२०८२ भाद्र ३० सोमबार
२०८२ भाद्र ३० सोमबार

काठमाडौँ । प्रविधिको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभाव बढ्दै गइरहेको बेला यसलाई प्रयोगकर्ताको पहुँचमा पुर्‍याउन विभिन्न प्रयासहरू भइरहेका छन् । यसै क्रममा, प्रविधिको दिग्गज कम्पनी गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै एउटा महत्त्वपूर्ण कदम चालेको छ ।

गुगलले ‘गुगल एआई एज ग्यालेरी’ (Google AI Edge Gallery) नामक नयाँ एप सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नै स्मार्टफोनमा इन्टरनेट बिना नै विभिन्न एआई मोडेलहरू चलाउन सक्ने सुविधा प्रदान गर्दछ । यो विकासले स्मार्टफोनमा एआई प्रयोग गर्ने तरिकालाई मौलिक रूपमा परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

यो एपको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसले एआई मोडेलहरूलाई सिधै फोनमा चलाउन अनुमति दिनु हो । जसका लागि कुनै इन्टरनेट कनेक्सन आवश्यक पर्दैन । यसको अर्थ अब टेक्स्ट वा कोड लेख्ने, तस्विरहरू बनाउने वा अन्य एआई-सम्बन्धी कार्यहरू गर्नका लागि क्लाउड सर्भरमा डेटा पठाइ रहनु पर्दैन ।

यो अफलाइन कार्यक्षमताले थुप्रै फाइदाहरू प्रदान गर्ने अपेक्षा गरिएको छ । जस्तैः डेटा डिभाइसमै रहने भएकाले क्लाउड सर्भरहरूमा पठाइ रहनु पर्दैन । जसले सुरक्षा जोखिम कम गर्छ । संवेदनशील जानकारी डिभाइसको सीमाभित्रै सुरक्षित रहने भएकाले गोपनीयतामा सुधार ल्याउनेछ ।

यस्तै पर्फर्मेन्स पनि फास्ट हुनेछ । सर्भरबाट आउने प्रतिक्रियाका लागि कुर्नु नपर्ने भएपछि एआईका नतिजाहरू तत्काल प्राप्त हुनेछन् । अन-डिभाइस प्रोसेसिङले लो-लेटेन्सी सुनिश्चित गर्नेछ ।

यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको डेटा, वाई-फाई तथा इन्टरनेट कनेक्टिभिटी बिना नै सञ्चालन हुन सक्नु हो । जसले गर्दा इन्टरनेट कनेक्सन नभएका वा कमजोर नेटवर्क भएका क्षेत्रमा पनि एआईका सुविधाहरू सहजै प्रयोग गर्न सकिनेछ । यसले सफ्टवेयर कम्पनीहरूका लागि क्लाउडमा गरिने प्रोसेसिङ लागत घटाउन पनि मद्दत पुग्नेछ ।

गुगल एआई एज ग्यालेरी एप गुगलको एआई एज प्लेटफर्म (AI Edge platform) मा आधारित छ । यसले टेन्सरफ्लो लाइट (TensorFlow Lite), (जसलाई LiteRT पनि भनिन्छ) र मिडियापाइप (MediaPipe) जस्ता प्रविधिहरूको उपयोग गर्दछ । लाइटआरटी भनेको अन-डिभाइस एआईका लागि गुगलको हाई-प्रर्फर्मेन्स रनटाइम हो, जुन एन्ड्रोइड, आईओएस, इम्बेडेड लिनक्स र माइक्रोकन्ट्रोलरहरूसँग मिल्दो छ । यसले टेन्सरफ्लो, पाइटर्च (PyTorch), र ज्याक्स (JAX) जस्ता विभिन्न फ्रेमवर्कबाट मोडेलहरू रूपान्तरण गरी चलाउन सक्छ ।

एपले हगिङ फेस (Hugging Face) जस्ता विश्वसनीय स्रोतहरूबाट विभिन्न ओपन एआई मोडेलहरूलाई सपोर्ट गर्छ । यसमा गुगलको आफ्नै जेम्मा ३ एन (Gemma 3n) मोडेल पनि समावेश छ । जेम्मा ३ १ बी (Gemma 3 1B) नामक ल्याङ्वेज मोडेल ५२९ एमबीको कम्प्याक्ट आकारमा छ र यसले प्रति सेकेन्ड २,५८५ टोकनहरू प्रोसेस गर्न सक्छ, जसले तीव्र गतिमा टेक्स्ट सिर्जना गर्नमा मद्दत गर्छ ।

एपको उपलब्धता र उद्देश्य

यो एप हाल एन्ड्रोइडका लागि उपलब्ध छ र आईओएस संस्करण पनि छिट्टै आउने अपेक्षा गरिएको छ । गुगलले यसलाई ‘प्रयोगात्मक अल्फा रिलिज’ (experimental Alpha release) भनेको छ । यसलाई गिटहब (GitHub) बाट डाउनलोड गर्न सकिन्छ । यो एपलाई अपाचे २.० लाइसेन्स (Apache 2.0 license) अन्तर्गत सार्वजनिक गरिएको छ । जसको अर्थ यो सार्वजनिक र व्यावसायिक प्रयोगका लागि उपलब्ध छ ।

उपलब्ध स्रोतहरूका अनुसार, यो एप मुख्यतया डेभलपरहरू प्रति लक्षित रहेको देखिन्छ । यसलाई अन्तिम प्रयोगकर्ताका लागि तयार पारिएको प्रोडक्ट भन्दा पनि डेभलप, प्रोटोटाइप निर्माण र परीक्षण उपकरणको रूपमा हेरिएको छ । यसमा ‘आस्क इमेज’ (Ask Image), ‘एआई च्याट’ (AI Chat), र ‘प्रम्प्ट ल्याब’ (Prompt Lab) जस्ता सुविधाहरू समावेश छन् । जहाँ प्रयोगकर्ताले टेक्स्टको सारांश वा पुनःलेखन जस्ता कार्यका लागि प्रम्प्टहरूको परीक्षण गर्न सक्छन् ।

अन-डिभाइस एआई र हाइब्रिड एआई

गुगलको यो कदम अन-डिभाइस एआई (on-device AI) को बढ्दो ट्रेन्डको एउटा हिस्सा हो । अन-डिभाइस एआईले एआई प्रोसेसिङलाई सिधै स्मार्टफोन, ल्यापटप र अन्य ‘एज डिभाइस’ (edge devices) मा ल्याउँछ । यसले गोपनीयता, गति, र विश्वसनीयता जस्ता महत्त्वपूर्ण लाभहरू प्रदान गर्दछ।

विज्ञहरूका अनुसार एआईको भविष्य हाइब्रिड एआई (hybrid AI) मा निहित छ । हाइब्रिड एआई आर्किटेक्चरमा क्लाउड र डिभाइसहरू मिलेर काम गर्छन् । जहाँ आवश्यक हुन्छ, त्यहाँ एआई कार्यभार विभाजित गरिन्छ । यो आर्किटेक्चर एआईलाई विश्वव्यापी स्तरमा विस्तार गर्नका लागि महत्त्वपूर्ण मानिएको छ । जसले लागत, ऊर्जा, प्रदर्शन, गोपनीयता, सुरक्षा र प्रयोगकर्ता अनुभवमा सुधार ल्याउनेछ ।

गुगलको यो एप जस्ता पहलहरू हाइब्रिड एआईको यात्रामा महत्त्वपूर्ण कदम मानिएका छन्, जसले डिभाइसमा एआई चलाउनुलाई सम्भव र व्यावहारिक बनाइरहेका छन् । यद्यपि, फोनको पर्फर्मेन्स मोडेलको आकार र फोनको क्षमतामा निर्भर गर्दछ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १५:१६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाचौँ राष्ट्रिय महाधिवेशन  जारी छ। शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र चलिरहेको छ। 

नयाँ नेतृत्व समेत चयन हुने अधिवेशनको निर्वाचन प्रक्रिया केही समयपछि मात्रै सुरु हुने देखिएको छ। महासंघ सम्बद्ध पार्टी नेकपा एमालेका नेताहरुले ‘सर्वसम्मत’को प्रयास गरिरहेका छन्। तर, प्रतिनिधि र आकांक्षी भने निर्वाचनको तयारीमा रहेको देखिएको छ। 

यसैबीच उपाध्यक्ष भीमराज सिंहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनीसहित आकांक्षीको संख्या पाँच पुगेको छ। उपाध्यक्ष जगत नेपाली, रामहरी ढकाल पनि अध्यक्षका प्रत्यासी हुन् भने अनुशासन आयोगका अध्यक्ष त्रिलोक चन्द्र गुरुङले पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन्। 

सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा अध्यक्षमा दोहोरिने चाहना डा झलक शर्मा गौतमको पनि रहेको छ। 

उम्मदेवारी घोषणा गर्ने क्रममा सिंहल आफ्नो सांगठनिक आबद्धता र प्रतिबद्धता समेत जारी गरेका छन्। जुन यसप्रकार छ :

हाल सम्मको सांगठानिक जिम्मेवारी

२०६७ सालमा दोस्रो महाधिवेशनमा केन्द्रिय सदस्य तथा सेती इन्चार्ज
२०७१ साल तेस्रो अधिवेशन केन्द्रीय सदस्य भेरी इन्चार्ज 
२०७४ सालमा कर्णाली सहसंयोजक
२०७६ सालमा कर्णाली संयोजक
२०७८ सालमा केन्द्रिय उपाध्यक्ष
२०७९ मा चौधौं महाधिवेशनबाट पुन: केन्द्रिय उपाध्यक्ष हाल घटक इन्चार्ज

बिगत १५ बर्ष देखि निरन्तर केन्द्रीयस्तरमा संगठनमा सक्रिय

अध्यक्षमा उम्मेदवारी किन ?
–   महासंघलाई युवाको आकर्षणको बिन्दु बनाउने अग्रजलाई सम्मान सहितको सांगाठनिक जिम्मेवारी दिने
– प्रत्येक घटकको आफ्नै पहिचान पेशागत हकहितमा संगठकको योगदान 
–   संगठकको योगदानमा संगठनको आफ्नो निवास निर्माणको अभियान संचालन गर्ने
– मुल पार्टीसँग समन्वय गरी योगदान आधारित अवसरहरु सृजना गर्न पहलकदमी लिने  
–   स्वऐच्छिक योगदानमा अक्षय कोष खडा गरिने 
–  महासंघलाई जनसंगठनको रुपमा बिकास गर्दै शक्ति आर्जित गर्ने,  सो शक्ति पेशागत मुद्दा समग्र स्वास्थ्यकर्मीहरुको हकहित र जनसेवामा समर्पित गर्ने ।
– संघ, प्रदेश र स्थानीय तहका सम्रग स्वास्थ्यकर्मीको हकहित अधिकार र अस्तित्व स्वीकार्य हुने गरी एकीकृत स्वास्थ्य सेवा ऐन जारी गर्न बहस पैरवी गर्ने ।
– विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सेवामा बजेटको अनुपात वृद्धि गर्न पैरवी गर्ने ।
– स्वास्थ्य बीमा कार्यक्रमलाई समयानुकुल परिमार्जन गरी दायरा फराकिलो बनाउन पहल गर्ने ।
–   सबै प्रदेश तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सरुवा बढुवा तथा स्तरवृद्धिमा एकरुपता ल्याउन पहल गर्ने ।
–    स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको अध्ययन बिदा स्वीकृतिको समस्यालाई सहजीकरण गर्ने।
–    प्रदेश तथा स्थानीयतहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सरुवा लाई व्यवस्थित तथा अन्तरप्रदेश सरुवालाई व्यवस्थित तथा पुर्वअनुमान योग्य तथा चत्रीय प्रणाली बनाउने ।
–    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ तथा यसका घटकहरुलाई व्यवस्थित बनाई विधिवत रुपमा महासंघमा दर्ता गर्न पहल गर्ने ।
–     राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कार्यालय तथा अभिलेखलाई व्यवस्थित बनाई क्रमश आफ्रनै कार्यालय भवन निर्माण गर्न पहल गर्ने ।
–    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका घटकहरुलाई व्यवस्थित बनाई तल्लो तहसम्म सदस्यता वितरणको विधिलाई व्यवस्थित गर्ने ।
–    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र मातृपार्टी बिचको सम्बन्धलाई सुमधुर बनाई स्वास्थ्य क्षेत्रमा पार्टीको तर्फबाट हुने कार्यक्रम तथा नियुक्तिहरुमा हस्तक्षपकारी भुमिका खेल्ने ।
–   राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ तथा घटकहरुमा सदस्यता विस्तार अभियान संचालन गरी कम्तिमा ५०००० सदस्यता बनाउने ।
–    प्रदेश स्वास्थ्य मन्त्रालय मार्फत हुने क्रियाकलापहरुमा सम्बन्धित प्रदेश कमिटीलाई हस्तक्षपकारी भुमिका निर्वाह गर्न सम्बन्धित पार्टी कमिटी मापर्mत पहल गर्ने ।
–    संघ प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको समस्या समाधान तथा गुनासो सुनुवाईको लागि छुट्टै विभाग गठन गरी क्रियाशिल बनाउने तथा उक्त विभागहरु प्रदेश तह सम्म विस्तार गर्ने । 
 

सामाग्री श्रोत :
swasthyakhabar

गण्डकी। गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो। ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू वार्तामा आएका थिएनन्।

यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रदेश सरकारले जारी गरेको काननुनबाट कुनै पनि पक्षलाई असर पर्न गएको अवस्थामा त्यस सम्बन्धमा खुला छलफल गर्न प्रदेश सरकार सधैँ तयार रहेको प्रदेश सचिव एवं वार्ता समिति संयोजक इञ्जिनियर कमलकुमार अधिकारीले बताए।

यस्ता समस्याको निराकरण छलफलका माध्यमबाट नै हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताउँदै उहाँले हाल भइरहेका बन्द हडतालका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरे।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायतका आठ संगठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।

मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी साधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन्। सावर्जनिक यातायात बन्दका कारण यही जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सर्वसाधारण समस्यामा परेका छन्।


सामाग्री श्रोत :

आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाको नाम र भिडिओ दुरुपयोग गर्दै ‘आईबेट ९७ नेपाल’ नामक एक अनलाइन सट्टेबाजी प्लेटफर्मले अवैध प्रचार गरिरहेको पाइएको छ । उक्त प्लेटफर्मले खतिवडालाई आफ्नो मालिकका रूपमा प्रस्तुत गरी नेपाली प्रयोगकर्तालाई भ्रमित पार्न खोजेको हो ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’ का तत्कालीन प्रस्तोता सुरजसिंह ठकुरीले लिएको खतिवडाको अन्तर्वार्ताको भिडिओलाई तोडमोड गरी यस्तो प्रचार गरिएको छ । भ्रामक भिडिओमा ठकुरीले ‘नयाँ काम सुरु गरेको भन्ने सुने, वास्तविकता के हो ?’ भनेर सोधेको देखाइएको छ । त्यसको जवाफमा खतिवडाले “हो सुरज । ठुलो कुरा त हो । म आईबेट ९७ को अनर (मालिक) हो ।” भनेको बनाइएको छ ।

यस प्लेटफर्मले आफू सुरक्षित भएको, जित्न सजिलो हुने, बोनस पाइने र रकम सजिलै निकाल्न सकिने जस्ता भ्रामक दाबी गर्दै नेपाली प्रयोगकर्तालाई आकर्षित गर्न खोजेको छ । यसअघि यही प्लेटफर्मले काठमाडौंका प्रमुख बालेन्द्र शाह (बालेन) को समेत डिपफेक भिडिओ बनाई दुरुपयोग गरेको थियो । त्यही शैलीले खतिवडाको भिडिओ दुरुपयोग गरेको देखिन्छ । 

खुलेआम बेटिङ र लाइभ क्यासिनोको प्रचार गर्दै यस प्लेटफर्मले नेपालीलाई नै लक्षित गरी नेपाली शब्दको प्रयोग गरेको छ । साथै आफू नेपालमा आधिकारिक रूपमा दर्ता भएको भन्दै नक्कली दर्ता कागजात समेत प्रस्तुत गरेको पाइएको छ ।

यसरी अरूको फोटो भिडिओ दुरुपयोग गरी अवैध कामको प्रचार गर्दा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । “यसमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ पनि आकर्षित हुन्छ,” अवस्थीले भने, “यसमा वैयक्तिक गोपनीयता सम्बन्धीको कसुर पनि आकर्षित हुन्छ ।”

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ दफा १६ मा व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी मञ्जुरीबिना तस्बिर खिच्न वा बदनाम गर्ने नियतले दुरुपयोग गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा (१) मा उल्लेख भए अनुसार, “कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्विरसँग अरू कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्विरको केही अंश अर्को व्यक्तिको तस्विरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न गराउन हुँदैन ।”

नेपालको मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ ले जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । उक्त धाराको उपदफा (२) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिका कसूरमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

उक्त सट्टेबाजी प्लेटफर्मले आफ्नो सञ्जाल टेलिग्राममार्फत पनि विस्तार गरिरहेको खुलेको छ । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको भ्रामक भिडिओमा यो समाचार तयार पार्दासम्म झन्डै दुई हजार रियाक्सन, ४६  कमेन्ट र दुई लाख ७० हजारभन्दा बढी भ्युज पुगेको छ ।  

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १३:३१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– स्वास्थ्य बीमा बोर्डमा मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुला भएको छ। 

बोर्डले एक सूचना जारी गर्दै १८० जना मेडिक अधिकृतका लागि रोजगारीको अवसर खुला भएको जानकारी दिएको छ।

सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो। बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।

बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ।

bima-bord-notice-1748763029.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- क्लिनिक वान क्लिनिकमा रेबिज खोप सम्बन्धी तालिम सम्पन्न भएको छ। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले क्लिनिक वानको जावलाखेलस्थित नोरखाङ कम्प्लेक्समा रहेको कार्यालयमा तालिम दिएका हुन्।

तालिममा क्लिनिक वानको काठमाडौं र भक्तपुर गरी तीन वटै शाखाका सबै नर्स, स्वास्थ्य सहायक र फरमासिस्टहरु सहभागी थिए।

डा पुनले ‘क्लिनिकल गाइडलाइन एण्ड ग्लोबल प्राक्टिसेज अन रेबिज भ्याक्सिनेसन’ शीर्षकमा तालिम दिएका थिए।

तालिममा डा पुनले कस्ता जनावरले टोक्दा रेबिज खोपको आवश्यकता हुन्छ, रेबिजका लक्षण, कस्तो अवस्थामा खोप लगाउने, खोपको डोज लगायतका विषयमा जानकारी दिएका थिए।

तालिमसँगै डा पुनले तौलका आधारका रेबिज खोपको डोज र प्रकार, रेबिज नरोकिनुको मुख्य कारणमा गलत परामर्श र लापरबाही लगागतका विषयमा पनि प्रष्ट पारेका थिए।

क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले क्लिनिकका स्वास्थ्यकर्मीहरुमा रेबिज खोपका विषयमा क्षमता अभिवृद्धि, सीपको विकास गर्न र बिरामीले दक्ष जनशक्तिबाट सेवा लिन सकुन भनेर तालिमको आयोजना गरिएको जानकारी दिए।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । विश्व खाद्य कार्यक्रमले गाजाका मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरेर खाद्यान्न लगेको बताएको छ।

मानवीय सहायता संस्था (डब्लुएफपी) ले शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएका ७७ ट्रक पठाएको बताएको छ।

“बाटोमा सबै ट्रकहरू रोकिएका थिए र धेरैजसो खाना आफ्ना परिवारलाई खुवाउन चाहने भोका मानिसहरूले लगेका थिए,” डब्लुएफपीले भन्यो।

डब्लुएफपीका प्रवक्ता अबीर एतेफाले बीबीसीलाई बताएअनुसार ट्रकहरू उनीहरूको गोदामसम्म पुग्न नसक्ने अनुमान गरिएको थियो, त्यसैले बाटोमा भीडभाड भएमा मानिसहरूलाई सहायता सामग्री बोक्न अनुमति दिने निर्णय गरिएको छ।

इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो, जुन मे १९ मा हटाइयो। यसका बाबजुद पनि, संयुक्त राष्ट्र संघले अहिलेसम्म आएको सहायताले जनताको आवश्यकताको १०% मात्र पूरा गर्ने बताएको छ।

शनिबार ट्रकहरू घेर्ने मानिसहरू साधारण नागरिक थिए। खाना आउँदैछ भनेर थाहा पाउनेहरू।

“यी मानिसहरू यति हताश थिए कि उनीहरू वितरण केन्द्रमा पुग्न पनि पर्खन सकेनन्,” डब्लुएफपीका प्रवक्ता अबीर एतेफाले भने।

डब्लुएफपीले सर्वसाधारणको नजिक र लुटेरा गिरोहको जोखिम कम भएका सडकहरू छनौट गर्‍यो।

त्यहाँ काम गर्ने मानिसहरूले भीडलाई भने – सबैले एक बोरा मात्र पीठो लिनु पर्छ, तर मानिसहरू यति भोका थिए कि कसैलाई रोक्न गाह्रो भयो।

डब्लुएफपीले थप भन्यो, “लगभग ८० दिनको पूर्ण नाकाबन्दी पछि, भोका मानिसहरूले कुनै पनि खाद्यान्न ट्रकलाई जान दिने छैनन्।”


सामाग्री श्रोत :

गाजामा खाद्यान्नका ट्रक वितरण केन्द्र पनि पुग्न सकेनन्, भोकले आत्तिएका जनताले बाटोमै निकाले

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ निकै भाइरल भइरहेको छ। भिडिओमा ललितपुर महानगरपालिकाको दमकल देख्न सकिन्छ भने दमकलको अगाडि पाँच तले घरको छतमा आगो बलिरहेको छ । 

भिडिओको पृष्ठभूमिमा एक पुरुष बोलिरहेका छन्, “ल हेर्नुहोस्, यस्तो पनि आगलागी हुन्छ ? यहाँ आगो ताप्न के बालेको थियो, दमकल नै बोलाइ दिइसकेछन् । अब  पेट्रोल खर्च भएन ? यसको पेट्रोल खर्च कसले तिर्छ ? सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन ।”

उक्त भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आगलागी नै नभइकन दमकल बोलाएको भन्दै हास्यास्पद तरिकाले कमेन्ट गरेका छन् । कतिपयले घरमा सेकुवा पोलेर खानुपर्ने वातावरण समेत नभएको बताएका छन्  ।

ललितपुरको जुद्ध वारुण यन्त्र शाखाका कर्मचारी नारायण व्यञ्जनकारका अनुसार उक्त भाइरल भिडिओ १५ गते बेलुका पख इमाडोलमा लिइएको हो । उनले भने, “१५ गते बेलुका ७ बजेतिर इमाडोलको घरमा आगलागी भएको भनेर कल आएको थियो । त्यसपछि हामीले तत्कालै दमकल र अग्नि नियन्त्रकलाई पठाएका थियौँ ।”

तर इमाडोल पुग्दा भने आगलागीको घटना नभएको पाइएको उनले बताए । त्यसपछि दमकल फिर्ता आएको उनले जानकारी दिए । व्यञ्जनकारले भने, “त्यहाँ सेकुवा पोलेर खानको लागि आगो बालिएको रहेछ । छिमेकीहरूले आगो लाग्यो भन्ने सोच्नुभएछ। आगलागीको डर हुन्छ भन्ने थाहै नपाएर घरको छतमा त्यत्रो आगो बालेको हो की जस्तो लाग्यो ।”

महानगरका जुनसुकै क्षेत्रमा आगलागी जस्ता विपद् भएमा त्यसको उद्दारको लागि तत्कालै खटिनु आफूहरूको कर्तव्य रहेको व्यञ्जनकार बताउँछन् । तर, समयमा नै दमकल पुगेको घटनालाई सामाजिक सञ्जालमा भने हाँसोको रूपमा प्रस्तुत गरिएको उनको प्रतिक्रिया छ । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १३:१





सामाग्री श्रोत :
टेक पाना

गलकोट– बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।  

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्रै विद्यालय हो।

शारिरिक अपाङ्गता भएका, बौद्धिक र सुस्त श्रवण क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने गरी विसं २०४३ मा स्थापना भएको विद्यालयमा अहिले बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययनरत छन्। 

बहिरा विद्यार्थीलाई रामरेखा बहिरा आवासीय विद्यालय र शारिरिक अपाङ्गता भएका विद्यार्थीलाई रामरेखा आधारभूत विद्यालयमा अध्ययनको व्यवस्था मिलाएपछि यस सामुदायिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययन गराउन थालिएको विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीले जानकारी दिए।  

बौद्धिक अपाङ्गता भएका कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेको राजभण्डारीको भनाइ छ। ‘बौद्धिक रुपमा अपाङ्गता भएका बालबालिका परिवारमा अपहेलनामा परेका हुन्छन्, उनीहरुलाई हुर्काउने, पालनपोषण गर्ने र सामान्य शिक्षा दिने काम यस सामुदायिक विद्यालयले गर्छ’, राजभण्डारीले भने, ‘विसं २०५३ मा आफ्नै विद्यालय भवन र विसं २०६६ मा ‘होस्टेल’ निर्माण गरिएको थियो, अहिले आवासीय रुपमा २२ विद्यार्थी बस्दै आएका छन् भने १३ जना विद्यार्थी घरबाटै विद्यालय आउने जाने गरेका छन्, उनीहरुलाई एकदेखि ५ कक्षासम्मको शिक्षा दिइन्छ।’

उनले विद्यालयले नै अभिभावको जिम्मेवारी निभाउन निकै कठिन रहेको र विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगले आवासीय विद्यार्थीलाई खान, बस्न र लत्ता कपडाको जोहो भइरहेको छ। विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी कार्यरत रहेका छन्। 

विसं २०४३ मा स्थापना भएको विद्यालयमा विसं २०५३ मा विर्टिस वेलफेयरले विद्यालयको भवन निर्माण गरेको थियो भने विसं २०६६ मा प्लान नेपालले होस्टेल निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जानकारी दिए। 

यस विद्यालयमा चार वर्षदेखि १८ वर्षसम्मका बौद्धिक अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेका छन्। श्रेष्ठका अनुसार विद्यालयमा विभिन्न सामाजिक सङ्घसंस्था तथा पुण्य तिथि, जन्म दिन र शुभकार्यको अवसरमा खाद्यान्न, लत्ताकपडा सहयोग प्राप्त भइरहेको बताए। 

‘विद्यालयमा अझै भौतिक पूर्वाधारको अभाव छ, बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समाल्नै समस्या हुन्छ, अभिभावकले विद्यालयलाई जिम्मा लगाउछन्, केही अभिभावकले दसैँ र तिहार बिदामा आफ्ना छोराछोरी घर लैजान मान्दैनन्’, श्रेष्ठले भने, ‘उनीहरुको खानपान, लत्ता कपडादेखि सरसफाइसम्मको काम विद्यालय कर्मचारीले नै गर्दा निकै समस्या छ, हामीले सेवाको भावले काम गरिरहेका छौं, गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय छैन, हामीहरु बौद्धिक अपाङ्ग बाहेकका अन्य विद्यार्थीलाई अध्यापन गराउदैनौँ।’

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय उपल्लचौरमा अध्यापन गराइँदै आइएको छ भने देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्यापन गराइँदै आइएको छ। 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट