
काठमाडौँ । स्याङ्जाकी न्यून मध्यमवर्गीय परिवारकी सम्झना शर्मा (नाम परिवर्तन) लाई प्रहरीले २९, वैशाखमा काठमाडौँ झिकायो । उनीमाथि अनलाइन ठगीमा संलग्न भएको आरोपमा उजुरी परेको थियो । प्रहरीले बोलाएपछि आमा र सानो भाइसँगै काठमाडौँ आइपुगेकी उनको अवस्था निकै दयनीय थियो ।
प्रहरीका अनुसार सम्झना लाखौँको ठगी प्रकरणमा मुछिएकी थिइन् । काठमाडौँ आउनकै लागि गाउँबाट ऋणपान गरेर आएकी उनको यहाँ बस्ने कुनै ठेगाना थिएन । उनको दैनिकी नै प्रहरीले बोलाएको समयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय धाउनु बनेको थियो । रोमन र देवनागरीका सामान्य शब्द मुश्किलले पढ्न सक्ने सम्झना कसरी यो अनलाइन ठगीको जालोमा परिन् ?
यो घटनाको नालिबेली बुझ्न २०८० सालको साउन महिनातिर फर्कनुपर्छ । गाउँकै एकजना दाइ पर्नेको घरको वाईफाई मोबाइलमा कनेक्ट गरेर बरन्डामा बसी फेसबुक स्क्रोल गर्दै थिइन् उनी । त्यही क्रममा उनलाई एक अपरिचित व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आयो ।
गोरो अनुहार, अङ्ग्रेजी अक्षरको नाम, उनलाई त्यो अक्षर बुझ्नै समय लाग्यो । “नाम खै के थियो मोबाइल हेर्नुपर्छ, ममी मोबाइल ल्याउनु त,” टेकपानासँग आफ्नो व्यथा पोख्दै गर्दा सम्झनाले ती व्यक्तिको नाम सम्झिन मोबाइल माग्दै थिइन् । फोनमा ग्यालरी एप निकालेर स्क्रिनशट देखाइन् । त्यसमा रोबर्ट एलेक्जेन्डर नामको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको देखिएको थियो । रोबर्टको अकाउन्टमा एकजना मात्र साथी एड छन् ।
“फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेँ, गर्नासाथ मेसेज आयो,” सम्झनाले घटनाको बेलिविस्तार लगाइन्, “तर, अङ्ग्रेजी शब्द आएको भएर मैले बुझिँन । नेपाली बाहेक अरु म बुझ्दिन भनेर मेसेज पठाएँ ।”
रोबर्टले मेसेजको रिप्लाइ दिँदै आफूलाई नेपाली पनि बोल्न आउने बताए । कुरा गर्दै जाने क्रममा रोबर्टले आफू ब्राजिलको नागरिक भएको र हाल पाइलट भएको बताए । त्यसलाई प्रमाणित गर्न पाइलटको पोशाक लगाएका फोटो पनि पठाए । यसरी सुरु भएको संवाद तीन/चार महिना लम्बियो । उनीहरूबीच निरन्तर कुरा हुन थालेको थियो । “कुरा गर्दा उनी आफूलाई नेपाल घुम्ने चाहना धेरै भएको बताउँथे । परिवारको विषयमा पनि कुराहरू हुन्थ्यो । उनले आफ्नो बुबा नभएको र आमासँगै बस्ने गरेको सुनाएका थिए,” सम्झनाले सम्बन्ध अगाडि बढ्दै गरेको प्रसंग सुनाइन्, “दुःख पाएर पाइलट बनेको रहेछ जस्तो लाग्यो ।”
दशैँताका उनलाई रोबर्टले अनौठो प्रस्ताव राखे । आफू नेपाल आउन लागेकाले नेपाली रकम आवश्यक पर्ने र त्यसका लागि नेपाली बैंक खाता चाहिने सुनाए । सम्झनाले पनि केही समयअघि मात्र बैंक खाता खोलेकी थिइन् । गाउँकै एक बहिनीले बैंकमा जागिर खाएपछि बैंक खाता खोल्न सुझाव दिएकी थिइन् । आफ्नो खर्चै धान्न नसक्ने अवस्थाकी सम्झनालाई बैंक खाता चाहिएकै थिएन । त्यही पनि बहिनीले करकाप गरेपछि उनले बैंक खाता खोलिन् । त्यसको केही समयपछि एटीएम कार्ड पनि पाएकी थिइन् ।
यता रोबर्टले पनि बैंक खाता आवश्यक परेको सुनाएका थिए । “मैले किन दिने बैंक खाता भनेको थिएँ,” पुरानो कुराकानी स्मरण गर्दै सम्झनाले अगाडि भनिन्, “म नेपाल आएपछि तिमीलाई पनि सहयोग गरौंला । पछि ब्राजिल नै ल्याउन पनि सकिन्छ भनेर उनले प्रस्ताव राखेका थिए ।”
उनलाई लाग्यो विदेशी मान्छे नेपाल आउँदा नेपाली रुपैयाँ त चाहिन्छ । ‘सायद अरूले पनि त्यस्तै गर्छन्’ होला भन्ने उनले ठानिन् । त्यसपछि एटीएम र सिमकार्ड पठाउने प्रक्रियाबारे रोबर्टलाई सोधिन् । उनले कुरिअर गर्नुपर्ने सुझाव दिए । सामान भारतमा भएका उनका आफन्तलाई दिनुपर्ने भयो । “मेरो आफन्तहरू भारतमा छन् । उनीहरूले नै तिमीले पठाएको एटीएम कार्ड र सिम रिसिभ गर्छन्,” रोबर्टले मेसेजमा सम्झनालाई भनेका थिए, “सामान पाउने व्यक्तिको नाम अलि खान राख्नु, उनैले रिसिभ गर्छन् ।”
सम्झनाले पनि रोबर्टको प्रस्ताव मानिन् र पठाउन तयार भइन् । “हामी एकदम नजिकको साथी भएका थियौं । उनले मागेपछि साथीको नाताले पनि सहयोग गर्नुपर्छ जस्तो लाग्यो,” सम्झनाले थपिन् । तर, सामान कुरिअर गर्नका लागि उनलाई ५०० रुपैयाँ चाहिने भयो । त्यसका लागि उनले गाउँकै अर्की एक बहिनीसँग सापटी मागिन् । उनलाई त्यो रकम रोबर्टले नै तिरिदिन्छन् भन्ने लागेको थियो । पछि उनी नेपाल नै आउँछन् भन्नेमा ढुक्क भएपछि कुरा मिल्छ भन्ने उनको सोच थियो ।
पैसा जुटेपछि सम्झना सदरमुकाममा रहेको कुरिअर कार्यालय पुगिन् । भारतको दिल्लीमा ‘कागजात’ पठाउनुपर्ने भन्दै उनले ५०० रुपैयाँको रसिद काटिन् र आफ्नो एटीएम कार्ड तथा सिम कुरिअरलाई जिम्मा लगाएर घर फर्किइन् । त्यसको तीन दिनसम्म उनीहरूबीच राम्रै कुराकानी भयो । रोबर्टले आफूलाई थप बैंक खाता चाहिने भन्दै सम्झनालाई नयाँ खाता खोल्न दबाब दिइरहेका थिए । तर, सम्झनाले आफूसँग पैसा नभएको बताउँदै थप खाता खोल्न मानेकी थिइनन् ।
तीन दिनपछि रोबर्टले सम्झनाले पठाएको एटीएम कार्ड र सिम पाएको खबर पठाए । त्यसपछि पनि केही दिनसम्म उनीहरूबीच कुराकानी भइरहेको थियो । तर, केही समयपछि सम्झनाको मेसेन्जरबाट रोबर्टको अकाउन्टमा मेसेज जान छाड्यो, उनको प्रोफाइल पनि देखिन छोड्यो । त्यससँगै रोबर्टबाट पनि मेसेज आउन बन्द भयो । सम्झनालाई के भइरहेको छ भन्ने पत्तै भएन । उनी सम्झन्छिन्, “एटीएम पाएँ भनेर उनले मेसेज गरेपछि न मेरोबाट मेसेज गयो, न उनको नै आयो । मेरो बैंक खातामा पैसा त थिएन, तैपनि उनको मेसेज आउन छाडेपछि मलाई लाग्यो, सायद उनलाई केही समस्या पर्यो कि !”
कुराकानी टुटे पनि सम्झना रोबर्ट नयाँ वर्षसम्ममा नेपाल आउलान् भन्ने आशामा थिइन् । कुराकानीकै क्रममा रोबर्टले आफू वैशाखमा नेपाल आउने सम्भावना प्रवल रहेको बताएका थिए । वैशाखभरि सम्झना रोबर्ट आउने आशामै बसिन् । तर, २८ वैशाखमा प्रहरी कार्यालयबाट उनकी आमाको नम्बरमा फोन आयो । आफ्नो सिम रोबर्टको हातमा पारेपछि आमाको सिम आफैँसँग भएकाले फोन उनैले उठाइन् । फोनमा कुरा सुनेपछि भने उनी छाँगाबाट खसेझैं भइन् ।
वास्तवमा रोबर्टले उनको सिम र बैंक खाता दुरुपयोग गरिरहेका रहेछन् । उनले सम्झनाको सिम प्रयोग गरी खोलिएको ह्वाट्सएपबाट सर्वसाधारणलाई सम्पर्क गर्ने, महँगा सामान पठाइदिने प्रलोभन देखाउने, अनि रकम सम्झनाकै खातामा जम्मा गर्न लगाएर ठगी गर्ने धन्दा चलाएका थिए ।
प्रहरी कार्यालय पुगेपछि मात्र सम्झनाले उनको खाताबाट दश लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको थाहा पाइन् । एकजना पीडितले सम्झना विरुद्ध उजुरी दिएकी थिइन् । ह्वाट्सएपमा सम्पर्क गरेका व्यक्तिले महँगो उपहार पठाइदिने भन्दै प्रलोभनमा पारी साठी हजार रुपैयाँ आफ्नो (पीडितको) बाट सम्झनाको खातामा हाल्न लगाएर ठगी गरी फरार भएको पीडितको उजुरीमा लेखिएको थियो । त्यही उजुरीका आधारमा नम्बर र बैंक खाता विश्लेषण गर्दा प्रहरीले सम्झनाको संलग्नता भएको फेला पारेको थियो ।
टेकपानाले यस विषयमा सम्झनासँग कुरा गर्दा उनी रोबर्टको फोटो देखाउँदै ति व्यक्तिलाई कतै फेला पारे प्रहरीलाई खबर गरिदिनु भन्दै अनुरोध गरिरहेकी थिइन् । उनले देखाएको रोबर्टको फोटो गुगल रिभर्स इमेज सर्च गर्दा क्यानेडियाली अभिनेता जेम्स टपरको थियो ।
—
घटना २
—
सम्झनाको जस्तै कथा छ अनु श्रेष्ठ (नाम परिवर्तन) को पनि । झण्डै एक वर्षअघि उनलाई फेसबुकमा डा. रिचमन्ड हेराल्ड नाम गरेको एक व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नाम देख्ने बित्तिकै उनले त्यो रिक्वेस्ट स्वीकार गरिन् । त्यसपछि उनीहरू केही समय फेसबुकमै गफिन थाले । फेसबुकमा कुराकानी बाक्लिँदै गएपछि उनीहरू ह्वाट्सएपमा जोडिए ।
“ह्वाट्सएपमा कुरा हुन थालेपछि एकदिन हेराल्डले मलाई प्रेम प्रस्ताव राखे,” अनु सम्झिन्छिन्, “उनले आफू जर्मनीको नागरिक भएको बताएका थिए, तर पछि बेलायतमा डाक्टरको काम गर्ने गरेको सुनाए ।”
यसरी कुराकानी भएको झन्डै तीन महिनापछि हेराल्डले अनुलाई आफ्नो एउटा ‘योजना’ सुनाए । उनले आफू कुनै विशेष कामले भारतको राजधानी नयाँ दिल्ली आएको र त्यहाँ आफूलाई एउटा नेपाली बैंक खाता अत्यावश्यक परेको बताए ।
“मैँले ‘तिमीलाई नेपाली बैंक खाता किन चाहियो ?’ भनेर सोध्दा उनले ‘अस्पतालको मेसिनरी सामानको भुक्तानी लिन चाहिएको हो, केही फरक पर्दैन’ भने,” अनुले हेराल्डसँग भएको कुराकानी सम्झिइन् ।
त्यसपछि उनले आफ्नो बैँकको एटीएम कार्ड र त्यो खातामा दर्ता भएको सिम हेराल्डलाई कुरियर गरेर नयाँ दिल्ली पठाइन् । केही दिनपछि हेराल्डले एटीएम र सिम पाएको जानकारी अनुलाई दिए । त्यसपछि उनले ती खाताहरू प्रयोग गर्न थाले । यता अनुलाई भने हेराल्डले ती खाता कसरी र कुन प्रयोजनका लागि प्रयोग गरिरहेका छन् भन्ने अत्तोपत्तो थिएन ।
पछि फेरि हेराल्डले अनुलाई थप खाता खोल्न अनुरोध गरे । अनुले ‘प्रेमीलाई सहयोग गर्नुपर्छ’ भन्ने सोचेर आठ ओटा विभिन्न बैंकमा खाता खोलिन् र ती सबैका एटीएम कार्ड लिएर पहिलेकै जस्तै हेराल्डलाई कुरियर गरेर पठाइन् ।
तर, हेराल्ड भनिने ती व्यक्तिले वास्तवमा ती खाता नेपालीलाई ‘महँगो सामान पठाइदिन्छु’ भन्ने बहानामा रकम ठग्नका लागि दुरुपयोग गरिरहेका थिए । “उनी विदेशी नागरिक, त्यसमाथि डाक्टर । अनि हाम्रो प्रेम सम्बन्ध पनि थियो । उनले मलाई बेलायत लैजान्छन् भन्ने आशामा मैले उनले भने अनुसार नै एटीएम कार्ड र सिम पठाइदिएकी थिएँ,” अनुले प्रहरीलाई बयान दिने क्रममा भनिन् ।
त्यस्तै एउटा खातामार्फत तीन लाख तीस हजार रुपैयाँ ठगीमा परेको भन्दै एक पीडितले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनु पक्राउ परेकी हुन् । अहिले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।
–
यी दुई त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय विभिन्न बहानामा बैंक खाता हात पारी तिनलाई अनलाइन ठगीमा दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, ‘अनलाइन जागिर’ को प्रलोभन देखाएर पनि यस्ता ठगी गर्ने गरिएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सम्म काठमाडौं उपत्यकामा यस प्रकारका उजुरी परेका थिएनन् । तर, आर्थिक वर्ष २०८०/८१ मा ६० जना यसरी आफ्नो बैंक खाता दिएर अरूका लागि पीडक बन्न पुगे भने उनीहरू स्वयं पनि ठगिएका थिए । सो वर्ष ती ६० जनाविरुद्ध दुई करोड ४७ लाख ७१ हजार रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो ।
चालु आर्थिक वर्षमा भने यो संख्या ह्वात्तै बढेर ४५७ पुगेको छ । अनलाइन ठगीका शिकार बनेकाहरूका लागि यी ४५७ जना पीडकका रूपमा देखिए पनि, वास्तवमा उनीहरूलाई ठग गिरोहले आफ्नो जालमा पारेर दुरुपयोग गरेको देखिन्छ । यसरी यी ४५७ जनाविरुद्ध कुल १८ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
“खासगरी १८ वर्षदेखि २६ वर्ष उमेर समूहका विद्यार्थी, बेरोजगार युवायुवती यस्ता जालोमा परेका देखिन्छन्,” कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “कसैलाई अनलाइन जागिरको लोभ देखाएर बैंक खाता भाडामा लिएको देखिन्छ । कतिले भने यसरी नै पार्सल गर्दै बैंक अकाउन्ट, एटीएम र सिम ठगको हातमा पारेका छन् ।”
घरमै बसीबसी राम्रो आम्दानी हुने लोभमा फस्ने विद्यार्थी अनि प्रेमको मोहमा परेर आँखै चिम्ली विश्वास गरी आफ्नो बैंक खाता अपरिचित व्यक्तिको हातमा सुम्पिने युवायुवती नै यस्ता घटनाका मुख्य शिकार बनिरहेका छन् । क्षणिक कमिसनको लोभमा पर्दा उनीहरू बाहिर हेर्दा पीडकजस्ता देखिए पनि वास्तवमा केही हजार रुपैयाँको लागि उनीहरू आफै ठूलो धोकामा परेका हुन्छन् ।
यस्तो संकटबाट जोगिन कोही आफ्नो नामबाट ठगिएको रकम आफै तिर्न तयार हुन्छन् र उल्टै आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिन्छन् । तर, जो रकम तिर्न सक्दैनन् उनीहरू भने पीडककै रूपमा कानूनी कारबाहीको भागीदार बन्न पुग्छन् ।
प्रहरी उपरीक्षक आचार्यले यस्ता प्रलोभन आएको खण्डमा आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिन्छन् । “विदेशी भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्ति छ । कम्तिमा त्यो अकाउन्ट कस्तो अकाउन्ट हो, उसँग अन्तरक्रिया गर्ने कति छन्, उसले कस्तो प्रलोभन देखाएको छ, यी सबै हेरेर त्यो कस्तो अकाउन्ट हो भन्ने पत्ता लगाउन सकिन्छ,” आचार्य भन्छन्, “कहिल्यै नभेटेको व्यक्तिलाई अनलाइनबाट चिनेको भरमा बैंक अकाउन्ट, एटीएम र सिम दिनु हुँदैन । चिनेकै वा भेटेकै मान्छे हो भने पनि यस्ता विवरण दिनु हुँदैन । यी नितान्त व्यक्तिगत विवरण हुन् । अर्काको लागि आफ्नो बैंक अकाउन्ट वा सिम दिने भन्ने कुरा आयो भने शंका गर्नुपर्छ ।”
पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ ११:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो।
यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।
सामाग्री श्रोत :
विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुने भएकाे छ । बैठक दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । गत वैशाख २४ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख अधिवेशन आह्वान गरेका हुन् ।
आजको बैठकमा अधिवेशन आह्वानको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट धारणा राख्ने कार्यसूची रहेको छ ।
कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
दाङ- दाङमा शून्य बेरूजुको एकमात्र संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। आर्थिक बर्ष २०८०/ ०८१ मा प्रतिष्ठानको शुन्य बेरुजु रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए।
महालेखा परिक्षकले सेवा प्रबाहदेखि आर्थिक हिसाब किताबको अडिटमा प्रतिष्ठानको शुन्य बेरुजु देखिएको हो । प्रतिष्ठानको विगत वर्षहरूमा वार्षिक करोडौ बेरुजू हुने गरेकोमा गत आव०८०/८१ मा मा सून्य वेरूजु भएको हो।
प्रतिष्ठानको आर्थिक कारोबार दोब्बर बढेतापनी बेरूजु सून्य हुनुले सुसाशनको अनुभुती दिएको रजिस्ट्रार लम्सालको दाबि गरे।
प्रतिष्ठानले आर्थिक ऐन नियमको अधिनमा रहेर सबै प्रकृया पुर्याइ आर्थिक कारोबार गर्ने भएकोले यो उपलब्धी हासिल गरेको रजिष्ट्रार लम्सालले बताए।
गत आर्थिक बर्ष प्रतिष्ठानले ६६ करोड बढि आम्दानि गरेकोमा ५६ करोड खर्च भएको थियो । प्रतिष्ठानले गत बर्षसम्म नर्सिङ तर्फ ३० जना, बिएस्सिमा ४० जना बिद्यार्थीले पठनपाठन गराई रहेको छ । त्यस्तै एमबिबिएसमा ५० जना बिद्यार्थीलाई प्रतिष्ठानले पढाइ रहेको छ । यसैगरेर प्रतिष्ठानले एमडि/ एमएस/ एम. एस्सि नर्सिङ गरेर विभिन्न ८ वटा बिषयमा १५ वटा सिट प्राप्त गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको हो ।
आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाइ छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवालासँगको अन्तरक्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।
लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको बताइएको छ यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहितको टोली प्रत्येक वडामा सात दिन बस्ने र आवश्यकता अनुसार १५ दिनसम्म बस्न सक्ने सुविधा मिलाइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १०:५५
सामाग्री श्रोत :
टेक पाना
पोर्चुगल। पोर्चुगिज भाषामा लिज्बोआ भनिने पोर्चुगलको राजधानी लिज्बोन बाह्रैमास चहलपहल भैरहने शहर हो। आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको यो शहर युरोपकै एक भाइब्रेन्ट एन्ड ह्यापेनिङ सिटीमध्ये एक हो। यहाँ कतिबेला टिलिलि घाम लाग्छ र कतिबेला झ्वार्र पानी पर्छ ठेगान हुँदैन। यहाँ कुन देशका नागरिकसँग कुन कर्नरमा ठोक्किन पुगिन्छ त्यसको पनि भर हुँदैन।
लिज्बनको केन्द्रमै पर्ने रोसियो स्क्वायर एक बहुचर्चित साइट हो। त्यही रोसियो स्क्वायरबाट बायरो अल्टोतिर पुरातात्त्विक सडक हुँदै उकालै उकालो पैदल पाँच सात मिनेट जति हिँडियो भने Rua da Oliveira ao Carmo 73 बिन्दुमा पुगिन्छ।
हो त्यहाँ पुग्नु भयो भने तपाईंलाई स्वागत गरिरहेको हुनेछ लोटस रामेनले। यस ओरियन्टल रेष्टुरेन्टमा तेह्र थरीका विभिन्न हातैले ताजाताजा बनाइएको चाइनिज रामेन, विभिन्न स्वादका कोरियन, जापानीज तथा थाइ डिसहरू साथै मीठो नेपाली मम र फ्राइ राइस उपलब्ध हुन्छ। यहाँ क्लासिक,एसिएन र पोर्चुगिज थुप्रै थरीका ककटेलहरू पनि पाइन्छ। पोर्चुगलको विश्वविख्यात पोर्ट वाइन, पोर्चुगिज बियर र अन्तर्राष्ट्रिय ब्रान्डका सफ्ट पेयहरू नपाइने कुरै छैन।
यस रेष्टुरेन्टका सञ्चालकद्वय हुन् खोटाङ नेर्पाकी निलम राई र चितवन ताडीकी रजनी घले । उनीहरू एक अर्काका बेस्ट फ्रेन्ड हुन्। आउनुहोस् उनीहरूको यात्राको छोटो कथा छोटकरीमा जानौँ।
निलम राई काठमाडौंमै हुर्किइन् बढिन्। कपनस्थित ग्राम शिक्षा माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एस एल सि उत्तीर्ण गरेपछि उनले थप अध्ययनको लागि कमर्स विषय रोजिन्। चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा एम बी एस उत्तीर्ण गरिन्। एम बी एस पढ्ने क्रममा उनको भेट भयो चितवनकी रजनी घलेसँग।
रजनी घले चितवनस्थित अक्सफोर्ड कलेजबाट बीबीए सकेर मास्टर्स पढ्न काठमाडौं आएकी थिइन्। त्यसै क्रममा यी दुईको भेट पशुपति बहुमुखी क्याम्पसको एम बी एस कक्षा कोठामा भयो।
“सुरु सुरुमा मलाई यो निलम क्या छुच्ची लाग्थ्यो। पछाडि एक्लै चुपचाप बस्थ्यो। बोल्नै डर लाग्थ्यो” रजनी सुरुसुरुका दिन सम्झँदै हाँस्छिन्। “मलाई चाहिँ त्यो गोरी राम्री केटी को होला भनेर जहिले खुल्दुली लाग्थ्यो” राई भन्छिन्। त्यसरी बडो मुश्किलले धेरैपछि मात्रै एक अर्कासँग बोल्न थालेका उनीहरू अन्ततः अध्ययन सकिँदासम्म बेस्ट फ्रेन्ड भैसकेका थिए।
त्यतिबेलासम्म निलम राईले कहिले टिचिङ त कहिले बङ्गुर फार्मिङसमेत गर्न भ्याइसकेकी थिइन्। एक प्रतिष्ठित बैंकमा अफिसर भएर केहि समय बर्दिबासमा काम समेत गरिन्। उनलाई भित्रभित्रै भने आफ्नै केही व्यापार सुरु गर्ने ठूलो इच्छा थियो। सुकेधारामा एउटा जुत्ता कपडा पसल समेत किनेर चलाइरहेकी थिइन्। रजनी भने त्यसबीच कहिले ट्राभल एन्ड टूरको अफिसमा त कहिले एनजिओमा कार्यरत रहिन्। रजनीले मास्टर्सको पढाइ सुरू गर्नु अगाडि निकै लामो समय डच भाषाको अध्ययनमा नेदरल्यान्डमा समेत बिताइसकेकी थिइन्।
एक दिन अचानक रजनीले राईलाई फोन गर्दै भनिन्, ‘युरोप घुम्ने सपना छ होइन त केटी? लेट्स गो नेदरल्यान्ड’ ‘रज्जुको कुरा सुनेर सुरुमा त म नपत्याएर हाँसे’ राई सम्झन्छिन्। रजनीलाई नजिककाहरू सबैले रज्जु भनेर सम्बोधन गर्छन्। भिजाको प्रक्रिया, ट्राभल एन्ड टूरको लिंक र नेदरल्यान्ड राम्ररी बुझेकी रजनीले आखिर एक ट्रेनिङको सिलसिलामा आफू र आफ्नो बेस्ट फ्रेन्ड राईको भिजा लगाएरै छाडिन्। त्यसपछि यी दुई एक ट्रेनिङ कार्यक्रममा सहभागी हुन नेदरल्यान्ड उडे।
नेदरल्यान्डको दुई महिने बसाईपछि पनि भिजा बाँंकी नै थियो। यी दुई बेल्जियम र जर्मन घुम्न निस्किए। जर्मनबाट त्यतात्यतै पोर्चुगल हानिए। चार दिनलाई भनेर पोर्चुगल गएका उनीहरूको आँखामा राजधानी लिज्बनले ब्यापार गर्ने लोभ जगाइदियो। नेदरल्यान्ड भन्दा बिल्कुलै फरक माहोल रहेको पोर्चुगलमा जताततै आप्रवासीहरू देखिन्थे। त्यहाँ नेपाली रेष्टुरेन्टहरूले पनि राम्रो प्रगति गरिरहेका थिए।
‘यतै केही गर्ने हो त?’ दुबैले एक अर्कालाई सोधे। राम्रो सम्भाव्यता देखेपछि उनीहरूले आखिर पोर्चुगल बस्ने निधो गरे। त्यसपछि एक वकिलको खोजी गरी सम्पूर्ण कागजातका कामहरू सकाए। अब लिज्बोन बस्ने र केही गर्ने पक्कापक्की भयो।
सुरुवातको लागि उनीहरूलाई जागिरको आवश्यकता थियो। त्यही क्रममा राई लिज्बोनको स्थानीय रेष्टुरेन्ट ग्रील एन्ड चिलमा काम गर्न थाले भने उता रजनीले पनि नेपाली रेष्टुरेन्ट याम्बुमा काम थालिन्। लक्ष थियो काम सिकेर केही पैसा जम्मा गरी आफ्नै स्टार्टअप गर्नु।
उनीहरूले त्यसरी दुई वर्ष काम गरेर हेरे। कुनै पनि रेष्टुरेन्ट कसरी फङ्सन गर्दोरहेछ भनेर बुझे। पोर्चुगिज भाषा सिके। धेरथोर पैसा जम्मा गरे। केही पैसा आफन्तहरूलाई सहयोग मागे। तब गएर सम्भव भयो लोटस रामेन जो कि अब पुग नपुग एक वर्षको भैसकेको छ।
यस रेष्टुरेन्टको लगानीको कुरा गर्दा लगभग एक करोड नाघिसकेको बताउँछन् उनीहरू। ५०/५० प्रतिशतको पार्टनरसिप हो रे दुबैको।
‘रामेन नै चाहिँ किन नि?’ भनेर सोध्दा दुबैलाई रामेन मन पर्ने भएकोले आफूलाई मन पर्ने चिज नै किन नबेच्ने भन्ने लागेर हो रे। त्यसमाथि राई थप्छिन्, ‘लिज्बोनमा रामेनको प्रशस्त स्कोप छ नि! चाइनिज ,जापानीज र कोरियन खानाको राम्रो सम्भावना छ यहाँ। त्यसैले पनि आँखा लागेको हो’
उनीहरूको रेष्टुरेन्टमा हाललाई फुल टाइमर स्टाफ एक जना मात्रै छन् भने अरू दुई जना चाहिँ पार्ट टाइम काम गर्छन्। बाँकी उनीहरू सबथोक आफैं गर्छन्। आफै पिठो मुछ्छन् । आफै मेसिनद्वारा फ्रेस फ्रेस नुडल्स तयार गर्छन्। बिहानै गएर टेबुल मिलाउने देखि राती क्लोजिङमा कुर्सीहरू थन्क्याउनेसम्म सब आफैं गर्छन्। भाँडा माझ्छन्। झाडूपोछा गर्छन्। हिसाबखातादेखि बाथरूम साफसम्म सबै सबै प्रशन्न हृदयले गर्छन्।
स्थानीय छिमेकीहरू दुई इमिग्रान्ते (आप्रवासी) युवतीहरूले चलाएको रेष्टुरेन्ट भनेर चकित हुन्छन् रे। ‘कसैकसैले त खोइ त तिमीहरूको साहू भनेर सोध्छन्। जब हामी नै हौँ भन्छौं अचम्म मानेर सँगै फोटो खिच्न आग्रह गर्छन्’ रजनी भन्छिन्।
‘त्यो भन्दा पनि हाँसो लाग्ने कुरा त लिज्बन समलैंगिक सामाजिक परिवेशको हिसाबले अलिक ओपन नै छ नि त! अनि कतिपय युरोपेली ग्राहकहरूले तिमीहरू जोडी हौ भनेर सोध्छन्। होइन बेस्ट फ्रेन्ड हौँ भन्दाभन्दा हैरान’ रजनी हाँस्दै थप सुनाउँछिन्।
उनीहरूले मिलेर रेष्टुरेन्ट नजिकै एउटा अपार्टमेन्ट लिएका छन्। जसमा दुई ओटा कोठा भाडामा समेत लाएका छन् । भाडावालाहरू फेरिरहन्छन् । भाडावाला राख्दा महिलालाई मात्र राख्छन्। यसो गर्नाले उनीहरूलाई बस्ने खर्च अलिक कम पर्न आउँछ। ‘नत्र त पोर्चुगलमा भाडा सारै महङ्गो छ नि हौ!’ पूर्वेली लवजमा राई भन्छिन्।
रजनीलाई पेन्टिङको ठूलो सौख छ। उनीहरूको रेष्टुरेन्टमा भित्ताभरि पान्डाका सुन्दर चित्रहरू कोरिएका छन्। ती सब रजनीले आफ्नै हातले कोरेकी हुन्। राईलाई भने साहित्य र गीतसंगीतमा रूची छ। उनी अाफैं गीत पनि लेख्छिन् रे। उनका फूटकर कविताहरू विभिन्न माध्यमहरूमा प्रकाशित छन्।
मासिक कति कमाई हुन्छ त भनेर सोध्दा राई मुसुक्क हाँस्दै भन्छिन् ‘त्यो चाहिँ नखुलाऔँ होला। लिज्बोनमा घारभाडा यसै पनि महँगो छ। फेरि यो त अलिक सेन्ट्रल एरियामै पर्छ त्यसैले झनै महँगो छ। जेहोस् आजसम्म संतोषजनक छ भन्नु पर्ला ‘ राईकी आमा कलेजोको बिरामी छिन्। आमाको उपचार महँगो छ। नेपालको राम्रो अस्पतालमा आमाको उपचार गराइरहेकी राई हाललाई यसैमा सन्तुष्ट छिन् रे। घले चाहिँ पैसाभन्दा पनि आफूले अनुभव बटुल्दै गरेको र त्यो अनुभव अरबौंको हो भन्दै गफिइन्।
‘फ्रेन्डसिप वा पार्टनरसिप टिकाउने मन्त्र के होला?’ यस प्रश्नमा उनीहरू केहीबेर घोत्लिए। चश्माभित्रका तेजिला आँखा यताउता घुमाउँदै राईले एक अर्काको सम्मान नै प्रमुख कडी भएको जिकिर गरे। प्रतिप्रश्नमा राई भन्छिन्, ‘तपाईंले बशीर बद्रको परखना मत ,परखने में कोई अपना नहिं रहता भन्ने सुन्नु भको छ कि छैन? हो त्यही हो मन्त्र सम्बन्ध टिकाउने’
घले चाहिँ आर्थिक पारदर्शीता र गिभ एन्ड टेक नै सम्बन्धमा मुख्य कुरा रहेको बताउँछिन्। यस प्रश्नको उत्तर उनीहरूको एक अर्काको तारिफतर्फ पो डोरियो। रज्जु यस्ती रज्जु उस्ती। निलम यस्ती निलम उस्ती। एक अर्काको प्रशंसा गरेर नथाक्ने उनीहरू अर्को प्रश्न नगरी रोकिने छाँटकाँट देखिएन त्यसैले अर्को प्रश्न तेर्साइयो-
‘उसो भए तपाईंहरू कति कति वर्ष पुग्नु भो त?’
रजनी हाँस्दै भन्छिन्, ‘ छोरी मान्छेको उमेर नसोध्नु भनेर थाहा छैन तपाईंलाई। तीसको आसपास सम्झनुहोस् न!’
‘कतै यो उमेर स्टार्ट अपको लागि ढिलो पो भयो कि?’ भन्ने प्रश्नमा रजनी तेजिला आँखा झिम्काउँदै भन्छिन्-
‘ए… ! तपाईंलाई के एफ सी कति वर्षको उमेरमा सुरु गरेका थिए भन्ने थाहै पो रैनछ हगि ‘
अन्तमा यी दुई पत्रहरूका मित्रतापूर्ण कुराले विश्व विख्यात कवि रवीन्द्रनाथ ठाकुरको बहुचर्चित रचना एक्ला चलो रे को याद दिलाउँछ। तर सम्पूर्ण रूपले अलग हिसाबमा। कविले यदि आफ्नो डाक कसैले सुन्दैन भने एक्लै हिँड्न प्रेरित गर्छन् भने यी दुईको कथाले चाहिँ साथमा हिँड्न । यदि तपाईंको सोच, भावना , व्यवहार र विचार मिल्छ भने एक्लै होइन सँगै चल्नुहोस् ।
भन्न मन लाग्छ-जोदी तोर डाक सुने कोइ आसे
तोबे दुक्ला चलो रे!
सामाग्री श्रोत :
काठमाडौँ – बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।
साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।
नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ । उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
साधारणतय एम्बुलेन्स भन्नाले आपतकालिन अवस्थामा बिरामीहरुलाई घरबाट अस्पतालसम्म वा एक अस्पतालबाट अर्को अस्पताल सम्म पुरयाउने सवारी साधानलाई एम्बुलेन्स भनेर बुझिन्छ। एम्बुलेन्स शव्द ल्याटिन भाषाको एम्बुलायरबाट आएको हो, जसको अर्थ हिँड्नु भन्ने हुन्छ।बिरामी तथा घाइते व्यक्तिलाई स्वास्थ्य संस्थामा लैजान प्रयोग गरिने निश्चित मापदण्ड भएको विशेष किसिमको सवारी साधनलाई एम्बुलेन्स भनिन्छ।सायरन, बत्त्ती र रङ्गबाट एम्बुलेन्सको पहिचान गर्न सकिन्छ।एम्बुलेन्स सेवा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सेवा हो। गम्भीर प्रकृतिको बिरामी, सुत्करी व्यथा, सडक दुघर्टना, आगालागी तथा प्राकृतिक प्रकोपबाट भएका घट्नाहरुमा तुरुन्त स्वास्थ्य सेवा उपलब्ध गराउन घाइते तथा बिरामीलाई तुरुन्तै अस्पताल पुरयाउनका लागि एम्बुलेन्सको आवश्यक पर्छ।समयमा नै घाइते तथा बिरामीहरुलाई सुविधा सम्पन्न स्वास्थ्य संस्था पुर्याेउन सकेमा उनीहरुको ज्यान बचाउन सकिन्छ।
सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाज्यूको विशेष पहलमा सर्वप्रथम २०७५ साल फागुन महिनामा सोलुखुम्बु दक्षिण कोरिया सेवा समाजको आर्थिक सहयोगबाट स्वास्थ्य चौकी सल्लेरीको नाममा राजश्व छुट सहित एम्बुलेन्स प्राप्त गरे पश्चात एम्बुलेन्स सेवा शुरु गरिएको हो । विशेष गरी कोभिड-१९को माहामारी भएको समयमा सोलुखुम्बु जिल्लाको अन्य स्थानिय तह र जिल्ला अस्पताल फाप्लुमा समेत एम्बुलेन्स नभएको अवस्थामा नगर प्रमुखबाट पालिका अन्तर्गतका स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्सलाई एकीकृत गरी सेवा उपलब्ध गराउने उद्धेश्यका साथ कुशुदेवु जनस्वास्थ्य अभियानको सहयोगमा सञ्चालित स्वास्थ्य चौकी बेनीको एम्बुलेन्स र स्वास्थ्य चौकी सल्लेरीको नाममा भएको दुई वटा एम्बुलेन्सलाई एकिकृत गरी सेवा उपलब्ध गराएको थियो।कोभिड माहामारीको समयमा नगरपालिकाले एम्बुलेन्समा विभिन्न साइजको अक्सिजन सिलिन्डरको व्यवस्था गरी जिल्ला भरीको सयौ बिरामीलाई निशुल्क रुपमा काठमान्डौ सम्म पुरयाई सेवा उपलब्ध गराएको थियो । कोभिड माहामारी नियन्त्रण तथा समयमा नै पहिचान गर्ने क्रममा सयौ व्यक्तिको पि सि आर टेस्ट गर्न जिल्ला भरीका विभिन्न स्थानमा स्वाव संकलन गरी पटक पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा संकलन गरिएको स्वाव एम्बुलेन्स मार्फत पुरयाई सेवा उपलब्ध गराएको थियो।माहामारी तथा आपतकालिन समयमा सोलुदुधकुण्ड नगरपालिकामा मात्र नभएर जिल्ला भरीकै नागारिकहरुलाई समयमा नै उपचार तथा उद्धार गर्न नगरपालिकाको एम्बुलेन्सले महत्वपुर्ण भूमिकाको खेलेको थियो ।
सोलुदुधकुण्ड नगरपालिका ११ वटा वडामा विभाजन रहेको छ। यस नगरपालिका भौगिलिक रुपमा ५६५.६वर्ग किलिमिटरमा फैलिएको छ । भौगोलिक विकटताको कारण सबै क्षेत्रमा एम्बुलेन्स सेवालाई सहज रुपमा उपलब्ध गराउन २०७५ साल फाल्गुन महिनामा एकवटा एम्बुलेन्सबाट शुरु गरेको एम्बुलेन्स सेवालाई २०७८ साल फागुन सम्म आइपुग्दा बोस एड्भन्चेर प्रा. लि.को आर्थिक सहयोगमा तत्कालिन स्वास्थ्य चौकी टाप्टिङ हाल वोङछु शेर्पा मेमोरियलको नाममा राज्श्व छुट गरी प्राप्त एम्बुलेन्स व्यवस्था गरेर तीनवटा संख्यामा एम्बुलेन्सले २०७८ साल देखि हाल सम्म निरन्तर सेवा उपलब्ध गराउदै आएको छन्। २०८० सालमा स्वास्थ्य चौकी तामाखानीको नाममा नेपाल पर्वतारोही संघबाट प्राप्त एम्बुलेन्स गरी जम्मा चार वटा भएको एम्बुलेन्स मध्ये सबैभन्दा पहिलेको एम्बुलेन्सलाई शव वाहनको रुपमा प्रयोग गरी सेवा उपलब्ध गराउदै आएको छ भने तीनवटा एम्बुलेन्सबाट बिरामी तथा घाइतेहरुलाई निरन्तर सेवा उपलब्ध गराउदै आइरहेको छ।
नगरपालिकाले २०७६ सालमा एम्बुलेन्स सञ्चालन कार्यविधि २०७६ बनाई एम्बुलेन्स सन्चालन गर्दै आएको छन् । कोभिडको समय देखि आ. व. २०७९/ ८० मा काठमान्डौ लगायत सम्पुर्ण रुपमा निशुल्क रुपमा एम्बुलेन्स सेवा सन्चालन गरेको थियो ।एम्बुलेन्सको प्रयोगमा अलि दुरुपयोग देखिन थाले पछि आ. व.२०८०/८१ देखि जिल्ला अस्पताल फाप्लु , वोङछु शेर्पा मेमोरियल अस्पताल टाप्टिङ र ओखलढुङगा जिल्लाको मिसन अस्पताल सम्म जान सम्पूर्ण रुपमा निशुल्क र काठमान्डौ जान लागिको सहुलियत दरमा सेवा उपलब्ध गराउदै आइरहेको छन्।गर्भवती ,सुत्केरी र अति विपन्न नागारिकहरुलाई हाल सम्म नै काठमान्डौ जान लगायत सम्पूर्ण रुपमा निशुल्क रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छन्।
नगरपालिकाको एम्बुलेन्सले सेवा उपलब्ध गराउदै आएको तथ्याङकीय विवरण यस प्रकार रहेको छ। आ. व.२०७९/ ८० मा २६५ जना आ. व. २०८०/८१ मा २०७ जना र आ. व. २०८१/८२ को चैत्र मसान्त सम्म १९५। जनाले सेवा प्राप्त गरेको छन् । शुरु देखि नै नगरपालिकाले जिल्ला भरीको नागारिक र अन्य छिमेकी जिल्लाको स्थानिय तहको नागरिकलाई समेत सेवा उपलब्ध गराउदै आइरहेको छन् ।यस आ. व. २०८१/८२ चैत्र मसान्त सम्म सोलुदुधकुण्ड नगरपालिका लगायत अन्य पालिकाको नागारिकलाई सेवा उपलब्ध गराएको विवरण यस प्रकारको रहेको छ । सोलुदुधकुण्ड नगरपालिकाको सेवाग्राही संख्या -१६५ जना अन्य गाँउ पालिकाको सेवाग्राही संख्या- ३० जना गरी जम्मा १९५।जना रहेको छ । जसमध्ये थुलुङदुधकोशी गा. पा. ७ जना , माप्यदुधकोशी गा. पा. ६ जना ,नेचासल्यान गा. पा. ४ जना माहाकुलुङ गापा २ जना , खुम्बु पासाङल्हमु १ जना , खिजिदेम्बा गा. पा. ७ जना सिद्धिचरण न.पा. ३ जना गरी जम्मा ३०।जना रहेको छ । ति मध्ये काठमान्डौको विभिन्न अस्पतालमा पुराएको संख्या- ६३ जना ,ओखलढुङगाको मिसन अस्पताल पुराएको संख्या- ३३ जना , जिल्ला अस्पताल फाप्लु अस्पताल पुराएको संख्या- ४९ जना र वोङछु शेर्पा मेमोरियल अस्पताल पुराएको संख्या- ५०जना गरी जम्मा १९५। जनालाई सेवा उपलब्ध गराएको छ।
दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा एम्बुलेन्स सेवा महत्वपूर्ण रहेको छ । नेपालको परिपेक्ष्यमा दुर्गम क्षेत्रमा सहज रुपमा विशेज्ञ सेवा पाउन कठिन रहेको सन्दर्भमा कतिपय बिरामीहरुलाई समयमा नै अस्पातलमा पुरयाउन नसक्दा अकालमा नै ज्यान जान सक्ने अवस्था हुन्छ । समयमा नै बिरामी तथा घाइतेहरुलाई अस्पताल पुरयाई अकालमा ज्यान जान बाट जोगाउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । समयानुसार चालकलाई तालिम र एम्बुलेन्समा आवश्यक औजार उपकरण थप गरी नियमित रुपमा एक जना स्वास्थ्यकर्मि समेत व्यवस्थामा गरी सेवा सञ्चालन गर्न सकेको खण्डमा सेवा अझ गुणस्तरीय र प्रभावकारी हुने कुरामा दुईमत छैन।
सामाग्री श्रोत :
swasthyakhabar
बागमती। चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आव २०८१र८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए।
उनका अनुसार चालु आव को दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ रु १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ रु १२ अर्ब आठ करोड ७३ लाख ९५ हजार गरी रु २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आव का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएका बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९ दशमलव ५२ प्रतिशत खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका धेरैजसो योजना बल्ल कार्यान्वयनमा जान थालेकाले अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने सूचना अधिकारी सञ्ज्यालले बताए ।
यस्तै बागमती प्रदेश सरकारले बाँडफाँटबाट विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्व तथा दस्तुरमा पनि कमी आएको छ । प्रदेश सरकारले चालु आव मा बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा त्यसको ६२ दशमलव ७३ प्रतिशत अर्थात् रु १८ अर्ब ५४ करोड १७ लाख २१ हजार राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १५ अर्ब एक ५७ करोड ५६ लाख प्राप्त हुने अनुमान गरिएकामा दश महिनामा रु आठ अर्ब ४७ करोड १७ लाख ३० हजारमात्र प्राप्त भएको सूचना अधिकारी सञ्ज्यालले बताए ।
त्यसैगरी, चालु आव २०८१र८२ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार प्राप्त हुने अनुमानमा रु तीन अर्ब सात करोड ३८ लाख ७७ हजारमात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्री कारोबारमा आएको गिरावटका कारण प्रदेश सरकारको राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी सञ्ज्यालको भनाइ छ ।
सामाग्री श्रोत :
बुटवल – लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा दुई वटा विषयहरू रहेका छन् ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा बोल्ने र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामाजिक कर सम्बन्धी विधेयकलाई दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ