
काठमाडौँ । राति अँध्यारोमा पार्किङमा रोकेको ट्रकबाट हरेक दिन दुई-चार लिटर तेल गायब हुन्छ । करोडौं लगानीको बस कहिले ग्यारेजबाट निस्कन्छ, पत्तै छैन । चालकले आँखा छलेर अर्कै रुटमा गाडी कुदाइरहेको छ, तर मालिक बेखबर छ । धेरैलाई थाहा भएकै कुरा हो, नेपालको यातायात व्यवसायका यी यस्ता ‘खुला रहस्य’ हुन् । यसले मालिकको लगानीलाई हरेक दिन धमिरालेझैं खाइरहेको हुन्छ ।
यही अस्तव्यस्तताको हिसाबकिताब मिलाउन जब एक चार्टर्ड अकाउन्टेन्ट (सीए) प्रविधिको मैदानमा उत्रिए, तब जन्मियो ‘जिओमेट’ । यो एउटा यस्तो प्रविधि हो, जसले गाडीको तेल चोरीदेखि चालकको झपझपीसम्मको निगरानी गर्छ र मालिकलाई हरेक पलको खबर दिन्छ । यो कथा हो सीए आतिश गैरेको, जो अडिटको सिद्धान्तलाई सडकमा उतारेर यातायात उद्योगको अनुहार फेर्न लागिपरेका छन् ।
सन् २०१४ मा दाजु विकास गैरेसँग मिलेर उनले सुरु गरेको ‘टेलिमेटिक टेक’ अन्तर्गतको यो उत्पादनले आज नेपालको यातायात उद्योगमा एउटा सानो क्रान्ति नै ल्याएको छ । “यातायात व्यवसायीले करोडौं खर्चेर गाडी किन्छन्, तर सामान्य अनुगमनको अभावमा ठुलो नोक्सानी बेहोरिरहेका हुन्छन्,” सीईओ आतिश भन्छन्, “हामीले त्यही खाडल पुर्ने काम गर्यौं ।”
हाल प्रबन्ध निर्देशकको रूपमा विकासले कम्पनीको अटोमेसन र सफ्टवेयर विकासको नेतृत्व गरिरहेका छन् ।
“यातायात व्यवसायीहरूले कयौँ गाडीहरू किनेका हुन्छन् । तर सबै गाडीको रुट मिलाउन समस्या भइरहेको हुन्छ । कुनै गाडी मर्मतका लागि लामो समय लागिरहेको हुन्छ । गाडीहरू मिलाउन चलाउन नजान्दा नयाँ गाडी किन्ने क्रम पनि चलिरहेकै हुन्छ,” अतिश भन्छन् । तर जिओमेटले भने हरेक गाडीहरूको ट्र्याकिङ गरेर सम्पूर्ण जानकारी दिने उनको भनाइ छ ।
उनका अनुसार जिओमेटले गाडीहरूको लोकेसन ट्राकिङका साथै भेहिकल आईओटी (IoT) सोलुसन्स प्रदान गर्दै आएको छ । कम्पनीले गाडीको ट्र्याकिङका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउँछ । साथै वार्षिक वा मासिक नवीकरण गर्ने सुविधा सहित सफ्टवेयरमा आधारित सेवा दिँदै आएको छ ।
यसअन्तर्गत, ट्रक र टिपरमा जडान गरिएको ‘फ्युल सेन्सर’ले कति तेल हालियो, कति खपत भयो र कति चोरी भयो भन्ने कुराको हरहिसाब राखेर तेल चोरीको सम्भावनालाई लगभग शून्यमा झारिदिने उनी बताउँछन् । “ट्याक्सी जस्ता धेरै चालकले चलाउने गाडीमा आरएफआईडी वा फिङ्गरप्रिन्ट प्रणालीमार्फत कुन समयमा कसले गाडी चलायो भनेर सजिलै पहिचान गर्न सकिन्छ भने स्कुल बसमा जडान गरिएको प्रणालीले बालबालिका कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने सूचना सिधै अभिभावकको मोबाइलमा पठाएर उनीहरूलाई निश्चिन्त बनाउँछ,” उनले थपे ।
यसका साथै, जिओमेटले भविष्यको सुरक्षा सुनिश्चित गर्ने एआई क्यामेरामा आधारित भिडिओ टेलिम्याटिक्स प्रणाली पनि उपलब्ध गराउँछ, जसले दुर्घटना हुनुभन्दा अगाडि नै रोकथामको काम गर्छ । गाडीको अगाडि जडान गरिएको एआई क्यामेराले अर्को सवारीसाधनसँगको दूरी विश्लेषण गरेर ठोक्किन सक्ने सम्भावना देख्नासाथ चालकलाई तुरुन्तै सचेत गराउँछ ।
त्यस्तै, ड्राइभर मोनिटरिङ सिस्टमले चालकको अनुहारलाई निरन्तर ट्र्याक गरी निद्रा वा थकानको सङ्केत देखिनासाथ चालक र गाडी मालिक दुवैलाई चर्को आवाजमा अलर्ट पठाउँछ । यदि कथमकदाचित दुर्घटना भइहाले यसले उक्त घटनाको भिडिओ क्लिप स्वतः रेकर्ड गरेर सर्भरमा पठाई अनुसन्धानका लागि अकाट्य प्रमाणको काम गर्ने अतिश बताउँछन् ।
उनका अनुसार कम्पनीले यातायात व्यवसायी, बैङ्क, निर्माण कम्पनीहरू र टुर एन्ड ट्राभल्स कम्पनीहरूलाई सेवा प्रदान गर्दै आएको छ । जीपीएस ट्र्याकर्स, फ्युल सेन्सर सोलुसन्स र सार्वजनिक सवारीसाधनको अनुगमनका लागि भिडिओ टेलिम्याटिक्स डिभाइस बिक्री गर्छ । जिओमेटले डिभाइस बेच्ने मात्र नभई सर्भर व्यवस्थापन, सफ्टवेयर विकास, मर्मत सम्भार र समस्या समाधानका लागि निरन्तर सहयोग प्रदान गर्दै आएको उनले बताए । जिओमेटले हाल दुई हजारभन्दा बढी सवारी साधनमा आफ्नो प्रणाली जडान गरेर निरन्तर सेवा दिँदै आएको छ ।
मुख्य तीन सेवा
आधारभूत ट्र्याकिङ र ट्रेसिङ: यो सेवामा गाडी कहाँ छ, कुन स्थानमा छ, कुन चरणमा गयो, कहाँ-कहाँ हिड्यो भन्ने जस्ता जानकारीहरू प्रदान गर्छ । यसले ३६५ दिनको कुल माइलेज, मर्मत सम्भार कहिले गर्ने, जस्ता विवरणहरू पनि उपलब्ध गराउँछ ।
आईओटी सोलुसन्स: यसमा फ्युल सेन्सर सोलुसन, ड्राइभर अटेन्डेन्स सिस्टम लगायतका सुविधा यसअन्तर्गत पर्छन् । फ्युल सेन्सर सोलुसनमा ट्रक र टिपरहरूमा कति तेल हालियो, कति चोरी भयो, कति खपत भयो र माइलेज कति दिइरहेको छ भन्ने कुरा निगरानी गर्छ । खरिद गर्दा कम्पनीले दाबी गरे अनुसारको माइलेज दिइरहेको छ कि छैन भन्ने निगरानी समेत गरिन्छ ।
यस्तै ट्याक्सी जस्ता एउटै सवारीसाधन पनि धेरै चालकले चलाउने भएमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) वा फिङ्गरप्रिन्ट स्क्यान प्रयोग गरेर कुन समयमा कुन चालकले गाडी चलाइरहेको थियो भनेर पहिचान गर्न सकिन्छ । स्कुल बसमा बालबालिकाहरू कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने जानकारी नोटिफिकेसन मार्फत अभिभावकलाई दिन सकिने व्यवस्था मिलाइन्छ ।
भिडिओ टेलिम्याटिक्स प्रणाली: कम्प्युटर भिजनमा आधारित भएर दिइने यस सेवा अन्तर्गत सवारीसाधनमा ६ ओटासम्म क्यामेरा जडान गर्न सकिन्छ । तर, ४ क्यामेराका सिस्टमहरू बढी बिक्री हुने गरेको उनले सुनाए । यी क्यामेराहरूमा इनबिल्ड जीपीएस ट्र्याकिङ र ड्राइभर कम्युनिकेसन मोडल हुन्छ । गाडीको अगाडी दुई ओटा एआई क्यामेरा राखिन्छन् । जसले क्यामेरा अगाडिको सवारीसाधनको गति र दूरी मापन गरेर दुर्घटनाको भविष्यवाणी गर्छन् र चालकलाई अलर्ट दिन्छन् । गाडी मालिक वा कन्ट्रोल रूपबाट पनि चालकसँग प्रत्यक्ष कुराकानी गर्न सकिने सुविधा यस सेवाअन्तर्गत उपलब्ध गराइने उनले बताए ।
प्रणालीमा दिइने अटोमोटिभ क्यामेराहरू सामान्य वाईफाई क्यामेराभन्दा धेरै राम्रो हुने उनले बताए । यदि क्यामेरा तोडमोड भएमा वा छोपिएमा तत्कालै मालिक वा सर्भरमा जानकारी पठाउने सुविधा उपलब्ध रहेको उनले बताए ।
कति छ शुल्क ?
जिओमेटका सेवाहरूको लागत ग्राहकको आवश्यकता र सुविधाअनुसार फरक पर्ने उनले बताए । आधारभूत सवारीसाधन ट्र्याकिङ सेवा सात हजार रुपैयाँबाट सुरु हुन्छ । मादक पदार्थ सेवन (मापसे)गरेर सवारी चलाएको निगरानी गर्ने सिस्टमसहितको कस्टमाइज्ड समाधानहरू चाहिएमा लागत तीन लाख रुपैयाँसम्म पुग्न सक्ने उनले बताए । भिडिओ टेलिम्याटिक्स प्रणालीमा ४० हजार, ६० हजार र ९० हजार रुपैयाँका विभिन्न सेगमेन्टहरू उपलब्ध छन् ।
कम्पनीको सेवा लिने मध्येमा ९० प्रतिशत ग्राहकले सेवा नवीकरण गर्दै आएको उनको दाबी छ । वार्षिक नवीकरण शुल्क तीन हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । यदि वाईफाई सहितको एमडीभीआर भिडिओ टेलिम्याटिक्स प्रणालीको मासिक नवीकरण शुल्क दुई हजार ५०० लाग्ने उनले बताए । यस्तै इन्धन सेन्सरका लागि वार्षिक आठ हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने उनले बताए । सयभन्दा बढी कर्मचारीहरूले बुटवल, पोखरा, वीरगन्ज, चितवन र धनगढीबाट सेवा दिँदै आएका छन् ।
तर बजारमा सस्तोमा डिभाइस बेचेर हराउने कम्पनी भएकाले अनुचित प्रतिस्पर्धा रहेको सीईओ गैरे बताउँछन् । उनले भने, “गाडीको जीपीएस ट्र्याक गर्ने भनेर डिभाइस बेचेर कम्पनीहरू गायब हुन्छन् । त्यसपछिका सेवाहरू दिँदैनन् । उनीहरूका सर्भर पनि अवैध रूपमा चीन वा भारतमा राखिएका हुन्छन् ।”
धेरै सस्तोमा सामान बेच्ने ध्यानमा रिफर्फिस्ड (मर्मत गरिएका) डिभाइसहरू बेच्दा ब्याट्रीहरू विस्फोट हुन सक्ने वा सवारीसाधनको विद्युतीय प्रणालीलाई क्षति पुर्याउन सक्ने जोखिम हुने उनको भनाइ छ ।
नेपाली ग्राहकहरूले गोपनीयताको बारेमा खासै जानकार नहुँदा गैरकानुनी सेवा प्रदायकहरूलाई समेत रोज्न पुगेका छन् । डेटाको दुरुपयोगका कारण भारतमा भएका अपहरणका घटनाहरू उदाहरण दिँदै व्यक्तिको सुरक्षा जोखिमसमेत बढ्ने उनले बताए ।
स्पष्ट नीतिको अभाव
जीपीएस ट्र्याकिङ कम्पनीले काम गर्ने तौर तरिकालाई नियमन गर्ने स्पष्ट सरकारी नीतिको समेत अभाव रहेको अतिश बताउँछन् । रेडियो फ्रिक्वेन्सी (आरएफ) जडित डिभाइस सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रमाणपत्र लिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सेल्स एन्ड डिस्ट्रिब्युसन लाइसेन्स लिएर प्रणालीहरू बिक्री गर्दै आएको उनले बताए ।
तर हालसम्म भेहिकल ट्र्याकिङ प्रणाली वा जीपीएस लोकेसन इन्टेलिजेन्स प्रयोग गर्ने कम्पनीहरूले डेटा कसरी रेकर्ड गर्ने, सर्भर कहाँ राख्ने जस्ता प्रावधानसहितको व्यवसाय सञ्चालन लाइसेन्स उपलब्ध छैन । लाइसेन्स सम्बन्धी प्रावधानहरू अस्पष्ट रहँदा यस क्षेत्रमा गैरकानुनी रूपमा डिभाइसहरू समेत बिक्री हुँदै आएको उनले दाबी गरे ।
कम्पनीले प्रत्यक्ष ग्राहकहरूसँग सम्पर्क, यातायात समितिहरूसँग वर्कसप, तालिम गरेर प्रचार गर्दै आएको छ । तर स्पष्ट नीतिको अभावका कारण अपेक्षित रूपमा ग्राहकहरूले यस क्षेत्रमा चासो राख्ने नगरेको उनले बताए ।
किन राख्ने जीपीएस ट्र्याकिङ ?
जीपीएस ट्र्याकिङ सेवा लिएर सार्वजनिक यातायातलाई व्यवस्थित तरिकाले चलाउन सकिने अतिश सुनाउँछन् । बाइक लगायतका सवारीसाधनहरू चोरी भएमा लोकेसन पत्ता लगाउन र फिर्ता ल्याउन मद्दत गर्छ । उनले भने, “ट्रकहरूमा ड्राइभरले मालिकलाई थाहा नदिइ एक्स्ट्रा ट्रिप गरिरहेका हुन्छन् ।” जिओमेटको प्रणाली प्रयोग गरेर ट्रिपमा हुने घाटा नियन्त्रणमा ल्याउन सकिने उनले बताए ।
केही वर्ष पहिले काठमाडौँमा नियमित फोहर उठिरहेको समयमा पनि गल्ली गल्लीमा फोहर नउठ्ने समस्या थियो । हाल महानगरका गाडीमा जिओमेट प्रणाली राखिएको छ । जसले गाडीहरू कुन गल्लीमा छिरे भनेर ट्र्याक गर्न थाल्यो र अहिले हरेक गल्लीमा पुगेर गाडीहरूले फोहर उठाउन थालेका छन् ।
नेपालका हजारभन्दा बढी एम्बुलेन्सहरूमा कम्पनीको ट्र्याकिङ प्रणाली प्रयोग गरिएको छ । यसले १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स बोलाउने सेवाग्राही नजिकको एम्बुलेन्सलाई तुरुन्तै पठाउन सहज बनाएको छ ।
जिओमेटले सडक मात्र होइन, आकाशमा पनि आफ्नो उपस्थिति जनाएको छ । नेपालमा प्याराग्लाइडिङ ट्र्याकिङ प्रणाली प्रदान गर्ने यो एकमात्र कम्पनी हो । “विमानस्थल थपिएसँगै बढेको ‘नो फ्लाइ जोन’ले प्याराग्लाइडिङ उद्योगलाई समस्या थियो,” आतिश भन्छन्, “हाम्रो प्रणालीले पाइलट कहाँ उडिरहेको छ भनेर ट्र्याक गर्छ र प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न लागेमा पाइलट, कन्ट्रोल रुम र नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्मलाई अलर्ट पठाएर आकाशमा सुरक्षाको अदृश्य घेरा बनाउँछ ।”
यदि कुनै पाइलट बफर जोन (प्रतिबन्धित क्षेत्र) भित्र छिर्न लाग्यो भने यसको यसको जानकारी पाइलट, कन्ट्रोल प्यानललाई दिइन्छ । यदि पाइलट बफर जोन भित्र छिरेमा नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई समेत अलर्ट नोटिफिकेसन जान्छ । पाइलट दुर्घटनामा परेमा वा नयाँ स्थानमा ल्यान्डिङ गर्नुपरेमा त्यसको जानकारी पनि दिइन्छ ।
चुनौती र भविष्यको योजना
हरेक सफल यात्रामा चुनौती हुन्छन् । जिओमेटको मुख्य चुनौती बजारमा सस्तो र नक्कली डिभाइस बेचेर हराउने ‘हिट एन्ड रन’ कम्पनीहरूसँगको प्रतिस्पर्धा हो । “सस्तोको लोभमा ग्राहकहरू अवैध सर्भर र कमसल डिभाइस रोज्न पुग्छन्, जसले डेटा सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ,” आतिश चिन्ता व्यक्त गर्छन् । यस्ता डिभाइसले गाडीको ब्याट्री पड्किनेसम्मको खतरा हुने उनी बताउँछन् । यसबाहेक, भेहिकल ट्र्याकिङसम्बन्धी स्पष्ट सरकारी नीतिको अभावले पनि यो क्षेत्रलाई व्यवस्थित गर्न गाह्रो भएको उनको अनुभव छ।
हाल दुई हजारभन्दा बढी सवारीसाधनलाई निरन्तर सेवा दिइरहेको जिओमेटको भविष्यको योजना ठुलो छ। “हामी नेपालको ट्र्याकिङ उद्योगको मेरुदण्ड बन्न चाहन्छौँ,” आतिश आफ्नो दृष्टिकोण सुनाउँछन्, “आगामी दिनमा यो व्यवसाय गर्न चाहने नयाँ कम्पनीहरूलाई सफ्टवेयर, डिभाइस र तालिम दिएर एउटा स्वस्थ इकोसिस्टम बनाउने हाम्रो लक्ष्य छ ।”
आफूले मात्र सबै समस्या समाधान गर्न नसकिने बुझेका उनी अन्य कम्पनीहरूलाई पनि प्राविधिक रूपमा सक्षम बनाउँदै समग्र उद्योगलाई नै बलियो बनाउने सपना देख्छन् । सँगसँगै, आउँदो दुई वर्षभित्र आफ्नो सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारीमा कम्पनी जुटेको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २०:१३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । झापामा पहिलो पटक राष्ट्रिय स्तरको ह्याकाथन आयोजना हुने भएको छ । डेभलपर एसोसिएसन झापाले ‘पब्जी–प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ नाम दिइएको उक्त कार्यक्रम आगामी १५-१७ साउनमा बिर्तामोडमा आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार ह्याकाथनमा ४८ घण्टासम्म निरन्तर कोडिङ, क्रियटिभी र सहकार्यको प्रतिस्पर्धा हुनेछ । नेपालभरिका प्रविधि उत्साही तथा उदीयमान डेभलपरहरूलाई एकै ठाउँमा ल्याउने कार्यक्रमको लक्ष्य छ । आयोजक मध्येका एक तथा मेची बहुमुखी क्याम्पसका बीसीए विद्यार्थी अविरल आचार्यले यस ह्याकाथन कार्यक्रम झापाको टेक कम्युनिटीका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा हो ।
ह्याकाथनमा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी आफ्नो ‘स्क्वाड’ (टोली) दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको थिम कार्यक्रमको सुरु भएपछि मात्रै खुलासा गरिने बताइएको छ । आयोजकले यसलाई ‘एलिमिनेशन थिम’मा आधारित ह्याकाथनको रूपमा प्रस्तुत गरेको छ । यसअन्तर्गत केही प्रतिस्पर्धी मात्र अन्तिमसम्म टिक्न सक्नेछन् ।
स्थानीय प्रविधि प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्न र उनीहरूलाई प्रेरित तथा सशक्त बनाउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको आचार्यले बताए । ‘लेट्स कोड, क्रिएट एन्ड कनेक्ट’ (कोड गरौँ, सिर्जना गरौँ र जोडियौँ) भन्ने नाराका साथ आयोजकले सबै आविष्कारकलाई सहभागी हुन आह्वान गरेको छ ।
यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १७:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपालको परिप्रेक्ष्यमा सन् २०१२ देखि २०१७ को अवधिमा इन्टरनेटको पहुँच व्यापक रूपमा विस्तार भयो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, इन्टरनेटमा सहज पहुँच र फिचर फोनसँगै स्मार्टफोन पनि किफायती हुँदै जानु जस्ता कारणले इन्टरनेटको विस्तारमा ठुलो मद्दत पुग्यो ।
यदि तपाईं त्योभन्दा अघिल्लो पुस्ताको हुनुहुन्छ भने तपाईंले अरू कसैको प्रेम सम्बन्धबारे बिरलै थाहा पाउनुहुन्थ्यो । भौतिक रूपमा पनि यस्ता छिटपुट घटना देख्ने मौका बिरलै देख्नुभयो । तर, त्यसभन्दा पछाडिको पुस्ता हुनुहुन्छ भने त्यो पल गुमाउनु भयो ।
अब जमाना त्यस्तो रहेन, जहाँ व्यक्तिगत वा पारिवारिक कुराहरू आफैँमा वा नजिकका व्यक्तिमा सीमित हुन्छन् । अधिकांशले त जान अञ्जानमा आफ्नो प्रेम सम्बन्ध सामाजिक सञ्जालमा राख्छन् । पछि कुनै समयमा त्यसैले अनावश्यक हैरानी दिन्छ । केहीले यस्ता विषय सामाजिक सञ्जालमा नराखे पनि अस्वाभाविक रूपमा भाइरल बन्छन् । घरमै सीमित हुनुपर्ने पारिवारिक कलह समाजमा बहसका विषय बन्छन् । भाइरल हुने मोहमा मान्छे आफ्नो सर्वस्व दाउमा राख्न तयार हुन्छ
भारइल हुँदिनँ, कतै देखिदिनँ, आफ्ना निजी कुरा गोप्य नै राख्छु भन्ने मानिस पनि छन् । तर, उनीहरूका लागि पनि समय सजिलो छैन । कुनै दिन उनीहरू नै भाइरल नहोलान् र कसैका लागि मजाकका पात्र नबन्लान् भन्न सकिँदैन ।
अब विश्व परिवेशको कुरा गरौं । नेपाल जस्तो विकासोन्मुख देशदेखि विकसित देशमा पनि इन्टरनेटका नकारात्मक पक्षहरू हाबी बन्दै गएका छन् । विश्व परिवेशको कुरा गर्दा आज इन्टरनेटको युगमा क्यामेरा जताततै छन् र मानिसका साना ठुला गल्तीहरू लाखौं-करोडौं मानिसका लागि मनोरञ्जनको विषय बन्छन् । त्यहीं अनलाइन दर्शक आफ्नो विचार र फैसला सुनाउन ओइरिन्छन् । यही बहसलाई हालैको एक घटनाले थप चर्चामा ल्याएको छ ।
तपाईंले थाहा पाउनु भयो होला । प्रविधि कम्पनी ‘एस्ट्रोनोमर’का सीईओ एन्डी बायरन त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिन क्याबोट अङ्गालोमा बाँधिएको घटना भाइरल भइरहेको छ ।
तपाईंको जानकारीका लागि भनौं- ‘कोल्डप्ले’ नामको एउटा बेलायती रक ब्यान्ड छ ।
१६ जुलाईमा अमेरिकाको मासाचुसेट्स सहरमा रहेको फक्सबोरोमा उक्त ब्यान्डको कन्सर्ट थियो । त्यस्ता ठुला कन्सर्टमा ‘किस क्याम’ भन्ने सेग्मेन्ट हुन्छ । त्यो समयमा क्यामेराहरू जोडी भएको ठाउँतिर केन्द्रित हुन्छन् । कुनै रमाइलो जोडी भेटिएको खण्डमा क्यामेराले निरन्तर उनीहरूलाई खिच्छन् र उक्त दृश्य स्टेडियममा राखिएको ठुलो स्क्रिनमा देखिन्छ । हजारौं दर्शक हुने स्टेडियममा क्यामेरामा को कतिबेला कैद हुन्छ भन्न सकिँदैन । यो आकस्मिक हुने भएकाले क्यामेरामा देखिने जोडीहरू आफूलाई ठुलो स्क्रिनमा देखेपछि ‘सरप्राइज’ हुन्छन् । र, रमाउँछन् । केही असहज महसुस गर्छन् । त्यसैलाई थप रोमाञ्चक र यादगार बनाउन केही जोडी रमाइला गतिविधि गर्छन् ।
त्यसरी जोडीको रमाइलो पल कैद गर्ने क्रममा क्यामेराको फ्रेममा सीईओ एन्डी त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिनको अङ्गालोमा बाँधिएको देखिए । क्यामेरामा आफूहरूलाई देखेपछि दुवै जना अप्ठ्यारो माने । तत्कालै एन्डी आफूलाई लुकाउन भुइँमा बसे र क्रिस्टिन पछाडि फर्किइन् । यसरी उनीहरू दुवै आत्तिएको दृश्य ठुलो स्क्रिनमा देखिएपछि कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले ठट्टा गर्दै भने, “कतै यिनीहरूको अफेयर त चलिरहेको छैन ?”
@instaagraace trouble in paradise?? 👀 #coldplay #boston #coldplayconcert #kisscam #fyp ♬ original sound – grace
कन्सर्टमा उपस्थित अर्का एक व्यक्तिले यो क्लिपलाई टिकटकमा पोस्ट गरिदिए, जुन भिडिओ आठ करोड ८३ लाखभन्दा बढी पटक हेरिएको छ । लाइक ८१ लाख बढी आएका छन् । हजारौंले कमेन्ट गरेका छन् ।
भिडिओका क्लिप सामाजिक सञ्जालमा भाइरल हुन थाले । पछि उनीहरू एकै कम्पनीमा काम गर्ने व्यक्ति भएको र दुवै विवाहित भएको विषय बाहिर आएपछि त्यसले थप चर्चा पायो ।
अनलाइन प्रयोगकर्ताले तुरुन्तै एन्डी र क्रिस्टिन क्याबोटको पहिचान पत्ता लगाए । उनीहरूले एन्डीको परिवारका सदस्यको नाम र उनको व्यक्तिगत फेसबुक पेजबाट समेत जानकारी सार्वजनिक गरे ।
एक प्रयोगकर्ताले लेखेका थिए, “उनीहरूले धोका दिएका मानिस (श्रीमान् श्रीमती)लाई भगवान रक्षा गरेको उदाहरण हो ।” त्यसमा एक लाखभन्दा बढी रियाक्सन आयो । उनीहरू डेटासम्बन्धी काम गर्ने चर्चित कम्पनीका सीईओ र एचआर प्रमुख भएकाले लिङ्क्डइन अकाउन्ट पनि तत्कालै फेला पर्यो । र, मानिसहरू कमेन्ट गर्न थाले । अत्यधिक कमेन्ट आउन थालेपछि उनीहरू अकाउन्ट नै बन्द गर्न बाध्य भए ।
यो घटना बाहिर आएपछि मिम र ट्रोलको बाढी आयो । ‘कोल्डप्ले चिटिङ’, ‘कोल्डप्ले स्क्यान्डल’, ‘कोल्डप्ले अफेयर’ जस्ता शब्दहरू गुगल र अन्य सामाजिक सञ्जालमा ट्रेन्डिङमा परे । यतिसम्म कि एडल्ट साइटमा पनि यी किवर्डको सर्च ह्वात्तै बढेको छ ।
एचआर जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी कर्मचारी र कम्पनी नै हाँकिरहेका सीईओको यो हर्कत बाहिरिएपछि कम्पनी र त्यहाँ हुने वर्क कल्चरका विषयमा पनि विभिन्न किसिमका भनाइ आउन थाले । त्यसपछि कम्पनी ‘एस्ट्रोनोमर’ले एक विज्ञप्ति जारी गर्दै भन्यो, “हामी हाम्रा मूल्य र संस्कृतिप्रति प्रतिबद्ध छौं । हामी अनुसन्धान गर्दैछौं ।”
कम्पनीको बोर्डले यस घटनाको छानबिन गर्ने बताएको छ । पछि, कम्पनीले एन्डीलाई पदबाट निलम्बन गरी बिदामा पठाइएको र सह-संस्थापक पेटे डिजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको जानकारी दियो ।
अर्बौं डलरको यो कम्पनी यही विवादका कारण धराशायी बन्ने अवस्थामा आएको छ । एन्डी र क्रिस्टिनले सामाजिक सञ्जालमा राखेका अन्य फोटोहरू पनि भाइरल भइरहेका छन् ।
दुई जना बाहेक उनीहरूका परिवारलाई पनि यस घटनाले नकारात्मक रूपमा प्रभाव पारेको छ । यसै सन्दर्भमा उनीहरूको गोपनीयताको सुरक्षाको प्रश्न उठिरहेको छ । साथै सामाजिक सञ्जालमा राखिने सामग्री (फोटो, भिडिओ) कुन बेला कसरी, कसले, कुन प्रयोजनका लागि प्रयोग गर्न सक्छ भन्ने उदाहरणका रूपमा देखिएका छन् ।
एन्डीको घटना कुनै नौलो होइन । यो इन्टरनेटमा सामान्य मानिसहरूको नैतिक गल्तीलाई भाइरल बनाउने शृङ्खलाको पछिल्लो कडी मात्र हो । यसअघि पनि ठुला मञ्चबाट यस्ता घटना भएका छन् । क्यामेराको पक्षलाई ख्यालै नगरेर गरिएका गतिविधिका कारण भाइरल भएका अन्य थुप्रै घटना छन् ।
वर्क कल्चरका आलोचकका अनुसार इन्टरनेटले अहिले हरेक दिन हुने सामान्य गल्तीलाई पनि लाखौं मानिसका लागि मनोरञ्जनको खुराक बनाइदिएको छ । यसले नयाँ जोखिम र नैतिक प्रश्न खडा गरेको छ । किनकि अनलाइन भिडले गम्भीर अपराध र सामान्य व्यक्तिगत विवादबिचको भिन्नता छुट्याउँदैन ।
घरको ढोकामा राखिने डोरबेल क्यामेरा, पसल र सरकारी निगरानी प्रणाली तथा सबैको हातमा भएको स्मार्टफोनका कारण मानिस जतिबेला पनि रेकर्ड हुनसक्ने जोखिममा छन् । त्यस्तै इन्टरनेट प्रयोगकर्तालाई अरूको निजी जीवनमा के भइरहेको छ भनेर जान्ने उत्सुकता हुन्छ । उनीहरू आफूलाई न्यायाधीश सम्झेर सजाय दिन अग्रसर हुन्छन् ।
इन्टरनेट संस्कृति विश्लेषक रेनी फिशर-क्वानका अनुसार यो एक प्रकारको ‘अन्तरक्रियात्मक जासुसी खेल’ जस्तै भएको छ जहाँ दर्शकहरू आफैँ कथाको हिस्सा बन्न हतारिन्छन् ।
सार्वजनिक अपमानको असर र नैतिक प्रश्न
यो घटना ‘क्यान्सिल कल्चर’ (बहिष्कार संस्कृति) जस्तै देखिए पनि फरक छ । क्यान्सिल कल्चर भनेको चर्चित व्यक्तिलाई उनीहरूको पुरानो गल्ती (जस्तै: कार्यस्थलमा दुर्व्यवहार वा जातीय टिप्पणी) का कारण बहिष्कार गर्ने, आलोचना गर्ने गरिन्छ । तर, एन्डी जस्ता व्यक्ति सार्वजनिक व्यक्तित्व नभई सामान्य नागरिक हुन् ।
लेखक जोन रोनसनले आफ्नो पुस्तक ‘सो यु ह्याभ बीन पब्लिक्ली शेम्ड’ (So You’ve Been Publicly Shamed) मा वर्णन गरेअनुसार अनलाइन भिडको सिकार भएका सामान्य मानिसले आफ्नो जागिर गुमाएका छन् र लामो समयसम्म मानसिक स्वास्थ्य समस्या भोगेका छन् ।
यो प्रवृत्तिले सम्बन्धमा पनि असर गरिरहेको छ । थेरापिस्टका अनुसार युवा पुस्ताले आफ्ना पार्टनरको हरेक अनलाइन गतिविधिमाथि निगरानी राख्ने डिजिटल उपकरण प्रयोग गर्छन् । यसले गर्दा अविश्वास र शंकाको वातावरण सिर्जना हुन्छ ।
एन्डी, क्याबोट र उनीहरूको परिवारका लागि यो कथा कसरी टुङ्गिन्छ त्यो त भविष्यले नै बताउला । तर जबसम्म यो घटना साम्य हुन्छ इन्टरनेटले आफ्नो ध्यान अर्को घटनामा केन्द्रित भइसक्छ । धेरैले घटना बिर्सिन्छन् । तर, त्यसले परिवार, उनको कम्पनी र समाजमा पार्ने असरले भने दीर्घकालीन असर गरिरहन्छ ।
दुर्भाग्यवश सार्वजनिक स्थानमा गल्ती भयो र क्यामेरामा कैद भयो भने जिन्दगी नै तहसनहस हुने अवस्था आउँछ । आजको डिजिटल संसारमा निजी र सार्वजनिक जीवनबिचको रेखा धमिलो भइसकेको छ । र, एउटा सानो गल्तीको परिणाम भयानक हुन सक्छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । गुगलले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि विकास गरेको भूकम्प चेतावनी प्रणाली (Android Earthquake Alert – AEA) भूकम्प पत्ता लगाउने र चेतावनी जारी गर्ने कार्यमा परम्परागत सेस्मिक नेटवर्क जत्तिकै प्रभावकारी रहेको एक अध्ययनले देखाएको छ ।
विश्वभरका करोडौं एन्ड्रोइड स्मार्टफोनमा रहेका सेन्सरबाट तथ्याङ्क सङ्कलन गरेर काम गर्ने यो प्रणाली महँगो भूकम्पीय मापन केन्द्रहरूको उत्कृष्ट र मितव्ययी विकल्प बन्न सक्ने अध्ययनको निष्कर्ष छ ।
चर्चित साइन्स जर्नलमा प्रकाशित उक्त अध्ययनमा भनिएको छ, “एईएले विश्वभर छरिएका स्मार्टफोनहर…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी र अल नेपाल हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम अल नेपाल हस्पिटल प्रालि परिसर, सामाखुसी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा दर्जनौं सामाजिक अभियान्ता, चिकित्सक, लायन सदस्यहरू तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको समन्वय लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीका अध्यक्ष लायन अशोक बेल्बासे र अल नेपाल हस्पिटलका म्यानेजिङ डाइरेक्टर सुमन पौडेलले गरेका थिए।
कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल डिस्टिक ३२५एम, नेपालका जिल्ला गभर्नर पीएमजेएफ लायन धनिराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले शुभकामना मन्तव्य दिँदै रक्तदानको सामाजिक र मानवीय महत्वमाथि प्रकाश पारेका थिए।
साथै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबाट नर्सिङ इन्चार्ज अर्चना अधिकारीको नेतृत्वमा ६ जनाको प्राविधिक टोली उपस्थित रहेको थियो। यस टोलीले रक्त संकलनको सम्पूर्ण कार्य प्रभावकारी रूपमा सम्पन्न गरेको थियो।
कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, स्थानीय अगुवाहरू, समाजसेवी, विद्यार्थी तथा युवाहरूले स्वेच्छिक रक्तदान गरेका थिए। दर्जनौं यूनिट रगत संकलन गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
Kathmandu: More than 40 percent of mobile users in Nepal are using SIM cards registered in someone else’s name, according to the World Bank’s Global Findex Database 2025. The report lists Nepal alongside Congo, Comoros, Morocco, Tanzania, and Jordan, where this trend is affecting access to digital financial services.
Using someone else’s SIM card can prevent users from opening mobile wallets, receiving social security payments, or applying for digital loans. Most fin…
सामाग्री श्रोत :
टेक पाना
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ले चिकित्सा शिक्षा कार्यक्रमलाई केवल विज्ञानको सीमा भित्रै सीमित नराखी मानवीय संवेदनशीलताको दायरा पनि समेट्ने उद्देश्य राखेको छ। यही उद्देश्य हासिलगर्न सन् २०१८ देखि वास्तविक घटना, जीवनी, कविता, फिल्म तथा अपाङ्गता भएका ब्यक्तिहरुको जीवन्त अनुभवको बारेमा बिधार्थीहरु संग छलफल तथा बहस गरिन्छ। गरिवी, असमानता, सामाजिक न्याय, समानुभूति सहितको चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी तथा निस्वार्थ सेवाको बारेमा गम्भीर छलफल, बहस र सामाजिक उत्तरदायी भावनाको विकास गर्न कोशिस गर्छ।
यी उल्लेखित बिषयसंग जोडेर जीवन र मृत्युको गहिरो अर्थबारे पनि विद्यार्थीहरूलाई सोच्न सिकाउँछ। यो कोर्सले उनीहरूलाई एकपटक आफैंसँग प्रश्न गर्न बाध्य पार्छ, ‘तपाईं आफ्नो मृत्यु कस्तो होस् भन्ने चाहनुहुन्छ?’ यस्तो प्रश्नको उत्तर सजिलो छैन। धेरैको लागि यो अप्रत्यासित प्रश्न हुन्छ । हाम्रो संस्कृतिमा मृत्युलाई सामान्य छलफलको विषय मानिँदैन। तर स्वास्थ्यकर्मीको भूमिकामा यो बुझ्नु अत्यावश्यक छ किनभने स्वास्थ्यकर्मीहरु अरूका जीवनका अन्तिम क्षणहरूमा उपस्थित हुनु पर्छ।
हिन्दू र बौद्ध परम्परामा मृत्यु केवल जीवनको अन्त्य होइन। यो जीवनको एक पवित्र चरण हो, जसले आत्मालाई नयाँ यात्राको ढोका खोलिदिन्छ। हिन्दू दर्शनमा भनिन्छ– जसरी शरीर पुरानो भइ सकेपछि कपडा बदलिन्छ, आत्माले पनि नयाँ शरीर ग्रहण गर्छ”। यस अर्थमा मृत्युलाई डरको विषय होइन, तर आत्मिक मुक्तिको अवसरका रूपमा लिइन्छ। बौद्ध परम्परामा पनि मरणस्मृति (मृत्यु स्मरण) अभ्यासले जीवनका क्षणहरूको महत्व झल्काउँछ। सबै चीजहरू नाशवान छन् भन्ने बोधले जीवन र मृत्युका बीचको सन्तुलन सिकाउँछ
नेपालमा धेरैजसो व्यक्तिहरु अन्तिम सास घरमै लिन पाउनु ठूलो कुरा मान्छौँ। पूर्खाहरूले अन्तिम क्षणमा तुलसीको पात वा गङ्गाजल मुखमा राखिदिने, गीता वा रामायणको पाठ गर्ने चलन राखेका थिए। यो केवल धार्मिक आस्था होइन, बरु मृत्युलाई शान्तिपूर्ण र सम्मानजनक बनाउनको प्रयास थियो। तर आजको स्वास्थ्य प्रणालीमा बिरामीहरू अस्पतालको आइसीयुमा र मेशिनहरूले घेरेको अवस्थामा, प्रियजनहरूको साथबिना अन्तिम सास लिइरहेका छन्। के यस्तो मृत्यु उनीहरूले चाहेका थिए वा चाहन्छन्?
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षामा विद्यार्थीहरूले यस्तै गहिरा प्रश्नहरूसँग जुध्न सिक्छन्। कसैले भन्छन्, ‘म चाहन्छु कि मेरो अन्तिम दिनहरू परिवारसँग बितून्, बच्चाहरूले मेरो हात समातून्, र मैले आफ्नै घरको आँगनमा मर्न पाउँ।’ कसैले भन्छन्, ‘म आफ्नै परम्परामा सफल जिन्दगीको अनुभव गर्दै छोरा-छोरीको अगाडि मर्न पाउँ।’ धेरैले सम्झनायोग्य कामलाई प्राथमिकता दिदै, सफल जिन्दगि पछिमात्र मृत्युको कल्पना गर्छन । यी उत्तरहरूले देखाउँछन् कि मृत्युका बारेमा सोच्नु भनेको जीवनका प्राथमिकताहरूबारे सोच्नु हो र सोहीअनुसार कर्म गर्नु हो।
बौद्ध दर्शन अनुसार अन्तिम क्षणको मानसिक अवस्था पुनर्जन्मको गुणस्तरमा प्रभाव पार्छ। यसैले ध्यान, प्रार्थना र शान्त वातावरणलाई महत्वपूर्ण मानिन्छ। स्वास्थ्यकर्मीहरूले बिरामीका यी आध्यात्मिक आवश्यकताहरू बुझेर सहयोग गर्न सके, उनीहरूलाई “सुस्वास्थ्यपूर्ण मृत्यु” दिन सकिन्छ।
यसको व्यावहारिक पक्षमा पेलियेटिभ केयर आउँछ। पेलियेटिभ केयरको उद्देश्य जीवन लम्ब्याउनु मात्र होइन, पीडा कम गर्नु, बिरामीका चाहनाहरूको सम्मान गर्नु र परिवारलाई भावनात्मक रूपमा सघाउनु हो। बिश्व स्वास्थ्य संगठनले पनि जीवनको अन्तिम दिनहरूमा बिरामीका सामाजिक, मानसिक र आध्यात्मिक पक्षलाई उत्तिकै महत्व दिनुपर्ने बताउँछ।
साँच्चै भन्ने हो भने, सुस्वास्थ्यपूर्ण मृत्युमा चार मुख्य तत्व हुन्छन्– पीडामुक्ति, गरिमा, आत्मिक शान्ति र प्रियजनको साथ। पाटन स्वास्थ्य विज्ञानका विद्यार्थीहरूले यस्तो ज्ञान ‘मानवीय चिकित्सा’ बिषय पढ्दै गर्दा सिक्छन् जसले परिवार, समाज र स्वास्थ्यकर्मी सबैलाई स्पर्श गर्छ।
अन्ततः हामी सबैका लागि प्रश्न उस्तै गहिरो छ– ‘के म जीवनको अन्तिम दिनहरूमा आफैंले चाहेको वातावरणमा, आफैंले चाहेको सम्मान र शान्तिसँग मृत्यु अँगाल्न पाउँछु?’ यो प्रश्न केवल व्यक्तिगत होइन। सबै स्वास्थ्यकर्मीका लागि यो नैतिक जिम्मेवारी पनि हो र उनीहरु आफ्ना बिरामीलाई यस्तो मृत्यु दिलाउन प्रयास गरुन्।
हिन्दू दर्शनले जीवन र मृत्यु दुवैलाई कर्मसँग जोड्छ। ‘जस्तो कर्म, उस्तै फल’ भन्ने बुझाइ अनुसार अन्तिम क्षणमा पनि आफू र अरूका लागि सकारात्मक कर्म गर्न सकिन्छ। अंगदान गर्नु, अरूका लागि जीवनको आशा बन्नु, यो पनि एउटा उच्चतम कर्म हुन सक्छ। त्यसैगरी बौद्ध धर्ममा निर्वाण प्राप्तिको बाटो अन्तिम क्षणसम्म पनि खुला रहन्छ। स्वास्थ्यकर्मीहरूले यस्तो आध्यात्मिक चाहनालाई सम्मान गर्ने संस्कार राखे भने बिरामीको मृत्युपनि असल बन्न सक्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको “मानबिय चिकित्सा” को महत्व यहीँ प्रकट हुन्छ। यसले विद्यार्थीहरूलाई विज्ञान र संवेदनशीलताबीचको पुल बनाउँछ। जब विद्यार्थीहरू जीवन र मृत्युको गहिरो अर्थ बुझ्छन्, उनीहरू केवल कुशल चिकित्सक मात्र होइन, समानुभूतिपूर्ण मानव पनि बन्छन्।
( सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् । “मानबिय चिकित्सा” बिषय समेत अध्यापन गर्छन् ।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कले आफ्नो एआई च्याटबट ‘ग्रोक’को नयाँ भर्सन ‘ग्रोक फोर’ पीएचडी गरेको व्यक्तिभन्दा पनि बौद्धिक र हरेक विषयमा विज्ञ रहेको दाबी गरेका छन् । हालै एक लाइभस्ट्रिममार्फत नयाँ मोडेल सार्वजनिक गर्ने क्रममा मस्कले यस्तो बताएका हुन् ।
“शैक्षिक प्रश्नको सन्दर्भमा ग्रोक फोर हरेक विषयमा बिना कुनै अपवाद पीएचडी स्तरभन्दा राम्रो छ,” मस्कले भने, “यद्यपि यसमा कहिलेकाहीँ सामान्य ज्ञानको कमी हुन सक्छ र यसले अहिलेसम्म नयाँ प्रविधि आविष्कार वा भौतिकशास्त्रका नयाँ सिद्धान्त पत्ता लगाएको छैन । तर त्यो केवल समयको कुरा हो ।” यो वर्षको अन्त्यसम्ममा यो एआईले नयाँ प्रविधि पत्ता लगाउन सक्ने मस्कको विश्वास छ ।
मस्कको कम्पनी एक्सएआईले ‘ग्रोक फोर’ सँगै ‘ग्रोक फोर हेभी’ नामक अर्को मोडेल पनि सार्वजनिक गरेको छ । मस्कका अनुसार ‘ग्रोक फोर हेभी’ले कुनै पनि समस्या समाधान गर्न एकैसाथ धेरै एजेन्ट प्रयोग गर्छ र उपयुक्त उत्तर खोज्नका लागि ‘स्टडी ग्रुप’ जस्तै आपसमा कामको तुलना गर्छ ।
कम्पनीका अनुसार ग्रोक फोरले ‘ह्युमानिटीज लास्ट एक्जाम’ जस्ता कठिन बेन्चमार्कमा गुगलको जेमिनाई २.५ प्रो र ओपनएआईको मोडेललाई पछि पारेको छ । त्यस्तै ‘आर्क प्राइज’ बेन्चमार्कमा पनि यसले अन्य व्यावसायिक एआई मोडेलभन्दा झण्डै दोब्बर स्कोर ल्याएको दाबी गरिएको छ ।
ग्रोक ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनाईको प्रतिस्पर्धी मोडेल हो । यसले तस्बिर विश्लेषण गर्न र प्रश्नको जवाफ दिन सक्छ । यसलाई मस्कको सामाजिक सञ्जाल ‘एक्स’सँग इन्टिग्रेट गरेका छन् । एक्समै यस प्लेटफर्मले विभिन्न किसिमका विवाद र चर्चा बटुलेको छ ।
उत्कृष्ट प्रदर्शनका दाबीका बीच ग्रोक हालैका विवादका कारण चर्चामा छ । केही दिनअघि मात्र ग्रोकको आधिकारिक ‘एक्स’ ह्यान्डलले यहुदी विरोधी टिप्पणी गरेपछि एक्सएआई विवादमा तानिएको थियो । त्यसपछि कम्पनीले ग्रोकलाई ‘राजनीतिक रूपमा गलत’ दाबी गर्न नहिच्किचाउने निर्देशन हटाएको देखिन्छ ।
यो घटना मस्कका कम्पनीका लागि तनावपूर्ण बन्यो । प्लेटफर्म विवादित बनेपछि एक्सकी सीईओ लिन्डा याकारिनोले आफ्नो पदबाट राजीनामा दिइन् । मस्कले ट्वीटर खरिद गरेर एक्समा रिब्रान्ड गर्दा दुई वर्षअघि उनी उक्त कम्पनीमा जोडिएकी थिइन् ।
यो नयाँ एआई मोडेल प्रयोग गर्नका लागि प्रयोगकर्ताले ‘सुपरग्रोक हेभी’ नामक नयाँ प्रिमियम सब्स्क्रिप्सन प्लान लिनुपर्नेछ । यसको शुल्क मासिक ३०० डलर तोकिएको छ । यो हाल प्रमुख एआई कम्पनीहरूमध्ये सबैभन्दा महँगो सब्स्क्रिप्सन हो ।
एक्स एआईले आगामी अगस्टमा एआई कोडिङ मोडेल, सेप्टेम्बरमा मल्टी-मोडल एजेन्ट र अक्टोबरमा भिडिओ जेनेरेसन मोडेल ल्याउने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १४:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले आफूले स्थापना गरेको ईकमर्स कम्पनी नेपालमै पहिलो वा दोस्रो भएको दाबी गरेका छन् । एक पडकास्टमा अन्तर्वार्ता दिँदै शाहीले सन् २०१७ मा साथीहरूसँग मिलेर सुरु गरेको ‘केटीएम बज’ नामक ईकमर्स प्लेटफर्म देशकै पुरानोमध्ये एक भएको बताएका छन् ।
तर, टेकपाना फ्याक्टचेकले सांसद शाहीको यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ । उनले आफ्ना दुई साथीसँग मिलेर ईकमर्स प्लेटफर्म सुरु गरेको कुरा सत्य भएपनि त्यसअघि नै नेपालमा अन्य थुप्रै ईकमर्स प्लेटफर्महरू सञ्चालनमा आइसकेका थिए ।
दाबी
युट्युबर तथा कमेडियन सजन श्रेष्ठले ३० जुन २०२५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहेका सांसद् ज्ञानेन्द्र शाहीसँगको पडकास्ट सार्वजनिक गरे । एक घण्टा ५० मिनेट लामो पडकास्टमा शाहीले आफ्नो अध्ययन, आफ्नो पारिवारिक अवस्था, राजनीतितर्फको आकर्षण, उनको धारणा र अन्य विविध विषयमा गफगाफ गरेका छन् । त्यही गफगाफ गरेका क्लिपहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । भिडिओको ३७ औं सेकेन्डमा शाहीले व्यापारको सन्दर्भ उठाएका छन् । भिडिओको ३७ः०८ मिनेटमा उनी भन्छन्, “…हामी व्यापार गर्ने भन्यौं । तीन जना साथी आएर कम्पनी खोल्यौं । चामलका बोरा बोकेर…।”
सजन श्रेष्ठ सोध्छन्, “के थियो हजुरको बिजनेस ?”
जवाफमा शाही भन्छन्, “हामीले केटीएम बज डट कम खोल्या । पहिला सुरुमा हामीले खाद्यान्नबाट सुरु गर्यौं । अब के गर्ने त यार ? पैसा छैन । कति छ ५० हजार मैले, ५० हजार अर्काले गर्दाखेरि डेढ लाख रुपैयाँबाट सुरु गरेको बिजनेस हो ।”
“हामीले सुरुमा के बेच्ने है केही थाहा छैन । सबै दिल्ली पढेर आएको हैन केटाहरू । के गर्ने, के नगर्ने केही अत्तोपत्तो छैन । ठ्याक्क दिल्लीमा पस्दा खेरि चाहिँ फ्लिपकार्ट साह्रै खतरा थियो । अब त्यस्तै कम्पनी खोल्नु पर्छ भनेर केटीएम बज डट कम भन्ने अनलाइन कम्पनी खोलियो । एप पनि बनाइयो । एकजना मान्छे पनि अनलाइन अर्डर गर्दैन यार त्यहाँ ।”
“नेपालको हामी करिब फर्स्ट अनलाइनर हो । त्यो अनलाइन बिजनेसमा हामी सेकेन्ड फर्स्टै होला । केमो (Kaymo) हामी सँगसँगै हो । केमो अलिकति पुरानो थियो होला हैन ।”
अर्थात् उनले आफूले सञ्चालन गरेको केटीएम बज नेपालको दोस्रो ईकमर्स प्लेटफर्म हुन सक्ने संकेत गरे । सजनले राखेको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म दुई लाख ३१ हजार बढी भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ ।
अनुसन्धान
पडकास्टमा सांसद शाहीले आफ्नो व्यावसायिक यात्राबारे प्रस्तुत गरेका केही दाबीबारे टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच अगाडि बढायो । भिडिओको ३७:११ समयमा उनले तीन जनाको साझेदारीमा एक खाद्यान्न कम्पनी खोलेको दाबी गर्छन् । प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाख रुपैयाँको पुँजीमा व्यवसाय सुरु गरेको उनको भनाइ छ ।
अन्तर्वार्ताको ३७:२५ मिनेटमा उनले आफ्नो उद्यमको सुरुवात खाद्यान्न व्यवसायबाट भएको उल्लेख गर्छन् । लगत्तै ३७:३७ मा भारतको सफल ईकमर्स ‘फ्लिपकार्ट’को उदाहरण दिँदै त्यसैको अवधारणामा नेपालमा ‘केटीएम बज डटकम’ नामक ईकमर्स प्लेटफर्म स्थापना गरेको बताउँछन् ।
उनले आफ्नो कम्पनीलाई ‘अनलाइन कम्पनी’को संज्ञा दिँदै एउटा एप समेत बनाएको, तर त्यसबाट व्यापार नभएको स्वीकारोक्ति गरेका छन् । रोचक त के छ भने उनी आफूलाई नेपालको ‘पहिलो अनलाइनर’का रूपमा प्रस्तुत गर्छन् । जबकि ‘अनलाइनर’ भन्ने शब्दको अस्तित्व नै छैन । उनको भनाइको आशय आफ्नो कम्पनी नेपालको प्रारम्भिक ईकमर्स कम्पनीमध्ये एक थियो भन्ने बुझिन्छ ।
तर, आफ्नो दाबीमा उनी आफैँ स्थिर देखिँदैनन् । सुरुमा पहिलो ईकमर्स कम्पनी भनेका शाहीले पछि आफ्नो भनाइ खण्डन गर्दै आफ्नो कम्पनी पहिलो वा दोस्रो हुनसक्ने बताउँछन् । उनले आफ्नो कम्पनी र ‘केमु’ (Kaymu) समकालीन भएको समेत उल्लेख गरेका छन् ।
अनलाइनमा खाद्यान्न बिक्री नभएपछि ‘घर-घर गएर बेच्न’ सुरु गरेको बताउँछन् । र, त्यही क्रममा आफूलाई एक ग्राहकले दुःख दिएको भन्दै संघर्ष सुनाउँछन् ।
कालिमाटी बजारबाट चामल खरिद गर्ने र गाडीमा चामल बोकेर घर-घरमा बिक्री गरेको बताउँछन् । त्यही व्यापार एक महिनासम्म गरेको र त्यसबाट व्यापार गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उल्लेख गर्छन् । त्यसपछि चामलको व्यवसाय छोडेर अनलाइन व्यापार गरेको बताउँछन् । याद गर्नुहोस् पहिले नै उनले केटीएमबज डटकम नामक ईकमर्स कम्पनी सञ्चालनमा ल्याइसकेको दाबी गर्छन् । फेरि अनलाइन व्यवसाय सफल नभएपछि खाद्यान्न बिक्री गर्न सुरु गरेको बताउँछन् । त्यो व्यवसाय सफल भएपछि अनलाइन व्यवसाय अगाडि बढाएको बताउँछन् ।
आफ्नो ईकमर्स यात्राको विवरण दिने क्रममा उनी त्यही प्लेटफर्मबाट फ्रिज, टिभी, राइस कुकर र ग्यास गिजरजस्ता विभिन्न घरेलु इलेक्ट्रोनिक्स उपकरणको बिक्री सुरु गरेको बताउँछन् ।
उनले आफ्नो व्यापारको सफलता पुष्टि गर्न एक महिनामै ५० देखि ६० ओटासम्म टिभी बेचेको र पछि आफैँले सामान एसेम्बल गर्न थालेको दाबीसमेत गरेका छन् । उनको सबैभन्दा उल्लेखनीय दाबी भने नाफासँग सम्बन्धित छ । चीनबाट आयातित पार्टपुर्जा एसेम्बल गरेर बिक्री गर्दा आफूले ६० प्रतिशतसम्म नाफा कमाएको उनको भनाइ छ ।
आफ्नो दाबीलाई बलियो बनाउन उनले हिसाबसमेत प्रस्तुत गरेका छन्, “साढे पाँच सय रुपैयाँको मोटर, साढे पाँच सय रुपैयाँको अन्य सामग्री र दुई सय रुपैयाँ फिटिङ खर्च गरेर १३०० देखि १४०० रुपैयाँमा तयार हुने सामान हामी ४५०० रुपैयाँसम्ममा बेचिन्छ,” उनी थप्छन्, “इलेक्ट्रोनिक्समा मार्जिन असाध्यै राम्रो छ ।”
तीन मिनेटमा उनले गरेका दाबीहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ:
१) सुरुमा आफ्नो ईकमर्स प्लेटफर्म नेपालकै पहिलो भएको दाबी गरे पनि तत्कालै त्यसलाई सच्याउँदै उनले ‘केटीएम बज डटकम’ अघि ‘केमु’ आएकाले आफ्नो प्लेटफर्म दोस्रो हुनसक्ने बताए ।
२) तीन जनाको साझेदारीमा जम्मा डेढ लाख रुपैयाँको लगानीमा अनलाइन व्यवसाय सुरु गरेको उनको भनाइ छ ।
३) पहिले अनलाइनबाट खाद्यान्न बिक्री गरेको, तर बिक्री नभएपछि घर घरमा गएर बिक्री गर्न थालेको । र, पछि त्यसैबाट इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्न थालेको ।
४) एकै महिनामा कम्तीमा ५० देखि ६० ओटासम्म टेलिभिजन अनलाइनमार्फत बिक्री हुने गर्थ्यो ।
५) त्यस समयमा इलेक्ट्रोनिक्सका सामान बिक्री गर्दा ६० प्रतिशतसम्म नाफा हुने गरेको पनि उनले दाबी गरे ।
ज्ञानेन्द्र शाहीले गरेका दाबीको यथार्थ पत्ता लगाउन टेकपाना फ्याक्टचेक डेस्कले विस्तृत तथ्य-जाँच सुरु गर्यो । अनुसन्धानको पहिलो चरणमा डेस्कले उनले चर्चा गरेको ईकमर्स प्लेटफर्म ‘केटीएम बज डटकम’ (ktmbuzz.com) को प्राविधिक अवस्था जाँच्यो । तर उक्त वेबसाइट हाल निष्क्रिय रहेको पाइयो । यद्यपि शाहीको फेसबुक प्रोफाइलको अनुसन्धान गर्दा २७ अगस्ट २०१७ मा उनले ‘केटीएम बज’सँग सम्बन्धित मिक्सरको तस्बिर राखेको भेटियो, जसले उनको दाबीलाई प्रारम्भिक आधार दियो । त्यसपछि गुगलमा ‘ktmbuzz.com’ सर्च गर्दा ‘नेपाल होलसेल मार्केट’ नामक फेसबुक पेज भेटियो । सोही पेजमा उपलब्ध गराइएको सम्पर्क नम्बरको आधारमा हामी कम्पनीका एक साझेदार भरत रिमालसम्म पुग्न सफल भयौँ ।
रिमालसँगको कुराकानीमा उनले सन् २०१७ मा कम्पनी स्थापना भएको पुष्टि गरे । उनले दिएको जानकारी अनुसार कम्पनीको शेयर संरचनामा उनको ४० प्रतिशत तथा ज्ञानेन्द्र शाही र ऋषिकेश घिमिरेको समान ३०/३० प्रतिशत हिस्सेदारी थियो ।
ज्ञानेन्द्र शाहीको लगानीसँग सम्बन्धित दाबी अर्थात् लगानीको रकमलाई भने उनका तत्कालीन साझेदार भरत रिमालले ठाडै अस्वीकार गरेका छन् । शाहीले प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाखको लगानीमा व्यवसाय सुरु गरेको बताए पनि रिमालले यो दाबी असत्य भएको स्पष्ट पारे ।
यद्यपि रिमालले शाहीसँग सीए अध्ययनका क्रममा भारतमा भेट भएको र फ्लिपकार्टबाट प्रेरित भएर २०७४ मंसिरमा ‘केटीएम बज डटकम’ सुरु गरेको कुरा भने सत्य भएको पुष्टि गरे ।
कम्पनीको लगानी र शेयर संरचनाबारे शाहीको भनाइमा विरोधाभास रहेको बताउँदै रिमाल भन्छन्, “कम्पनीमा मेरो ४० प्रतिशत तथा ज्ञानेन्द्र शाही र ऋषिकेश घिमिरेको ३०-३० प्रतिशत शेयर थियो । शाहीजीको मार्केटिङ शैली राम्रो भएकाले हामीले उहाँलाई शेयरको अनुपातभन्दा कम लगानी गर्न लगाएका थियौँ । तर, उहाँले गर्नुभएको त्यो लगानी पनि उहाँले भनेको ५० हजार रुपैयाँभन्दा धेरै नै बढी थियो ।”
यसैलाई थप आधार दिन उनले वेबसाइट एक लाख ३० हजार रुपैयाँमा निर्माण गरेको र एपका लागि झण्डै १० लाख रुपैयाँ लागेको उल्लेख गरे । “अहिलेको जस्तो डेभलपर त्यतिबेला थिएनन्,” उनले भने, “शाही जीले उल्लेख गरेको खर्चमा वेबसाइट बन्ने अवस्था थियो । एपका लागि १० लाख खर्च भयो ।”
शाहीले पहिले वेबसाइटबाट खाद्यान्न बिक्री गरेको र त्यसबाट ग्राहक नआएपछि भौतिक रूपमा घर घरमा पुगेर बिक्री गर्न थालेको दाबी गरेका छन् । भरत रिमाल यसलाई पनि अस्वीकार गर्छन् । “हामीले सुरुवातमै ‘केटीएमबज’मा इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्न थालेका थियौं । उहाँ हामीबाट छुट्टिएर गएपछि के व्यवसाय सुरु गर्नुभयो थाहा भएन तर हामी तीन जना सँगै हुँदा हामीले कहिल्यै खाद्यान्न सुरु गरेनौं,” रिमालले भने ।
वे ब्याक मसिनमा केटीएमबज वेबसाइट हेर्दा यो डोमेन पहिलो पटक सन् २०१३ मा दर्ता भएको देखिन्छ । तर, यो २०१४ सम्म मात्र सञ्चालित थियो । डोमेन दर्ता गरेर एक वर्षसम्म रिजर्भ गरेको देखिन्छ । पछि सन् २०१५ मा यस डोमेनमा केही गतिविधि हुँदैनन् ।
२५ मे २०१७ मा वेबसाइट आर्काइभ भएको देखिन्छ । उक्त प्लेटफर्ममा ज्योतिष परामर्श, पुस्तक, सङ्गीत, कम्प्युटर तथा एक्सेसरिज, कस्मेटिक तथा गिफ्ट, मेकअप, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस, फेसन, फर्निचर, हार्डवेयर, किचेनवेयर, मोबाइल, ट्याब्लेट, खेलौना र खाद्यान्न जस्ता सामग्री तथा सेवाहरू बिक्री गर्ने गरेको देखिन्छ । अर्थात् सुरुवातमै खाद्यान्न मात्र बिक्री गर्न थालेको नभई खाद्यान्न सहित अन्य सामग्री अनलाइनमा राखेको वे ब्याक मेसिनको डेटाबाट पुष्टि हुन्छ । खाद्यान्नका सन्दर्भमा पनि विभिन्न भेन्डरलाई यसमा आवद्ध गरेकाले भेन्डरले राखेको भरतले स्पष्ट पारे । अर्थात् ‘केटीएम बज’मा सुरुवातमा खाद्यान्न मात्र बिक्री गरेको दाबी भ्रामक छ ।
रिमालका अनुसार ज्ञानेन्द्र शाही मंसिर २०७४ देखि भदौ २०७५ सम्म अर्थात् करिब नौ महिना उक्त कम्पनीमा आबद्ध थिए । शाहीले मासिक कम्तीमा ५०-६० ओटा टेलिभिजन बेचेको दाबीलाई पनि रिमालले खण्डन गरेका छन् । उनका अनुसार सबैभन्दा बढी व्यापार हुने समय (पिक सिजन) अर्थात् आईपीएल चलिरहेको बेला पनि मासिक ३० ओटासम्म मात्र टिभी बिक्री भएको थियो । “उहाँ (शाही) ले मासिक ५०-६० ओटा टेलिभिजन बिक्री गरेको भन्नुभएछ, त्यो अतिरञ्जित हो । पिक सिजनमा पनि हाम्रो बिक्री ३० ओटासम्म मात्र थियो,” रिमाल भन्छन् ।
त्यसैगरी शाहीले दाबी गरेको ६० प्रतिशत नाफाको मार्जिनलाई पनि रिमालले गलत ठहर्याए । उनले भने, “ज्ञानेन्द्र शाहीले दाबी गरेजस्तो ६० प्रतिशतसम्म नाफा थिएन । इलेक्ट्रोनिक सामानमा सामान्यतया १५ देखि २३ प्रतिशतको मार्जिन हुन्थ्यो । त्यो बार्गेनिङ गर्ने कला, ग्राहकलाई कन्भिन्स गर्ने सीपमा निर्भर हुन्छ ।”
अब लागौं पहिले आफूलाई पहिलो ईकमर्स प्लेटफर्म दाबी गरेको सन्दर्भमा । रिमालका अनुसार कम्पनी ‘मार्केट हब प्रालि’ दर्ता भएर मंसिर २०७४ देखि सञ्चालनमा आएको थियो । अर्थात् यो सन् २०१७ तिरको कुरा हो । पछि यही भनाइलाई खण्डन गर्दै ‘केमु’ भन्ने ईकमर्स प्लेटफर्म आएकाले आफू नेपालकै दोस्रो हुन सक्ने उनले दाबी गरे ।
वेबसाइट आउटलुकमा केटीएमबज वेबसाइट ५ मे २०१६ मा दर्ता भएको र ५ मे २०२१ मा एक्सपायर भएको देखिन्छ । तर, साइट भने अप्रिल २०१७ देखि सञ्चालनमा आएको देखिन्छ ।
वास्तवमा केटीएमबज सुरु हुनुभन्दा करिब १७ वर्षअघि अर्थात् सन् २००० मा नै ठमेल डट कम (उपहार र चाडपर्वका सामग्री) र २००३ मा मुन्चा (उपहार, केक, इलेक्ट्रोनिक्स) जस्ता प्लेटफर्महरू सञ्चालनमा आइसकेका थिए ।
त्यसपछि सन् २००५ मा हाम्रो बजार डट कमले पुराना तथा नयाँ सामानको खरिदबिक्रीका लागि एउटा स्थापित बजारको रूप लिइसकेको थियो । केटीएमबज सञ्चालनमा आउनुअघि नै बजारमा नेपबे/ठूलो डट कम (सन् २००७), सस्तोडिल (सन् २०११), ओलिज स्टोर (सन् २०११), केमु (सन् २०१२, जसलाई पछि दराजले किन्यो), अर्बन गर्ल/युजी केक्स (सन् २०१२), मेरो शपिङ (२०१३) जस्ता कम्पनी विभिन्न क्षेत्रमा सक्रिय थिए । यी कम्पनीहरूले इलेक्ट्रोनिक्स, फेसन, घरायसी सामानदेखि दैनिक उपभोग्य वस्तुसम्मको अनलाइन बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेका थिए । सन् २०१७ मा केटीएमबज सुरु हुँदा नेपालमा ईकमर्सको बजार नयाँ नभएर स्थापित र प्रतिस्पर्धी भइसकेको थियो ।
अन्य ईकमर्स प्लेटफर्म जस्तो केटीएम बज खासै चर्चामा रहेको पनि देखिंदैन । सामाजिक सञ्जाल ट्वीटर (अहिलेको एक्स) र फेसबुकमा फलोअरको सङ्ख्या र पोस्ट सङ्ख्या निकै कम देखिन्छन् । अर्थात् प्लेटफर्म कति चर्चित थियो भन्ने विषय सामाजिक सञ्जालमा आउने रियाक्सन, त्यस विषयमा हुने पोस्ट, गफगाफ आदिमा निर्भर हुन्छ । केटीएमबजको फेसबुक पेजमा २०१७-१८ को बीचमा ३५ ओटा पोस्ट भएको देखिन्छ । एक्स (पहिलेको ट्वीटर) मा पनि १६ ओटा पोस्ट मात्र देखिन्छन् ।
अनलाइनबाट व्यापार सञ्चालन गर्ने र चर्चा पाएका कम्पनीलाई त्यसबेला सञ्चार माध्यमले पनि प्राथमिकताका साथ स्थान दिएको देखिन्छ । तर, केटीएमबजको कभरेज कुनै सञ्चार माध्यममा भएको देखिंदैन । यी विभिन्न तथ्यका आधारमा ज्ञानेन्द्र शाहीले गरेको बिक्रीको दाबी, पहिलो अनलाइन कम्पनी (उनकै भाषामा अनलाइनर) लगायतका दाबी भ्रामक पुष्टि हुन्छन् ।
दाबी
सांसद ज्ञानेन्द्र शाहीले एक पडकास्टमा निम्न दाबी गरेका थिए:
१) उनले सञ्चालन गरेको ई-कमर्श प्लेटफर्म ‘केटीएम बज डट कम’ (KTM Buzz) नेपालको पहिलो वा दोस्रो ई-कमर्श प्लेटफर्म हो ।
२) उनले दुई साथीसँग मिलेर प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाख रुपैयाँको लगानीमा अनलाइन व्यवसाय सुरु गरेका थिए ।
३) सुरुमा अनलाइनबाट खाद्यान्न बेच्न खोजेको तर बिक्री नभएपछि घर-घरमा गएर बेच्न थालेको र पछि इलेक्ट्रोनिक्स सामग्रीको व्यापार सुरु गरेको ।
४) अनलाइनमार्फत एकै महिनामा ५० देखि ६० ओटासम्म टेलिभिजन बिक्री हुन्थ्यो ।
५) इलेक्ट्रोनिक्स सामानको व्यापारमा ६० प्रतिशतसम्म नाफा हुन्थ्यो । नेपालका व्यापारीले त्यसरी नै नाफा कमाउँछन् !
दाबीकर्ता
ज्ञानेन्द्र शाही
तथ्य
‘केटीएम बज’का तत्कालिन सञ्चालक शाहीले आफ्नो व्यवसायबारे गरेका केही दाबीहरू तथ्यसँग मेल नखाने देखिन्छन् । शाहीले आफ्नो व्यवसायलाई नेपालको पहिलो वा दोस्रो ई-कमर्श भएको दाबी गरे पनि ‘केटीएम बज’ सन् २०१७ मा मात्र सञ्चालनमा आएको थियो । वास्तवमा त्यसभन्दा धेरै अघि नै नेपालमा ठमेल डट कम (सन् २०००), मुन्चा (सन् २००३), हाम्रो बजार (सन् २००५), सस्तोडिल (सन् २०११) र केमु (सन् २०१२) जस्ता दर्जनौं ई-कमर्श प्लेटफर्म स्थापित भइसकेका थिए । अनलाइनबाट आफ्नो व्यापार सञ्चालन गर्ने कम्पनीहरू पनि व्यापक रूपमा बढिसकेका थिए ।
त्यसैगरी लगानी रकमको विषयमा पनि उनको भनाइमा विरोधाभास छ । शाहीले डेढ लाखको लगानीमा व्यवसाय सुरु गरेको दाबीलाई उनका तत्कालीन व्यापार साझेदार भरत रिमालले असत्य भनेका छन् । रिमालका अनुसार वेबसाइट बनाउन मात्रै एक लाख ३० हजार र एप बनाउन झण्डै १० लाख रुपैयाँ लागेको थियो । यसले पनि शाहीको लगानी दाबी गरेभन्दा निकै बढी भएको देखाउँछ ।
व्यवसायको प्रकृतिबारे पनि शाहीको दाबी र वास्तविकता फरक पाइन्छ । साझेदार रिमालका अनुसार उनीहरूले सुरुदेखि नै खाद्यान्नका साथै इलेक्ट्रोनिक्स सामग्रीको पनि व्यापार गरेका थिए । यो कुरालाई इन्टरनेटको आर्काइभ ‘वे ब्याक मेसिन’ को डेटाले पनि पुष्टि गर्छ । त्यस अनुसार ‘केटीएम बज’ले सुरुवाती चरणमै खाद्यान्नका अतिरिक्त इलेक्ट्रोनिक्स, फेसन, र किताब जस्ता विविध सामग्री बिक्रीमा राखेको थियो ।
निष्कर्ष
टेकपाना फ्याक्टचेकको अनुसन्धान अनुसार सांसद ज्ञानेन्द्र शाहीले आफूले नेपालको पहिलो वा दोस्रो ई-कमर्श प्लेटफर्म सञ्चालन गरेको, लगानी रकम, व्यापारको प्रकृति, बिक्रीको आकार र नाफाको प्रतिशतबारे गरेका अधिकांश दाबी भ्रामक पुष्टि भएका छन् । यो एक घण्टा ५० मिनेटको भिडिओमध्ये बीचको तीन मिनेटको अंश (सामाजिक सञ्जालमा भाइरल)लाई तथ्यजाँच गरिएको हो । विभिन्न स्रोतबाट प्राप्त तथ्य, उनका पूर्व व्यापारिक साझेदारको भनाइ र वेबसाइटको अभिलेखले उनको कम्पनी सञ्चालनमा आउनुभन्दा धेरै अघि नै नेपालमा ई-कमर्श बजार स्थापित भइसकेको देखाउँछ र उनका अन्य व्यावसायिक दाबीलाई पनि भ्रामक पुष्टि गर्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १४:५
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: A visual investigation into the death of journalist Suresh Rajak, who lost his life in a fire during a pro-monarch protest in Tinkune on March 28, has been made public. The report, released Friday by Media Kurakani, is the result of a three-and-a-half-month investigation.
The 33-minute video traces how the protest, which began with stone throwing, escalated into a fire. It analyzes Rajak’s location during the event, how and when he entered the Marble House building, a…
सामाग्री श्रोत :
टेक पाना