
काठमाडौं– हमासले अमेरिकाले अघि सारेको नयाँ गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको पछिल्लो प्रस्तावमा मध्यस्थकर्ताहरूलाई “सकारात्मक प्रतिक्रिया” दिएको जनाएको छ। प्यालेस्टिनी सशस्त्र समूहले एक विज्ञप्तिमार्फत आफू “वार्ताको चरणमा तत्काल प्रवेश गर्न गम्भीर रूपमा तयार” रहेको जनाएको छ।
ती वार्ताका विषयसँग निकट रहेका एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले सामान्य ढाँचाका रूपमा स्वीकार गरेको छ।
तर उसले २० महिना देखिको युद्धको स्थायी अन्त्यको लागि वार्ता असफल भएमा शत्रुता पुनः सुरु नहुने अमेरिकी सुनिश्चिततासहित कैयौँ मुख्य संशोधनहरूको माग समेत गरेको छ।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै गाजामा अर्को सातासम्ममा युद्धविराम सम्झौता हुन सक्ने बताएका छन्। यसबारे इजरायल सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
ट्रम्पको दबाब
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मङ्गलवार इजरायलले ६० दिने युद्धविरामका लागि “आवश्यक सर्तहरू” स्वीकार गरेको जनाएका थिए। उक्त अवधिमा सम्बन्धित पक्षहरूले युद्ध अन्त्य गर्नका लागि कामहरू गर्ने भनिएको छ।
ट्रम्पले हमासलाई त्यो “अन्तिम प्रस्ताव” भन्दै त्यसलाई स्वीकार गर्न पनि आग्रह गर्ने क्रममा त्यसो नगरिए उनीहरूका लागि “केही राम्रो हुनेछैन केवल झन् खराब हुनेछ” भन्दै चेतावनी दिएका थिए।
उक्त योजनामा इजरायली जेलमा राखिएका प्यालेस्टिनी बन्दीहरूका बदलामा हमासले १० जीवित इजरायली बन्धकलाई क्रमिक रूपमा छाड्ने र १८ अन्य बन्धकहरूको शव बुझाउने कुरा समावेश गरिएको विश्वास गरिन्छ। गाजामा अझै पनि पचासजना बन्धकहरू छन् जसमध्ये कम्तीमा २० जीवित रहेको विश्वास गरिन्छ।
उक्त प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा पर्याप्त मात्रामा मानवीय सहायता तत्कालै गाजा पठाइने कुरा उल्लेख रहेको बताइएको छ।
हमासका माग के छन्?
ती वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूद्वारा विशेष रूपमा सहायता वितरण गर्न माग गरेको छ।
उसले इजरायल र अमेरिकाको साथ पाएको गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित विवादास्पद वितरण प्रणाली तत्काल अन्त्य गर्न माग गर्दै आएको छ।
त्यसबाहेक हमासले मुख्य संशोधनका रूपमा इजरायली सेनाको फिर्ताको माग गरेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।
अमेरिकी प्रस्तावमा चाहिँ उत्तरी र दक्षिणी गाजाका केही भागबाट चरणबद्ध रूपमा सैनिकहरू फिर्ता बोलाउने कुरा समावेश रहेको विश्वास गरिन्छ।
तर ती अधिकारीका अनुसार हमासले मार्चमा पछिल्लो युद्धविराम भङ्ग हुनुअघि सेनाहरू रहेका ठाउँमा फर्कनमा जोड दिइरहेको छ।
हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा इजरायली हवाई र स्थल कारबाही पुनः सुरु नहुने अमेरिकी सुनिश्चितता समेत चाहेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।
उक्त प्रस्तावले युद्ध अन्त्य गर्ने वार्ता पहिलो दिनबाटै सुरु हुने उल्लेख गरेको ठानिएको छ। यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरू रिहा नभएसम्म र हमासको सैन्य तथा शासन क्षमता नष्ट नभएसम्म युद्ध अन्त्य गर्ने कुरा अस्वीकार गर्दै आएका छन्।
गाजामा हमला कायमै
शुक्रवार अमेरिका युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहँदा इजरायलले गाजा स्ट्रिपभर कैयौँ मारिनेगरी बमवारी जारी राखेको थियो।
संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले शुक्रवार जनाए अनुसार पछिल्ला पाँच सातामा जीएचएफका सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ५०९ जना र सहायता बोकेका गाडीका लस्कर नजिकै १०४ जनाको मारिएको विवरण सार्वजनिक गरेको छ।
उक्त राष्ट्रसङ्घीय कार्यालयकी प्रवक्ता रविना शामदासानीले आफूहरूले तथ्याङ्क प्रमाणित गर्ने र जिम्मेवार को हो भनेर पत्ता लगाउने काम गरिरहेको बताइन्।
तर उनले “इजरायली सेनाले वितरण बिन्दुमा पुग्न खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोलाबारी र गोली चलाएको प्रस्ट छ” भनेकी छन्। जीएचएफले संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयबाट “सिधै” आइरहेको भन्दै त्यो विश्वसनीय नभएको बताएको छ।
उक्त निकायले ती तथ्याङ्क आफ्नो प्रयासमा “झूटो कलङ्क” लगाउन प्रयोग गरिएको आरोप लगाएको छ। जीएचएफका अध्यक्षले यो साता आफ्नो स्थलहरूमा वा नजिकै कुनै पनि हिंसात्मक घटना नभएकोमा जोड दिए।
उता गाजाबाट ६० किलोमिटर मात्र पर रहेको इजरायली सहर तेल अभिभमा बाँकी बन्धकहरूका परिवार र उनीहरूका समर्थकहरूले अमेरिकी नियोगबाहिर एक र्याली आयोजना गर्दै ट्रम्पलाई ती सबैलाई रिहा गर्ने “सम्झौता” गराउन आग्रह गरेका छन्।
सन् २०२३ को अक्टोबर ७ मा भएको हमलाको जबाफमा इजरायली सेनाले गाजामा कारबाही सुरु गरेको थियो। हमासको हमलामा त्यसबेला झण्डै १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।
गाजामा त्यसबेलादेखि कम्तिमा ५७,२६८ जना मारिएको उक्त भूभागको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । बाटोमा यात्रा गर्दा वा कुनै सार्वजनिक स्थानमा जाँदा तपाईंले पक्कै पनि ‘फ्री वाई-फाई’को बोर्ड देख्नु भएको होला । डिभाइसमा वाई-फाईको सूची हेर्दा पनि निःशुल्क उपलब्ध वाई-फाई देखिन्छन् । वाई-फाई नभएको ठाउँभन्दा भएको ठाउँ नै हाम्रो प्राथमिकतामा पर्छ ।
निःशुल्क उपलब्ध हुने वाई-फाईको भरोसा गर्नु हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि कहिलेकाहीं हामी ‘के नै होला र ?’ भन्दै बेवास्ता गर्छौं । र, ल्यापटप वा फोन खोलेर वाई-फाई कनेक्ट गर्छौं ।
तर के तपाईंलाई थाहा छ, खुला नेटवर्कका रूपमा चिनिने फ्री वाई-फाईमा जोडिनु मात्र पनि कति खतरनाक हुन सक्छ ? त्यसबारे यहाँ विस्तृतमा चर्चा गरिएको छ:
१. नक्कली वाई-फाईको जाल
तपाईंले कफी शप वा कुनै सार्वजनिक स्थानको निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गर्दा मोबाइल वा ल्यापटपले त्यो वाई-फाई वास्तवमै कफी शपकै (जेन्युअन) हो कि होइन भन्ने कुरा पक्का गर्न सक्दैन । कुनै ह्याकरले त्यसै कफी शपको नाम जस्तै देखिने नक्कली वाई-फाई बनाइदिन सक्छ । तपाईंको डिभाइसले यो फरक छुट्याउन सक्दैन र त्यसमा आफैँ कनेक्ट हुन्छ ।
यस्तो किन हुन्छ भने मोबाइल वा ल्यापटपले जहिले पनि पहिले प्रयोग गरिएका र बलियो सिग्नल भएका वाई-फाई रोज्छ । डिभाइसले वाई-फाई चिन्न त्यसको नाम (SSID) मात्र हेर्छन् जुन सजिलै नक्कल गर्न सकिन्छ ।
‘वाई-फाई पाइनाप्पल’ (Wi-Fi Pineapple) जस्ता उपकरण प्रयोग गरेर ह्याकरले सजिलै यस्तो नक्कली वाई-फाई बनाउन सक्छन् । त्यसपछि उनीहरूले तपाईंको इन्टरनेट प्रयोग हेर्न, चोर्न वा ट्र्याक गर्न सक्छन् ।
२. नेटवर्कभित्रको खतरा
ल, अब मानौँ तपाईं साँचो कफी शपको वाई-फाईमा नै कनेक्ट हुनुभयो । त्यसपछि तपाईंको मोबाइल वा ल्यापटप त्यस नेटवर्कको हिस्सा बन्छ । यसको अर्थ तपाईंको डिभाइसले त्यही नेटवर्कमा जोडिएका अरू सबै डिभाइसहरू देख्न सक्छ र उनीहरूसँग कुराकानी गर्न सक्छ । यस्तै अरू डिभाइसले पनि तपाईंलाई देख्न र पहुँच गर्न सक्छन् ।
यदि तपाईंको फोन वा ल्यापटपको सफ्टवेयर पुरानो छ भने कफी शपमा बसेको कुनै अन्जान मानिसले पनि तपाईंलाई ह्याक गर्न सक्छ । यो धेरै जटिल कुरा होइन । ‘मेटास्प्लोइट’ (Metasploit) जस्ता ह्याकिङ टुलले नेटवर्कमा रहेका सबै डिभाइस स्क्यान गर्न सक्छन् र कुन डिभाइसमा के कमजोरी छ भन्ने पत्ता लगाउन सक्छन् । त्यसपछि ती कमजोरीको फाइदा उठाएर तपाईंको डिभाइसमा पहुँच पाउन सक्छन् ।
त्यसैले आफ्नो डिभाइस सधैँ अपडेटमा राख्नु र फायरवाल अन गर्नु धेरै आवश्यक हुन्छ । सफ्टवेयर अपडेटले नयाँ फेला परेका कमजोरी हटाउँछ भने फायरवालले अनावश्यक पहुँचलाई रोक्छ ।
३. एचटीटीपीएस र सुरक्षित भन्दै देखिने ‘हरियो ताल्चा’को भ्रम
माथिका सबै प्रक्रिया अपनाउँदै सुरक्षित भएर तपाईंले आफ्नो मोबाइल वा ल्यापटप अपडेट गर्नुभयो र काम गर्न थाल्नुभयो । तर, अझै पनि तपाईंको इन्टरनेटको सम्पूर्ण डेटा (सामान्य ईमेल, एफटीपी कनेक्सन र एचटीटीपीएस नभएका वेबसाइ) इन्क्रिप्ट छैनन् भने तपाईं जडिएको त्यही नेटवर्कमा अरू कसैले पनि हेर्न सक्छ ।
‘ठिकै छ, म त सुरक्षित वेबसाइट मात्र खोल्छु’ भन्ने तपाईंको सोच हुन सक्छ । त्यही अनुरुप तपाईं आफ्नो बैंक, फेसबुक वा अफिसको वेबसाइट खोल्नुहुन्छ । तपाईंलाई लाग्छ यी सुरक्षित छन् किनभने ब्राउजरमा माथि ‘Secure’ भन्दै हरियो ताल्चा देखिएको छ । तर त्यो सोच सधैं सही हुँदैन ।
हरियो ताल्चाको अर्थ केवल ‘तपाईंको डिभाइस र वेबसाइटको सर्भरबीचको डेटा ‘TLS/SSL’ नामको सुरक्षित तरिकाले पठाइन्छ भन्ने मात्र हो । यसले तपाईंको पासवर्ड वा युजरनेमलाई अरूले देख्न सक्दैन । तर त्यो ताल्चाले तपाईं साँच्चै सक्कली वेबसाइटमै हुनुहुन्छ भन्ने ग्यारेन्टी गर्दैन ।
ह्याकरले सक्कली वेबसाइटसँग मिल्दो-जुल्दो नामको नक्कली वेबसाइट बनाउन सक्छन् । उदाहरणका लागि ‘generalbank.com’ को सट्टा ‘generаIbank.com’। तपाईंले फरक देख्नुभयो ? त्यो माथि जेनेरलममा अङ्ग्रेजी अक्षर ‘एल’ छ भने तलपट्टिककोमा अङ्ग्रेजी अक्षर ‘आई’ छ । यो उस्तै देखिन भएकाले छुट्याउन गाह्रो हुन्छ । यस्तै गरेर नक्कली वेबसाइट बनाइन्छ ।
कहिलेकाहीं हामी आफैँ हिज्जेमा गल्ती गर्छौं जस्तैः ‘generalbank.com’ टाइप गर्नुपर्नेमा ‘generallbank.com’ टाइप हुन सक्छ । यस्तो गल्तीको फाइदा उठाएर पनि नक्कली वेबसाइट बनाउन सकिन्छ । यस्ता साइटमा पनि हरियो ताल्चा देखिन सक्छ । त्यही ताल्चालाई विश्वास गरेर वेबसाइट ब्राउज गर्नुभयो भने तपाईं फस्न सक्नुहुन्छ ।
त्यसैले अहिले धेरै ब्राउजरले सुरक्षित (HTTPS) वेबसाइटलाई प्राथमिकता दिन थालेका छन् । असुरक्षित साइट खोलेको बेलामा मात्र तपाईंलाई चेतावनी देखाइन्छ ।
यसरी तपाईंलाई सुरक्षित राख्ने प्रयास भइरहेको छ, तर सजग तपाईं आफैँ हुनुपर्छ ।
४. पासवर्ड भएको सार्वजनिक वाफईफाई के सुरक्षित छ ?
यदि कुनै कफी शप (सार्वजनिक स्थान)को सञ्चालकले वाई-फाईमा पासवर्ड राखेको छ । तर, त्यसलाई भित्तामा लेखिदियो भने के त्यो सुरक्षित हुन्छ ? वास्तवमा, हुँदैन । यो त घरको ढोकामा ताल्चा लगाएर चाबी बाहिरै छोड्नु जस्तै हो । जसले पासवर्ड देख्छ उ नेटवर्कमा जोडिन सक्छ र माथि उल्लेख गरिएका सबै आक्रमण गर्न सक्छ ।
कसरी सुरक्षित रहने ?
-
सकेसम्म सार्वजनिक वाई-फाई नचलाउने: यो सबैभन्दा स्पष्ट जवाफ हो । तर सधैँ इन्टरनेट चाहिने हाम्रो बानीले गर्दा यो अव्यावहारिक हुन सक्छ ।
-
मोबाइल डेटा र हटस्पटको प्रयोग: यो एक उत्तम तर महँगो विकल्प हुन सक्छ । आफ्नो मोबाइल डेटाबाट हटस्पट बनाएर चलाउँदा तपाईंको कम्प्युटर र फोनबीचको कनेक्सन इन्क्रिप्टेड हुन्छ जसलाई बीचमा कसैले हेर्न सक्दैन ।
-
भीपीएनको प्रयोग: यो सबैभन्दा प्रभावकारी उपाय हो । नि:शुल्क वाई-फाई चलाउनै परे पनि भीपीएनको प्रयोग गर्नुहोस् । भीपीएनले तपाईं र भीपीएन सर्भरको बिचमा एउटा सुरक्षित सुरुङ जस्तो बनाउँछ । तपाईंको सम्पूर्ण इन्टरनेट ट्राफिक यही सुरुङबाट जान्छ र इन्क्रिप्टेड हुन्छ । यसले गर्दा सार्वजनिक वाई-फाईमा कसैले पनि तपाईंको गतिविधि हेर्न वा गडबड गर्न सक्दैन । तर, यसमा पनि एउटा कुरा याद राख्नुपर्छ । तपाईंले प्रयोग गर्ने भीपीएन सेवा प्रदायकले तपाईंको ट्राफिक हेर्न सक्छ । त्यसैले सधैँ विश्वासिलो र राम्रो गोपनीयताको रेकर्ड भएको भीपीएन सेवा मात्र प्रयोग गर्नुहोस् ।
नि:शुल्क वाई-फाई हटस्पट सम्भावित रूपमा धेरै खतरनाक हुन्छन् र थोरै मानिसले मात्र यसको जोखिम बुझ्छन् । सिमान्टेकको २०१७ को एक अध्ययन अनुसार ७५ प्रतिशत प्रयोगकर्ताले ओपन वाई-फाईमा भीपीएन प्रयोग गर्दैनन् र ८७ प्रतिशतले त सार्वजनिक वाई-फाईबाट आफ्नो व्यक्तिगत ईमेल र बैंक खाता समेत चलाउने स्वीकारेका थिए । यस्ता जोखिम थुप्रै भएकाले प्रयोगकर्ता तपाईं आफैँ सुरक्षित हुनुपर्छ । त्यसका लागि डिभाइसलाई सधैँ अप-टु-डेट राख्नुहोस् र यदि सार्वजनिक वाई-फाई चलाउनै परेमा अनिवार्य रूपमा विश्वासिलो भीपीएन प्रयोग गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ १४:१४
सामाग्री श्रोत :
टेक पाना
बैतडी– गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन्।
लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
निरीक्षणका क्रममा लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन्।
गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनले भने, ‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र ब्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ।’ जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन्। गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्ति सुरक्षाका बारेमा पनि जानकारी लिए।
गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन्। गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले आफ्नो अत्याधुनिक ‘म्याभिक फोर प्रो’ ड्रोनले खिचेको विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको भिडिओ सार्वजनिक गरेको छ । युट्युबमा सार्वजनिक गरिएको उक्त भिडिओले सगरमाथाको उत्तरी मोहडाबाट गरिने आरोहणका हरेक कठिन र जोखिमपूर्ण चरणलाई यति नजिकबाट कैद गरेको हो ।
सार्वजनिक भिडिओमा आरोहणको यात्रालाई ६,५०० मिटरको उचाइमा रहेको नर्थ कोल ग्लेसियरबाट सुरु गरिएको छ । ड्रोनले त्यसपछि क्रमशः ७,०२८ मिटरको क्याम्प वन, ७,७९० मिटरको क्याम्प टु र ८,३०० मिटरको उचाइमा रहेको ‘डेथ जोन’ भित्रको क्याम्प थ्रीलाई स्पष्ट रूपमा देखाएको छ ।
आरोहणको क्रममा पार गर्नुपर्ने ८,४०० मिटरको यल्लो ब्यान्ड, ८,५६४ देखि ८,७१० मिटरसम्म फैलिएका प्राविधिक रूपमा कठिन मानिने ‘थ्री स्टेप्स’ र चुचुरो नजिकको साँघुरो बाटो (ट्राभर्स) मा हिँडिरहेका आरोहीको दृश्यले सगरमाथा आरोहणको पल प्रस्तुत गरेको छ । भिडिओको अन्त्यमा ड्रोन ८,८४८.८ मिटरको चुचुरोमा पुगेको छ । त्यहाँ एक आरोही उभिएको देखिन्छन् ।
यो मनमोहक दृश्य खिच्न ड्रोनमा जडित तीन ओटा क्यामेरा सिस्टमले मुख्य भूमिका खेलेका छन् । यसमा १०० मेगापिक्सेलको ह्यासेलब्लाड मुख्य क्यामेरा, ४८ मेगापिक्सेलको मिडियम टेलि क्यामेरा र ५० मेगापिक्सेलको टेलि क्यामेरा जडान गरिएको छ । मुख्य क्यामेराले सिक्सके (6K) ६० एफपीएस एचडीआर भिडिओ खिच्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस ड्रोनमा रहेको ३६० डिग्रीमा घुम्न सक्ने ‘इन्फिनिटी गिम्बल’ ले कुनै पनि कोणबाट स्थिर र आकर्षक सट लिन सम्भव बनाएको हो ।
एक पटकको चार्जमा यो ड्रोन ५१ मिनेटसम्म उड्न सक्ने कम्पनीको दाबी छ । त्यस्तै यसमा ०.१ लक्स जति कम उज्यालोमा पनि वरिपरिका अवरोध पत्ता लगाउने ‘ओम्निडाइरेक्सनल अब्स्ट्याकल सेन्सिङ’ प्रणाली रहेको छ । त्यस्तै लामो दूरीसम्म स्टेबल भिडिओ प्रसारण गर्न सक्ने ‘डीजेआई ओ४ प्लस’ प्रविधिले छायाङ्कनलाई सफल बनाएको छ । व्यावसायिक एरियल सिनेम्याटोग्राफी र कठिन भौगोलिक क्षेत्रको अन्वेषणमा यो ड्रोन उपयोगी हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा यसको मूल्य तीन लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ १२:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छिन्।
प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिवार बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने बताइन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियड हेरफेरको विषय उठाउँदै उनले यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेको बताइन्। यसबाट सांसदहरू झस्किएको र सबै दफाहरूको अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने पाठ सिकेको बताइन्।
समितिको बैठकमा शनिवार ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । प्रविधि ब्रान्ड नथिङको फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन (थ्री)’ को नेपालमा आधिकारिक प्रि-बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले विशेष अफरसहित १४ जुलाईसम्म प्रि-बुकिङ सुरु गरेको हो ।
कम्पनीले प्रि-बुकिङ गर्ने ग्राहकका लागि १९ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरेको छ । साथै, पहिलो १०० जना प्रि-बुकिङ गर्ने ग्राहकले ९ हजार ४९९ रुपैयाँ मूल्य पर्ने ‘सीएमएफ बड्स प्रो टु’ इयरबड्स पनि निःशुल्क प्राप्त गर्नेछन् । यसरी ग्राहकले नगद छुट र उपहारसहित कुल २८ हजार ४९९ रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
मूल्य र भेरियन्ट
सीजी मोबाइलले फोनलाई दुई स्टोरेज भेरियन्टमा उपलब्ध गराएको छ:
-
१२ जीबी र्याम + २५६ जीबी स्टोरेज: यस भेरियन्टको अधिकतम एमआरपी एक लाख २७ हजार ९९८ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ अफरअन्तर्गत ग्राहकले यसलाई १७ हजार ९९९ छुटसहित एक लाख ९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
-
१६ जीबी र्याम + ५१२ जीबी स्टोरेज: यस भेरियन्टको मूल्य एक लाख ४३ हजार ९९८ रुपैयाँ रहेको छ । प्रि-बुकिङमा १८ हजार ९९९ रुपैयाँ छुटपछि यसलाई एक लाख २४ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।
कम्पनीले यो मूल्य भारतको भन्दा पनि सस्तो भएको दाबी गरेको छ, जसले नेपाली बजारमा ग्राहकलाई विशेष फाइदा पुग्ने देखिन्छ ।
शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
फोन खरिदलाई थप सहज बनाउन कम्पनीले शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको किस्ताबन्दी (EMI) सुविधा पनि ल्याएको छ । यसका लागि ग्राहकले फोनको कुल मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ भने बाँकी रकम किस्तामा तिर्न सकिनेछ । यो सुविधा नागरिकताको आधारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
के छन् फोनका मुख्य विशेषता ?
नथिङ फोन (थ्री) आफ्नो सिग्नेचर पारदर्शी डिजाइन र नयाँ ‘ग्लाइफ म्याट्रिक्स’ इन्टरफेसको साथ आएको छ, जसले फोनलाई अझ आकर्षक बनाएको छ । यसका मुख्य विशेषताहरू यसप्रकार छन्:
-
पर्फर्मेन्स: यसमा फ्ल्यागशिप-ग्रेडको स्न्यापड्रागन ८एस जेन ४ प्रोसेसर प्रयोग गरिएको छ, जसले तीव्र गति र सहज कार्यसम्पादन सुनिश्चित गर्छ ।
-
क्यामेरा: फोनमा ५० मेगापिक्सेलको मुख्य, ५० मेगापिक्सेलको पेरिस्कोप (६० एक्स जुमसहित) र ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्ससहितको ट्रिपल क्यामेरा सेटअप छ । यसले 4K 60fps मा भिडिओ रेकर्ड गर्न सक्छ ।
-
डिस्प्ले: यसमा ६.६७ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको फ्लेक्सिबल एमोलेड डिस्प्ले छ, जसको पीक ब्राइटनेस ४५०० निट्ससम्म पुग्छ ।
-
ब्याट्री: फोनमा ५१५० एमएएच क्षमताको सिलिकन-कार्बन ब्याट्री छ, जसले ६५ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ ।
-
सफ्टवेयर: एन्ड्रोइड १५ मा आधारित नथिङ ओएस ३.५ मा चल्ने यो फोनमा ५ वर्षको ओएस अपडेट र ७ वर्षको सेक्युरिटी प्याचको प्रतिबद्धता गरिएको छ ।
कसरी गर्ने प्रि-बुकिङ?
इच्छुक ग्राहकले यो लिंक मार्फत जुलाई १४ सम्म अनलाइन प्रि-बुकिङ गर्न सक्नेछन् । फोनको बिक्री वितरण भने १५ जुलाईदेखि देशभरका आधिकारिक स्टोरहरूबाट सुरु हुनेछ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ ११:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका छन्।
लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताए।
उनले पछिल्लो समयमा भएको आर्थिक तथा नीतिगत सुधारहरूको उल्लेख गर्दै नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको छ र जीवन्त आइटी बजार रहेको बताए।
राजदूत घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको आइटी सेवा आउटसोर्स गर्न र नेपालमा लगानी गर्न आग्रह गरे। नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश लगानी लगानी भित्राउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए।
उनले आइटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको बताउँदै नेपाल र युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको पनि जनाए।
ब्रिटिश संसद्मा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल तथा युकेबीच सीधा हवाई सेवा सुरू गर्न आवश्यक रहेको बताइन्।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै नेपालले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए।
उनले सातै प्रदेशमा आइटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आइटी प्रवद्र्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत सुनाए। उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड तयार रहेको बताए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए। उनले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि, डिजिटल सेवाजस्ता उदाउँदो क्षेत्रको रहे तापनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्नसक्ने क्षमता देखाएको बताए।
“हामी संयुक्त लगानी उद्यम, इ–शासन र अन्य साझेदारीका लागि खुला छौँ। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौँ”, उनले भने।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी कम्पनी, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै नेपालमा लागत कम र गुणस्तर उच्च रहेको एक दुर्लभ संयोजन उपलब्ध रहेको बताए। उनले नेपालका सबै प्रदेशमा प्रविधिको पूर्वाधार विस्तार गर्दै लैजानुपर्ने जनाए।
नेपालका सूचना प्रविधिसम्बन्धी कम्पनीहरूको प्रतिनिधि संस्था, नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब नब्बे हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको र वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको आम्दानी यस क्षेत्रबाट भइरहेको बताए।
“हाम्रो कूल निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको चार/पाँच वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौँ”, उनले भने।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने बताए।
कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका सिइओ नीलेशमान सिंह प्रधान, जेनेस सलुशनका ग्लोबल सिटिओ निरञ्जन कुँवर, बेलायतमा कार्यरत युवा उद्यमी रुवि राउत, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाललगायतले नेपाल तथा युकेबीच व्यापार तथा लगानी बढाउन थुप्रै सम्भावना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । शब्दकै भरमा आवाज सहितको भिडिओ बनाउने गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ (Veo 3) विश्वभर उपलब्ध भएको छ । यसअघि केही देशका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो टुल बिहीबारदेखि विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको हो ।
कम्पनीका अनुसार यो नयाँ टुल १५९ देशका प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यो टुल प्रयोग गर्न भने मासिक १९.९९ डलर तिरेर गुगल एआई प्रो सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । भुक्तानीका माध्यम कनेक्ट गरेर सब्स्क्रिप्सन लिएपछि पहिलो एक महिना कुनै शुल्क तिर्नुपर्दैन । त्यसपछि भने मासिक १९.९९ डलर शुल्क लाग्छ ।
यो सब्स्क्रिप्सन लिएसँगै जेमिनाई एपको मोडेल २.५ प्रो प्रयोग गर्न सकिन्छ । यसबाट डिप रिसर्च गर्नुका साथै भिओ थ्री प्रयोग गरी क्षणभरमै भिडिओ बनाउन सकिन्छ । त्यसैगरी यो सब्स्क्रिप्सनमा फ्लोको एक्सेस पनि पाइन्छ । यो भिओ थ्री प्रयोग गरी आकर्षक भिडिओ निर्माण गर्न सघाउने गुगलको फिल्म मेकिङ टुल हो ।
त्यस्तै फोटोबाट भिडिओ बनाउन प्रयोग हुने गुगलको एआई टुल ह्विस्क पनि प्रयोग गर्न सकिन्छ । निःशुल्कभन्दा बढी सोर्स राख्न पाउने, अडिओ ओभरभ्यु प्रयोग गर्न सकिने र अनुसन्धान गर्न सकिने नोटबुक एलएमका प्रिमियम फिचर पनि यस सब्स्क्रिप्सनमा समेटिन्छन् ।
यसबाहेक जीमेल, डक्स जस्ता गुगलका अन्य एपहरूमा पनि जेमिनाई प्रयोग गर्न सकिन्छ । निःशुल्क १५ जीबी स्टोरेज दिँदै आएकोमा यो सब्स्क्रिप्सन लिएपछि २ टीबी स्टोरेज पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ ११:१
सामाग्री श्रोत :
टेक पाना
पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ।
सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ। तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरू भएको हो।
पन्ध्र श्ययाको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ श्यया अस्पतालको सेवा दिइरहेको अस्पतालले अब भने हाडजोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए।
अस्पतालको स्तरोन्नति भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरू गरिएको उनले बताए। प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोहीअनुसारका जनशक्ति थप गर्नका लागि केही समय लाग्ने छ तर अस्पतालले भने सेवाग्राहीको मागलाई ध्यानमा राख्दै अस्पतालको स्रोतबाट समेत विशेषज्ञ नियुक्त गरेर सेवा दिन सुरू गरेको हो।
अस्पतालमा रहेको पोषण कार्यक्रमअन्तर्गत अस्पतालको स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा प्रकाश गौतमले अब ओपिडीबाट सेवा दिने भएका छन्। यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा ढुण्डीराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए। डा पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहेको भए पनि उनी अध्ययनका लागि गएका थिए।
स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अब अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा दिन सुरू गरेको हो। छात्रवृत्तिमा आएका चिकित्सकले कम्तीमा पनि अबको दुई वर्ष सेवा गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम विकले बताए।
“उहाँहरू सबै जना एमडी सकेर विशेषज्ञ सेवा दिनका लागि यहाँ आइपुग्नुभएको छ। हामीले अहिलेसम्म प्रवाह गर्दै आएको सेवा झनै प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ”, डा बास्तोलाले भने, ‘यसरी विशेषज्ञ सेवा दिन सुरू गरेको यो नै पहिलो हो।’
‘अब महिलाको जटिल खालको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने डाक्टर हुनुहुन्न भनेर रोकिनुपर्ने अवस्था रहेन। क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ’ उनले भने।
छात्रवृत्तिमा आएका चिकित्सकको अवधि दुई वर्षको हुने बताउँदै उनले उनीहरू फर्किने अवस्था आएको बेलामा प्रदेश अस्पताल समेत स्तरोन्नति भएको अस्पतालका रूपमा जनशक्ति उपलब्ध गराउने बताए।
अब केही दिनमा नै गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पनि अब पर्वतसहित आसपासको क्षेत्रका बिरामीलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा बास्तोलाको भनाइ छ।
सरकारबाट प्राप्त भएका र अस्पताल आफैँले व्यवस्थापन गरेका गरी कूल ११० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४–१५ जना विशेषज्ञ चिकित्सक रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए। केही वर्ष अगाडिसम्म दैनिक करिब ४०–४५ जना बिरामीलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब ३०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- उपभोक्ता अदालतले चिकित्सा क्षेत्रबिरुद्ध सेवाग्राहीले हालेका मुद्दामा करोड भन्दा बढीसम्म क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ(एनएमए)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। उक्त आन्दोलनाई स्वास्थ्य क्षेत्रका सबै संघ/संस्थाले ऐक्यबद्धता जनाएका छन्।
अहिले आन्दोलनरत एनएमएले ८ वर्षअघि ऐन जारी हुँदा सम्भावित परिणामका बारेमा ख्याल नगरेको विषय समेत सँगसँगै उठेको छ। एनएमएकै कार्यालयमा केही दिनअघि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विषय उठाएका हुन्।
प्राप्त भिडियमा उनले भनेका छन्, ‘अहिलेको अवस्था आउनुमा हामीबाट पनि कतै कमजोरी त भएको छैन ? यो आवस्था आउनुमा हाम्रो पनि केहि दोषहरु भने पक्कै छ कि ? एतातिर पनि समिक्षा अहिले नै गर्नु उत्तम हुनेछ | उपभोक्ता संरक्षण ऐन त ८ वर्ष अघि नै जारी भएको हो । त्यसबेला चिकित्सकको मुख्य सरोकारवाला संस्था नेपाल चिकित्सक संघ मौन रह्यो र हामी सबैले मौन रहन दिएको हो। यो ऐन अन्तर्गत कतिपय चिकित्सकहरुलाई कारवाही हुँदा पछि पनि मौन बस्यो। आजको पीडा त्यही मौनताको परिणाम हो। यो हामी सबै मौन बसे अझ घातक परिणाम आउन सक्छ।’
उपभोक्ताम अदालतले गरेका पछिल्ला फैसलाहरुले सबै नेपाली चिकित्सकहरुलाई स्तब्ध बनाएको बताउँदै उनले यी निर्णयहरुले एक चिकित्सकलाई मात्र होइन, सम्पूर्ण चिकित्सा पेशा र नेपालको स्वास्थ्य प्रणालीलाई नै कठघरामा उभ्याएको बताएका छन्।
उनले भनेका छन्, ‘पछिल्लो १० वर्षमा अदालतबाट भएका थोरै केसहरू र ती केसमा सुनाइएको जरिवाना, अनि नेपाल मेडिकल काउन्सिलले हेरेको लापरबाहीको अवस्था लागायत कुराहरू विश्लेषण गर्दा पनि यति ठूलो जरिवाना तोक्दै चिकित्सकलाई दोषी ठहर गर्ने निर्णय हुन्छ भनेर हामीले कल्पना समेत गरेका थिएनौं। नेपाल मेडिकल काउन्सिल ले लापरबाही नभएको ठहर गरेको र विशेषज्ञहरूले समेत गल्ती नदेखाएको मुद्दामा समेत अदालतले चिकित्सकलाई दोषी ठहराउनुले हाम्रो न्यायिक र नियामक प्रणालीमा (मेडिकल काउन्सिल) बीच गहिरो खाडल रहेको देखाउँछ।’
यस्ता फैसलाले चिकित्सा पेशाको विश्वसनीयता र बिरामीको भरोसामाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ। उनले ऐन संशोधन वा २०६६ मा सर्वोच्च अदालतले निर्णय गरेको सेल्फ कन्टेन्ड इन्फर्म कन्सेन्टमा आधारित चिकित्सकीय अभ्यासको नयाँ ऐन दीर्घकालीन समाधान हुनसक्ने बताएका छन्। ‘आवश्यक परे आन्दोलन अपरिहार्य हुनेछ। यो आन्दोलन कुनै त्यो आन्दोलन कुनै संस्थाको झन्डामुनि मात्र सीमित हुनु पर्छ भन्ने छैन। यो लडाइङ्गको नेतृत्व केवल एनएमएको मात्र जिम्मा होइन, यो सम्पूर्ण चिकित्सक समुदायको साझा उत्तरदायित्व हो। एनएमए प्रति विश्वास भएपनि, नभए पनि यो लडाईमा सबै सहभागी हुनै पर्छ। चिकित्सकहरुको हितको लागि हुने आन्दोलनमा मेरो पूर्ण सहयोग र साथ हुनेछ।’
सामाग्री श्रोत :
swasthyakhabar