
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नयाँ स्मार्टफोन ‘१५ एस प्रो’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीले साओमीले चिनियाँ बजारका लागि यो स्मार्टफोन सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले नयाँ फोनमा ‘एक्सरिङ ओ–वन’ नामक चिप प्रयोग गरिएको जानकारी दिएका छन् । उनले यो चिप एप्पलको ‘ए १८ प्रो’ चिपभन्दा प्राविधिक रूपमा शक्तिशाली भएको दाबी गरे । विशेषगरी गेम खेल्दा कम तापमानमा काम गर्ने क्षमताका आधारमा साओमीको चिप अगाडि रहेको उनको भनाइ छ ।
साओमीको ‘१५ एस प्रो’ को सुरुवाती मूल्य ५,४९९ युआन (करिब एक लाख पाँच हजार रुपैयाँ) तोकिएको छ । यो मूल्य एप्पलको पछिल्लो मोडलभन्दा निकै सस्तो हो । चीनमा ‘आईफोन १६ प्रो’ को सुरुवाती मूल्य ७,९९९ युआन (करिब एक लाख ५३ हजार रुपैयाँ) र ‘आईफोन १६ प्रो म्याक्स’ को मूल्य ९,९९९ युआन (एक लाख ९१ हजार रुपैयाँ) देखि सुरु हुन्छ ।
चिनियाँ सरकारले उपभोक्तालाई प्रदान गरिने अनुदानका लागि स्मार्टफोनको मूल्य ६,००० युआनभन्दा कम हुनुपर्ने नीति बनाएको छ । सोही अनुसार साओमीले ६,००० युआनभन्दा कम मूल्यमा नयाँ फोन ल्याएको देखिन्छ ।
सीईओ लेई जुनले एप्पल अझै अग्रस्थानमा रहेको स्वीकार गरे पनि ‘एक्सरिङ ओ–वन’ चिपको प्रदर्शन उच्च स्तरीय रहेको उल्लेख गरे । उनले यो प्रयास एप्पललाई दबाब दिन नभई, साओमीले तुलनात्मक रूपमा शक्तिशाली प्रोसेसर विकास गर्न सक्ने क्षमताको सङ्केतका रूपमा बुझिनुपर्ने बताए ।
जुनले सन् २०२६ देखि पाँच वर्षभित्र अनुसन्धान तथा विकासमा २०० अर्ब युआन लगानी गर्ने घोषणा पनि गरे । साथै कम्पनीले आफ्नै चिप विकासका लागि आगामी १० वर्षमा कम्तीमा ५० अर्ब युआन लगानी गर्ने योजना बनाएको छ । सीईओ जुनले सामाजिक सञ्जालमार्फत ‘एक्सरिङ ओ–वन’ चिपको विकासमा १३.५ अर्ब युआन खर्च भएको जानकारी पनि दिएका छन् ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार हाल साओमीका करिब ४० प्रतिशत फोनमा क्वालकम वा मिडियाटेकका चिप प्रयोग गरिन्छ । साओमीले सन् २०१४ मा चिप विकास सुरु गरी २०१७ मा एउटा चिप सार्वजनिक गरे पनि त्यसपछि अनुसन्धान अस्थायी रूपमा स्थगित गरिएको थियो ।
यद्यपि जुनले ‘१५ एस प्रो’ मा कुनै प्रमुख एआई सुविधा उल्लेख नगरे पनि उनले यसलाई कार लक तथा अनलक गर्न प्रयोग गर्न सकिने फिचरको डेमो देखाएका थिए ।
स्मार्टफोनबाहेक साओमीले विद्युतीय सवारी बजारमा पनि सक्रियता बढाउँदै आएको छ । गत वर्ष कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘एसयू ७’ सेडान सार्वजनिक गरेको थियो, जसको मूल्य टेस्लाको मोडल थ्रीभन्दा करिब ४,००० डलर सस्तो थियो । अब कम्पनीले आफ्नो पहिलो एसयूभी ‘वाइयू ७’ आगामी जुलाईमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त मोडेलमा क्वालकम स्न्यापड्रागन र एनभिडिया चिप प्रयोग गरिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ८:५४
सामाग्री श्रोत :
टेक पाना
बागलुङ – अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधान ठप्प भएका छन् ।
कोरिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्न सवारी साधान ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनुपरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
गतवर्ष बुटवल बस्ने व्यवसायी उत्सव कार्की उमेर ४१, केही समयदेखि ढाड नचल्ने, दुवै खुट्टा नचल्ने र दिशा पिसाव पनि चुहिने समस्या लिएर हामीकहाँ आइपुग्नुभयो । उहाँको मेरुदण्डमा चोट लागेको थियो । हामीले उहाँको समस्यालाई वैकल्पिक उपचार पद्धतिबाट समाधान गर्यौं। उहाँले समस्याबाट पूर्ण रुपमा छुट्कारा पाउनुभयो । हाल सामान्य जीवन बिताइरहनु भएको छ ।
नेपालगंजबाट मिना तामाङ आधी अनुहारमा प्यारालाइसिस भएर आउनुभयो । उहाँको मुख बाङ्गिएको र एउटा आँखा बन्द नहुने अवस्थामा थियो । केही दिनपछि उहाँ पनि पूर्ण रुपमा निको हुनुभयो।
पाँच वर्षिय कृषव सिंह जन्मजातै हिंडडुल गर्न सक्दैनथे, उनी कान कम सुन्थे । बोल्न पनि सक्दैनथे । बालकलाई हामीले विभिन्न प्रकारको थेरापिको माध्यमबाट उपचार ग¥यौं । अहिले उनि दैनिक विद्यालय जान सक्ने भएका छन्।
उत्सव, मिना र कृषव त प्रतिनिधि पात्र मात्र हुन् । गत वर्ष मात्रै हामीले ५ हजारको हाराहारीमा हाड जोर्नी, नशा, स्नायु तथा बाथसँग सम्बन्धित बिरामीहरुको उपचार गरेका थियौं । यी मध्ये ८० प्रतिशत बिरामीहरुले पूर्ण रुपमा लाभ लिएर फर्कि सक्नु भएको छ । बाँकीको अवस्था पनि सुधारोन्मुख छ।
अहिले नेपालमा हाड जोर्नी तथा नशामा समस्या भएका अधिकांश बिरामीहरुमा जोर्नीको दुखाइ, कम्मर दुख्ने, उभ्भिन नसक्ने, हात खुट्टा बाँङ्गो भएको, झमझम गर्ने, गर्दन दुख्ने जस्ता समस्याबाट पिडित छन्।
कतिपय अवस्थामा बिरामीहरु के र कसो गर्ने भनेर अन्यौल अवस्थामा भएको पनि पाइन्छ । दुखाइको समस्या भएका कतिपय बिरामीहरु घरमा दुखाइ कम गर्ने औषधि मात्र खाएर बस्ने गरेको पनि पाइएको छ । दुखाइलाई घरमै बसेर आफुखुशी औषधि खानुभन्दा नजिकैको वैकल्पिक उपचार पद्धति केन्द्रमा गएर समयमै उपचार गर्नपर्छ । जति छिटो उपचार गर्यो, त्यति छिटै समस्या निको हुन्छ ।
यस उपचार पद्धतिमा बिरामीको अवस्था हेरेर ड्राइ निडलिङ, कायरो प्राक्टिक, म्यानुअल थेरापि, मसाज थेरापी, निष्क्रिय नशालाई सक्रिय बनाउने, लुलो हातको उपचार, मर्किएको, दुर्घटनामा परि चोट लागेको, मांशपेशी जाम भएकोलाई विभिन्न कोणबाट उपचार, स्क्रिनबाट हात खुट्टाको चालको अवस्था पत्ता लगाउने, स्नायुहरुलाई पुर्नस्थापना गर्ने, संतुलित व्यायाम, बस्ने उठ्ने तरिका, सिंढी चढ्ने तरिका, कोमाका बिरामीलाई व्युताउँने तरिका, डिप टिस्यु मसाज, रिंगटा लागेको, बाङ्गिएको मेरुदण्डलाई सिधा बनाउने उपचार लगायतका विभिन्न उपचार पद्धतिबाट बिरामीलाई उपचार गरिन्छ ।
प्राचिन समयदेखि चल्दै आएको वैकल्पिक पद्धतिमा कुनै प्रकारको साइड इफेक्ट हुँदैन। त्यही भएर यो सुरक्षित पनि छ ।
लामो समयदेखि आधुनिक चिकित्साबाट निको नभएका बिरामीहरु थाकेर अन्तिममा वैकल्पिक उपचार पद्धतिमा आउने गरेका छन् । यी मध्ये कतिपय बिरामीहरु त पूर्ण रुपमा निको भएर जानेको संख्या पनि धेरै छ । हिंड्न, बोल्न नसक्ने, जटिल दिर्घ रोगीलाई निको हुन केही समय लाग्छ । यस उपचार पद्धति प्राचिन भएपनि पक्षघात, अपाङ्गता, दुर्घटना, अशक्त भएका बिरामीका लागि वरदान नै हो ।
(डा कापरी फिजियोथेरापिष्ट तथा कायरो प्राक्टिसनर हुन्)
सामाग्री श्रोत :
swasthyakhabar
पेरिस। विकिलिक्सका संस्थापक जुलियन असान्ज कान्स फिल्म फेस्टिभलमा पुग्दा चर्चाको विषय बनेका छन्। यसको अर्को मुख्य कारण उनले लगाएको एउटा सर्टले धेरैको ध्यान तान्यो, सो सर्ट लगाएर उनले महोत्सवमा भाग लिएका थिए। यो शर्टमा इजरायलको युद्धमा मारिएका हजारौं प्यालेस्टिनी बालबालिकाको नाम छापिएको थियो।
जुलियन असान्ज अमेरिकी फिल्म निर्माता यूजीन जारेकीको वृत्तचित्रको प्रचार गर्न कान्स फेस्टिभलमा पुगेका छन्। फोटो सेसनका क्रममा उनले मारिएका गाजा बालबालिकाको नाम लेखिएको टी-सर्ट लगाएका थिए। तर, उनले सञ्चारमाध्यमसँग कुरा भने गरेनन्।
यसबारे उनकी श्रीमती स्टेला असान्जले समय आए पछि मात्रै बोल्ने बताइन् र भनिन, ‘उहाँ सधैं यस्तै हुनुहुन्थ्यो।’ स्टेलाले उनी शारीरिक र मानसिक रूपमा निको भइसकेको पनि बताइन्। असान्ज सन् २०२४ को जुनमा बेलायती जेलबाट रिहा भएका थिए। उनले बेलायतमा सुपुर्दगीको लडाइँमा ५ वर्ष जेल र लन्डनमा इक्वेडरको दूतावासमा थप ७ वर्ष बिताएका थिए।
जुलियन असान्जको डकुमेन्ट्रीको बारेमा निर्देशक जारेकीले भने, ‘उनको फिल्म ‘द सिक्स बिलियन डलर म्यान’ को उद्देश्य असान्जको बारेमा सीधा रेकर्ड राख्नु थियो। मलाई लाग्छ जुलियन असान्जले विश्वभरका कर्पोरेसन र सरकारहरूले गोप्य रूपमा भइरहेको कामको पर्दाफास गर्न आफूलाई खतरामा पारेका थिए, अहिले मुक्त भएका छन्।’
उनका अनुसार स्टेलाद्वारा पेश गरिएको व्यक्तिगत भिडियोहरू समावेश छन्, जो सुरुमा एक कानूनी सल्लाहकारको रूपमा विकिलिक्समा सामेल भएकी थिइन्। यसमा निजी सुरक्षा एजेन्टसहित असान्जलाई जासुसी गर्न मद्दत गर्ने व्यक्तिहरूको बयान पनि समावेश रहेको छ।
इक्वेडोरको दूतावासमा बगहरू स्थापना गरेको थियो, जुन अमेरिकी सुरक्षा सेवाहरूले पहुँच गरेको थियो। यसमा पूर्व अभिनेत्री तथा असान्जकी साथी पामेला एन्डरसन, साथी व्हिसलब्लोअर एडवर्ड स्नोडेन र अस्ट्रेलियाली मानवअधिकार वकिल जेनिफर रोबिन्सनको बयान पनि समावेश गरिएको छ।
सामाग्री श्रोत :
‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा
काठमाडौँ । इन्टरनेटको प्रयोग तीव्र गतिमा बढेसँगै पछिल्ला केही वर्षदेखि ‘ह्याकिङ’ शब्द निकै प्रचलित छ । यसका कारण साइबर अपराध पनि निकै बढेका छन् । यस्तै एक साइबर अपराध हो- ह्याकिङ । यसमा ह्याकरले कुनै कम्प्युटर प्रणालीबाट गोप्य जानकारी निकाल्न सक्छ, प्रणालीलाई अनलाइनबाटै तोडमोड गर्न सक्छ, कसैको बैंक खाताबाट रकम निकाल्न सक्छ र अन्य संवेदनशील विवरण प्रयोग गरेर जालसाजी गर्ने जस्ता अनेकौं गलत कामहरू गर्न सक्छ ।
यसका लागि सबैभन्दा संवेदनशील डिभाइस हाम्रो स्मार्टफोन हो । किनभने आफ्नो स्मार्टफोनमा हामी गोप्यभन्दा गोप्य र संवेदनशीलभन्दा संवेदनशील जानकारी राखेका हुन्छौं । यसबाहेक ‘इन्टरनेट अफ थिङ्स’ डिभाइस जस्तै स्मार्ट टिभी र स्मार्ट फ्रिज पनि सजिलै यसको चपेटामा पर्न सक्छन् । र, आधिकारिक अपडेट नपाउने भएकाले पुराना कम्प्युटर पनि ह्याकिङको मुख्य जोखिममा हुन्छन् ।
सामान्य अर्थमा बुझ्नुपर्दा ह्याकिङ गर्नेलाई ह्याकर भनिन्छ । र विशेष कुरा के हो भने साइबर सुरक्षाको दुनियाँमा ह्याकरहरू पनि विभिन्न प्रकारका हुन्छन् । उनीहरूको नियत र काम गर्ने तरिकाअनुसार उनीहरूलाई नाम दिइन्छ । यस्ता दुई मुख्य ह्याकरहरू हुन्छन्, एउटा ब्ल्याक ह्याट ह्याकर र अर्को ह्वाइट ह्याट ह्याकर । दुवै प्रकारका ह्याकरले प्रायः उस्तै डिभाइस र प्रविधि प्रयोग गर्छन् । तर उनीहरूको उद्देश्य फरक-फरक हुने भएकाले एउटै क्षेत्रमा भए पनि उनीहरू एकअर्काका विपरीत हुन्छन् । यहाँ ब्ल्याक ह्याट ह्याकर र ह्वाइट ह्याट ह्याकरबारे विस्तृत रूपमा चर्चा गर्दैछौं:
ब्ल्याक ह्याट ह्याकर
ब्ल्याक ह्याट ह्याकिङ एक साइबर अपराध हो । यी ह्याकरलाई साइबर संसारका खलनायक भन्न सकिन्छ । किनभने यिनीहरू यस्ता व्यक्ति हुन्, जो गलत नियतले कसैको कम्प्युटर नेटवर्क र वेबसाइटमा प्रवेश गरेर त्यसको दुरुपयोग गर्छन् । उनीहरूको उद्देश्य कसैलाई नोक्सान पुर्याउनु र आफ्नो फाइदा गर्नु हुन्छ । यसका लागि उनीहरूले कसैको पनि कम्प्युटरबाट उसको फोटो, भिडियो र बैंक विवरण चोर्न सक्छन्, पासवर्ड चोर्न सक्छन्, कुनै वेबसाइट वा कम्प्युटरलाई बिगार्न सक्छन् । त्यस्तै कम्प्युटर लक गरेर त्यसलाई खोल्नका लागि पैसा लाग्ने बनाई फिरौती माग्न सक्छन् ।
ब्ल्याक ह्याट ह्याकरले विभिन्न तरिकाले ह्याकिङ गर्न सक्छ जस्तै फिशिङ स्क्याम (Phishing Scams), र्यान्समवेयर आक्रमण (Ransomware Attacks), डीडस (Distributed Denial of Service) अर्थात् डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस आक्रमण र डेटा ब्रिच (Data Breach)।
फिशिङ स्क्याम
यस्ता हमला हुन्, जसमा ब्ल्याक ह्याट ह्याकरले ईमेल, मेसेज वा नक्कली वेबसाइट मार्फत कुनै व्यक्तिको व्यक्तिगत जानकारी जस्तै पासवर्ड र बैंक विवरण चोर्ने प्रयास गर्छन् । उदाहरणका लागि मानिलिनुहोस् तपाईंलाई एउटा ईमेल आयो जसमा तपाईंको बैंक खातामा केही समस्या छ भनिएको हुन्छ र तपाईंलाई आफ्नो पासवर्ड परिवर्तन गर्न एक लिङ्कमा क्लिक गर्न भनिन्छ ।
तपाईंले त्यो लिङ्कमा क्लिक गर्ने बित्तिकै तपाईं एउटा नक्कली वेबसाइटमा पुग्न सक्नुहुन्छ जुन सक्कली वेबसाइटजस्तै देखिन्छ । त्यसमा तपाईंले आफ्नो व्यक्तिगत जानकारी जस्तै प्रयोगकर्ता नाम, पासवर्ड र ओटीपी नम्बर भर्नुहुन्छ । र यो जानकारी ह्याकरकहाँ पुग्छ । यसैको दुरुपयोग गरेर उसले तपाईंलाई समस्यामा पार्न सक्छ । यस्ता लिङ्कमा क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइल उपकरणमा मालवेयर (Malware) डाउनलोड हुन सक्छ जसले तपाईंको जानकारी चोर्न सक्छ, तपाईंको डिभाइसलाई नोक्सान पुर्याउन सक्छ र कुनै पनि जालसाजीमा तपाईंलाई फसाउन सक्छ ।
वैशाखमा नेपालमा फिशिङ आक्रमण व्यापक फैलिएको थियो । बल्क मेसेज प्रदायक एटी_अलर्ट, टीएचई_अलर्ट आदी ह्याक गरी ह्याकरले सर्वसाधारणलाई फिशिङ लिङ्क मेसेजमा पठाएका थिए । त्यसमा प्रयोगकर्तालाई ईसेवा वा खल्ती जस्ता अकाउन्ट बन्द हुन लागेको भन्दै भेरिफाई गर्न भनिएको थियो । लिङ्क खोलेर आफ्नो विवरण भर्ने लगभग चार हजार प्रयोगकर्ताको एक करोड रुपैयाँभन्दा बढी चोरिएको प्रहरीको भनाइ छ ।
र्यान्समवेयर आक्रमण
यसमा ब्ल्याक ह्याट ह्याकरले तपाईंको कम्प्युटर वा डेटा लक गरिदिन्छ र त्यसपछि तपाईंको डेटा फिर्ता गर्न पैसा माग्छ । उदाहरणका लागि तपाईंको कम्प्युटर अचानक लक हुन्छ वा तपाईंका सबै फाइलहरू इन्क्रिप्ट (encrypt) हुन्छन् र तपाईं तिनलाई खोल्न सक्नुहुन्न । तपाईंलाई एउटा सन्देश आउँछ जसमा तपाईंको डेटा फिर्ता पाउन पैसा दिनुपर्छ भनिएको हुन्छ । यस्तो अवस्थामा र्यान्समवेयर आक्रमण भएको बुझ्नुहोस् । र्यान्सम माग्नु भनेको फिरौती माग्ने काम पनि हो । डेटा लिक गरिदिने धम्की दिएर फिरौती माग्छन् भने त्यो पनि एक प्रकारको र्यान्समवेयर आक्रमण नै हो । हालै मात्र ‘काजु’ नामक एक ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइटको कमजोरी फेला पारेर नागरिकको संवेदनशील डेटा हात पारेको दाबी गरेको थियो । त्यो डेटा लिक हुन नदिन नौ लाख रुपैयाँ बढी फिरौती मागेको थियो ।
डीडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) आक्रमण यस प्रकारको आक्रमणले कुनै वेबसाइट वा सर्भरमा यति धेरै ट्राफिक पठाउँछ कि त्यो क्र्यास हुन्छ र मानिसहरूका लागि उपलब्ध रहँदैन । त्यसैलाई डीडस आक्रमण भनिन्छ । जब तपाईं कुनै वेबसाइटमा जानुहुन्छ र त्यो खोल्न सक्नुहुन्न वा कुनै अनलाइन गेम अचानक बन्द हुन्छ र तपाईं त्यो खेल्न सक्नुहुन्न, त्यो डीडस आक्रमण हुन सक्छ । यस्ता आक्रमणले बैंकिङ, किनमेल, गेमिङजस्ता अनलाइन सेवालाई रोक्न सक्छन् । यसले कम्पनीलाई आर्थिक नोक्सान हुन सक्छ र उनीहरूको प्रतिष्ठामा पनि क्षति पुग्न सक्छ । नेपालका प्रायः सरकारी साइट डाउन भइ सेवा ठप्प हुनुका पछाडिको प्रमुखमध्येको एक कारण डीडस आक्रमण हो ।
डेटा ब्रिच
ब्ल्याक ह्याट ह्याकरले ह्याकिङ गर्ने यस्तै अर्को तरिका हो- डेटा ब्रिच । यो त्यतिबेला हुन्छ, जतिबेला ब्ल्याक ह्याट ह्याकरहरू कुनै कम्पनी वा संगठनको डेटाबेसमा प्रवेश गरेर संवेदनशील जानकारीहरू जस्तै नाम, ठेगाना, फोन नम्बर, पासवर्ड आदि चोर्छन् । उदाहरणका लागि यदि कुनै कम्पनीका ग्राहकको डेटा लिक हुन्छ । त्यसमा उनीहरूको नाम, ठेगाना र क्रेडिट कार्ड विवरणहरू समावेश हुन्छन् वा कुनै अस्पतालका बिरामीहरूको मेडिकल रेकर्ड ह्याक हुन्छ भने यो डेटा ब्रिच हो । यसो हुँदा पहिचान चोरी हुन सक्छ, आर्थिक नोक्सान हुन सक्छ, कम्पनीको प्रतिष्ठा खराब हुन सक्छ र डेटा ब्रिचका कारण कम्पनीहरूमाथि कानुनी कारबाही पनि हुन सक्छ । र, यी सबै गर्नेहरू ब्ल्याक ह्याट ह्याकरहरू हुन् । नेपाल प्रहरीको साइटमा प्रवेश गरेर २० लाख बढी नागरिकको संवेदनशील जानकारी पाएको दाबी गर्ने ‘काजु’ समूहले पनि झन्डै २० हजार नागरिकको विवरण लिक गरेको थियो ।
ह्वाइट ह्याट ह्याकर
ह्वाइट ह्याट ह्याकर ब्ल्याक ह्याट ह्याकरभन्दा बिल्कुलै विपरीत हुन्छन् । त्यसैले यिनीहरूलाई इथिकल ह्याकर (Ethical Hackers) अर्थात् नैतिक ह्याकरहरू पनि भनिन्छ । उनीहरूको उद्देश्य प्रणालीलाई नोक्सान पुर्याउनु होइन । यिनीहरू यस्ता साइबर सुरक्षा विशेषज्ञ हुन् जसले अरूको सुरक्षा कायम राख्नका लागि नेटवर्क र प्रणालीमा रहेका कमजोरीहरू पत्ता लगाउँछन् र तिनलाई सुधार्छन् । ब्ल्याक ह्याट ह्याकरले त्यसको फाइदा उठाएर डेटा चोरी गर्न नसकून् भन्ने उनीहरूको उद्देश्य हुन्छ । सामान्यतया यी ह्याकरहरू कुनै कम्पनी वा सरकारी संगठनमा काम गर्छन् । यिनीहरू कुनै प्रणाली सञ्चालकको अनुमति लिएर, सही नियतले उसको प्रणालीमा तिनै ह्याकिङ प्रविधि प्रयोग गर्छन् । यी त्यही प्रविधि हुन्, जसलाई ब्ल्याक ह्याट ह्याकरहरूले आफ्नो गलत उद्देश्य पूरा गर्न प्रयोग गर्छन् ।
ह्वाइट ह्याट ह्याकरहरू पेनिट्रेसन टेस्टर (Penetration Testers) को रूपमा पनि काम गर्छन् । प्रणालीमा कमजोरी कहाँ छ भन्ने पत्ता लगाउन र त्यसलाई तुरुन्तै ठीक गर्न पेनिट्रेसन टेस्टर प्रणाली र नेटवर्कमा प्रवेश गर्ने प्रयास गर्छन् । सामान्यतया एक ह्वाइट ह्याट ह्याकरले प्रयोग गर्ने प्रविधिहरू हुन् पेनिट्रेसन टेस्टिङ, भल्नरेबिलिटी स्क्यानिङ (Vulnerability Scanning) र सोसल इन्जिनियरिङ (Social Engineering)।
पेनिट्रेसन टेस्टिङ
यो एक यस्तो प्रक्रिया हो जसमा ह्वाइट ह्याट ह्याकर प्रणालीमा प्रवेश गर्ने प्रयास गर्छन् ताकि त्यहाँ कुनै कमजोरी छन् कि छैनन् हेर्न सकियोस् । कमजोरी नभएको सुनिश्चित भएको खण्डमा ब्ल्याक ह्याट ह्याकरले त्यसको फाइदा उठाउन सक्दैनन् । यसका लागि उनीहरू पासवर्ड क्र्याकिङ, एसक्यूएल इन्जेक्सन र क्रस-साइट स्क्रिप्टिङ जस्ता विभिन्न तरिकाहरू अपनाउँछन् । उदाहरणका लागि एक ह्वाइट ह्याट ह्याकरले एक कम्पनीको अनुमति लिएर उसको वेबसाइटमा प्रवेश गर्ने अर्थात् पेनिट्रेट गर्ने प्रयास गर्न सक्छ ।
भल्नरेबिलिटी स्क्यानिङ
यो एक यस्तो प्रक्रिया हो जसमा ह्वाइट ह्याट ह्याकरले स्वचालित टुल प्रयोग गरेर प्रणालीमा रहेका कमजोरीको पहिचान गर्छन् । कमजोरी पत्ता लागेपछि त्यसको बारेमा एउटा रिपोर्ट बनाउँछन्, जसमा कमजोरी के हो, त्यो कति खतरनाक छ र त्यसलाई कसरी ठीक गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
सोसल इन्जिनियरिङ
यो एक यस्तो प्रविधि हो जसमा ह्वाइट ह्याट ह्याकरले कुनै संगठनलाई उसको सुरक्षामा रहेका कमजोरीबारे सचेत गराउँछ । यसका लागि उसले त्यो कम्पनीका कर्मचारीलाई फिशिङ ईमेल पठाउन सक्छ, ताकि उनीहरू त्यस्ता ईमेलहरूप्रति कति संवेदनशील छन् भनेर हेर्न सकियोस् । ह्वाइट ह्याट ह्याकरले कर्मचारीलाई फोन गरेर उनीहरूको व्यक्तिगत जानकारी माग्न पनि सक्छ, ताकि उनीहरूलाई त्यस्ता नक्कली फोन कलहरूबारे सचेत गराउन र बच्ने तरिका बताउन सकियोस् ।
ह्वाइट ह्याट ह्याकरले यी सबै काम सधैं कानुनी र नैतिक तरिकाले गर्छन् । उनीहरूको उद्देश्य कसैलाई नोक्सान पुर्याउनु वा उनीहरूको गोपनीयतामा हस्तक्षेप गर्नु हुँदैन ।
यसरी ब्ल्याक ह्याट ह्याकर र ह्वाइट ह्याट ह्याकर एउटै क्षेत्रका भए पनि र उस्तै प्रविधि प्रयोग गरे पनि, उनीहरू पूर्ण रूपमा फरक हुन्छन् भन्ने बुझ्न सजिलो छ । जहाँ ब्ल्याक ह्याट ह्याकरको उद्देश्य डेटा चोर्नु, प्रणालीलाई नोक्सान पुर्याउनु र फिरौती माग्नु हुन्छ, त्यहीँ ह्वाइट ह्याट ह्याकरको उद्देश्य प्रणालीका कमजोरी सुधारेर प्रणालीलाई सुरक्षित राख्नु हुन्छ । ब्ल्याक ह्याट ह्याकरले फिशिङ र मालवेयर जस्ता तरिकाहरू अपनाउँछ भने ह्वाइट ह्याट ह्याकरले पेनिट्रेसन टेस्टिङ, भल्नरेबिलिटी स्क्यानिङ जस्ता तरिकाबाट प्रणालीलाई सुरक्षित गर्छ । ब्ल्याक ह्याट ह्याकरले अनैतिक काम गर्छ भने ह्वाइट ह्याट ह्याकरका सबै काम नैतिक हुन्छन् ।
अन्य प्रकारका ह्याकरहरू
यी दुई प्रकारका ह्याकरबाहेक अरू पनि धेरै ह्याकरहरू हुन्छन् । खासगरी ग्रे ह्याट ह्याकर, रेड ह्याट ह्याकर, ब्लु ह्याट ह्याकर र ग्रीन ह्याट ह्याकर बढी प्रचलनमा आएका ह्याकिङ टर्म हुन् ।
ग्रे ह्याट ह्याकर
यिनीहरू ह्वाइट ह्याट र ब्ल्याक ह्याट ह्याकरहरूको बिचमा आउँछन् । यस्ता ह्याकर अनुमति बिना प्रणालीमा प्रवेश गर्न सक्छन् तर उनीहरूको उद्देश्य नोक्सान पुर्याउनु वा डेटा चोरी गर्नु हुँदैन । उनीहरू प्रायः प्रणालीका कमजोरीलाई बाहिर ल्याउन र तिनलाई ठीक गर्न यसो गर्छन् ।
रेड ह्याट ह्याकर
यिनीहरू ह्वाइट ह्याट ह्याकरजस्तै साइबर सुरक्षा सुधार गर्ने उद्देश्य राख्छन् । तर उनीहरू तुलनात्मक रूपमा बढी आक्रामक रणनीतिहरू प्रयोग गर्छन् । उनीहरू प्रायः ब्ल्याक ह्याट ह्याकरलाई सिधै नोक्सान पुर्याउन काम गर्छन् । खासगरी ती ह्याकरका सर्भर क्र्यास गर्न यी ह्याकर सक्रिय हुन्छन् ।
ब्लु ह्याट ह्याकर
यिनीहरू कुनै कम्पनीको उत्पादन सार्वजनिक गर्नुअघि त्यसको सुरक्षा जाँच गर्छन् र कमजोरीहरूलाई ठीक गर्छन् ।
ग्रीन ह्याट ह्याकर
यिनीहरू सुरुवाती ह्याकरहरू हुन्, जो ह्याकिङबारे सिकिरहेका हुन्छन् ।
आफ्नो प्रणालीलाई ह्याकिङबाट कसरी बचाउने ?
आफ्नो प्रणालीलाई ह्याकिङबाट बचाउनका लागि सधैं आफ्नो प्रणालीलाई अपडेट राख्नुपर्छ, बलियो पासवर्ड प्रयोग गर्नुपर्छ, एचटीटीपीएस वेबसाइट (जुन सुरक्षित वेबसाइटहरू हुन्) मात्र प्रयोग गर्नुपर्छ र एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुपर्छ । यसबाहेक टु-फ्याक्टर अथेन्टिकेसन (Two-Factor Authentication) को प्रयोग गर्ने, सामाजिक सञ्जाल अकाउन्टको प्राइभेसी सेटिङ ठीक राख्ने, आफ्नो डेटाको ब्याकअप लगातार लिइरहने, कुनै पनि अज्ञात लिङ्कमा क्लिक नगर्ने र साइबर सुरक्षाका लागि सधैं सचेत रहने गर्नुपर्छ ।
माथि उल्लेख भएका यी प्रत्येक कुरा महत्त्वपूर्ण छन् र तरिका सबैले अपनाउनु अत्यन्त आवश्यक छ । यसो गरियो भने तपाईं यस्ता साइबर आक्रमणबाट बच्न सक्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ९:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –वर्षाका कारण अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । कान्ति लोकपथको बाग्मती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् ।
काठमाडौं उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्णरूपमा बिग्रिएका छन्। पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत प्रणालीको समस्याका कारणले बिग्रिएका हुन्।
‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ।’
गिरीका अनुसार, काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन्। तीमध्ये काठमाडौंका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ। प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन्।
उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरु विग्रिएका छन् भनेर जानकारी गराएका छौं। काठमाडौंमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन्। तर अन्य थुप्रै बिग्रिएका छन्। जसमा काठमाडौंको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन्। ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरु बाटो काट्ने ठाउँमा काठमाडौंमा चार ठाउँमा बिग्रिएको अवस्था छ।’
ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए। ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ। घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ।’
यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए । उनले कुनैबेला सवारी आवागमनको र मान्छेको चाप बढि भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन बढ्ने गरेको बताए।
उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढि नै हुन्छ। जहाँ लाइटहरु बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय। लाइट बलिरहेको ठाउँमा जथाभाभी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ। तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहेको हुन्छ। तर कुनैबेला सवारी आवागमन र पैदलयात्रुको चाप बढि भएको बेला हातको इशाराले पुग्दैन। त्यो बेला पैदल यात्रीहरु बाटो काट्दै जान्छन् र दुर्घटनाको जोखिम बढ्छ।’
उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औं शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ। यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लंघन प्रमाणित गर्न सीसीटीभीमार्फत सजिलो हुन्छ।’
दैनिक २५ सय चालक कारवाहीमा !
यसैगरी ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लंघन गर्नेहरुमध्ये दैनिक करिब दुई हजारदेखि २५ सयजना चालक कारवाहीमा पर्ने गरेको बताए। उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए।
उनले भने, ‘ट्राफिक लाइटको उल्लंघन गर्ने दुई हजारदेखि २५ सयजना चालकहरु एकैदिन कारवाहीमा परिरहेका हुन्छन्। कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ। मादक पर्दाथ सेवन गरेर सवारी चलाउने एकसय जना कारवाहीमा परिरहेका हुन्छन्।’
यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागुपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए।
प्रायः निकै ठूलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत संभार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन्।
ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन्।
सामाग्री श्रोत :
काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी
काठमाडौँ । सर्वोच्च अदालतले अदालतका आदेश र न्यायाधीशप्रति सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत लाञ्छनापूर्ण तथा अशोभनीय टीकाटिप्पणी नगर्न चेतावनी दिएको छ । रास्वपाका सभापति रवि लामिछाने र छविलाल बन्जाडेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर, बुटवलको आदेश सदर गर्ने क्रममा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सामाजिक सञ्जालमा न्यायाधीशहरूको मानमर्दन हुनेगरी नियोजित टिप्पणी भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
“अदालतबाट भएका आदेश एवं फैसलाहरूउपर स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरूको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।
इजलासमा बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालातर्फका कानुन व्यवसायीहरूले न्यायाधीशहरू विरुद्ध सामाजिक सञ्जालमा लाञ्छनापूर्ण टिप्पणी भएको भन्दै ध्यानाकर्षण गराएका थिए । त्यसैका आधारमा सुवेदी र ढकालको संयुक्त इजलासले संयमित र मर्यादित अभिव्यक्तिको आग्रह गर्दै आदेश जारी गरेको हो ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ८:२१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै छन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जाने छ ।
भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन् । चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताए ।
चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन हुँदैछ। काठमाडौं बाहिर आज १० र काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने तय भएको छ।
अध्यक्षमा डा अजय कुमार शाह र डा अच्युत प्रसाद भट्टबीच प्रतिष्पर्धा हुँदैछ। उपाध्यक्षमा डा दीलीप प्रजापती र डा विधान श्रेष्ठ, महासचिवमा डा सीमान्त लामिछाने र डा प्रदीप भण्डरीबीच निर्वाचन हुँदैछ।
कोषाध्यक्षमा डा लोकेस वर्मा र डा यस्टिका श्रेष्ठले दाबी गरेका छन्। सहसचिवमा डा दीपक कुमार शर्मा निर्विरोध भएका छन्।
जम्मा ४ सदस्यका लागि ६ जनाको उम्मेदवारी रेको छ। डा शिरिषचन्द्र रेग्मी, डा इशु घिमिरे, डा भुमेश काफ्ले, डा जुनेद हसन, डा विजिता मण्डल र डा संजय रन्जीतले उम्मेदवारी दिएका छन्।
डा अजय कुमार शाहका एजेन्डा
१. एनडीएमा पूर्ण रूपमा समर्पित रही दन्त चिकित्सकहरुको हकहितका लागि सदा तत्पर रहने सबै दन्त चिकित्सकहरुलाई सदस्यता लिन अभिप्रेरित गरी एनडीएलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा थप सशक्त रूपमा प्रस्तुत गर्ने
२. दन्त चिकित्सकहरुको क्लिनिकल स्किल, अभ्यास व्यवस्थापन सीपलाई अपग्रेड गर्ने नियमित रूपमा सीडीई सञ्चालन गर्ने एनडीएको शाखाहरुमा पनि अधिकतम कार्यक्रमहरु संचालन गर्ने
३. डेन्टल स्पेशलिस्ट र सिनियर जनरल प्य्राक्टिसनरहरुक फोरम फोरम बनाई नयाँ दन्त चिकित्सकहरुलाई आवश्यक सहयोग गर्ने ।
४. दन्त चिकित्सकहरुलाई सहज उच्च शिक्षा एमडीएस एमडी/एमएस बेसिक साइन्स अध्यापनको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने ।
५. संघ, प्रदेश र स्थानीय सरकारी संस्थामा दन्त चिकित्सकहरुको स्थाई दरबन्दी वृद्धि गर्न आवश्यक पहल गर्ने ।
६. गैर दन्त चिकित्सकहरु द्वारा प्रदान भैरहेको माल प्र्याक्टिसलाई रोक्न आवश्यक कानुनी उपायहरु गर्ने, सरकारी निकायहरुमा नितिगत निर्णयहरु र जनमानसमा सचेतना फैलाउने कार्यलाई थप ससक्तीकरण गर्ने
७. चिकित्सा शिक्षा आयोग, एनएमसी विश्वविद्यालयहरु तथा प्रतिष्ठानहरुमा पहल गरी विद्यार्थी मैत्री नितिको पहल गर्ने ।
८. एनडीए को क्षेत्रीय शाखाहरुसँग थप सहकार्य गरेर एनडीएको भवी नीतिनिर्माणमा सम्मिलित गर्ने गराउने ।
९. एनडीएद्वारा हाल सञ्चालन भइरहेको राम्रा कामहरूलाई निरन्तरता प्रदानगर्ने थप नयाँ कार्यक्रमको थालनी गर्ने ।
डा अच्युत प्रसाद भट्टका एजेन्डा
१ NDA को विधान र शासन नीतिहरू अद्यावधिक गरी एक उपाध्यक्ष र संयुक्त सचिव पद महिलाहरूका लागि आरक्षित गरिनेछ। नेतृत्व संरचनामा ७ वटा प्रदेश प्रतिनिधिहरू र मान्यता प्राप्त दन्त चिकित्सा संगठनका अध्यक्षबाट मनोनीत सदस्यहरू समावेश गरिनेछ।
२. नेपाल मेडिकल काउन्सिल (NMC) बाट BDS-MD/MS लाई विशेषज्ञता डिग्रीको रूपमा आधिकारिक मान्यता दिलाउन र लोक सेवा आयोगबाट समतुल्यता प्राप्त गर्न पहल गरिनेछ, NMC सेवाहरूमा सम्मान पहुँच प्रवर्दन गरिनेछ; समतुल्यता, विदेशी परीक्षा र स्वदेशी संस्थाहरू सम्बन्धी चुनौतीहरू समाधान गर्न सम्बन्धित समितिहरूमा दन्त चिकित्सकहरूको प्रतिनिधित्व वृद्धि गरिनेछ।
३. ५|१०|१५ शैयाको अस्पतालहरूमा BDS पदहरू स्थापना गर्न पहल गरिनेछ, ५०+ शैयाको अस्पतालहरूमा कम्तीमा एक जना कन्सल्ट्यान्ट र १००+ शैयाको अस्पतालहरूमा आवश्यक कन्सल्ट्यान्टहरु सहित पूर्ण दन्त सेवा स्थापना गर्न/गराउन पहल गरिनेछ, डेन्टल कलेजहरूमा संकाय सदस्यहरूको नियुक्ति MEC नियमावली अन्तर्गत सुरक्षित राखिनेछ।
४. डेन्टल कलेजका संकाय सदस्यहरू र मेडिकल अफिसरहरूको तलब वृद्धिका लागि आवश्यक पहल कदमी लिइनेछ।
५. Student Wing, Foreign Affair Division, Finance Committee, Research and Training Committee, Ethical Practice Committee, र Extra Curricular Activities Committee हरु स्थापना तथा सञ्चालन गरिनेछ।
६. क्लिनिक तथा Practice सम्बन्धी समस्यामा परेका दन्त चिकित्सकहरूलाई नि:शुल्क कानुनी सहायता प्रदान गरिनेछ।
७. NDA Hotline सेवा स्थापना गरिनेछ, दन्त चिकित्सक र उहाँहरूको परिवारका लागि निःशुल्क दन्त उपचार कार्यक्रमहरू सञ्चालन गरिनेछ, साथै Chronic illness वा दुर्घटना अवस्थामा अधिकतम ५ लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिनेछ। पहिलो पटक क्लिनिक खोल्ने युवा दन्त चिकित्सकहरूलाई प्रमाणपत्र धितो प्रणालीमार्फत ऋण उपलब्ध गराउन सहायता प्रदान गरिनेछ र साथै क्लिनिक तथा अस्पताल ‘दर्तामा समेत सहजीकरण गरिनेछ।
८. MOU मार्फत अन्तरास्ट्रिय सम्बन्ध विस्तार गरिनेछ, दन्त चिकित्सा क्षेत्रमा नयाँ प्रविधि सहितको अभ्यासहरूमा जोड दिइनुका साथै हाम्रा university को डिग्रीलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्नका लागि प्रयास गरिनेछ।
९. NDA कार्यालयमा पाहुनाहरूका लागि आवास सुविधा स्थापना गरिनेछ। २ वर्षभित्र सबै NMC मा दर्ता भएका दन्त चिकित्सकहरूलाई NDA सदस्यता अन्तर्गत एकीकृत गरिनेछ। अन्तरास्ट्रिय सहकर्मीहरूलाई NDA मानार्थ सदस्यता विस्तार गरिनेछ।
१०. “क्वाक-रहित दन्त चिकित्सा”‘ को वकालत गरिनुका साथै दन्त चिकित्सा क्षेत्रमा कडा कानुनी र नैतिक सीमाहरू स्थापना र कार्यान्वयन गर्न सरकारी निकायहरूसँग सहकार्य गरिनेछ।
११. नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरी प्रत्येक प्रदेशीय NDA मार्फत निरन्तर व्यावसायिक विकास (CPD) कार्यक्रमहरू सञ्चालन गरिनेछ।
सामाग्री श्रोत :
swasthyakhabar