२०८२ कार्तिक ७ बिहीबार
२०८२ कार्तिक ७ बिहीबार

काठमाडौँ । महानगर यातायात प्रालिले विद्युतीय बस सेवा सुरु गरेको छ । कम्पनीले चिनियाँ ब्रान्ड चेरी एन्ड वण्डाको १२ विद्युतीय सिटी बस भित्र्याएर आफ्नो सेवा सुरु गरेको हो ।

चेरी एन्ड वण्डाको नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले आज काठमाडौँमा आयोजित एक समारोहमा महानगर यातायातलाई बसको चाबी हस्तान्तरण गरेको छ ।

सो अवसरमा विद्युतीय बस सेवाको औपचारिक उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातमा पनि ईभीको युग सुरु भएको बताए । यस्तै महानगर यातायात प्रालिका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले विश्वव्यापी रूपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको व्यवहारिक पक्षको अध्ययन पश्चात् विद्युतीय बसहरू भित्र्याएको उल्लेख गरे ।

अहिले सेवा आरम्भ गरिएका विद्युतीय बसहरू नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीय बसहरूको संख्या बढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो । विद्युतीय बसहरू वातावरणमैत्री र यात्रुमैत्री मात्रै नभई व्यवसायीका लागि समेत लाभदायी हुने उनले विश्वास व्यक्त गरे ।

आजदेखि सञ्चालनमा आएको उक्त विद्युतीय बस ८.६५ मिटर लम्बाइका छन् । जसमा ३२ जना यात्रुका लागि आरामदायी सिटका साथै ३५ जना सम्म यात्रु उभिएर जम्मा ६७ जना यात्रु क्षमताको रहेको छ । बसमा अत्याधुनिक फोल्डिङ एड्जस्टेवल आरामदायी सिट प्रदान गरिएको छ । चालक क्याबिनमा दिइएको स्क्रिनमा बसमा भएका सम्पूर्ण गतिविधिहरू सात ओटा सीसीटिभी क्यामरामार्फत नियाल्न सकिने कम्पनीले जनाएको छ ।

यी बसहरू चक्रपथ रुटमा नै प्रयोग गरिने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १७:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । ०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गयो । त्यसबेला भूकम्पमा पीडितहरूलाई सरकारले समयमा नै राहत दिन नसक्दा पीडितहरू धेरै रात खुला आकाशमुनि सुतेर र भोको पेट सुत्न बाध्य भए । कोभिड-१९ को महामारीमा पनि धेरै नागरिक समस्यामा परेको सुनियो । ढिला गरी दिइएको राहतमा पनि चामल जस्ता अत्यावश्यक खाद्यान्नमै घोटाला भएको समाचार आएका थिए ।

यस्ता समस्याको समाधान र समयमा नै पीडितहरूले राहत पाउन सक्ने उपाय नेपाली स्टार्टअप अलोईले ल्याएको छ । यस्ता किसिमको सेवा दिन अलोईले फिलिपिन्समा विपद् पूर्वानुमान गर्ने कम्पनी ‘कुमुनिडाड’ सँग सम्झौता समेत गरिसकेको छ ।

यस सम्झौताअनुसार विपद् आउनुभन्दा पहिले नै राहत उपलब्ध गराइने अलोईकी सहसंस्थापक एवम्र प्रमुख प्रविधि अधिकृत (सीटीओ)​ सोनिका मानन्धरले बताइन् ।

उनका अनुसार कुमुनिडाडले फिलिपिन्समा बाढी, तुफान जस्ता विपद् आउनुभन्दा पहिल्यै त्यसको पूर्वानुमान गर्छ । अब अलोईको प्रणाली प्रयोग गरेर कम्पनीले त्यहाँको स्थानीय तहसँग मिलेर विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुभन्दा पहिल्यै राहत उपलब्ध गराउन सहयोग गर्नेछ ।

त्यहाँ स्थानीय सरकारले आफ्ना विपद्‌को लागि खर्च छुट्याएका हुन्छन् र नागरिकलाई कति राहत रकम दिने भनेर पूर्वयोजना बनाएका हुन्छन् । विपद्‌को पूर्वजानकारी पाउने बित्तिकै अलोईको प्रणालीमार्फत नागरिकलाई राहतका लागि आवश्यक सामान किन्न मोबाइलको मेसेज बक्समा एउटा टोकन पठाइने उनले बताइन् । उक्त टोकनलाई विपद्‌को समयमा पीडितहरूले पसलमा देखाएर खाद्यान्न, वासस्थानका लागि आवश्यक सामान खरीद गर्न सक्नेछन् ।

यो टोकनले बाढी, पहिरो, भूकम्प आएपछि नागरिकले राहत कुरेर धेरै समय भोकभोकै बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनले बताइन् । टोकनमार्फत उपलब्ध गराइएको रकम कहाँ खर्च भयो भनेर ट्र्याक समेत गर्न सकिने भएकाले कुनै भ्रष्टाचार हुने सम्भावना पनि नहुने उनको भनाइ छ ।

नेपालमा पनि आवश्यक

उक्त प्रणाली नेपालका लागि अत्यावश्यक रहेको मानन्धरको बुझाइ छ । तर, निजी क्षेत्रबाट भन्दा पनि सरकारी निकायले नै यसको आवश्यकतालाई बुझेर प्रयोगमा चासो देखाउनुपर्ने उनको भनाइ छ । नेपालका सरकारी निकाय इच्छुक रहेमा कुमुनिडाडसँग सहकार्य गरेर नेपालमा पनि यो प्रणाली सञ्चालनमा ल्याउन सकिने उनले बताइन् ।

यो प्रणालीले दूरदराजमा ढिलो राहत पुग्ने र पीडितलाई उपलब्ध गराउने सहयोगमा हुने घोटालाको अन्त्य हुने उनको विश्वास छ ।

के हो अलोई ?

सन् २०१९ मा स्थापना भएको नेपाली फिनटेक स्टार्टअप हो- अलोई । नेपालकी सोनिका मानन्धर र सिङ्गापुरकी टिफिनी टोङ मिलेर सञ्चालनमा ल्याइएको यस कम्पनीले सिङ्गापुरमा पनि सेवा उपलब्ध गराउँदै आएको छ ।

अलोईले किसान तथा ग्रीन फाइनान्स अन्तर्गत विद्युतीय गाडी चलाएर आत्मनिर्भर हुन चाहनेहरूका लागि ऋण उपलब्ध गराउन सहयोग गर्छ ।

बैङ्कले किसान तथा उद्यमीलाई ऋण दिनुअघि उपयुक्त हुन्छ कि हुँदैन, कर्जा फिर्ता हुन सक्ने सम्भावना कति रहन्छ लगायतका विषयवस्तुमा अध्ययन गर्छन् । यता किसान तथा उद्यमीले ऋण लिएपछि आवश्यक ठाउँमा खर्च नगरि अन्यन्त्रै खर्च गरेर ऋण सिध्याउने र पछि ऋण तिर्न नसक्ने अवस्थासमेत देखिएको मानन्धर बताउँछिन् । यसको समाधानमा अलोई बीचमा रहेर किसान र बैङ्कलाई एक-अर्कासँग जोड्ने काम गर्छ ।

मानन्धरका अनुसार बैङ्कले ऋणीलाई ऋण दिन मिल्छ वा मिल्दैन भनेर विश्लेषण गर्न अलोईले सफ्टवेयर उपलब्ध गराउँछ । यता बैङ्कले ऋण दिन उपयुक्त भएमा किसान तथा उद्यमीलाई अलोईको प्रणालीमार्फत टोकनमा ऋण दिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एनएमबी बैङ्क, नबिल बैङ्क, कुमारी बैङ्क, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैङ्कसँग अलोईले सहकार्य गरिसकेको छ ।

उनले भनिन्, “यसरी ऋण दिँदा किसान वा उद्यमीले सिधै नगदमा ऋण पाउने होइनन् । किसानलाई ऋण रकम बराबरको टोकन दिइने हो ।” यस्तो टोकन ऋणीको मोबाइलको मेसेजमा आउँछ ।

उक्त टोकन देखाएर अलोईको प्रणालीसँग जोडिएको पसलमा गएर किसानले बिउबिजन, मसिन लगायतका सामान खरिद गर्न सक्छन् । उनले भनिन्, “किसानहरूले सिधै हातमा पैसा पाउने होइनन् । किसानले सामान पाउँछन् । सामान बेच्ने पसलले बैङ्कबाट भुक्तानी पाउँछन् ।” आफूले सामान किने बराबरको रकम ऋण बैङ्कले तोकेको ब्याजदरमा किस्ताबन्दीमा तिर्न सक्नेछन् ।

अहिलेसम्म दुई हजारभन्दा धेरै ऋणीलाई ऋण उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । ३०० भन्दा बढी भेन्डरबाट उनीहरूले आफ्ना लागि आवश्यक सामग्री खरिद गर्दै आएका छन् ।

हालसम्म कृषि र ग्रीन फाइनान्समा मात्र आफ्नो प्रणाली प्रयोग गर्दै आएको कम्पनीले अब भने राहत वितरणका लागि पहिलो पटक प्रणाली प्रयोग गरेको हो । यसलाई नेपालमा पनि प्रयोगमा ल्याउन चाहेको उनले बताइन् ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १६:५५





सामाग्री श्रोत :
टेक पाना

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको  १५ औँ बैठक

काठमाडौँ- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको  १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

कुलपति ओलीले बेरुजु फस्र्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे।

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ चीनको सांघाईमा आयोजना हुने ‘विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०२५’ मा सहभागी हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गुरुङको भ्रमण स्वीकृत गरेको हो ।

आगामी १०-१२ साउनसम्म सांघाई वर्ल्ड एक्स्पो सेन्टरमा हुने उक्त सम्मेलन ‘एआई युगमा विश्वव्यापी ऐक्यबद्धता’ (Global Solidarity in the AI Era) भन्ने मूल नाराका साथ आयोजना हुँदैछ । यो सम्मेलन विश्वकै सबैभन्दा प्रतिष्ठित र प्रभावशाली एआई कार्यक्रमहरूमध्ये एक मानिन्छ ।

सन् २०१८ देखि लगातार आयोजना हुँदै आएकोसम्मेलनमा विश्वभरका शीर्ष वैज्ञानिक, उद्यमी, सरकारी अधिकारी, लगानीकर्ता र नीति निर्माताहरू भेला हुने गर्दछन् । सम्मेलनले एआई सम्बन्धी नवीनतम अनुसन्धान, औद्योगिक सहकार्य र विश्वव्यापी साझेदारीका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १५:३०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य  तथा जनसंख्या  मन्त्रालयले डेङ्गी संक्रमण नियन्त्रण गर्न डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेङ्गी नियन्त्रण गर्नका लागि साउन महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्। डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेङ्गी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

डेङ्गी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पूरा गर्न डेङ्गी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे। डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए। 

डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेङ्गी संक्रमित भएका छन्। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहलमा अमेरिकी राज्य पेन्सिलभेनियामा ९० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी जुटेको छ । मंगलबार आयोजित ‘पेन्सिलभेनिया ऊर्जा तथा नवप्रवर्तन शिखर सम्मेलन’ मा ट्रम्पले निजी कम्पनीहरूबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ऊर्जा क्षेत्रमा गरिने यो विशाल लगानीबारे जानकारी दिएका हुन् ।

पेन्सिल्भेनिया अमेरिकाको एक प्रमुख ग्यास उत्पादक राज्य हो । सम्मेलनमा घोषणा गरिएका ठुला लगानीहरू ऊर्जा कम्पनीहरूबाटै आएका छन् । ब्ल्याकस्टोनले उत्तरपूर्वी पेन्सिल्भेनियामा डेटा सेन्टर र ऊर्जा पूर्वाधार विकासका लागि २५ अर्ब डलर लगानी गर्ने भएको छ भने फर्स्ट इनर्जीले आफ्नो विस्तारका लागि १५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा ट्रम्पले आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ लाई दोहोर्याउँदै जीवाश्म इन्धन उत्खननमा जोड दिए । ग्यास कम्पनीहरू एनब्रिजले पाइपलाइन विस्तारका लागि एक अर्ब डलर, इक्विनोरले ग्यास उत्पादन बढाउन १.६ अर्ब डलर र क्यापिटल पावरले ग्यास प्लान्ट स्तरोन्नतिका लागि तीन अर्ब डलर लगानी गर्ने भएका छन् ।

यसैगरी प्रविधि क्षेत्रमा पनि ठुलो लगानीको घोषणा भएको छ । गुगलले आगामी दुई वर्षमा डेटा सेन्टर र एआई पूर्वाधार निर्माणका लागि २५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । क्लाउड कम्प्युटिङ कम्पनी कोरविभले अत्याधुनिक एआई सञ्चालन गर्न पेन्सिल्भेनियामा ६ अर्ब डलरको डेटा सेन्टर निर्माण गर्नेछ ।

अमेजन (एडब्लूएस) ले पनि पेन्सिल्भेनियामा क्लाउड कम्प्युटिङ र एआई विकासका लागि २० अर्ब डलर लगानी गर्ने आफ्नो पूर्व-घोषित योजनालाई पुनः जोड दिएको छ । साथै, मेटाले ग्रामीण क्षेत्रका स्टार्टअपहरूलाई सहयोग गर्न २५ लाख डलर र एन्थ्रोपिकले साइबर सुरक्षा शिक्षा तथा ऊर्जा अनुसन्धानका लागि २० लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १४:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराजले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । सेल २-१५ साउनसम्म सञ्चालन हुनेछ । 

उक्त सेल अन्तर्गत ग्राहकले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यस अभियानमा प्लाटिनम पार्टनरका रूपमा रहेका सिटाफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५% सम्मको छुट पाउन सकिनेछ । 

त्यसैगरी गोल्ड पार्टनरहरू र्‍होटो, एङ्कर र मम्बड्समार्फत ५०% सम्म तथा सिल्भर पार्टनरको रूपमा रहेका ब्रान्ड हाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६०% सम्म छुटको व्यवस्था मिलाइएको छ ।

‘महाबचत बजार’ सेलको मुख्य आकर्षणका रूपमा ८ रुपैयाँदेखि ८,८५८ रुपैयाँसम्मका मेगा डिलहरू रहेका छन् । जसमा ८ रुपैयाँ, ४८ रुपैयाँ, ८४८ रुपैयाँ र ८,८५८ रुपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश छन् ।

साथै, ४९ हजार ९९९ रुपैयाँ पर्ने जियासिसको ८ केजी क्षमताको वासिङ मसिन, ४८ हजार ९९९ रुपैयाँको वानप्लस नोर्ड सीईफाइभ, ३२ हजार ९४० रुपैयाँ पर्ने अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी, ३० हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट १४ फाइभजी, १८ हजार ९९९ रुपैयाँ पर्ने भर्टेक्सको २४ इन्च गेमिङ मनिटर र १६ हजार ९९० रुपैयाँको अकारीटेक ६० लिटर रेफ्रिजेरेटर लगायतका सीमित स्टक केवल ८,८४८ मा उपलब्ध हुने छन् ।

दराजका अनुसार महाबचत बजार सेल अन्तर्गत दुई भाग्यमानी ग्राहकले १० हजार ४९९ रुपैयाँ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ रुपैयाँमा खरिद गर्न सक्ने बताइएको छ । त्यसैगरी, भ्यान्स, अर्क, नाइक, पोसिलो फुड्स, एमडब्लूसी, कन्भर्स, टाइटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डका उत्पादनमा फ्ल्याट ६०% छुट उपलब्ध हुनेछ ।

महाबचत बजारका माध्यमबाट ग्राहकहरूले थप लाभ लिन सकून् भन्ने सोचका साथ दराजले यस सेलका लागि सात बैँकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि दिने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि १५% छुट (७५० रुपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (५०० रुपैयाँसम्म) उपलब्ध गराइने छ ।

यो योजनामा नबिल बैँक, हिमालयन बैँक, सानिमा बैँक, प्राइम कमर्सियल बैँक, ज्योति विकास बैँक, महालक्ष्मी विकास बैँक र गरिमा बैँक सहभागी छन् । त्यस्तै, इसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जनाएको छ । 

महाबचत बजार महोत्सवको अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड प्रदान गर्ने योजना पनि बनाएको छ । जसअन्तर्गत  १ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकले १० हजार रुपैयाँ छुटको भौचर प्राप्त गर्न सक्नेछन् । २ साउनको राति १२ बजेदेखि सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागु हुने भएकाले लाभ उठाउनका लागि सकेसम्म चाँडै समावेश हुनुपर्ने कुरा दराजले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्स एआईले आफ्नो च्याटबट ‘ग्रोक’ मा देखिएका गम्भीर समस्या समाधान गर्न नयाँ अपडेट जारी गरेको छ । च्याटबटले आफ्नो नाम ‘हिटलर’ बताउने र आफ्ना जवाफहरू एलन मस्कको भनाइमा आधारित गर्ने जस्ता विवादित कार्य गरेपछि कम्पनीले यो कदम चालेको हो । नयाँ अपडेटअनुसार अब ग्रोकले कुनै पनि जवाफ मस्कको धारणामा नभई आफ्नै स्वतन्त्र विश्लेषणका आधारमा दिनेछ ।

पछिल्लो समय ग्रोक च्याटबट निरन्तर विवादमा तानिएको थियो । प्रयोगकर्ताहरूले इजरायल-प्यालेस्टाइन, आप्रवासन र गर्भपतन जस्ता संवेदनशील विषयमा प्रश्न सोध्दा च्याटबटले पहिले मस्कको धारणा खोजेर त्यसैअनुसार जवाफ दिने गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए ।

यस विषयमा एक्स एआईले भनेको छ, “एआईको आफ्नै धारणा नहुने भएकाले, यसले आफूलाई एक्सएआईले बनाएको थाहा पाएर कम्पनी वा मस्कको धारणा खोज्ने प्रयास गरेको थियो ।”

यसका साथै, च्याटबटले आफ्नो थर ‘हिटलर’ भएको बताएपछि अर्को ठुलो विवाद सिर्जना भएको थियो । कम्पनीका अनुसार, ग्रोकको थर नभएकाले इन्टरनेटमा खोज्दा भाइरल भएको ‘मेकाहिटलर’ (MechaHitler) जस्ता मेमहरूबाट प्रभावित भएर यस्तो नतिजा आएको हो ।

ग्रोकको यो विवाद पहिलो पटक भने होइन । यसअघि पनि यसले यहूदीहरूको नरसंहार (होलोकास्ट) मा मारिएकाहरूको संख्यामाथि शंका गर्ने र हिटलरको प्रशंसा गर्ने जस्ता यहूदी-विरोधी टिप्पणीहरू गरेको थियो । एआई मोडेललाई ‘राजनीतिक रूपमा गलत (politically incorrect) तर तथ्यमा आधारित’ दाबी गर्न नहिच्किचाउन निर्देशन दिइएपछि च्याटबटको प्रतिक्रिया थप आक्रामक बनेको बताइएको छ ।

गत हप्ता ग्रोक-फोरको सार्वजनिक कार्यक्रममा मस्कले एआई मानिसभन्दा धेरै बौद्धिक हुने कुराले आफूलाई कहिलेकाहीँ चिन्तित बनाउने बताएका थिए । कम्पनीले पछिल्लो अपडेटपछि पनि ग्रोकलाई निरन्तर निगरानी गरिरहने र आवश्यक परे थप सुधारहरू लागु गर्ने बताएको छ ।

द भर्जको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १२:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । एउटा अनपेक्षित थप्पड एसएलसीको तयारी गरिरहेका किशोरको गालामा बज्रीयो । त्यो सामान्य थप्पडको चोट गालामा कम, उनको स्वाभिमान र पढ्ने रहरमाथि बढी लागेको थियो । गल्ती के थियो होला ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ पढ्ने व्यग्र चाहना । मध्यम वर्गीय परिवारका ती किशोरलाई पुस्तक किनेर आफ्नो चाहना पूरा गर्न खल्तीमा पैसा थिएन । 

विराटनगरको बजारमा, भुइँमा फिँजाइएका किताबको थुप्रोबाट सुटुक्क ‘मुना मदन’ चोर्नु उनको बाध्यता थियो । तर, पसलेको आँखा छल्न नसक्दा उनका कलिका गालाले कठोर हातको चोट सहन पर्‍यो । “पसलेले मलाई सबैका अगाडि ‘ए भाइ’ भन्दै बोलाएर पड्याङ एक थप्पड लगायो,” करिब दुई दशक पुरानो त्यो घटना सम्झिँदै पत्रकार तथा साहित्यकार अश्विनी कोइराला भन्छन्, “त्यो थप्पडको चोट शारीरिकभन्दा बढी मानसिक थियो । त्यही दिनदेखि मेरो मनमा एउटा प्रश्नले डेरा जमायो, आफूले चाहेको किताब सजिलै र सम्मानपूर्वक पढ्न कहिले र कसरी पाइन्छ होला ?”

त्यही अनपेक्षित थप्पडले उनलाई साहित्यमा लाग्न प्रेरित गर्‍यो । पत्रकार बन्न हौस्यायो । सबैभन्दा महत्त्वपूर्ण सबैलाई सर्वसुलभ मूल्यमा चाहेका पुस्तक सजिलै उपलब्ध गराउने ‘प्यासन’लाई पछ्याउन उत्प्रेरित गर्‍यो । 

त्यही प्यासन पछ्याउँदै जाने क्रममा उनै कोइरालाले सन् २०२० देखि सञ्चालन गर्दै आएको शब्द मिडिया प्रालिले अनलाइन लाइब्रेरी सार्वजनिक गरेको छ । साहित्यलाई मूल विधा बनाई सञ्चार माध्यमका रूपमा सञ्चालन हुँदै आएको साहित्यपोस्ट डटकमले ‘साहित्यपोस्ट एप’ मार्फत अनलाइन लाइब्रेरी सुरु गरेको हो ।

टिम साहित्यपोस्ट

सपनाको बीजारोपण र पत्रकारिताको यात्रा

त्यो घटना कोइरालाको अचेतन मनमा यति गहिरोसँग बस्यो कि त्यसले उनको जीवनको बाटो नै तय गरी दियो । “सायद मेरो अचेतन मनमा किताब सर्वसुलभ हुनुपर्छ भन्ने कुरा परेको थियो होला,” उनी भन्छन् । विराटनगरमा छँदा पत्रकार बनेपछि सित्तैमा किताब र अरू उपहार पाइन्छ भन्ने सुनेकै भरमा उनी पत्रकारिता तर्फ आकर्षित भए ।

कान्तिपुर पब्लिकेसन्समा करिब २० वर्षको लामो कार्यकालले उनलाई पाठक र लेखक दुवैको मनोविज्ञान बुझ्न मद्दत गर्‍यो । ‘साप्ताहिक’ पत्रिकाको संयोजक हुँदा उनले युवा पाठकको रुचि बुझ्ने अवसर पाए । उनीहरू के पढ्न रुचाउँछन्, कस्ता विषयले उनीहरूलाई तान्छ भन्ने गहिरो ज्ञान हासिल गरे । 

कमजोर सामग्री हुँदा पत्रिकाको बिक्री ह्वात्तै घट्ने र गाली खानुपर्ने तीता अनुभवले उनलाई पठनीयताको महत्त्व सिकायो । ‘कोसेली’मा काम गर्न थालेपछि उनको भेटघाट देशका ठुला लेखक-कविसँग भयो । “मैले श्रद्धा गर्ने लेखक नै आफ्नो रचना छाप्न आउँदा मेरो सपना पूरा भएजस्तो लाग्थ्यो,” उनी सम्झिन्छन्, “त्यति बेलै म नारायण ढकाल दाइ जस्ता अग्रजलाई भन्थेँ, ‘साहित्यको मात्रै एउटा छुट्टै पत्रिका निकाल्ने कति रहर छ !’”

समयक्रममा नेपाली पत्रकारिता प्रिन्टबाट अनलाइनतर्फ मोडियो । उनका समकालीन साथीहरू धमाधम आफ्नै डिजिटल मिडिया खोल्न थाले । उनले पनि कान्तिपुर छोडेर साहित्यमा केन्द्रित अनलाइन खोल्न कम्मर कसे । तर, त्यसैबिच अनलाइनखबरबाट भाषा-साहित्य सम्पादकको प्रस्ताव आएपछि दुई वर्ष त्यहाँको अनुभव बटुले । प्रिन्ट र अनलाइन दुवै माध्यमको अनुभवले खारिएपछि उनले अन्ततः ‘साहित्यपोस्ट’ अनलाइन पत्रिका सुरु गरे । त्यही सञ्चार माध्यम अहिले साहित्यमा समर्पित नेपालको एक अग्रणी मञ्च बनेको छ ।

नेटफ्लिक्स र कुकु एफएमबाट प्रेरित ‘एप’को अवधारणा

साहित्यपोस्ट पत्रिका चलाउँदै गर्दा उनको मनमा त्यो पुरानो सपनाले फेरि आकार लिन थाल्यो । विश्व बजारमा भइरहेका परिवर्तनलाई उनले नजिकबाट नियालिरहेका थिए । भारतमा अडियो किताबको प्लेटफर्म ‘कुकु एफएम’ र भिडिओ स्ट्रिमिङ सेवा ‘नेटफ्लिक्स’को सफलताले उनलाई नयाँ बाटो देखायो ।

“मैले सोचेँ, यदि नेटफ्लिक्सले एउटै मासिक शुल्कमा सयौँ सिनेमा देखाउन सक्छ, कुकु एफएमले हजारौँ किताब सुनाउन सक्छ भने हामीले नेपाली साहित्यमा त्यस्तै किन गर्न नसक्ने ?” कोइरालाले आफ्नो अवधारणा प्रस्ट्याए, “त्यही अवधारणामा हामीले कमभन्दा कम मूल्यमा पाठकलाई हजारौँ किताबको डिजिटल लाइब्रेरी दिने योजना बनायौँ ।”

यो योजनालाई मूर्तरूप दिन भने सहज थिएन । ई-बुक र अडियो बुक भन्ने बित्तिकै प्रकाशन गृहमा ‘पाइरेसी’को डर र ‘अब छापिएको किताब कसले पढ्छ र ?’ भन्ने त्रास थियो । लेखकहरू पनि आफ्नो सिर्जनाको सुरक्षा र रोयल्टीबारे सशङ्कित थिए । तर, कोइरालाले लेखक तथा प्रकाशकलाई निरन्तर सम्झाउँदै, बुझाउँदै र विश्वासमा लिँदै किताबको डिजिटल अधिकार लिन थाले ।

कसरी काम गर्छ ‘साहित्यपोस्ट’ एपले ?

‘साहित्यपोस्ट’ एप एउटा डिजिटल लाइब्रेरी हो, जहाँ पाठकले वार्षिक शुल्क तिरेर उपलब्ध हजारौँ किताब पढ्न र सुन्न सक्छन् । सन् २०२१ मा पहिलो पटक रिलिज भएको एपले सुरुवाति समयमा साहित्यपोस्टले वेबसाइटमा राखेका सामग्री लिन्थ्यो । अर्थात् साहित्यपोस्टले जे सामग्री अनलाइनमा राख्यो, त्यही सामग्री वेबसाइटमा पनि पढ्न पाइन्थ्यो । 

पछि विस्तारै उक्त एपमा विभिन्न पुस्तक थपिँदै गए । चार वर्षको अवधिमा झन्डै २०० पुस्तकको अनलाइन तथा अडियो भर्सन राखेपछि गत आइतबार एप औपचारिक रूपमा सार्वजनिक भएको हो । कोइरालाका अनुसार एपमा हाल विभिन्न विधाका साहित्यिक पुस्तक राख्ने काम भइरहेको छ । “हामीले एक वर्षभित्रमा कम्तीमा हजार किताब पाठकलाई उपलब्ध गराउने लक्ष्य राखेका छौँ,” कोइराला दृढतापूर्वक भन्छन्, “पाठकले आज सदस्यता लिँदा जे देख्नुहुन्छ, भोलि त्योभन्दा धेरै किताब पाउनुहुन्छ । उहाँहरूको लाइब्रेरी दिनहुँ भरिँदै जान्छ ।”

साहित्यपोस्टले वेबसाइट मार्फत उपलब्ध गराउँदै आएका सामग्री पढ्न कुनै शुल्क तिर्नु पर्दैन । तर, भित्र भएका ई-बुक पढ्न र अडियोबुक सुन्नका लागि भने वार्षिक एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । “हामीले अहिले व्यक्तिगत रूपमा एक हजार रुपैयाँ र संस्थागत रूपमा ३६५ रुपैयाँमा मेम्बरशिपको सब्सक्रिप्सन दिइरहेका छौँ,” ई-बुक बारे कोइराला भन्छन्, “पुस्तक छन्, एक वर्षको अवधिमा एक हजार पुस्तक थप्ने लक्ष्यका साथ काम भइरहेको छ ।” 

यस एपमा व्यक्तिगत (Personal) र कर्पोरेट (Corporate) गरी दुई किसिमका सदस्यता योजना छन् । जोकोहीले यी दुई मध्ये कुनै एक सदस्यता लिन सक्छन् ।

तर, कर्पोरेट सदस्यता लिनका लागि न्यूनतम ११ ओटा मेम्बरशिप खरिद गर्नुपर्ने हुन्छ । ११ वा सोभन्दा बढी जतिसुकै सदस्यता लिँदा प्रति सदस्यता शुल्क ३६५ रुपैयाँ लाग्छ । शुल्क भुक्तानी गरेपछि कम्पनीले खरिद गरिएको सङ्ख्या बराबरको ‘मेम्बरशिप कोड’ उपलब्ध गराउँछ। सोही कोड प्रयोग गरी कुनै पनि व्यक्तिको अकाउन्टमा यो सेवा एक्टिभ गर्न सकिन्छ ।

“हाम्रो लक्ष्य स्कुल, कलेज, निजामती सेवा, संस्थान र कर्पोरेट हाउस हुन् । जहाँका कर्मचारीले सस्तोमा पठन संस्कृतिको विकास गर्न सकून्,” कोइराला भन्छन् ।

कसरी गर्ने एक्टिभ ?

 

कसरी तिर्ने शुल्क ?

लेखको रोयल्टी, पाइरेसी र कपीराइटको सवाल !

कोइरालाका अनुसार लेखकको सबैभन्दा ठुलो चिन्ताको रूपमा रहेको पाइरेसीलाई सम्बोधन गर्न एपमा कडा सुरक्षा प्रणाली अपनाइएको छ । यही सुरक्षालाई ध्यानमा राख्दै किताब डाउनलोड गर्न नमिल्ने र इन्टरनेटको पहुँचमा हुँदा मात्र पढ्न सकिने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

एप हाल प्रारम्भिक चरणमा रहेकाले स्क्रिनशट लिन भने सकिन्छ । तर, यो समस्यालाई पनि छिट्टै समाधान गरिने उनको भनाइ छ । “यति धेरै सुरक्षाका तह पार गरेर किताब चोर्ने क्षमता भएको मान्छेले किताबभन्दा बैँक ह्याक गर्नतिर लाग्ला,” उनी ठट्टा गर्छन् ।

कुनै पाठकले एपबाट किताब पढेबापत लेखकले रोयल्टी पाउँछन् । यसको प्रणाली रोचक छ । “कुनै पाठकले निश्चित समय (जस्तै २० मिनेट) लगाएर किताबको निश्चित प्रतिशत (जस्तै २० पेज) पढेपछि मात्र त्यसलाई ‘पढिएको’ मानिन्छ र लेखकको खातामा रोयल्टी जम्मा हुन्छ । लेखकले आफ्नो ड्याशबोर्डबाट मेरो किताब कतिले पढे भनेर पारदर्शी रूपमा हेर्न सक्नुहुन्छ,” कोइराला प्रस्ट्याउँछन् । 

पुस्तकमा सबैभन्दा बढी झमेला र विवाद कपीराइटको विषयमा हुन्छ । यसका लागि लेखक र प्रकाशकसँग अनुमति लिनुपर्ने हुन्छ । ‘उनी’, ‘जुकरबर्ग क्याफे’ र ‘प्रेमालय’ पुस्तक लेखिसकेका अनुभवी स्रष्टा एवम् प्रधान सम्पादक समेत रहेका उनलाई धेरै लेखक र प्रकाशन गृहले पुस्तक राख्ने अनुमति दिए । 

“भौतिक रूपमा भन्दा अनलाइनमा पढ्ने पाठकको सङ्ख्या दिनानुदिन बढ्दै छ,” कोइराला भन्छन्, “हाम्रै नियमित पाठक पनि हजारौँ छन् । ती पाठकसम्म पुस्तक पुर्‍याउने जिम्मा हाम्रो भयो । यसरी पाठकको ग्यारेन्टी, नयाँ प्लेटफर्मको महत्त्व बुझाएपछि धेरै लेखक राजी हुनुभयो ।”

नयाँ लेखकलाई मञ्च 

प्रकाशनमा हुने झन्झट र ठुलो लगानीबाट बच्न चाहने नयाँ लेखकका लागि ‘प्रिन्ट अन डिमान्ड’ ( मागअनुसार छपाइ) एक उत्तम सुविधा हो । कोइरालाका अनुसार लेखकले एपबाट सहजै करिब २०-२५ हजार रुपैयाँको न्यूनतम शुल्कमा आफ्नो ई-पुस्तक प्रकाशन गर्न सक्छन् र पुस्तक विमोचनका लागि १०-१५ प्रति मुद्रित किताब पनि प्राप्त गर्न सक्छन् ।

यसैगरी बजारमा सहजै उपलब्ध नहुने पुराना तथा दुर्लभ पुस्तक पनि एपबाटै अर्डर गर्न मिल्ने सुविधा थप्ने तयारी भइरहेको छ । 

चुनौती र भविष्यको बाटो

यो महत्त्वाकाङ्क्षी परियोजना चुनौती रहित भने छैन । पुराना किताबलाई डिजिटल बनाउन देवनागरी लिपि ‘टाइप’ नै गर्नुपर्ने बाध्यता छ । यो निकै समय लाग्ने र खर्चिलो काम हो । यसका लागि टाइपिस्ट, प्रुफरिडर र अडियो रेकर्डिङ गर्ने करिब २५ जनाको टोलीले निरन्तर काम गरिरहेको छ ।

भविष्यमा पाठकले किताबबारे समीक्षा लेख्ने, लेखकसँग सिधै एपबाटै अन्तरक्रिया गर्ने र भर्खरै बजारमा आएका नयाँ किताबलाई प्रिमियम शुल्क तिरेर किन्ने सुविधा पनि थपिने योजनामा छ । “यो त हाम्रो प्रारम्भिक मोडेल मात्र हो । हामी पनि समयसँगै परिष्कृत हुँदै जानेछौँ,” कोइराला भन्छन् ।

“लेखकले हजार प्रति किताब छाप्दा हजार पाठक खोज्नुपर्छ । तर हाम्रो प्लेटफर्ममा आउँदा हामी हजारौँ पाठकको ग्यारेन्टी दिन्छौँ । यो पैसा कमाउनेभन्दा पनि पठन संस्कृति फैलाउने हाम्रो रहर र अभियान हो ।” कोइरालाका अनुसार यो एप विशेषगरी पुस्तक खरिदका लागि आर्थिक रूपमा सहज नभएका, भौगोलिक रूपमा टाढा रहेका वा व्यस्त जीवनशैलीका कारण पुस्तकालयसम्म पुग्न नसक्ने पाठकका लागि अत्यन्तै उपयोगी छ । 

उनी थप्छन्, “जन्मदिन जस्ता अवसरमा भौतिक पुस्तक उपहार दिनुको सट्टा ‘साहित्यपोस्ट’को मेम्बरशिप कोड दिएर पूरै ई-लाइब्रेरी नै उपहारमा दिन सकिने अवधारणा हामीले ल्याएका छौँ ।”

बालबालिकाको पठन संस्कृतिबारे उनको तर्क छ, “उनीहरूलाई स्मार्टफोनबाट वञ्चित पठन संस्कृति विकास गर्न सकिँदैन । बरु, मोबाइलमै ई-लाइब्रेरी उपलब्ध गराएर उनीहरूलाई पढ्न प्रेरित गर्न सकिन्छ ।” उनले सबै वर्ग र उमेर समूहलाई उपयुक्त हुने पुस्तक निरन्तर थप्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ ११:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । टेस्ला अन्ततः भारतीय बजारमा प्रवेश गरेको छ ।  मङ्गलबार मुम्बईमा आफ्नो पहिलो शोरुमको रूपमा एक्सपिरियन्स सेन्टर खोलेर कम्पनी भारतमा भित्रिएको हो । 

शोरुम बान्द्रा कुर्ला कम्प्लेक्सको मेकर म्याक्सिटी मलमा ४,००० वर्ग फुटमा फैलिएको छ । टेस्लाले भारतमा आफ्नो इलेक्ट्रिक एसयूभी मोडल वाईलाई करिब ७० हजार अमेरिकी डलर (६० लाख भारु अर्थात् करिब ९६ लाख रुपैयाँ) मूल्यमा सार्वजनिक गरेको छ ।

यो मूल्य अन्य प्रमुख बजारहरूको तुलनामा निकै महँगो हो । विद्युतीय सवारी आयातमा भारत सरकारले लगाएको चर्को भन्सारका कारण टेस्ला महँगो पर्न गएको बताइएको छ । जसको कम्पनीका सीईओ एलन मस्कले लामो समयदेखि आलोचना गर्दै आएका छन् । 

टेस्लाका प्रमुख वित्तीय अधिकारी वैभव तनेजाले केही समयअघि भारतको ७० प्रतिशत ईभी आयात शुल्क र लगभग ३० प्रतिशल विलाशिता करको बाबजुद त्यहाँको बजारलाई निकै गरम रहेको बताएका थिए।

भारतीय बजारका लागि टेस्ला मोडेल वाई रियरह्विल ड्राइभको मूल्य ५९ लाख ८९ हजार भारु (लगभग ६८ हजार अमेरिकी डलर अर्थात् करिब ९६ लाख रुपैयाँ) तोकिएको छ । त्यस्तै मोडेल वाई लङ-रेन्ज रियर-ह्विल ड्राइभको मूल्य ६७ लाख ८९ हजार भारु (लगभग ७९ हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ९ लाख रुपैयाँ) रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

जसमा भारतले लगाएको १००% भन्दा बढीको ट्यारिफ र प्रदेश स्तरमा लाग्ने अतिरिक्त शुल्क समेत समावेश छ । टेस्लाको मूल्य अमेरिकामा ४४ हजार ९९० अमेरिकी डलर ( ७ हजार ५०० सङ्घीय कर क्रेडिटपछि ३७ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ५१ लाख ३७ हजार रुपैयाँ), चीनमा ३६ हजार ७०० अमेरिकी डलर (करिब ५० लाख रुपैयाँ) र जर्मनीमा ५३ हजार ७०० अमेरिकी डलर (करिब ७३ लाख ५० हजार रुपैयाँ) बाट सुरु हुन्छ । कम्पनीले फुल सेल्फ-ड्राइभिङ (FSD) सुविधाका लागि ६ लाख भारु (नौ लाख ६० हजार रुपैयाँ) थप शुल्क तोकेको छ । 

मुम्बईका आठ फरक स्थानहरूमा र नयाँ दिल्ली वरपर टेस्लाका सुपरचार्जर राखिने बताइएको छ । कम्पनीले भारतमा बीएमडब्लू, मर्सिडीज-बेन्ज र दक्षिण कोरियाको किया जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

टेस्लाले लामो समयदेखि भारतलाई विद्युतीय सवारीमा लाग्ने आयात शुल्क कम गर्न लबिङ गरिरहेको छ । भारतीय अधिकारीहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनसँग द्विपक्षीय व्यापार सम्झौता अन्तर्गत शुल्क घटाउन वार्तामा छन् । सन् २०१८ मा भारतले नयाँ ईभी नीति घोषणा गरेको थियो, जसले स्थानीय आपूर्ति श्रृंखला निर्माण गर्न प्रतिबद्ध कम्पनीहरूका लागि शुल्क घटाउने वाचा गरेको थियो । 

यद्यपि, टेस्लाले भारतमा स्थानीय उत्पादन प्लान्ट निर्माण गर्न कुनै प्रतिबद्धता जनाएको छैन । टेस्लाका अमेरिकी कारखानाले हाल भारत र नेपालमा प्रयोग हुने दाहिने हाते ड्राइभ (राइट-ह्यान्ड ड्राइभ) का सवारी साधनहरू उत्पादन गर्दैनन् ।

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १०:१३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट