राष्ट्रिय महिला लिग: वालिङ नगरपालिका तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग: वालिङ नगरपालिका तेस्रो स्थानमा
Facebook
Twitter
LinkedIn

नेपाल पुलिस क्लबमाथि १–० को जितका साथ वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आइतबारको पहिलो खेलमा विराटनगर महानगरपालिका चन्द्रपुर नगरपालिकासँग १–० ले स्तब्ध भएको फाइदा उठाउँदै वालिङ तेस्रो स्थानमा उक्लिएको हो।

७ खेलको समाप्तिमा वालिङ ११ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा समान खेलमा १० अंक जोडेको विराटनगर चौथो स्थानमा झरेको हो। ६ खेल खेलेको एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा यथावत् छ भने एक खेल बढी खेलेको त्रिभुवन आर्मी क्लब १३ अंकका साथ दोस्रो स्थानमा छ। पुलिस ८ अंकका साथ पाँचाैं स्थानमा छ भने ६ अंक बटुलेको चन्द्रपुर छैटौं स्थानमा छ। ७ खेलको समाप्तिमा पनि अंकविहीन रहेको चौदण्डीगढी नगरपालिका सातौं स्थानमा छ।  

पुलिसविरुद्ध पहिलो चरणको खेलमा वालिङले अग्रता जोगाउन नसक्दा अन्तत १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। ५८औं मिनेटमा स्ट्राइकर मिथो रुथले पुलिसकी रक्षक अमृता जैसीको गम्भीर गल्तीको फाइदा उठाउँदै गरेको गोल नै वालिङलाई स्पष्ट ३ अंक जोड्न पर्याप्त बन्यो।

‘हामी जित्ने पर्ने दबाबमा थियाैं, त्यसैअनुरूप रणनीति तयार पारेका थियौं,’ वालिङका प्रशिक्षक दिलीप थापाले भने, ‘खेलाडीले त्यसैअनुरूप उत्कृष्ट प्रदर्शन गरे। हामीले पहिलो चरणमा पनि अग्रता जोगाउन नसक्दा पुलिससँग अंक बाँड्न बाध्य भएका थियौं। त्यस खेलमा हामीले फ्रिकिकमा गोल खाएका थियाैं। आज भने अग्रता जोगाउन सफल भयाैं। विभागीय टोलीमाथिको जितले टोलीको मनोबल बढेको छ। आगामी खेलमा थप सुधारिएको प्रदर्शन गर्नेछौं।’

यता पुलिसका प्रशिक्षक सञ्जीव जोशीले आशा गरिएका खेलाडीले निराशाजन प्रदर्शन गर्दा लिगमा लगातार दोस्रो हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। पहिलो चरणको अन्तिम खेलमा बिहीबार पुलिस विराटनगरसँग १–० ले स्तब्ध भएको थियो। ‘अमृताले रक्षापंक्तिमा गरेको गम्भीर गल्तीमा गोल खान पुग्याैं,’ जोशीले भने, ‘हामीले पनि गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं।

टोलीमा आशा गरिएका खेलाडी चल्न नसक्दा हामी लगातार निराश भइरहेका छौं।’ यसअघि आइतबार भएको दिनको पहिलो खेलमा चन्द्रपुरले लिगमा लगातार ४ हारपछि पहिलो पटक जितको स्वाद चाखेको हो। विराटगनरमाथिको १–० को जितका साथ चन्द्रपुरले पहिलो चरणमा भोगेको ५–० को हारको समेत बदला लिएको छ।  

चन्द्रपुरले पहिलो चरणमा चौदण्डीगढीमाथि जित हात पारेपछि लिगमा लगातार ४ खेल गुमाएको थियो। दोस्रो चरणमा भने चन्द्रपुरले जितका साथ सुखद सुरुआत गरेको हो। ७०औं मिनेटमा स्ट्राइकर रजनी थोकरले गरेको गोल चन्द्रपुरलाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त बन्यो।

‘टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो,’ चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले भने, ‘लगातारको हारले टोली दबाबमा थियो। आजको जितले टोलीको मनोबल बढेको छ।’यता विराटनगरका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमा आफ्नो टोलीले पाएका दुई सुनौलो अवसर खेर फाल्दा नतिजा सुम्पिन परेको बताए।

प्रकाशित: २६ माघ २०७७ ०८:३५ सोमबार


श्रोत: नागरिक

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.