२०८२ भाद्र २५ बुधबार
२०८२ भाद्र २५ बुधबार

म्याग्दी। मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१-०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।

ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए।


सामाग्री श्रोत :

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

काठमाडौँ । सरकारले विद्युतीय अभिलेख तथा कागजातलाई कानुनी मान्यता दिनेगरी प्रतिनिधिसभामा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८१’ दर्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार दर्ता गरेको यो विधेयक पारित भएमा प्रचलित कानुनमा लिखित वा मुद्रित रूपमा हुनुपर्ने भनिएका सबै कागजातले विद्युतीय स्वरूपमा पनि कानुनी मान्यता पाउने बताइएको छ ।

विधेयकको परिच्छेद-२ मा ‘विद्युतीय अभिलेख’ सम्बन्धी व्यवस्थाहरू प्रस्ताव गरिएका छन् । विधेयकको दफा ३ मा भनिएको छ, “…प्रचलित कानुनमा कुनै सूचना, लिखत, तथ्याङ्क वा अभिलेखको लिखित, मुद्रित वा अन्य कुनै स्वरुपमा हुनु पर्ने भनी उल्लेख गरिएको विषय विद्युतीय स्वरुपमा अभिलेख राख्न सकिनेछ र त्यस्तो विद्युतीय अभिलेखले कानूनी मान्यता प्राप्त गर्नेछ ।” यो व्यवस्थाले सरकारी कामकाजदेखि निजी क्षेत्रका कारोबारसम्म डिजिटल कागजातको प्रयोगलाई वैधानिकता दिनेछ ।

विधेयकले विद्युतीय अभिलेखलाई सुरक्षित राख्नुपर्ने सर्तहरू पनि तोकेको छ । कुनै अभिलेखलाई निश्चित अवधिसम्म सुरक्षित राख्नुपर्ने कानुनी प्रावधान भएमा त्यसलाई विद्युतीय स्वरूपमा पनि सोही अवधिसम्म सुरक्षित राख्न सकिनेछ । तर, त्यसका लागि केही सर्तहरू अनिवार्य गरिएको छ । यसअन्तर्गत त्यस्तो अभिलेख पछि प्रयोग गर्न सकिने गरी पहुँचयोग्य अवस्थामा हुनुपर्ने, सुरुमा सिर्जना, सम्प्रेषण वा प्राप्त गर्दाकै ढाँचामा सुरक्षित राखिएको हुनुपर्ने, अभिलेखको उत्पत्ति, गन्तव्य र सम्प्रेषणको मिति तथा समय पहिचान गर्न सकिने विवरण उपलब्ध हुनुपर्ने शर्त तोकिएका छन् ।

यस विधेयकले विद्युतीय अभिलेखलाई सक्कल (मूल) प्रमाणको रूपमा पेश गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ । यदि कुनै विद्युतीय अभिलेख सिर्जना भएदेखि परिवर्तन नगरिएको विश्वास गर्ने आधार भएमा र जसलाई पेश गर्नुपर्ने हो उसले स्पष्ट रूपमा हेर्न/बुझ्न सक्ने भएमा त्यसलाई सक्कल अभिलेख सरह मान्यता दिइने विधेयकमा उल्लेख छ ।

यस विधेयकले विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने प्रस्ताव गरेको छ । नयाँ कानुनले डिजिटल हस्ताक्षर, डेटाको गोपनीयता, साइबर सुरक्षा र विद्युतीय माध्यमबाट हुने अपराधलाई समेत विस्तृत रूपमा समेट्ने भएकाले यसलाई नेपालको सूचना प्रविधि क्षेत्रमा एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ७:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ । 

उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । 

Ncell 2
Ncell 2

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएकी छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् । 

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए । 

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न  समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


सामाग्री श्रोत :

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । परियार काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका बेला सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा मिलेमतो गरी ठेक्का प्रक्रिया बङ्ग्याएको ठहर गर्दै अख्तियारले उनीसहित सात जनालाई प्रतिवादी बनाएको हो ।

मुद्दा दायर हुने अन्यमा महानगरका तत्कालीन पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल छन् । उनीहरू सबै बोलपत्र मूल्यांकन समिति तथा प्राविधिक संयन्त्रमा संलग्न रहेको बताइएको छ ।

समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको न्यूनतम कबोल पेश गर्दा समेत उक्त कम्पनीलाई अयोग्य ठहर गरी २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको उच्च कबोल गर्ने कल्पवृक्ष कोहिनूर जेभीसँग सम्झौता गरिएको अख्तियारको ठहर छ ।

यसरी न्यूनतम कबोल अस्वीकार गरी उच्च कबोलमा सम्झौता गर्दा चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको राष्ट्रिय सम्पत्ति हिनामिना भएको भन्दै अख्तियारले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ६:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५ हजार ६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्।

उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रालिले आयोजना गरेको थियो।

यस उपलब्धिसँगै उनले ‘सेभेन समिट्स’ चुनौतिमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन्।

अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्। माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप) आरोहण गरिसकेकी हुन्।

उनका आगामी लक्ष्यमा कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका) र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

दिया पुनले आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको झन्डा साथमा लगेकी थिइन्। उनको अभिनय रहेको चलचित्र ‘एक्लो’ अहिले चर्चामा छ। केही हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिंग गरेको थियो। कान्स पछि ‘एक्लो’को चर्चा बढेको छ।


सामाग्री श्रोत :

‘एक्लो’अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्

ढोरपाटन (बागलुङ)। बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ। चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन्।

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उनको भनाइ छ।

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए। पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ती सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उनको भनाइ छ।

त्यस्तै ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ। जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भूमिश्वर शर्माले बताए।

गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा नौवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उनको भनाइ छ।

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए। पलिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ती सबैबाट खोप सेवा दिइरहेको उनको भनाइ छ।

बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुनःजानकारी दिए। गाउँपालिकाभर १० वटा स्वास्थ्य संस्था छन् ती सबैबाट बालबालिकालाई खोप दिने गरेको उनको भनाइ छ।

त्यस्तै जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना र १६ देखि २४ महिना उमेर समूहका ११४ जना बालबालिकालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए। सुरुमा सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको उहाँको भनाइ छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपकोमात्रा पूरा गरेको छन्त्याल बताउँछन्।

काठेखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका २२७ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका २०७ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए।

जिल्लाको निसीखोला गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४५२ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३७६ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख जुनी घर्तीमगरले बताए।

बडिगाड गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४४० जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले जानकारी दिए। पालिकाभरका बडिगाडमा १५ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिने गरिएको उनको भनाइ छ।

यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए। जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न तयारी भइरहेको उनको भनाइ छ।


सामाग्री श्रोत :

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन्। दशरथ रंगशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकुदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिका कर्णाधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने छ भने।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासका लागि खेल जरुरी रहेको जनाउँदै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे। उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भने, ‘यहीँबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन्। त्यसैले स्थानीयस्तरमा पूर्वाधार, खेल सामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनु पर्दछ।’

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेको जनाउँदै अनुपम भौगोलिक विशेषताअनुसारका साहसिक खेलप्रति विश्वजगत्को आकर्षणलाई मध्यनजर गरी यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने भनाइ व्यक्त गरे।

उनले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने बताए।

राष्ट्रपति पौडेलले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको जनाउँदै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तरराष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुसीको विषय भएको बताए।

उनले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गए पनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तरराष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा सरकारले काम गर्दै आएको बताए। यस प्रतियोगिताबाट खेलाडीको उत्पादन हुनुका साथै खेलाडीको प्रतिभासमेत प्रस्फुटन हुने बताए।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि खेलाडी सहभागी भएकामा खुसी व्यक्त गरे। आजदेखि सुरु भएको पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ। उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल समावेश गरिएको छ।


सामाग्री श्रोत :

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन्: राष्ट्रपति

मुस्ताङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयसँगको छलफल तथा अन्तक्रियामा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका बेला भएको सहमतिअनुसार काम हुँदै जाने विश्वास व्यक्त गरे।

सहमतिअनुसार नेपाल पक्षले नै कोरला पूर्वाधार निर्माणका लागि स्पष्ट खाका पेस गर्न नसकेकै कारण पूर्वाधार निर्माणमा ढिलाइ हुन पुगेको अध्यक्ष दाहालको भनाइ छ। उनले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्नका लागि चीन सरकार अहिले पनि तयार रहेको उल्लेख गरे।

कोरला सडक मुस्ताङको मात्रै नभइ समग्र राष्ट्रकै लागि आर्थिक समृद्धिको मेरूदण्ड भएकाले यसको रणनीतिक र दीर्घकालीन महत्त्व रहेको अध्यक्ष दाहालको भनाइ छ। कोरला नाकालाई पर्यटन र अन्तरराष्ट्रिय व्यापार तथा पारवाहन प्रवर्द्धनका लागि नाकामा संरचना बनाइदिन पर्‍यो भनेर प्रस्ताव राखेको उनले उल्लेख गरे।

कोरला सडक आयोजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न र सडक स्तरोन्नतिलाई तीव्रता दिन सकेमात्रै नेपालकै आर्थिक क्रियाकलापमा यस नाकाबाट योगदान पुग्ने अध्यक्ष दाहाले विश्वास व्यक्त गरे।

एक अर्को प्रसंगमा माओवादी अध्यक्ष दाहालले मुस्ताङको धार्मिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक रूपले विशिष्ट जिल्ला भएकाले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटक आउने गरेको बताए। उनले एक्याप, स्थानीय तह र वनको त्रिकोणात्मक समस्या र चुनौती रहेको आफूले महसुस गरेको बताए। अन्तरराष्ट्रिय मञ्चले नेपाललाई रू ५० करोड बजेट जलवायु अनुदान दिने सहमति गरेको भए पनि त्यसपछिको सरकारले त्यसप्रति खासै चासो नदिएको उनको भनाइ छ।


सामाग्री श्रोत :

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल-चीन सहमति कार्यान्वन हुँदै जानेछ: अध्यक्ष दाहाल

सुदूरपश्चिम। केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको हो।

पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मीको महसुस भएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताए।

उनले भने, ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रमको अन्तर घट्दै जाँदा बढी गर्मी महसुस भइरहेको हो, यसबाहेक धेरै समय मानिसले न्यूनतम तापक्रममा बस्नुपर्ने अवस्थाले पनि गर्मी महसुस भएको हो।’

धनगढीमा सोमबारको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ दशमलव २ डिग्री मापन भएकामा आज आज अधिकतम तापक्रम ३७ दशमलव दुई र न्यूनतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको कार्यालयले जनाएको छ।

पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश पुग्न सकिरहेको छैन।

चर्को गर्मीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित पारेको छ। गर्मी बढ्दै जाँदा विद्यालयमा बिदा दिनुपर्ने माग अभिभावकबाट उठ्न थालेको छ।

गर्मी बढेसँगै मध्याह्नको समयमा धनगढीसहितका बजार क्षेत्रमा ग्राहक पातलिँदा व्यापारिक चहलपहल पनि घटेको छ। गर्मीकै कारण कतिपय व्यापारिक पसल दिउँसोको समयमा बन्द गर्ने गरिएको छ।

बढेको गर्मीले पक्की घर तात्न थालेपछि राति कोठामा सुत्न नसकेर अनिँदो बस्नुपरेको स्थानीय मनिराम जोशीले बताए। गर्मीसँगै तात्ने पक्की घरका छतमा पानी जम्मा गरेर कोठालाई शीतल बनाउने प्रयास कतिपयले गरिरहेको देखिन्छ।

‘कोठाको सिलिङ पङ्खालेसमेत तातो हावा दिँदा राति अनिँदो बस्नुपरेको छ’, वीरबहादुर चौधरीले भने, ‘चर्को गर्मीले तातेको कोठामा खपिनसक्नु गर्मी बढ्दा कोठालाई शीतल बनाउन छतमा पानी हाल्नुपरेको छ।’ गर्मी बढेसँगै धनगढीका स्वास्थ्य क्लिनिक र अस्पतालमा बान्ता हुने, ज्वरो आउने र टाइफाइड देखिने बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

बढ्दै गएको गर्मीबाट बालबालिकालाई जोगाउन उनीहरुलाई झोलिलो खानेकुरा खुवाएर शरीरमा झोलिलो पदार्थको मात्रा बढाउनुपर्ने र सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखुवाउन चिकित्सकले सुझाव दिएका छन्।


सामाग्री श्रोत :

गर्मीले जनजीवन कष्टकर

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट