रसुवागढी नाकाबाट आयातमा सहज नहुँदा सामग्री उतै रोकिए

रसुवागढी नाकाबाट आयातमा सहज नहुँदा सामग्री उतै रोकिए
Facebook
Twitter
LinkedIn

रसुवागढी नाकाबाट सामग्री आयातमा सहज नहुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाका सामग्री उतै रोकिएका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाकाबाट दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आइरहेको छ।  

चिनियाँ गाडीले दैनिकजसो फलफूल, रेडिमेड कपडा, जुत्ता चप्पलको आयात गर्दै आएको छ। आयोजनाका सामग्री प्राथमिकतामा परेका छैनन्। जसका कारण एक वर्ष अगाडि नै आउनुपर्ने सामग्री चीनको विभिन्न स्थानमा रोकिएका छन्।  

इलेक्ट्रो मेकानिकलको धेरैजसो सामग्री चीनबाट आउने र ति सामग्री उतै रोकिँदा समस्या भएको आयोजना प्रमुख सुदनसिंह महतले बताए। ‘भारतबाट आउनपर्ने सामग्री केही आइसकेको छ। केही आउने क्रममा छ’, उनले भने, ‘तर चीनबाट आउनपर्ने सामग्री लामो समयदेखि उतै रोकिएको छ।’

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणहरूको जडान अझै सुरु हुन सकेको छैन। उपकरण जडानको काम पनि चिनियाँ टोलीले नै गर्नेछन्। आयोजना प्रमुख महतका अनुसार आउँदो मार्चदेखि चिनियाँ टोली आउने छन्। सन् २०२० मा नयाँ वर्ष मनाउनका लागि चीन गएका कामदार एक वर्ष बितिसक्दा पनि निर्माणस्थलमा आइपुगेका छैनन्।  

आयोजनाका अनुसार २०२० फेब्रुअरी १ बाट स्टलेसनको काम सुरु गर्ने तयारी थियो। यसका लागि चिनियाँ समूह आउने तयारीमा थिए। अन्य काम निरन्तर रूपमा चलिरहेको भएपनि उपकरण जडानको काम अघि बढाउन नसक्दा समस्या आएको आयोजना प्रमुख महतले बताए।  

आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पोखरी निर्माणको काम गरिरहेको छ। आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेको छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। जसको कारण आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत् हबमा नै जोडिने छ।  

 

 

प्रकाशित: २६ माघ २०७७ १६:३१ सोमबार


श्रोत: नागरिक

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.