
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन्।
एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौं हप्ता सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए।
मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए।
‘पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि स्थानीय तहले अझ बढी महत्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्वपूर्ण छ।’
मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे। ‘हाल अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेको छ, अर्थतन्त्रमाथि त्यतिकै दबाब छ, यो कुरा सबैले महसुस गरेका छौँ, तर हामीले गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने हो भने मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ, त्यसले पैसा अभाव हुन दिँदैन, त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ’, उनले भने।
पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे। उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राखे।
‘अब अनुदान होइन, न्यून ब्याज तथा बिनाब्याजमा कृषकले ऋण पाउने व्यवस्था हु्नुपर्यो, कृषि विकासको नाममा स्थापित कृषि विकास बैंकलाई किसानको हितमा काम गर्न लगाउनुपर्यो, घरजग्गाा किन्दा सहज तर कृषिउद्यमका लागि जाँदा ऋण नै नपाउने अवस्था छ, यसलाई अन्त्य गरौँ’, उनले भने, ‘मैले त कोदोको रक्सीको ब्रान्डिङ, गाँजाखेतीको वैधानिकताको कुरा गरिरहेको छु, यो काम भएमा हाम्रा युवाले देशमै बसेर वर्षको रु आठ÷दश लाख कमाउने अवस्था बन्छ, यसमा काम गर्न ढिला नगरौँ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राखे। नेपाल सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७/७८ देखि देशभर करिब ३०० पालिकालाई शसर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताए।
एग्री प्रडक्ट नेपालका अध्यक्ष तीलक ढाकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूले विसं २०८० साउन १ गतेदेखि अभियान सुरु भएको बताए। रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औषतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै हालसम्म करिब रु तीन करोडको कारोबार भएका अनुमान सुनाए।
कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल डेरी एशोसिएशनका अध्यक्ष पह्लाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गका सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले सम्बोधन गर्नुभएको थियो। उनीहरूले स्थानीय जातको बीउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रम भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गरे।
सामाग्री श्रोत :
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलोन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए।
मिडियाको अगाडि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताए।
ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।
ट्रम्पले बिहीबार एलोन मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै मस्कले आफ्नो खर्च बिलको विरोध गरिरहेको बताएका छन् किनभने यसले उनको कम्पनी टेस्लालाई हानि पुर्याउन सक्छ।
ट्रम्पका अनुसार, सो विधेयकले विद्युतीय गाडीहरूमा दिइने कर छुट (ट्याक्स क्रेडिट) अन्त्य गर्ने प्रस्ताव राखेको छ, जसबाट टेस्ला घाटामा पर्न सक्छ र मस्क त्यसै कारण यस विधेयकको विरोधमा छन्। हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच तीव्र शब्दयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पुर्याउने चेतावनी दिएका छन्।
ट्रम्पको उक्त चेतावनीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेका छन्। यसैबीच, ट्रम्प-मस्क विवादबारे चिनियाँ विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिएको छ। शुक्रबार आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे प्रश्न सोधिएको थियो।
जवाफमा उनले भने, ‘यो अमेरिकाको आन्तरिक विषय हो।’ यदि ट्रम्पले मस्कविरुद्ध सरकारी संयन्त्र प्रयोग गरे भने मस्कका लागि यो भारी पर्न सक्छ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा एलोन मस्कलाई धम्की दिएका छन्।
ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ।
सरकारले पैसा दिँदा ठेकेदारले काम नगरेको सो पलको निर्माण कार्य अहिले आएर ठेकेदारले काम गर्दा राज्यले पैसा दिन नसकेपछि लम्बिएको हो। सो पुल दुई वर्षमा काम सक्नेगरी २०७७ जेठ १ गते निर्माण सम्झौता भएको थियो।
निर्माण सम्झौता भएको पाँच वर्ष बिते पनि पुल निर्माणको काम अधुरै छ। पछिल्लो समय सरकाले रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले पुल निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएर अड्काएर राखेको छ।
पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता गरेका थिए। पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
सो कामको हालसम्म नौं करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने प्राविधिक मूल्याङ्कन भएको छ। त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीको दाबी छ।
जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमार्फत निर्माण भएको सो पुल निर्माणको अन्तिम म्याद २०८१ माघ ३० गतेसम्म रहेको थियो। उक्त म्याद समाप्त भएको भएपनि निर्माणको काम सकिएको छैन। सरकाले कामको भुक्तानी नदिएको कारण निर्माण कार्य रोक्नु परेको कम्पनीको भनाइ छ।
कुल १ सय २० मिटर लामो सो पुलमा तीनवटा स्पान रहेका छन्। अन्तिम स्पानको ढलान समेत सकिएको भएपनि पुलको घेराबारा र पुलसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम बाँकी छ।
सो पुल बनेपछि मन्थलीबाट गैराथोक, सालु तथा साँघुटार हुँदै ओखलढुङ्गा जाने यात्रीको लागि छोटो बाटो हुनेछ। अहिले ती क्षेत्रमा जाने साधनहरू सुनारपानी घुमेर जाने गरेका छन्।
सामाग्री श्रोत :
पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’
नेपालगञ्ज – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थान साँघुरो भएका कारण अधिकांश इदगाह बाहिर सडकमा बसेर नवाज पढेको देखिन्थ्यो । बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले जानकारी दिए ।
उनले यसको विशेषता भनेकै गरिब समुदायको उत्थान भएको उल्लेख गर्दै कुर्बान अर्थात् बलि गरिएको मासुलाई तीन भागमा विभाजन गरेर इष्टमित्र, आफन्तजन र गरिव, विपन्न समुदायलाई वितरण गरिने बताए । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा सो पर्व मनाउन थालिएको हो ।
नेपालगञ्जका स्थानीय हलिम खानले मुस्लिम समुदायको उक्त पर्वको ऐतिहासिक घटनाक्रम रहेको उल्लेख गर्दै कुर्बान गर्ने प्रचलनसँग यसलाई जोडेर हेर्न मिल्ने बताए । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । त्यसैले अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए ।
कुर्बान गरेको मासु तीन भागमा वितरण हुने गरेको छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छन्।
राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन्।
उनले भनिन्, ‘राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ। त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइ दिनुहोला।’
उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरुले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन्।
अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा. राणाले बताइन्।
उनले भनिन्, ‘राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन। तर, पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु। सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो। यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ।’
मन्त्री डा. राणाले राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन्।
उनले भनिन्, ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नुुहुनेछ । त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ।’
सामाग्री श्रोत :
परराष्ट्रमन्त्रीको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु
काठमाडौँ । विश्वको अग्रणी ई-कमर्स कम्पनी अमेजनले सामान घरमै डेलिभरी गरिदिने ह्युमोनोइड रोबोटको परीक्षण थालेको छ । कम्पनीले डेलिभरी म्यानले गर्ने सबै किसिमका काम गर्न सक्नेगरी डिजाइन गरिएको रोबोटको परीक्षण थालेको हो ।
द इन्फर्मेसनका अनुसार अमेजनले आफ्नो सान फ्रान्सिस्कोस्थित कार्यालयमा एआईद्वारा सञ्चालित रोबोटको परीक्षण गर्न विशेष रूपमा बनाइएको बाधा-अड्चन युक्त मैदान (अब्स्ट्याकल कोर्स) तयार पारेको छ । यी रोबोट भविष्यमा अमेजनको ‘लास्ट-माइल डेलिभरी’ प्रणालीको महत्त्वपूर्ण हिस्सा बन्ने बताइएको छ । अर्थात् यिनले सिधै तपाईंको घरको ढोकामा तपाईंले अनलाइन अर्डर गरेको सामान डेलिभर गर्न सक्नेछन् ।
रोबोटलाई नियन्त्रण गर्ने सफ्टवेयर अमेजन आफैले निर्माण गरिरहेको छ भने यसको पाटपुर्जा अन्य रोबोटिक्स कम्पनीले आपूर्ति गरिरहेका छन् । ‘ह्युमनोइड पार्क’ नाम दिइएको यो परीक्षण स्थलमा वास्तविक जीवनमा आउने चुनौती जस्तै भर्याङ, साँघुरा बाटा र ढोका बनाइएका छन् । यसले गर्दा रोबोटलाई डेलिभरी गर्दा दैनिक रूपमा आउने व्यवहारिक अड्चनमा राम्रोसँग तालिम गराउन सकिने कम्पनीको विश्वास छ ।
अमेजनले यसबारे हालसम्म आधिकारिक घोषणा गरेको छैन । तर यो विकासक्रम अटोमेसन र एआई प्रयोग गरेर डेलिभरीलाई तीव्र बनाउने कम्पनीको दीर्घकालीन दृष्टिकोणसँग मेल खान्छ । केही वर्षअघि यस कम्पनीले प्रमुख शहरमा डेलिभरीका लागि दुई दिन लगाउने गर्थ्यो भने पछिल्ला वर्षहरूमा यसलाई घटाएर एक दिन र सोही दिन डेलिभरीसम्मको सेवा कम्पनीले विस्तार गरिरहेको छ । त्यसैलाई थप तीब्र बनाउन अमेजनले ह्युमोनोइड रोबोट प्रयोग गर्न थालेको बताइएको छ ।
सन् २०२४ मा सीएनबीसीलाई दिएको एक अन्तर्वार्तामा अमेजनका यातायात प्रविधि तथा सेवाका उपाध्यक्ष स्टिभ अर्माटोले भनेका थिए, “अमेरिकाका प्रमुख ६० सहरहरूमा ६० प्रतिशत प्राइम अर्डरहरू सोही दिन वा भोलिपल्टै डेलिभर हुन्छन् ।” उनका अनुसार एआईले ग्राहकको नजिकै सामानको भण्डारण मिलाउन मद्दत गरेर यसमा ठुलो भूमिका खेलेको छ ।
अमेजनले सन् २०२० देखि नै उत्पादनको मागको सही अनुमान लगाउन र गोदाम सञ्चालनलाई व्यवस्थित गर्न ट्रान्सफर्मरमा आधारित एआई मोडेल प्रयोग गर्न थालेको थियो । यी मोडेलले अमेजनका गोदाममा पहिलेदेखि नै प्रयोगमा रहेका रोबोटलाई एक आपसमा नठोक्किई काम गर्न मद्दत गर्छन् । सन् २०२१ देखि २०२३ को बीचमा कम्पनीका गोदाममा रोबोटको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।
यो परिवर्तनसँगै केही चिन्ता पनि सतहमा आएका छन् । ईकमर्श क्षेत्रमा भएको अटोमेसनको विस्तारले मानवीय रोजगारी विस्थापित गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । यसका साथै जेनेरेटिभ एआई प्रणालीले गर्ने ऊर्जा खपतका कारण अमेजनको वातावरणीय प्रभाव बढ्न सक्ने चिन्ता पनि बढ्दो छ ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १०:३३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – काठमाडौ स्थित तारागाँउ नेक्सटमा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ । बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।
कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीको ख्याति प्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् । उनले विश्वव्यापी पारिस्थितीको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ ।
तीन महिनासम्म चल्ने प्रदर्शनीमा श्रष्टाले विभिन्न माध्यमबाट आफ्नो कला यस प्रदर्शनीमा व्यक्त गर्नेछन् । प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएका थिए । शरिरमा रातो माटो पोतेर भुमिसँग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गर्छ । उनको प्रदर्शनी उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ ।
विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उदेश्य राखेको छ।
१२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले यस प्रदर्शनीमा आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन् । प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउनेछ भने उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा व्यक्त गरेको छ ।
यसैगरी उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ दिने प्रयास गरेको छ । त्यस्तै मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्छ भने नेपाली कलाकार समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गराउने जमर्को गरेको छ ।
यस्तै अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरिरहेका छन् । प्रदर्शनीकी अर्की सहभागी मोनिका उर्सिना जेगरले ‘लिक्विड टाइम’मार्फत पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ भने जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियाले कीराको जनसंख्यामा आइरहेको गिरावटलाई डिजिटल रुपमा देखाइएको छ ।
क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्र प्रस्तुत गरिरहेका छन् । सौर्गङ्गा दर्शनधारीको नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोड्ने काम गर्छ भने रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् ।
त्यसैगरी मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जनाहरू विशेष प्रस्तुतिका रुपमा समावेश भएका छन् । प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेर पेस गर्ने काम गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।
“यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ,” उनले भने।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ।
मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो।
जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए। अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो। सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ।
धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन्। अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइँदै छ।
मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको मार्चमा किनेको रातो रंगको टेस्ला मोडेल एस कार बिक्रीमा राखेका छन् । टेस्ला कम्पनीका मालिक एलन मस्कसँग भएको सार्वजनिक विवादपछि ट्रम्पले आफूसँग कार नराख्ने निर्णय लिएका हुन् ।
ट्रम्पले करिब ८० हजार डलर तिरेर टेस्ला मोडेल एस किनेका थिए । कार सामान्यतया ह्वाइट हाउसको वेस्ट एक्जिक्युटिभ एभिन्युमा पार्क गरिन्थ्यो । ट्रम्पले सार्वजनिक रूपमा भनेका थिए कि उक्त कार उनी स्वयंले होइन, स्टाफले प्रयोग गर्नेछन् । किनभने सुरक्षा कारणले गाडी चलाउन गुप्तचर सेवा (सिक्रेट सर्भिस)ले अनुमति दिएको थिएन ।
ट्रम्प र मस्कबिच पछिल्लो समय वाकयुद्ध चलिरहँदा उनीहरूको असामान्य सम्बन्ध टुट्न थालेको संकेत देखिएको छ ।
स्मरण रहोस्, ट्रम्पले अघिल्ला वर्षहरूमा विद्युतीय सवारीको आलोचना गर्दै आएका थिए । सन् २०२३ मा उनले सामाजिक सञ्जालमा “विद्युतीय गाडी नर्कमा जानु पर्ने” भनेर टिप्पणी गरेका थिए । तर पछि मस्कसँगको राजनीतिक सहकार्यपछि उनी टेस्ला समर्थक बनेका थिए । मस्कले गत वर्ष ट्रम्पको निर्वाचन अभियानमा २७५ मिलियन डलर बराबरको आर्थिक सहयोग गरेका थिए ।
मार्च ११ मा ट्रम्प र मस्कले संयुक्त रूपमा ह्वाइट हाउसमा टेस्लाका विभिन्न मोडेलहरूको अवलोकन गरेका थिए । मस्कले ट्रम्पलाई साइबर ट्रक ‘बुलेटप्रुफ’ भएको जानकारी गराउँदा ट्रम्पले भने रातो मोडेल एसतर्फ देखाउँदै “म यो लिन्छु” भनेर प्रतिक्रिया दिएका थिए।
ह्वाइट हाउसका प्रवक्ताका अनुसार ट्रम्पले कार बजारमूल्यमै खरिद गरेका थिए, र कुनै छुट मागेका थिएनन् ।
राष्ट्रपति पदमा रहँदा व्यक्तिगत उत्पादनको प्रचार गर्न निषेध गरिएको छैन । तर यस्तो कार्य कार्यकारी शाखाका कर्मचारीहरूले भने गर्न पाउँदैनन् । ट्रम्पले भने यसलाई मस्कलाई मद्दत गर्न मात्र गरेको बताएका थिए ।
-द न्यू योर्क टाइम्सको सहयोगमा ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ ८:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे । उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे । यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक, एक लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे–मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ । दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ