
काठमाडौँ । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ईकमर्स प्लेटफर्म दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियान घोषणा गरेको छ । २ साउनदेखि १५ साउनसम्म चल्ने यो अभियानको एक आकर्षणको रूपमा १९ हजार ९९९ रुपैयाँ मूल्यको ‘अल्टिमा वेभबार साउन्डबार १२०’ चार जना भाग्यशाली ग्राहकले मात्र ८ रुपैयाँमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत २ र ३ साउनमा दुई-दुई जनाले ८ रुपैयाँमा साउन्डबार किन्नसक्ने कम्पनीको भनाइ छ । यसका साथै, ‘अल्टिमा एटम ८२० इयरबड्स’ पनि अभियान अवधिभर केवल एक हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ । अरू बेला यसको मूल्य दुई हजार ९९९ रहेको छ ।
कम्पनीले पावर बैंकहरू बुस्ट १०के मिनी, बुस्ट २०के प्रो र बुस्ट ३०के प्रो पनि भारी छुटसहित पुनः स्टकमा ल्याएको जनाएको छ । साथै, ‘टर्बोचार्ज २०के’ नामक नयाँ पावर बैंक पनि यसै ‘महाबचत बजार’ अभियानमार्फत सार्वजनिक गरिएको छ ।
अभियानमा अल्टिमाका स्मार्टवाच, इयरबड्स, स्पिकर, पावर बैंक लगायतका उत्पादनमा ६० प्रतिशतसम्मको सिधा छुट रहेको र दराजको ‘भाउचर म्याक्स’ तथा बैंक भाउचरहरू प्रयोग गर्दा यो छुट ८० प्रतिशतसम्म पुग्नसक्ने कम्पनीले बताएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १२:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जाल टिकटक र फेसबुकमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन्द्र शाह (बालेन) सँग माफी मागेको दाबी गरिएको एउटा भिडिओ भाइरल बनिरहेको छ ।
उक्त दाबीलाई विश्वासिलो देखाउन भिडिओमा विभिन्न क्लिपहरू जोडिएका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त भिडिओलाई भ्रामक ठहर्याएको छ । उपप्रमुख डङ्गोलले महानगरको बजेट ल्याउन ढिलाइ भएकोमा नगरवासीसँग माफी मागेको भनाइलाई तोडमोड गरेर बालेनसँग माफी मागेको जस्तो देखाइएको हो ।
दाबी
टिकटकमा अङ्केत युजरनेम र बीपी यादव नाम भएका प्रयोगकर्ताको अकाउन्टबाट १४ जुलाई २०२५ (३० असार २०८२) का दिन क्याप्सनमा ‘सही’ लेखिएको एउटा भिडिओ अपलोड भयो । भिडिओमा लेखिएको छ, “बल आखा खुलियो, सुनिता ज्यु लाई ।”
त्यसको तलपट्टि लेखिएको छ, “बालेन सरकार संग माफी माग्दै । सबै जना एक जुट भएर अगाडी बढ्नु पर्छ ।”
भिडिओमा सुनिता डङ्गोलले “बैठकका सभाध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह ज्यू, मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्यूहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ । हाम्रो सहयात्रा तीन वर्ष पुगिसकेको छ । जनताका अपेक्षाहरू धेरै छन् । अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याए सम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहन्छु । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुदै गइरहेको छ । समस्याको समाधान पनि निक्लदै गइरहेको छ र आज हामी फेरि एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ ।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे ३४ हजार बढी लाइक, ८०० बढी कमेन्ट र ८४२ पटक शेयर भएको छ भने ६ लाखभन्दा बढी भ्युज छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनसट ।
अनुसन्धान
बीपी यादव नामक प्रयोगकर्ताले टिकटकमा राखेको भिडिओपछि टेकपाना फ्याक्ट चेक डेस्कले त्यस्तै प्रकृतिका अन्य भिडिओ खोज्यो । त्यस क्रममा सोमबार मध्यराति ‘एजीएस माउन्टेन’ नामक टिकटक अकाउन्टले भिडिओ राखेको फेला पर्यो । उक्त भिडिओको माथिपट्टि ‘३ महिना अघी’ लेखिएको छ । बीचमा ‘अहिलेः’ लेखिएको छ र उपप्रमुख सुनिता डङ्गोल देखिने नयाँ भिडिओ राखिएको छ ।
पहिलो भिडिओमा सुनिता डङ्गोलले “स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ । काममा इमान्दारीता हुनुपर्छ” भनेको सुनिन्छ । यो वास्तविक भिडिओ हो । त्यसभन्दा तल अर्को नयाँ भिडिओ राखेर देखाइएको छ । उक्त भिडिओमा उपप्रमुख डङ्गोलले “काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह जू, मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्यूहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ ।” भनेको देखाइएको छ । यो फ्याक्टचेक सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ३१ हजार बढी लाइक, ९५२ कमेन्ट, २८९४ बढी शेयर र पाँच लाख ५० हजारभन्दा बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
यही भिडिओ फेसबुकमा ‘युनिक लम्साल’ नामक प्रयोगकर्ताले पनि राखेका छन् । सो भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेन लाई घुडा टेकाउछु भन्ति अहिले आफैंले घुडा टेकिछे : केपी को नातिनी ।” यो सामग्री तयारी गर्दासम्म यसमा २८ हजार बढी लाइक, ८०७ कमेन्ट र ७ लाख १५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
राजु अधिकारी नामक अर्का फेसबुक प्रयोगकर्ताले भिडिओ राख्दै लेखेका छन्, “बालेनलाई घुडा टेकाउछु भन्नेको हालत माफि मा सिमित रहयो । जब आफ्नो बौधिक्ताले सक्दैननि त्यहा बालेन काफि छ ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फेसबुकमा ‘बालेन’, ‘सुनिता’, ‘माफी’ जस्ता कीवर्ड सर्च गर्दा यस्ता तमाम भिडिओ भेटिन्छन् । भिडिओ त्यही छ, तर राख्ने प्रयोगकर्ता अनेक छन् । ती भिडिओ र पोस्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यी भिडिओको दाबी प्रमाणित गर्न टेकपाना फ्याक्ट चेक डेस्कले आइतबारको काठमाडौँ महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडिओ विश्लेषण गर्यो । एक घण्टा २५ मिनेट बढीको लाइभ भिडिओमा उपप्रमुख डङ्गोल ५० मिनेट ३ सेकेन्डदेखि बोल्न सुरु गर्छिन् ।
५५ मिनेट ५ सेकेन्डदेखि ५० मिनेट १० सेकेन्डसम्म गरी उपप्रमुख डङ्गोलले प्रमुख बालेनलाई सम्बोधन गर्न जम्मा पाँच सेकेन्ड खर्चिन्छिन् । त्यसपछि नगरसभाका सदस्य, बैठकका सचिव, कर्मचारी लगायतलाई सम्बोधन गर्छिन् । यति भनिसकेपछि उनी सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्छिन् ।
यसरी प्रमुख बालेनले आर्थिक वर्ष २०८२/०८३ बजेट तथा तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ प्रस्तुत गर्न अनुरोध गरेपछि उपप्रमुख डङ्गोल १ घण्टा २४ मिनेट ३० सेकेन्डसम्म बोल्छिन् । उनको वक्तव्य कूल ३४ मिनेट २७ सेकेन्डसम्म चल्छ । त्यस क्रममा उनले उच्चारण गरेको ‘क्षमा याचना’ शब्द ५२ मिनेट १६ सेकेन्डमा सुनिन्छ ।
जहाँ उनले समयमै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा आफ्नो व्यक्तिगत र नगरसभाका सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा गरेकी छिन् ।
यसरी बालेनलाई सम्बोधन गरेपछिको भाग हटाएर सोझै बालेनसँग माफी मागेको देखाउन भिडिओ तोडमोड गरेको पाइयो ।
हेर्नुहोस् वास्तविक भिडिओ पनि ।
यस्तो छ उपप्रमुख डङ्गोलले सम्बोधनदेखि क्षमा याचना गरेकोसम्म बोलेको स्क्रिप्टः
ज्योज्योलप्पा, नमस्कार । बैठकका सभा अध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह ज्यु,नगर सभाका सदस्य ज्युहरू, बैठकका सचिव ज्यु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरू, विभिन्न क्षेत्रको प्रतिनिधित्व गरी नगर सभामा उपस्थित रहनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरू, साङ्केतिक भाषाका माध्यम र अन्य माध्यमबाट यस कार्यक्रमलाई सम्प्रेषण गर्नुहुने सञ्चारकर्मी मित्रहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्दछु । सर्वप्रथम यसै महत्वपूर्ण अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफ्नो अमूल्य जीवन आहुति दिनुहुने अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज हामी काठमाडौँ महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उपस्थित भएका छौँ । यस बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरी छलफल गर्ने क्रममा छौँ । सभा अध्यक्ष ज्यु तथा नगरसभाका सदस्य ज्युहरूआगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समय सीमाभन्दा हामी केही ढिला भएका छौँ । विगतका दिनहरूमा हामी बीच केही अविश्वास, केही तीता मिठा अनुभवहरूप्रस्तुत भए । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गइरहेको छ । समस्याको समाधान पनि निक्लँदै गइरहेको छ । र आज हामी फेरि एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ । समयमै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र त्यसैगरी बजेट सभामा पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्युहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ । ढिलै भए पनि आगामी आर्थिक वर्षको वार्षिक…
माथिको स्क्रिप्टमा बोल्ड गरिएको भागलाई जोडेर भिडिओ बनाइएको देखिन्छ ।
यस बाहेक कुनै पनि सञ्चार माध्यमले उपप्रमुख डङ्गोलले माफी मागेको भन्ने विषयमा समाचार राखेका छैनन । भाइरल भएको भिडिओमै पनि असान्दर्भिक र पुराना क्लिप बिरोलका रूपमा प्रयोग गरिएका छन् भने उपप्रमुख डङ्गोलले बोलेको सम्बोधनको भागबाट बालेन बाहेक अरूलाई सम्बोधन गरेको भाग हटाइएको छ र भाषणको सुरुवात बिचैमा अमिल्दो तरिकाले काटेर राखेको सुनिन्छ । यी विभिन्न पक्षलाई विश्लेषण गर्दा उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेनसँग माफी मागेको जस्तो देखाउन भिडिओ एडिट गरिएको छ ।
दाबी
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन्द्र शाह (बालेन) सँग माफी मागिन् !
दाबीकर्ता
बीपी यादव, एजीएस माउन्टेन नामक टिकटक आईडी र युनिक लम्साल, राजु अधिकारी लगायतका फेसबुक प्रयोगकर्ता ।
तथ्य
भाइरल भिडिओमा जस्तो उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन शाहसँग माफी मागेकी छैनन् । उनले काठमाडौँ महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभन्दा ढिलो पेस भएकोमा महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गरेकी थिइन् । भाइरल भिडिओमा, उनले भाषणको सुरुमा प्रमुख बालेनलाई सम्बोधन गरेको अंश र करिब दुई मिनेटपछि बजेट ढिलाइबारे क्षमा मागेको अंशलाई जोडेर (एडिट गरेर) बालेनसँगै माफी मागेको जस्तो देखाइएको छ ।
निष्कर्ष
सुनिता डङ्गोलले बालेनसँग माफी मागेको भनी भाइरल भएको दाबी गलत र भ्रामक छ । भिडिओलाई तोडमोड (एडिट) गरेर उनले बजेट ल्याउन ढिलाई भएकोमा नगरवासीसँग मागेको माफीलाई बालेनसँग मागेको जस्तो देखाइ भ्रम फैलाइएको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १२:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अछामका दीपक साउदको फेसबुक रिल्सले एक दिनमै पाँच करोड ५८ लाखभन्दा बढी भ्युज बटुलेको छ । जम्मा १३ सेकेन्ड लामो उनको कमेडी भिडिओको क्लिपले छोटो समयमै यति धेरै भ्युज पाएको हो ।
हाल दिल्लीमा सामान्य मजदुरी गर्दै आएका उनले रमाइलोका लागि एक भिडिओ बनाएका थिए । जसमा दुई जना हिलाम्य सडकको छेउमा झगडा गरिरहेका देखिन्छन् । सेतो कुर्तामा रहेका दीपक छुट्याउन जाँदा उल्टै हिलोमा पछारिन्छन् र अनौठो भावसहित फिर्ता हुन्छन् ।
कुनै सम्वाद नसुनिने भिडिओमा केही साउन्ड इफेक्ट मात्रै प्रयोग गरिएको छ । विभिन्न कमेडी भिडिओ क्लिप तयार पारेर राखिरहने उनको फेसबुकमा ४ लाखभन्दा बढी फलोअर छन् ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १३:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । भोलि १ साउनदेखि देशका दुई ठुला वालेट कम्पनी आईएमई पे र खल्ती मर्ज हुँदैछन् । मर्जरपछि आधिकारिक नाम ‘खल्ती’ नै रहने गरी सञ्चालन हुने वालेटमा हाल कम्पनीले डेटाहरू स्थानान्तरण गर्ने काम गरिरहेको छ ।
यो मर्जरसँगै खल्तीका भेरिफाइड प्रयोगकर्ताको सङ्ख्या ५० लाखभन्दा बढी पुग्ने बताइएको छ । योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा खल्ती स्थापित हुने दाबी गरिएको छ ।
के तपाईँ खल्ति र आईएमई पे दुवै वालेट चलाउनु हुन्छ वा आईएमई पे मात्रै प्रयोग गरिरहनु भएको छ ? वालेट कसरी मर्ज हुन्छ अनि आफूले के गर्नुपर्छ भन्ने सोचिरहनु भएको होला । आज हामी आईएमई पे वालेटलाई खल्तीमा मर्ज गर्ने तरिका बताउँदै छौँ ।
तर यहाँ बुझ्नुपर्ने कुरा भनेको यदि तपाईँ खल्ती एप मात्रै प्रयोग गरिरहनु भएको छ भने छुट्टै केही गरिरहनु पर्दैन । आईएमई पेमा भएका अतिरिक्त फिचहरू पनि नयाँ अपडेटसँगै खल्तीको विद्यमान एपमै प्रयोग गर्न पाउनुहुनेछ ।
तर यदि तपाईँ आईएमई पे वालेट मात्र प्रयोग गर्नुहुन्छ वा दुवै वालेट प्रयोग गर्नुहुन्छ भने तपाईँले आफ्नो आईएमई पेको खाता खल्तीमा मर्ज गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले दुवै वालेटमा मर्जको विकल्प दिइसकेका छन् । मर्जर भइसकेपछि तपाईँको आईएमई पेमा भएको रकम, ब्याज र रिवार्ड पोइन्ट स्वत: खल्तीमा आउने छ ।
आईएमई पे वालेटलाई खल्तीसँग मर्ज गर्ने तरिका
– सुरुमा आफ्नो आईएमई पे एप खोल्नुहोस् । त्यहाँ ‘आफ्नो IME Pay Wallet’ लाई आजै Khalti Wallet सँग मर्ज गर्नुहोस्’ भनेर लेखिएको सन्देशसँगै भएको ‘merge now’ विकल्पमा ट्याप गर्नुहोस् । यदि खल्ती एपबाट मर्ज गर्न चाहनुहुन्छ भने एपभित्र गएर स्क्रिनको सबैभन्दा माथि दायाँतिर रहेको आईएमई पेको लोगोमा ट्याप गर्नुहोस्
– यसपछि स्क्रिनमा खल्ती एपमा मर्ज भइसकेपछि हुने फाइदाहरूका विषयमा जानकारी दिइएको पेज खुल्छ । उक्त पेजको सबैभन्दा तल दायाँतिर भएको रातो एरोमा ट्याप गर्नुहोस् ।
– अब तपाईँको खाताको विवरण; नाम, नम्बर, ईमेल, जन्म मिति सहित तपाईँका परिचयपत्रहरू देखा पर्नेछन् । त्यहाँ स्क्रिनको तल भएको ‘Proceed’ आइकनमा ट्याप गर्नुहोस् ।
– यति गरिसकेपछि खल्ती एपतर्फ रिडाइरेक्ट गरिन्छ । त्यहाँ पनि ‘Proceed’ अप्सनमा ट्याप गर्नुहोस् ।
– अब तपाईँको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ । उक्त कोड राखेर ‘Continue’ अप्सनमा ट्याप गर्नुहोस् ।
– ओटीपी भेरिफाई भइसकेपछि तपाईँको डेटा माइग्रेट हुनका लागि तयार भयो भन्ने पेज देखिन्छ । तर यदि तपाईँको डेटा एकअर्कासँग मेल खाएन भने तल तस्बिरमा देखाइएको जस्तो पेज खुल्छ । त्यहाँ गएर तपाईँले म्यानुअल भेरिफिकेसनका लागि अनुरोध गर्न सक्नुहुन्छ । यसका लागि भने केही समय लाग्नसक्छ । तपाईँको अुनरोधको आधारमा कम्पनी प्रतिनिधिले तपाईँलाई सम्पर्क गर्नेछन् ।
– डेटा मेल खाएको खण्डमा भने अन्तिम पटक आफ्नो विवरण रुजु गर्न अनुरोध गरिन्छ । सबै विवरण जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
– यति भएपछि पुन: स्क्रिनमा आईएमई पेबाट खल्तीमा के के माइग्रेट भयो भन्ने जानकारी आउँछ । जहाँ वालेटको रकम, केवाईसी विवरण, कारोबारको विवरण र रिवार्ड पोइन्ट रहनेछन् । अब फेरि ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
– स्क्रिनमा खाता मर्ज गर्ने सहमतिको रूपमा एउटा पपअप सम्झौतापत्र जस्तो आउँछ, जसमा भएको दुवै अप्सनमा टिक गरेर ‘confirm’ मा ट्याप गर्नुहोस् ।
– अब ‘Start the Journey’ मा ट्याप गर्नुहोस् । यसरी तपाईँले आफ्नो आईएमई पे वालेटको खाता खल्तीमा मर्ज गर्न सक्नुहुन्छ ।
अहिलेसम्म युजर इन्टरफेसमा केही परिवर्तन देखिएको छैन । यद्यपि एपमा केही नयाँ फिचरहरू थप भएको देख्न सकिन्छ । खल्ती प्रयोगकर्ताहरूका लागि खास केही नौलो देखिने कुराहरू छैनन् । यद्यपि आफ्नो प्रोफाइल आइकनसँगै आईएमईपेको ब्याज रकम देख्न सकिनेछ । योसँगै अन्य फिचरहरू पनि थप हुने वा इन्टरफेस परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १६:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । जुम्ला जिल्लामा पहिलो पटक विद्युतीय भ्यानको सेवा सुरु भएको छ । दिगोले जुम्लाका सार्वजनिक रुटका लागि नौ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो । यी भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने बताइएको छ ।
चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडी सँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । थप चार्जिङ स्टेसनहरू जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको कम्पनीको भनाइ छ ।
एक विज्ञप्ति जारी गर्दै दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु कम्पनीको लागि गर्वको कुरा भएको बताएका छन् । “यस उपलब्धिले
विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरी नै देशभरि विद्युतीय सवारीसाधनको पहुँचलाई विस्तार गरिरहने छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १८:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । काठमाडौँको पुरानो सिनामंगल क्षेत्रमा अवैध रूपमा विद्युतीय उपकरणहरू बिक्री वितरणमा संलग्न एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु वाङ (YU WANG) रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पुरानो सिनामंगलको पञ्चमुखी चोकस्थित पाँच तल्ले घरमा छापा मारेको थियो । प्रहरीले वाङबाट कुनै इजाजत नलिई राजस्व छली गरी भण्डारण तथा बिक्री वितरण गरिएका सामानहरू बरामद गरेको जनाएको छ ।
बरामद सामग्रीमा ल्यापटपका ब्याट्री, पाटपुर्जा, सीसी क्यामेरा, एचडी क्यामेरा, स्क्रुड्राइभर सेट, स्मार्ट वाच, वाइफाइ राउटर एन्टेना, चाइनिज ब्लाङ्केट लगायतका दुई करोड १९ लाख ७६ हजार ७०० रुपैयाँ बराबरका सामान रहेका छन् ।
प्रहरीका अनुसार यु वाङले कुनै कम्पनी वा कार्यालयको दर्ता बिना नै अवैध रूपमा कच्चा पदार्थ ल्याइ सामग्री उत्पादन तथा वितरण गरिरहेका थिए । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ २०:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्नेगरी ‘मनसुन धमाका सेल’ को घोषणा गरेको छ । ‘अफरको चट्याङ, छुटको बतास!’ भन्ने नारासहित ल्याइएको यो अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री र १० हजार रूपैयाँ बराबरको गिभअवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने
अभियानअन्तर्गत दुई हजार ४९९ रुपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइने कम्पनीको भनाइ छ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि उपलब्ध हुने बताइएको छ ।
यसका साथै मोबाइलमाण्डुको फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअवे गरिनेछ । यसमा सहभागी हुन ग्राहकले #MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal प्रयोग गरी आफ्नो पोस्ट शेयर गर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १९:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले १३ वटा ठूला रेफरल अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो।
यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरुले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो। त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालहरु अन्योलमा परेका थिए।
स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, उपत्यका बाहेकका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ। साथै, स्थानीय तहहरुलाई चाँडोभन्दा चाँडो छुट्टै प्रथम सेवा विन्दुका रूपमा अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।
प्रथम सेवा विन्दु कायम रहने १३ अस्पताल
१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
३. नारायणी अस्पताल, बीरगञ्ज
४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
८. जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
१०. भेरी अस्पताल, नेपालगञ्ज
११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । जागिरका लागि आवेदन दिएकामध्ये झन्डै ४९ हजार आवेदकको फोन नम्बरसहितको संवेदनशील व्यक्तिगत विवरण नेपाल बैँक लिमिटेडको वेबसाइटमा सार्वजनिक भएको पाइएको छ । बैँकले सन् २०२१ देखि आवेदन स्वीकृत भएका आवेदकको सूची सार्वजनिक गर्दा ती विवरण पनि समावेश भएको भेटिएको हो ।
बैँकको वेबसाइटमा रहेको ‘करियर’ पेजमा राखिएको पुरानो सूचीमा आवेदकको नाम, लिङ्ग, स्थायी जिल्ला, सम्पर्क मोबाइल नम्बर, बाबु, आमा र बाजेको नाम जस्ता अति संवेदनशील निजी विवरण जोकोहीले सहजै हेर्न सक्ने अवस्थामा भेटिएका छन् । सार्वजनिक भएका मध्ये २९ ओटा सूचनामा यी विवरण समावेश छन् । त्यसमध्ये पनि चार ओटा सूचनामा २,९७० आवेदकको जन्ममिति सहितका विवरण रहेको देखिन्छ ।
यस विषयमा टेकपानाले कुरा गर्दा बैँकले ती पुराना विवरण हटाउने जानकारी दिएको छ । बैँकका प्रवक्ता होमबहादुर खड्काले गोपनीयताको विषयलाई ध्यानमा राखेर नै नयाँ सूचीबाट फोन नम्बर हटाइएको स्वीकार गर्दै भने, “हामीले पनि दुरुपयोग हुने जोखिम देखेर सम्पर्क नम्बर नराख्ने अभ्यास सुरु गरेका छौँ । अब हामी पुराना सबै विवरण पनि हटाउँछौं ।” आर्थिक वर्ष २०८१/८२ को नयाँ विज्ञापनमा भने बैँकले आवेदकको सम्पर्क नम्बर हटाएर नाम, थर र तीन पुस्ताको विवरण मात्र राख्न थालेको छ ।
यसरी हजारौँ व्यक्तिको जन्म मिति र फोन नम्बरसहितको विवरण सार्वजनिक हुँदा ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ उल्लङ्घन हुने देखिएको छ । ऐनको दफा २ (ग) अनुसार ‘वैयक्तिक सूचना’ भन्नाले कुनै पनि व्यक्तिको जन्म, उसँग सम्बन्धित ठेगाना, टेलिफोन वा विद्युतीय ठेगाना (ईमेल एड्रेस), राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर जस्ता विवरणलाई मानिन्छ ।
ऐनले स्पष्ट रूपमा व्यक्तिको जन्म मिति र फोन नम्बरलाई ‘वैयक्तिक सूचना’ मानेको छ र सम्बन्धित व्यक्तिको मन्जुरी विना यस्ता सूचना सार्वजनिक गर्नु वा कसैलाई उपलब्ध गराउनुलाई दण्डनीय कसुर मानेको छ । साथै उक्त ऐनले व्यक्तिगत विवरणको संरक्षणलाई सुनिश्चित गरेको छ ।
यसरी रोजगारीका लागि आवेदन दिने आवेदकको सम्पर्क नम्बर सहितका विवरण बाहिरिँदा त्यसले अनलाइन ठगी, फिशिङ, स्पाम र अन्य साइबर अपराधको जोखिम निम्त्याउने चिन्ता थपिएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फोन नम्बर र व्यक्तिगत विवरणको आधारमा विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको बताए ।
उनले भने, “सार्वजनिक भएको फोन नम्बरबाट फिशिङ जस्ता आक्रमण हुन सक्छन् । जागिर नपाएर बसेका व्यक्तिलाई लक्षित गरी ‘अर्को पटक पास गराइदिन्छु’ वा ‘विदेशमा राम्रो अवसर छ’ भनेर नयाँ किसिमका स्क्याम सञ्चालन हुन सक्छन् ।” अवस्थीले पारदर्शिताका लागि राम्रो मनसायले गरिएको कामले पनि गम्भीर नकारात्मक असर पार्न सक्ने भन्दै आवेदकलाई मात्र थाहा हुने ‘सिम्बोल नम्बर’ वा ‘कोड’ प्रयोग गर्नु सुरक्षित विधि हुने सुझाए ।
साइबर सुरक्षा अनुसन्धानकर्ता विजय लिम्बुले यसरी फोन नम्बर सार्वजनिक गर्नु अनलाइन सुरक्षाका हिसाबले जोखिमयुक्त भएको र यो ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ को स्पष्ट उल्लङ्घन भएको बताए । तर, कतिपय सरकारी निकायका आफ्नै नियमले विवरण सार्वजनिक गर्नुपर्ने बाध्यता सिर्जना गर्दा कानुनी विरोधाभास देखिएको उनको भनाइ छ ।
“यो समस्या नेपाल बैँकको मात्र होइन, यो एक प्रणालीगत कमजोरी हो,” लिम्बुले अगाडि भने, “एकातिर गोपनीयताको कानुन छ, अर्कोतिर सरकारी व्यवस्था नै सार्वजनिक गर्नुपर्छ भन्छ । यसको नियमन गर्न र कारबाहीको अधिकारसहितको ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना नभएसम्म यस्ता समस्या दोहोरिई रहन्छन् ।”
सरकारी कर्मचारी भर्नाको मुख्य निकाय लोक सेवा आयोगले भने आवेदकको फोन नम्बर कहिल्यै सार्वजनिक नगर्ने बताएको छ । आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार आवेदकको पहिचानका लागि नाम, ठेगाना र बाबु-बाजेको नाम मात्र पर्याप्त हुने भएकाले फोन नम्बर जस्ता संवेदनशील विवरण गोप्य राखिन्छ ।
“आवेदकको फोन नम्बर प्रकाशन गर्नुपर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था छैन,” होमेगाईले भनिन्, “फोन नम्बर आजको दिनमा अति नै संवेदनशील विषय हो । हामी यो कहिल्यै प्रकाशन गर्दैनौँ ।”
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १८:३९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं।’
हलै स्वास्थ्य बीमा बोर्डले निजी तथा सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो ।
तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थालेका हुन्।
अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराउनेछ।
मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा बिन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएका छन्।
‘स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उनले भनेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील रहेको भन्दै मन्त्री पौडेलले यस कार्यमा प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्ने समेत उल्लेख गरेका छन् ।
सामाग्री श्रोत :
swasthyakhabar