्मिथले माइक्रोसफ्टले डिपसिकको एआई मोडेलभित्र गएर ‘हानिकारक असर’ हटाउने गरी त्यसलाई ‘परिवर्तन’ गर्न सफल भएको दाबी गरेका थिए । माइक्रोसफ्टले एज्योरमा डिपसिकलाई राख्नुअघि सुरक्षा परीक्षण गरिएको बताएको थियो । तर यसमा के कस्ता परिवर्तन गरियो भन्नेबारे विस्तृत जानकारी दिएको छैन ।
डिपसिक एप माइक्रोसफ्टकै कोपाइलट इन्टरनेट सर्च च्याट एपको प्रत्यक्ष प्रतिस्पर्धी हो । यद्यपि माइक्रोसफ्टले आफ्ना सबै च्याट प्रतिस्पर्धीहरुलाई विन्डोज एप स्टोरबाट प्रतिबन्ध लगाएको छैन । उदाहरणका लागि पर्प्लेक्सिटी विन्डोज एप स्टोरमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १६:१७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ।
तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो।
विभागका निर्देशक हिमाल गौतमले भने,“सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ।” आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन्।
अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्। सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ।
मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ। सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ। उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए। उनले भने,“मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन। चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला।”
मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।
सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो।
मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो। मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो। तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ) सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ।
कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ। यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे।
नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्। त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गर्नुभएको छ। मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन्।
आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन्। त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ।
वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए।
यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।
सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ