२०८२ भाद्र ३१ मंगलवार
२०८२ भाद्र ३१ मंगलवार

जेनेभा। संयुक्त राष्ट्रसंघले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ।

करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो।’

इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उनले भने, ‘यो एक देश वा देश भित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा छ।’

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजा पट्टीमा मानवीय सहायता पुर्‍याउन संयुक्त राष्ट्रसङ्घले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गरे।

इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकाबन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ।

लार्कका अनुसार इजरायलले नाकाबन्दी आंशिक रुपमा हटेपछि ९०० ट्रक मानवीय सहायताका ट्रकलाई गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिएको छ।

तर अहिलेसम्म गाजातर्फ ६०० वटा ट्रक मात्र उतारिएका छन् र सुरक्षाका कारण थोरै सङ्ख्यामा ट्रक लोड गरिएको छ।

‘यो सीमित सङ्ख्यामा ट्रकहरू आइरहेका छन्। यो न्यूनतम खानाको आवश्यकता पूर्ति गर्ने आपूर्ति हो,’ लार्कले भने।


सामाग्री श्रोत :

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको दाबी गरेका छन् । आफ्नो पार्टीका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको उनले सुनाए ।

“बुधबारदेखि सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, म लगायतका सांसद र साथीहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थियौँ,” झाले भने, “तपाईंहरूसँग कुनै प्रमाण छन् भने पठाइदिनुहोस् भनेका थियौँ । २४ घण्टामै एक हजारभन्दा बढी प्रमाण आइपुगे ।”

उनका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश गएका क्रममा ठगिएको, बलात्कृत भएको, बाकसमा फर्कनु परेको, वा ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको विवरणहरू समेटिएका छन् । “मानिसहरू पीडामा छन्, लुटिएका छन्। कसैले नबोल्ने हो भने नागरिकले कहिल्यै न्याय पाउँदैन,” झाले भने ।

गत पाँच वर्षमा मात्र सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको र त्यसमध्ये २० हजारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले उल्लेख गरे । 

झाले यो अभियान कुनै ‘व्यक्तिगत प्रतिशोध’ नभई सुशासन र नागरिक हितका लागि गरिएको बताए । “हामीले गृहमन्त्रीप्रतिको व्यक्तिगत आक्रोशका आधारमा हैन, प्रणाली सुधारका लागि यो पहल गरेका हौं,” उनले भने ।

सांसद झा लगायत रास्वपाका नेताहरूले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेका छन् । उनीहरूले यस विषयमा थप सत्यतथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १४:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न जोड दिएका छन्। नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनमा उनले अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी अडिट गर्नुपर्ने बताए।

उनले भने, ‘लेखापरीक्षण प्रक्रियाको गुणस्तर, निष्पक्षता र पारदर्शिताप्रति राष्ट्रिय चासोलाई प्रतिविम्बित गर्छ। अडिट रिपोर्टहरूमा प्रश्न उठ्नु भनेको रिपोर्टको असक्षमता मात्र होइन, सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको संकेत हो। त्यसैले लेखापरीक्षकहरूले तथ्यमा आधारित र व्यापक अडिट प्रक्रिया अपनाउनुपर्छ।’

सार्वजनिक खर्चमा निगरानीको आवश्यकता रहेको बताउँदै उनले सार्वजनिक विद्यालय र खरिद प्रणालीमा भएको खर्चको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दियो। उनले भने, ‘सरकारको बजेट र नीति कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने मूल्यांकन अडिट प्रणालीमार्फत गर्न सकिन्छ र यो प्रक्रिया थप मजबुत बनाउनुपर्छ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्रका लागि सकारात्मक एवं उत्साह थप्ने खालको भएको बताए। उनले भने, “सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साह थपेको छ। अहिले बजेटले निजी क्षेत्रलाई काम गर्न अझै हौसला प्रदान गरेको छ । हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ।’

कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन (अडान)का अध्यक्ष केदारनाथ पौडेल, संस्थापक अध्यक्ष कमल खरेललगायतले अडानको सातौँ राष्ट्रिय महाधिवेशन सफलताको कामना गर्दै अडिटर्सहरू जिम्मेवार भएर कर्तव्यमा लाग्नुपर्नेमा जोड दिए।


सामाग्री श्रोत :

लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड

काठमाडौँ । गण्डकी प्रदेशमा राइड शेयरिङलाई कानुनी मान्यता दिने नयाँ नियमावलीको विरोधमा शुक्रबारदेखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतको ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले तीन बुँदे मागसहित आन्दोलन थालेको हो । उनीहरूले राइड शेयरिङसम्बन्धी नियमावली खारेज, सार्वजनिक सवारी सञ्चालन नीति स्पष्ट पार्नुपर्ने र सामाजिक सुरक्षा कोष अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।

महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलका अनुसार गण्डकीका १५ हजारभन्दा बढी सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याइएको छ । उनले माग सम्बोधन नभए जेठ १९ देखि देशभर सवारी सेवा ठप्प पार्ने चेतावनी पनि दिए ।

गण्डकी सरकारले जेठ १ गते ‘राइड शेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली २०८२’ राजपत्रमा प्रकाशित गरेको थियो । योसँगै निजी प्रयोजनका रातो नम्बर प्लेट भएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीलाई यात्रु ओसारपसारमा प्रयोग गर्न कानुनी मान्यता दिएको छ । यो व्यवस्थाले अहिलेको ‘यातायात व्यवस्था ऐन २०४९’ को प्रावधानविपरीत भएको व्यवसायीहरूको दाबी छ ।

प्रभावस्वरूप शुक्रबारदेखि गण्डकीका सबै ११ जिल्लामा लामो तथा छोटो दूरीका बस, ट्याक्सी र ढुवानी सेवा ठप्प छन् । आन्दोलनका कारण परीक्षार्थी, बिरामीलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सरकारले वार्ताका लागि समिति गठन गरेको भए पनि व्यवसायीले माग सम्बोधन नभएसम्म वार्ता प्रक्रियामा नजाने अडान लिएका छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा निरन्तर घटेपछि सरकारले कम्पनीमा रणनीतिक साझेदार भित्र्याउन र नवीनतम प्रविधि अपनाउन सुझाव दिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन २०८२ ले नेपाल टेलिकम अन्य सरकारी संस्थानमध्ये कम जोखिममा देखिए पनि वित्तीय प्रदर्शन र सेवा गुणस्तर सुधार गर्न रणनीतिक हस्तक्षेप आवश्यक रहेको उल्लेख गरेको छ ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको घट्दो सञ्चालन आय र सेवा गुणस्तरको अवस्थालाई सम्बोधन गर्न रणनीतिक साझेदार, नवीनतम प्रविधि र पूँजी विस्तारमार्फत व्यावसायिक क्षमता अभिवृद्धि गर्ने,’ सुझावमा भनिएको छ । 

हालै प्रकाशित आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि कम्पनीको कमजोर वित्तीय अवस्था उजागर गरेको छ । रिपोर्टअनुसार टेलिकमको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४८.६७ प्रतिशतले घटेर दुई अर्ब ८४ करोड रुपैयाँमा झरेको छ ।

गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो भने कुल आय ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको देखिन्छ ।

कम्पनीले आम्दानी घट्नुको कारण बजारमा तीव्र प्रतिस्पर्धा, ग्राहक व्यवहारमा आएको परिवर्तन, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको प्रयोग बढ्नुलाई मानेको छ । त्यसैगरी, भ्वाइस सेवाबाट आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिमा आएको परिवर्तनले पनि वित्तीय प्रदर्शनमा नकारात्मक असर पारेको कम्पनीको भनाइ छ ।

अहिले नेपाल टेलिकमको कुल सम्पत्ति ८.८० प्रतिशतले घटेर एक खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ भने प्रति शेयर आम्दानी पनि ४१.०२ बाट घटेर २१.०५ रुपैयाँमा पुगेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:३८





सामाग्री श्रोत :
टेक पाना

खलङ्गा। दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन्।

आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए।

उनका अनुसार कलावती र मानमती सासू बुहारी हुन्। नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो।

भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ। भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन्। घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।


सामाग्री श्रोत :

दार्चुलामा भालुको आक्रमणबाट सासू बुहारी घाइते

काठमाडौँ । मानसिक तनावको अवस्थालाई मापन गर्न विद्युतीय ट्याटुको प्रयोग सम्भव हुने अध्ययनले देखाएको छ । द गार्डियनमा प्रकाशित एक समाचारअनुसार अमेरिकास्थित टेक्सस विश्वविद्यालयका वैज्ञानिकहरूले विशेष प्रकारको इलेक्ट्रोनिक ट्याटु (ई-ट्याटु) विकास गरेका छन् । यो ई-ट्याटु व्यक्तिको निधारमा टाँसेर मानसिक तनावको अवस्था तत्कालै ट्र्याक गर्न सकिने बताइएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधि पाइलट, चिकित्सक, नर्स लगायत उच्च जोखिममा काम गर्ने पेशागत समूहका लागि विशेष उपयोगी हुन सक्छ । उपकरणले मानसिक तनाव अत्यधिक भएको अवस्थामा प्रयोगकर्तालाई सचेत गराउनेछ । यसले उनीहरूलाई आफैँ सम्हालिन लिन, सहकर्मीको सहयोग लिन वा एआईको सहायताबाट काम व्यवस्थापन गर्न सघाउनेछ ।

अनुसन्धानकर्ता डा. नानशु लुले द गार्डियनसँग भने, “उच्च दबाब र जोखिमपूर्ण कामका लागि मानसिक कार्यभार वास्तविक समयमा डिकोड गर्नसक्ने उपकरण हुनु अत्यन्तै महत्त्वपूर्ण छ । यसले तनावका कारण हुन सक्ने दुर्घटना रोक्न मात्र नभई व्यक्तिको समग्र मानसिक स्वास्थ्य जोगाउन पनि सहयोग गर्छ ।”

पुराना ईईजी (मस्तिष्क तरंग) र ईओजी (आँखाको गति) उपकरणहरू तारजालयुक्त, भारी र प्रयोगमा असहज हुने हुँदा यस ई-ट्याटु त्यस्ता उपकरणहरूको हलुका, लचिलो र वायरलेस विकल्प हो ।

ग्रेफाइटमा आधारित यो ई-ट्याटु निधारमा टाँसिने हुन्छ । यसमा रहेका चार ओटा ईईजी इलेक्ट्रोडहरूले निधारको विभिन्न भागमा मष्तिष्कको गतिविधि मापन गर्छन्, जब कि आँखाको वरिपरि राखिएका ईओजी इलेक्ट्रोडहरूले आँखाको गति टिप्छन् ।

अनुसन्धानअनुसार, चिप र ब्याट्रीसहितको यो पूरै प्रणालीको लागत २०० अमेरिकी डलर (लगभग १४८ पाउन्ड) भन्दा कम पर्ने अपेक्षा गरिएको छ । साथै, भविष्यमा यस उपकरणले मापन गरेको डेटा मोबाइल एपमार्फत पठाइने र चाप बढी भएको खण्डमा प्रयोगकर्तालाई सूचना दिने प्रणाली पनि विकास हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ २३:१३





सामाग्री श्रोत :
टेक पाना

भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बा शेर्पालाई नगदसहित सम्मान गरेको छ।

आज भक्तपुरस्थित केन्द्रमा आयोजना गरेको सम्मान कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सगरमाथा आरोही शेर्पालाई रु एक लाख ५० हजारसहित सम्मान पत्र प्रदान गरेका हुन्। केन्द्रबाट बाजागाजासहित भक्तपुर दरवार स्क्वायरसम्म पदयात्रा गरी विशेष सम्मान गरिएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शेर्पालाई सम्मान गर्दै मिर्गौला प्रत्यारोपण गरेको पहिलो सगरमाथा आरोहण गर्ने शेर्पाले विश्वमै पहिलो रेकर्ड कायम गरी नयाँ इतिहास रचेकोको बताए।

मन्त्री पौडेलले शेर्पा र उजको परिवारलाई सम्मान गर्दै अंग प्रत्यारोपण गरेको व्यक्तिले अरू व्यक्ति जस्तै समान्य जीवन बिताउन सक्छ भन्ने सन्देश अन्य सेवाग्राहीहरू माझ पुर्‍याउन आवश्यक रहेको बताए। शेर्पाको सफलताले नेपाल र नेपालीको शीर उच्च पार्ने ऐतिहासिक कदम भएको भन्दै मन्त्री पौडेलले पेम्बा शेर्पालाई प्रत्यारोपण प्रवर्द्धन दूतका रुपमा नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे।

सगरमाथा आरोहण गर्नका लागि नाम दर्ता गर्न लाग्ने शुल्क केन्द्रले ब्यहोरिदिने प्रतिबद्धता व्यक्त गरेअनुसार दर्ता शुल्क वापतको रकम आजको सम्मान कार्यक्रममा प्रदान गरी सम्मान गरेको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए।

उनले पेम्बालाई हिमाल चढ्न मिल्छ भनेर आफूले प्रेरणा दिएको र मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हिमाल चढ्न मिल्छ कि मिल्दैन भनेर पेम्बाले सोध्न आउँदा अरू जस्तै सामान्य जीवनयापन भएकाले सगरमाथा चढ्न जाँदा हुन्छ भनेर सल्लाह दिएको स्मरण गरे।

कार्यक्रममा आरोही शेर्पाले मृत्युबाट उम्केर बल्लतल्ल नयाँ जीवन पाएको मान्छे फेरि मृत्युको मुखमा किन जान्छस् भनेर धेरैले सम्झाउँदा पनि अरूसँग सहयोग जुटाइ २५–३० लाख खर्च गरेर सगरमाथा चढ्न खोजेको देख्दा धेरैले असम्भव कार्यको लागि बढी जिद्धी नगर भन्दै सुझाव दिएको बताए।

उनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आफूले पाएको मायाँ र उच्च मनोवलका साथ आफू सगरमाथा आरोहण गर्न सक्षम भएको प्रमाणित गर्न दृढ संकल्पित भएको भन्दै यस आरोहणको सफलताले आफूमा साहस र आत्मविश्वास बढेको बताए।

कार्यक्रममा आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको र आगामी दिनमा विश्वको सातवटै महादेशको उच्च शिखरहरू आरोहण गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अस्पतालका डा कल्पना श्रेष्ठसहित अन्य डाक्टरलगायतले खादा ओढाएर शेर्पालाई सम्मान गरेका थिए।

वैदेशिक रोजगारीका क्रममा मिर्गौला फेल भएको पत्ता लागेपछि स्वदेश फर्किएका शेर्पाले २०७९ कात्तिक २ गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोलीबाट मिर्गौला प्रत्यारोपण गराएका थिए।

सगरमाथा आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको र आगामी दिनमा विश्वको सात वटै महादेशको उच्च शिखरहरू आरोहण गर्ने कुरा बताए। सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका उनले गत मे १४ मा सफलतापूर्वक सगरमाथा आरोहण गरि कीर्तिमान कायम राखेका थिए।


सामाग्री श्रोत :

सगरमाथा आरोही शेर्पा नगदसहित सम्मानित

काठमाडौँ । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने र मानहानी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायले  मे २१ मा नियन्त्रणमा लिएको हो ।

हाल उनी पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत कक्षमा रहेको बताइएको छ । गुरुङ लामो समयदेखि टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय थिए ।

उनलाई भिडिओहरूमा नेपाली तथा भुटानी समुदायलाई लक्षित गर्दै गालीगलौज र धम्की दिने सामग्रीहरू प्रसारण गरेको आरोप लागेको छ । उनको यस्तो कार्यले सामाजिक सद्भावमा नकारात्मक असर पारेको भन्दै नेपाली तथा भुटानी समुदायहरूले विरोध जनाएका थिए ।

प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि गुरुङलाई उक्त निकायले नियन्त्रणमा लिएको हो । निकायका अनुसार गुरुङमाथि आप्रवासन कानुन उल्लंघन, घृणात्मक अभिव्यक्ति, र समुदायबीच वैमनस्यता फैलाएको आरोप लागेको छ ।

उनलाई चाँडै आप्रवासन अदालतमा उपस्थित गराइने भएको छ । टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताले यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १२:४१





सामाग्री श्रोत :
टेक पाना


सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा रोजगारी सृजना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने भएको छ। प्रदेशसभा आजको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बढ्दो जनशक्ति पलायनलाई रोक्ने, सामाजिक न्याय र समावेशिता प्रवर्द्धन गर्ने […]
सामाग्री श्रोत :

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम: गरिबी न्यूनीकरणमा प्राथमिकता

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट