अल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना

Facebook
Twitter
LinkedIn

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यका साथ शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण कार्य अलपत्र परेको छ । करीब तीन वर्षअघि तीन प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि सरकारी प्रक्रियागत अल्झनका कारण समायावधि सकिँदासम्म एक किलोमिटर पनि नहर खन्ने काम हुन सकेको छैन ।

तीन वर्षभित्र काम सक्ने भनिए पनि ऐनाली जग्गाको क्षतिपूर्ति र नहर निर्माण क्षेत्रमा पनि सामुदायिक वनको रुख कटानको टुङ्गो नलाग्दा समस्या भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले जानकारी दिए । एक दशकअघि शुरु भएको यस आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रबाट १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरिएको छ । “सरकारी पक्षको ढिलाइका कारण अहिले निर्माणाधीन १५ किलोमिटर नहरमा संरचना निर्माण मात्रै भए”, निर्देशक बमले भने, “तर नहर भने खन्न शुरु भएको छैन ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्को निर्णय हुन्छ । जिल्लाबाट निर्णयका लागि सिफारिस भएको लामो समय बितिसक्दा पनि सो कार्य मन्त्रालयमै अलपत्र छ । “वनको र मुआब्जाको काम चाँडै टुङ्गिने प्रक्रियामा रहेको खबर मात्रै आउँछ”, उनले भने, “यहाँ सोही विषय टुङ्गो नलाग्दा ठेकेदार पक्षले कामै गर्न पाएको छैन ।”

पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । “यो वर्ष निर्माणका लागि रु ३१ करोड आएको थियो, त्यसमध्ये रु १३ करोड पुरानो भुक्तानी दियौँ”, निर्देशक बमले भने, “अहिले आयोजनासँग काम गर्न रकम नै छैन ।”

जग्गा र वनको विषय टुङ्गो नलाग्दा साइफन, पुल, कल्र्भटलगायतका अन्य संरचनामा मात्रै बनेका छन् । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून रहेको छ । बितेको एक वर्ष कोरोना कहरका बेला पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो । कोरोनापछि दैनिकी सामान्य बन्दै गइरहेका बेला निर्माण पक्षलाई सो अवधिको छ महिना म्याद थप भएको महाकाली सिँचाइ आयोजनाले जनाएको छ ।

नहर निर्माण क्षेत्रमा करीब २६ हेक्टर क्षेत्रफल ऐलानी जग्गा र बेदकोट नगरपालिका क्षेत्रका चार समुदायिक वनमा केही हेक्टर रुख कटान गर्नुपर्ने छ । त्यसैगरी नहर निर्माणको जिम्मेवारी पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर प्रेमप्रसाद भाटले काम गर्ने क्षेत्र स्पष्ट नहुँदा समस्या भइरहेको बताए । “क्षेत्र स्पष्ट गरिदिनु प¥यो, हामी समयमै काम सक्छौँ भनेर धेरै पटक आयोजनालाई पत्राचार पनि गर्यौँ”, उनले भने । काम गर्ने क्षेत्र, जग्गाको क्षतिपूर्ति र वनको विषय अझै टुङ्गो लाग्न नसक्दा काम अगाडि बढाउन समस्या भएको उनको भनाइ छ ।

नहर निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर प्रेमप्रसाद भाटले भने, “ठेक्का पायौँ तर काम गर्ने ठाउँ उपलब्ध नहुँदा ढिलाइ हुन गएको छ ।” उनले आफूहरुले निर्माणको जिम्मा पाएको ४.८ किलोमिटर मूल नहरमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको बताए । आयोजनाको तर्फबाट समयमै निर्णय नहुँदा त्यसको नकारात्मक असर ठेकेदार कम्पनीलाई पनि पर्ने गरेको उनी बताउँछन् ।

शेरबहादुर सिंह/रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.